प्रभु इन्स्योरेन्समा भट्टचन र पौडेलकाे राजीनामा
देविप्रकाश भट्टचन दक्ष पौडेल काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडका अध्यक्ष देविप्रकाश भट्टचन र सञ्चालक दक्ष पौडेलले पदबाट राजीनामा दिएका छन् । अध्यक्ष भट्टचनले सञ्चालक पदमा समेत नरहने गरी राजीनामा दिएका छन् । कम्पनी स्रोतका अनुसार बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ (वाफिया) मा एउटै व्यक्ति बैंक र इन्स्यारेन्स दुबैमा सञ्चालक समितिमा बस्न नपाउने व्यवस्था भएकोले दुबै जनाले राजीनामा दिएका हुन् । भट्टचन प्रभु बैंकमा अध्यक्ष छन् भने पौडेल प्रभु बैंकमा सञ्चालक छन् । केही दिनअघि प्रभु इन्स्योरेन्सका सञ्चालक कुशुम लामाले प्रभु बैंकको सञ्चालक पदबाट राजीनामा दिएका थिए । बैशाख २० गते तय भएको प्रभु इन्स्योरेन्सको सञ्चालक समितिले दुई जना सञ्चालक नियुक्त गर्नुको साथै अध्यक्ष पनि चयन गर्ने योजना रहेको स्रोतले बतायो ।
ललितपुर महानगरपालिकामा कँग्रेसका उम्मेदवार चिरीबाबु
काठमाडौं । नेपाली काँग्रेसले ललितपुर महानगरपालिकाको मेयरमा चिरीबाबु महर्जनलाई उम्मेदवार बनाएको छ । पार्टी पदाधिकारीको बैठकले महर्जनलाई मेयर र गीता सत्याललाई उप मेयरको उम्मेदवार बनाउने निर्णय गरेको हो । महर्जन र सत्यालले ललितपुर जिल्ला निर्वाचन कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गरिसकेका छन् । यस अघि नै एमालेका हरिकृष्ण व्यन्जनकार र माओवादी केन्द्रका दिनेश महर्जन दिपेशले मेयरको उम्मेदवारी दर्ता गराईसकेका छन् ।
ललितपुर महानगरपालिकामा एमालेका हरिकृष्ण व्यञ्जनकारको उम्मेदवारी
काठमाडौं । ललितपुर महानगरपालिकामा एमालेले हरिकृष्ण व्यञ्जनकारलाई उम्मेदवार बनाएको छ । ब्यञ्जनकार ललितपुर एमालेका अध्यक्ष समेत हुन् । उप मेयरमा भने राप्रपाकी सुकमाया लामालाई उम्मेदवार बनाउने निर्णय भएको हो ।काठमाडौं र ललितपुर उपमहानगरपालिकामा एमाले र राप्रपाले तालमेल गरेका छन् । दुबै महानगरपालिकामा एमालेले मेयर र राप्रपाले उपमेयर लिने सहमति भएको हो । व्यञ्जनकारले मेयरको उम्मेदवारी दर्ता गरिसकेका छन् । एमाले नेता रघुजी पन्तसहितको टोलीले बाजागाजासहित जिल्ला निर्वाचन कार्यालय पुगेर उम्मेदवारी दर्ता गरेका हुन् ।
साना घरायसी समान अब सिजी डिजिटल र एलजी सपमा
काठमाडौं । अब सिजी डिजिटल र एलजीका सोरुमहरुमा पनि घरायसी समा पाइने भएको छ । उपभोक्ताहरुको मागलाई ध्यानमा राखेर बिभिन्न कम्पनीका साना घरायसी समान उपलब्ध गराउन लागेको हो । उपभोक्ताहरुले देशैभर रहेका सिजी डिजिटल र एलजी सपहरुबाट साना घरायसी समानहरु खरिद गर्न सक्नेछन् । सिजी, पिजिओन लगायतका अन्तराष्ट्रिय ब्राण्डका समान ती शोरुमहरुमा उपलब्ध हुनेछन् । बिशेषगरि भान्छामा प्रयोग हुने ग्यास चुल्यो, प्रेसर कुकर, राइस कुकर, चप बोर्ड, चक्कु, लगायतका साना घरेलु समान खरिद गर्न सकिने दुबै कम्पनीले जनाएका छन् ।
१० बाणिज्य बैंकको नाफा साढे ४५ प्रतिशतले बढ्यो, कसको कति ?
काठमाडौं । १० वटा बाणिज्य बैंकहरुको कुल नाफा ४५ दशमलब ६८ प्रतिशतले वृद्धि भएको छ । तेश्रो त्रैमासिकको वित्तिय विवरण सार्वजनिक गरेका १० वटा बाणिज्य बैंकले आफ्नो कुल नाफा ३ अर्ब ६५ करोडले वृद्धि गरेर ११ अर्ब ६४ करोड पुर्याएका हुन् । गत आर्थिक बर्षको नौ महिनामा तीनै १० वटा बैंकहरुले जम्मा ७ अर्ब ९९ करोड मात्रै नाफा कमाउन सफल भएका थिए । १० मध्ये सबै भन्दा धेरै नाफा कमाउने बैंकका रुपमा एभरेष्ट बैंकले एक अर्ब ५२ करोड पुर्याएको छ । एभरेष्टले गत आवको नौ महिनामा १ अर्ब २० करोड नाफा कमाएको थियो । ग्लोबल आइएमई बैंकले १ अर्ब ४८ करोड नाफा कमाउँदै दोश्रो स्थान सुरक्षित गरेको छ । यो बैंकले गत आवको सोही अवधीमा जम्मा १ अर्ब ३ करोड कमाएको थियो । प्रभु बैंकले १ अर्ब ४४ करोड नाफा कमाउन सफल भएको छ । यसले गत आवको नौ महिनामा ६२ करोड नाफा कमाएको थियो । एनएमबी बैंकले पनि एक अर्ब २३ करोड नाफा कमाएको छ । यसले गत आवको सोही अवधीमा जम्मा ७७ करोड नाफा कमाएको थियो । एनआइसी एसिया बैंकले पनि १ अर्ब १३ करोड नाफा कमाउन सफल भएको छ । जबकी यो बैंकले गत आवको नौ महिनासम्मा जम्मा ७५ करोड मात्रै नाफा कमाउन सफल भएको थियो । सिद्धार्थ बैंकले पनि एक अर्ब १३ करोड नाफा आर्जन गरेको छ । यो बैंकले गत आवको नौ महिनामा भने जम्मा ७८ करोड मात्रै नाफा आर्जन गरेको थियो ।माछापुच्छ्रे बैंकले पनि एक अर्ब ५ करोड नाफा कमाएको छ । यो बैंकले गत आवको सोही अवधीमा जम्मा ६२ करोड नाफा कमाएको थियो । सानिमा बैंक, नेपाल बंगलादेश बैंक र सिटिजन्स बैंकले मात्रै एक अर्ब नाफा पुर्याउन सकेका छैनन् । नौ महिनामा सानिमा बैंकले ९७ करोड नाफा कमाएको छ । गत आवको नौ महिनमा यसले ६७ करोड नाफा कमाएको थियो । त्यस्तै, सिटिजन्स बैंक इन्टरनेशनलले ८७ करोड नाफा कमाएको छ । यसले अघिल्लो आवको सोही अवधीमा ७२ करोड नाफा कमाएको थियो । नेपाल बंगलादेश बैंकको नाफा पनि ८२ करोड पुगेको छ । यसले गत आवको नौ महिनामा ७० करोड नाफा कमाउन सफल भएको थियो ।
काठमाडौंको मेयरमा एमालेबाट विद्या सुन्दर शाक्यको उम्मेदवारी
काठमाडौं । नेकपा(एमाले)ले काठमाडौंको मेयरमा विद्या सुन्दर शाक्यलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । एमाले स्थायी कमिटी बैठकले शाक्यलाई काठमाडौं महानगरपालिकाको मेयर बनाउने निर्णय गरेको हो । शाक्य एमाले काठमाडौं जिल्ला कमिटीका सचिव तथा महानगरपालिकाको दलिय संयन्त्रमा एमालेका प्रतिनिधी छन् । केशब स्थापित र गौरी प्रधानलाई पछि पार्दै शाक्यले काठमाडौं महानगरपालिकाको मेयरको टिकट हात पारेका हुन् । उप मेयर भने राप्रपाले पाउनेछ । एमाले र राप्रपाले काठमाडौं र ललितपुर उपमहानगरपालिकामा तालमेल गर्ने निर्णय गरेका हुन् । दुबै महानगरपालिकामा एमालेले मेयर र राप्रपाले उपमेयर लिने सहमति भएको हो ।
नविन्द्रराज जोशीका दाईलाई काठमाडौंको मेयर बनाउने काँग्रेसको निर्णय
काठमाडौं । नेपाली काँग्रेसले काठमाडौं महानगरपालिकको मेयरमा राजुराज जोशीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । पार्टी कार्यालयमा बसेको पदाधिकारी बैठकले जोशीलाई मेयरको उम्मेदवार बनाउने निर्णय गरेको हो । जोशी उद्योग मन्त्री नविन्द्रराज जोशीका दाई हुन् । काँग्रेसले उपमेयरको उम्मेदवार भने हरिप्रभा खड्गीलाई बनाउने निर्णय गरेको छ । त्यसैगरी ललितपुर महानगरपालिकाका प्रमुखमा चिरिबाबु महर्जन र उपप्रमुखमा गीता सत्याललाई चुनावी मैदानमा उतारेको छ । क्षेत्रफलका हिसाबले नेपालकै सबैभन्दा ठूलो महानगर मानिएको प्रदेश नं ४ को पोखरा–लेखनाथ महानगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसले रामजी कुँवर र उपप्रमुखमा सरस्वती गुरुङलाई उम्मेदवार बनाएको छ । यसैगरी भरतपुर महानगरपालिका प्रमुखमा दिनेश कोइराला र उपप्रमुखमा पार्वती शाहलाई उम्मेदवार बनाएको छ । पहिलो चरणमा निर्वाचन हुने एकमात्र उपमहानगरपालिका हेटौडा उपमहानगरपालिकाका कांग्रेसले प्रमुखमा आनन्दराम पराजुली र उपप्रमुखमा लक्ष्मी श्रेष्ठलाई उम्मेदवार बनाएको छ । नेपाली कांग्रेसका तर्फबाट संबन्धित महा /उप–महानगरपालिकाको प्रमुख,उपप्रमुख र वडा अध्यक्ष सहित सदस्य पदमा आधिकारिक रुपमा मनोनयन गरिएका उमेद्वारहरुले संबन्धित निर्वाचन अधिकृतको कार्यालयमा उमेद्वारी दर्ता गराउने क्रम जारी रहेको छ ।
समयमा नबन्ने भयो बाराको गार्मेण्ट प्रोसेशिङ जोन, पूर्वाधार निर्माणका लागि २ अर्ब २० करोड लाग्ने
काठमाडौं । आगामी आर्थिक वर्ष २०७४/७५ भित्र निर्माण सम्पन्न गर्ने लक्ष्य सहित अघि बढाएको गार्मेण्ट प्रोसेशिङ जोन (जीपीजेड) निर्माण कार्य ढिला हुने भएको छ । चालु आर्थिक वर्षको बजेट घोषणाको क्रममा २ वर्षभित्र सम्पन्न गर्ने लक्ष्यका साथ अघि उक्त परियोजन अघि बढाउने भनिएपनि अहिलेसम्म आयोजना निर्माणको ठोस काम हुन सकेको छैन । जोन स्थापनाका लागि अर्थ मन्त्रालयबाट माघमा मात्र सहमति आएको र बजेटका कारण समयमा परियोजना निर्माण कार्य शुरु गर्न नसक्दा जोन सञ्चालनमा आउन अझै ३ वर्ष लाग्ने भएको हो । सरकारले चालू आवमा जोने पूर्वाधार निर्माणका लागि ५० करोड रुपैयाँ निकासा गरेको छ । परियोजना निर्माण गर्ने क्रममा रकम अभाव भएमा अझ थप्ने बताएको छ । उक्त परियोजनाको पूर्वाधार निर्माणका लागि कुल २ अर्ब २० करोड रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ । सिमरा विशेष आर्थिक क्षेत्रअन्तर्गत एक सय ६५ बिगाह क्षेत्रफलमा उक्त जोन बन्दै गरेको छ । जोन निर्माण कार्य शुरु भएपनि निर्धारित समयमा भने नसकिने भएको छ । विभिन्न चारओटा प्याकेजमा आयोजनाको काम अगाडि बढाउन लागिएको आयोजना प्रमुख तथा सेज विकास समितिका इञ्जिनीयर अर्जुन पाण्डेयले बताए । ‘३ वर्षमा परियोजना निर्माण कार्य सम्पन्न गर्ने गरी योजनाका चारओटै प्याकेजको टेण्डर गर्ने तयारी भइरहेको छ,’ उनले भने ‘चारओटै प्याकेजका लागि छुट्टाछट्टै टेण्डर गरिने छ ।’ परियोजनाको पहिलो प्याकेजमा बाटो, जग्गा विकास, नाला निर्माण, खानेपानीलगायतका काम सम्पन्न गरिनेछ । यसका लागि एक अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ । दोस्रो प्याकेजमा विद्युत्, ढल प्रशोधन केन्द्रलाई समेटिएको छ । यसको अनुमानित लागत करीब ५७ करोड रुपैयाँ छ । विभिन्न भवनको निर्माण कार्य तेस्रो प्याकेजमा राखिएको छ । यसका लागि ३५ करोड रुपैयाँ र हेलिप्याड, हेल्थ क्लब, गेष्ट हाउसलगायत चौथो प्याकेजमा २९ करोड खर्च लाग्ने अनुमान छ । गार्मेण्ट प्रोसेसिङ दुईओटा प्याकेजका टेण्डर समेत भरसक यसै वर्ष अगाडि बढाउने तयारी आयोजनाले गरेको छ । सिमरा सेजलाई बहुवर्षीय आयोजनाका रूपमा अगाडि बढाउने सरकारको योजना छ । यदि योजना अघि बढेमा सिमरा सेज ८ सय ३३ बिगाह क्षेत्रफलमा फैलिएको हुनेछ ।