विकासन्युज

कुलमान घिसिङले रुँदै भने-कमिसन खाएको प्रमाण भए मलाई झुण्ड्याईदिनुस

काठमाडौं ।‘मैले चिलिमे देखि नै धेरै संघर्ष गरेको छु, त्यहाँ पनि एक रुपैंयाँ घुस नखाई काम गरेँ, एलइडी बल्बमा पनि घुस खाएको प्रमाण भए मलाई झुण्ड्याइदिनुस्’, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देेशक कुलमान घिसिङले रुँदै भने । मंगलबार प्राधिकरण केन्द्रिय कार्यालयमा पत्रकार सम्मेलन गर्दै कार्यकारी निर्देशक घिसिङले कमिसन खाएको प्रमाणित भएमा आफु देश निकालाको सजाय भोग्न पनि तयार भएको बताए ।‘मैँले साँचो अर्थमा जनताको सेवा गरेको छु, एलइडी बल्ब खरिद प्रक्रियामा पनि कुनियत छैन, यदि कसैले कुनियत प्रमाणित गर्छ भने म देश छाड्न तयार छु’, घिसिङले भने । उनले ८ देखि १० अर्ब पर्ने २ करोड थान एलइडी बल्ब आफुले २ अर्ब २५ करोडमै उपभोक्तालाई उपलब्ध गराउन लागेको पनि बताए ।‘के १० अर्ब पर्ने २ करोड थान एलइडी बल्ब करिब सवा २ अर्बमा जनताले बाढ्नु अपराध हो ?’ घिसिङले प्रतिप्रश्न समेत गरे । यसरी भक्कानिँदै पोखे घिसिङले वेदना भारतीय कम्पनी इइएसएलसँग २ करोड थान एलइडी बल्ब खरिद गर्ने सम्झौता गरिएको छ । यो भारत सरकारको स्वामित्व भएको कम्पनी हो । सम्झौता गरेको तीन महिनाभित्रै सम्पुर्ण बल्ब ल्याइसक्छौं । कम्पनीले नै हेटौँडासम्म बल्ब ल्याईदिन्छ । ३ बर्षसम्म बल्ब बिग्रिएमा साटिदिने सम्झौता भएको छ । त्यसका लागि कम्पनीले २ दशमलब ५ प्रतिशत बैंक ग्यारेण्टी गरेको छ । हामीले भारतीय कम्पनीलाई एउटा बल्बको १०४ रुपैंयाँ नेपाल(६५ भारु) तिर्ने हो । त्यसमा २० प्रतिशत भन्सार र १३ प्रतिशत भ्याट नेपाल सरकारलाई तिर्नु पर्छ । त्यसपछि हामीले १० प्रतिशत जति सेवा शुल्क थप्छौं । करिब १३० देखि १३५ रुपैंयाँको मूल्यमा नेपाली उपभोक्ताले एलइडी बल्ब पाउनेछन् । गुणस्तरमा कुनै सम्झौता हुन्न । फिलिप्स र ओस्राम ब्राण्डका बल्ब त्यति न्युन मूल्यमा पाउने कुरा चानचुने होइन् । एउटा बल्बमा घुस खानुपर्ने अवस्था छैन् । मैले चिलिमेदेखि नै धेरै मेहनत गर्दै आएको छु । त्यहाँ पनि एक रुपैंयाँ घुस खाइँन र कसैलाई घुस दिईन पनि । यहाँ पनि एक रुपैंयाँ खान्न र कसैलाई खुवाउदिन पनि । हिजो हामीले लोडसेडिङ घटाउँदै गर्दा सोलार र इन्भर्टरका ब्यापारीको पनि गुनासो थियो तर उहाँहरुले हामीलाई केहि भन्नु भएन् । आज लिडको ब्यापार गर्ने व्यापारीको पनि ठुलो गुनासो छ । यदि उहाँहरुले १५० रुपैंयाँमा एलइडी बल्ब दिने हो भने म प्राधिकरणका सबै काउण्टरमा बुथ राखेर बेच्ने व्यवस्था गर्छु । तर त्यसमा गुणस्तर हुनु अनिवार्य छ । प्राधिकरणले बल्ब बेचेर व्यापार गर्न लागेको होइन् । नेपालको उज्यालो अभियानलाई सफल बनाउन खोजेको हो । एलइडीका ब्यापारीहरुको व्यापार खोस्न खोजेका पनि होइनौं । (भक्कादिँदैं)हामीले कुनियत राखेको र कमिसन खाएको प्रमाण फेला पर्यो भने जस्तो सुकै सजाय भोग्न तयार छौं । देश निकालाको सजाय पनि भोग्न तयार छौं । जो जोसँग प्रमाण छ आउनु होला । हामीले २ करोड बल्बलाई करिब २ अर्ब २५ करोडमा जनतालाई दिने भनेका छौं । तर तीनै बल्ब मार्केटबाट लिने हो ८ देखि १० अर्ब लागत पर्छ । अब भन्नुस को ठगिएको छ ? हामीले जनतासँग पैसा उठाउन, पैसा कमाउन भारतीय कम्पनीसँग आफैं बल्ब खरिद गरेर ल्याउन लागेका होइनौं । यसरी जिब्रो चपाएर हामीलाई आरोप लगाइरहँदा हाम्रो चित्त दुःखेको छ । १५० रुपैंयाँ बेच्न व्यापारीहरु तयार छन भने प्राधिकरणकै कार्यालयमा बेच्ने व्यवस्था मिलाई दिन्छौं । तर ९ वाट भनेर १८ वाटको बल्ब दिने अनि पावर फ्याक्टर शुन्य दशमलब ५ हुने हो भने चाँही त्यो मान्य हुने छैन् । हामीले २ करोड बल्ब बेचेर २०० मेगावाट विजुली बचाउन खोजेका हौं । सुख्खा समयमा २०० मेगावाट विद्युत उत्पादन गर्न ६०० मेगावाटका प्लान्ट बनाउनु पर्छ । त्यसका लागि खरबौं रुपैंयाँ लाग्छ । हामी त बिना लगानी २०० मेगावाट विजुली बचत गर्दैछौं । यसमा सरकारको होइन जनताको लगानी हुन्छ । जनताको लगानीमा जनतालाई उज्यालोमा राख्ने योजनामा अनावश्यक विवाद झिकिएको छ । हाम्रो पवित्र कर्मलाई बदनाम गर्ने प्रयास भैरहेको छ । जानीजानी बुझि बुझि हामीलाई निरुत्साहित गर्ने प्रयास भैरहेको छ भन्ने मेरो बुझाई हो । हामीले नयाँ घर बनाउने ग्राहकलाई मात्रै पहिलो चरणमा बल्ब दिन लागेका हौं । त्यसपछि पुराना बल्लब फुटेकाहरुलाई दिन लागेका हौं । पहिलो चरणमा एक घर बराबर १० वटासम्म बल्ब दिन्छौं । अलिपछि यसलाई अनिवार्य गर्छाैं । यसमा हाम्रो कुनै प्रकारको कुनियत छैन् । सच्चा दिलले काम गर्न चाहेका हौं । कुनियत फेला पार्नुभयो भने झुण्ड्याइदिनु होला ।

कतार एयरवेजलाई फिफाको आधिकारिक पार्टनर र एयरलाइन घोषित

दोहा । कतार एयरवेजलाई सन् २०२२ सम्मका लागि फिफाको आधिकारिक पार्टनर तथा अफिसियल एयरलाइन घोषित गरिएको छ । कतार एयरवेजद्वारा निकट भविस्यमा आयोजना हुने फिफा कन्फिडरेशन कप २०१७, फिफा वल्र्ड कप रसिया २०१८, फिफा क्लब वल्र्ड कप, फिफा वमेन्स वल्र्ड कप र २०२२ फिफा वल्र्डकप कतार प्रायोजन गरेको जानकारी दिइएको छ । हरेक खेलमा २ बिलियन भन्दा बढी दर्शक अनुमान गरिएका निकट भविष्यमै आयोजना हुने दूई फिफा वल्र्ड कपहरुमा आधिकारिक पार्टनरका रुपमा कतार एयरवेजले भरपुर मार्केटिङ तथा ब्राण्डिङ अधिकार प्राप्त गरेको छ । साथै, फिफा यू-२० वल्र्डकप, फिफा फुट्सल वल्र्डकप र फिफा ईन्टरएक्टिभ वल्र्ड कप (विश्वकै सर्वाधिक ठूलो अनलाइन गेमिङ प्रतिस्पर्धामा समेत एयरलाइनको उपस्थिती देखिन सकिनेछ । आजको उक्त घोषणाले कतार एयरवेजको प्रायोजकका रुपमा एफसी बार्सलोना र साउदी अरेबियाको अल–अहिल एफसी, पेरिस तथा न्यू योर्कको फर्मुला ई रेसहरु र हालै कतारको दोहामा आयोजित यूसीआई रोड वल्र्ड च्याम्पियनसिप तथा लामो समयदेखि निरन्तर्ता पाइरहेको कतार टोटल र एक्सजोन टेनिस टूर्नामेण्ट्समा लगायत प्रमुख स्पोर्टिङ क्लब्स तथा खेलकुद जगतसँग कम्पनीले बनाएका प्रायोजन रणनितीमा नयाँ आयाम हो । ‘कतार एयरवेजले मानिसलाई नजिक ल्याउन तथा एकताको शुत्रमा बाँधन मैत्रीपूर्ण प्रतिस्पर्धा र खेलको आवश्यकता राम्ररी बुझेको छ’ कतार एयरवेजका गु्रप चिफ एक्जेक्यूटिव महामहिम अकबर अल बाकरले भने ‘तसर्थ स्टेट अफ कतारको आफ्नै देशमा आयोजना हुने दूई फिफा प्रतिस्पर्धा लगायत अन्य खेलमा आफ्नो सम्बद्धता जनाउन पाउँदा हामी निकै उत्साहित छौँ ।’ ‘खाडी क्षेत्रमै पहिलो पटक कतारमा आयोजना हुन गइरहेको २०२२ फिफा वल्र्ड कप आयोजनाका लागि विश्वमै निकै तिब्र गतिमा बृद्धि उन्मुख तथा उद्योगमै नौला तथा नवप्रवर्तनात्मक सेवा दिन तथा विस्तार गर्न अग्रसर कतार एयरलाइनसँग पार्टनरका सहकार्य गर्न पाउँदा हामी निकै उत्साहित छौँ’, फिफा सेक्रेटरी जनरल फाटमा सामोउराले भने ‘हामी सहकार्य गर्दै फिफा प्रतिस्पर्धा र विश्वजगतमा आयोजना हुने फुटबलका लागि अगाडी बढ्न निकै गौरवान्वित र उत्साहित छौँ ।’ सन् १९०४मा स्विस कानुन अन्तर्गत स्थापित द फेडेरेशन ईन्टरनेशनल डे फुटबल एसोसिएशन (फिफा) ज्यूरिचमा आधारित संस्था हो । यसमा हाल सम्म २ सय ११ संस्था सदस्यका रुपमा आवद्ध रहेको छ ।

विश्व रेडक्रस तथा रेडक्रिसेन्ट दिवस मनाइँदै

काठमाडौं । नेरेसोले रेडक्रस अभियानका साझेदारहरूसँगै देशभर “रेडक्रसः सबै ठाउँमा, सबैका लागि” भन्ने नाराका साथ विभिन्न कार्यक्रमहरू गरी विश्व रेडक्रस तथा रेडक्रिसेन्ट दिवस मनाइरहेको छ । रेडक्रसका संस्थापक जँ हेनरी ड्युनाको जन्म दिनको अवसरमा नेरेसोका कार्यवाहक अध्यक्ष अजीतकुमार शर्माले भने- “रेडक्रसका स्वयंसेवकहरू वस्तुतः प्रतिवद्ध भईउर्जा र समय खर्चेर प्रत्येक समुदायमा सेवाका लागि उपस्थित छन् ।” “विश्व रेडक्रस तथा रेडक्रिसेन्ट दिवस, मे ८, कोही पनि नछुटोस् भन्ने मानवताप्रतिको रेडक्रसको प्रतिवद्धतालाई मूर्तरूप दिन अनवरत प्रयत्नशीलविश्वभर रहेका दशौँ लाख स्वयंसेवकहरू र कर्मचारीहरूको योगदान र उपलव्धीहरूको सम्मान गर्ने अवसर हो ।” नेपाल रेडक्रस सोसाइटीका महामन्त्री देवरत्न धाख्वाले भने-“बढ्दो जोखिमसहितकोआजको जटिल सन्दर्भमा आवश्यकतामा रहेका मानिसहरूसम्म पुग्ने हाम्रो क्षमतामा निरन्तर परिवर्तन आएको छ ।” तर स्थानीय रूपमा आउने समस्याको सामना गर्न र स्थानीय आवश्यकतालाई सम्वोधन गर्न हाम्रा स्वयंसेवक र कर्मचारीहरूले रचनात्मक र नवीनतम् बाटाहरू पहिल्याइरहेका छन् । रेडक्रसको अन्तर्राष्ट्रिय समिति, रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको अन्तर्राष्ट्रिय महासङ्घ र एक सय ९० देशमा फैलिएका रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरू मिलेर बनेको अन्तर्राष्ट्रिय रेडक्रस तथा रेडक्रिसेन्ट अभियानको कार्य विगत एक सय ५० वर्ष अघिदेखि सञ्चालित छ ।

ग्लोबल आइएमई बैंकको ४५औ शाखारहित बैंकिङ्ग सेवा डडेलधुरामा

काठमाडौं । ग्लोबल आइएमई बैंकले गत सोमबार देखि डडेलधुरा जिल्लाको गन्यापधुरामा शाखारहित बैंकिङ्ग सेवा सुरु गरेको छ । ग्लोबल आइएमई बैंक र सक्षम एक्सेस टु फाइनान्स कार्यक्रमको सहकार्यमा बैंकले उक्त शाखा सञ्चालनमा ल्याएको हो । गन्यापधुरामा सुरु गरेको सेवाको लागि बैंकले स्थानिय भवाना कुमारी अधिकारीलाई व्यवसायीक प्रतिनिधि नियुक्त गरेको छ । व्यवसायीक प्रतिनिधिलाई प्रमाणपत्र हस्तान्तरण गरेर ग्लोबल आइएमई बैंकका प्रमुख सञ्चालन अधिकृत दिपेश प्रधान तथा बजार व्यवस्थापन एंव व्यवसाय प्रर्वद्धन विभाग प्रमुख प्रसन्न बाँस्कोटाले संयुक्त रुपमा सेवा सुचारु गरेका छन् । हाल बैंकले ९४ वटा शाखा, १०७ वटा एटिएम, ४५ शाखारहित बैंकिङ्ग सेवा, १० राजश्व संकलन काउण्टर, ६ वटा एक्सटेन्सन काउण्टर मार्फत ६ लाख भन्दा बढी ग्राहकहरुलाई अत्याधुनिक बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ ।

एसबीआई बैंकको सेयर मूल्य समायोजन, प्रतिकित्ता १०२९ रुपैयाँ मात्र

काठमाडौं । मंगलबार नेपाल एसबीआई बैंकको सेयर मूल्य समायोजन भएको छ । नेप्सेले कम्पनीको ४० प्रतिशत हकप्रद सेयर पछिको सेयर मूल्य समायोजन गरेको हो । समायोजन पछिको सेयर मूल्य प्रतिकित्ता १०२९ रुपैयाँ तोकेको छ । जसका लागि आधार मूल्य प्रतिकित्ता १०५० रुपैयाँ रहने छ ।

चालू आर्थिक वर्षमा ८ खर्ब ७८ अर्बको पुँजी निर्माण हुने सरकारको अनुमान

काठमाडौं । चालू आर्थिक वर्षमा सरकारी र निजी क्षेत्रबाट गरिएको लगानीबाट आठ खर्ब ७८ अर्ब ६० करोड रुपैयाँ स्थिर पुँजी निर्माण हुने अनुमान गरिएको छ । यस वर्ष हुन लागेको पुँजी निर्माण गत आर्थिक वर्षको तुलनामा दुई खर्ब ३१ अर्ब ३१ करोड रुपैयाँ बढी हो । गत वर्ष सरकारी र निजी दुवै क्षेत्रको योगदानबाट ६ खर्ब ४७ अर्ब २९ करोड रुपैयाँ बराबरको पुँजी निर्माण भएको थियो । राजनीतिक वातावरण तथा भूकम्पले थिलो बनाएको अर्थतन्त्रमा आएको सुधार पुँजी निर्माणको संकेत भएको केन्द्रीय तथ्यांक विभागका निर्देशक डा. जिष्णुमोहन भट्टराईले बताए । ‘पछिल्लो समय निजी क्षेत्रबाट पनि ठूला उद्योग व्यवसायमाा स्थापना भएका छन्,’ उनले भने ‘कृषि क्षेत्रको उत्पादकत्व बढ्नुका साथै भएका उद्योगको पनि उत्पादकत्व बढ्न थालेको छ ।’ यस वर्ष निजी क्षेत्रबाट भएको लगानीले ६ खर्ब ८९ अर्ब ३१ लाख पुँजी निर्माण गरेको छ । गएको वर्ष निजी क्षेत्रको लगानीबाट चार खर्ब ८६ करोड ७९ लाख पुँजी निर्माण गरेको थियो । विगतका वर्षको तुलनामा बन्द÷हडताल कम हुँदै जानु, निर्माण सामग्रीको उत्पादन बढ्नु सोहीअनुरुप सरकारी र निजी दुवै क्षेत्रको आयोजना तथा भौतिक पूर्वाधार तथा भवन निर्माण कार्य बढ्नुले उत्पादित समान खपत भई पुँजी निर्माण करिब सवा दुई खर्बभन्दा बढीले वृद्धि भएको हो । नयाँ उद्योगधन्दा स्थापना हुने क्रम बढ्दो छ भने विद्युत्को सहज आपूर्तिपछि पुराना उद्योग पनि पूर्णक्षमतामा सञ्चालनमा आएका छन् । कुल पुँजी निर्माणमा सरकारभन्दा निजी क्षेत्रको योगदान बढी छ । यस वर्षको पुँजी निर्माणमा निजी क्षेत्रको योगदान ७८.४५ प्रतिशत र सरकारी क्षेत्रको योगदान २१.५५ प्रतिशत छ । पछिल्ला वर्ष उद्योगमा श्रम समस्या समाधान हुनुका साथै विद्युत् आपूर्ति तथा कच्चा पदार्थको सहजताले उद्योग पूर्णक्षमतामा सञ्चालन हुन थालेका छन् । यसै कारण उत्पादन बढ्न गएको र बढेको उत्पादनले पुँजी निर्माण गर्न सहयोग पुगेको भट्टराईले बताए । यसका साथै पूर्वाधार, कृषि, उद्योग, शिक्षा, स्वास्थ्य, पर्यटनलगायत समग्र क्षेत्रको उत्पादकत्व बढेका कारण पुँजी निर्माणमा वृद्धि भएको हो । यसको सिधा असर नेपालीको प्रतिव्यक्ति आयमा देखिएको छ । देशभित्र रोजगारी सिर्जना हुँदा नेपालीको प्रतिव्यक्ति आय (जीएनआई) गएको वर्षको तुलनामा करिब ११ हजार अर्थात ९५ अमेरिकी डलरले बढेको छ । चालु आवमा प्रतिव्यक्ति आय आठ सय ६२ डलर पुग्ने अनुमान विभागको छ । गएको वर्ष अमेरिकी डलरमा प्रतिव्यक्ति आय सात सय ६७ थियो । पुँजी निर्माण भएका कारण नेपालको जीडीपी र जीएनआई दुवै बढेको हो । पछिल्लो समय सरकारले देशलाई आत्मनिर्भर बनाउन पुँजी निर्माणलाई प्राथमिकता दिँदै उत्पादकत्व बढाउने, रोजगारी सिर्जना गर्ने तथा समग्रमा गरिबी निवारण गर्ने लगायतका परियोजनालाई प्राथमिकता दिएको छ । निजी क्षेत्र पनि लगानीमैत्री वातावरण बनेको भन्दै लगानी गर्न हौसिएका छन् । सरकारका तर्फबाट माथिल्लो तामाकोसी, मेलम्ची खानेपानी, हुलाकी राजमार्गलगायत अन्य सडक, गौतमबुद्ध विमानस्थल सिँचाइलगायत ठूला परियोजना निर्माणले लिएको गति लिएको छ । सरकारी ठूला परियोजना निर्माणले लिएको गति र साना परियोजनासमेत ठेक्कामा लागेकाले सरकारले गरेको खर्चले पनि पुँजी निर्माण गर्न सहयोग पु¥याएको हो । सरकारले भूकम्पपछि व्यवस्थित बसोबासका लागि विशेष योजना ल्याएको छ । हाल भएको पुँजी निर्माण कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को एक तिहाइ हो । यस वर्ष नेपालको जीडीपी २५ खर्ब ९९ अर्ब रुपैयाँ पुग्ने अनुमान गरिएको छ । गएको वर्ष नेपालको जीडीपी २२ खर्ब ४७ अर्ब थियो ।

ओबिओआरः विश्व बजार पुग्ने अन्तराष्ट्रिय ढोका, यस्ता छन् सम्भावित पाँच उपलब्धि

काठमाडौं । ओबिओआर भनेको युरोपसँग व्यापार गर्ने चीनको प्राचिन शिल्क रोडको आधुनिक संस्करण हो । यसले चीन नेतृत्वको आर्थिक करिडोरलाई मध्य एसिया, दक्षिण एसिया, युरोप र अफ्रिकासम्म जोड्छ । नेपालले पनि ओबिओआरमा हस्ताक्षर गर्ने निर्णय गरेर विश्व बजारमा आफ्नो सहज र सरल पहुँचलाई सुनिश्चित गर्नेछ । ओबिओआरको रुट चीनको सांघाई हुँदै सिगात्सेबाट नेपाल नजिक आइपुग्छ । नेपालले केरुङ हुँदै रसुवागढीबाट अथवा तातोपानी नाकाबाट आफुलाई ओबिओआरमा जोड्न सक्छ । यो सञ्जालले युरोप, इरान, इण्डोनेसिया र रसियाको मस्कोसम्म सडक मार्गबाट नेपाललाई जोड्छ । ओबिओआरमा भारतको केहि संशय वा चासो देखिन्छ । ओबिओआरको मुल लाइन पाकिस्तान प्रशासित कास्मिरबाट भारत प्रवेश गर्ने भएकाले भारतले आफ्नो सुरक्षामा असर गर्ने बताउँदै आएको छ । भारतीय वित्त मन्त्री अरुण जेट्लीले कस्मिरबाट आउने बाटोको बिरोध गर्दै आएका छन् । साउथ चाइना सिका बिषयमा पनि अमेरिकाको समेत संलग्नतामा केहि विवाद रहँदै आएको छ । सन १८५० तिर विश्वको जिडिपीमा एसियाको हिस्सा ५१ प्रतिशत भन्दा बढि थियो । युरोपमा आएको औद्योगीक क्रान्तिले एसिया पछि धकेलियो । अब फेरी सन २०४० सम्ममा विश्व अर्थ व्यवस्थामा एसियाको पुनः उदय हुनेछ । त्यतिबेला चीन १ नम्बर र भारत २ नम्बर तथा इण्डोनेसिया ३ नम्बर तिर आइपुग्नेछन् । एसियामा उपभोक्ता, उत्पादनका साधन र विकासको सम्भावना अत्याधिक छ । यहि सम्भावनामा टेकेर एसियाले विश्व अर्थतन्त्रको नेतृत्व गर्ने समय नजिकिँदै गएको छ । ओबिओआरले त्यसको प्रारम्भिक खाताका तयार पारेको छ ।बेइजिङबाट सिगात्से आउने ओबिओआरलाई रसुवागढी ल्याउन सकियो भने नेपालले आफुलाई मस्कोसम्म बिशाल सडक सञ्जालद्धारा जोड्न सक्छ । यस्ता छन ओबिओआरका पाँच फाइदा १) नेपालमा चिनियाा लगानी बढ्छ । त्यससँगै विश्वको लगानी केन्द्रका रुपमा नेपाल स्थापित हुन सक्छ । २) विश्व बजारमा नेपाली उत्पादनको सरल र सहज पहुँच विस्तार हुन्छ । ३) नेपाली औद्योगीक क्षेत्रको उत्पादकत्व वृद्धि हुन सक्छ । ४) विश्व अर्थ व्यवस्थाको प्रमुख हिस्सेदार एसिया बन्दा नेपाल पनि सदस्यका रुपमा स्थापित हुन्छ । ५) नेपाल भुपरिवेष्ठित मात्रै नभएर स्वाधिन अर्थतन्त्र भएको मुलुकका रुपमा स्थापित हुन सक्छ । (बरिष्ठ अर्थविद डा. अधिकारीसँग गरिएको कुराकानीमा आधारित)

फर्वाड कम्युनिटी माइक्रोफाइनान्सको २० लाख कित्ता सेयर नेप्सेमा सूचिकृत

काठमाडौं । फर्वाड कम्युनिटी माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको २० लाख कित्ता साधारण सेयर नेप्सेमा सूचिकृत भएको छ । मंगलबार मात्रै कम्पनीको सो मात्राको सेयर नेपाल स्टक एक्स्चेञ्जमा सूचिकृत भएको हो ।