विकासन्युज

अनलाइन ट्रेडिङको प्रबिधी बुझ्दै नेप्से, वाइकोले गर्यो ब्रिफिङ

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज लिमिटेड(नेप्से) को लागि स्वचालित अनलाइन कारोबार प्रणाली निर्माण गरिरहेको वाइको प्रालिले प्रस्तावित प्रणालीको खाका प्रस्तुत गरेको छ । एक कार्यक्रममा वाइककोको तर्फबाट प्रणाली विकास व्यवस्थापक प्रदीप पद्मपाणीसहितको प्राविधिक टोलीले प्रस्तावित कारोबार प्रणालीका विविध पक्षमा नेप्सेका पदाधिकारी, उच्च व्यववस्थापन तथा कर्मचारीहरु समक्ष प्रस्तुती गरेको हो । प्रस्तुतीका क्रममा टोलीले कारोबार, राफसाफ तथा फछ्र्यौट, सुपरिवेक्षण तथा अनुगमन, जोखिम व्यवस्थापन लागयत प्रस्तावित प्रणालीमा रहेका विशेषताहरु माथि प्रकाश पारेको थियो । स्वचालित अनलाईन कारोबार प्रणाली निर्माण, स्थापना तथा सञ्चालनका विभिन्न चरणहरुमा गरिने कार्य हार्डवयर तथा सफ्टवेयरका बारेमा पनि टोलीले नेप्सेलाई जानकारी गराएको थियो । प्रस्तुतीकरण अघि नेप्सेका अध्यक्ष रामजी रेग्मीले पूर्ण स्वचालित अनलाइन कारोबार प्रणाली स्थापना गर्ने झण्डै दुई वर्षभन्दा अघि देखिको प्रयासले मूर्त रुप लिन लागेकोमा खुशी व्यक्त गरेका थिए । ‘यो प्रणाली सञ्चालनमा आएपछि नेपालको पुँजी बजार अझै गहिरो र व्यापक हुने विश्वास मैले लिएको छु,’ उनले भने । कार्यक्रममा नेप्सेका प्रमुख कार्यकारी अधिकृत सीताराम थपलियाले मुलुकको आर्थिक उन्नतिका लागि पुँजी बजारको विकास अपरिहार्य रहेको औल्याउँदै बजारलाई आधुनिकीकरण गर्ने प्रक्रियामा नेप्से अगाडि बढेको बताए । ‘पूर्ण स्वचालित अनलाइन कारोबार प्रणाली मुलुकको पुँजी बजारमा कोशेढुंगा साबित हुने विश्वास मैले लिएको छु,’ उनले भने ।

दूरसञ्चार सेवाको गुणस्तर सम्बन्धी नियमावली पास, कुरा गर्दा गर्दै फोन काटिए रकम फिर्ता, माग गरेको ४ घण्टाभित्र इन्टरनेट सेवा अनिवार्य

काठमाडौं । नेपाल दूर सञ्चार प्राधिकरणले टेलिफोन तथा इण्टरनेट सेवालाई भरपर्दो बनाउन तथा सेवाको गुणस्तर मापदण्डसहित क्षतिपूर्ति र दण्डजरीवानाको व्यवस्था गरेको छ । प्राधिकरणले फोन गर्दा गर्दै काटिँदा पछिल्लो पल्स अवधिको रकम सेवाप्रदायकले ग्राहकलाई फिर्ता गर्नुपर्ने व्यवस्थासहित आज नियमावली सार्वजनिक गर्दैछ । ‘गुणस्तरसम्बन्धी विनियमावली प्राधिकरण बोर्ड बैठकबाट औपचारिक रूपमा बुधबार पारित भएको र आज बिहीबार प्राधिकरणको वेव साइटमा राखेर सार्वजनिक गरिने प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले जानकारी दिए । आगामी साउन १ देखि विनियमावली कार्यान्वयमान आउने नियमावलीमा नेटवर्कका कारण कल काटिएमा सेवाप्रदायकबाट त्यसको क्षतिपूर्ति भराउने व्यवस्था गरिएको छ । ‘अब उपभोक्ताले कल काटिएमा वा कुनै रोकावट आएमा उक्त अवधिको रकम फिर्ता पाउने छन् । विनियमावलीमा व्यवस्था गरिएको मापदण्डअनुसार गुणस्तरीय सेवा दिन नसकेमा  सेवा अवरुद्ध भएमा वा सेवा उपलब्ध नभर अवरुद्ध भएमा सेवा उपलब्ध हुन नसकेको समय बराबरको रकम क्षतिपूर्ति स्वरूप सेवा प्रदायकले ग्राहकलाई प्रदान गर्नु पर्ने व्यवस्था नियमावलीले गरेको छ । सेवाप्रदायकहरूले दूरसञ्चार सेवाको गुणस्तर मापन गरी प्रत्येक तीन तीन महिनामा नियमित रूपमा त्यसको प्रतिवेदन प्राधिकरणसमक्ष पेश गर्नुपर्नेछ । सेवाप्रदायकहरूले त्रैमासिक रूपमा विभिन्न स्थानमा गरिएको गुणस्तर परीक्षण तथा मापनको परिणाम तथा सर्वेक्षणको नतिजा तोकिएको अवधि समाप्त भएको ७ दिनभित्र प्राधिकरणमा बुझाउनु पर्ने छ । प्रतिवेदनमा फोनकल तथा एसएमएसकोे अवधि, फोन कलहरूबीचको अन्तराल, सेवाको कभरेजको आधारमा व्यस्त समयमा ड्राइभटेष्ट गरी सेवाको गुणस्तर मापन गर्नुपर्ने र त्यसको विवरण उल्लेख गर्नुपर्नेछ ।  साथै प्राधिकरणले त्यसक्रममा गुणस्तरसम्बन्धी दिएको निर्देशन तीन पटकसम्म अटेर गरेमा सेवा प्रदायकको अनुमति पत्र खारेज गर्न सकिनेसम्मको व्यवस्था गरेको छ । प्राधिकरणले कुनै समस्या देखिए सुधारका लागि निश्चित समयावधि तोकी सेवाप्रदायकलाई निर्देशन दिन सक्ने छ । निर्देशनअनुरूप गुणस्तर सुधार नगरेमा प्राधिकरणले सेवाप्रदायकलाई दूरसञ्चार ऐन बमोजिम जरीवानासहित सुधारको अर्को मौका दिनेछ । प्राधिकरणले पनि नियमित रूपमा कुनै निश्चित स्थान र अवधिको अन्तरालमा कुनै विशेष प्रकारको गुणस्तर सम्बन्धी परीक्षण, मापन तथा सर्वेक्षण गर्न सक्ने व्यवस्था गरेको छ । नियमावली अनुसार नेटवर्क नआउने समय १ महीनाको समयावधिमा नचलेका सम्पूर्ण साइटको औसत १ प्रतिशतभन्दा कम हुनु पर्ने छ भने फोन डायल गरेको समय र रिङ्गटोन बज्ने समयको अन्तर ५ सेकेण्डभन्दा कम हुनुपर्ने छ । फोनमा कुरा गरिरहँदा आफै फोन काटिने दर र तारयुक्त सेवामा १ प्रतिशत र मोबाइल सेवामा २ प्रतिशत निर्धारण गरिएको छ । मोबाइल सेवाको कभरेज हुँदाहुँदै पनि ग्राहकले फोन गर्दा नलाग्ने दर पनि २ प्रतिशतभन्दा कम हुनुपर्ने नियमावलीमा उल्लेख गरिएको छ । यसको मापन कुनै व्यक्तिले १ महीनाको अवधिमा गरेका कलहरूको संख्यालाई आधार मानेर गरिने प्राधिकरणले जनाएको छ । इण्टरनेट तथा डाटा सेवाको गुणस्तरका सम्बन्धमा ग्राहकले डाटा खरिद गरेको  ४ घण्टाभन्दा सेवा सुचारु भइसक्नु पर्नेछ । यसैगरी डाटा अपलोड सफल हुने दर ५५ देखि ७५ प्रतिशतभन्दा बढी हुनुपर्ने, लक्षित टर्मिनलसम्म सूचना वा डाटा पुग्न लाग्ने समय (लिटेन्सी) २ सय ५० मिलिसेकेण्ड भन्दा कम हुनुपर्ने व्यवस्था  गरिएको छ । प्राधिकरणले सेवाप्रदायकलाई क्षतिपूर्तिको व्यवस्था कार्यान्वयनका लागि आवश्यक तयारी तथा उपकरण जडान गर्न समय लाग्ने भएकोले साउन १ गतेदेखि उक्त नियमावली लागु हुने व्यवस्था गरेको हो  ।

तनहुँ जलविद्युतको २१ करोड मुआब्जा वितरण, घर, गोठ, टहरा,फलफुल र रुखविरुवालाई क्षतिपूर्ति

काठमाडौं । १४० मेगावाटको तनहुँ जलविद्युत आयोजनाको जलशायबाट डुवानमा पर्ने निजी जग्गा अधिग्रहणका लागि २१ करोड १० लाख रुपैयाँ मुआब्जा वितरण गरिएको छ । यस अघि १५ करोड ६८ लाख मुआब्जा बितरण गरिएको थियो ।  विहीबार मात्रै ५ करोड ४२ लाख रुपैया“ वितरण गरिएको छ । डुवानमा पर्ने जग्गाको मुआब्जा र त्यसमा रहेका घर, गोठ, टहरा फलफुल तथा रुखविरुवाको क्षतिपूर्ति वितरण गरिएको हो । आयोजनाले डुवान क्षेत्रको जग्गा अधिग्रहणका लागि गत ५ फागुनबाट मुआब्जा वितरण सुरु गरेको थियो । सरकारले चालु आर्थिक वर्ष ०७३÷७४मा मुआब्जा वितरणका लागि ४२ करोड रुपैयाँ बिनियोजन गरेको छ । त्यसमध्ये विहीबारसम्ममा २१ करोड १० लाख रुपैया“ वितरण गरिएको हो । जलशायबाट डुवान क्षेत्रमा पर्ने करिव  एक हजार दुई सय रोपनी जग्गा अधिग्रहण गर्नु पर्ने छ । यसका लागि करिव ६० करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ । आयोजनाको बाँध बनेपछि बन्ने  जलशायले तनहुँका भिमाद, माझकोट, ऋषिङ्ग रानीपोखरी, साभुङ्ग भगवतीपुर, कोटदरबार, जामुने र छाङ क्षेत्रका जग्गा डुवानमा पर्ने छन् । जग्गा प्राप्ती ऐन २०३४मा भएको व्यवस्था अनुसार तनहुका प्रमुख जिल्ला अधिकारी  फणिन्द्रमणि पोखरेलको अध्यक्षमा गत  २३ माघमा २०७३मा बसेको मुआब्जा निर्धारण समितिको बैठकले आयोजनको डुवान क्षेत्रको जग्गाको मुआब्जा निर्धारण गरेको थियो । मुआब्जाको राय सुझाव दिन गठित उपसमितिले डुवान क्षेत्रमा पर्ने जग्गाको स्थलगत अध्ययन, सरोकारवालासँग छलफल, जग्गाको अवस्था, किसिम, अवस्थिति, उपभोग, स्थानीय चलनचल्तीको मूल्यका  आधारमा दर तय गरि मुआब्जा निर्धारण समिति समक्ष प्रतिवेदन पेश गरेको थियो । यही आधारमा सरोकारवाला, स्थानीय राजनीतिक दलका प्रतिनिधि लगायतसँग छलफल गरि मुआब्जा निर्धारण समितिल प्रति रोपनी दुई लाख देखि आठ लाख रुपैया“सम्मे मुआब्जा निर्धारण गरेको थियो ।  आयोजनाको १४० मिटर अग्लो बाँध व्यास नगरपालिकमा पर्ने छ । आयोजनाको जलशाय बा“धको माथिल्लो तटमा करिव २५ किलोमिटर फैलने छ । काहुँशिवपुरको कुनौटेमा भूमिगत विद्युत गृह रहने छ । सेती नदीको दाया“ किनार हु“दै ७.४ मीटर व्यासको १२०३ मीटर सुरुङमार्फत बाँधभन्दा करिव ५ किलोमिटर तल्लो तटमा रहने भूमिगत विद्युत गृहमा पानी पु¥याएर विद्युत उत्पादन गरिने छ । विद्युत गृहमा ७०/७० मेगावाटका दुईवटा फ्रान्सिस टर्वाइन रहनेछन् । विद्युत उत्पादनपछि १९० मिटर लामो निकास सुरुङमार्फत पानीलाई पुनः सेती नदीमा खसालिने छ । ठेक्कापट्टका सम्पूर्ण काम०७४ को असोजभित्रमा सक्ने र त्यसपछि निर्माण सुरु गर्ने लक्ष्य राखिएको छ । आयोजनाको निर्माण ०७९ पुसको दोस्रो साता (२०२२ को डिसेम्बर अन्तिम)मा सम्पन्न गर्ने लक्ष्य तय गरिएको छ ।  अहिले निर्माण पूर्वका काम भइरहेका छन् । आयोजनाबाट उत्पादित बिजुली २२० किलोभोल्ट (केभी)को डबल सर्किट प्रसारण लाइनमार्फत नेपालको राष्ट्रिय प्रसारण प्रणालीमा जडान गरिनेछ । यसका लागि विद्युत गृहदेखि चितवनको भरतपुरस्थित सव स्टेसनसम्म ३७ किलोमिटर प्रसारण लाइनको निर्माण गरिने छ । आयोजनाबाट विद्युत उत्पादन सुरु भएको पहिलो १० वर्षसम्म वार्षिक औसत विद्युत उत्पादन ५८ अर्ब ७७ करोड र त्यसपछि ४८ अर्ब ९९ करोड युनिट उत्पादन हुने छ । बढी विजुली माग हुने हिउ“दमा आयोजना ६ घण्टा पूर्ण क्षमतामा अर्थात १४० मेगावाटमा सञ्चालन हुने छ । आयोजनाको अनुमानित लागत ५० करोड ५० लाख अमेरिकी डलर छ । यो लागत निर्माण अवधिको ब्याज, प्रसारण लाइन निर्माण र ग्रामिण विद्युतीकरण सहितको हो । आयोजनामा नेपाल सरकार तथा नेपाल विद्युत प्राधिकरणको ८ करोड ६० लाख, एसियाली विकास बैकको १५ करोड,  जापान अन्तराष्ट्रिय सहयोग नियोगको १८  करोड ४० लाख   र  युरोपेली लगानी बैकको लगानी ८ करोड ५० लाख अमेरिकी डलर सहुलितपूर्ण ऋण लगानी रहने छ । लगानीकर्तासँग ऋण सम्झौता भइसकेको छ ।

चलचित्र ‘जोनी जेन्टलम्यान’ को गीत “तिमीविना मान्दैन” को भिडियो सार्वजनिक

काठमाडाैं ।चलचित्र ‘जोनी जेन्टलम्यान’ को गीत “तिमीविना मान्दैन”  को भिडियो आइतबार राजधानीमा एक कार्यक्रमबीच सार्वजनिक गरियो । गीतमा अभिनेता पल शाह र अभिनेत्री आँचल शर्माको अभिनय देख्न पाइन्छ । यो गीतको भिडियो भारतको विभिन्न ठाउँमा छायांकन गरिएको हो । गीतमा हर्कुलस बस्नेतको स्वर, शब्द तथा संगीत रहेको छ ।म्युजिक भिडियो निर्देशन गर्दै आएका नितिन चन्दले यो चलचित्र निर्देशन गरेका हुन् । आफ्नो चलचित्र आगामी १९ जेठबाट दर्शकमाझ आउने निर्देशक चन्दले पत्रकार भेटघाटमा जानकारी गराए । यो चलचित्र प्रेमकथामा आधारित रहेको पनि उनले जानकारी गराए ।  कार्यक्रममा अभिनेता पल शाहले यो चलचित्रमा आफू जोनीको भूमिकामा रहेको बताए । अघिल्लो चलचित्र भन्दा यसमा आफ्नो भूमिका पूर्ण फरक भएको उनले बताए । जोनी जेन्टलम्यानलाई एन्ड्रेउ पौडेल, अजय मल्ल ठकुरी र सन्जु शाहले निर्माण गरेका हुन् । जसमा केशव थापा र सरिता राँचलको नृत्य निर्देशन, रूपेश थापाको छायांकन रहेको छ ।

सिटिजन्स बैंकद्धारा एक दर्जन संस्थालाई ४७ लाख रुपैयाँ सहयोग, दशक पार गरेपछि ‘दशक बचत खाता’ शुभारम्भ

काठमाडौं । २०६४ बैशाख ७ गतेदेखि २० आंै वाणिज्य बैंकको रुपमा बैकिङ्ग कारोबार शुरु गरेको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आज दशौं वर्ष पूरा गरेको छ । वार्षिकोत्सवका अवसरमा बैंकको केन्द्रीय आयोजित कार्यक्रममा बैंकका अध्यक्ष शंकरप्रसाद शर्माले सिटिजन्स दशक बचत खाता शुभारम्भ गरेका छन् । यस योजना अन्तर्गत निक्षेपकर्ताले न्यूनतम मौज्दात पाँच हजार रुपैयाँमा दैनिक मोज्दातमा ५ प्रतिशत व्याजदर प्राप्त गरिने बैंकले जनाएको छ । साथै निःशुल्क एविविएस, निःशुल्क सेयर डिम्याट सेवा, लकर शुल्कमा पनि ५० प्रतिशत छुट प्रदान गरिने बैंकले जनाएको छ । बैंकले सस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरगत शिक्षा, स्वास्थ्य, खेलकुल तथा परोपकारी काममा संलग्न करिब एक दर्जन संस्थाहरुलाई करिब ४७ लाख रुपैयाँ सहयोग गरेको छ । बैंकले ‘चितवन मानव सेवा आश्रम’लाई ३ लाख रुपैयाँ, ‘संगीतकार संघ नेपाल’लाई पनि ३ लाख रुपैयाँ सहयोग प्रदान गरेको छ  भने विगत ५ वर्षदेखि निरन्तर रुपमा १३ जना गरिब, पिछडिएका तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान ‘बाल विकास समाज’ मार्फत १ लाख ३० हजार रुपैयाँ सहयोय गरेको बैंकले जनाएको छ । यस बैंकले माथिल्लो डोल्पाका पिछडिएका बालबालिकालाई शिक्षा प्रदान गर्ने उद्देश्य लिई कार्यरत्त ‘स्नो याक फाउण्डेशनलाई’  १ लाख रुपैयाँ प्रदान गरेको छ । यसै गरी एड्स संक्रमित भएका बालबालिकाहरुलाई सेवा प्रदान गरिरहेका संस्थाहरु साथ र र बेवी लाईफ होमलाई एक लाख रुपैयाँ सहयोग गरेको छ । साथै, मिर्गौला तथा अन्य मानव अङ्ग प्रत्यारोपण गर्नु पर्ने बिरामीहरुको सहयोगका लागि बैंकले आरोग्य फाउन्डेशनलाई आर्थिक सहयोग स्वरुप २ लाख रुपैयाँ सहयोग गरेको छ भने बावु—आमा जेल पेरेका बाल बालिकाहरुाई सहयोग गरिरहेका बन्दि सहायता नेपाललाई आर्थिक सहयोग स्वरुप १ लाख ४० हजार रुपैयाँ प्रदान गरेकोे छ । त्यस्तै बैंकले कुलेश्वर माध्यमिक विधालयमा कम्प्यूटर कक्ष निर्माण गर्न २ लाख १० हजार, बाल विनोध माध्यमिक विधालयलाई कक्षा कोठामा झ्यालहरु राख्नको लागि २ लाख रुपैयाँ, कमल निम्न माध्यमिक विधालयलाई २ लाख ५० हजार, त्रिवेण्ी सामुदायिक पुस्ताकलय तथा श्रोत केन्द्रलाई ५० हजार रुपैयाँ सहयोग गरेको छ । त्रिवेणी क्षेत्रको नर्वदेश्वर महादेवको मन्दिरको जीर्णदारको लागि १ लाख ५० हजार, दीर्घायु गुरु हस्पिटल एण्ड रिसर्च सेन्टरलाई हस्पिटलको सामान खरिद गर्नको लागि १ लाख ५० हजार, वमन हेल्थ स्क्रीन नेपाललाई १ लाख, अभय उपचार केन्द्रलाई २ लाख रुपैयाँ सहयोग प्रदान गरेकोे छ । बैंकले दरवारमार्गस्थित नेपाल ट्राफिक प्रहरीको कार्यलयमा वाटर ट्रिमेन्ट प्लान्ट स्थापनामा सहयोग गरेको छ । त्यस्तै, नेपाली राष्ट्रिय क्रिकेट टोली र श्रीलंकाका भेत्राण क्रिकेट खेलाडीहरुबीच आयोजन हुन लागेको क्रिकेट खेल सञ्चालनका लागि तीन लाख रुपैयाँ सहयोग प्रदान गरेको छ । बैंकले आफ्नो वार्षिकोत्सव पारेर खेलकुद, रक्तदान, अंगदान, प्रभातफेरी कार्यक्रम गरेको बैंकका नायव प्रमुख कार्यकारी अधिकृत तथा प्रवक्ता गणेश राज पोखरेलले जानकारी दिएका छन् ।

एउटै गाउँमा १० वटा जलविद्युत् आयोजना, बिजुली गाउँ नारच्याङ

म्याग्दी । कृषि, पर्यटन र जलविद्युत्मा प्रचुर सम्भावना बोकेको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा १० वटा जलविद्युत् आयोजना निर्माण प्रक्रिया थालिएको छ । राउन्ड अन्नपूर्ण पदमार्गअन्तर्गत पर्ने नारच्याङ जलविद्युत् गाउँ (हाइड्रो भिलेज)का रुपमा चिनिन थालेको छ । नारच्याङमा विसं २०४४ मा पहिलो पटक दुई मेगावाट क्षमताको तातोपानी जलविद्युत् आयोजना निर्माण गरिएको थियो । जलस्रोतको अथाह भण्डार भएको सो गाउँमा अहिले १० वटा जलविद्युत् आयोजना निर्माणका क्रममा रहेका नारच्याङ जलसरोकार समितिका सदस्य तेज गुरुङ बताउछन । अन्नपूर्ण साउथबाट बग्ने घलेम्दी, निलगिरि हिमालबाट बग्ने निलगिरि र खयरवराह तालबाट बग्ने रेले खोला तथा कालीगण्डकी नदीबाट गरी नारच्याङमा मात्रै करिब २९० मेगावाट विद्युत् उत्पादन गर्न सकिने गुरुङको भनाइ छ । “अहिले आयोजना निर्माण चरणमा प्रवेश गरेका छन्, यसले छिट्टै नारच्याङलाई ‘हाइड्रो भिलेज’मा परिणत गराउने सम्भावना बढेको छ,” उनले भने। पाँच मेगावाट क्षमताको घलेम्दीखोला र ४२ मेगावाट क्षमताको मिस्तीखोला जलविद्युत आयोजना निर्माणको कार्य सुरु भएको छ । त्यसैगरी ३८ मेगावाटको निलगिरि, ६२ मेगावाटको निलगिरि क्यास्केट, १० मेगावाटको रेलेखोला आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन कार्य सम्पन्न भएको छ । नारच्याङमा १० मेगावाट क्षमताको माथिल्लो घलेम्दी, पाँच मेगावाटको निलगिरि माथिल्लो, ५० मेगावाटको मध्य कालीगण्डकी जलविद्युत् आयोजना अहिले दर्ता भएका छन् । यस्तै लाइसेन्स खारेजीमा परेको १६५ मेगावाट क्षमताको कालीगण्डकी गर्जले विस्तृत सर्वेको र करिब ३०० रोपनी जग्गाको मुआब्जा वितरण समेत गरिसकेको छ । जलविद्युत् आयोजनाको आगमनसँगै गाउँमा भौतिक पूर्वाधार विकासले समेत गति लिएको छ । स्थानीयस्तरमा उत्पादन हुने विद्युत्लाई राष्ट्रिय प्रसारण लाइनमा जोड्नका लागि दाना र पर्वतको खुर्कोटमा २२० केभी क्षमताको सवस्टेसन तथा ३८ किमी दूरीको दाना–खुर्कोट प्रसारण लाइन निर्माण सुरु गरिएको छ । नारच्याङमा करिब ४८० घरधुरीको बसोबास रहेको छ । घलेम्दीखोला आयोजनामा करिब ९० जना स्थानीयवासीले रोजगारी पाएका छन् । घलेम्दी हाइड्रो लिमिटेडका कम्पनी सचिव विमल रिजाल आयोजनामा सीप नभएकालाई पनि अन्य व्यक्तिबाट सीप विकास गरी क्षमताअनुसारको काम गर्ने अवसर दिइएको बताउछन । नारच्याङ गाविसका बासिन्दाले करिब रु एक करोड आयोजनामा सेयर लगानी समेत गरेका छन् । उपल्लो नारच्याङको लेकगाउँका अधिकांश घरधुरीबाट आयोजनामा लगानी भएको छ । नारच्याङमा घलेम्दीसँगै रोवस्ट इनर्जी कम्पनीले निर्माण गर्न लागेको ४२ मेगावाट क्षमताको मिरिस्तीखोला जलविद्युत् आयोजनासमेत निर्माण चरणमा प्रवेश गरेको छ । आयोजनामा काम गर्ने कामदार र लगानीकर्ताको आवतजावत बढ्न थालेको छ भने जलविद्युत् आयोजनाको पूर्वाधार निर्माणको लागि सडक, पुललगायतका भौतिक पूर्वाधार निर्माण कार्य अगाडि बढेको छ । स्थानीयवासी अर्जुन मगर नारच्याङमा भित्रिएका जलविद्युत् आयोजनाले रोजगारी र लगानीको अवसरमात्रै नभई स्थानीय विद्यालयको निजी स्रोतका शिक्षकलाई तलब उपलब्ध गराउन समेत सहयोग पुगेको बताउछन। रासस

निगमको जहाज खरिदका लागि सरकार जमानी बस्ने, बिपी र पुष्पलालका नाममा पार्क बनाउने निर्णय

काठमाडौँ, ७ वैशाख । मन्त्रिपरिषद्को बैठकले नेपाल वायु सेवा निगमको ‘वाईड बडी जहाज’ खरिदका लागि सरकार जमानी बस्ने निर्णय गरेको छ । निगमले गत चैत २५ गते अमेरिकी विमान कम्पनीसँग २१ अर्ब ९० करोडमा दुई वटा वाईड बडी जहाज’ खरिदका लागि सम्झौता गरेको थियो । मन्त्रिपरिषद्को बैठकले युरोपियन सङ्घलाई नेपालमा जग्गा खरिदका लागि अनुमति दिने निर्णय गरेको ऊर्जामन्त्री जनार्दन शर्माले जानकारी दिए । बैठकले महोत्तरीको बर्दिवास नगरपालिकास्थित मुसहर बस्तीमा घर निर्माण गरी हस्तान्तरण गर्दा लाग्ने जग्गा रजिस्ट्रेसन शुल्क मिनाहा गर्ने निर्णय गरेको उनले बताए । बैठकले महिला बालबालिका दिवा सेवा स्याहार केन्द्रको म्याद थप गर्ने, खेलकुद मन्त्रीको विदेश भ्रमण स्वीकृति गर्ने, सेनाका प्रधानसेनापतिसहितको भ्रमण दललाई अमेरिका भ्रमणका लागि स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ । विभिन्न ठाउँका वनको रुख काट्न अनुमति दिने, शिक्षा मन्त्रालयको कार्यसम्पादन मूल्याङ्कनमा आधारित प्रणाली लागू गर्ने निर्णय समेत बैठकले गरेको मन्त्री शर्माले जानकारी दिए । बिपी र पुष्पलाल पार्क निर्माण गरिने बैठकले नेपाली काँग्रेसका संस्थापक नेता तथा पूर्व प्रधानमन्त्री बिपी कोइरालाको जन्मस्थल सिन्धुलीको दुम्जामा सङ्ग्रहालय र पार्क बनाउने तथा नेपाल कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलालको जन्मस्थल रामेछापमा पार्क निर्माण गर्ने निर्णय गरेको छ । सहरी विकासमन्त्री अर्जुननरसिंह केसीले आफ्नो मन्त्रालयको प्रस्तावअनुसार तत्कालका लागि ती दुई स्थानमा पार्कको काम अघि बढाउन ५०÷५० लाख छुट्याउने निर्णय मन्त्रिपरिषद्बाट भएको जानकारी दिए । रासस

नेशनल लाईफको हकप्रद सेयरमा २५ प्रतिशत कटौति, २५ प्रतिशत बोनस सेयर दिने

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले पूर्वघोषित हकप्रद सेयरमा २५ कटौति गर्ने निर्णय गरेको छ । २०७३ मंसिर २९ गते सम्पन्न कम्पनीको २८ औं वार्षिक साधारणसभाले १ बराबर १ अर्थात चुक्ता पुँजीको १०० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने निर्णय गरेको थियो । तर अब कम्पनीले ७५ प्रतिशत मात्र हकप्रद सेयर निष्काशन गर्ने निर्णय गरेको छ । हाल नियामक निकाय बीमा समितिले जीवन बीमा कम्पनीको चुक्ता पुँजी २०७५ असार मसान्तसम्ममा २ अर्ब रुपैयाँ मात्र भए पुग्ने स्पष्ट नीति लिएकोले कम्पनीले ७५ प्रतिशत मात्र पुँजी वृद्धिको निर्णय लिएको जनाएको छ । हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ३२ करोड ४८ लाख ६३ हजार रुपैयाँ छ । गत आर्थिक वर्ष २०७२÷७३ को नाफाबाट कम्पनीले २५ प्रतिशत बोनस सेयर दिने भएको छ । २५ प्रतिशत बोनस सेयरको रुपमा लाभांश ३३ करोड १२ लाख १५ हजार ९२० रुपैयाँ र ७५ प्रतिशत हकप्रद सेयरबाट ९९ करोड ३६ लाख ४७ हजार ७५० पुँजी वृद्धि गर्ने निर्णय कम्पनीले लिएको छ । कम्पनीको सञ्चालक समितिले गरेको निर्णय बीमा समितिबाट स्वीकृत गराई साधारणसभाबाट अनुमोदन गराई कार्यान्वयन गरिने कम्पनीले जनाएको छ । बोनस र हकप्रद सेयर निष्काशनपछि कम्पनीको चुक्ता पुँजी २ अर्ब ६४ करोड ९७ लाख रुपैयाँ हुनेछ । कम्पनीको पुँजी प्रयाप्तता र सेयरधनीको हितलाई ध्यानमा राखेर नयाँ निर्णय लिनु परेको कम्पनीले जनाएको छ ।