विकासन्युज

१२ वटा कम्पनीको १ करोड ७२ लाख २७ हजार कित्ता बोनस सेयर सूचिकृत, नेपाल लाईफको एफपीओ आगामी साताबाट किनबेच हुने

काठमाडौं । विहीबार नेपाल स्टक एक्स्चेञ्ज लिमिटेड (नेप्से)मा १२ कम्पनीको १ करोड ७२ लाख २७ हजार ३७५ कित्ता सेयर सूचिकृत भएको छ । त्यसमा नेपाल लाईफ इन्स्योरेन्स कम्पनीको ३० लाख ९६ हजार ४२९ कित्ता एफपीओ रहेको छ भने बाँकी ११ कम्पनीको बोनस सेयर मात्र रहेको छ । नेपाल लाईफ लगायत सबै कम्पनीको सूचिकृत सेयर आगामी सातादेखि कारोबार हुने नेप्सेले जनाएको छ । विहीबार नेपाल एसबीआई बैंकको १ करोड ८ लाख ८९ हजार २७२ कित्ता बोनस सेयर विहीबार नै नेप्सेमा सूचिकृत भएको छ । त्यस्तै, साना किसान बैंकको १० लाख ६ हजार १२४ कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत भएको छ । मेरो माइक्रोफाइनान्सले जारी गरेको २ लाख कित्ता बोनस सेयर पनि सूचिकृत भएको छ । त्यस्तै समिट माइक्रो फाइनान्स डेभलपमेन्ट बैंकको २ लाख २५ हजार कित्ता बोनस सेयर सूचिकृत भएको छ । साहारा विकास बैंकले वितरण गरेको ५७ हजार ३४८ कित्ता बोनस सेयर पनि विहीबार नै नेप्सेमा सूचिकृत भएको छ । सेन्ट्रल फाइनान्सले आफ्ना सेयरधनीलाई वितरण गरेको ५ लाख ५५ हजार २०४ कित्ता बोनस सेयर पनि नेप्सेमा सूचिकृत भएको छ । लुम्बिनी फाइनान्स एण्ड लिजिङ कम्पनीले वितरण गरेको १४ लाख ४३ हजार ७५० कित्ता बोनस सेयर पनि सूचिकृत भएको छ । गुजेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सले वितरण गरेको ५ लाख २८ हजार ७३० कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत भएको छ । त्यस्तैगरी, बुटवल पावर कम्पनी लिमिटेडको ११ लाख ८४ हजार ५६३ कित्ता बोनस सेयर सूचिकृत भएको छ । पूर्णिमा विकास बैंकको ४ लाख ९८ हजार २२० कित्ता बोनस सेयर सूचिकृत भएको छ  । अल्पाइन डेभलपमेन्ट बैंकको ३ लाख २९ हजार ३५३ कित्ता बोनस सेयर सूचिकृत भएको छ ।

शिक्षा, भौतिक पूर्वाधार, गृह, स्वास्थ्य र रक्षालाई ३६७ अर्ब बजेट प्रस्ताव, शिक्षालाई मात्र सवा खर्ब

काठमाडौं । सरकारले शिक्षा क्षेत्रको विकास तथा विस्तारको लागि आगामी आर्थिक वर्ष २०७४÷७५ मा सवा एक खर्ब बजेट विनियोजन गर्ने भएको छ । सबै प्रदेशमा विश्व विद्यालय निर्माण गर्न तथा प्राविधिक  क्षेत्रमा पहुँच बढाउँदै समय सापेक्ष आधुनिका शिक्षा उपलब्ध गराउन सबैभन्दा बढी रकम विनियोजन गर्न लागेको हो । कुल ११ खर्ब ५६ अर्बको बजेट ल्याउने तयारीमा जुटेको सरकारले राज्यको प्राथमिक क्षेत्र पूर्वाधार निर्माणमा लागि ९५ अर्ब २१ करोड बजेट विनियोजन गर्ने तयारी गरेको छ । देशभरिनै पूर्वाधार निर्माण गर्न र यसको विकास तथा विस्तारको लागि सरकारले पूर्वाधार क्षेत्रलाई बढी रकम विनियोजन गर्न लागेको हो । पूर्वाधार निर्माण नभइ देश विकासको गतिमा अघि बढ्न नसक्ने औल्याउँदै सरकारले विगत केही वर्ष यता पूर्वाधार निर्माणलाई विशेष प्राथमिकतामा राख्दै आएको छ । देश निर्माणको लागि सानातिना तथा झोलुङ्गे पुलदेखि ठूला ठूला परियोजनाको उत्तिकै महत्व छ । ठूला परियोनजाले रोजगारी सिर्जना, उत्पादनकत्व बृद्धि अर्थतन्त्र निर्माणमा भुमिका खेल्दछ भने साना परियोजनाले ठूला सञ्जालमा जोड्ने तथा पहुच विस्तार गर्ने कार्य गर्दछ । संघीय संरचना अनुसार बजेट निर्माण गर्दै गरेको सरकारले गृह मन्त्रालयलाई ५५ अर्ब ३१ करोड र स्वास्थ्य मन्त्रालयलाई ४६ अर्ब ५ करोड बजेट सीमा निर्धारण गरेको छ । आगामी आर्थिक वर्ष २०७४/७५ मा रक्षा मन्त्रालयको लागि ४५ अर्ब २४ करोड बजेट सीमा निधारण गरिएको छ । यी पाँच मन्त्रालय बाहेक कृषि, सिंचाइ, सहरी विकास, खानेपानी तथा सरसफाइ मन्त्रालयले क्रमशः ३० अर्ब ५८ करोड, २९ अर्ब ६१ करोड, सहरी विकासको २७ अर्ब ९२ करोड, २६ अर्ब ७० करोड रुपैयाँ पाउने भएका छन् । त्यस्तै ऊर्जा मन्त्रालयले १५ अर्ब १ करोड पाउने भएका छन् । मन्त्रालय गत बजेट विवरण यस्तो भएपनि अर्थ मन्त्रालय भने संघीय संरचना अनुसार बजेट निर्माण गरी सोझै स्थानीय निकायसम्म बजेट निकासा गर्ने तयारी गरिरहेको छ । अब नयाँ संरचना अनुसार कम्तीमा पनि एक गाउँपालिकालाई एक अर्ब रुपैयाँदेखि ३ अर्ब रुपैयाँसम्म बजेट दिने तयारी सरकारले गरेको छ । संघीय संरचना अनुसार केन्द्र सरकारभन्दा स्थानीय सरकार बढी शक्तिशाली हुने तथा स्थानीय तहलाई पुन संरचना गर्नको लागि सरकारले यसरी बजेट विनियोजन गर्ने भएको हो ।

मोरङको धनपालथानमा झिँगा आतंकले स्थानीयवासी हैरान

मोरङ । मोरङको धनपालथान–३ मा सञ्चालित विराट पोल्ट्री फार्मको फोहोर र त्यसबाट उत्पादित झिँगाका कारण स्थानीयवासी हैरान भएका छन् । झिँगा व्यवस्थापन नगरेका कारण स्थानीयवासी विस्थापित हुने अवस्थामा पुगेको स्थानीयवासी इन्दिरा उप्रेतीको भनाइ छ । पोल्ट्री फार्मबाट निस्केको दुर्गन्ध र झिँगाका कारण सोराभाग, रङ्गेली, बबियाविर्ता र दर्वेशाका स्थानीयवासी हैरान भएको उप्रेतीको भनाइ छ । पोल्ट्री फार्मको कुखुराको सुली मानवबस्ती नजिकै फाल्दा त्यसबाट उत्पादित दुर्गन्ध र झिँगाका कारण गाउँमा बस्नै नसक्ने अवस्था आएको स्थानीय चटपटे व्यापारी प्रकाश साहको भनाइ छ । स्थानीयवासीले प्रदूषण नियन्त्रण गर्नुपर्ने, झिँगा नियन्त्रण गर्नुपर्ने, स्वास्थ्यमा खेलबाड गर्न नपाइने माग राखेको झिँगा तथा प्रदूषण विरुद्धको सङ्घर्ष समितिकी सचिव इन्दिरा उप्रेतीको भनाइ छ । उनले भने, “पाँचपटक सिडिओ कार्यालय, उद्योग सचिव र उद्योग मन्त्रालयमा नै पुगेर ज्ञापन दिएपनि सम्बन्धित निकायले बेवास्ता गरेको छ, मागप्रति कुनै सुनुवाइ भएको छैन ।” झिँगाका कारण स्थानीयवासीले भने घरमा पूजाआजा, विवाह व्रतबन्ध केही ग¥यो भने कोही पनि आएर खाना नखाने गरेको बताइएको छ । सो क्षेत्रमा दुई हजार घरधुरीका ६ हजार व्यक्ति बस्दै आएका छन् । रासस

फलफुलको भाउ ५४ प्रतिशतसम्मले बढ्यो, औंशीमा फलफुलको माग चार गुणाले बढ्ने

काठमाडौं । मातातिर्थ औंशी नजिकिँदै गर्दा राजधानीमा फलफुलको खपत बढेपनि मूल्य भने बढेको छ । औंशीमा एकैपटक माग बढ्ने भएकाले नेपालको उत्पादन अपुग हुने गरेको छ । कालिमाटी फलफुल तथा तरकारी बजार विकास समितीका अनुसार एक महिनामा ५४ प्रतिशतसम्मले बढेको छ । समितिका अनुसार एक महिनामा अनारको भाउ ३२.५६ प्रतिशतले बढेको छ । हाल अनार प्रति किलो दुई सय ८५ रुपैयाँमा बिक्री भइरहेको छ । त्यस्तै सुन्तलाको भाउ ५४.५५ प्रतिशतले महंगिएको छ । मेवाको भाउ १४.५७ प्रतिशतले बढेको छ । उत्पादन पर्याप्त मात्रामा नहुँदा भारत र चीनबाट आयात गर्नुपर्ने भएकाले फलफुल महंगोमा बिक्री गर्नुपर्ने बाध्यता रहेको नेपाल फलफुल थोक व्यवसायी संघका अध्यक्ष अम्बर बानियाँले बताए । कुशे औंशीमा विशेषगरी केरा, स्याउ, सुन्तला र अनारको खपत बढ्ने गरेको उनले बताए । औंशीमा फलफुलको माग चार गुणाले बढ्ने भएकाले उपत्यकामा दोब्बर मात्रामा आयात भइरहेको छ । बानियाँका अनुसार कुशे औंशीमा फलफुलको कारोबार चार गुणाले बढ्छ । उनले भने, ‘१३ गते कुशे औंशीपरेकाले त्यसको ठिक चार दिन अगाडीदेखि फलफुलको कारोबार बढ्न थाल्छ ।’ गर्मीमा सबैभन्दा बढी खपत उपत्यकामा गर्मीमा सबैभन्दा बढी फलफुलको खपत हुने गरेको छ । गर्मीमा सबैभन्दा बढी खरबुजा, सुन्तला, मेवा, अनार र आपको माग हुने गरेको बानियाँले बताए । ‘अहिले राजधानीमा दैनिक ४० टनका दरले मेवा, खरबुजा, सुन्तला र आपको खपत हुने गरेको छ भने अनार दैनिक २५ टन खपत हुने गरेको छ। यो एक महिना अगाडीको तुलनामा दोब्बर हो, ‘ उनले भने । सुन्तलाको अभाव भारतमा अत्याधिक तापक्रमका कारण सुन्तलाको उत्पादन घटेपछि बजारमा सुन्तलाको अभाव रहेको बानियाँले जानकारी दिए । ‘ भारतमा तापक्रम बढेर सुन्तलाको उत्पादन घटेको छ । गर्मीले सुन्तलामा रस पनि लागेका छैनन् । अहिले व्यापारीहरुले कोल्ड स्टोरमा स्टक रहेको सुन्तलाको मात्र बिक्री गरिरहेका छन् ,’ उनले भने । फलफुलको एक महिनाको तुलनात्मक मूल्य सूची फलफुल (किलोमा) चैत ७ गते, २०७३ बैशाख ७ गते, २०७४ अनार २१५ २८५ अंगुर १०५ ११५ सुन्तला ५५ ८५ तरबुजा ३३ २२ मौसम १०५ १०५ मेवा ४८ ५५ स्याउ १०५ १०५ केरा ८५ ८५  

५ अर्ब ६० करोड ४० लाख रुपैयाँको हकप्रद सेयर आवेदन आजबाट खुला, दोस्रो बजारमा प्रभाव पर्न सक्ने

काठमाडौं । दुई वाणिज्य बैंक र एक विकास बैंकको गरी ५ अर्ब ६० करोड ४० लाख रुपैयाँ बराबरको हकप्रद सेयरको लागि विहीबारबाट आवदेन खुला भएको छ । नेपाल बंगलादेश बैंकले ३ अर्ब २१ करोड, नेपाल बैंकले १ अर्ब ५४ करोड र सिद्धार्थ डेभलपमेन्ट बैंकले ८५ करोड रुपैयाँ बराबरको हकप्रद सेयर आजबाट निष्काशन खुला गरेको हुन् । नेपाल बंगलादेश बैंकको ३ करोड २० लाख ९४ हजार ६८ कित्ता हकप्रद सेयरको लागि आजदेखि आवेदन खुला भएको छ । बैंकले १० कित्ता बराबर ८ कित्ता अनुपातमा हकप्रद सेयर निष्काशन गरेको हो । गत चैत १६ गतेभन्दा अघि सेयर खरिद गरेका सेयरधनीले हकप्रद सेयर लिनको लागि जेठ १० गतेसम्म आवेदन गर्न सकिनेछ । यस बैंकको हकप्रद सेयरको निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल रहेको छ भने नेपाल बंगलादेश बैंकका शाखाहरुबाट सेयर आवेदन गर्न सकिनेछ । त्यस्तै, नेपाल बैंक लिमिटेडको १ करोड ५४ लाख ३१ हजार ८४० कित्ता हकप्रद सेयर आवेदन आजबाटै खुला भएको छ । बैंकले चैत २९ गतेसम्म सेयर लिएका सेयरधनीलाई १०० कित्ता बराबर २३.७४ कित्ता हकप्रद सेयर निष्काशन गरेको हो । यो सेयर लिनको लागि बैशाख ७ देखि जेठ १० गतेसम्ममा आवेदन गर्नुपर्ने बैंकले जनाएको छ । हकप्रद सेयर आवेदन नेपाल बैंकका सबै शाखा कार्यालय र धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट लिमिटेडमा बुझाउने सकिनेछ । त्यस्तै, सिद्धार्थ डेभलपमेन्ट बैंकको ८५ लाख १५ हजार ५ कित्ता हकप्रद सेयर आवदेन आजैदेखि खुला भएको छ । गत फागुन १९ गतेअघि सेयरधारण गरेका सेयरधनीले बैशाख ७ देखि जेठ १० गतेसम्म हकप्रद सेयर खरिदको लागि आवेदन गर्न सक्नेछ । निष्काशन तथा बिक्री प्रबन्धक नविल इन्भेष्टमेन्ट बैकिङ लिमिटेड र सिद्धार्थ डेभलपमेन्ट बैंकका शाखा कार्यालयहरुबाट हकप्रद सेयर आवेदन गर्न सकिनेछ । त्यस्तै, कुमारी बैंककाे १ अर्ब ३४ कराेड ९५ लाख रूपैयाँ बराबरकाे हकप्रद सेयरकाे लागि अावेदन गर्न तीन समय बाँकी छ । ठूलाे मात्रामा हकप्रद सेयर निष्काशन भएकाेले सेयर बजार प्रभावित हुन सक्नेछ ।

डेढ करोडको हिसाव नमिल्दा वार्षिक पाँच करोडको आम्दानी गुम्दै, एनएमएबाट २७ हिमालको आरोहण रोयल्टी खोसिने

काठमाडौं । नेपाल पर्वतारोहण संघ (एनएमए)को अहिलेसम्मको जम्मा १ करोड ६३ लाख रुपैयाँको हिसाव नमिल्दा बार्षिक ५ करोड रुपैयाँ संकलन गर्दै आएको हिमाल आरोहणको अनुमति खोसिने भएको छ । गत आर्थिक वर्ष २०७२/ ७३ को आम्दानीबाट संघले स्थानीय विकास कोषमा पठाउनुपर्ने १ करोड २८ लाख र वातावरण संरक्षण कोषमा जानुपर्नें ३५ लाखसमेत गरि १ करोड ६३ लाख संघ आफैंले खर्चं गरेको महालेखा कार्यालयको ५४ औं प्रतिवेदनमा उल्लेख छ । संघले खर्चको लेखापरीक्षण गरी प्रतिवेदन उपलब्ध नगराउने र असुल गरेको रोयल्टीको खर्च सम्बन्धमा मन्त्रालयबाट पनि कुनै अनुगमन नभएको कारण संघलाई हिमाल आरोहणको रोयल्टी उठाउने अधिकार नदिन महालेखाले प्रतिवदेनमार्फत पर्यटन मन्त्रालयलाई सुझाव दिएको छ । संघले पर्यटन ऐन, २०३५ को दफा ३७ (२) बमोजिम सरकारले तोकेको हिमालचुलीको आरोहण गर्ने अनुमति प्रदान पाएको थियो । सरकारको विसं २०३४ माघ ५ गने संघलाई ६५ सय मिटर मुनिका १८ साना हिमचुलीको आरोहण गर्न इच्छुक पदयात्री तथा पर्वतारोहीसँग सेवा शुल्क लिन पाउने अधिकार दिएको थियो । मन्त्रिपरिषद्ले पुनः संघलाई २०५९ भदौ ३१ गते थप १५ हिमाल थप गरेर ३३ हिमालचुलीको रोयल्टी उठाउने, प्रर्वधन र व्यवस्थापन समेत गर्ने जिम्मा दिएको थियो । ५८ सय मिटरसम्मका ६ वटा हिमाल गत वर्षदेखि पदयात्रा रूटमा परेकोले हाल एनएमएसँग २७ वटा हिमाल मात्रै बाँकी छन् । २०७५ साउनदेखि नवीकरण नहुने यी हिमाल पनि अब बढीमा १४ महिनासम्मका लागि मात्रै अनुमति दिन पाउने उल्लेख छ । यस अघि चार वर्ष पहिले पाँच वर्षका लागि हिमाल अरोहणको रोयल्टी उठाउने अधिकार नवीकरण भएको थियो । यो नवीकरण मिति २०७५ साउन २ गते सकिदै छ । महालेखाले उक्त संघले गरेको खर्चको लेखापरीक्षण गरी प्रतिवेदन उपलब्ध नगराउने र असुल गरेको रोयल्टीको खर्च सम्बन्धमा मन्त्रालयबाट अनुगमन हुने गरेको उल्लेख गरेको छ । पर्यटन विभागले अन्य हिमालको रोयल्टी असुल गरे जस्तै सबै हिमालको रोयल्टी विभागबाटै असुल गरी राजस्व दाखिला गर्ने र पर्वतारोहण संघलाई कुनै रकम दिनुपर्ने भए बार्षिक बजेट मार्फत रकम उपलब्ध गराउने व्यवस्था मिलाउनु पनि महालेखाले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयालाई सुझाव दिएको छ । एनएमएले उठाएको यस्तो रकमबाट रोयल्टीको २० प्रतिशत स्थानिय विकास कोष, १० प्रतिशत वातावरण संरक्षण कोष र ५ प्रतिशत उद्धार कोषमा जम्मा गर्नुपर्ने सर्त तोकेर सरकारले रकम उठाउने अधिकार दिएको उल्लेख छ । संघले आब २०५०/५१ देखि २०७१/७२ सम्ममा ३ करोड ८८ लाख रुपैयाँ रोयल्टी रकम संकलन गरेको छ । पर्यटक बढ्न थालेपछि र यसको हिमालमा विदेशी आकर्षण बढ्न थालेकोले आव २०७२/७३ बाट भने बार्षिक रुपमै.४ करोड ९३ लाख रुपैयाँको रोयल्टी संकलन भएको थियो । चार दशकदेखिको एकाधिकार खोसिने एनएमएले चार दशकदेखि उठाउँदै आएको हिमाल आरोहण रोयल्टी अधिकार पटक पटकको विवाद र सरकारी खातामा नै रकम संकलन हुनेपर्ने तर्कका कारण अब भने खोसिने भएको छ । यस अघि पूर्व प्रधानमन्त्री केपी ओली सरकारको कार्यकालका पर्यटन मन्त्री आनन्दप्रसाद पोखरेलले जाँदाजाँदै एनएमएको रोयल्टी संकलन अधिकार खोस्ने नीतिगत निर्णयसमेत गरेको थिए । तर, त्यो निर्णयलाई अदालतको आदेशले रोकेका थियो । मन्त्रालय स्रोतका अनुसार अब १४ महिनापछि एनएमएको हिमालको रोयल्टी उठाउने अधिकार खोसिनेछ । यस अघि सुशील कोइरालाको सरकारले पनि जाँदाजाँदै गत असोज २२ गते मन्त्रिपरिषद्बाट निर्णय गरेर संघको हिमाल आरोहणको रोयल्टी खोसेर पर्यटन विभागलाई दिएको थियो । यो अधिकार पुनः सर्वोच्च अदालतले दुई महिनापछि नै संघलाई नै दिलाएको थियो । पर्यटन मन्त्रालय स्रोतका अनुसार अब एनएमएका कुनै पनि हिमालको नवीकरण हुने छैन । यो हिमाल नवीकरण गर्न मन्त्रालयका कुनै पनि पदाधिकारी फाइल उठाउन तयार नहुने र रोयल्टी उठाउने अधिकार संघलाई नै दिए अब अख्तियारको फन्दामा फसिने डरले पनि नवीकरण नहुने दाबी पर्यटन मन्त्रालय स्रोतको छ । बजेटबाटै रकम विनियोजन गर्नु उपयुक्त नेपाल पर्वतारोहण संघका महासचिव ठाकुरराज पाण्डेका अनुसार सरकारले गर्ने निर्णयमा हाम्रो हिमालको भविष्य रहेको बताए ।उनका अनुसार दुईपटक अदालतबाट आदेश लिएर आइसकिएको छ । दुईपटका पर्यटन मन्त्रीले हिमाल आरोहण अनुमति खोस्ने प्रयास पनि गरिसकेको छन् । उनका अनुसार सधै राज्यसँग लडेर सकिदेन, सरकारले हिमाल बचाउने र यसको प्रवद्र्धन गर्छ बजेटबाटै रकम दिने व्यस्वस्था गर्नुपर्ने सुझावलाई कार्यान्वयन गर्नु नै अवको उपयुक्त विकलप् हुन सक्ने पनि उनको बुझाई छ । उनका अनुसार सरकारले १५ वटा हिमाल आरोहण रोयल्टी संकलने गर्ने जिम्मा एनएमएलाई सँधैका लागि दिएकाले यसलाई खोस्न सक्दैन । १२ वटा भने पछि थप गरेकोले यसैमा चलखेल गर्न खोजिएको हुन सक्ने उनको तर्क छ । तर, सरकराले पर्यटन ऐनले दिएको व्यवस्था भएपनि पुनः यो हिमालको आरोहण रोयल्टीको अधिकार भने सरकारलाई नै भएको पनि उनको बुझाई छ । एनएमएका हिमाल पटकपटक विवादमा आर्थिक स्रोतको भरपर्दो माध्यम भएको र संघसंस्थामा पैसा भए पनि राजनीतिक स्वार्थका कारण एनएमएका हिमाल पटकपटक विवादमा आउने गरेका छन् । यस अघि पर्यटन मन्त्री हिसिया यमी हुँदा पनि संस्थामा पदीय विवादले निकै ठूलो रुप लिएको थियो । यस अघी वर्तमान पदाधिकारी अाउनु अघी अध्यक्षपदमा भएको विवादले ६ महिनाभन्दा बढी समय संघको काम प्रभावित भएको थियो । संस्थामा भएको नियमित आम्दानीकै कारण संस्थामा लामो समय शीतयुद्ध नै चलेका हो । पछिल्लो समय गत असोज २२ गते मन्त्रिपरिषद्ले नै हिमाल आरोहण खोसिदिएको थियो । यो अधिकारलाई गत मंसिरमा सर्वोच्चले संरक्षण गरिदिएको हो । एनएमएले चार दशकदेखि ६ हजार पाँच सय मिटर मुनिका २७ हिमालको सेवा शुल्क उठाउँदै आएकोमा छ । एनमएका अनुसार यो संस्थाले अहिले विभिन्न २७ वटा हिमालबाट वार्षिक करिब पाँच करोड रुपैयाँभन्दा बढी रकम संकलन गर्ने गरेको छ ।

समाचार प्रभावः गोहीले चपाउँदा पनि बाँचेकालाई आर्थिक सहयोग

रत्ननगर । गोहीले चपाएर पनि बाँच्न सफल पश्चिम चितवनको जगतपुरका १२ वर्षीय बालक अर्जुन हरिजनको उपचारका लागि सहयोग आउने क्रम तीव्र भएको छ । बुधबार ‘गोहीले चपाएर पनि बाँचे अर्जुन’ भन्ने शीर्षकमा समाचार आएपछि सहयोग तीव्र भएको हो । उनको उपचारमा लागेको रु एक लाख २५ हजार तिर्न पैसा नभएको कुरासमेत समाचारमा आएको थियो । सो कुरा थाहा पाएर देशविदेशमा बस्ने नेपाली र विभिन्न सङ्घसंस्थामार्फत अहिलेसम्म करिब रु ७५ हजारभन्दा बढी रकम उनको उपचाका लागि सहयोग जुटिसकेको छ । अर्जुनकी दिदी सरिता हरिजनले विभिन्न ठाउँबाट सहयोग आइरहेको र सहयोग गर्छु भनेर फोनमा पनि कुरा आइरहेको बताइन् ।  उनको गाउँ जगतपुरमा समेत विभिन्न क्षेत्रबाट रु ५० हजार सहयोग सङ्कलन भइसकेको स्थानीयवासी विकास पाठकले जानकारी दिए । यस्तै, चितवनका विभिन्न व्यक्ति तथा सङ्घसंस्थाले उनको उपचारमा लागेको पैसा तिर्नका लागि सहयोग गरिरहेका छन् । लक्ष्मी प्रतिष्ठानले रु पाँच हजार, युथ भिजन इन्भेस्टमेन्ट कम्पनीले रु पाँच हजार र माला दाहालबाट रु पाँच हजार सहयोग प्राप्त भएको छ । यस्तै, माधव न्यौपाने, करुणाकर घिमिरे, राजेन्द्र भण्डारी, लक्ष्मी घिमिरे, केशव आचार्य, पूर्ण रिजाल, सिर्जना र सुस्मिता थापा लगायतबाट रु १० हजारभन्दा बढी सहयोग भएको छ । सहयोग आउने क्रम भने जारी छ । गत चैत २५ गतेको भरतपुर महानगर–२३ जगतपुर, घैलाघारीका अर्जुनलाई साथीहरुसँग पौडी खेल्ने क्रममा गोहीले समाएको थियो । गोहीको आक्रमणबाट उनको हात विभिन्न ठाउँमा भाँचिएको छ भने शरीरभरि गहिरा घाउ नै घाउ छन् । उनका साथीहरुले गोहीको आँखामा लौरोले हानेर उनलाई छुटाएका थिए । उनको अहिले चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । आमा फूलमायाँ गाउँबाट ऋण सापट लिएको पैसा दवाई किन्दा नै सकिएकाले पैसा नभएर अस्पतालमा तिर्न नसकेको बताउछिन् । रासस

सिटिजन्स बैंकको नाफा २१ प्रतिशतले वृद्धि, नौ महिनाको कमाई ८८ करोड रुपैयाँ

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनलले चालू आर्थिक वर्षको नौ महिनामा ८८ करोड २८ लाख रुपैयाँ खुँद नाफा गरेको छ । यो नाफा अघिल्लो आवको सोही अवधिको तुलनामा २१ प्रतिशत अर्थात १५ करोड ८० लाख रुपैयाँले बढेको छ । गत वर्ष बैंकले यो अवधिमा ७२ करोड ४७ लाख रुपैयाँ नाफा कमाएको थियो । बैंकले चैत मसान्तसम्मको निक्षेप ५५ अर्ब ५३ करोड रुपैयाँ संकलन गरेकाे छ । बैंकले ऋण ४७ अर्ब ७९ करोड रुपैयाँ प्रवाह गरेकाे छ । यसले ७ अर्ब ९५ करोड रुपैयाँको लगानी समेत गरेको उल्लेख छ । यो बैंकको चुक्ता पुँजी ५ अर्ब ८७ करोड छ । बैंकको जगेडा कोषमा २ अर्ब १७ करोड रुपैयाँ छ । यो बैंकको कर्जा तथा निक्षेप अनुपात (सीडी रेसियो) ७९ दशमलव ४० प्रतिशत रहेको छ । बैंकको खराव कर्जा १ दशमलव ५५ प्रतिशत छ । बैंकको प्रति सेयर आम्दानी २० रुपैयाँ ३४ पैसा रहेको छ भने प्रति सेयर नेटवर्थ १४५ रुपैयाँ ४२ पैसा छ । बुधबार यो बैंकको प्रतिसेयर ४ सय ३३ रुपैयाँमा कारोबार भएकाे छ ।