विकासन्युज

एभरेष्ट बैंक मर्ज तथा एक्विजिशनको बाटोमा, सेयरधनीलाई ठूलो झड्का

काठमाडौं । अन्ततः एभरेष्ट बैंकले पनि मर्ज तथा एक्विजिशनको बाटो रोजेको छ । मर्ज तथा एक्विजिशनको लागि उपयुक्त प्रस्ताव आएको भन्दै मर्ज तथा एक्विजिशनमा जाने प्रस्ताव अनुमोदन गर्न बैंकले विशेष साधारणसभा बोलाएको छ । एभरेष्ट बैंकमा गाभ्ने गाभिने प्रस्तावहरु आएकोले नेपाल राष्ट्र बैंकले जारी गरेको गाभ्ने गाभिने तथा प्राप्ति सम्बन्धी नियमावली २०७३ अनुसार प्रक्रिया पुरा गर्न र साधारणसभाबाट अनुमति लिन भन्दै बैशाख २० गतेको लागि विशेष साधारणसभा बोलाएको छ । कुन बैंक तथा वित्तीय संस्थाले गाम्ने गाभिने प्रस्ताव गरेका हुन्, सो विषयलाई बैंकले गोप्य राखेर विशेष साधारणसभा बोलाएको छ । हाल बैंकको चुक्ता पुँजी ४ अर्ब ६० करोड रुपैयाँ छ । असार मसान्तसम्ममा ८ अर्ब चुक्ता पुँजी शो गर्न राष्ट्र बैंकले एभरेष्ट बैंकलाई पत्र काटेपछि बैंकले गाभ्ने गाभिने बाटो समातेको स्रोतले बतायो । बैंकले गाभ्ने वा गाभिने बाटो रोजेपछि बोनस सेयरको आशमा ठूलो लगानी गरेको सेयरधनी मर्कामा पर्ने देखिएको छ । साथै बैंकले १९ प्रतिशत प्रमोटर सेयरलाई साधारण सेयरमा परिणत गर्ने, हकप्रद सेयर किन्नको लागि हक हस्तान्तरणको व्यवस्था गर्ने, बैंकका सञ्चालकलाई टेलिफोन, मोवाइल, पत्रपत्रिका खर्च मासिक रुपमा नगद भक्तानीको विशेष प्रस्ताव राखिएको छ ।

ठमेलका होटलमा २५ अर्ब लगानी थपिदैँ, पर्यटक आकर्षण गर्न २० भन्दा बढी नयाँ होटल धमाधम निर्माण

काठमाडौं । पर्यटकीय नगरी ठमेलमा धमाधम नयाँ होटल बन्ने, पुरानोलाई पुनर्निर्माण गर्ने र पर्यटक आकर्षणको गन्तव्य बनाउँन थालिएको छ । पछिल्लो समय ठमेलमा पर्यटकीय आकर्षणको गन्तव्य भएकैले पर्यटकीय स्तरदेखी पाँचतारेसम्मकै होटल निर्माण भइरहेका छन् । यी होटलमध्ये घोषणा भएका र भर्खरै संचालनमा आइसकेका ६ वटा होटलले मात्रै करिब २० अर्ब लगानीको घोषणा गरेका छन् । यी बाहेक ठमलेमा अझै करिब ५ अर्ब रुपैयाँका पर्यटकीयदेखि तारे होटलसम्मले लगानी भएको पनि ठमेल पर्यटन विकास परिषद्का पूर्व अध्यक्ष तेजेन्द्रनाथ श्रेष्ठले बताए । उनका अनुसार ठमेल नेपालकै प्रमुख पर्यटकीय गन्तव्य भएको, नेपाल आउने पर्यटकमध्ये करिब ८० प्रतिशतको रोजाई ठमेलनै हुने गरेको र यहाँ पर्यटक बढ्ने अपेक्षाले होटलमा लगानी ओइरिरहेको उनको बुझाई छ । नेपालमा पर्यटक आगमन बढाउन सकियो भने होटल संचलान गर्न कुनै समस्या नभएको पनि उनले बताए । ठमेलमा निर्माणाधिन तथा नयाँ होटल होटल                           लगानी                कोठा सख्या काठमाडौं शेराटन          ८ अर्ब                      २१८ होटल समिट                 ६ अर्ब                       ३४० काठमाडौं अलफ्ट          ३ अर्ब                       २२० मेरिओट फेयरफिल्ड     १ अर्ब  ५० करोड        २३५ होटल मलवारी              ५५ करोड                   ६७ होटल आट्स                 ५० करोड                   ६० स्रोतः सम्बन्धित होटल ।   उनका अनुसार ठमेललाई केन्द्र बनाएर र वरपर दरवारमार्ग तथा लाजिम्पाटतर्फ पनि नयाँ होटल खुल्ने गरेका छन् । ठमेल, लाजिम्पाट, दरवबारमार्ग पर्यटकीय हव नै भएकोले पनि यी क्षेत्रमा होटलको चलहपल बढी हुने गरेको श्रेष्ठको बझुाई छ । उनका अनुसार ठमेलमा आजकाल बनाउने नयाँ विल्डीङ नै होटलको हो । वस्ति यहाँबाट विस्तारै विस्थापित हुँदै जाने, व्यापारिक क्षेत्र बन्ने तथा होटल तथा अन्य व्यवासाय गरेर ठमेलभन्दा पर गएर बस्ने गरिएकोले पनि यो क्षेत्र पर्यटकीय आर्षणमा नै परिचित छ । नयाँ होटल बनाउँन कतिपयले पुरानो संरचाना भत्याएर नयाँ होटलमा परिणत पनि गर्न थालेका छन । भएकै होटल बैशाली, मनाङ, मस्र्याङ्दी, नर्थफिल्ड, ओशो ओल्डसहितका ठमेलका स्तरीय होटलले पनि रिनोभेसनलाई बढी जोड दिएका छन् । ठमेलमा भवन बनाउन नै महंगो पर्ने भएककोले त्यसको उपयुक्त व्यापार नै होटल हुन थालेको पनि उल्लेख छ । होटल बनाउँन एक कोठाको पाँच ६ करोड रुपैयाँ खर्च हुने गर्छ । यसर्थ सानादेखि ठूला सम्मका होटलले पर्यटकीय आकर्षण र संभावना देखेरै लगानी गरेको उनको अनुमान छ । हाल ठमेलमा पुराना होटल तथा रेष्टुरेन्टको संख्या २ सय वटा रहेका छन् भने दुई दर्जन होटल थप भइरहेका छन् । पाँचतारे सरहकै सविधामा मलवेरी होटल नयाँ वर्ष २०७४ को अवसर पारेर ठमेलमै ५५ करोड रुपैयाँ लगानीको तीनतारे होटल मलवेरी संचालनमा आएको छ । यो हाटेलले तीन तारेहो अनुमति लिएको भएपनि पर्यटकीय सेवा र सुविधा कुनै सम्झौता नगरी पाँचतारे सरहको सेवा सुविधा दिएको पनि होटलका महाप्रवन्धक अमिर प्रधानाङले बताए । भर्खरै स‌‌चालनमा अाएकाे हाेटल मलवेरी होटलमा कालसाङ पाल्जोर शेर्पा, कालसाङ सोनाम शेर्पा, कालसाङ, कालसाङ लोडोइ शेर्पा, साङ्गे पि शेर्पा र एस् डिकि शेर्पाको संयुक्त लगानी रहेको उल्लेख छ । नौ तला अग्लो यो होटल ६७ कोठा रहेको छ । होटलका महाप्रवन्धक प्रधानाङका अनुसार काठमाडौंका विभिन्न पर्यटकीय स्थान बसन्तपुर, स्वम्यभू, दरवारमार्ग, बौद्धनाथ लगायतको ठाउँमा पुग्न आघा घण्टाको दूरी तय गरे पुग्ने, पर्यटकीय आकर्षणको केन्द्र भएकको र सिंङ्गो काठमाडौं हेर्न पनि उपयूक्त होटल भएको जानकारी दिए । होटल मलवेरीमा न्यूनतम ९० डलरदेखि ४०० डलरसम्मका कोठाहरू रहेका छन् । महाप्रवन्धक प्रधानाङले ठमेलको होटलहरुमा पार्किङ नभएर समस्या भइरहेको अवस्थामा मलवेरीको भने ३० ओटासम्म गाडी अटाउने सुरक्षित र व्यवस्थित पार्किङ क्षेत्र रहेको बताए । जहाँसुकैबाट पनि पर्यटक ठमेलमा घुम्न आउँछन् । यहाँ हुने पर्यटकीय आकर्षण, पीसफूल भएकोले पनि यहाँ आकर्षण छ । फाेटाे सम्बन्धित हाेटलकाे वेवसाइटबाट । स्तरीय सुविधा दिँदै मेरिओट र आट्सपनि ठमेलमै सञ्चालनमा आएका र स्तरीय सेवा सुविधा प्रदान गरिएका होटल मेरिओट र आट्न पनि ठमेलमै रहेका छन् । केही समय अगाडि खुलेको होटल अट्सले ५० करोड रुपैयाँ लगानी गरेर ठमेलमै स्तरीय होटल संचालन गरिरहेको छ । यो होटलमा ६० वटा कोठा रहेको उल्लेख छ । ठमेलमै भर्खरै एमएस ग्रुपले काठमाडौं फेयरफिल्ड म्यारिओट संचालना ल्याएको छ । डेढ अर्ब लगानीको यो होटल पनि गत फागुनबाट मात्रै संचालनमा आएको हो । ठमेललाई केन्द्रमा राखेर गैरआवासिय नागरिक शेष घलेले अन्तरिष्ट्रय चेनको शेराटन काठमाडौैंको निर्माण गरिरहेका छन् । २१८ कोठा हुने यो होटलमा ८ अर्ब लगानीको घोषणा गरिएको छ ।  काठमाडौं अलफ्ट नामको अर्को होटल पनि निर्माणाधिन छ । २२० कोठाको यो होटलमा ३ अर्ब लगानीको घोषणा २ वर्ष अगाडि नै भएको छ । यो होटल निर्माणको अन्तिम चरणमा पुगेको छ । अन्य व्यवसायीक घराना र व्यापारिको पनि होटल निर्माणको आकर्षको केन्द्र ठमेल नै हुन थालेको छ ।  

मेलम्ची खानेपानी योजनामा कामभन्दा परामर्शमा बढी खर्च

काठमाडौं । मेलम्ची खानेपानी उपआयोजनाले मेलम्चीको सुरुङ तथा हेडवक्सृ निर्माणको परामर्शमा तोकिएभन्दा दोब्बर खर्च गरेको खुलेको छ । महालेखा परिक्षकको कार्लालय काठमाडौंले सार्वजनिक गरेको ५४ औ प्रतिवेदनमा उपआयोजनाले परामर्शको नाउँमा दोब्बर खर्च गरेको खुलेको हो । उपआयोजनाले कुल खर्चमध्ये परामर्श सेवामा २४. १ प्रतिशशत निर्माण कार्यमा ६६.७ प्रतिशत जग्गा मुआब्जामा वितरणमा ५.१ प्रतिशतसहितका खर्च गरेको उल्लेख छ । महालेखालेयो आयोजनाको अनुत्पादक खर्च घटाउन पनि निर्देशन दिएको छ । नागरिक दैनिकबाट ।

किसानलाई दिइएको अनुदानमा कर्मचारीको रजाइँ, किसानसम्म नै पुगेन अनुदान

धादिङ । सरकारले साना किसानलाई लक्षित गरी ग्रामीण कखुरा प्रवर्धन कार्यक्रमका लागि दिएको अनुदान रकममा सरकारी कर्मचारीले रजाइँ गरिरहेको खुलासा भएको छ । जिल्ला पशुसेवा कार्यालय धादिङको आर्थिक वर्ष २०७३/७४ को वार्षिक कार्यक्रमअनुसार अन्डामा आत्मनिर्भर र पारिवारिक पोषण सुरक्षाका लागि ग्रामीण कुखुरा प्रवद्र्धन कार्यक्रमअन्तर्गत धादिङका १० वटा किसान समूहका दुई सय किसानलाई कुखुराका चल्ला वितरण गरिएको थियो । प्रतिकिसान २५ गोटाका दरले चल्ला दिने भनिए पनि सबैजसो २३/२४ वटाको दरले चल्ला वितरण गरिएको किसान बताउँछन् । यो कार्यक्रमअन्तर्गत किसानले पाउने निःशुल्क सेवा र सुविधा जिल्ला पशुसेवा कार्यालयका कर्मचारीको मिलेमतोमा किसानले सामान बुझेको भर्पाइ बनाएर सबै अनुदान कर्मचारीले खाएको प्रमाण भेटिएको हो । ग्रामीण कुखुरा प्रवद्र्धन कार्यक्रमअन्तरगत नीलकण्ठको अलैंचे ग्रामीण कुखुरापालन किसान समूहकी अध्यक्ष सीता बिकले पनि २४ वटा कुखुराको चल्ला लिनुभएको थियो । चल्लाको साथमा ६ हजार रुपैयाँ खोर बनाउन नगद बुझेको भए पनि त्यसपछि कुनै पनि औषधि दाना र भिटामिन लिनुभएको छैन । जिल्ला पशुसेवा कार्यालयको अभिलेखमा हेर्दा २५ वटा चल्ला, तीन सय ४० केजी दाना, विभिन्न खोप, औषधि तथा भिटामिन बुझेको भर्पाइ छ। आफ्ना समूहका सदस्यलाई समान रूपमा निःशुल्क बुझाउने गरी सीता बिकले सबै सामान बुझिलिएको हस्ताक्षरसहितको भर्पाइ जिल्ला पशुसेवा कार्यालय धादिङले तयार गरेको फाइलमा छ । यसमा सीता बिकले तीन सय ४० केजी २ नं। को दाना, रानीखेत खोप, गवारो खोप, पिपराजीन, एप्रोल लिएर भर्पाइ गरिदिएको कागज छ । तर, सीता बिकलाई यस कार्यक्रम अन्तरगत चल्लासँगै दाना, औषधि, भ्याक्सिनेसन तथा तालिम पनि दिन्छ भन्ने नै थाहा छैन। सीता भन्नुहुन्छ, ‘कुखुराको चल्ला जोगाउन उपचार र दानापानीमा करिब नौ हजार खर्च भइसक्यो, खोर बनाउन ६ हजार पाएको थिए, १२ हजार खर्च भयो । चल्ला पनि २४ वटा पाए पनि रोग लागेर मर्न थाल्यो । खोरमा १७र१८ वटा चल्ला बाँकी छन् ।ु चल्ला पाएका कतिपय किसानलाई त चल्लासँगै दाना, रोग विरुद्ध लगाइने खोप, औषधि तथा तालिम दिन्छ भन्ने नै थाहा छैन। अन्नपूर्ण पोस्टबाट ।

सरकारले २२ नगरमा ठूला र स्तरीय सार्वजनिक यातायात चलाउँदै

काठमाडौं । संघीय मामिला तथा स्थानिय विकास मन्त्रालयले उपत्यकाका २२ नगरपालिकामा सार्वजनिक यातायात चलाउने प्रस्ताव मन्त्रीपरिषद्मा पठाएको छ । उपत्यकामा अन्तराष्ट्रिय स्तरको सुविधासम्पन्न बस चलाउन मन्त्रालयले अन्तिम स्वीकृतिका लागि प्रस्ताव पठाएको छ । मन्त्रालयका सचिव केदार अधिकारीले भने, ‘निर्णय चाडै हुनसक्छ । ’ सार्वजनिक यातायात भरपर्दो, स्तरीय र व्यवस्थित बनाउन उपत्यका नगर यातायात लिमिटेड कम्पनी दर्ता गरी ठूला र स्तरीय बस सञ्चालन ल्याउने उनले बताए । कान्तिपुर दैनिकबाट ।

वैदेशिक रोजगारको नाममा नयाँ धन्दा, मिर्गौलाको अवैध कारोबार

काठमाडौं । नेपालमा मानव अङ्ग मिर्गौला (किड्नी)को अवैध कारोबार जटिल समस्याका रूपमा देखा परेको छ । वैदेशिक रोजगारका नाममा मानव बेचविखन तथा ओसारपसारसँगै मिर्गौला पनि विक्री वितरण हुने पाइएको छ। विशेष गरी समाजका अशिक्षत, गरिब तथा मजदुरहरूलाई आर्थिकलगायत विभिन्न प्रलोभन देखाई दलालहरूले नै वैदेशिक रोजगारका नाममा भारत पुर्‍याई मिर्गौला विक्री गर्न लगाउने गरेको सम्बद्ध अधिकारीहरूले बताएका छन् । जनअधिकार संरक्षण मञ्च नेपाल (पीपीआर) र दिगो विकासका लागि सञ्चारमाध्यमको परिचालन (एमएमएसडी)ले आइतबार आयोजना गरेको ‘नेपालमा मिर्गौला बेचविखन’ विषयक छलफल कार्यक्रमका सहभागीहरूले मिर्गौला कारोबारमा संलग्न दलालहरूको सञ्जाल मुलुकभर फैलिँदै गएको बताउ। ‘केही वर्ष पहिलेसम्म मिर्गौला विक्री वितरणको समस्या काभ्रे जिल्लामा मात्र सीमित थियो’, पीपीआरका कार्यक्रम निर्देशक सतिशकुमार शर्माले भने, ‘अहिले काठमाडौंको काँठक्षेत्रदेखि सुदूरपश्चिमको बर्दिया र बैतडीसम्म यो समस्या फैलिएको छ । ’ काभ्रेमा विभिन्न गैरसरकारी तथा सरकारी सङ्घसंस्थाको सक्रियता बढेपछि दलालहरूले स्थान परिवर्तन गरेको उनले बताए। पछिल्लो समय काभ्रे र सिन्धुपाल्चोकभन्दा पनि दलालहरूले काठमाडौँको काँठक्षेत्र, धादिङ, गोरखा, बर्दिया र बैतडीलाई लक्षित गरेको सूचना प्राप्त भएको उनले बताए। वैदेशिक रोजगारको नाममा आर्थिक लोभ देखाई फकाई फुलाई भारत लैजाने र त्यहाँ होटलमा राखी खानामा बेहोस हुने पदार्थ खुवाई किड्नी झिक्ने गरेको पाइन्छ । यस्तै, घटनाबाट पीडित गोरखा भच्चेकका १९ वर्षीय दीपक नेपालीले मिर्गौला झिकिएको कुरा छ महिनापछि थाहा पाएका थिए। काभ्रेमा सक्रिय दलालहरूको समूहले पोखरामा मजुदरी गरिरहेका बेला आकर्षक तलब पाइने लोभमा जागिर लगाइदिने भन्दै रातारात दिल्ली पुर्‍याइएका नेपाली आफूलाई एक्कासि दिल्लीको अस्पतालमा पाएका थिए। शर्मा भन्छन्, ‘मिर्गौला कारोबारीको जालो तोड्न गैरसरकारी सङ्घसंस्थासँगै पत्रकार, प्रहरी र अदालतको महत्वपूर्ण भूमिका आवश्यक छ, मानव अङ्ग विक्री वितरणमा सक्रिय आपराधिक समूहको अन्तर्राष्ट्रिय सञ्जाल छ । ’ यस समूहले मिर्गौला मात्र नभई महिलाको डिम्ब, स्कीन, ब्लटको प्लाज्मा नामक तत्वसमेत विक्री वितरण गर्ने गरेको पाइएको छ । मानव बेचबिखन तथा ओसारपसारको समस्या त छँदैछ त्यसमा मानव अङ्ग बेचबिखनको समस्या झन् जटिल बन्दै गएको भनाइ उनको छ । त्यस्तै, नेपाल प्रहरीका प्रहरी उपरीक्षक किरण वज्राचार्यले मानव बेचबिखनको सञ्जाल र मानव अङ्ग बेचबिखनको सञ्जाल उस्तैउस्तै हुने भएकाले कानुनी कारबाहीमा केही जटिलता आउने गरेको बताइन्। ‘यस्तो अपराधमा संलग्न व्यक्तिहरू अप्रत्यक्षरूपमा मतियार तथा सहयोगीको रूपमा मात्र संलग्न हुन्छन्, बढीजसो आफन्तलाई नै प्रयोग गराउँछन्’, उनले थपिन्, ‘पीडितहरू पनि समाजको डरले खुलेर भन्न सक्दैनन्।’ नेपाली समाजमा अझै पनि देहव्यापारका लागि महिलामात्र बेचिन्छन् भन्ने भ्रम छ तर अवस्था त्यति मात्र होइन, उनले भनिन्, ‘पुरुष मान्छे पनि विक्री भएको घटना सार्वजनिक भएका छन् । गरिबी र अशिक्षासँगै सङ्गठित अपराधको सञ्जाल विस्तारै फैलिनु मुख्य कारण पनि हो । ’ बा–आमा तथा आफन्तले कहिल्यै पनि नराम्रो कामका लागि छोरी चेली बेच्दैनन्, प्रहरी उपरीक्षक बज्राचार्यले भनिन्, ‘आफन्तलाई दलालहरूले घुमाउरो शैलीमा प्रयोग गरेका हुन्छन्, पैसाको लोभमा छोरी बेच्न बुबालाई नै प्रयोग गरिदिन्छन्। गोरखापत्र दैनिकबाट ।

देशको राजधानी इतिहासमै धेरै प्रदूषित, चैबिसै घण्टा स्वास्थ्य खतरामा

काठमाडौं । असोजयता उपत्यकाको प्रदूषण मात्रा पटक पटक राष्ट्रिय मापदण्डभन्दा धेरै माथि पुगेको छ । नेपाल सरकारले तोकेको मापदण्ड अनुसार उपत्यकाको हावामा पिएम २.५ को मात्रा ४० माइक्रोग्राम प्रतिघनमिटर हुनुपर्दछ । तर उपत्यकाको हावामा पार्टीकुलेट म्याटर९पिएम० २।५ को मात्रा २ सय माइक्रोग्राम प्रतिघनमिटर भन्दा माथि पुगेको तथ्याङ्क छ । औषतभन्दा प्रदूषण मात्र बढी (हानिकारक अवस्था) हुँदा सास फेर्नै सकस हुन्छ । पुस, माघ, फागुनको अधिकांश समयमा उपत्यकावासीले मापदण्डभन्दा पाँच गुणा बढीसम्म प्रदूषणको सकस भोग्नुपर्यो । नागरिक दैनिकबाट ।

अब जथाभावी बाटो काट्ने पैदलयात्रुलाई पनि कारवाही, दुई सय जरिवाना पैसा नभए रातभरी प्रहरी कठघरामा

काठमाडौ । काठमाडौं उपत्यकालाई ‘हर्न निषेधित क्षेत्र’ बनाउने अभियान सुरु गरेको ट्राफिक प्रहरीले अब जथाभावी बाटो काट्ने पैदलयात्रुलाई पनि कारबाही गर्ने तयारी भएको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाले वैशाखको अन्तिमदेखि यो नियम लागू गर्न लागेको हो। नियम उल्लंघन गर्ने पैदलयात्रुलाई पनि कारबाही गर्ने तयारी भइरहेको महाशाखाका डिआइजी मिङमार लामाले जानकारी दिए। नियम लागू गर्ने तयारी अन्तिम चरणमा रहेको जनाउँदै उनले वैशाख मसान्तदेखि कार्यान्वयनमा आउन सक्ने बताए। जथाभावी बाटो काट्दा सडक दुर्घटना बढी हुने गरेकाले यो नियम लागू गर्न लागिएको ट्राफिक प्रहरीको भनाइ छ। ‘जथाभावी बाटो काट्नेका कारण उपत्यकामा ४० प्रतिशत मृत्यु हुने गरेको पाइएकाले सडक दुर्घटना न्यूनीकरणका लागि यो नियम कार्यान्वयनमा ल्याउन लागिएको हो,’ डिआइजी लामाले भने। उपत्यकामा मोटरसाइकल तथा स्कुटी गरी ६ वर्षको अवधिमा १८ हजार आठ सय ९१ वटा दुर्घटना परेको छ। ती घटनामा मृत्यु हुनेमध्ये ४० प्रतिशत जथाभावी बाटो प्रयोग गर्ने रहेको डिआइजी लामाले बताए। सवारी तथा यातायात ऐन, २०४९ को १३६ महलमा भएको व्यवस्थाअनुसार उपत्यकामा यो ऐनको कार्यान्वयन गर्न लागिएको उनको भनाइ छ। ऐनमा पैदलयात्रुले फुटपाथको बाटो मात्र प्रयोग गर्नुपर्ने उल्लेख छ। फुटपाथ नभएको खण्डमा सडकको पेटीबाट हिँड्नुपर्ने नियममा व्यवस्था छ। नयाँ नियम लागू भएपछि अब पैदलयात्रुले निर्धारित ठाउँबाट मात्र हिँड्नुपर्ने हुन्छ। अबदेखि जेब्राको प्रयोग, ओभरहेड तथा तोकिएको बाटोबाट मात्रै पैदलयात्रुले हिँड्नुपर्नेछ। सो नियम उल्लंघन गर्ने पैदलयात्रुलाई पनि कारबाही हुने ट्राफिक प्रहरीले जनाएको छ। यो नियम उल्लंघन गर्ने पैदलयात्रुलाई दुई सय रुपैयाँ जरिवाना गरिने डिआइजी लामाले बताए। ‘पैसा नभएको खण्डमा उल्लंघनकर्ताले छुट भने पाउनेछैनन्,’ उनले भने, ‘उनीहरू त्यसको साटो रातभरि प्रहरी कठघरामा बस्नुपर्ने हुन्छ।’ पैदलयात्रुलाई यो नियमबारे जनचेतना दिइरहेको ट्राफिक प्रहरीले जनाएको छ। गत २८ चैतदेखि नै ट्राफिक प्रहरी सडकको पेटी खाली गर्ने अभियानमा लागेको र जनचेतनामूलक प्रचारप्रसार पनि भइरहेको लामाले बताए। १ वैशाखदेखि लागू भएको उपत्यका हर्न निषेधित क्षेत्र नियम प्रभावकारी भएको महानगरीय ट्राफिक प्रहरीको मूल्यांकन छ। नयाँ वर्षको पहिलो दिनदेखि यो नियम लागू भए पनि प्रहरीले भने दोस्रो दिनदेखि नियम उल्लंघन गर्नेलाई कारबाही गर्न थालेको हो। ट्राफिक प्रहरीले चेकजाँचका क्रममा दुई दिनमा दुई सयभन्दा बढीलाई कारबाही गरिएको डिआइजी लामाले बताए। यसैबीच, ‘उपत्यका हर्न निषेधित क्षेत्र’ भनेर झुन्ड्याइएको सातवटा आकाशेपुलका ब्यानर गायब भएको छ। सुन्धारा, एनएसी, रत्नापार्क, वीर अस्पताल, जमल, बागबजार र भद्रकाली चोकमा रहेको आकाशेपुलमा झुन्ड्याइएको ब्यानर गायब भएको महानगरपालिका कार्यालयका कार्यकारी अधिकृत ईश्वरराज पौडेलले बताए। नयाँ नियम लागू भएपछि पैदलयात्रुले जेब्राक्रस, ओभरहेड तथा तोकिएको बाटोबाट मात्रै हिँड्नुपर्नेछ। नियम उल्लंघन गर्ने पैदलयात्रुलाई दुई सय रुपैयाँ जरिवाना गरिने महानगरीय ट्राफिक प्रहरी महाशाखाका डिआइजी मिङमार लामाले बताए। ‘पैसा नभएको खण्डमा पनि उल्लंघनकर्ताले छुट पाउने छैनन्,’ उनले भने, ‘उनीहरूले त्यसको साटो रातभरि प्रहरी कठघरामा बस्नुपर्ने हुन्छ।’ पैदलयात्रुलाई यो नियमबारे जनचेतना दिइरहेको ट्राफिक प्रहरीले जनाएको छ। गत २८ चैतदेखि नै ट्राफिक प्रहरी सडकको पेटी खाली गर्ने अभियानमा लागेको र जनचेतनामूलक प्रचारप्रसार पनि भइरहेको डिआइजी लामाले बताए। नयाँ पत्रिका दैनिकबाट ।