तीन वर्षपछि दुई अंकको आर्थिक वृद्धि हासिल गर्छौंः उपाध्यक्ष डा. श्रेष्ठ
काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादर श्रेष्ठले अबको तीन वर्षपछि नेपालले दुई अंकको आर्थिक वृद्धिदर हासिल गर्ने बताएका छन् । उपाध्यक्ष श्रेष्ठले नेपाल भ्रमणमा रहेको संयुक्त राष्ट्र संघका विभिन्न संस्थाहरुको संयुक्त कार्यकारी समितिको प्रतिनिधिमण्डलसँग राष्ट्रिय योजना आयोगको सचिवालयमा आइतबार आयोजित भेटमा उक्त विचार व्यक्त गरेका हुन् । “विगत एक दशकभन्दा धेरै समय नेपालको आर्थिक वृद्धिदर चार प्रतिशत भन्दा कम रहेको थियो । तर यस वर्ष मुलुकको आर्थिक वृद्धिदर ६ प्रतिशत हुने प्रक्षेपण गरिएको छ । अबको तीन वर्षपछि नेपालको आर्थिक वृद्धिदर दुई अंकको रहने छ,” उनले भने । बैशाखमा हुने स्थानीय तहको निर्वाचनपछि देश आर्थिक विकासको बाटोमा दू्रतस्तरमा अगाडि बढ्ने बताउँदै उनले स्थानीय तहको निर्वाचनपनि देशमा राजनितिक स्थिरता आउने बताए । “नेपालमा यही बैशाखमा स्थानीय तहको निर्वाचन हुँदैछ । स्थानीय तहको निर्वाचन मुलुकलाई विकासको नयाँ चरणमा डो¥याउने हामीले आशा गरेका छौं,” उनले भने । उक्त अवसरमा उपाध्यक्ष डा. श्रेष्ठले नेपालमा संयुक्त राष्ट्र संघको सहयोगको चर्चा गर्दै बदलिँदो परिस्थितिमा नेपाल सरकारले संयुक्त राष्ट्र संघलगायतका संघसंस्थाहरुबाट थप सहयोगको अपेक्षा गरेको समेत बताए । भेटका अवसरमा संयुक्त राष्ट्र संघका विभिन्न संघसंस्थाका प्रतिनिधिहरु सम्मिलित उक्त प्रतिनिधिमण्डलले सहशा्रब्दी विकास लक्ष्य तथा दिगो विकास लक्ष्यमा नेपाल सरकारले देखाएको प्रतिवद्धताप्रति नेपाल सरकारलाई धन्यवाद दिनुका साथै बदलिँदो परिस्थितिमा नेपाल सरकारको अपेक्षाबारे पनि चासो राखेका थिए । साताव्यापी नेपाल भ्रमणमा रहेको उक्त प्रतिनिधिमण्डलले प्रधान मन्त्री, परराष्ट्र मन्त्री, पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत तथा निर्वाचन आयोगका पदाधिकारीसँग पनि भेट गर्ने कार्यक्रम रहेको छ । भेटमा राष्ट्रिय योजना आयोगका सहसचिब लालशंकर घिमिरे तथा संयुक्त राष्ट्र संघका नेपालस्थित कार्यालयका प्रतिनिधिहरुको समेत उपस्थिति रहेको थियो ।
वीर अस्पतालले अक्सिजन उत्पादन गर्ने, दुई करोड ६६ लाखमा अक्सिजन जेनेरेटर प्लान्ट खरिद
काठमाडौं । लामो समयको प्रयासपछि वीर अस्पतालले अक्सिजन उत्पादन गर्ने मेसिन (अक्सिजन जेनेरेटर प्लान्ट) खरिद गरेको छ । एक ठाउँबाट अन्य स्थानमा सजिलै सार्न सक्ने गरी कन्टेनरमा सबै उपकरण जडान भएको उक्त मेसिन रु दुई करोड ६६ लाखमा अस्पतालले खरिद गरेको हो । अस्पतालका निर्देशक डा भूपेन्द्र बस्नेतले अन्य अस्पतालमा एक स्थानमा राखेपछि अन्यत्र सार्न नमिल्ने मेसिन भएको तर वीरमा ल्याइएको मेसिन भने आवश्यक परेमा अन्यत्र पनि सहज रुपमा सार्न मिल्ने पहिलो कन्टेनर मेसिन भएको जानकारी दिए । मेसिन ल्याएपछि अस्पतालमा अक्सिजनको अभाव नहुने, सेवा पनि छिटो हुने उनले बताए । वीर अस्पतालमा दैनिक करिब एक सय सिलिन्डर अक्सिजन खपत हुने गरेको छ । त्यसका लागि प्रत्येक महिना रु १८ लाखसम्म खर्च हुने गरेको अस्पतालले जनाएको छ । “अब अस्पतालले आफै अक्सिजन प्लान्ट जडान गर्छ, यो प्लान्ट सुरु भएपछि वार्षिक रु एक करोडसम्म बचत हुन्छ,” निर्देशक डा बस्नेतले भने– “यो मेसिन प्रत्येक दिन १५१ सिलिन्डरसम्म अक्सिजन उत्पादन गर्ने क्षमता राख्दछ ।” अस्पतालमा खपत भई बाँकी रहेका अक्सिजन सिलिन्डर बिक्री गर्न पनि सकिन्छ अस्पतालका प्रमुख प्राविधिक सुनिल श्रेष्ठले भने “अस्पतालकै अगाडि राखिएको मेसिन जडित कन्टेनरको अहिले प्राविधिक काम भइरहेकाले अबको हप्ता दिनमा यो सञ्चालनमा आउँछ ।” रासस
तल्लो तादी जलविद्युत् आयोजनाको शिलन्यास, दुई वर्षभित्र निर्माण सम्पन्न हुने
नुवाकोट । पाँच मेगावाट क्षमताको तल्लो तादी जलविद्युत् आयोजनाको आइतबार शिलान्यास गरिएको छ । बुद्धभूमि हाइड्रोपावर कम्पनी प्रालिले निर्माण गर्न लागेको उक्त आयोजनाको बाँधस्थल बालकुमारीको सिम्लेमा ज्येष्ठ नागरिक द्रोणप्रसाद खतिवडा, जयकुमार खड्का र दासलाल श्रेष्ठले संयुक्तरुपमा शिलन्यास गरे । दुई वर्षभित्र निर्माण सम्पन्न हुने उक्त आयोजना निर्माणमा ९८ करोड रुपैयाँ लगानी लाग्ने प्राराम्भिक अनुमान गरिएको कम्पनीका अध्यक्ष पूर्णलाल श्रेष्ठले जानकारी दिए । आयोजना निर्माणमा कम्पनीको ३५ प्रतिशत र सिद्धार्थ बैंकको नेतृत्वमा विभिन्न पाँच बैंकको ६५ प्रतिशत लगानी रहेको छ । आयोजनाबाट उत्पादित बिजुली समुन्द्रटार–त्रिशूली–३ बी हब १३२ केभी प्रशारण लाइनमार्फत केन्द्रीय प्रशारणमा जोड्ने कम्पनीले जनाएको छ । बालकुमारीको सिम्लेमा बाँध बनाएर दुई हजार ८०० मि पाइपलाइनमार्फत थप्रेकको नौटारीमा विद्युत् उत्पादन गृह बनाइनेछ । रासस
राष्ट्रपति भारत भ्रमणमा जाने र आउने दुबै दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय
काठमाडौं । सरकारले राष्ट्रपति विद्यादेवी भण्डारी भारत भ्रमणमा जाने र आउने दुबै दिन सार्बजनिक बिदा दिएको छ । भण्डारी सोमबार (भोली) भारत भ्रमणमा जाने भएकी छन् । मन्त्रिपरिषदको आइतबार बसेको बैठकले सोमबार र शुक्रबार दुबैदिन बिदा दिने निर्णय गरेको हो । राष्ट्रपति भण्डारीको सोमबारदेखि हुन लागेको भारतको पाँच दिने राजकीय भ्रमणबाट दुई देशबीचको सदियौँदेखिको आपसी सम्बन्ध थप मजबुत बन्ने अपेक्षा गरिएको छ । नेपालमा नयाँ संविधान जारी भएपछि राष्ट्रपतिको जिम्मेवारी सम्हाल्न पुगेका भण्डारीको आफ्ना भारतीय समकक्षी प्रणव मुखर्जीको औपचारिक निमन्त्रणामा छिमेकी मुलुक भारतको पहिलोचोटि भ्रमण हुन लागेको हो । परराष्ट्र मन्त्रालयका अनुसार भ्रमणका क्रममा राष्ट्रपति भण्डारीले भारतीय समकक्षी मुखर्जी, उपराष्ट्रपति हमिद अन्सारी र प्रधानमन्त्री नरेन्द्र मोदीसँग शिष्टाचार भेट गर्ने भएकी छन् । यस्तै, राष्ट्रपतिले अन्य भारतीय उच्च अधिकारीसँग पनि छुट्टाछुट्टै भेटवार्ता गर्ने छिन् । राष्ट्रपति भण्डारी भारतमा हुने विभिन्न स्वागत समारोहमा सहभागी हुनेका साथै भ्रमणका क्रममा गुजरात र उडिसा राज्य पनि पुग्ने कार्यक्रम छ । यसअघि राष्ट्रपति भण्डारीको औपचारिक निमन्त्रणामा भारतका राष्ट्रपति मुखर्जीले गत कात्तिक २७ देखि २९ गतेसम्म नेपालको भ्रमण गरेका थिए । नेपाल गणतन्त्रात्मक मुलुक भएपछि पहिलो पटक छिमेकी राष्ट्र भारतबाट राष्ट्रपति मुखर्जीको नेपाल भ्रमण भएको हो । यसअघि भारतीय राष्ट्रपति केआर नारायननले विसं २०५५ जेठ १४ गते नेपाल भ्रमण गरेका थिए । राष्ट्रपति भण्डारी शुक्रबार स्वेदश फर्कने कार्यक्रम रहेको छ । सो दिन पनि सरकारले सार्वजनिक विदा हुनेछ ।
लुम्बिनी जनरलले हकप्रद निष्कासन गर्ने, अनुमतिका लागि पुग्यो धितोपत्र बोर्ड
काठमाडौं । लुम्बिनी जनरल इन्स्यारेन्स कम्पनीले सेयरधनीलाई १०० प्रतिशत हकप्रद निष्कासन गर्ने भएको छ । सो प्रयोजनको लागि अनुमति माग्न कम्पनी नेपाल धितोपत्र बोर्ड पुगेको छ । कम्पनीले अंकित मूल्य १०० रुपैयाँको ३९ लाख कित्ता सेयर निष्कासन गर्ने प्रक्रिया अघि बढाएको हो । कम्पनीले चैत २० गते धितोपत्र बोर्डमा निवेदन दिएर सिबीआएल क्यापिटल मार्फत ३९ करोड लाख रुपैयाँ बराबरको हकप्रद जारी गर्न अनुमति मागेको हो ।
ठूला दातामा भारत र चीन परेनन्, यी हुन नेपाललाई धेरै सहयोग गर्ने १० दाता
काठमाडौं । भनिन्छ छिमेकी भनेको मर्दाका मलामी र पर्दाका जन्ती हुन् । तर नेपालका दुई ठूला छिमेकी राष्ट्र भारत र चीन भने नेपाललाई सघाउने ठूला दाताहरुमा पर्दैनन् । अर्थ मन्त्रालयले सार्वजनिक गरेको आर्थिक बर्ष २०७२/७३ सालको वैदेशिक सहयोगीमा भारत र चीन दुबै नपरेका हुन् । गत आर्थिक बर्षमा नेपालको विकासमा साँझेदारीसहित सहयोग गर्ने ठुला ५ दातृ निकायमा विश्व बैंक, एसियाली विकास बैंक, अमेरिकी सहयोग नियोग(युएसएड), संयुक्त राष्ट्र संघ समुह र बेलायत पर्छन् । गत आवमा विश्व बैंकले नेपालको विकासमा २४३ दशमलब ६९ मिलियन अमेरिकी डलर उपलब्ध गराएको थियो भने एसियाली विकास बैंकले ११८ दशमलब ९३ मिलियन अमेरिकी डलर सहयोग गरेको हो । त्यस्तै, संयुक्त राष्ट्र संघ समुहले ११३ दशमलब ५७ मिलियन अमेरिकी डलर र बेलायतले ८९ दशमलब ४ मिलियन अमेरिकी डलर सहयोग गरेका हुन् । नेपाललाई ४५ दशमलब ९१ मिलियन अमेरिकी डलर सहयोग गरेको जापान छैठौं नम्बरमा छ भने ३६ दशमलब ९८ मिलियन डलर सहयोग गरेर स्विजरल्याण्ड सातौं स्थान ओगटेको छ । भारत भने जम्मा ३५ दशमलब ७६ मिलियन डलर सहयोग गरेर आठौं स्थानमा खुम्चिएको छ । नौं नम्बरमा रहेको नर्वेले ३५ दशमलब ५३ मिलियन डलर सहयोग गरेको छ भने दशौं नम्बरमा परेको चीनले जम्मा ३५ दशमलब ३६ मिलियन अमेरिकी डलर मात्रै सहयोग गरेको छ । फरक फरक प्राथमिकता ? विश्व बैंक र एसियाली विकास बैंकले क्रमशः ६५ दशमलब ७६ र ४२ दशमलब ३४ मिलियन अमेरिकी डलर सहयोग उर्जामा गरेका छन् । उता, अमेरिकाले भने स्वास्थ्य क्षेत्रमा बढि सहयोग गरेको छ । गत आवमा अमेरिकाले ४२ दशमलब ३२ मिलियन अमेरिकी डलर सहयोग स्वास्थ्य क्षेत्रमा लगाएको देखिन्छ । संयुक्त राष्ट्र संघ समुहले भने ३५ दशमलब १७ मिलियन डलर शान्ति तथा पुर्ननिर्माणमा लगाएको छ । बेलायतले भने सहयोगको ठुलो हिस्सा वातावरण, विज्ञान तथा प्रबिधीमा केन्द्रित गरेको छ । बेलायतले ३३ दशमलब ३० मिलियन अमेरिकी डलर वातावरण, विज्ञान तथा प्रबिधीमा लगाएको हो । कति आयो बजट प्रणालीमा ? अर्थ मन्त्रालयका अनुसार गत आवमा वैदेशिक सहयोग ५ दशमलब २२ प्रतिशत बढेको थियो । गत आवमा नेपालले एक अर्ब ७० करोड ४० लाख अमेरिकी डलर बैदेशिक सहयता पाएको थियो । सोमध्ये ५० प्रतिशत अनुदान थियो भने ३५ प्रतिशत ऋण र १५ प्रतिशत प्राबिधिक सहयोग थियो । सो रकममध्ये ६३ प्रतिशत मात्रै बजेट प्रणालीबाट आएको थियो । आर्थिक बर्ष २०७१/७२ सालमा कुल सहयोगको ६५ प्रतिशत बजेट प्रणालीबाट आएको थियो ।
१२ दिने भक्तपुर व्यापार मेला सम्पन्न, १० करोड रुपैयाँको कारोबार
भक्तपुर। सल्लाघारीमा गत चैत २२ गतेदेखि शुरु भएको १२ दिने औद्योगिक, सांस्कृतिक, पर्यटन तथा व्यापार मेलामा १० करोड रुपैयाँको कारोबार भएको छ । औद्योगिक शान्ति नेपालले आयोजना गरेको मेलामा चार लाख मानिसले अवलोकन गरेको आज आयोजित समापन कार्यक्रममा संस्थाका अध्यक्ष सन्दीप महतले जानकारी दिए । उपभोक्तालाई एकै थलोबाट सम्पूर्ण सामान उपलब्ध गराउने उद्देश्यले दुई सय २५ स्टल राखिएको मेलामा दैनिक चर्चित कलाकारको साङ्गीतिक प्रस्तुति एवम् सामानमा ४० प्रतिशतसम्म छुट दिएकाले उपभोक्ताको घुइँचो लागेको आयोजक संस्था मध्यपुर ब्वाइज ब्यान्डका सुनिल बज्राचार्यले जानकारी दिए । मेलामा सयभन्दा बढी राष्ट्रिय तथा स्थानीय कलाकारले हास्यव्यङ्ग्य, प्रहसन, गीत, नृत्य, जादूगरलगायत प्रस्तुतिका साथै नृत्य प्रतियोगिता सञ्चालन गरिएकै कारण पनि सहभागीको उत्साहजनक सहभागिता रहेको मेलाका संयोजक दीपक थापाले जानकारी दिए । मेलामा दैनिक उपभोग्य सामग्री, विभिन्न्न प्रकारका लत्ताकपडा, जुत्ता, कृषि तथा हस्तकलाका सामग्री, भाँडाकुँडाका सामग्री, पर्यटन प्रवद्र्धन गर्ने स्टल, खेल सामग्री, अटोमोबाइल, राष्ट्रिय तथा स्थानीय खाना महोत्सव, विभिन्न ब्रान्डका मोबाइल, इलेक्ट्रोनिक्स लगायतका सामानको स्टल राखिएको थियो । रासस
१० बर्ष भित्र वैदेशिक रोजगारीको अन्त्य गरिने
काठमाडौं । उद्योग मन्त्रालयको आगामी बर्षको बजेटले १० बर्ष भित्र रोजगारीका लागि विदेशिनु पर्ने वाध्यताको अन्त्य गर्न रोजगारी सृजनालाई प्रमुख प्राथमिकतामा राख्ने भएको छ । यसका लागि वैदेशिक लगानी आकर्षित गर्न दोस्रो पुस्ताको नीतिगत आर्थिक सुधारलाई निरन्तरता दिने र औद्योगिक पूर्वाधारको विकास गर्ने कार्यक्रमलाई मन्त्रालयले अगाडी बढाउने भएको छ । उद्योग मन्त्री नवीन्द्रराज जोशीको अध्यक्षतामा मन्त्रालयमा आईतवार आयोजित छलफल कार्यक्रममा रोजगारी सृजनाका लागि आगामी आर्थिक बर्षमा स्वदेशी कच्चा पदार्थको प्रयोग गर्ने, कृषि र वनमा आधारित साना, लघु तथा घरेलु उद्योगलाई प्रोत्साहित गरिने निर्णय गरिएको छ । यस्ता उद्योगहरुको विकासका लागि प्रविधि र बजारिकणमा सघाउन मन्त्रालयका तर्फबाट अनुदानको व्यवस्था समेत गरिएको छ । उद्योग मन्त्रालयको आगामी आर्थिक बर्षको वजेटले ग्रामिण महिला तथा युवा उद्यमीहरुलाई उनीहरुको उद्योग विकासका लागि अनुदान समेत उपलब्ध गराउने नीति लिने भएको छ । यसरी अनुदान उपलब्ध गराउँदा ती उद्योग सँगको उत्पादकत्वलाई विश्लेषण गरी अनुदान उपलब्ध गराईनेछ । विदेशमा बस्ने नेपालीहरुलाई नेपाली बस्तुको प्रयोगलाई प्रात्साहित गर्न नेपाली वस्तुहरुको गुणस्तर प्रत्याभूत गर्ने दिशामा मन्त्रालयले सघाउने नीति लिने भएको छ । यसका लागि मन्त्रालयको नियमित वजेटका अतिरिक्त थप साँढे ३ अर्व रुपैंया बजेट आवश्यक पर्ने सो छलफल कार्यक्रममा बताईयो । मन्त्रालयले पहिलो पटक आगामी बर्षको बजेटको सम्वन्धमा सरोकारवाला निजी क्षेत्र सँग समेत छलफल गरी आगामी बजेटलाई अन्तिम रुप दिने तयारी समेत गरिरहेको छ । यसका लागि भोलि सोमवार मन्त्रालयमा सरोकारवाला निजी क्षेत्रको सहभागितामा छलफल कार्यक्रम हुँदैछ ।