विकासन्युज

राष्ट्रिय बीमा कम्पनीले बोलायो वैशाख २२ गते वार्षिक साधारणसभा, के के छन् प्रस्ताव?

काठमाडौं । राष्ट्रिय बीमा कम्पनीले आगामी वैशाख २२ गते कम्पनीको २९औँ वार्षिक साधारणसभा बोलाएको छ । चैत्र ३१ गते बिहिबार बसेको राष्ट्रिय बीमा संस्थान संचालक समितिको १४६७ औं बैठक र राष्ट्रिय बीमा कम्पनी लिमिटेडको संचालक समितिको १०२ औं बैठकले सोही दिन सभा बोलाउने निर्णय गरेका हुन् । उक्त सभामा कम्पनीको (साबिकको राष्ट्रिय बीमा संस्थानबाट निर्जीवन बीमा ब्यवसाय हस्तान्तरण भई आएको) आ.ब.२०६०/६१, २०६१/६२ र २०६२/६३ को लागि संचालक समितिबाट सिफारिस भए बमोजिंमको नगद लाभांश (कर प्रयोजनको लागि) तथा बोनस सेयर अनुमोदन गरिने कम्पनीले जनाएको छ । साथै, कम्पनीको प्रवन्धपत्र नियमावलीमा अत्यावश्यक संशोधन तथा पूँजी संरचना समायोजन गर्नको लागि प्रस्ताव प्रस्तुत गरिने छ । सोही प्रयोजनको लागि बिशेष साधारण सभा आयोजना गर्नको लागि संचालक समितिलाई अधिकार प्रदान गर्ने कम्पनीले बताएको छ । उक्त सभा प्रयोजनको लागि वैशाख ८ गतेदेखि २२ गतेसम्म कम्पनीको सेयर दर्ता किताब (बुक क्लोज) बन्द रहने छ ।

नयाँ वर्षलाई नेप्सेले देखायो रातो झण्डा, पहिलो कारोबारमा ४५ अंकको गिरावट

काठमाडौं । नेप्सेले नयाँ वर्ष २०७४ साललाई रातो झण्डा देखाएको छ । नयाँ वर्षमा पहिलो दिन खुलेको सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । बजारमा नेप्से परिसूचक ४५ दशमलब ५२ अंकले घटेर १६५१ दशमलब ६१ अंकमा झरेको छ । दोहोरो अंकले घटेको बजारमा सेयर कारोबारमा भने सामान्य गिरावट भएको छ । आइतबार बजारमा एक अर्ब २१ करोड रुपैयाँको सेयर कारोबार भएको छ । जुन अघिल्लो कारोबारको तुलनामा २७ करोड रुपैयाँ घटी हो । कुल १३५ कम्पनीको कारोबार भएको आइतबारको बजारमा १६ लाख ८७ हजार कित्ता सेयर किनबेच भएको छ । बजारमा कारोबार भएका सबै समूहको परिसूचक राताम्मे भएका छन् । सबैभन्दा बढी बीमा समूहको परिसूचक ३२२ अंकले ओरालो लागेको छ । त्यस्तै, फाइनान्स र अन्य समूहको परिसूचक क्रमशः ८ र ४ अंकले ओरालो झरेका छन् भने बाँकी समूहको परिसूचक दोहोरो अंकले ओरालो लागेका हुन् ।

सिटिजन्स बैंकले शुरु गर्यो ‘इन्टरबैंक फुटसल टुर्नामेन्ट’, १७ वटा वाणिज्य बैंक सहभागि हुने

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले नेपाल अधिराज्य भरिका वाणिज्य बैंकहरु बीच ‘थर्ड सिटिजन्स इन्टरबैंक फुटसल टुर्नामेन्ट’ आयोजना गरेको छ । १७ वटा वाणिज्य बैंकहरुको सहभागिता रहेको यस प्रतियोगिता वैशाख २ देखि ४ गते सम्म काठमाडौंको कमलादी स्थिति यूनिग्लोब कलेजमा सञ्चालन भईरहेको छ । उक्त प्रतियोगिताका बिजयताहरुलाई वैशाख ७ गते बैंकको मुख्य कार्यालय नारायणहिटिमा आयोजित हुने दशौं वार्षिकोत्सवमा ट्रोफी वितरण गरिने बैंकले जनाएको छ ।

मेची-महाकाली रेलमार्ग निर्माणमा बजेट अभाव, अर्थ मन्त्रालयले दिएन ७० करोड रुपैंयाँ

काठमाडौं । अर्थ मन्त्रालयले मेची-महाकाली रेल मार्ग निर्माणमा बजेट निकासा नगरेपछि बर्दिबास–लालबन्दी रेल मार्ग निर्माणले गति लिन छाडेको छ । रेल विभागले करिब पाँच महिना अघि मन्त्रालयलाई ७० करोड निकासा गरिदिन पत्र लेखेको थियो तर अर्थले अझै पैसा दिएको छैन् । ‘हामीले पाँच महिना अघि ७० करोड निकासाका लागि अनुरोध गरेर पत्र लेखेका थियौं तर अझै पाएका छैनौं’, रेल विभागका सिनियर डिभिजनल इञ्जिनियर प्रकाशभक्त उपाध्यायले भने । सरकारले ९४५ किलोमिटरको मेची–महाकाली रेल मार्गलाई राष्ट्रिय गौरवको आयोजनामा राखेर बजेटको अभाव हुन नदिने प्रतिवद्धता गर्दै आएको थियो । तर पाँच महिनासम्म पनि ७० करोड निकासा नभएपछि रेल विभागका कर्मचारी समेत निरास बन्न थालेका छन् ।‘हामी धमाधम काम गरिरहेका छौं, कामदार कम्पनीलाई भुक्तानी गर्न पैसा मागेको अझै पाएका छैनौं’, उपाध्यायले भने । कतिपय आयोजनाले बजेट खर्च गर्न नसकेको भन्दै अर्थमन्त्रालयले चाँडो खर्च गर्न भनिरहेको छ । तर पुँजीगत खर्च गरिरहेका राष्ट्रिय गौरवका आयोजनाका लागि भने मन्त्रालयले पर्याप्त रकम उपलब्ध गराउन नसकेको पनि स्पष्टै भएको छ । रेल विभागले मेची–महाकाली रेल मार्ग अन्तर्गत बर्दिबास–लालबन्दीको ३० किलोमिटर खण्डमा धमाधम काम गरिरहेको छ । गत चैत ३ गतेको मन्त्रि परिषद बैठकले ११ हजार १ सय २३ वटा रुख काट्ने अनुमति दिएपछि विभागले थप उत्साहित हुँदै काम अघि बढाईरहेको छ । पुर्व पश्चिम रेल मार्गको औषत लागत प्रति किलोमिटर ३५ देखि ४० लाखको हाराहारीमा हुनेछ । यो रेल मार्गले नेपाललाई ट्रान्स एसियन रेलवे नेटवर्कसँग जोड्नेछ । भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयले आगामी आर्थिक बर्षका लागि विभागलाई ४ अर्बको बजेट सिलिङ उपलब्ध गराएको छ । विभागले भने ७ अर्ब बजेट मागेको थियो । विभागले आगामी बर्षमा लालबन्दि–सिमरा रेल मार्गको काम अघि बढाउने तयारी गरिरहेको छ ।

लक्ष्मी बैंकको १०० प्रतिशत हकप्रद सेयर आजदेखि खुला, कहाँ कहाँबाट आवेदन दिने ?

काठमाडौं । लक्ष्मी बैंकले सर्वसाधारणको लागि १०० प्रतिशत (अर्थात १ बराबर १ को अनुपातमा) हकप्रद सेयरको बिक्री खुला गरेको छ । कम्पनीले वैशाख ३ गते (आइतबार)देखि एक सय अंकित दरको ३ करोड १५ लाख ९० हजार ३०३ कित्ता हकप्रद सेयरको बिक्री खुला गरेको हो । सो मात्राको हकप्रदको लागि इच्छुक लगानीकर्ताले आगामी जेठ ७ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । लगानीकर्ताले काठमाडौंको नक्साल, नारायणचौरमा रहेको सिद्धार्थ क्यापिटल र नयाँबानेश्वरमा रहेको लक्ष्मी क्यापिटल मार्केटबाट आवेदन दिन सक्नेछन् । साथै, काठमाडौंमा रहको लक्ष्मी बैंक तथा बैंकको सम्पूर्ण शाखा कार्यालयहरुबाट आवेदन गर्न सक्ने कम्पनीले जनाएको छ । हाल कम्पनीको बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । हाल बैंकको चुक्ता पूँजी ३ अर्ब रुपैयाँ बढी रहेको छ । बोनस बाहेक सो मात्राको हकप्रद पश्चात बैंकको पूँजी करिब ६ अर्ब १६ करोड रुपैयाँ नाग्ने छ । आइतबार बैंकको सेयर मूल्य प्रतिकित्ता ४८० रुपैयाँमा कारोबार भइरहेको छ ।

वर्षमा ३/४ करोड रुपैयाँ बोनस हातमा आउँछ-सुरेन्द्रबहादुर सिंह

सुरेन्द्रबहादुर सिंह नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको अध्यक्ष हुनुहुन्छ । उहाँ नेपाल बैंकको सञ्चालक पनि हुनुहुन्छ । उहाँ २००० देखि २०१३ सम्म नेपाल इन्भेष्टमेन्ट बैंकको सञ्चालक हुनुहुन्थ्यो । उहाँसँग हामीले सेयरवार्ताको प्रयास गरेका थियौं । तर उहाँको जीवनको बहुआयामिक रोचक पक्ष पायौं । प्रस्तुत छ उहाँसँग गरिएको लामो वार्ताको सम्पादीत अंश ।   सुरेन्द्रबहादुर सिंह तपाईको जन्म ? असनमा २०१८ सालमा । कति पुस्तादेखि असनमा बस्दै आएको ? हाम्रो इतिहास हामीलाई नै सबै थाहा छैन । मेरो बाजे बराजु कलिलो उमेरमा नै वित्नु भएछ । मेरो बुबा ७ वर्षको हुँदा बाजे बित्नुभएको रहेछ । बुबाको काका बा पनि कलिलो उमेरमा नै बित्नुभएछ । त्यसैले धेरै कुरा ट्रान्सफर नै हुन सकेन । तपाईको औपचारिक पढाई  ? स्कूलको शिक्षा ल्यब्रोटोरीज् स्कूल, कीर्तिपुरबाट हासिल गरेको हो । त्रिभुवन विश्वविद्यालयबाट एमबीए गरेँ । १९८२ देखि १९८४ सम्म अष्ट्रिया(यूरोपियन देश) मा गएर होटल म्यानेजमेन्ट पढेँ । १९९२ देखि १९९४ इटलीबाट मास्टर इन इन्टरनेशलन म्यानेजमेन्ट पढेँ । त्यतिबेला विदेशमा पढ्ने अवसर कसरी मिल्यो ? अस्ट्रिया जान त्यतिबेला कुनै कठिन थिएन । अन एराईभल भिसा थियो । राम्रो शिक्षाको लागि बुबाले विदेश पठाउनु भएको । इटलीमा पढ्न जानुपूर्व एउटा रोचक प्रशंग छ । इटली एम्बेसीले नेशनल डेको अवसरमा सोल्टी होटलमा कार्यक्रम राखेको रहेछ । अन्तिम समयमा होटलले कार्यक्रम रद्द गरेछ । इटलीको नेशनल डे मनाउन एम्बेसीले आयोजना गरेको कार्यक्रम, प्रधानमन्त्री, मन्त्री लगायत धेरै भीआईपीलाई आमन्त्रण गरिएको कार्यक्रम । सोल्टी होटलले कार्यक्रम नगर्ने भएपछि राजदूत रिसले आगो भएछन् । त्यो बेलामा अरु राम्रा होटल कम थिए । कार्यक्रम हिमालयन होटलमा गर्ने व्यवस्था मैले मिलाएँ । मेरो कामबाट ती राजदूत प्रभावित भएछन् । इटलीमा पढ्न जान्छौ भनेर उनले सोधे । मैले ‘मसँग पैसा छैन’ भनेँ । ‘टिकटको पैसा तिमी हाल, बाँकी खर्चको व्यवस्था म मिलाई दिन्छुु’ भनेर उनले भने । मैले सहमति जनाएँ । उनले सबै कुरा मिलाई दिए । तपाईको व्यवसायिक पृष्ठभूमि ? ३०३४ देखि साढे दुई वर्ष राष्ट्रिय वाणिज्य बैंकमा काम गरेँ । पछि नेपाल अरब (हालको नविल) बैंकमा काम गरेँ । त्यतिबेला अरब बैंकको खुब बदनाम थियो । ठग बैंक, चोर बैंक भन्थे । भारतमा झनै बढी खराव इमेज । अरब बैंकमा काम गर्छु भन्न पनि लाज लाग्ने, डर लाग्ने अवस्था थियो । त्यतिबेला अरब बैंकको सेयर एनबी इन्टरनेशनलले किनेको थिएन । पछि श्रीलंकन, बंगलादेशीहरुले मिलेर सेयर किने । एनबी इन्टरनेशनल विनोद चौधरीको मात्र हो भनेर प्रचार गरिन्छ । वास्तवमा चौधरीको मात्र लगानी होइन । त्यसमा बंगाली, श्रीलंकनहरुको पनि लगानी छ । अरब बैंक छोडेर मल्ल ट्राभल्समा काम गरे । हिमालयन होटलमा २० वर्ष काम गरे, त्यो होटलमा लामो समय महाप्रबन्धक भएर काम गरेँ । बीचमा एउटा काम गरँे । त्यसले मेरो लाईफमा धेरै परिवर्तन ल्यायो । के काम थियो त्यो ? मैले १९८७ मा होटलमा बस्ने स्वीजरल्याण्डको गेष्टले मलाई हुलाक अफिस कहाँ छ भनेर सोध्यो । मैले ठेगाना बताईदिएँ । त्यसपछि उसले मलाई ‘सँगै’ जान प्रस्ताव गर्यो । भाषाको समस्या हुन सक्ने भएकोले मसँग सहयोग माग्यो । मैले सहयोग गरेँ । पछि मलाई बिजनेश गर्छौ भनेर सोध्यो । मैले जानेको छैन भनेँ । उसले सिकाई दिन्छु भन्यो । त्यो मान्छेले हुलाक टिकट छाप्ने स्वीस कम्पनीको एजेन्ट बन्न आग्रह गर्यो । हरेक वर्ष उसले पठाएको कोटेशन हुलाक विभागलाई बुझाउनु पर्ने काम रहेछ । मैले ‘हुन्छ’ भने । २/३ वर्ष उसले पठाएको कोटेशन परेन । इटलीमा पढ्न गएपछि बल्ल हुलाक टिकट छाप्ने ठेक्का पायो । विजनेश पाएपछि मलाई उसले स्वीजरल्याण्ड बोलायो । सबै खर्च उसैको । म घुम्न गए । कम्पनीको मालिक आफै रहेछ । पाँच वटा छोराछोरीलाई छुट्टाछुट्टै कम्पनी खडा गरेको रहेछ । आफ्नै घरमा राख्यो । मैले त्यति धनी मान्छे पहिलो पटक देखेको, भेटेको । उसले त्यतिबेला २५ हजार पर्ने स्वीस घडी दियो । फर्कने बेलामा ८ हजार स्वीच फ्याङक दियो । म त पुरै दंग । दोस्रो वर्ष पनि उसले नेपालको हुलाट टिकट डिजाइन गर्ने, छाप्ने टेण्डर पायो । फेरी उसले स्वीजरल्याण्ड बोलायो । मैले पनि सहमति जनाएँ । पुुरै मोजमानी गर्न पाईने । त्यतिबेला पनि नयाँ घडी दियो । १५ हजार स्वीच फ्याङक दियो । उसले दिने रेट पनि सस्तो, प्रिन्ट पनि राम्रो, डेलिभरी पनि टाईममा गर्ने । नेपालका हुलाकका कर्मचारीलाई पनि विदेश घुमाउने, तालिम दिने गर्न थाल्यो । उसले धेरै वर्ष नेपाली हुलाक टिकट छाप्ने काम पायो । करिव १७ वर्षसम्म मैले पनि त्यसमा काम गरे । उसले नियमित कमिशन दिएन । उसले आफ्नो इच्छाअनुसार वर्षमा एक पटक उसलाई मन लागेजति पैसा दिन्थ्यो । मेरो जिन्दीगीमा त्यो मान्छेसँग भेट भएपछि धेरै परिवर्तन आयो । अहिले पनि उसले मलाई छोरा जस्तै माया गर्छ । श्रीमती धनीको छोरी, १० बजे उठ्ने, ११ बजे ब्रेक फाष्ट खाने, त्यसपछि तास खेल्न थाल्ने । नेपालमा राणाका छोरीको जस्तो जीवन शैली । छोराहरु पनि ट्यापी भए । एउटी छोरी बेलायती केटासँग विहे गरेकी थिई, डिभोर्स भयो । धनी भए पनि परिवारबाट ऊ खुसी हुन सकेन । अरु व्यवसाय ? सेयरमा लगानी गरेको छु । बीचमा जग्गा किनबेचको काम पनि गरेँ । व्यापार, सेवाका केही कम्पनीमा पनि लगानी छ । सेयरमा लगानी गर्न थालेको कति भयो ? १९९१ देखि । त्यतिबेला आईपीओमा सेयरमा धेरै आवेदन पर्दैन थियो । जति माग्यो, त्यति पर्दथ्यो । अहिले कति छ सेयर? नभनौं । मैले थोरै कम्पनीको सेयर किनेको छु तर ती सबै कम्पनीको रिर्टन राम्रो छ । सधैं एकनास हुदैन । कहिले बोनस सेयर धेरै आउँछ, नगद कम हुन्छ । औषतमा ३/४ करोड रुपैयाँ बराबर हुन्छ । वार्षिक कति लाभांश आउँछ ? सधैं एकनास हुदैन । कहिले बोनस सेयर धेरै आउँछ, नगद कम हुन्छ । औषतमा ३/४ करोड रुपैयाँ बराबर हुन्छ । सेयर कारोबार कत्तिको गर्नुहुन्छ ? किनेपछि सेयर बेच्दिन । सेयर बेच्ने आवश्यकता नै पर्दैन । अहिलेसम्म आर्थिक समस्या भोग्नु परेको पनि छैन । राम्रो रिर्टन दिने कम्पनीको सेयर किन बेच्ने ? जग्गा जमिन कति छ ? बाहुबाजेले पनि राम्रो जोड्दिनुभएको रहेछ । आमाको बुबाको जमिन पनि धेरै थियो । मामाहरु नभएकोले सम्पत्ति छोरीहरुलाई दिनुभयो । बानेश्वरमा १८ रोपनी जग्गा एउटै प्लटमा आमाले माइतीबाट पाउनु भएको छ । असनमा कति जग्गा छ ? ३ आना मात्र हो । पैतृक सम्पत्ति ३ आना मात्र हो त ? २०० वर्षदेखिको जग्गा हो । महाराजगञ्जको ढ्याङग्रे खेतबाट ४५ मुरी धान कुत आउँथ्यो । डल्लुमा मौजा (ठूलठूलो बिर्ता) थियो । थानकोटमा फाँट नै थियो हाम्रो । मेरो बाजेले तत्कालिन राजालाई खुशी बनाएबाफत वारामा ५ हजार विगा जमिन बक्स दिएको कागज अझै मसँग छ । तर त्यो कागज मात्र छ । जमिन हेर्न गएको, फिल्डमा छैन । त्यतिबेला औलो लाग्छ भनेर बाजे बजै गएनन् । सबै जग्गा अरुले नै हडपी सकेका छन् । त्यो जग्गा लिन कुनै प्रयास गर्नुभयो ? छैन । मलाई नपुग्दो केही छैन । त्यो जग्गा पाउन अदालतदेखि स्थानीय समूदाय, स्थानीय प्रशासनसँग लडाई गर्नु पर्ने हुन्छ । तपाई जग्गाको कारोबारमा कसरी पुग्नुभयो ? म डल्लुमा बस्थे । त्यहाँका ज्यापुहरु छोरा छोरीको विहे गर्न पैसा भएन, लौन काजी साव जग्गा लिइदिनु पर्यो भन्न आउँथे । उनीहरुको काम चलाई दिन, उनीहरुले भनेकै मूल्यमा जग्गा किन्न थालेँ । पछि त्यही जग्गामा राम्रो फाइदा आएपछि बेच्थेँ । अहिले त जग्गा किनबेचको काम छोडिसकेँ । त्यतिबेला तपाईको हातमा नगद कसरी आउँथ्यो ? म जागिर खान्थेँ, मेरो श्रीमतीको पनि राम्रो जागिर, असनको घर भाडा आउँथ्यो, क्षेत्रपाटीको घरभाडा आउँथ्यो । बुबा राजबहादुर सिंह नेपाल सरकारको सचिव हुनुहुन्थ्यो । मेरो घरमा क्यास फ्लो राम्रो थियो । अहिले पनि असनमा बस्नुहुन्छ ? होइन, असनबाट क्षेत्रपाटीमा, त्यहाँबाट डल्लू, त्यसपछि अहिले, महाराजगञ्ज बस्छु । सेयरको मूल्य किन बढेको छ ? एउटा मनोविज्ञान हो । दोस्रो बैंकहरुले कर्जाको व्याज धेरै बढाए, नाफा बढ्दैछ । तेस्रो, बोनस सेयर, हकप्रद सेयरको आउँछ भनेर । नेपाल बैंकको स्थिति कस्तो छ ? नाफा बढेको छ । आगामी वर्षदेखि सेयरधनीलार्इ नाफा दिन सकिन्छ । तर नेपाल बैंकमा कर्मचारी खर्च बढी छ । बैंकले धेरै नाफा गरेपनि कर्मचारी खर्च नै धेरै छ । बैंकले सम्पत्ति बेचेर नाफा देखाईरहेको छ, कहिलेसम्म सम्पत्ति बेचेर नाफा देखाउने ? तपाईलाई रोचक कुरा सुनाउँछु । केही दिनअघि नेपाल इन्स्योरेन्स कम्पनीको काममा विरगञ्ज गएको थिएँ । त्यही बेलामा केही समय निकालेर रक्सौल गएको । फर्कदा जाममा परियो । रुट परिवर्तन गरेर आउँदा ड्राईभरले रक्सौलमा नेपाल बैंकको जग्गा देखायो, धेरै जग्गा रहेछ त्यहाँ । त्यहाँ जग्गा भएको जानकारी नेपाल बैंकको केन्द्रीय कार्यालयलाई थाहा नै थिएन । मैले सोधखोज गर्न लगाए । पछि थाहा भयो विरगञ्ज शाखाले सो जग्गाको बाली वर्षमा १२/१३ हजार रुपैयाँ भारत सरकारलाई बुझाउँदै आएको रहेछ । त्यसको प्रयोग गर्न सकेको छैन । यस्तो सम्पत्ति कति छ भन्ने समेत थाहा छैन । यसरी बेवारीसे अवस्थामा रहेको सम्पत्ति राखेर बैंकलाई फाइदा हुँदैन । प्रयोगमा नआउने सम्पत्ति बेच्दै जानुपर्छ । नेपाल इन्स्योरेन्स कम्पनीमा सिईओ किन नियुक्ती नगरेको ? ६ जनाले आवेदन दिएका छन् । बोर्डमा छलफल भईरहेको छ । छिट्टै निर्णय गर्छौ ।

हाम्रो विकास बैंकको वैशाख ११ गते बुक क्लोज, २०० हकप्रद निष्कासन गर्ने

काठमाडौं । हाम्रो विकास बैंकले आगामी वैशाख ११ गते कम्पनीको बुक क्लोज गर्ने भएको छ । बैंकले सेयरधनीहरुलाई २०० प्रतिशत (एक बराबर २ को अनुपातमा) हकप्रद निष्कासन गर्नको लागि सो दिन बुक क्लोज गर्ने निणर्य गरेको हो । उक्त निर्णय कम्पनीको सञ्चालक समितिको बैठकले गरेको हो । हाल बैंकको चुक्ता पूँजी १५ करोड ७१ लाख रुपैयाँ रहेको छ । सो मात्राको हकप्रद पश्चात कम्पनीको पूँजी करिब १६ करोड रुपैयाँ नाघ्ने छ । बिहीबार बैंकको सेयर प्रतिकित्ता ५९५ रुपैयाँमा कारोबार भइरहेको छ ।

एभरेष्ट इन्स्योरेन्सले २० प्रतिशत बोनस दिने, चुक्ता पूँजी १२ करोड नाघ्ने

काठमाडौं । एभरेष्ट इन्स्योरेन्सले आफ्ना सेयरधनीहरुलाई २० प्रतिशत बोनस दिने निर्णय गरेको छ । उक्त निर्णय कम्पनीको सञ्चालक समितिको बैठकले गरेको हो । बैठकको निर्णयलाई कम्पनीको आगामी साधारणसभाले स्वीकृत गरेपछि सेयरधनीले सो मात्राको लाभांश पाउने छन् । हाल इन्स्योरेन्सको चुक्ता पूँजी १० करोड १२ लाख रुपैयाँ रहेको छ । बोनस पश्चात कम्पनीको पूँजी १२ करोड १५ लाख रुपैयाँ नाघ्ने छ । आइतबार कम्पनीको सेयर प्रतिकित्ता २१८५ रुपैयाँमा कारोबार भइरहेको छ ।