विकासन्युज

सियो पनि नबन्ने मुलुकका जनताले खान्छन ६४ करोडको विदेशी खुर्सानी

काठमाडौं । नेपालमा सियो पनि बन्दैन भनेर मुलुकको औद्योगीक क्षमता माथी व्यंग्य गरिन्छ । तर नेपालमा सियो नबन्ने मात्रै होइन आफ्नै करेसा बारीमा फल्ने खुर्सानी समेत करोडौंको आयात भैरहेको छ । गाउँघरका करेसा बारी र शहरका गगन चुम्बी भवनका छतकै गमलामा फलाउन सके मात्रै पुग्ने खुर्सानीका लागि पनि नेपालले बर्षेनी करोडौं रुपैंयाँ खर्चिरहेको तथ्यांकले देखाउँछ । गत आर्थिक बर्ष २०७२/७३ मा ६४ करोड १० लाख ६९ हजार ४ सय ६० रुपैंयाँको विदेशी खुर्सानी नेपाल भित्रिएको छ । सो मूल्य बराबरको ८ लाख ६४ हजार १ सय ४१ किलो खुर्सानी नेपाल भित्रिएको हो । यो संख्या पाँच बर्ष अघिको भन्दा ६५ दशमलब ५० प्रतिशत बढि हो । पाँच बर्ष अघि अर्थात आव २०६८/६९ मा जम्मा ३८ करोड ७३ लाख ५० हजार ६ सय ३३ रुपैंयाँ बराबरको खुर्सानी नेपाल भित्रिएको थियो । त्यसपछि विदेशी खुर्सानी आयातको यो श्रृंखला २०७१÷७२ मा बाहेक निरन्तर वृद्धि भैरहेका तथ्यांकले देखाउँछ । आर्थिक बर्ष २०६९/७० मा ४१ करोड ११ लाख, आव २०७०/७१ मा ६७ करोड ४१ लाख र आव २०७१/७२ मा ६२ करोड ४६ लाख मूल्य बराबरको विदेशी खुर्सानी नेपाल भित्रिएको छ ।  भारत, चीन, दक्षिण कोरिया र थाइल्याण्ड लगायतका मुलुकबाट नेपालमा खुर्सानी भित्रिने गरेको छ । कति हुन्छ नेपालमै खुर्सानीको उत्पादन ? तरकारी विकास निर्देशनालयका निर्देशक हरि बहादुर केसीका अनुसार नेपालमा ९ हजार ५ सय ८० हेक्टर जमिनमा खुर्सानी खेति भैरहेको छ । गत आव २०७२/७३ मा ९३ हजार ९ सय ३१ मेट्रिक टन खुर्सानी उत्पादन भएको थियो । ‘५० प्रतिशत व्यवसायीक खेतिबाट उत्पादन भैरहेको छ भने बाँकी घरेलु उत्पादन हो, दुईचार बोट खुर्सानी रोप्नेले पनि केहि किलोग्राम बेच्ने गरेका छन’, निर्देशक केसीले विकासन्युजसँग भने । अकबरे खुर्सानी पुर्वाञ्चलका पहाडी क्षेत्रमा फल्ने र अन्य अधिकांश खुर्सानी तराईमा फल्ने गरेको पनि उनले जानकारी दिए । कृषि विकास मन्त्रालय आव २०७१/७२ को तथ्यांक अनुसार नेपालमा ७ हजार ६ सय ७९ दशमलब ५ हेक्टरमा खुर्सानी खेति भैरहेको छ । सो खेतिबाट त्यो बर्ष ४० हजार १ सय ७१ दशमलब ७७ मेट्रिक टन खुर्सानी उत्पादन भैरहेको छ । नेपालमा खुर्सानीको उत्पादकत्व प्रति हेक्टर ५ हजार २ सय ३१ किलोग्राम रहेको सरकारी तथ्यांक छ ।

एनआईसी एशिया क्यापिटलले पायो धितोपत्र निक्षेप सेवा प्रदान गर्न अनुमति

काठमाडौं । एनआईसी एशिया बैंकको पूर्ण स्वामित्वमा रहेको एन आई सी एशिया क्यापिटल लिमिटेडले धितोपत्र निक्षेप सम्बन्धी सम्पूर्ण सेवा प्रदान गर्नको लागी अनुमति पाएको छ । एनआईसी एशिया क्यापिटललाई सिडिएस एण्ड क्लियरिङ्गले बिहीबारदेखि धितोपत्र निक्षेप सम्बन्धी सम्पूर्ण सेवा प्रदान गर्नको लागी स्वीकृत दिएको हो । एनआईसी एशिया बैंकले विगत दुई बर्ष देखि धितोपत्र निक्षेप सेवा प्रदान गर्दै आएको छ । एनआईसी एशिया क्यापिटलले बैंकको उक्त सेवाहरुलाई अझ बढी प्रभावकारी बनाउने बताएको छ । सेवाग्राहीहरुले एनआईसी एशिया क्यापिटलको सिद्धार्थ इन्स्योरेन्स भवन, बबरमहल स्थित कार्यालयबाट तथा एन आई सी एशिया बैंक लिमिटेडका सम्पूर्ण शाखा कार्यालयहरुबाट डिम्याट खाता खोल्न सक्ने कम्पनीले जनाएको छ ।

बिहीबारको सेयर बजारमा तीव्र उतारचढाव, नेप्से परिसूचक सामान्य अंकले वृद्धि

काठमाडौं । बिहीबारको सेयर बजारमा तीव्र उतारचढाव देखिएको छ । बजारमा कारोबार शुरु भएको करिब एक घण्टामा परिसूचक घटेर १४७० अंकमा झरेको थियो भने त्यसपछिको करिब एक घण्टामा परिसूचक फेरि बढेर १४९५ अंकमा पुगेको थियो । कारोबार बन्द हुँदा नेप्से परिसूचक सामान्य ४ दशमलब ९६ अंकले बढेर १४८६ अंकमा अडेको छ । बिहीबारको सेयर बजारमा कारोबार रकममा गिरावट आएको छ । बिहीबार जम्मा एक अर्ब रुपैयाँको सेयर किनबेच भएको छ । जुन रकम बुधबारको तुलनामा करिब ४० करोड रुपैयाँ घटी हो । बिहीबार १४३ कम्पनीको १९ लाख ४३ लाख कित्ता सेयर किनबेच भएको छ । सो दिन होटल र अन्य समूहको परिसूचक ओरालो लागेका छन् भने अन्य बाँकी समूहको परिसूचक उकालो लागेका छन् । होटल र अन्य समूहको परिसूचक क्रमशः १३ र ५ अंकले ओरालो लागेका हुन् । सबैभन्दा बढी हाइड्रो पावर समूहको परिसूचक ४६ अंकले बढेको छ ।

भारतबाट तीन अर्ब ९१ करोडको कृषिजन्य बस्तु आयात, सबैभन्दा बढी खाद्यान्न

कञ्चनपुर। भारतबाट कञ्चनपुरमा तीन अर्ब ९१ करोड ५८ लाख रुपैयाँ बराबरको कृषिजन्य बस्तु आयात गरिएको छ । कृषि विकास कार्यालयका अनुसार आव २०७२/७३ देखि चालु आवको हालसम्ममा एक लाख पाँच हजार ५५ मेट्रिक टन कृषिजन्य बस्तु भारतबाट आयात गरिएको हो । आयात गरिएका बस्तुमा खाद्यान्न सबैभन्दा बढी २५ हजार सात सय ७२ मेट्रिक टन रहेको छ । तोरी चार हजार ६०१ मेट्रिक टन, दलहन १८० दशमलव ८५, तरकारी पाँच हजार ६३५ दशमलव ८४, अदुवा तीन दशमलव ३१, बर्सिम घाँसको बीउ १२ दशमलव ३१ तथा आलु १९ हजार २८६ दशमलव ६ मेट्रिक टन आयात गरिएको वरिष्ठ कृषि विकास अधिकृत यज्ञराज जोशीले जानकारी दिए । यसैगरी पशु दाना ३३ हजार ९३५ दशमलव सात मेट्रिक टन, बोटबिरुवा ४३ हजार २५९ र फलफुल ११ हजार १२७ दशमलव ६ मेट्रिक टन आयत गरिएको छ । सोही अवधिमा रिठा २५ दशमलब एक मेट्रिक टन, अमला पाँच, काउलो बोक्रा १२ दशमलव तीन, दालचिनी सात दशमलव तीन, तेजपात ६९ दशमलव एक, कचुर जरा शून्य दशमलव ९, टिमुर शून्य दशमलव सात मेट्रिक टन र पिना ५७ दशमलव पाँच मेट्रिक टन भारत निर्यात गरिएको छ । भारततर्फ निर्यात भएका बस्तुको मूल्य रु ७० लाख ४२ हजार रहेको कार्यालयले जनाएको छ । रासस

एनसीसी बैंकका डेपुटी जनरल म्यानेजर राजाराम खड्काले राजीनामा दिए, मर्जपछि कर्मचारी व्यवस्थापन चुनौतिपूर्ण

काठमाडौं । एनसीसी बैंकका डेपुटी जनरल म्यानेजर राजाराम खड्काले दिएको राजीनामा बैंकले स्वीकृति गरेको छ । आफूभन्दा जुनियर रेबन्तकुमार दाहाललाई डेपुटी सीईओमा नियुक्त गरेपछि माघको दोस्रो साता नै खड्काले असन्तुष्टि जनाउँदै राजीनामा दिएका थिए । खड्काले नीजि विषय उल्लेख गरेर राजीनामा गरेको र उनको राजीनामा स्वीकृत भएको बैंकका प्रबक्ता तथा डेपुटी सीईओ बन्दना पाठकले बनाइन् । ठूलो संस्थामा कर्मचारी आउने र छोड्ने प्रक्रिया नियमित भएको उनले बताइन् । खड्का यसअघि इन्टरनेशनल डेभलमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृत थिए । मर्ज हुनुपूर्व खड्कालाई एनसीसी बैंकमा डेपुटी सीईओ दिने सहमति भएको तर सहमति कार्यान्वयन नभएपछि उनले छोडेको स्रोतले बतायो । मर्जपछि बैंकहरुको कर्मचारी व्यवस्थापन सबैभन्दा चुनौतिपूर्ण कार्य भएको अनुभवीहरुले बताउँदै आएका छन् ।

राउटे र दलितका लागि पाँच सय घर निर्माण गरिने, प्रतिघरलाई सवा दुई लाख प्रदान

कञ्चनपुर । जनता आवास कार्यक्रमअन्तर्गत कञ्चनपुरमा बसोबास गर्दै आएका दलित र राउटे समुदायका परिवारका लागि पाँच सय घर निर्माण हुने भएका छन् । सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय धनगढीले घर निर्माणका लागि दलित समुदायका विपन्न, घर नभएका, अपाङ्गता भएका, असहाय र एकल महिला तथा राउटे परिवारको छनोटको कार्य सुरु गरेको छ । कार्यक्रमअन्तर्गत स्वीकृत डिजाइन र स्फेसिफिकेसनबमोजिम घर निर्माण गरी आवास सुविधा दिइने डिभिजन कार्यालयका इन्जिनियर दिनेशकुमार श्रेष्ठले बताए । जिल्ला समन्वय समिति कञ्चनपुरको गत पुस ३ गतेको बैठकमा साबिक सम्पूर्ण नगरपालिका र गाविसमा कार्यक्रम सञ्चलन गर्ने निर्णय गरिएको थियो । निर्णयअनुसार झलारी पिपलाडीमा ४०, वेदकोटमा ५३, बेलौरीमा ३२, पुनर्वासमा ५९, दोधारा चाँदनीमा ७४, कृष्णपुरमा ४७, बाइसे विचवा र रैकवार विचवामा १९, बेलडाँडीमा २६, रामपुर विलासिपुर र श्रीपुरमा १७ र भीमदत्तनगरपालिकामा एक सय २४ गरी कार्यक्रमअन्तर्गत पाँच सय घर निर्माण गरिनेछन् । प्रत्येक घर निर्माणका लागि रु दुई लाख १६ हजार रकम प्रदान गरिनेछ । सर्भेक्षण फाराम भरेका व्यक्तिको घरदैलो पुगी घर निर्माणका लागि सिफारिस गरिने इन्जिनियर श्रेष्ठले बताए । “छनोटमा परेका परिवारको वैशाख १० गतेदेखि तोकिएको मापदण्डमा घर निर्माणको कार्य सुरु गरिनेछ,” उनले भने । सोही कार्यक्रमअन्र्तगत कैलालीमा समेत दलित, राउटे र मुस्लिम समुदायका पाँच सय घर निर्माण गरिने बताइएको छ । रासस

इन्नोभेटिभ डेभलपमेन्ट बैंकको साधारणसभा चैत ३१ गते, के के प्रस्ताव लैजाँदै ?

काठमाडौं । इन्नोभेटिभ डेभलपमेन्ट बैंकले आगामी चैत ३१ गते सातौँ साधारणसभा बोलाएको छ । बैंकको सञ्चालक समितिले प्रस्ताव गरे अनुसार सेयरधनीलाई २१ दशमलब ७५ प्रतिशत बोनस दिने प्रस्तावलाई बैंकले उक्त सभामा लैजाँदै छ । बैंकले गत असार मसान्तको चुक्ता पूँजीको २१ दशमलब ७५ प्रतिशत(अर्थात ६ करोड ३१ करोड रुपैयाँ) बोनस दिन लागेको छ । बैंकको गत असार मसान्तको पूँजी २९ करोड ०५ लाख रुपैयाँ रहेको छ । साथै, सभामा यस इन्नोभेटिभ डेभलपमेन्ट बैंक लिमिटेडलाई सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले पाप्ति गने बैंकको सञ्चालक समितिको निर्णय पारित गर्ने छ । हाल इन्नोभेटिभको चुक्ता पूँजी ३ करोड १७ लाख रुपैयाँ रहेको छ । बिहीबार बैंकको सेयर प्रतिकित्ता ४१८ रुपैयाँमा काराबार भइरहेको छ । त्यस्तै, सेञ्चुरी कमर्सियल बैंकको पूँजी ३ अर्ब रुपैयाँ रहेको छ । बिहीबार बैंकको सेयर प्रतिकित्ता ३२८ रुपैयाँमा काराबार भइरहेको छ ।

सेञ्चुरी बैंकको एक्सटेन्सन् काउन्टर काठमाडौंको टोखामा सञ्चालन

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले बिहीबारबाट आफ्नो चौथो एक्सटेन्सन् काउन्टरको सेवा काठमाडौंको टोखामा सञ्चालन गरेको छ । बैंकले उक्त काउन्टरबाट राजश्व संकलन लगायत त्यस क्षेत्रमा वसोवास गर्ने ग्राहकवर्गहरुमा आफ्नो सेवा पुर्याउने उद्देश्य राखेको छ । यस बैंकले हालसम्ममा ३१ वटा शाखा, २९ वटा ए.टी.एम्, १३ वटा शाखारहित बैंकिङ्ग र ४ वटा एक्सटेन्सन् काउन्टरबाट ग्राहकवर्गसमक्ष बैकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ । साथै, ४ वटा बैंक तथा वित्तीय संस्थालाई प्राप्ती गरेपछि बैंकको शाखा संजाल ९० वटा हुनेछन् ।