विकासन्युज

भूकम्प पीडितलाई खुशीको खबर, दुई लाख ९२ हजारमा दुई कोठे घर

काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले थप ६ ओटा भूकम्प प्रतिरोधी घरको नयाँ डिजाइन सार्वजनिक गर्ने तयारी गरेको छ । भूकम्प प्रभावित जिल्लाको ग्रामीण भेगलाई लक्षित गरि प्राधिकरणले किफायती लागतमा बन्ने घरको नमुना डिजाइन तयार गरेको हो । प्रस्तावित नयाँ मोडलको घर उक्त डिजाइन अनुसार कम्तीमा दुई लाख ९२ हजार रुपैया लागतमा दुई कोठे भवन निर्माण गर्न सकिनेछ । सोसाइटी अफ नेपलिज आर्किटेक्चर (सोना)ले ५ ओटा र जापानी अन्र्तराष्ट्रिय सहयोग नियोग (जाइका)ले एउटा घरको डिजाइन बनाउन सहयोग गरेका हुन । प्रमुख कार्यकारी अधिकृत प्रा.डा. गोविन्दराज पोखरेलको संयोजकत्वमा मंगलवार बसेको प्राधिकरण कार्यकारी समितिको वैठकले नयाँ ६ प्रकारको घरको नमुना डिजाइनलाई स्वीकृती दिने निर्णय गरेको हो । प्रस्तावित नयाँ मोडलको घर उक्त डिजाइनलाई प्राधिकरण कार्यकारी समितिका सदस्य डा. हरिराम पराजुली संयोजकत्वको मापदण्ड निर्धारण समितिले प्रमाणिकरण गरेपछि लागू हुनेछ । नयाँ डिजाइन अनुसार ढुंगाको जोडाई र माटोको गारोका एक तल्ले घर र ढुंगाको गारोमा माटोको जोडाई तथा सिमेन्टको समेत जोडाईमा भूकम्प प्रतिरोधी घर बनाउन सकिनेछ । उक्त डिजाइन सार्वजनिक भए भूकम्पमा घर गुमाएका पिडितले किफायती लागतमा धेरै विकल्प मध्ये आफुलाई मन पर्ने डिजाइनमा नयाँ घर बनाउन सक्ने छन् । सरकारले यसअघि १७ ओटा घरको नमुना डिजाइन तयार गरेको थियो । प्रस्तावित नयाँ मोडलको घर यसैबीच प्राधिकरण कार्यकारी समितिको बैठकले जोखिमयुक्त बस्तीमा रहेकालाई स्थानान्तरण गर्नका लागी आवश्यक जग्गा÷घडेरीको व्यवस्थापन गर्नेवारे गृहकार्य गर्न प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिने निर्णय गरेको छ । प्राधिकरणले यसअघि जोखिमयुक्त बस्तीबाट अन्यत्र बसाई सर्न चाहने प्रभावितलाई जग्गा किन्ने प्रयोजनका लागी दुई लाख रुपैया अनुदान उपलव्ध गराउनेवारे निर्णय गर्न प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा सिफारिस गरेको थियो । यस्तै बैठकले काठमाडौ उपत्यकाका पुरातात्विक सम्पदा पुनर्निर्माणमा स्थानिय समुदायको चासोलाई सम्वोधन गर्ने गरि प्रक्रिया अघि बढाउन सम्पदा पुनर्निमाण उपसमितिलाईे निर्देशन दिएको छ ।

आर्थिक पत्रकारलाई तालिमका लागि सेजन, एनबीआईसँग सहकार्य

काठमाडौं । आर्थिक पत्रकारहरुलाई तालिमका लागि नेपाल आर्थिक पत्रकार समाज (सेजन) र नेशनल बैंकिङ्ग इन्स्टिच्युट (एनबीआई) बीच मंगलबार समझदारी पत्रमा हस्ताक्षर भएको छ । उक्त समझदारीपत्रमा सेजनका अध्यक्ष गोकर्ण अवस्थी तथा एनबीआईका प्रमुख कार्यकारी अधिकृत सञ्जीब सुब्बाले हस्ताक्षर गरेका छन् । उक्त समझदारी अनुसार एनबीआईले वार्षिक रुपमा २५ आर्थिक पत्रकारहरुलाई सम्पत्ति शुद्धीकरण सम्बन्धि तालिम प्रदान गर्नेछ । त्यस्तै, आर्थिक पत्रकारिता तालिमका लागि सेजनले विकास गरेको पाठ्यक्रम अनुसार एनबीआईले तालिम प्रदान गर्ने समझदारी भएको छ ।

वस्तु विनिमय बजारसम्बन्धी विधेयक स्वीकृत, मूल्य जोखिम कम गर्नुका साथै महँगी नियन्त्रण गर्ने

काठमाडौं । व्यवस्थापिका–संसद्ले ‘वस्तु विनिमय बजार सम्बन्धी विधेयक, २०७३ माथि विचार गरियोस् भन्ने प्रस्तावलाई बहुमतले स्वीकृत गरेको छ । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री कृष्णबहादुर महराले प्रस्तुत गरेका उक्त विधेयकमाथि सांसद रेवतीरमण भण्डारी, प्रेम सुवाल र भरतकुमार शाहले धारणा राखेका थिए । सांसदहरुले राखेका जिज्ञासाको जवाफ दिँदै अर्थमन्त्री महराले वस्तु बजारलाई सही मूल्य निर्धारण गर्ने, मूल्य जोखिम कम गर्ने, महँगी नियन्त्रण गर्ने लक्ष्यका आधारमा विधेयक ल्याइएको बताए । करको दायरामा विस्तार, रोजगारीको बढोत्तरी, अनुगमन तथा अनौपचारिक अर्थतन्त्रलाई नियन्त्रण गर्न नयाँ विधेयकले काम गर्ने जानकारी दिँदै उनले आर्थिक अनियमितता र ठगी नियन्त्रण गर्न सकिने तथा सीमित व्यक्तिले बजार नियन्त्रण गर्ने अवस्थाको समेत अन्त्य यसबाट हुने उल्लेख गरे । रासस

नेप्से ३७ अंकले बढ्दा १ अर्ब ४२ करोडको कारोबार, सबैभन्दा बढी नेशनल लाईफको

काठमाडौं । मंगलबार उतारचढाव देखिएको सेयर बजारमा नेप्से परिसूचक ३७ दशमबल ८५ अंकले बढेर १४६२ दशमलब २३ अंकमा पुगेको छ । बजार खुलेको साढे १ घण्टाको अवधिसम्ममा सेयर बजार घट्ने बढ्ने क्रम जारी थियो । त्यसपछिको कारोबारमा भने बजारलाई केही टेवा पुगेको देखिन्छ । मंगलबार सेयर बजारमा कुल १ अर्ब ४२ करोड ४९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सो मध्ये नेशनल लाईफ इन्स्योरेन्सको मात्रै ११ करोड ८३ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । सो दिन कम्पनीको सेयर मूल्य प्रतिकित्ता २१ सय ५६ रुपैयाँ रहेको छ । त्यस्तै, नेपाल कमर्श क्रेडिट एण्ड कर्मश बैंक, नेपाल लाइफ इन्स्योरेन्स, लाइफ इन्स्योरेन्स कम्पनी र नेपाल इन्भेष्टमेन्ट बैंक प्रमोटर सेयरको ५ करोड रुपैयाँ बढीको सेयर कारोबार भएको छ । मंगलबारको बजारमा कुल १४७ कम्पनीको २२ लाख ३४ हजार कित्ता सेयर किनबेच भएको छ । सो दिन सबैभन्दा बढी बीमा समूहको परिसूचक १०८ अंकले उकालो लागेको छ । त्यस्तै, अन्य समूहको परिसूचक सामान्य अंकले उकालो लागेको छ भने उत्पादनमूलक समूह स्थिर रहेको छ । त्यस्तै, मंगलबार कारोबार भएका बाँकी समूहको परिसूचक भने दोहोरो अंकले उकालो लागेका छन् ।

यूनियन फाइनान्सको साधारणसभा चैत ३० गते, १४ गतेदेखि १६ दिन बुक क्लोज

काठमाडौं । यूनियन फाइनान्सले आगामी चैत ३० गते वार्षिक साधारणसभा बोलाएको छ । सो प्रयोजनको लागि चैत १४ गतेदेखि २९ गतेसम्म कम्पनीको बुक क्लोज रहने छ । हाल कम्पनीको चुक्ता पूँजी १७ करोड ४९ लाख रुपैयाँ रहेको छ । मंगलबार कम्पनीको सेयर मूल्य प्रतिकित्ता १७३ रुपैयाँमा कारोबार भएको छ ।

गल्फ लुब्रिकेन्टको टेक्निकल मिट सम्पन्न

काठमाडौं । गल्फ लुब्रिकेन्टको नेपालका लागि आधिकारिक बितरक नेपाल ल्युब आयल र काठमाडौंका लागि आधिकारिक बितरक एभ ट्रेडिङ प्रालिको आयोजनामा राजधानीमा टेक्निकल मिट सम्पन्न भएको छ । उक्त टेक्निकल मिटमा दुई तथा चार पांग्रे सवारी साधनका मेकानिक्स, रिटेलर व्यवसायी तथा अटोमोबाइल सम्बद्ध दुई सय भन्दा बढी ब्यक्तिहरु सहभागी थिए । एभ ट्रेडिङका प्रबन्ध निर्देशक मधुसूदन सिग्देलको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौला प्रमुख अतिथि र नेपाल अटोमेकानिक्स व्यवसायी महासंघका महासचिव ठाकुरप्रसाद न्यौपाने तथा नेपाल ट्रिपर तथा ट्रक व्यवसायी समितिका बरिष्ठ उपाध्यक्ष दिलबहादुर श्रेष्ठ विशिष्ट अतिथि थिए । उक्त अवसरमा महासंघका महासचिव सरोज सिटौलाले लुब्रिकेन्ट्सकै कारण यातायात व्यवसायीहरुको व्यवसाय समेत वृद्धि हुने र यसले सडक दुर्घटनामा समेत कमी ल्याउने कुरा बताए । नेपाल अटो मेकानिक्स व्यवसायी महासंघका महासचिव न्यौपानेले मेकानिक्सहरुका लागि गरिएका यस प्रकारका कार्यक्रमले उनीहरुलाई लुब्रिकेन्टका विभिन्न प्रविधिको वारेमा जानकारी प्राप्त हुने बताए । नेपाल ल्युब आयल लिमिटेडका जीएम गंगाराज भट्टराईले गल्फले गुणस्तरमा कुनै सम्झौता नगरेको जानकारी दिदै गल्फ वातावरणका लागि समेत सचेत भएकाले लामो समय सम्म टिक्ने लुब्रिकेन्टको विकास गरेको बताए । उक्त अवसरमा गल्फ लुब्रिकेन्टको प्राविधिक पक्षका वारेमा जानकारी प्रदान गरिएको थियो । नेपाल ल्युव आयल लिमिटेडले २५ बर्ष भन्दा लामो समयदेखि गल्फ आयल निर्माण गरी बिक्री गरिरहेको छ । यसले गल्फ आयल इन्टरनेसनल र गल्फ आयल भारतसँग प्राविधिक सम्झौता गरी लुब्रिकेन्ट निर्माण गरेको हो । गल्फ अन्तर्राष्ट्रिय ब्रान्ड हो । यसलाई ब्रान्डको रोयल्टी तिरेर नेपाल ल्युब आयलले प्रयोग गर्दै आएको छ । कम्पनीले सिंगापुर, दुबई र यूएईबाट कच्चा पदार्थ आयात गर्छ । कम्पनीले बार्षिक १ हजार किलोलिटर लुब्रिकेन्ट्स उत्पादन गर्दै आएको छ । यसको उत्पादन क्षमता वार्षिक ५ हजार किलोलिटर सम्म छ । नेपाली लुब्रिकेन्ट्सको १० प्रतिशत बजार हिस्सा गल्फले ओगटेको दावी गरेको छ ।

आठ महिनामा ऊर्जा क्षेत्रमा ६४ अर्ब लगानी प्रतिवद्धता, कुल लगानी एक खर्ब १८ अर्ब

काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो चौमाससम्म ऊर्जा क्षेत्रमा सबैभन्दा बढी लगानी भएको छ । उक्त अवधिमा ऊर्जा क्षेत्रमा ६४ अर्ब ११ करोड रुपैयाँ लगानी प्रतिवद्धता आएको उद्योग विभागको तथ्यांक छ । उक्त अवधिमा ऊर्जा क्षेत्रमा १४ वटा उद्योग दर्ता भएका छन् भने गएको वर्षको सोही अवधिमा १३ वटा उद्योग दर्ता भएका थिए । गएको वर्ष २०७२/७३ को दोस्रो चौमाससम्म ऊर्जा क्षेत्रमा १८ अर्ब ३४ करोड लगानी प्रतिवद्धता भएको थियो । चालु आवको सो अवधिमा भएको लगानी गएको आवको सोही अवधिको तुलनामा ४५ अर्ब ७७ करोडले बढी हो । ऊर्जा क्षेत्रमा लगानी गरेर प्रशस्त प्रतिफल प्राप्त गर्ने र सरकारबाट समेत सुविधा पाउने भएकाले यस क्षेत्रमा लगानी बृद्धि भएको हो । उक्त क्षेत्रमा भएको लगानी कुल लगानी प्रतिवद्धताको ५४.३१ प्रतिशत हो । चालु आवको दोस्रो चौमाससम्म उद्योग क्षेत्रमा एक खर्ब १८ अर्ब ३ करोड लगानी प्रतिवद्धता भएको छ । गएको वर्ष यस्तो प्रतिवद्धता ८४ अर्ब ७३ करोडमात्र थियो । चालु आवको यस समीक्षा अवधिसम्ममा लगानीकर्ताको लागि दोस्रो लगानीको क्षेत्र उत्पादनमूलक क्षेत्र बनेको छ । उद्योग दर्ता र लगानीको आधारमा विश्लेषण गर्दा चालु आवमा यस क्षेत्रको लगानी खस्किएको छ । उत्पादनमूलक क्षेत्रका यो अवधिमा २२ अर्ब ८ करोड लगानी भएको छ । गएको वर्षको सो अवधिमा यस क्षेत्रमा ५३ अर्ब ४८ करोड लगानी भएको थियो । गएको वर्षको तथ्यांकअनुसार चालु आवमा उत्पादनमूलक क्षेत्रमा खासै लगानी हुन सकेको देखिदैन । लगानी खस्कदो अवस्था रहेको विभागले जानकारी दिएको छ । यस वर्ष सेवा र पर्यटनमूलक दुबै उद्योगमा लगानी गएको आवको समीक्षा अवधिको तुलनामा लगानी बढेको छ । चालु आवमा सेवामूलक उद्योगमा १७ अर्ब १९ करोड लगानी भएको छ भने गएको वर्षको सो अवधिमा ६ अर्ब १० करोडमात्र लगानी भएको थियो । पर्यटनमूलक उद्योगमा क्रमशः १० अर्ब ५२ करोड र ६ अर्ब ३० करोड लगानी भएको उद्योग विभागको तथ्याङ्क छ । निर्माण क्षेत्रमा एउटैमात्र एक अर्ब लगानीको उद्योग दर्ता भएको छ । गएको आवमा पनि यस क्षेत्रमा खासै लगानी जुट्न सकिरहेको छैन । यस क्षेत्रमा कार्य सम्पादन गर्न अन्य उद्योगमाभन्दा झझण्ट बढी भएकाले पनि लगानी कर्ताको यस प्रति आकर्षण बढ्न नसकेको हो । गएको वर्ष यो क्षेत्रमा १४ करोडमात्र लगानी भएको छ । कृषि तथा वनजन्य क्षेत्रमा पनि यस वर्ष ३ अर्ब लगानी भएको छ । गएको वर्ष यस्तो लगानी ३४ करोडको मात्र थियो ।

घारखोला जलविद्युत् आयोजना निर्माण शुरु, दुई अर्ब ४१ करोड रुपैयाँ लागत

म्याग्दी । अन्नपूर्ण गाउँपालिकाको घारमा १४ मेगावाट क्षमताको घारखोला जलविद्युत् आयोजना निर्माण शुरु भएको छ । म्याग्दी हाइड्रोपावर कम्पनीले दुई अर्ब ४१ करोड ५८ लाख रुपैयाँ लागतको सो आयोजना निर्माण शुरु गरेको हो । आयोजना २०७६ साल मङ्सिरमा सञ्चालनमा ल्याउने लक्ष्य रहेको उक्त कम्पनीका प्रबन्ध निर्देशक अर्जुन पौडेल जानकारी दिए । शिखको कुरिला बगरमा बाँध रहने सो आयोजनाको विद्युत्गृह घारको पोखरेबगरको गोजेमा निर्माण गरिने छ । तीन किमी ४८ मिटर लामो सुरुङ रहने उक्त आयोजनामा विभिन्न बैंक तथा वित्तीय संस्थाको ७० प्रतिशत तथा संस्थापक र प्रभावित क्षेत्रका बासिन्दाको ३० प्रतिशत सेयर लगानी रहने छ । पहिलो चरणमा बाँध र सुरुङ रहने स्थलसम्म जाने पहुँचमार्गको ट्र्याक खोल्ने र पुरानो सडकलाई स्तरवृद्धि गर्ने काम भइरहेको छ । रासस