विकासन्युज

वैशाख १५ भित्र शाखा विस्तार गर्न नेप्सेको निर्देशन

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)ले तोकिएको मापदण्ड पूरा गरेर शाखा विस्तार गरी संचालन गर्न ब्रोकरलाई निर्देशन दिएको छ । नेप्सेले सेयर दलाललाई विस्तारित शाखा संचालनमा ल्याउनल निर्देशन दिएको छ । नेप्सेका अनुसार अनुमति पाएका कम्पनीले उक्त मितिभित्र स्थापना गर्न नसक्ने भएमा अन्य ईच्छुक सदस्य दलाल कम्पनीहरुलाई शाखा विस्तार स्थापनाका लागि अवसर दिईने छ । नेप्सेले पुँजीबजार विस्तारका लागि मुलुकको विभिन्न भागहरुबाट लगानीकर्ताहरुलाई उनीहरुको बचत परिचालन गर्न सक्षम बनाउनुका साथै दोश्रो बजार पहुँचलाई सहज बनाउने उद्देश्यले विस्तारित शाखा संचालन गर्न निर्देशन दिएको हो । हालसम्म ४१ वटा सदस्य दलालहरुबाट विस्तार तथा संचालन गर्न स्वेच्छिक रुपमा आवेदन प्राप्त भएको नेप्सेले जनाएको छ ।

घर निर्माण घट्दा सुस्तायो विद्युतीय बत्ती व्यवसाय

काठमाडौं । राजधानीमा नयाँ भवनको निर्माण घटेपछि विद्युतीय बत्तीको व्यवसाय पनि सुस्ताएको छ । लोडसेडिङ हटेपछि देशका विभिन्न भाग झीलमील भइरहेको बेला ट्युबलाइट, चीम लगायत बत्तीको खपत भने घटेको छ । अर्डर नआएर तीन महिनादेखि बत्तीको व्यापार सुस्ताएको व्यवसायी बताउछन् । नयाँ भवन निर्माणका कामहरुले गति लिन नसकेकाले बत्तीको माग ३० प्रतिशतले घटेको नेपाल विद्युतिय व्यवसायी संघका महासचिव सुदर्शन प्रसाद पौडेलले बताए । ‘हाम्रो व्यवसायको ठुलो हिस्सा भवन निर्माणसँग जोडिएको छ । जती नयाँ भवन बन्छन्, त्यसैअनुसार अर्डर आउछ,’ उनले भने, ‘अहिले निर्माण तथा पुननिर्माणका कामहरु सुस्ताएका छन् । अहिले बैंकले पैसा दिन नसकेकाले निर्माणका कामहरु हुनसकेका छैनन् । त्यसैले लाइटिङ अप्लाइन्सको कारोबार पनि झरेको छ ।’ संघको तथ्याङ्क अनुसार नेपालभर वार्षिकरुपमा करिब ७५ अर्ब रुपैयाँबराबरको विद्युतिय उपकरणको कारोबार हुनेगरेको छ, जसमध्ये २५ प्रतिशत बत्तीको मात्र रहेको छ । ओपल एलइडी सोरुमका इन्चार्ज बानी सिंहका अनुसार एउटा सोरुमबाट मासिक करिब तीन लाख बत्तीको बिक्री हुनेगरेको छ । परम्परागत चीमको विस्थापन पछिल्लो समय परम्परागतरुपमा प्रयोग भइरहेको चीमलाई सिएफएल, एलइडि लाइट जस्ता नयाँ उपकरणले विस्थापित गरेको छ । लोडसेडिङ हटेपछि उपभोक्ताले विद्युतिय खपत बचाउने तर्फ ध्यान पुर्‍याउन खोजेको व्यवसायी बताउछन् । परम्परागत चीमलाई विस्थापित गर्दै बजारमा सिएफएल (कम्प्याक्ट फ्लोरोसेनट लाइट बल्ब) आयो । तर सिएफएल बल्बले ट्युबलाइटले जस्तो चम्किलो उज्यालो नभएकाले सिएफएलले पूर्णरुपमा उपभोक्तालाई सन्तुष्ट पार्न नसकेको फिलिप्सका मार्केटिङ म्यानेजर राजेन्द्र शाक्यले बताए। उनले पछिल्लो समयमा सिएफएल, चीम र ट्युबलाइटलाई पनि एलइडी (लाइट इमिटिङ डायोड) लाइटले विस्तारै विस्थापन गर्ने देखिएको बताए । उनले भने, ‘अब एलइडीले बजारमा अरु बत्तीलाई विस्थापित गरेको छ । यो सिएफएलको तुलनामा कम विद्युत खपत गर्छ । यसको आयु चार वर्षको हुन्छ ।’ तर एलइडी लाइटको मूल्य भने सामान्य बत्तीको तुलनामा दुई गुणा महंगो हुनेउनले जानकारी दिए । लोडसेडिङ हटेपछिको प्रभाव कात्तिकमा लोडसेडिङ हटेपछि विद्युतिय उपकरणको माग बढेसँगै बत्तीहरुको माग पनि बिस्तारै बढेको उनले बताए । उनले भने, ‘ वैकल्पिक उर्जासम्बन्धी उपकरणले हाम्रो कारोबार ओगटेको थियो । लोडसेडिङ हटेपछि हाम्रो कारोबारमा उल्लेखनियरुपमा सुधार आएको थियो । तर पछि नव निर्माणका कामहरु सुस्ताएपछि हाम्रो व्यापार घट्न थाल्यो ।’    

साना उद्योग सुदृढ नभएसम्म मुलुक आर्थिक रूपमा समृद्ध हुन सक्दैनः अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री कृष्णबहादुर महराले ग्रामीण क्षेत्रमा रहेका घरेलु तथा साना उद्योगहरू सुदृढ नभएसम्म मुलुक आर्थिक रूपमा समृद्ध हुन नसक्ने बताएका छन् । घरेलु तथा साना उद्योग महासंघको प्रतिनिधिमण्डलसँग कुरा गर्दै उनले साना तथा घरेलु उद्योगहरू अर्थतन्त्रको मेरूदण्ड भएको भन्दै आगामी बजेटले यस्ता विषयलाई सम्बोधन गर्ने आश्वासन दिएका छन्। लघु, घरेलु तथा साना उद्योगको विकासका लागि ठोस कार्यक्रम ल्याईने प्रतिबद्धता पनि उनले व्यक्त गरे। नेपालको आर्थिक रूपान्तरण, परम्परागत कृषि पेशालाई आधुनिकीकरण र व्यवसायीकरण नगरेसम्म मुलुकको आर्थिक समृद्घि सम्भव नभएको उनको भनाई थियो । महासंघका उपाध्यक्ष विष्णुबहादुर लुईटेलले आत्मनिर्भर अर्थतन्त्रको निर्माण गर्दै लघु, घरेलु तथा साना उद्योगबाट घरघरमा रोजगार र आत्मसम्मान सहितको समृद्घ अर्थतन्त्र निर्माणको आधार भन्ने नाराका साथ महासंघ अगाडि बढिरहेको बताए । स्वदेशी श्रम, पुँजी र कच्चा पदार्थमा आधारित लघु, घरेलु तथा साना उद्योगले स्वरोजगारी, रोजगारीका साथै मुलुकको आर्थिक विकास महत्वपूर्ण भूमिका खेल्दै आएको बताउँदै उनले पूँजी, प्रविधि र बजार समस्याका कारण यो क्षेत्रले अपेक्षाअनुसार गति लिन नसकेकोतर्फ ध्यानाकर्षण गराए । यसैगरि महासंघको प्रतिनिधिमण्डलले वाणिज्यमन्त्री रोमी गौचन थकाली, विज्ञानमन्त्री प्रेमबहादुर सिंहसँग पनि छुट्टाछुट्टै भेट गरी आगामी दिनमा नेपालका लघु, घरेलु तथा साना उद्योगको उत्पादन विविधीकरण गर्न चाल्नुपर्ने कदम र कार्यक्रम बारेमा छलफल गरेको थियो । लघु, घरेलु तथा साना उद्योगको विकास र प्रवद्र्धन तथा आगामी २०७४ बैशाख ७ देखि ११ गतेसम्म आयोजना हुने नेपाल १३ औं अन्तराष्ट्रिय औद्योगिक व्यापार मेला तथा नवीनतम प्रविधि प्रदर्शनीका बारेमा समेत छलफल गरेको थियो । प्रतिनिधिमण्डलमा महासंघका सल्लाहकार वासुदेव गिरी, उपाध्यक्ष मोहन कटुवाल, महासचिव डम्बर रेग्मी, कोषाध्यक्ष सत्यनारायण प्रजापतिलगायतको सहभागिता रहेको थियो । सो अवसरमा उद्योगी/व्यवसायीहरूले पूँजी र प्रविधिको अभावमा नेपाली उत्पादनले मूल्य र गुणस्तरमा विदेशी उत्पादनसँग प्रतिस्पर्धा गर्न नसक्दा बजार विस्तार हुन नसकेको भन्दै उनीहरूले नेपाली उत्पादनलाई गुणस्तरीय प्रतिस्पर्धी बनाउन सहज वित्तीय पहुँच, प्रविधिको विस्तार र तालिममा विशेष दिनुपर्नेमा जोड दिँदै आएका छन् ।

सर्वोच्च अदालतमा महानिरीक्षक नियुक्ति सम्बन्धी मुद्दामा फैसला मङ्गलबार

काठमाडौं । सर्वोच्च अदालतमा नेपाल प्रहरीका महानिरीक्षकको नियुक्ति सम्बन्धमा परेको मुद्दामा अन्तिम सुनुवाइ सोमबार सकिए पनि फैसला भने मङ्गलबार हुने भएको छ । प्रधानन्यायाधीश सुशीला कार्की तथा न्यायाधीश डा आनन्दमोहन भट्टराई, ईश्वरप्रसाद खतिवडा, अनिलकुमार भट्टराई र हरिकृष्ण कार्कीको पूर्ण इजलासमा भएको अन्तिम सुनुवाइपछि निर्णय मङ्गलबार सुनाइने भएको अदालतका प्रवक्ता महेन्द्र उपाध्यायले जानकारी दिए । उक्त विषयमा सरकारका तर्फबाट उपन्यायाधिवक्ता रेवती त्रिपाठी र सहन्यायाधिवक्ता टीकेन्द्र दाहालले बहस गरेका थिए । उनीहरुले प्रहरी महानिरीक्षकमा बढुवा गर्ने कार्यकारी अधिकार मन्त्रिपरिषद्लाई भएको हुँदा कानुनसम्मत सरकारले नियुक्त गरेको तर्क राखेका थिए । रिट निवेदनका तर्फबाट जवाफ दिने क्रममा वरिष्ठ अधिवक्ता तुलसी भट्ट, अधिवक्ता टीकाराम भट्टराई र डा भीमार्जुन आचार्यले कानुनी आधारबिना प्रहरी नायब निरीक्षक जयबहादुर चन्दलाई प्रहरी महानिरीक्षकमा बढुवा गरिएको तर्क राखेका थिए । चन्दका पक्षबाट भने कुनै पनि अधिवक्ताले बहस गरेनन् । आइतबार नेपाल प्रहरीका नायब महानिरीक्षक नवराज सिलवालका तर्फबाट वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्की, बालकृष्ण न्यौपाने, भट्ट र शम्भु थापा तथा अधिवक्ता डा भीमार्जुन आचार्य, ओमप्रकाश अर्याल, बाबुराम कुँवर, हरि फुयाँल, विजयकान्त मैनाली, विकास भट्टराई, शिवकुमार यादव लगायतले बहस गरेका थिए । बहसका क्रममा उनीहरुले प्रहरी ऐनअनुसार वरियताका क्रममा सिलवाल १ नम्बरमा रहेको हुनाले उनलाई नेपाल प्रहरीको महानिरीक्षकमा बढुवा गर्नुपर्ने तर्क राखेका थिए । नेपाल प्रहरीको महानिरीक्षक पदमा चन्दलाई बढुवा गर्ने मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन नगराउन यसअघि अदालतले अल्पकालीन अन्तरिम आदेश दिएको थियो भने आफू वरियताको १ नम्बरमा रहेको भन्दै सिलवालले पनि रिट निवेदन दिएका थिए । त्यसमा पनि अदालतले अल्पकालीन आदेश दिएको थियो । यसैबीच नेपाल प्रहरीका नायब महानिरीक्षक प्रकाशकुमार अर्यालले पनि आफूलाई प्रहरी महानिरीक्षकमा बढुवा गर्नुपर्ने माग गर्दै अदालतमा रिट निवेदन दायर गरेका छन् । मन्त्रिपरिषद्ले संविधानविपरीत चन्दलाई महानिरीक्षकमा बढुवा गरेको जनाउँदै प्रहरी नियमावलीअनुसार आफू कार्यसम्पादनमा अब्बल भएको हुँदा आफूलाई प्रहरी महानिरीक्षकमा बढुवा गर्न निवेदनमा माग गरिएको छ । वरियता क्रमले अर्याल २ नम्बरमा हुनुहुन्छ । रासस

टेलिकम सेवामा ३२ प्रतिशत कर, करकाे भारले सूचना नै महँगाे

काठमाडौं । नेपालको टेलिकम सेवाबाट सरकारले ३२ प्रतिशत कर उठाउने गरेको छ । सरकारले दुर सञ्चार सेवा प्रदायक कम्पनीबाट विभिन्न शिर्षकमा ३२ प्रतिशतसम्म कर उठाएको हो । सरकारले दुर सञ्चार सेवा शुल्क ११ प्रतिशत, स्वामित्व कर २ प्रतिशत, भ्याट १३ प्रतिशत, रोयल्टी ४ प्रतिशत र ग्रामिण दुर सञ्चार विकास कोषमा २ प्रतिशत गरि ३२ प्रतिशत कर असुल्दै आएको छ । दुर सञ्चार सेवा प्रदायक कम्पनीले दुर सञ्चार कम्पनीले उपभोक्तालाई एक सय रुपैंयाँको सेवा बिक्रि गर्दा दुर सञ्चार सेवा शुल्क वापत ८ रुपैंयाँ ६० पैसा, स्वामित्व करका लागि एक रुपैंयाँ ७३ पैसा, भ्याट वापत ११ रुपैंयाँ ५१ पैसा तिर्नुपर्छ । त्यसपछि बचेको रकमबाट पनि ४ प्रतिशत रोयल्टी शुल्क र २ प्रतिशत ग्रामिण दुर सञ्चार विकास कोषमा बुझाउनु पर्छ । नेपाल टेलिकमका चिफ फाइनान्सियल अफिसर सुर्यभक्त पोखरलले कम्पनीले सरकारको राजश्वमा ठुलो योगदान गरेको बताए ।‘हामीले एक सय रुपैंयाँको सेवा बिक्रि गर्दा ३२ रुपैंयाँ त सरकारलाई कर नै तिरिरहेका छौं’, पोखरेलले भने । टेलिकमले उपभोक्तालाई सेवा बिक्रि गरेवापत २६ प्रतिशत कर बुझाउँछ भने बाँकी ६ प्रतिशत कर आफ्नो नाफाबाट तिर्ने गरेको छ । नेपाल टेलिकमले आर्थिक बर्ष २०७२/७३ मा कुल २३ अर्ब ११ करोड कर तिरेको थियो । कुल राजश्वमा टेलिकमले मात्रै ५ दशमलब शुन्य २ प्रतिशत योगदान गरेको छ । चाँडो नाफा कमाउन सकिने व्यवसायका रुपमा स्थापित टेलिकम बिजनेशबाट मुलुककै राजश्व प्रणालीमा पनि ठुलै योगदान प्राप्त भैरहेको छ । नेपाल टेलिकमले गत आर्थिक बर्षमा १३ अर्ब २७ करोड नाफा गरेको थियो ।

यूनिभर्सल इलेक्ट्रोकमद्धारा हिट्याची ब्राण्डको शुरुवात, घरायसी उपकरणमा ख्याति प्राप्त

काठमाडौं । यूनिभर्सल इलेक्ट्रोकम लक्की ग्रुप अन्तर्गत हिट्याची ब्राण्डको शुभारम्भ भएको छ । सोमबार काठमाडौंको सोल्टी क्राउन प्लाजामा आयोजित एक कार्यक्रमद्धारा उक्त ब्राण्डको शुभारम्भ भएको हो । हिट्याची जापानको एक नं. घरायसी उपकरणमा ख्यातिप्राप्त बिभिन्न व्यक्तित्व सेलिब्रेटी तथा सरकारी कर्मचारीहरुको बाक्लो उपस्थिती रहेको थियो । हिट्याची जापानका प्रतिनिधिले यूनिभर्सल इलेक्ट्रोकोमसँग व्यापारीक साझेदारी रहेको खुलासा गर्नुका साथै आगन्तुकलाई प्रडक्टको बारेमा समेत जानकारी दिईएको थियो । हिट्याची प्राविधिक गुणले उच्च रहेकोले यो विभिन्न रुपले विश्व प्रख्यात हुनुका साथै टि.भि., एयर कन्डिस्नर, रेफ्रिजेरेटर, भ्याकुम क्लिनर तथा ग्याँस चुल्हो नेपाली बजारमा भित्र्याएको छ । यूनिभर्सल इलेक्ट्रोकोमका सिइओ ललित मिश्रका अनुसार नेपाली बजारमा हिट्याचीको प्रोडक्टले ठूलो व्यापारीक हिस्सा ओगट्ने छ र नेपाली उपभोक्ताको मन जित्नेछ । साथै, यसको ऐतिहासिक विश्वव्यापी सफलताले गर्दा नेपालमा पनि धेरै सम्भावना रहेको उनले बताए ।

हुन्डाईको खुला गल्फ टुर्नामेन्टको विजेता घोषित, शाहले जिते नगद पुरस्कारका साथै स्मार्टफोन

काठमाडौं । गोकर्ण फोरेस्ट रेसोर्टमा सम्पन्न सातौँ हुन्डाई खुला गल्फ टुर्नामेन्टको विजेता घोषित भएको छ । उक्त प्रतियोगितामा कर्णेल विकास शाहले ३९ अंकका साथ आङ्ग नोर्बु शेर्पालाई १ अंकले जित्दै प्रथम स्थान हासिल गरेका छन् । शाहले पुरस्कार स्वरुप १ लाख रुपैयाँ बराबरको गिफ्ट भाउचर र कुलप्याड स्मार्टफोन जितेका छन् । त्यस्तै, ३८ अंकका साथ आङ्ग नोर्बु शेर्पाले दोश्रो स्थान हासिल गरेका छन् । उनले ४ बर्डिजका साथ सर्वाधिक बर्डिज र १० हजार बराबरको गिफ्ट भाउचर र कुलप्याड स्मार्टफोन जितेका छन् । मेजर निश्चल जङ्ग रायमाझीले तेश्रो स्थान हासिल गरेका छन् । साथै निर्मल दाहाल र ध्रुव थापालाई टाईमा जितेर उनले ३६ अंकका साथ सो स्थान जितेका हुन् । दाहालले दोश्रो हाफमा १६ अंक, थापाले १५ अनि रायमाझीले १७ अंक हात पारेका छन् । वाङ्गचेन ढोन्डुपले ३३ अंक जितेर ग्रस ट्रोफीका साथै ५० हजार रुपैयाँको गिफ्ट भाउचर र कुलप्याड स्मार्टफोन जितेका छन् । हुन्डाई वनरतर्फ जाम्लिङ घले पहिलो भएका छन् भने उनले ३४ अंक हात पारेकी थिइन् । साथै, उनले २० हजार रुपैयाँको गिफ्ट भाउचर र कुलप्याड स्मार्टफोन जितेकी छन् । लंगेस्ट ड्राइभको पुरस्कार संयोग शाही, क्लोजेस्ट टु दि पिनको पुरस्कार आङछिरिङ शेर्पाले जितेका छन् । प्रतियोगितामा एक सय १५ एमेच्योर गल्फरले भाग लिएका थिए । नेपालका लागि दक्षिण कोरियाका राजदूत चोइ योङ जिन, लक्ष्मी ग्रुपका अध्यक्ष गणेशबहादुर श्रेष्ठ, गोकर्ण गल्फ क्लबका अध्यक्ष सुधिर घिमिरे र क्याप्टेन जोशेफ न्याथनले उक्त प्रतियोगितको विजेताहरुलाई पुरस्कार प्रदान गरेका छन् ।

नेप्सेले पार गर्यो १४०० विन्दु, एक अर्ब २६ करोडको सेयर कारोबार, बीमा ५६६ अंक माथी

काठमाडौं । सोमबारको सेयर बजारमा नेप्से परिसूचकले १४०० विन्दु पार गरेको छ । सो दिन परिसूचक ४२ दशमलब १९ अंकले उकालो लागेर १४२४ दशमलब ३८ अंकमा पुगेको छ । जुन आइतबारको तुलनामा ४२ अंकले बढेको छ । आइतबार नेप्से २४ अंकले बढेर १३८२ अंकमा रहेको अडेको थियो । बजारमा नेप्से परिसूचक सँगै कारोबार रकममा पनि सुधार आएको छ । सो दिन मात्र एक अर्ब २६ करोड ८५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । आइतबारको तुलनामा ५८ करोड रुपैयाँ बढीको सेयर कारोबार भएको छ । सोमबारको बजारमा १४० कम्पनीको २५ लाख २७ हजार कित्ता सेयर किनबेच भएको छ । सोमबार उत्पादन मूलक समूह बाहेक कारोबार भएका अन्य समूहको परिसूचकहरु उकालो लागेका छन् । सबैभन्दा बढी बीमा समूहको परिसूचक ५६६ अंकले उकालो लागेको छ । त्यस्तै, होटल, हाइड्रो, विकास बैंक, बैंकिङ् र फाइनान्स समूहको परिसूचक क्रमशः ७६, ४४, ३९, २९ र १८ अंकले बढेका छन् । उत्पादन मूलक समूहको परिसूचक भने ५ दशमलब १२ अंकले घटेको छ ।