विकासन्युज

मोरङका पच्चीस घरधुरीलाई सोलार वितरण

मोरङ, २९ असार । मङ्गलबार २५ घरधुरीलाई जिल्ला विकास समिति मोरङ र केरौन गाविसको अनुदानमा सोलार वितरण गरिएको छ । मोरङ केरौन गाविसका दलित, जनजाति तथा विपन्न वर्गलाई सोलार वितरण गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि मोरङ क्षेत्र नं ३ का सांसद दिलीप गच्छदारले सुरुवातमा २५ घरधुरीलाई मात्र भएपनि सोलार जडान गर्न पाउँदा सुखी लागेको बताए । प्रमुख अतिथि, ऊर्जा अधिकृत ज्ञानेन्द्र सिंह र केरौन गाविसका अध्यक्ष हेमुलाल गौतमले संयुक्तरुपमा स्थानीयलाई सोलार वितरण गरेका हुन् । सूर्यमानराज राईको सभापतित्व भएको उक्त कार्यक्रममा केरौन गाविस सचिव हेमुलाल गौतम, आदिवासी जनजाति सङ्घ मोरङका सचिव धनबहादुर घले, नेपाली काँग्रेस क्षेत्रीय सभापति मोहनविक्रम कार्कीलगायतले आफ्नो विचार व्यक्त गरेका थिए । रासस

चितवन राष्ट्रिय निकुञ्जको एक हजार २०८ हेक्टर भू–भाग अतिक्रमणमा

चितवन, २९ असार । चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रको एक हजार २०८ हेक्टर क्षेत्रफल अतिक्रमणमा परेको पाइएको छ । निकुञ्जको तथ्याङ्कअनुसार अतिक्रमित क्षेत्रमा दुई हजार ३३० घरधुरी बसोबास गर्दै आएका छन् । निकुञ्जले गत कात्तिकमा कार्यदल तयार गरी अतिक्रमित क्षेत्रको क्षेत्रफल, घरधुरी, तीनपुस्ते र वर्तमान अवस्थाको बारेमा तथ्याङ्क लिएको थियो । निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलका अनुसार निकुञ्जको पश्चिम क्षेत्र नवलपरासीमा ३३५ दशमलव २ हेक्टर जमिन अतिक्रमण भएको छ । जसमा ९१० घरधुरी बसोबास गर्दछन् । सोही क्षेत्रमा त्रिवेणीधामले १० दशमलव ६ हेक्टर क्षेत्रफल अतिक्रमण गरेको छ । जहाँ मठ–मन्दिर, सत्तल, धर्मशाला रहेका छन् । पश्चिम चितवनको कसरामा ६० दशमलव ६९ हेक्टर अतिक्रमित भएको छ । जहाँ ५१२ घरधुरी बसोबास गर्दै आएका छन् । त्यसैगरी माडी क्षेत्रको पर्सा र चितवन जिल्लामा ७३४ हेक्टर अतिक्रमित छ । जहाँ ७०० घरधुरी छन् । सोही क्षेत्रमा बाँदरझुला पर्दछ । बाँदरझुलामा मात्र ५३९ हेक्टरलाई ५५० घरधुरीले अतिक्रमण गरेको कँडेलले बताए । पूर्वी क्षेत्रको चितवन र मकवानपुरमा अतिक्रमण भएको ८० दशमलव १८ हेक्टरमा ७ २० घरधुरी बसोबास गर्दछन् । अतिक्रमित क्षेत्रमा घर, टहरा, मठ–मन्दिरका अतिरिक्त खेतीपातीसमेत हुँदै आएको छ । जिल्ला वन अतिक्रमण नियन्त्रण तथा व्यवस्थापन कार्यदलको निर्णयअनुसार अतिक्रमित क्षेत्रमा थप अतिक्रमण हुन नदिन निकुञ्जले कडाइका साथ काम गरिरहेको सहायक संरक्षण अधिकृत नुरेन्द्र अर्यालले बताए । उनका अनुसार सुनाचुरी र बाँदरझुलामा सार्वजनिक सूचना जारी गरी अतिक्रमित क्षेत्रमा खेतीपाती नगर्न भनिएको छ । अतिक्रमण नियन्त्रण रणनीति २०६८ ले दिएको अधिकार प्रयोग गरी निकुञ्जले काम थालेको छ । मुख्यरुपमा माओवादी द्वन्दमा अतिक्रमण बढेको पाइएको छ । निकुञ्जका कर्मचारी र सुरक्षार्थ खटिएको नेपाली सेनाको पोस्ट घटेसँगै अतिक्रमण बढेको थियो । निकुञ्ज क्षेत्रको अतिक्रमण गर्नेलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐनको दफा २६९६० ले रु १० हजारसम्म जरिवाना वा दुई वर्ष कैद वा दुबै सजाय हुने व्यवस्था गरेको छ । कतिपय ठाउँमा निकुञ्जले कारबाही गरेको भएपनि स्थानीय दबाबका कारण कारबाही अगाडि बढाउन सकेको छैन । बर्सेनि निकुञ्ज अतिक्रमण बढेर गएको छ भने दुर्लभ वन्यजन्तु संरक्षण भई सङ्ख्या बढ्दै जाँदा बासस्थान साँघुरिँदै गएको छ । चितवन, नवलपरासी, मकवानपुर र पर्सा जिल्लामा फैलिएको चितवन राष्ट्रिय निकुञ्जको क्षेत्रफल ९३२ वर्ग किमी रहेको छ । रासस

मिथिला लघुवित्त विकास बैंकको ५० प्रतिशत हकप्रद सेयर जारी हुँदै, साउन ७ बुक क्लोज

काठमाडौं, २९ असार । मिथिला लद्युवित्त विकास बैंकले २ बराबर १ अनुपातका हकप्रद सेयर जारी गर्ने तयारी अन्तिम चरणमा पुर्याएको छ । हकप्रद सेयर जारी गर्ने प्रयोजनको लागि आगामी साउन ७ गते कम्पनीले बुक क्लोज गर्ने भएको छ । गत पुस २५ गते सम्पन्न साधारणसभाको निर्णय अनुसार हकप्रद सेयर निश्काशन गर्न लागिएको सो संस्थाले जनाएको छ । हाल बैंकको चुक्ता पूँजी ३ करोड ३९ लाख ८० हजार रुपैयाँ रहेको छ । बुधबार बैंकको २ हजार ५१० रुपैयाँमा सेयर कारोबार भइरहेको छ ।

प्रचण्डलाई प्रधानमन्त्री बनाउने काँग्रेस निर्णय

काठमाडौं, २९ असार । नेपाली काँग्रेसले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउने निर्णय गरेको छ । बुधबार बसेको काँग्रेस केन्द्रिय कार्यसमितिको बैठकले प्रचण्डलाई प्रधानमन्त्री बनाउने निर्णय गरेको हो । काँग्रेसले माओवादी केन्द्रसँग गरिएको सात बुँदे सहमति अनुमोदन समेत गरेको छ । यसैबिच तीन बजेसम्म प्रधानमन्त्री ओलीले राजीनामा नगरेर संयुक्त अविश्वासको प्रस्ताव पेश गर्ने निर्णय पनि काँग्रेसले गरेको छ । त्यस बाहेक सत्ता साँझेदारीका बारेमा समेत भद्र सहमति भएको बैठकमा नेताहरुले बताएका थिए । ९ महिना प्रचण्डले सरकारको नेतृत्व गरेर स्थानिय निर्वाचन गर्ने र त्यसपछि काँग्रेस सभापति शेर बहादुर देउवाले केन्द्र र प्रदेशको निर्वाचन गराउने सहमति भएको बैठकमा नेताहरुले जानकारी दिएका थिए ।

३७ नेपाली इराक पुर्याउने छन्त्याल पक्राउ, ६६ लाख ठगेको आरोप

काठमाडौँ, २८ असार । वेरोजगारी युवाहरूलाई आकर्षक तलवको प्रलोभन देखाई दक्षिण अफ्रिका, इराक, मकाउ र पलाउ पठाउने भनी ठगी गर्ने वाग्लुङ्ग देवीस्थान–६ घर भई दाङ्ग तुलसीपुर–५ बस्ने ३५ बर्षीय होम बहादुर छन्त्याललाई प्रहरीले पक्राउ गरेको छ । छन्त्यालले युवाहरुबाट लाखौ रुपैयाँ उठाई रहेको सूचना महानगरीय अपराध महाशाखामा प्राप्त भएपछि खटिएको प्रहरी टोलीले छन्त्याललाई खोजिरहेको थियो । उनी कहिले थाईल्याण्ड, कहिले दुवई बस्ने गरेको बुझिएको र निजले ठुलो संजाल बनाई ठगी गरी रहेको तथा इराकमा ३७ जना व्यक्ति पठाएकोमा ३४ जना फर्किएको खुल्न आएपछि उनको खोजी तिब्र परिएको थियो । छन्त्याल विरुद्ध पीडितहरू नवलपरासी घर हुने जयश्वर घिमिरे, अशोक बुर्जा, दाङ्ग घर हुने सुदिप नेपाली, रविन परियार, केशव परियार, डम्बर बहादुर बुढाथोकी, सल्यान घर भएका खर्कविर घर्ती, दाङ्ग शान्तीनगर घर भएका टिकराम घर्तिमगर, रोल्पा होजा घर भएका तारासिंह बुढा र रोल्पा जुगार घर भएका शिवराज पुनमगरले अपराध महाशाखामा आफुहरूलाई दक्षिण अफ्रिका, इराक, मकाउ र पलाउ पठाउने भनी प्रतिव्यक्ति ४ लाखदेखि ६ लाख ५० हजार रुपैयाँसम्म लिई थाईल्याण्डमा पु¥याई आफु भागी फरार रहेकोले कारवाहीको लागि निवेदन दिएका थिए । प्रहरीले छन्त्याललाई आइतबार काठमाडौँ महानगरपालिका सुन्धाराबाट पक्राउ गरेको हो । निजको विरुद्धमा हालसम्म ६६ लाख १५ हजार विगोको उजुरीहरू प्राप्त भै सकेको छ । निजले पठाएको ६ जना व्यक्तिहरू हाल दुवईमा अलपत्र परिरहेकोले उद्धार गर्न पहल गरिएको साथै इराकमा पठाएकाहरू मध्ये काम नपाई फर्किएका ३४ जनालाई सम्पर्कमा ल्याउन पहल भइरहेको छ । उनलाई ठगी मुद्धामा आवश्यक अनुसन्धान एवं कारवाहीको सोमबार महानगरीय प्रहरी परिसर टेकुमा पठाइएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ ।

ओलीले आजै राजिनामा नदिए काँग्रेसले अविश्वासको प्रस्ताव राख्ने

काठमाडौं, २९ असार । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले प्रधानमन्त्री केपी ओलीलाई राजीनामा दिन आज (बुधवारभरी) को समय दिएको छ । नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि सरकार अल्पमतमा परेको भन्दै काँग्रेसले तत्काल राजीनामा दिन भनेको हो । प्रधानमन्त्रीले आजै राजीनामा नदिए आज बेलुकी वा भोलि नै अविश्वासको प्रस्ताब राखेर सरकार हटाउने तयारी काँग्रेसले गरेको छ । बुधवार विहान बसेको काँग्रेस केन्द्रीय समितिको बैठकले यस्तो निर्णय गरेको हो । ‘प्रधानमन्त्रीले आजै राजीनामा दिनुभयो भने राम्रै भयो, होइन भने आज बेलुकासम्म वा भोलि विहानै अविश्वासको प्रस्ताव दर्ता गर्ने भन्ने पार्टीको निर्णय छ,’ नेपाली काँग्रेसका नेता रामहरी खतिवडाले भने । उनले अवको सरकार माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको नेतृत्वमा बन्ने पनि जानकारी दिए । ‘माओवादी र काँग्रेसविच सहमति भएको छ, अवको सरकारको नेतृत्व प्रचण्डले गर्ने भन्ने सहमति कार्यान्वयन गर्ने निर्णय बैठकले गरेकोले यसमा दुविधा नै छैन,’ उनले भने ।

ओलीले राजीनामा नदिए बजेट पास नहुने, अविश्वासको प्रस्ताव पेश हुने

काठमाडौं, २८ असार । मंगलवार मात्रै सरकारलाई दिएको समर्थन फिर्ता लिएको नेकपा माओवादी केन्द्रले प्रधानमन्त्रीलाई राजीनामा गर्न दबाब दिएको छ । प्रधानमन्त्रीले पदवाट राजीनामा नदिए बजेट पारित हुन नदिने र सरकार विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने निर्णय गरेको छ । बुधवार विहान प्रचण्ड निवास लाजिम्पाटमा बसेको केन्द्रीय कार्यालयको बैठकले यस्तो निर्णय गरेको बैठक पछि पार्टी प्रवक्ता पम्फा भुसालले जानकारी दिइन् । केन्द्रले मंगलवार सरकारलाई दिएको समर्थन फिर्ता लिए पनि बजेट पारित गर्न सहयोग गर्ने नेता कृष्णबहादुर महराले जानकारी दिएका थिए । संसदको बुधवारको बैठकमा आर्थिक विधयेक, राष्ट्र ऋण उठाउने विधयेक र ऋण तथा जमानत विधयेक पारित गर्ने कार्यसुची छ । विनियोजन विधयेक यसअघि नै पारित भइसकेको छ । यी सवै विधयेक पारित भएपछि एकमुष्ठ रुपमा बजेट पारित गर्ने कार्यसुची संसदको छ । केन्द्रले दिएको समर्थन फिर्ता लिएपछि ओली सरकार अल्पमतमा परेको छ । केन्द्रले समर्थन फिर्ता लिएपछिको रणनीति तय गर्न र पछिल्लो राजनीतिक घटनाक्रम विश्लेषण गर्न मंगलवार साँझ प्रधानमन्त्री निवास वालुवाटारमा बसेको स्थायी समिति बैठकले प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने र संसदमा सामना गर्ने निर्णय गरेको थियो । संसदमा विचाराधिन बजेट नेकपा माओवादी केन्द्र समेत सरकारमा सहभागी भएको सरकारले ल्याएको बजेट हो । नेपाली काँग्रेसले यो बजेट पारित गर्न सहयोग नगर्ने यसअघि नै प्रष्ट पारिसकेको छ । केन्द्रले सहयोग नगरेमा बजेट पारित हुन सक्ने छैन ।

“बेष्ट इन्टरनेट बैंक २०१६” अवार्ड ग्लोबल आइएमई बैंकलाई

काठमाडौं, २९ असार । ग्लोबल आइएमई बैंकले “बेष्ट इन्टरनेट बैंक २०१६” अवार्ड पाएको छ । लण्डनबाट प्रकाशित हुने इन्टरनेशनल फाइनान्स म्यागजिनले हरेक वर्ष एउटा देशका उत्कृष्ट बैंकलाई यो अवार्ड प्रदान गर्दै आएको छ । प्रसिद्ध म्याग्जिन “इन्टरनेशनल फाइनान्स म्यागजिन” ले ग्लोबल आइएमई बैंकलाई गुणस्तरिय इन्टरनेट बैंकिङ्ग सेवा प्रदान गरेको आधारमा उक्त सम्मानद्धारा सम्मानित गरेको हो । ग्लोबल आइएमई बैंकले अत्याधुनिक प्रबिधियुक्त सुरक्षित ग्लोबल अनलाईन इन्टरनेट बैंकिङ्ग तथा ग्लोबल स्मार्ट मोबाइल बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ । “सबैका लागि बैंक” भन्ने उद्धेश्यका साथ स्थापना भएको ग्लोबल आइएमई बैंकका हाल ९१ वटा शाखा, ९९ एटिएम र ४० वटा शाखारहित बैंकिङ्ग सेवा रहेका छन् भने बैंकले ६ लाख भन्दा बढि ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ । ग्लोबल आइएमई बैंकले इण्डिया र अष्ट्रेलियामा आफ्ना सम्र्पक कार्यालय स्थापना गरेर सेवा प्रदान गर्दे आईरहेको छ ।