भूकम्प प्रतिरोधी घर बनाउन अर्घाखाँची सिमेन्टको तालिम
काठमाडौं, २८ असार । अर्घाखाँची ओ.पी.सि. सिमेन्टले सशस्त्रप्रहरी बलका प्राविधिकहरुलाई भूकम्प प्रतिरोधी भवन निर्माण तालिम प्रदान गरेको छ । सशस्त्रप्रहरी बल हलचोकमा आयोजित एक कार्यक्रममा अर्घाखाँची ओ.पी.सि. सिमेन्टको तर्फबाट भूकम्प प्रतिरोधी भवन निर्माण र गुणस्तरिय निर्माण सामाग्री छनौट सम्बन्धित तालिम प्रदान गरिएको हो । उक्त कार्यक्रममा सशस्त्रप्रहरी बलका देशभरि कार्यरत प्राविधिकहरुलाई तालिम प्रदान गरिएको कम्पनीले जनाएको छ । सशस्त्रप्रहरी बलकाप्राविधिकहरुलाई अर्घाखाँची ओ.पी.सि. सिमेन्टका इन्जिनियरले तालिम तथा जानकारी दिएका हुन् । कम्पनीका अनुसार भूकम्प प्रतिरोधी भवन निर्माण गर्न र भूकम्पको जोखिमलाई न्यूनीकरण गर्न सहयोग हुने उदेश्यले यो तालिम कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा सहभागी सबै प्राविधिकहरुलाई बलियो घर निर्माणको प्राविधिक जानकारी प्रदान गर्नुका साथै गुणस्तरिय निर्माण सामाग्री छनौट गर्ने तरिकाहरुको बारेमा पनि जानकारी प्रदान गरिएको छ । उक्त तालिम कार्यक्रममा सहभागी सबै प्राविधिकहरुलाई कम्पनीका सिनियर मेनेजर (सेल्स एण्ड मार्केटिङ्) रमेश थापाद्वारा प्रमाण पत्र प्रदान गरिएको कम्पनीले जनाएको छ । कम्पनीले आगामी दिनमा अन्य संगठनहरुमा पनि भूकम्प प्रतिरोधी भवन निर्माणको बारेमा तालिम तथा जानकारी दिने लक्ष्य राखेको छ । अर्घाखाँची ओ.पी.सि. सिमेन्ट गुणस्तरीय र भरपर्दो सिमेन्टको रुपमा उपभोक्ताहरु माझ परिचित रहेको छ । यसले उच्च स्तरको जर्मन प्रविधि सहित अटो रोटो प्रविधिबाट गुणस्तरिय सिमेन्ट उत्पादन गर्दै आएको छ ।
भारतको बस दुर्घटनामा परि पाँच नेपालीको मृत्यु, २८ जना घाइते
नेपालगन्ज, २८ असार । सोमबार राति भारतको उत्तर प्रदेशमा बस दुर्घटना हुँदा पाँच नेपालीको मृत्यु भएको छ । बाँकेका प्रहरी उपरीक्षक टेकप्रसाद राईका अनुसार बुटवलबाट नेपालगन्जको जमुनाहा नाका हुँदै दिल्ली जाँदै गरेको ना४ख ७६८७ नम्बरको बस भारत उत्तर प्रदेशको बहराइच जिल्लाको रिसियामा ट्रकसँग ठोक्किएको थियो । सो दुर्घटनामा पाँच नेपालीको मृत्यु भएको खबर भारतीय प्रहरीबाट प्राप्त भएको प्रहरी उपरीक्षक राईले बताए । दुर्घटनामा २८ जना घाइते भएका र मृतक नेपाली यात्रुको शव ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ । घटनाबारे थप विवरण बुझ्न जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक प्रमोदकुमार क्षेत्रीको नेतृत्वमा टोली त्यसतर्फ पठाइएको छ । रासस
सरकार परिवर्तनले पुँजीबजारमा ९ अंकको गिरावट, एक अर्ब १३ करोडको कारोबार
काठमाडौं, २८ असार । सरकार परिवर्तनको हल्लासँगै पुँजीबजारमा गिरावट देखिएको छ । मङ्गलबार नेप्से परिसूचक ९ दशमलब २० अंकले घटेर १६९३ अंकमा पुगेको छ । परिसूचक दिउँसो पौने दुई बजेसम्म घटेर ४८ अंकमा पुगेको बजारमा बन्द हुँदा भने केही सुधार देखिएको हो । सो दिन १३८ कम्पनीको १६ लाख ३८ हजार कित्ता सेयर एक अर्ब १३ करोड ८८ लाख रुपैयाँको कारोबार भएको छ । बजारमा उत्पादनमूलक समूह र अन्य समूहको परिसूचक बाहेक बाकी सबै समूहको परिसूचक ओेरालो लागेको छ । सबैभन्दा बढी बीमा समूहको परिसूचक ९७ अंकले ओरालो लागेको छ । हाइड्रोपावर, विकास बैंक, फाइनान्स र होटल समूहका परिसूचक क्रमशः ३४, २७, १४ र ११ अंकले घटेको छ भने बैंकिङ समूह ६ अंकले घटेको छ । उत्पादनमूलक समूह र अन्य समूह क्रमशः ३० र १९ अंकले बढेको छ । मङगलबार मिथिला लघुवित्त विकास बैंकका लागानीकर्ताले करिब ७ प्रतिशत गुमाएका छन् । लक्ष्मी लघुवित्त वित्तीय संस्था, राष्ट्रिय बीमा कम्पनी लि प्रमोटर सेयर र नेपाल ग्रामीण विकास बैंकको सेयर मूल्य करिब ६ प्रतिशतले घटेको छ । सबैभन्दा बढी सगरमाथा इन्स्योरेन्सका लागानीकर्ताले १० प्रतिशत कमाएका छन् । जनता बैंक नेपालको ९ करोड ६१ लाख रुपैयाँको सेयर किनबेच भएकोे छ । एभरेष्ट बैंकको ७ करोड बढी रुपैयाँको सेयर कारोबार भएको छ । नेपाल लाइफ इन्स्योरेन्स र नेपाल ग्रामीण् विकास बैंकको ३ करोड बढी रुपैयाँको सेयर किनबेच भएको छ ।
संसद विघठनको बाटो खुल्ला छः डा. सुरेन्द्र केसी
काठमाडौं, २८ असार । केपी ओली नेतृत्वको सरकारबाट माओवादी केन्द्र बाहिरिएसँगै मुलुकको राजनीतिक भविष्यबारे टिक्काटिप्पणी सुरु भएको छ । को प्रधानमन्त्री बन्ला भन्ने बहससँगै त्यो सरकारले कसरी काम गर्ला र मुलुकको राजनीति कतातिर अघि बढ्ला भन्ने तर्फ सबैको ध्यान केन्द्रित भएको छ । राजनीतिक बिश्लेषक डा. सुरेन्द्र केसीले भने अब मुलुकमा संवैधानिक संकट निम्तिने दावी गरे । उनले नयाँ सरकार गठन गर्ने नयाँ संबिधानले दिन्छ वा दिँदैन भन्ने बहस समेत चल्ने बताए । त्यसका अतिरिक्त संसद विघठनको सम्भावनालाई नकार्न नसकिने उनको भनाई छ । सत्ताका लागि जे पनि गर्ने परिपाटी नेपाली राजनीतिको सनातन चरित्र भएको बताउँदै उनले भने–ओलीले संसद विघठन गर्ने विकल्प पनि खुल्ला छ, मध्यावधी निर्वाचन घोषणा हुन सक्छ, त्यसपछि अदालत गुहारिनेछ अनि अदालतमा रहेका आफ्ना कार्यकर्ता मार्फत आफ्नो पक्षमा निर्णय गराउन पहल हुन सक्छ ।’ उनले माओवदीको उँधोगति सुरु भएको दावी समेत गरे । ‘काँग्रेस र माओवादीले आत्माघाती गोल गरेका छन्, यी दुबैलाई एमालेले खाईदिन्छ’, केसीले भने । बजेट ल्याउने सरकारलाई बजेट पास गर्न समेत नदिएर काँग्रेस, माओवादीले २०५१ साल निम्त्याउन खोजेको आरोप समेत लगाए
फोहरमैलाको ठेक्का रद्द गर्न मंत्रालयको निर्देशन
मोरङ, २८ असार । स्थानीय विकास मन्त्रालयले सञ्चालनको दुई महिनापछि विराटनगर उपमहानगरपालिकालाई वेष्ट मेनेजमेन्ट प्रालि जेभी ग्रुप समूहको ठेक्का तत्कालै रद्द गर्न निर्देशन दिएको छ । मंत्रालयले विराटनगरको फोहर मैला व्यवस्थापनको जिम्मा पाएको वेष्ट मेनेजमेन्ट प्रालि जेभी ग्रपको पाँच वर्षे ठेक्का प्रक्रिया नियम सङ्गत नभएको कारण देखाउँदै रद्द गर्न आदेस दिएको हो । विराटनगर उपमहानगरपालिकाका अनुसार यही असार १७ गतेको सचिवस्तरीय निर्णयअनुसार वेस्ट मेनेजमेन्ट प्रालि जेभीको ठेक्का रद्द गरेर सार्वजनिक खरिद ऐन २०६३, सार्वजनिक खरिद नियामावली–२०६४ र स्थानीय निकायको आर्थिक प्रशासन २०६४ को अधिनमा रहेर नयाँ टेन्डर प्रक्रियामा जान निर्देशन दिएको हो । विराटनगर उपमहानगरपालिकाको स्रोतका अनुसार ठेक्का रद्द गर्ने मन्त्रालयको निर्देशन पत्र आइतबार बेलुकी ३ बजे फ्याक्समार्फत कार्यालयमा प्राप्त भइसकेको छ । चलानी नं २०७२/०७३ ५–१–३१५ को उपमहानगरपालिकालाई सम्बोधन गरेर लेखिएको निर्देशन पत्रमा साझेदार छनोट प्रक्रियाका लागि संस्था छनोट गर्दा गम्भीर त्रुटि रहेको औँल्याइएको छ । संस्था छनोट गर्ने प्रक्रियाका लागि उपमहानगरपालिकाले मिति २०७२ माघ १ गते कान्तिपुर दैनिकमा ३० दिने सूचना प्रकाशित गरेको थियो । ढुवानी, डम्पिङ र फोहर व्यवस्थापन कार्यका लागि प्राविधिक र आर्थिक प्रस्ताव पेस गर्दा प्रकाशित सूचनाको प्रक्रिया नियमअनुसार नभएको र तोकिएको समयपछि दर्ता हुन आएको वेस्ट मेनेजमेन्ट प्रालि जेभी गु्रपलाई छनोट गरिएको पत्रमा उल्लेख छ । संस्था छनोट प्रक्रियामा चित्त नबुझेपछि बलराम चालिसेले मन्त्रालयमा उजुरी दिएर छनोट प्रक्रिया रद्द गर्न माग गरेका थिए । निवेदकको उजुरीलाई सुनवाई गर्दै मन्त्रालयले अर्को प्रक्रियामा जान उपमहानगरपालिकालाई निर्देशन दिएको हो । स्थानीय निकाय आर्थिक प्रशासन नियामावली–२०६४ को परिच्छेद ५ को नियम १०९ ९१० मा बोलपत्र पेस गर्ने अन्तिम मिति र समय समाप्त भइसकेको अवस्थामा थप बोलपत्र दर्ता गराउनु कानुन सम्मत नदेखिएको उल्लेख छ । नियम १०९९२० मा त्यस्ता म्याद नाघी आएका बोलपत्र नखोली फिर्ता दिने व्यवस्था हुँदाहुँदै समय नाघेर आएको नयाँ बोलपत्रलाई ठेक्का दिनु नियमसङ्गत नभएकाले प्रक्रिया रद्द गर्नु गराउनु भनी पत्रमा उल्लेख गरिएको छ । यता उपमहानगरपालिकामा मन्त्रालयको उक्त पत्र प्राप्त भएपछि खैलावैला मच्चिएको छ । मिति २०७३ बैशाख १२ गते वेस्ट मेनेजमेन्ट गु्रपका संयोजक सीताराम दाहालसँग उपमहानगरपालिकाले मासिक रु ११ लाख ४० हजारमा भुक्तानी दिने गरी सम्झौता गरेको थियो । संस्थाले यही जेठ १ गतेदेखि सम्झौताअनुसार नगरक्षेत्रको फोहर मैला सङ्कलन गरिरहेको छ । भौतिक तथा आर्थिक पक्षमा लाखौँ रुपैयाँ लगानी गरिसकेको अवस्थामा संस्थाबीच गरिएको सम्झौता रद्द गरिँदा उपमहानगरपालिकाले संस्थालाई लाखौँ रुपैयाँ क्षतिपूर्ति दिनुपर्नेछ । संस्थाले असारसम्म आइपुग्दा काम गरेबापत एक महिनाको भुक्तानी लिएको छ । उपमहानगरपालिकाको स्रोत भन्छ, “सम्झौता रद्द नगर्ने हो भने यही कुरा अख्तियारसम्म पुग्छ र धेरै कर्मचारी तानिन सक्छन् ।” अर्कोतर्फ मन्त्रालयको पत्र जस्तो आएपनि उपमहानगरपालिकाले आफ्नो निर्णयलाई कार्यान्वयन गर्नुपर्ने चुनौती छ । संस्थासँगको सम्झौता रद्द गर्ने हो भने आफ्नो नीतिगत निर्णयनै गलत ठहरिनेछ । यसमा नगरपालिकाका जिम्मेवार कर्मचारीनै दोषी देखिनेछन् । रासस
ओली सरकार अल्पमतमा, माओवादी केन्द्रद्धारा समर्थन फिर्ता
काठमाडौं, २८ असार । नेकपा(एमाले)का अध्यक्ष केपी ओली नेतृत्वको सरकार ढलेको छ । सत्ताको प्रमुख घटक माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै सरकार ढलेको हो । माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएको पत्र प्रधानमन्त्री केपी ओलीलाई बुझाईसकेको छ । माओवादी केन्द्रले सरकार गठनका बेला भएको नौ बुँदे र पछिल्लो पटक भएको तीन बुँदे सम्झौता कार्यान्वयन नभएकाले सरकार छाडेको पत्रमा उल्लेख गरेको छ । माओवादी केन्द्रले राष्ट्रिय सहमतिको सरकारका लागि वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिएको समेत स्पष्ट पारेको छ ।
युएईद्धारा मृतकका परिवारलाई ९० हजार आर्थिक सहयोग
बैतडी, २८ असार । सुदूरपश्चिम सेवा समाज युएईले दार्चुलामा बाढी पहिरोमा परी ज्यान गुमाएका व्यक्तिका परिवारलाई आर्थिक सहयोग गरेको छ । यही असार १६ गते राति दार्चुलामा पहिरोमा पुरिएर ज्यान गुमाएका तीन जनाको परिवारलाई युएईमा रहेका नेपालीले ९० हजार रुपैयाँ सहयोग गरेका हुन् । प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीमार्फत जनही रु ३० हजारका दरले उक्त रकम हस्तान्तरण गरिएको छ । बाढी पहिरोका कारण मृत्यु भएका मालिकार्जुन–८ की वसन्ती धामी र सर्मोली–२ का चन्द्रदेव पन्त तथा पहिरोमा पुरिएर अझै बेपत्ता रहेका अपि नगरपालिका–१७ धापकी भागरथी महरका आफन्तलाई उक्त राहत रकम हस्तान्तरण गरिएको प्रमुख जिल्ला अधिकारी जोशीले जानकारी दिए। सुदूरपश्चिम सेवा समाज युएईका उपाध्यक्ष जयराज जोशीका भाइ वासुदेव जोशीमार्फत प्रजिअ जोशीलाई उक्त रकम हस्तान्तरण गरिएको थियो । युएईमा कार्यरत सुदूरपश्चिमवासीले तीन वर्ष अगाडी महाकाली नदीमा आएको बाढीले दार्चुलामा व्यापक क्षति पु¥याउँदा समेत आर्थिक सहयोग गरेका थिए । “प्राकृतिक प्रकोप, दैवी प्रकोपजस्ता विपत्तिमा परेका गरिब असहायलाई सहयोग गर्र्दै आएका छौं,” सुदूरपश्चिम सेवा समाज युएईका उपाध्यक्ष जोशीले भने । रासस
खाद्य संस्थानको चामल खपत हुन छाड्यो, ७०० क्विन्टल मौज्दात
भोजपुर, २८ असार । नेपाल खाद्य संस्थान भोजपुरबाट वितरण हुने चामल पछिल्लो समय खपत हुन छाडेको छ । चामल खपत हुन छाडेपछि अघिल्लो वर्ष ढुवानी गरिएको चामल समेत गोदाममै सडिने अवस्थामा रहेको छ । विगत चार वर्ष अगाडि खाद्य संस्थानको चामल वितरण गर्नुपर्दा कर्मचारीलाई चामल लिन आउने भीड व्यवस्थापन गर्न निकै कठीन हुने भए पनि अहिले भने संस्थान सुनसान बनेको छ । पहिले चामल पाउनकै लागि जिल्लाका नेताको भनसुन र प्रमुख जिल्ला अधिकारीको सिफारिस लिएर खाद्य संस्थानमा भीड लाग्ने गरेकोमा आजभोलि दिनमा फाट्टफुट्ट एक दुई जना खाद्य संस्थानको गोदाममा पुग्ने गरेका छन् । आव २०७१÷०७२ मा ठेक्कामार्फत एक हजार १०० क्विन्टल चामल खरिद गरिएको भए पनि हालसम्म खपत भइनसकेको संस्थानले जनाएको छ । चामल खपत नभएपछि प्रत्येक आवमा ढुवानी गर्नुपर्ने चामलको लागि टेन्डर आह्वान समेत गर्न छाडिएको छ । चामल खपत हुन छाडेपछि आव २०७३/७४ मा चामलको टेन्डर गर्ने कि नगर्ने भन्ने अन्योलमा संस्थान रहेको खाद्य संस्थानका कर्मचारी महेन्द्र आपगाईंले बताए । गाउँ–गाउँसम्म यातायातको पहुँच पुगेसँगै उपभोक्ताको घर घरमा चामल पुग्न थालेपछि खाद्य संस्थानको चामल उपभोक्ताले प्रयोग गर्न छाड्दा सड्ने अवस्थामा पुगेको हो । भोजपुर कारागार र स्थानीयले क्रमशः २००/२०० क्विन्टल गरी ४०० क्विन्टल खपत भएकोबाहेक बाँकी ७०० क्विन्टल गोदाममै मौज्दात रहेको छ । रासस