विकासन्युज

साउन १ गतेदेखि डिम्याट खाता अनिवार्य, डिम्याट खाता नखोल्नेको सेयर कारोबार बन्द

काठमाडौं, २६ असार । डिम्याट (विद्युतीय) खाता नहुनेले अब सेयर किन्न नपाउने भएका छन् । कम्पनीहरुले सर्वसाधारणका लागि निष्काशन गरेको आइपीओमा लगानी गर्न समेत डिम्याट खाता अनिवार्य चाहिने भएको छ । पुँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डले आगामी साउन १ गतेदेखि जस्तोसुकै सेयर कारोबारका लागि पनि अनिवार्य डिम्याट खाता चाहिने व्यवस्था गरेको बोर्डका प्रबक्ता निरज गिरीले बताए । बोर्डले डिम्याट खाता नभएकाहरुको आवेदन फारम अस्वीकृत गर्न मर्चेन्ट बैंकरहरुलाई निर्देशन पनि दिइसकेको छ । मर्चेट बैंकररले सेयर निष्काशन तथा बिक्री प्रवन्धकको काम गर्छन् । साउन महिनामै ३ लघुवित्त सवा ८ लाख कित्ता साधारण नभने यर नस्किँदै छ । धितोपत्र बोर्डबाट स्वीकृत पाएको दुई महिनाभित्र सेयर निष्काशन गरिसक्नुपर्ने हुन्छ । निक्षेप सदस्य (डीपी) कहाँ गएर डिम्याट खाता खोल्नुपर्ने हुन्छ । सेयर ब्रोकर, बैंक तथा वित्तीय संस्था र धितोपत्र बोर्डले तोकेका अन्य संस्थाले डीपीको सेवा दिन सक्छन् । लगानीकर्ताले खाता खोल्नका लागि फारामसहित नागरिकता लगायत अन्य आवश्यक कागजातहरु डीपीमा पेश गर्नुपर्छ । त्यसपछि डीपीले लगानीकर्ताको खाता खोली उस्को हस्ताक्षरको अभिलेख राख्छ जुन सीडीएससीमा रेकर्ड हुन्छ ।

अर्घाखाँची सिमेन्टद्धारा खाँचीकोटमा वृक्षारोपण, २ हेक्टर क्षेत्रफलमा १ हजार विरुवा रोपियो

काठमाडौं, २६ असार । अर्घाखाँची सिमेन्टले अर्घाखाँची जिल्लाको खाँचीकोट गाविसमा वृक्षारोपण गरेको छ । कम्पनीले वातवरणीय संरक्षणलाई उच्च प्राथमिकता दिई २ हेक्टर भन्दा बढी जग्गामा १ हजार विरुवा रोपेको जनाएको छ । उक्त वृक्षारोपण कार्यक्रममा बोल्दै कम्पनीका महाप्रबन्धक महेन्द्र रावलले स्थानीयस्तरमा वातावरण संरक्षणको अभियानलाई सहयोग गर्न वृक्षारोपण गरिएको बताउए । उनले भने–‘अर्घाखाँची सिमेन्ट उद्योग वातावरणीय संतुलन कायम गर्नका लागि हर संभव प्रयासमा लागिरहने छ ।’ गुणस्तरीय उत्पादनमा जोड दिदै आएको अर्घाखाँची ओपीसि सिमेन्टले छोटो अवधिमा नै नेपाली उपभोक्ताहरुको मन जित्न सफल भएको उनले बताए ।

पश्चिमाञ्चल विकास मञ्चको अध्यक्षमा चन्द्र ढकाल निर्वाचित

काठमाडौं, २६ असार । कर्म थलोवाट जन्म थलोलाई विकास गर्ने उद्देश्यका साथ लुम्विनी, गण्डकी र धौलागिरी अंचलका गरी १६ जिल्लाको साझा संस्था पश्चिमाञ्चल विकास मञ्चको शनिबार सम्पन्न साधारण सभाले व्यवसायी चन्द्रप्रसाद ढकाललाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको छ । नवनिर्वाचित कार्यसमितिको लुम्बिनी उपाध्यक्षमा बम बहादुर कार्की, गण्डकी उपाध्यक्षमा हरिकुमार श्रेष्ठ, धौलागिरी उपाध्यक्षमा ज्ञानेन्द्रविक्रम महत निर्वाचित भएका छन् । त्यस्तै महासचिबमा मदनकुमार महत, सचिबमा यादव भट्टराई, कोषध्यक्षमा योगराज कँडेल शर्मा, सह–कोषाध्यक्षमा नारायणप्रसाद तिम्सिना निर्वाचित भएका छन् भने सदस्यहरुमा संजय अधिकारी, सुशील खड्का, नवराज पन्त, डा. बमबहादुर थापा जिताली, श्रीराम पौडेल, डा. बिमला शाक्य, अर्जुन कुमार अर्याल, चिन्तामणी न्यौपाने, विष्णु बहादुर सिंह, रुद्रनाथ बस्याल, दिग्बिजय मिश्र र विष्णुहरि पाण्डे निर्वाचित भएका छन् । पर्वत, मुस्ताङ, मनाङ र नवलपरासीवाट कसैको पनि उम्मेदवारी नपरेको निर्वाचन र नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएको प्रमुख निर्वाचन अधिकृत डा. रामकृष्ण तिम्सेनाले बताए । पूर्व प्रधानन्यायाधिश कल्याण श्रेष्ठको अतिथ्यतामा सम्पन्न भएको शपथ ग्रहण तथा समापन कार्यक्रममा संस्थाका निर्वतमान अध्यक्ष रामकाजी कोेनेले निर्वाचित समितिको सफलताको कामना व्यक्त गरे ।

सार्वजनिक सेवाको गुणस्तर मापन गर्न सर्वेक्षण

काठमाडौं, २६ असार । सरकारी कार्यालयले सम्पादन गर्ने सार्वजनिक सेवा प्रवाहको गुणस्तरीयता मापनका लागि नौ जिल्लामा सर्वेक्षण सुरु भएको छ । ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालले सार्वजनिक सेवा प्रदायक संस्थाका कामको गुणस्तरीयता मापनका लागि सिराहा, रौतहट, भक्तपुर, दोलखा, बागलुङ, रुपन्देही, बाँके, दाङ र दार्चुलामा अध्ययन सुरु गरेको हो । गत दुई महिनादेखि सुरु भएको सर्वेक्षण पुस मसान्तमा सम्पन्न हुनेछ । टिआइ नेपालले सन् २०१५ मा पहिलो पटक यी जिल्लामा सर्वेक्षण गरेको कार्यकारी निर्देशक आशिष थापाले राससलाई जानकारी दिनुभयो । “पहिलो पटकको सर्वेक्षणमा सरकारी सेवा प्रवाह समस्याग्रस्त पाइयो, गत वर्षको नौ जिल्लाको अध्ययनमा कार्यालयमा नागरिक बडापत्र राखे पनि त्यसअनुरुप काम नभएको सेवाग्राहीको गुनासो थियो”– उनले भने । गत वर्षभन्दा यस पटक सेवा प्रवाहमा कति सुधार आयो रु भन्ने तुलनाका लागि सर्वेक्षण गरिएको टिआइ नेपालले जनाएको छ । काठमाडौं विश्वविद्यालयका प्राध्यापक डा प्रकाश भट्टराईले सर्वेक्षणको संयोजन गर्नेछन् । रासस

सेयर बजारको कारोबार अवधि दुई घण्टा बढाउने तयारी, क्लियरिङ बैंक थप्नुपर्ने धितोपत्र बोर्डको सर्त

काठमाडौं, २६ असार । सेयर बजारको कारोबार अवधी दुई घण्टा बढाउने तयारी सुरु भएको छ । केहि दिन पहिले नेपाल स्टक एक्सचेञ्ज(नेप्से)ले कारोबार अवधी बढाउनु पर्ने वा नपर्नेबारे सुझाव मागेको थियो । सुझाव दिने अधिकांशले समय बढाउनु पर्ने र दुई घण्टा समय बढाउँदा उपयुक्त हुने सुझाव दिएका हुन् । ‘आएका अधिकांश सुझावहरुले समय बढाउनु पर्ने माग गरेका छन, दुई घण्टा बढाउँदा उपयुक्त हुने सुझाव धेरै छन्’, नेप्सेका प्रवक्ता शम्भु पन्तले विकासन्युजसँग भने । १० वर्षअघि कायम गरिएको १२ देखि ३ बजेको कारोबार अधवी कम भएको बताउँदै प्रवक्ता पन्तले समय बढाउन ढिलो भैसकेको बताए उता, नेपाल धितो पत्र बोर्डले नयाँ क्यिरिङ बैंक नथपि समय बढाउन नहुने सर्त अघि सारेको छ । बोर्डका प्रवक्ता निरज गिरिले कारोबार अवधी बढाउनु पर्ने आवश्यकता रहेको तर त्यो भन्दा पहिले क्लियरिङ बैंकको संख्या थप्नु पर्ने बताए । ‘कारोबार अवधी बढाउँनै पर्नेछ तर त्यो भन्दा पहिले नै क्यिरिङ बैंकको संख्या थप्नुपर्छ’, प्रवक्ता गिरिले भने । दैनिक हुने गरेको दुई अर्ब हाराहारीको कारोबार एउटै मात्र क्यिरिङ बैंकले गर्न नसक्ने बताउँदै उनले सिडिएस एण्ड क्लियरिङ हाउसलाई तत्कालै क्लियरिङ बैंकको संख्या थप्न पुनः निर्देशन दिईसकिएको पनि जानकारी दिए । यस अघि बोर्डले बैशाख १ गते भित्रै क्लियरिङ बैंकको संख्या थप्न निर्देशन दिएको थियो । तर सिडिएसले अझैसम्म पनि बोर्डको निर्देशनको पालना गर्दै क्लियरिङ बैंकको संख्या थपेको छैन् । सेयर बजार बिश्लेषक रविन्द्र भट्टराईले पनि कारोबार अवधी बढाउन ढिलो भैसकेको बताए । थोरै समयको कारोबारले बजार कमजोर रहेको सन्देश जाने भएकाले कारोबार अवधी बढाएर बजार बलियो भएको सन्देश दिनुपर्ने उनको भनाई छ । उनले समय बढाउँदै प्रबिधीमा समेत व्यापक सुधार गर्नुपर्नेमा पनि जोड दिए । कारोबार अवधी बढाउँदा बजारमा लगानी कर्ताको पहुँच सरल हुने बताउँदै उनले प्रबिधीमा सुधार नगरिए थपिएको समयले कुनै उपलब्धि नदिने दावी पनि गरे । नेप्सेले बजारको आकार ठुलो भएको, दैनिक ठुलो कारोबार भैरहेको र बजारलाई अन्तराष्ट्रिय स्तरको बनाउन तथा लगानी कर्ताको सहज पहुँच अभिवृद्धिका लागि भन्दै कारोबार अवधी बढाउने प्रयास गरिरहेको छ ।

नेपाल टेलिकमका कर्मचारी आन्दोलनमा

काठमाडौं, २६ असार । कम्पनी ऐन विपरित नेपाल टेलिकम नियमावली संसोधन गरी सरकारले प्रवन्ध निर्देशक (एमडी) नियूक्ती गर्न लागेको भन्दै नेपाल टेलिकमका कर्मचारीहरु आन्दोलनमा उत्रिएका छन । नेपाल टेलिकम कर्मचारी यूनियनले आईतवार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर आन्दोलनको घोषणा गरेको हो । पहिलो चरणमा २२ बुँदे माग राख्दै असार १६ गतेदेखि २४ गतेसम्म केन्द्रीय कार्यालयमा धर्ना बसेको यूनियनले दोस्रो चरण असार २६ देखि साउन २ गतेसम्मको प्रचारात्मक आन्दोलनको कार्यक्रम घोषणा गरेको हो । घोषित आन्दोलनको कार्यक्रममा असार २६ गतेदेखि केन्द्रीय कार्यालय, क्षेत्रीय निर्देशनालय र विभागिय स्तरमा तुल, पोष्टर, ब्यानर र अपिल टास्दै कानूनी र तथा संबैधानिक निकायको लिखित ध्यान आर्कषित गर्ने र असार २७ गतेदेखि साउन २ गतेसम्म यूनियनको मागको विषयमा जानकारी गराउने रहेको छ । दोस्रो चरणको कार्यक्रमबाट पनि माग संबोधन नभए अझै कडा कार्यक्रम ल्याउने पत्रकार सम्मेलनमार्फत यूनियनले चेतावनी दिएको छ । पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष राजकुमार मेहताले यसरी नियूक्त गरिएका प्रवन्ध निर्देशक कम्पनी र सेयर धनिप्रति जिम्मेवार नहुँदा भ्रष्टाचार बढी हुने सम्भावना ब्यक्त गर्दै यस्तो गरे सञ्चालक समिति पंगु भएर अन्तत कम्पनी नै अराजक स्थितिमा पुग्ने आशंका ब्यक्त गरे । उनले अहिलेको योजना टेलिकमलाई धारासायी बनाएर निजी कम्पनीहरुलाई पोस्ने षडयन्त्र भएको आरोप समेत लगाए । क्षेत्रीय अध्यक्ष एवम कानून विभाग प्रमुख उत्तम श्रेष्ठले कम्पनी ऐन अनुसार सञ्चालक समितिले सञ्चालकहरु मध्येबाटै प्रवन्ध निर्देशक चयन गर्ने ब्यवस्था हुँदा हुँदै साधारण सभामा प्रस्ताव नै नल्याई नियमावली संसोधन गरेर प्रवन्ध निर्देशक मन्त्री परिषदले नियूक्त गर्ने र उसको काम कर्तब्य अधिकार सञ्चारमन्त्रीले तोक्ने गरी ब्यवस्था भएको भन्दै यस्तो ब्यवस्था टेलिकमलाई धरासायी बनाउने नियतले ल्याएको आरोप लगाए । यूनियनका महासचिव धिरेन्द्रप्रसाद दत्तले सञ्चालक समितिको अधिकारलाई छलकपट तरिकाले मन्त्रालयलाई बुझाए र कम्पनी र सेयरधनिको अधिकार हनन गरिएको दावी गर्दै यो टेलिकममा रणनीतिक साझेदार नभित्र्याउने षडयन्त्र भएको ठोकुवा गरे ।

विद्युत् प्राधिकरणको काम गर्न थप तीन कम्पनी स्थापना गर्ने प्रस्ताव मन्त्रिपरिषदबाट स्वीकृत

काठमाडौँ, २६ असार । सरकारले नेपाल विद्युत् प्राधिकरणले मात्रै बदलिँदो अवस्थामा उत्पादन, वितरण तथा प्रसारणको कार्य सम्पादन गर्न नसक्ने भन्दै विभिन्न तीन फरक कम्पनी स्थापना गर्ने प्रक्रिया अगाडि बढाएको छ । एक वर्ष पहिले स्थापना भएको ग्रिड कम्पनीलाई सुदृढीकरण गर्ने र अन्य दुई कम्पनी केही समयभित्रै स्थापना गरेर कार्य सञ्चालन गर्ने सरकारको तयारी छ । ऊर्जा मन्त्रालयका सहायक प्रवक्ता गोकर्णराज पन्थले उत्पादन कम्पनी स्थापना गर्ने विषयमा केही दिन पहिले मन्त्रिपरिषद्को बैठकले सैद्धान्तिक निर्णय गरिसकेको छ भने अर्थ मन्त्रालयको निर्णयको सहमतिको प्रतीक्षामा उर्जा मन्त्रालय रहेको छ । उत्पादन कम्पनीले जलविद्युत् उत्पादन गर्ने छ भने आवश्यक सहजीकरण गर्नेछ । लामो समयदेखि उत्पादन, वितरण र प्रसारणको कामसमेत गर्दै आएको प्राधिकरणको कार्यक्षमतामाथि प्रश्न उठेको र क्रियाशीलता नभएको भन्ने आरोप लागिरहेको सन्दर्भमा उत्पादन कम्पनीले विशेषगरी उत्पादनको मात्रै काम गर्नेछ । ‘‘उत्पादन कम्पनीलाई होल्डिङ कम्पनीका रुपमा अगाडि बढाउने सरकारको तयारी छ, यसले मुलुकको जलविद्युत् क्षेत्रको विकासमा महत्वपूर्ण ढोका खोल्ने विश्वास लिइएको छ’’, पन्थले भने । अर्थ मन्त्रालयले स्वीकृति दिने बित्तिकै उत्पादन कम्पनी स्थापना हुन्छ । सो कम्पनीमा कुन कुन निकायको कसरी सहभागिता रहने भन्ने विषयमा भने छलफल जारी रहेको ऊर्जा मन्त्रालयले जानकारी दिएको छ । यस्तै सरकारले २०६८ सालदेखि नै चर्चा सुरु गरेको ग्रिड कम्पनी औपचारिक रुपमा स्थापना भए पनि पछिल्लो दिनमा खासै चर्चा हुन सकेको थिएन । स्थापना भए पनि आवश्यक रुपमा काम गर्न नसकेको बताइन्छ । सरकारले उक्त कम्पनीलाई युद्धस्तरमा आफ्नो काम अगाडि बढाउन निर्देशन दिएको छ । सरकारले आगामी आवभित्रै प्राधिकरणले गर्दै आएको उत्पादन, वितरण र विद्युत् व्यापारको कामसमेत कम्पनी मोडलमा नै अगाडि बढाउने जनाउँदै आएको छ । गत फागुन ६ गते जारी भएको ऊर्जा सङ्कटकाल निवारण कार्ययोजनालगायत विभिन्न कार्यक्रममा समेत फरक फरक कम्पनीको परिकल्पना गरिएको छ । उत्पादनतर्फ राष्ट्रिय जलविद्युत् उत्पादन कम्पनी, प्रसारण लाइनतर्फ राष्ट्रिय ग्रिड कम्पनी र विद्युत् खरिद एवम् व्यापारका लागि राष्ट्रिय विद्युत् व्यापार कम्पनी स्थापना गर्न लागिएको हो । छिमेकी मुलुक भारतमा पनि यस खालका कम्पनीले प्रतिस्पर्धात्मक रुपमा काम गरेका कारण कार्यक्षमता बढेको पाइएको छ । तीनवटै निकायमा आवश्यक परामर्श एवम् सुझावका लागि विज्ञहरुको टोली रहनेछन् । उक्त टोलीले आवश्यक संयन्त्र निर्माण गरी कामलाई चुस्त, दुरुस्त बनाउनेछ । स्वतन्त्र ऊर्जा उत्पादकको संस्था (इपान)ले समेत प्राधिकरणको आर्थिक एवम् प्राविधिक क्षमतालगायतका विषयमा प्रश्न उठाउँदै फरक फरक कम्पनी स्थापना गर्न सुझाव दिँदै आएको थियो । इपानका अध्यक्ष खड्गबहादुर विष्टले पटक–पटक कम्पनी स्थापना गर्नुपर्ने र त्यसले मात्रै मुलुकको ऊर्जा क्षेत्रमा परिवर्तन आउन धारणा राख्दै आएका छन् । जलविद्युत् उत्पादन कम्पनीले मझौला, ठूला एवम् जलाशयुक्त आयोजना निर्माण गर्नेछ भने उत्पादन र प्रसारण तथा अन्य पूर्वाधारको विकासका लागिसमेत फरक कम्पनीको परिकल्पना गरिएको छ । नयाँ कम्पनी स्थापना भएपछि वितरण र हाल निर्माणमा रहेका आयोजना सम्पन्न गर्नेलगायतका काम मात्रै प्राधिकरणले गर्नेछ । नयाँ स्थापना हुने कम्पनीलाई राष्ट्रिय ऊर्जा सङ्कटकाल निवारण कार्ययोजनाले प्रस्ताव गरेअनुसार नै आगामी आवका लागि शनिबार मात्रै पारित भएको बजेटमा व्यवस्था भएअनुसारको रकम प्राप्त हुनेछ । ऊर्जा मन्त्रालयले सो कार्ययोजनाअनुसार काम गर्न रु दश अर्ब बजेटको माग गरेको थियो । तर अर्थले भने तत्काल रु सात अर्ब दिने जनाएको छ । आगामी आवका लागि सरकारले विद्युत् क्षेत्रमा केही गर्ने सोचका साथ करिब रु ४८ अर्ब बजेट विनियोजन गरेको छ । प्राधिकरणले आफँैले नयाँ आयोजनाअगाडि बढाउन नसकेको, अनावश्यक राजनीतिक चलखेल भएको, कर्मचारीको नाममा टे«ड युनियनको अनावश्यक झन्झट व्यहोर्नु परेको भन्दै चिलिमे, माथिल्लो तामाकोसीजस्ता सहायक कम्पनी स्थापना गरी काम अगाडि बढेको छ । चिलिमेले हाल सान्जेन, तल्लो सान्जेन, रसुवागढी मध्य भोटेकोसीजस्ता रणनीतिक महत्वका आयोजना अगाडि बढाएको छ भने माथिल्लो तामाकोसीले ५४६ मेगावाट क्षमताको आयोजना निर्माण गरिरहेको छ । सरकारले स्थापना गरेको ग्रिड कम्पनीका प्राधिकरणका तर्फबाट एक जना उपकार्यकारी निर्देशक सरहको व्यक्ति पठाउनसमेत आलटाल गर्दै आएको छ । प्राधिकरण बोर्डका सो सम्बन्धी प्रस्ताव पटक–पटक आए पनि निर्णय भने हुन सकेको छैन । यस्तै प्राधिकरणमा क्रियाशील विभिन्न टे«ड युनियनले कम्पनी प्राधिकरणको सौताका रुपमा स्थापना गरिएको भन्दै विरोध गर्दै आएका छन् । नेपालको जलविद्युत्मा लगानी गर्दै आएका दातृ निकायले पनि प्राधिकरण खण्डीकरणको विषय विगत डेढ दशकदेखि उठाउँदै आएका थिए । एसियाली विकास बैंक, विश्व बैंक, आइएफसी, जाइकालगायतका दातृ निकायले जलविद्युत् क्षेत्रमा लगानी गर्दै आएका छन् । रासस

नेप्से परिसूचक ६ अंकले वृद्धि, एक अर्ब ४३ करोड रुपैयाँको सेयर कारोबार

काठमाडौं, २६ असार । आइतबार नेप्से परिसूचक ६ दशमलब ८१ अंकले बढेर १७२२ अंकमा पुगेको छ । सो दिन १४५ कम्पनीको २२ लाख १७ हजार कित्ता सेयर करिब एक अर्ब ४३ करोड ७० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । आइतबार एभरेष्ट बैंकको सबैभन्दा बढी करिब ११ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । त्यस्तै, नेपाल इनभेष्टमेन्ट बैंक लि. प्रमोटर सेयर, नेपाल बङगलादेश बैंक र रुलर माइक्रोफाइनान्स डेभलपमेन्ट सेन्टरको करिब ४ करोड बढी रुपैयाँको सेयर कारोबार भएको छ । सो दिन इन्स्योरेन्स र हाइड्रोपावर समूह बाहेक अन्य समूहको परिसूचक उकालो लागेका छन् । सबैभन्दा बढी विकास बैंकको परिसूचक करिब १३ अंकले उकालो लागेको छ । त्यस्तै, बैंकिङ्, फाइनान्स, होटल र हाइड्रोपावर समूहको परिसूचक क्रमशः ११, ७ र ५ अंकले बढेका छन् । इन्स्योरेन्स र हाइड्रोपावर समूहको परिसूचक क्रमशः ४८ र १७ अंकले बढेका छन् । उता अन्य समूहको परिसूचक भने स्थिर रहेको छ । बजारमा ५ कम्पनीको सेयर मूल्य करिब १० प्रतिशतले बढेका छन् । कसमस डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, मनास्लु विकास बैंक र यती डेभलपमेन्ट बैंकको सेयर मूल्य हाराहारी १० प्रतिशतले बढेका छन् । कञ्चन डेभलपमेन्ट बैंक लि. प्रमोटर सेयरका लागानीकर्ताले करिब १० प्रतिशत गुमाएका छन् । नमस्ते वित्तीय संस्थाका लागानीकर्ताले करिब ९ प्रतिशत गुमाएका छन् ।