विकासन्युज

काठमाडौंको किलागलमा संयुक्त आवास बनाउने योजना स्वीकृत

काठमाडौं, २४ असार । काठमाडौं महानगरपालिका वडा नं १८ किलागलस्थित दुम्बो चुकमा भूकम्पबाट प्रभावित ५४ घर परिवारका लागि बनाउन प्रस्ताव गरिएको सामूहिक आवास भवन निर्माण योजनालाई महानगरपालिकाले स्वीकृति दिएको छ । महानगरपालिकको स्वीकृतिपछि बिहीबार काठमाडौं उपत्यका विकास प्राधिकरणका विकास आयुक्त भाइकाजी तिवारीसमक्ष घर/जग्गा अधिग्रहण (हाउस पुलिङ) का लागि ५४ घर परिवार दिएको संयुक्त निवेदनसहित यो योजनालाई कार्यान्वयनका लागि प्रस्तुत गरियो । सो अवसरमा आयुक्त तिवारीले यो आयोजना नमूनाको रुपमा रहने विश्वास व्यक्त गर्दै यसलाई सफल पार्न आफूले सक्दो सहयोग गर्ने वचनबद्धता प्रकट गरेका छन् । उनका अनुसार योजना सञ्चालनका लागि प्राधिकरण, महानगरपालिका र स्थानीय वासिन्दाको एक व्यवस्थापन समिति गठन गरिने छ । ऐतिहासिक काठमाडौं सहरभित्रको वस्तीे विकासका लागि प्राधिकरणले अहम् भूमिका खेल्ने र त्यसक्षेत्रमा आवश्यक पर्ने बाटो, बिजुली, खानेपानी तथा ढल जस्ता पूर्वाधारको व्यवस्थापनका लागि सम्बन्धित निकायलाई आग्रह गरिने उनले बताए । एकीकृत विकास पुनःनिर्माण अभियानका संयोजक मचाराजा महर्जनले प्राधिकरणका प्रमुख तिवारीलाई स्थानीयवासीको निवेदन र उनीहरुका जग्गाधनी पूर्जाका प्रतिलिपि बुझाएका हुन् । घर जग्गा अधिग्रहण भएपछि बढीमा तीन वर्षभित्र उपभोक्ताहरुलाई अपार्टमेन्ट उपभोगका लागि हस्तान्तरण गरिने योजना छ । गत वर्ष वैशाख १२, १३, २९ मा गएका ठूला भूकम्प र त्यसपछिका पराकम्पका कारण काठमाडौँको भित्री सहरमा थुप्रै घर बस्न नमिल्ने गरी क्षतिग्रस्त भएको र दाजुभाइको अंशवण्डाबाट स–साना टुक्रामा विभाजित भई जोडिएका त्यस्ता घर आफू खुसी बनाउन सक्ने अवस्था पनि नरहेकाले स्थानीयवासीकै पहलमा यस्तो संयुक्त आवास बनाउने पहलकदमी लिइएको हो । यस्तो आवासको निर्माण गर्दा खुला ठाउँ, बाटो र व्यवस्थित आवासका साथै स्वच्छता कायम भई नागरिकलाई सुविधा पुग्ने विश्वास महर्जनले व्यक्त गरे । यो योजना सफल भए काठमाडौंका नेवारको बसोवास रहेका भित्री सहरका अन्य भागमा समेत एकीकृत वस्ती विकासको पहल हुने अभियानका सदस्य नेवाः जागरण मञ्चका अध्यक्ष सुजिव बज्राचार्यले बताए । उनले संयुक्त आवासका लागि महानगरपालिकाले रु। पाँच करोड बजेट विनियोजन गरेको जानकारी पनि दिए । रासस

वालिङ–हुवास सडक एक सातापछि पुन सञ्चालनमा

पर्वत, २४ असार । लगातारको वर्षाका कारण आएको पहिरोले अवरुद्ध बनेको दक्षिण पर्वतका एक दर्जनभन्दा बढी गाविसलाई जोड्ने वालिङ–हुवास सडक एक सातापछि सञ्चालनमा आएको छ । पर्वतको हुवास र स्याङ्जाको कालीकाकोट गाविसको सिमानास्थित डुम्रेभञ्ज्याङमा गएको पहिरो डोजर र मजदुर लगाएर हटाएपछि आज बिहानदेखि सञ्चालन भएको हो । निर्माणाधीन अवस्थामा रहेको उक्त सडक गत असार १६ गते बिहीबार रातिदेखि अवरुद्ध बनेको थियो । डोजरको क्षमताभन्दा ठूलो ढुङ्गा सडकमा खसेपछि लामो समयसम्म खुलाउन नसकिएको इलाका प्रहरी कार्यालय हुवासका प्रहरी निरीक्षक खगेन्द्र खड्काले जानकारी दिए । सडक खुलेसँगै एक सातादेखि ठप्प बनेका सवारी साधन गन्तव्यतर्फ लागेको उनले बताए । उक्त सडकको अहिले स्तरोन्नतिको काम भइरहेको छ । वाइवी कन्स्ट्रक्सनले सडकको स्तर सुधारको काम गरिरहेको छ । कच्ची सडक भएकाले सामान्य वर्षा हुनेबित्तिकै बाटो अवरुद्ध हुने गरेको प्रहरीले जनाएको छ । सडक अवरुद्ध हुँदा उक्त क्षेत्रमा तरकारी, औषधि तथा बिरामीलाई अस्पताल लैजानका लागि समस्या भएको प्रहरी निरीक्षक खड्काले जानकारी दिए । उनका अनुसार ठूलो मेसिन ल्याएर ढुङ्गा हटाएपछि सञ्चालन भएको हो । उक्त सडक दक्षिण पर्वतका हुवास, त्रिवेणी, भोर्ले, रानीपानी, वहाकी, शालिग्राम, रानीपानी, बर्राचौर, उरामपोखरा, होस्राङ्दी, भोर्ले, सरौखोला गाविसवासीले लाभान्वित हुने गरेका छन् । पर्वत सदरमुकामसँग सिर्धा सडकको पहुँच नपुगेका उक्त क्षेत्रका बासिन्दा वालिङ, हुवास सडक हुँदै स्याङ्जा र कास्की घुमेर सदरमुकाम कुश्माबजार आउन बाध्य भएका छन् । रासस

सानिमा बैंकले क्रिकेटर सन्दिप लामिछानेलाई प्रायोजन गर्ने

काठमाडौं, २४ असार । सानिमा बैंक लिमिटेडले नेपाली राष्ट्रिय तथा अन्डर–१९ क्रिकेटका उदयमान खेलाडी सन्दिप लामिछानेलाई दुई वर्षका लागी प्रायोजन गर्ने सम्झौता गरेको छ । बैंकले लामिछानेलाई मासिक रुपमा प्रायोजित रकम प्रदान गरी खेल जीवनमा अभ्यस्त रहन प्रेरित गरेको छ । एक समारोहमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहाल र क्रिकेटर सन्दिप लामिछानेबीच उक्त सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सन् २०००, अगस्ट २ मा जन्मिएका लामिछाने लेग ब्रेक बलिङ्ग स्टाईल मा उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । उनी सानै उमेरमा बङ्गलादेशमा हालै सम्पन्न भएको आई.सी.सी अण्डर १९ विश्व कप मा राम्रो प्रदर्शन गर्न सफल भएका थिए । प्रमुख कार्यकारी अधिकृत दाहालले सानिमाबाट प्रेरित भई अन्य संस्थाहरुले पनि खेलाडीहरुलाई सहयोग गरी नेपालमा प्रोफेसनल क्रिकेटको विकासमा सहयोग गर्ने आशा व्यक्त गरेका छन् । साथै नेपाल क्रिकेट टिम को आगामी यू.के (बेलायत) तथा नेदरल्याण्ड भ्रमणको सफलताको शुभकामना व्यक्त गरेका छन् ।

गोरखाका पन्ध्र हजार भूकम्पपीडितको गुनासो

गोरखा, २४ असार । भूकम्पले पूर्णरुपमा घर क्षति भए पनि तथ्याङ्क सङ्कलनपछि आफूहरुको नाम अनुदान पाउने सूचीमा छुटाइएको भन्दै गोरखाका १५ हजार ८ जनाले गुनासो गरेका छन् । भूकम्प प्रतिरोधी निजी आवास निर्माणलाई सरकारले दिने रु दुई लाख वास्तविक भूकम्पपीडितले नपाउने र नक्कली भूकम्पपीडितले पाउने अवस्था सिर्जना भएको भन्दै भूकम्पपीडितले गाविस र नगरपालिकामा गुनासो गरेका हुन् । पुनःनिर्माण प्राधिकरण उपक्षेत्रीय कार्यालय गोरखाका अनुसार असार २२ सम्मको तथ्याङ्क हेर्दा जिल्लाका ४४ हजार ७८१ घरधुरीसँग अनुदान सम्झौता हुँदा १५ हजार ८ जनाले गुनासो गरेका छन् । गोरखामा अनुदान पाउने लाभग्राहीको सङ्ख्या ५८ हजार ५०३ हो । कार्यालयका प्रवक्ता गुणराज भट्टराईले भने, “हिमालपारिका सात गाविसमा अनुदान सम्झौता सकियो । दुई नगरपालिकासहित ५० गाविसमा अनुदान सम्झौता सम्पन्न भएको छ । आउँदो एक सातामा जिल्लाभर अनुदान सम्झौताको काम सक्छौँं ।” अनुदान सम्झौता र रु ५० हजारका दरले लाभग्राहीको बैँंक खातामा रकम पठाउने काम द्रूत गतिमा भइरहेको उनले बताए । गोरखाका विभिन्न एघार गाविसका १० हजार १५६ जना लाभग्राहीलाई पहिलो किस्ता अनुसारको रकम वितरण गरिसकिएको भट्टराईले जानकारी दिए । हंशपुर, बारपाक, सौरपानी, मुच्चोक, केराबारी, हर्मी, ताक्लुङलगायत गाविसका भूकम्पपीडितको बैंँक खातामा ५० हजारका दरले रकम पठाइएको जिल्ला विकास समितिको कार्यालयका योजना अधिकृत शतिसकुमार भट्टराईको भनाइ छ । दुर्गम भेग सिर्दिवास, बिही, प्रोक, ल्हो, सामागाउँ, चुम्चेत र छेकम्पारका भूकम्पपीडितले घर बनाउने निर्माण सामग्री ढुवानीमा सरकारले सहुलियत दिनुपर्ने माग गरेका छन् । उत्तरी भेग पुगेका पुनःनिर्माण प्राधिकरणका अधिकृत गुणराज भट्टराईसँग हिमालपारिका बासिन्दाले रु दुई लाखले भूकम्पप्रतिरोधी घर निर्माण गर्न नसकिने भएकाले निर्माण सामग्री ढुवानीमा सरकारले सहयोग गर्नुपर्ने माग राखेका हुन् । उत्तरी भेगका १३ गाविसमा खच्चडले निर्माण सामग्री र खाद्यान्न ढुवानी गर्दै आएको छ । आफ्नो बैंक खातामा अनुदान रकमको पहिलो किस्ता उपलब्ध भए पनि भूकम्पपीडितले बर्खा लागेको भन्दै घर निर्माणको काम अघि बढाएका छैनन् । तर सबै गाउँमा इन्जिनियर र प्राविधिक भने खटिइसकेका छन् । रासस

बाढीपहिरोका कारण निर्माणाधिन जलविद्युत् आयोजनाहरु समस्यामा

काठमाडौं,२४ असार । मनसुनका कारण यातायात आवागमनमा समस्या भएपछि निर्माणाधिन जलविद्युत् आयोजनाहरु प्रभावित भएका छन् । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत् कम्पनीले निर्माण गरिरहेको सान्जेन, तल्लो सान्जेन र रसुवागढी जलविद्युत् आयोजनालाई निर्माण सामग्रीको अभाव भएको छ । सिमेन्ट, रड, इन्धन जस्ता सामग्री आयातमा समस्या भएपछि पूर्ण क्षमतामा काम गर्न गाह्रो भएको ती आयोजनाले जानकारी दिएका छन् । रसुवाको राम्चे, कालीकास्थानलगायतका क्षेत्रमा पहिरो गएको छ । यस्तै स्याफ्रुबेसीखण्डमा पहिरो गएका कारण निर्माण सामग्री आयातमा समस्या भएको छ । सान्जेन जलविद्युत् आयोजनाका प्रमुख गिरिराज अधिकारीले आयोजना निर्माणमा समस्या नआए पनि निर्माण सामग्री आयातमा अवरोध भएको छ । “सुरुङ निर्माण तथा अन्य भौतिक पूर्वाधारको कामलाई विशेष जोड दिएका छौँ,” उनले भने । सान्जेन १४.८ मेगावाट क्षमता तथा तल्लो सान्जेन ४२.५ मेगावाट क्षमताको आयोजना हो । सान्जेनको करिब ५० प्रतिशत बढी निर्माण कार्य सम्पन्न भइसकेको छ । यस्तै एकहजार ११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजनालाई समेत निर्माण सामग्री अभाव भएको छ । बाढीपहिरोका कारण सडक अवरुद्ध हुँदा निर्माण सामग्री आयात गर्न नसकिएको आयोजनाले जनाएको छ । पासाङल्हामु राजमार्गअन्तर्गत मूलखर्क, सानु भार्कु र खोपाङको भीर दुराअवस्थामा रहेको छ । रसुवाका नागरिक अगुवा बाबुलाल तामाङकाअनुसार नेपाल चीनको व्यापारिक नाकाको बीच भागमा पर्ने राम्चे गाविस– १ र स्यापु्र गाविस– ४ सानो भार्कु तथा खोपाङभीरको राजमार्गमा समस्या भएको छ । दिनानु दिन सडक जीर्ण हुँदै गएकाले त्यसलाई व्यवस्थित गर्न डिभिजन सडक कार्यालय नुवाकोटलाई आग्रह गरिएको छ । डिभिजन कार्यालयले अवरुद्ध सडक खुलाउने विषयमा पहल गरिरहेको भए पनि भूकम्पले चिराचिरा परेको पहाडमा पहिरो आउने क्रम रोकिएको छैन । दैनिक सरदर रु एक करोडभन्दा बढी राजस्व सङ्कलन हुने सडकको उक्त खण्डमा सवारीसाधन सञ्चालनमा ल्याउन असहज भइरहेको छ । सवारी चालक दैनिक हैरानी खेप्न बाध्य छन् । कतिपय सवारी साधन पहिरोको बीच भागमा बिग्रिएर बाटोमै थन्किएका छन् । समस्यालाई गम्भीरतापूर्वक लिई यातायात नियमित गराउन रसुवावासीले सम्बन्धित निकायलाई आग्रह गरेका छन् । काठमाडौंबाट छुटेका सवारी साधन मूलखर्क क्षेत्रमा थिक्निु पर्छ भने कतिपय सवारी साधन फर्काएर कालीकास्थान बास बस्नुपर्ने बाध्यता छ । कुन बेला कहाँ पहिरो खस्छ भन्ने चिन्ताले चालकलाई त्रसित बनाएको छ । मालबहाक ट्रक, बस र बिरामी बोक्ने एम्बुलेन्स चलाउन समस्या भएकाले मर्मतसम्भारका लागि पासाङल्हामु बस व्यवसायी समितिले आग्रह गरेको छ । सडक मर्मत गर्न नेपाली सेनालाई आग्रह गरिने रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी दीपक केसीले बताए । यस्तै रसुवाको लिङ/लिङको भीरमा ढुड्गा झर्ने क्रम निरन्तर जारी रहेका कारण रसुवागढी आयोजनाको निर्माणमा समस्या भएको छ । रसुवाढी नाकामा पहिरो खस्दा तीन दर्जनभन्दा बढी सवारी साधनमा क्षति पुगेको छ । केरुङबाट सामान आयात गरेर रोकिएका ट्रक तथा कन्टेनरमा क्षति पुगेको हो । यस्तै माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको निर्माण सामग्री आयातमा समस्या भएको छ । आयोजनाका प्रवक्ता गणेशप्रसाद न्यौपानेले सिमेन्ट, रड, पेनस्टक पाइप आयातमा समस्या आएको बताए। नारायणगढ, मुग्लिन सडकखण्ड र सुनकोसीको पुलमा अवरोध हुँदा निर्माण सामग्री ढुवानी गर्न नकिएको बताइएको छ । रासस

कसमस डेभलपमेन्ट बैंकले १ बराबर १ को अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने

काठमाडौं, २४ असार । कसमस डेभलपमेन्ट बैंकले १ बराबर १ को अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने भएको छ । उक्त निर्णय २०७२/८र/१९ गते नै बैंकको पाचौँ साधारणसभाले पारित गरिसकेको थियो । सो प्रक्रियाको लागि आउँदो साउन ३ गते बैंकको सेयर कारोबार बन्द हुने भएको छ । हाल बैंकको चुक्ता पूँजी करिब ५ करोड रुपैयाँ रहेको छ । बजारमा उक्त बैंकको सेयर करिब ६ सय २० रुपैयाँको हाराहारीमा किनबेच भइरहेको छ ।

नेप्सेले भारतीय कम्पनीकै सफ्टवेयर किन्ने

काठमाडौं, २४ असार । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)ले पुर्व सम्झौता अनुसार भारतीय कम्पनीसँगै नयाँ सफ्टवेयर खरिद गर्ने भएको छ । नेप्सेले भारतीय कम्पनी इनफिनिट कम्प्युटर सोलुसन्ससँग नयाँ सफ्ट वेयर खरिद गर्ने सम्झौता गरेको थियो । नेप्सेले खरिद गर्न लागेको सफ्टवेयरको गुणस्तरमा प्रश्न चिन्ह उठाउँदै नेपाल धितो पत्र बोर्डले नेप्सेसँग स्पष्टीकरण मागेको थियो । बोर्डको स्पष्टिकरणले शसंकित भएको सफ्ट वेयर निर्माता कम्पनीको नेपाली प्रतिनिधी वाइसीओ इन्कर्पाेरेशन अदालत गएको थियो । पुर्व सम्झौता अनुसार सफ्ट वेयर खरिद गर्नु पर्ने माग राख्दै कम्पनी अदालत गएपछि नेप्सेले सफ्ट वेयर खरिद नगर्ने आफ्नो मनसाय नभएको जवाफ अदालतलाई दिएको थियो । नेप्सेको सम्झौता उल्लंघन गर्ने मनासाय नरहेको भन्ने आदेश दिएको थियो । ‘अदालतको आदेशको अर्थ पत्ता लगाउने प्रयास गरिरहेका छौं, अब सफ्टवेयर खरिद प्रक्रिया अघि बढ्छ’, नेप्सेका महाप्रबन्धक सिताराम थपलियाले विकासन्युजसँग भने । नयाँ सफ्ट वेयरको मुल्य १९ करोड ८५ लाख पर्ने गरि सम्झौता भैसकेको छ । त्यसमा ९ करोडमा सफ्ट वेयर र ९ करोडमा हार्ड वेयर तथा बाँकी रकम भ्याटमा लाग्नेछ । नेप्सेले गरेको सफ्ट वेयर खरिद सम्झौता अनुसार सम्झौता पत्रमा हस्ताक्षर भएको १४ महिनामा कम्पनीले सफ्ट वेयर हस्तान्तरण गरिसक्नु पर्ने व्यवस्था छ । नेप्सेका महाप्रबन्धक थपलिया भन्छन–‘हामीले कम्पनीलाई एडभान्स(बैना) दिएको १० महिना भित्र नयाँ सफ्ट वेयरबाट नेप्सेको काम अघि बढ्छ ।’ अहिले प्रयोग भैरहेको सफ्ट वेयरले राम्रोसँग काम नगरेपछि नेप्सेले सिस्टम अपग्रेड गर्न भन्दै नयाँ सफ्ट वेयर खरिद गर्न लागेको हो ।

मासु पसलको नियमित अनुगमन आवश्यक: आपूर्तिमन्त्री गणेशमान पुन

काठमाडौं, २४ असार । आपूर्तिमन्त्री गणेशमान पुनले मासु पसलको नियमित अनुगमन आवश्यक रहेको बताएका छन् ।आपूर्ति व्यवस्था विभाग, जिल्ला प्रशासन कार्यालय काठमाडौंलगायतको टोलीले आज गरेको स्थलगत अनुगमनको क्रममा सतुङगलको ‘मोज मिट’ नाम गरेको बधशालामा बेच्न लागिएको मासुमा किरा भेटेपछि सबै मासु पसलको नियमित अनुगमन आवश्यक रहेको बताएका हुन्। मन्त्री पुनले अनुगमनपछि सञ्चारकर्मीसँग भने, “ उपभोक्तालाई असर पुग्ने कुनै पनि सामग्री बिक्री वितरण गर्ने अधिकार कसैलाई छैन, यदी त्यसो गरेमा कानुनअनुसार कडा कारबाही हुन्छ ।” उक्त बधशालामा अव्यवस्थित रुपमा मासु काट्ने स्थान र मासु काट्दा निस्कने फोहोर यत्रतत्र छरिएर राखिएको हुँदा मासु पसललाई सिलबन्दी गरिने तयारी गरिएको छ । तत्काल सिलबन्दी गर्दा उक्त बधशालामा रहेको मासु र मासुबाट निस्कने फोहोरले स्थानीयवासीलाई थप असर पुग्ने हुँदा सञ्चालकलाई सफा गर्ने समय दिएको छ । सफा गरेपछि आज साँझसम्ममा उक्त मासु पसल सिलबन्दी गर्ने विभागका शाखा अधिकृत लालबहादुर बुढाथोकीले बताए । अनुगमन टोलीले आजनै कालिमाटीको माछा पसल र टेकुमा रहेको केही मासु पसलको पनि अनुगमन गरेको छ । उक्त सथानमा भने खासै समस्या देखिएन । झन्डै चार दिनदेखि आपूर्ति व्यवस्था विभागसहितको टोलीले नियमित रुपमा अनुगमन गर्दै आएको छ । अनुगमनको क्रममा पहिलो दिन तरकारी, दोस्रो दिन पानी, तेस्रो दिन क्लिनिक र आज चौँथो दिन मासुको स्थलगत गनुगमन गरेको हो । रासस