एनसेलले भारत कल शुल्क ३३ प्रतिशत घटायो, प्रतिमिनेट एक रुपैयाँ ९९ पैसा मात्र
काठमाडौं, २२ असार। एनसेलका सबै ग्राहकले अब प्रतिमिनेट एक रुपैयाँ ९९ पैसामा भारतमा फोन गर्न पाउने भएका छन् । मोबाईल सेवा प्रदायक कम्पनी एनसेलले भारतको कल महशुललाई ३३ प्रतिशतले घटाएको हो । यस अघि भारत फोन गर्दा दुई रुपैयाँ ९९ पैसा लाग्ने गरेको थियो । ईन्डिया कलिङ योजना बुधबारबाट तीन महिनाका लागि लागु हुने कम्पनीले जनाएको छ । यस योजनाअन्तर्गत एनसेलका प्रिपेड र पोष्टपेड सबै ग्राहकले अब कर बाहेक फ्ल्याट एक रुपैयाँ ९९ पैसा प्रतिमिनेटमा भारतको कुनै पनि नेटवर्कमा कुरा गर्न सक्नेछन् । ग्राहकले एस्ट्रिक्स् १७१०७ ह्यास डायल गरी योे योजनामा निशुल्क सहभागी हुन सक्ने एनसेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । साथै ग्राहकले अंग्रजीमा ‘ए’ टाइप गरी १७१०७ मा एसएमएस पठाएर पनि योे योजना सुचारु गर्न सक्छन् । भारतमा ठूलो संख्यामा नेपालीहरु शिक्षा तथा रोजगारीका निमित्त बस्ने गरेका छन् । त्यसैगरी थुप्रै नेपालीहरु भारतसँग व्यापार व्यवसायमा संलग्न रहेका छन् भने प्रत्येक वर्ष भ्रमण तथा तीर्थका लागि पनि नेपालीहरु भारत जाने गरेको छन् । “यो योजनाले हाम्राग्राहकलाई भारतमा रहेका आफ्ना परिवारका सदस्य, साथीभाई र व्यावसायीक साझेदारहरुसँग अझ सुलभ शुल्कमाकल गरी सम्पर्कमा रहिरहनसहयोग पुर्याउने छ,” एनसेलका कर्पोरेट संवाद विज्ञ मिलन शर्माले भने । योजनामा सहभागी भएका ग्राहकले अंग्रेजी ‘आर’ टाइप गरी १७१०७ मा एसएमएस पठाई बाहिरिन पनि सक्छन् ।
बिशेष आर्थिक क्षेत्रमा ‘बन्द–हड्ताल’ गर्न नपाइने
काठमाडौं, २२ असार । बिशेष आर्थिक क्षेत्र(सेज)मा मजदुर तथा कर्मचारीहरुले बन्द हड्ताल गर्न नपाउने भएका छन् । उद्योग मन्त्रालयले तयार पारेको ‘बिशेष आर्थिक क्षेत्रको स्थापना, सञ्चालन र व्यवस्थापन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको बिधेयक’ले सेजमा बन्द हड्ताल निषेधित गर्ने व्यवस्था गरेको हो । उद्योग मन्त्रालयले तयार पारेको प्रस्तावित ऐनको बिधेयकको दफा ४३ मा ‘उद्योगलाई हानी–नोक्सानी हुने काम गर्न नपाउनेः बिशेष आर्थिक क्षेत्रमा स्थापित उद्योगमा कार्यरत कामदार वा कर्मचारीले उद्योग र उत्पादनमा प्रतिकुल असर पर्नेगरि कुनै काम कारवाही गर्न पाउने छैन’ लेखिएको थियो । तर सांसद नागेन्द्र प्रसाद थारुले त्यसमा संसोधन प्रस्ताव दर्ता गराएका थिए । उनको प्रस्तावलाई व्यवस्थापिका संसदको उद्योग बाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिले पारित गरेर संसदमा पठाउने निर्णय गरेको हो । अर्थ समितिले पास गरेको प्रस्तावमा लेखिएको छ –‘प्रचलित कानुनमा जुनसुकै कुरा लेखिएको भएतापनि विशेष आर्थिक क्षेत्रमा स्थापित उद्योगमा कार्यरत कामदार वा कर्मचारीले उद्योग र त्यसको उत्पादनमा प्रतिकुल असर पर्ने गरी कुनै बन्द, हडताल वा आन्दोलन गरी उद्योगलाई हानी नोक्सानी हुने कुनै काम कारवाही गर्न पाउने छैन ।’ सांसद थारुले भने औद्योगीक क्षेत्र भन्दा बिशेष अधिकारसहित स्थापित हुने सेजलाई बन्द हड्ताल नगरि नेपालमा औद्योगीक विकास हुनै नसक्ने बताए । व्यवस्थापिका संसदको उद्योग बाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिको बैठकमा बोल्दै अर्का सांसद अनन्त पौडेलले पनि अनावश्यक मजदुर आन्दोलनलाई निरुत्साहित पारेर उद्योेग धन्दाको विकासका लागि सेजलाई बन्द हड्ताल निषेधित क्षेत्र बनाउनु पर्नमा जोड दिए । ‘अब मजदुरलाई पनि समृद्धितर्फ डोर्याउनु पर्छ, अब उनीहरुलाई बन्द हड्ताल होइन, समृद्धिको बाटोमा अघि बढ्न प्रेरित गर्नुपर्छ ।’ उनले सेजमा स्थापना हुने उद्योगलाई राज्यले सुरुमा यथेष्ठ सुबिधा दिएरपछि मात्रै कर लगाउनु पर्ने जोड दिए । अर्की सांसद महालक्ष्मी उपाध्यायले नेपालमा उद्योग स्थापना हुनु अघि नै राज्यले उद्योगीको घाँटी थिच्ने गरेको बताउँदै सेजमा त्यस्तो अवस्था आउन नहुने बताइन् । राज्यले उद्योग धन्दाको प्रवद्र्धन गरेर पछि मात्रै करको दायरामा ल्याउनुपर्ने उनको भनाई थियो । उनले समग्र उद्योग प्रतिष्ठानमा एउटा मात्रै आधिकारीक ट्रेड युनियनको व्यवस्था गर्नुपर्नेमा जोड दिईन् । यसैबिच सेजमा रक्सी र चुरोटका उद्योगहरु सञ्चालन गर्न नपाइने व्यवस्था समेत प्रस्तावित ऐनमा गरिएको छ ।
एक साता भित्र १५ लाख उपभोक्ताको सिलिण्डर साटिने
काठमाडौं, २२ असार । भारतीय नाका बन्दीका समयमा बिभिन्न कम्पनीका सिलिण्डरसहितको ग्यास खरिद गरेका उपभोक्ताहरुको त्यस्ता सिलिण्डर साटिने भएको छ । नेपाल एलपी ग्यास उद्योग संघले एक साता भित्र उपभोक्ताले चाहेको कम्पनीको सिलिण्डर साट्ने व्यवस्था गर्न लागेको हो । ‘एक साता भित्र सार्वजनिक सूचना प्रकाशित गरेर सिलिण्डर साट्ने व्यवस्था गर्दैछौं, सबै उपभोक्ताले आफुसँग भएको सिलिण्डर बुझाएर आफुले चाहेको सिलिण्डर लिन सक्नेछन्’ एलपी ग्यास उद्योग संघका अध्यक्ष शिवप्रसाद घिमिरेले भने । नाका बन्दीका समयमा १५ लाख उपभोक्ताले सिलिण्डरसहितको ग्यास खरिद गरेका थिए । यसैबिच व्यवस्थापिका संसदको उद्योग बाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिकाले एचपी र सुगम ग्यासलाई कारवाही गर्न निर्देशन दिएको छ । समितिको मंगलबार बसेको बैठकले दुबै कम्पनीको सिलिण्डर बिस्फोटनको छानबिन गरि कारवाही गर्न निर्देशन दिएको हो । त्यसै गरि समितिले सिलिण्डरको मापदण्ड तोक्दै अन्तराष्ट्रिय स्तरको गुणस्तर कायम गराउन समेत निर्देशन दिएको छ ।
सांग्रिला डेभलपमेन्ट बैंकले सेयरधनीलाई कर तिर्न बोलायो
काठमाडौँ, २२ असार । सांग्रिला डेभलपमेन्ट बैंकले आफ्ना सेयरधनीलाई बोनस सेयरमा लाग्ने कर रकम बैंकमा जम्मा गर्न भनेको छ । सामान्यतय कम्पनीहरुले बोनस सेयर तथा नगद लाभांश वितरण गर्दा कर कट्टी गर्ने गरेकोमा यस बैंकले कर बाफतको रकम सेयरधनीसँग मागेको छ । बैंकको यस्तो कार्यशैली कानुनत ठिक भए पनि सेयरधनीहरुका लागि भने झन्झटिल भएको लगानीकर्ताहरु बताउँछन् । बैंकको कुनै पनि शाखा कार्यालयमा कर वापतको रकम जम्मा गर्न सकिने बैंकले जनाएको छ । गत चैत १४ गते सम्पन्न बार्षिक साधारण सभाले २०.८५ प्रतिशतका दरको बोनस सेयर दिने निर्णय गरेको थियो । साथै, बैंकले डिम्याट एकाउण्ट उपलब्ध भएको सेयरधनीलाई डिम्याट एकाउण्ट नं उपलब्ध गराउन बैंकले अनुरोध गरेको छ । बोनस सेयर वितरण गर्दा लाग्ने कर वापतको रकम जम्मा गरिसकेका शेयरधनीहरुको खातामा बोनस सेयर सिडिएस एण्ड क्लियरिङ लिमिटेडमा सूचिकृत भए पश्चात् जम्मा गरिने छ । बैंकको सेयर रजिष्ट्रार एनआईबिएल क्यापिटल मार्केट्स लिमिटेड हो ।
पेट्रोलियम पदार्थको अभाव छैनः आयल निगम
काठमाडौं, २२ असार । नेपाल आयल निगमले बजारमा पेट्रोलियम पदार्थको अभाव नरहेको स्पष्ट पारेको छ । आयल निगमले बुधबार सार्वजकि सूचना प्रकाशित गर्दै बजारमा कुनै पनि प्रकारका इन्धनको अभाव नरहेकाले अधिक इन्धन संग्रह नगर्न उपभोक्तालाई आग्रह गरेको हो । आपुर्ति मन्त्री गणेशमान पुनले मंगलबार दुई दिन भित्र जनताको आवश्यकता अनुसार इन्धन उपलब्ध गराउन आयल निगमलाई निर्देशन दिएका थिए । उनले आम सर्वसाधारणलाई इन्धन अभाव नरहेको जानकारी तत्कालै उपलब्ध गराउन समेत निर्देशन दिएका थिए । निगमले नारायणगढ–मुग्लिन सडक खण्डमा गएको पहिरोका कारण इन्धन ढुवानीमा केहि समस्या उत्पन्न भएको तर बजारमा अभाव हुने अवस्था नरहेको जानकारी गराएको हो । पछिल्लो समयमा निगमले साविक भन्दा १५० देखि २०० प्रतिशतसम्म बढि इन्धन आयात गरिरहेको समेत जनाएको छ । बुधबार आपुर्ति मन्त्री पुनले मुग्लिनको पहिरोकै कारण बजारमा अभाव सुरु भैसकेको बताउँदै पुल भाँचिँदा के हुन्छ ? भनि निगमसँग प्रति प्रश्न गरेका थिए ।‘केहि समय सडक अवरुद्ध हुँदा बजारको यस्तो अवस्था छ, पुल भाच्चियो भने के हुन्छ, त्यसकारण दुई दिन भित्र जनतालाई राहत दिनुस्’, मन्त्री पुनले निर्देशन दिएका थिए । यसैबिच निगमले आइओसीसँग पारादिप डिपोबाट इन्धन खरिद गर्ने प्रक्रिया अन्तिम चरणमा पुर्याएको छ । निगमले हाल इन्धन ल्याईरहेका डिपोहरुले सो भन्दा बढि मात्रामा इन्धन दिन नसक्ने जनाएपछि निगमले पारादिप डिपोबाट इन्धन ल्याउन लागेको हो ।‘पारादिप डिपोले जति पनि इन्धन दिन्छु भनेको छ, उपभोक्तालाई मुल्यभार नपर्नेगरि त्यहाँबाट इन्धन ल्याउँछौं’, आपुर्ति मन्त्री पुनले भने ।
माछापुच्छ्रे बैंक र जनता बैंकको सेयर कारोबार खुला गर्ने विषयमा राष्ट्र बैंकभित्र विवाद, किन लेखिएन माईन्यूट ?
काठमाडौं, २२ असार । ‘माछापुच्छ्रे बैंक र जनता बैंकको सेयर कारोबार खुला गर्न राष्ट्र बैंकले मानेन, लाखौं सेयरधनीको विचल्ली’ शिर्षकमा समाचार प्रकाशित भएपछि सरोकार राख्ने धेरैले फोन गरे । सोमबार बसेको राष्ट्र बैंकको सञ्चालक समितिको बैंठकमा दुई बैंकबीच मर्ज तोडिएको विषय अनुमोदन गर्ने प्रस्ताव थियो, निर्णय के भएछ ? जिम्मेवार व्यक्तिहरुले यहि प्रश्न गर्न थाले । यस विषयमा राष्ट्र बैंकमा अधिकारीहरु स्पष्ट कुरा गर्न चाहेनन् । ‘माछापुच्छ्रे र जनता बैंकको मर्ज तोडिएको विषय सम्बन्धि प्रस्ताव थियो । तर निर्णयबारे जानकारी छैन’ सम्बन्धित विभागको उच्च अधिकारीहरुले भने । ‘तपाईले उठाउनु भएको विषयमा कुनै निर्णय भएको मलाई जानकारी छैन’ राष्ट्र बैंकमा प्रवक्ता त्रिलोच पंगेनीले मंगलबार साँझ विकासन्यूजसँग भने–‘अहिलेसम्म दुबै बैंकको सेयर कारोबार खुला गर्न राष्ट्र बैंकले स्वीकृति दिएको पनि छैन ।’ तर राष्ट्र बैंकमा सहायक प्रवक्त राजेन्द्र पण्डितले माछापुच्छ्रे र जनता बैंकबीच मर्ज प्रक्रिया तोडिएको विषयलाई राष्ट्र बैंकले इन्ड्रोर्स गरेको बताए । ‘राष्ट्र बैंकले बलजफ्ती मर्ज गराउन सक्दैन । दुबै बैंकले हामी मर्ज गर्दैनौ भनेर निर्णय गरिसकेका छन् । डिमर्जमा राष्ट्र बैंकले स्वीकृति गर्नुको विकल्प रहेन’ सहायक प्रवक्ता पण्डितले भने–‘सोमबारको बैठकले डिमर्जको स्वीकृति दिने निर्णय गरेको छ । तर माईन्यूट हुन ढिलाई भईराखेको छ ।’ पण्डित राष्ट बैंक संचालक समितिको बोर्ड सचिव पनि हुन् । स्रोतका अनुसार राष्ट्र बैंकको सञ्चालक समितिको बैंठकमा मर्जर प्रक्रियामा गएका र राष्ट्र बैंकबाट सैद्धान्तिक सहमति लिईसकेका बैंक तथा वित्तीय संस्थालाई मर्जर प्रक्रिया तोड्न सहज र खुला बाटो राख्न नहुने विषय जोडतोडका साथ उठेको छ । मर्जर प्रक्रियामा गईसकेपछि केहीले रातारात फाइदा लिने गरेको र केहीले धेरै मूल्य चुकाउनु परेकोले मर्जर तोड्नेहरुलाई कारवाही हुनुपर्ने आवाज उठेको छ । ‘पर्याप्त तयारी र सुजबुजविना मर्जरको सम्झौता गर्ने, पछि सानासाना विषयमा असमझदारी सिर्जना गरेर मर्जर तोड्नेलाई कारवाही हुनुपर्छ भन्ने विचार आएको छ’ स्रोतले भन्यो । तर कस्तो कारवाही गर्ने र कसलाई कारवाही गर्ने भन्नेमा स्पष्ट विचार आएन । ‘माछापुच्छ्रे र जनता बैंक’ लाई कारवाहीको संकेत गर्ने ‘सचेत पत्र’ दिएर सेयर कारोबार खुला गर्न स्वीकृति दिनेमा संचालक समितिले निर्णय गरेको छ । माइन्यूट लेख्नलाई भने ढिलाई भएको स्रोतले बतायो । ‘मर्जर प्रक्रियाप्रति बजारलाई गम्भिर बनाउन’ माछापुच्छ्रे र जनता बैंकको सेयर कारोबार लामो समय खुला नगर्ने विषय पनि उठेको हो । तर गभर्नर डा चिरञ्जीवि नेपालले ‘त्यसो गर्दा सर्बसाधारण लगानीकर्तालाई मर्का पर्छ, सञ्चालकहरुलाई सचेत गराउने काम हामीले गर्नुपर्छ’ भन्नु भयो, स्रोतले भन्यो ।
माइक्रोम्याक्सद्धारा सेल्फी फोर मोबाइल सार्वजनिक, मूल्य ११ हजार मात्र
काठमाडौं, २१ असार । भारतीय ब्राण्ड माइक्रोम्याक्सले नेपाली बजारमा क्यू ३४९ क्यानभास सेल्फी फोर सार्वजनिक गरेको छ । उक्त कम्पनी बजेट मैत्रीका साथै स्टेट अफ आर्ट फोन तथा प्रिमियम फोनहरु सार्वजनिक गर्न प्रसिद्ध रहेको छ । कम्पनीका अनुसार क्यू ३४९, १.३ गीगाहर्जको क्वाड कोर प्रोसेसरमा संचालन हुन्छ भने यसमा १ जीबीको र्याम रहेको छ । ५.० इन्चको एचडीसहितको उक्त फोनमा २,५०० एमएएचको ब्याट्री राखिएको छ । यसमा उच्च रिजोल्यूशनसहितको ८ मेगापिक्सेलको रियर क्यामरा तथा फ्रन्ट फेसिंग क्यामरासहित आउँछ, जसमा प्रोक्सिमिटसी सेन्सर प्रयोग गरिएको कम्पनीले जनाएको छ । कम्पनीले बताए अनुसार १.३ गीगाहर्ज क्वाड कोर प्रोसेसरमा आधारित यो स्मार्टफोनमा भएको ट्याप सेन्सले यो फोनलाई थप आकर्षक बनाएको छ । साथै फोटो खिच्दै फोन कलको जवाफ दिन सकिने छ । उक्त फोनमा ८ मेगापिक्सेलको प्राथमिक क्यामरा र ८ मेगापिक्सेलकै फ्रन्ट फेसिंग क्यामरा रहेको कम्पनीको विज्ञप्तिमा उल्लेख छ । एन्ड्रोयडको मार्शमाल्लो ६.० भर्सनको अपरेटिंग सिस्टममा आधारित यो स्मार्टफोनमा ड्यूल माइक्रो सिम प्रयोग हुन्छ । यसमा ८ जीबीको इन्टरनल रोम रहेको छ, जसलाई बढाएर ३२ जीबीसम्म पुर्याउन सकिन्छ भने यसले थ्रीजी सपोर्ट गर्दछ । बजारमा यसको मूल्य ११ हजार ११० रुपैयाँ रहेको कम्पनीले जनाएको छ । उक्त फोनले कुनैपनि समयमा प्रयोगकर्तालाई कार्यक्षमतामा निराश बनाउँदैन भन्ने कम्पनीको विश्वास रहेको छ ।
यामाहाको सडक सुरक्षासम्बन्धी कार्यशाला
काठमाडौं, २१ असार । यामाहा मोटरसाइकलको आधिकारिक विक्रेता, एमएडब्लु इन्टरप्राइजेजले मंगलबार काठमाडौंमा सडक सुरक्षासम्बन्धी एकदिने कार्यशाला आयोजना गरेको छ । कर्पोरेट सामाजिक उत्तरदायित्व अन्तर्गत एमएडब्लुले प्रेसिडेन्सियल बिजनेस स्कुलका विद्यार्थीलाई सडकमा सवारी चलाउँदा र हिंड्दा अपनाउनुपर्ने सावधानीहरुबारे सचेतना कार्यक्रम आयोजना गरेकोे हो । ‘यामाहा सेफ राइडिङ साइन्स’ (वाइएसआरएस) नाम दिइएको कार्यशालामा करिब एक सय विद्यार्थीलाई दुर्घटनाका कारण, यसबाट बच्ने उपाय, सवारी हाँक्दा अपनाउनुपर्ने सावधानी, जटिल ट्राफिक अवस्थालाई मूल्यांकन गर्ने वैज्ञानिक उपाय, ‘राइडिङ पोस्चर’, ‘ब्रेक टिप्स’ र ट्राफिक नियम पालनाको आवश्यकताबारे समेत जानकारी गराइएको थियो । वाइएसआरएस यामाहाले विश्वव्यापी रुपमा संचालन गर्दै आएको ‘सीआरएस इनिसिएटिभ’ हो जुन जापान, भारत र अन्य दक्षिण एसियाली मुलुकमा सफल भइरहेको छ । कार्यशालामा इन्डिया यामाहा मोटर प्राइभेट लिमिटेडका नेटवर्क एन्ड डिलर डेभलोपमेन्ट एसिस्टेन्ट जनरल म्यानेजर नाओकी तानी र एक्पोर्ट डिपार्टमेन्टका हिमांशु शर्माको पनि उपस्थिति थियो । उनीहरुले यामाहाले चालक र पैदलयात्रीको सुरक्षालाई उच्च प्राथमिकतामा राखेको बताए । कार्यशालापछि विद्यार्थीहरुका लागि प्रयोगात्मक सेसन पनि संचालन गरिएको कम्पनीले जनाएको छ । एमएडब्लुले विगत केही वर्षदेखि वाइएसआरएस कार्यशालालाई नियमित रुपमा संचालन गर्दै आएको छ । यो कार्यशालाबाट दर्जनौं कलेजका हजारौं विद्यार्थी लाभाविन्त भएका छन् । अत्याधुनिक एफआई प्रविधिजडित एफजेड–एस एफआई र एफजेड एफआई अहिले नेपाली बाइकरको रोजाइमा परेका छन् । यी बाहेक एमएडब्लुले आर१५, आर१५ भी २, स्यालुटो, रे जेड र फेसिनो लगायतका दुईपांगे विक्री गर्दै आएको छ । बेजोड पावर, पर्फर्मेन्स र माइलेजका कारण यामाहा बाइक सबै उमेर समूहमा लोकप्रिय रहेको कम्पनीले जनाएको छ ।