पहिराका कारण कालीगण्डकी करिडोरसहित विभिन्न सडकमा आवतजावत रोकियो
गुल्मी । कालीगण्डकी करिडोरको तीन खण्डसहित गुल्मीका चार स्थानमा पहिराका कारण सडक अवरुद्ध भएका छन् । जिल्ला प्रहरी कार्यालयुका सूचना अधिकारी गङ्गाबहादुर सारुका अनुसार कालीगण्डकी करिडोर सडकअन्तर्गत कालीगण्डकी गाउँपालिकाका वडा नं १, २ र ३ स्थित गरगरे, राक्से र कनौटामा आज बिहानदेखि सडक पूर्ण रूपमा अवरुद्ध भएको हो । रिडी–वामीटक्सार सडकअन्तर्गत सत्यवती गाउँपालिका–६ स्थित डहरे खोला, चन्द्रकोट गाउँपालिका–८ तल्लाफाँट र रिडी–खज्र्याङ सडक पनि अवरुद्ध भएको छ । विगत तीन दिनदेखि गुल्मीसहित आसपास क्षेत्रमा निरन्तर हल्कादेखि मध्यम वर्षा भइरहेको छ । निरन्तर वर्षाका कारण कालीगण्डकी नदी किनारमा पानीको सतह बढ्दै गएको छ । जिल्ला प्रशासन कार्यालयले तटीय क्षेत्रका नागरिकलाई सचेत रहन आग्रह गरेको छ ।
१२५ प्रतिशत लाभांश बाँड्ने प्रभुको घोषणा
काठमाडौं । प्रभु ऊर्जा कृषि पर्यटन विकास लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समितिको साउन १९ गते बसेको बैठकले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट प्रतिकित्ता १२५ प्रतिशतका दरले कर बाहेक बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त लाभांश पारित गर्न कम्पनीले भदौ २१ गते दिउँसो ३ बजे काठमाडौंमा वार्षिक साधारण सभा समेत आह्वान गरेको छ । सभाले सञ्चालक समितिको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन पारित र आर्थिक वर्ष २०८२/८३ को लागि लेखापरीक्षकको नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्नेछ । साथै, सञ्चालक समितिलाई तलब, भत्ता एवं अन्य सुविधा प्रदान गर्ने प्रस्ताव पारित गर्नेछ ।
सागर डिष्टिलरीले साउन २८ गतेदेखि आईपीओ बिक्री गर्ने, कसले आवेदन दिन पाउँछन् ?
काठमाडौं । सागर डिष्टिलरीले साउन २८ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले जारी पुँजी ७२ करोड ६० लाख रुपैयाँको २० प्रतिशत अर्थात् १४ करोड ५२ लाख रुपैयाँको आईपीओ जारी गर्ने भएको हो । कम्पनीले सर्वसाधारण लगानीकर्तालाई प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका १४ लाख ५२ हजार कित्ता सेयर बिक्री गर्नेछ । जसमध्ये पहिलो चरणमा १० प्रतिशत अर्थात् १ करोड ४५ लाख २० हजार रुपैयाँको १ लाख ४५ हजार २ सय कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बिक्री गर्ने भएको हो । कम्पनीको आईपीओमा भदौ १ गतेसम्म आवेदन दिन सकिनेछ । यदि सो अवधिभित्र पूर्ण आवेदन नपरेमा भदौ ११ गतेसम्म लम्बिनेछ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले न्यूनतम् १० कित्तादेखि अधिकतम ७ हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल रहेको छ । वैदेशिक रोजगारीमा रहेका नेपालीले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सीआस्बा सदस्य बैंक तथा वित्तीय संस्थाबाट सीआस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन् । इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले कम्पनीलाई आईआरएन सिङ्गल बी प्लस रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको समयमा वित्तीय दायित्व पुरा गर्न सक्ने अवस्थामा उच्च जोखिम रहेको संकेत गर्दछ ।
स्थानीय बासिन्दाले बन्दीपुर केवलकारको सेयर खरिद गर्ने आज अन्तिम दिन
काठमाडौं । बन्दीपुर केवलकार एंव टुरिजमको आईपीओमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाले आवेदन दिने आज साउन २० गते अन्तिम दिन रहेको छ । साउन ६ गतेदेखि कम्पनीले जारी पुँजी २ अर्ब ८३ करोड रुपैयाँको २०.७० प्रतिशत अर्थात् ५८ करोड ६० लाख रुपैयाँको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका ५८ लाख ६० हजार कित्ता सेयर बिक्री खुला गरेको हो । जसमध्ये २ प्रतिशत अर्थात् ५ करोड ६६ लाख रुपैयाँको ५ लाख ६६ हजार कित्ता सेयर आयोजना प्रभावित क्षेत्र तनहुँको बन्दीपुर गाउँपालिका र आँबुखैरेनी गाउँपालिकाका सबै वडा, भानु नगरपालिका वडा नं. १ र गोरखाको पालुङ्गटार नगरपालिका वढा नं. ७ का स्थानीय बासिन्दालाई छुट्याएको छ । कम्पनीको आईपीओमा न्यूनतम् १० कित्तादेखि अधिकतम २० हजार कित्ता सेयरका लागि आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ रहेको छ । कम्पनीको आईपीओमा बिक्री प्रबन्धकसँगै केवलकारको तल्लो स्टेसन, बन्दीपुर गाँउपालिका वडा नं. ४, आँबुखैरेनी गाँउपालिकाको कार्यालय, भानु नगरपालिका वडा नं. १ को कार्यालय र पालुङ्गटार नगरपालिका वडा नं. ७ को कार्यालयबाट आवेदन दिन सक्नेछन् ।
माछापुच्छ्रे बैंकको नाफा २ अर्बभन्दा बढी, लाभांश क्षमता ९.२३ प्रतिशत
काठमाडौं । माछापुच्छ्रे बैंकको गत आर्थिक वर्ष २०८१/८२ मा खुद नाफा ९२.४४ प्रतिशत बढेर २ अर्ब १ करोड १४ लाख ६१ हजार रुपैयाँ गरेको छ । अघिल्लो वर्ष बैंकले १ अर्ब ४ करोड ५१ लाख ९९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । समीक्षा वर्षमा बैंकको खुद ब्याज आम्दानी १५.४० प्रतिशत ५ अर्ब ७५ करोड ६७ लाख १६ हजार रुपैयाँ गरेको छ । अघिल्लो वर्ष बैंकले ४ अर्ब ९८ करोड ८१ लाख ९२ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । गत वर्ष बैंकको कुल सञ्चालन आम्दानी १६.५१ प्रतिशत बढेर ७ अर्ब ४४ करोड ६ लाख ७४ हजार रुपैयाँ, सञ्चालन नाफा ९९.९१ प्रतिशत बढेर ३ अर्ब ३३ करोड २ लाख ३८ हजार रुपैयाँ र खुद शुल्क तथा कमिसन आम्दानी १८.१६ प्रतिशत बढेर १ अर्ब २८ करोड ५१ लाख ७६ हजार रुपैयाँ गरेको छ । गत वर्ष बैंकको वितरणयोग्य नाफा १ अर्ब ७ करोड २९ लाख ३५ हजार रुपैयाँ रहेको छ । गत वर्षको वितरणयोग्य नाफाका आधारमा बैंकले ९.२३ प्रतिशत लाभांश वितरण गर्ने क्षमता राख्छ । अघिल्लो वर्ष बैंकको वितरणयोग्य नाफा ३५ करोड ९८ लाख रुपैयाँ ऋणात्मक थियो । गत वर्ष बैंकको चुक्ता पुँजी ११ अर्ब ६२ करोड १३ लाख ५७ हजार रुपैयाँ, सेयर प्रिमियम ३ करोड ८ लाख ८१ हजार रुपैयाँ र जगेडा कोष ६ अर्ब ३१ करोड १० हजार रुपैयाँ रहेको छ । गत वर्ष बैंकको निक्षेप संकलन १६.०९ प्रतिशत बढेर १ खर्ब ८४ अर्ब १७ करोड ६० लाख रुपैयाँ र कर्जा लगानी ११.७४ प्रतिशत १ खर्ब ४१ अर्ब ६३ करोड ६८ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष बैंकले १ खर्ब ५८ अर्ब ६४ करोड ६९ लाख रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब २६ अर्ब ७५ करोड ४१ लाख रुपैयाँ कर्जा लगानी गरेको थियो । नाफा बढेसँगै बैंकको प्रतिसेयर आम्दानी ८.३२ रुपैयाँ बढेर १७.३१ रुपैयाँ पुगेको छ । बैंकको मूल्य आम्दानी अनुपात १४.९९ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १६३.८ रुपैयाँ रहेको छ । समीक्षा वर्षमा बैंकको खराब कर्जा पनि घटेको छ । अघिल्लो वर्ष ३.८६ प्रतिशत रहेको खराब कर्जा गत वर्ष घटेर ३.८३ प्रतिशतमा झरेको छ । बैंकका अनुसार अर्थतन्त्रमा देखिएको संरचनागत शिथिलता तथा केही नीतिगत कारणबाट आर्थिक क्रियाकलापमा देखिएको सुस्तताले व्यवसायीक वातावरण सकारात्मक बन्न सकेको छैन । व्यवसायीहरूको मनोबल न्यून रही कर्जाको माग तथा विस्तार उल्लेख्य रूपमा बढ्न नसकेको बैंकले जनाएको छ । साथै बैंकको ब्याज तथा कर्जाको साँवा असुलीलाई समेत नकारात्मक असर पर्न गएको जनाएको छ । यद्यपि बैंकमा रहेको तरलतालाई गुणस्तरीय लगानीमा लगाई बैंकको सूचकांकहरूलाई सुधार गरी अधिकतम प्रतिफल प्राप्त गर्न प्रयत्नरत रहेको बैंकको भनाइ छ । बैकको सञ्चालन खर्चमा हुँदै गएको वृद्धिलाई नियन्त्रण गर्दै दीर्घकालिन व्यावसायिक योजना अनुरूप आगामी अवधिमा पनि गुणस्तरीय कर्जा प्रवाह, कर्जाको साँवा तथा ब्याज असुलीलाई विशेष प्राथमिकता, आम्दानीमा वृद्धिका साथै स्मार्ट बैंक बन्ने मूल नारालाई आत्मासात गर्दै प्रभावकारी डिजिटल बैंकिङ्ग सेवा विस्तारलाई मुख्य प्राथमिकतामा राखेको छ । माछापुच्छ्रे क्यापिटलमा बैंकको ६९.८५ प्रतिशत र माछापुच्छ्रे सेक्युरिटिजमा सतप्रतिशत लगानी रहेको छ ।
तेह्रथुम पावरको ४ लाख १८ हजार कित्ता सेयर बिक्री खुला, मूल्य १ सय रुपैयाँ
काठमाडौं । तेह्रथुम पावर कम्पनीले अवितरित हकप्रद सेयर बिक्री खुला गरेको छ । कम्पनीले असार १६ गतेदेखि साउन ११ गतेसम्म हकप्रद सेयर बिक्री गर्दा सर्वसाधारण लगानीकर्ताले खरिद नगरेको अवितरित सेयर बिक्री खुला गरेको हो । कम्पनीले चुक्ता पुँजीको १ सय प्रतिशत अर्थात् १ कित्ता सेयर बराबर नयाँ १ कित्ता अनुपातमा प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका ४० लाख कित्ता हकप्रद सेयर जारी गरेको थियो । उक्त अवधिमा बिक्री नभएको सर्वसाधारण समूहतर्फको ४ लाख १८ हजार ७३८ कित्ता सेयर बिक्री खुला गरेको हो । कम्पनीको सेयर खरिदका लागि जोसुकै व्यक्ति तथा कम्पनीले आवेदन दिन सक्नेछन् । कम्पनीको सेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ । कम्पनीको सेयरमा न्यूनतम १०० कित्तादेखि अधिकतम सबै कित्ताका लागि भदौ ३ गतेभित्र आवेदन दिन सकिनेछ । कम्पनीको सेयर बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग रहेको छ । कम्पनीको सेयरमा बिक्री प्रबन्धकका साथै नबिल बैंकको विराटनगर, विर्तामोड, विरगञ्ज, हेटौंडा, जावलाखेल, सूर्यविनायक, पोखरा, बुटवल, नेपालगञ्ज, सुर्खेत र धनगढी शाखाबाट आवेदन दिन सकिनेछ ।
एशियन लाइफको हकप्रद सेयर खरिद गर्ने आज अन्तिम मौका
काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीको हकप्रद सेयरमा आवेदन दिने आज साउन २० गते अन्तिम दिन रहेको छ । असार २५ गतेदेखि बिक्री खुला गरेको कम्पनीको हकप्रद सेयरमा लगानीकर्ताहरुले आजसम्म आवेदन दिन सक्नेछन् । कम्पनीले हाल कायम चुक्ता पुँजी ३ अर्ब ३९ करोड ९८ लाख ३६ हजार ३०७ रुपैयाँको ४२ प्रतिशत अर्थात् १० कित्ता सेयर बराबर नयाँ ४.२ कित्ता सेयर अनुपातमा हकप्रद सेयर बिक्री गरेको हो । कम्पनीले १ अर्ब ४२ करोड ७९ लाख ३१ हजार २४८ रुपैयाँको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका १ करोड ४२ लाख ७९ हजार ३१२.४८ कित्ता हकप्रद सेयर जारी गरेको हो । हकप्रद सेयर बिक्री गरी बाँडफाँट पश्चात् कम्पनीको चुक्ता पुँजी ४ अर्ब ८२ करोड ७७ लाख ६७ हजार ५५५ रुपैयाँ पुग्नेछ । हकप्रद सेयर निष्काशन प्रयोजनार्थ कम्पनीले गत जेठ १६ गते बुकक्लोज गरेको थियो । त्यसैले जेठ १४ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भइ कायम सेयरधनीहरूले कम्पनीको सेयरमा आवेदन दिन पाउने छन् । कम्पनीको हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल रहेको छ । कम्पनीको सेयरमा बिक्री प्रबन्धकसँगै मुक्तिनाथ विकास बैंकका बिर्तामोड, विराटनगर, जनकपुर, नारायणगढ, पोखरा चिप्लेढुङ्गा, बुटवल, नेपालगञ्ज, सुर्खेत, धनगढी र महेन्द्रनगर शाखा, एशियन लाइफका कार्यालयबाट पनि आवेदन दिन सक्नेछन् । साथै सीआस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र मेरो सेयर अनलाइनबाट पनि आवेदन दिन सकिनेछ । इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले इन्स्योरेन्स कम्पनीलाई आईआरएन सिंगल ए माइनस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमता पर्याप्त मात्रामा सुरक्षित संकेत गर्दछ ।
वैकल्पिक वित्त परिचालन विधेयक पारित गर्ने, यी ४ मन्त्रीले प्रश्नको उत्तर दिने
काठमाडौं । सङ्घीय संसद् अन्तर्गत आज प्रतिनिधिसभाको सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बस्दैछ । आजको बैठकमा ‘वैकल्पिक वित्त परिचालन विधेयक, २०८१’ लाई पारित गर्ने कार्यसूची छ । त्यसअघि उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद गौतमले सो विधेयक सदनमा दफावार छलफल गरियोस् भन्ने प्रस्ताव राख्ने छन् । सो विधेयकमाथि प्राप्त भएका संशोधन प्रस्तावलाई निणयार्थ प्रस्तुत गरिनेछ । बैठकमा अर्थ मन्त्रालय, परराष्ट्र मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालयसम्बन्धी मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीले उत्तर दिने छन् । कृषि तथा पशुपन्छी विकास मन्त्री राम नाथ अधिकारीले ‘नेपाल पशु चिकित्सा परिषद् (पहिलो संशोधन) विधेयक, २०८२ प्रस्तुत गर्ने छन् । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवल किशोर साह सुडीले ‘बालबालिकासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८२ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने छन् ।