ऋणले थिचिएका प्रसाईंमाथि फेरि २८ लाखको बोझ, अब शान्त बन्लान् कि आन्दोलन चर्काउलान् ?
काठमाडौं । विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई उच्च अदालत पाटनले धरौटीमा छाड्न आदेश दिएको छ । बैंकिङ कसुर र राजावादी आन्दोलनको प्रर्दशनका मुखय आरोपित प्रसाईंसँग २८ लाख रुपैयाँ लिएर धरौटीमा छाड्न अदालतले आदेश दिएको हो । गत चैत १५ गते राजावादी आन्दोलन भन्दै तिनकुनेमा हिंसात्मक प्रर्दशन भएको थियो । सो प्रर्दशनका मुख्य आरोपी भन्दै उनीसँग दुई वटा मुद्दा लागेको थियाे । उच्च अदालतले बैंकिङ कसुरको हकमा २५ लाख धरौटी वा बैंक जमानत दिए तारिखमा छाड्न आदेश दिएको हो । उच्च अदालतका न्यायाधीश सुदर्शनदेव भट्ट र मुनेन्द्रप्रसाद अवस्थीको इजलासले सो आदेश दिएको हो । यस्तै, राज्यविरुद्धको कसुरमा उनलाई ३ लाख धरौटीमा छाड्न आदेश दिइएको हाे । उच्च अदालतका न्यायाधीश टंकप्रसाद गुरुङ र डिल्लीरत्न श्रेष्ठको इजलासले सो कसुरमा उनलाई ३ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो । उनी २८ लाख रुपैयाँ धरौटी बुझाएर घर फर्किसकेका छन् । विवादित व्यवसायीको रुपमा परिचित प्रसाईंले व्यवसाय गर्दा लिएको ५ अर्ब बढी कर्जा तिर्न सकेका छैनन् । उनले विभिन्न बैंकबाट लिएको कर्जा नियमित नरहेको बैंकहरुले बताएका छन् । बैंकको सावाँ ब्याज नियमित तिर्न नसकेका उनलाई फेरि धरौटीले थप आर्थिक बोझ दिएको छ । उनले राजा फर्काउने भन्दै प्रर्दशन गर्दै आएका थिए । गत चैत १५ गते तीनकुनेमा हिंसात्मक प्रर्दशन गरेर दुई जनाको निधन भएको थियो भने दर्जनौं व्यक्ति घाइते भएका थिए । प्रदर्शनकारीले सार्वजनिक तथा निजी सम्पत्तिमा आगजनी गरेका थिए । केही समय फरार भएका उनलाई पछि प्रहरीले भारतबाट पक्राउ गरेको थियो । सोमबार प्रसाईंले सामाजिक सञ्जालमा स्टाटस लेख्दै देश निर्माणको भावी योजनाका साथ लाग्ने बताएका छन् । रिहाइ हुँदा उनको स्वागतका लागि कारागार पुगेका उनका समर्थकहरुले भने अब फेरि आन्दोलन चर्किने प्रतिक्रिया दिएका छन् । तर, प्रसाईको अबकाे रणनीति के हुन्छ भन्ने कुरा भने हेर्न बाँकी छ ।
करोडौंको ‘महत्त्वाकांक्षी’ ट्राफिक गुरुयोजना कागजमै सीमित हुने आशंका
काठमाडौं । सरकार र जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले साढे तीन वर्ष लगाएर तयार पारेको काठमाडौं उपत्यकाको अस्तव्यस्त ट्राफिक सुधार्ने महत्त्वाकांक्षी गुरुयोजना सार्वजनिक भएको छ । गुरुयोजनामा तीनवटा महत्त्वपूर्ण प्राविधिक दस्तावेजहरू सार्वजनिक गरिएका छन् । परियोजनाका वक्ता भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव सुशीलबाबु ढकालले काठमाडौंमा बढ्दो जनसंख्या, मोटरसाइकल लगायतका सवारी साधनको चाप, अव्यवस्थित चोकहरू र ट्राफिक नियमनको एकीकृत प्रणालीको अभावले गर्दा ट्राफिक व्यवस्थापन जटिल बनेको जानकारी दिए । यही समस्या समाधान गर्न विस्तृत अनुसन्धान, योजना र पाइलट प्रोजेक्टपछि यी महत्त्वपूर्ण दस्तावेजहरू तयार पारिएको उनी बताउँछन् । सार्वजनिक गरिएका मुख्य तीन दस्तावेजहरूमा सहरी यातायात व्यवस्थापन गुरुयोजना, चोक सुधार निर्देशिका र ट्राफिक बत्ती सञ्चालन तथा मर्मतसम्भार म्यानुअल रहेका छन् । सहरी यातायात व्यवस्थापन गुरुयोजना यसले काठमाडौंको ट्राफिक व्यवस्थापनका लागि एक रणनीतिक दृष्टिकोण प्रस्तुत गर्दछ । यसको लक्ष्य औसत ट्राफिक गति ३० प्रतिशतले बढाउने र जामका कारण हुने समयको क्षति १० प्रतिशतले घटाउने रहेको छ । साथै ट्राफिक दुर्घटनाबाट हुने मृत्युदरमा वार्षिक ५ प्रतिशत कमी ल्याउने लक्ष्य राखिएको छ । चोक सुधार निर्देशिका यसमा उपत्यकाका चोकहरूलाई सुरक्षित र प्रभावकारी बनाउने प्राविधिक विधिहरू समेटिएका छन् । पाइलट प्रोजेक्टको अनुभवका आधारमा तयार पारिएको यो निर्देशिकाले लेनको चौडाइ, मोडिने ठाउँ र पैदलयात्रीका लागि सुरक्षित क्रसिङ जस्ता विषयमा मार्गदर्शन गर्दछ । ट्राफिक बत्ती सञ्चालन तथा मर्मतसम्भार म्यानुअल यसले ट्राफिक बत्तीहरूको सञ्चालन र मर्मतलाई मानकीकृत गरी एकरूपता ल्याउने लक्ष्य राखेको छ । जसले गर्दा ट्राफिक बत्तीहरूले निरन्तर र प्रभावकारी रूपमा काम गर्न सकून् । यो परियोजनाअन्तर्गत नयाँ बानेश्वर र लैनचौर चोकमा पाइलट प्रोजेक्टका रूपमा भौतिक सुधारका कामहरू गरिएको बताइएको थियो । नयाँ बानेश्वरमा छुट्टै दायाँ मोड्ने लेन मेडियन निर्माण र ट्राफिक लाइटको प्रभावकारी व्यवस्थापन गरिएको थियो । जसले गर्दा जाममा उल्लेख्य कमी आएको दाबी गरिएको थियो । त्यस्तै, लैनचौरमा पैदलयात्रीको सुरक्षालाई ध्यानमा राख्दै ट्राफिक आइल्याण्ड र बायाँ मोड्नका लागि समेत ट्राफिक बत्तीको व्यवस्था गरिएको थियो, यद्यपि सवारी चालकहरूले नयाँ नियम पालना गर्न केही समय लागेको पनि उल्लेख गरिएको थियो । जाइकाका नेपाल प्रमुख प्रतिनिधि मिजुकी मात्सुजाकीले नेपाललाई सहयोग गर्न पाउँदा जापान खुसी रहेको र आगामी दिनमा पनि सहयोग निरन्तर रहने उल्लेख गरे । उनले यी निर्देशिका र गुरुयोजनालाई सम्पूर्ण सरोकारवालाहरूले सक्रिय रूपमा प्रयोग गरी काठमाडौंको यातायातलाई सहज र सुरक्षित बनाउन आग्रह गरे । परियोजनाले तयार पारेका यी दस्तावेजहरू कार्यान्वयनका लागि नेपाल सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई हस्तान्तरण गरिएको छ । उक्त गुरुयोजनासँगै ‘चोक सुधार निर्देशिका’ र ‘ट्राफिक बत्ती सञ्चालन तथा मर्मतसम्भार म्यानुअल’ पनि सार्वजनिक गरिएको छ । जसले कार्यान्वयनका लागि स्पष्ट खाका दिने अपेक्षा गरिएको छ । सहसचिव ढकालका अनुसार जाइकाले ३ वर्ष लगाएर उपत्यकाका कुल १०७ चोकको अध्ययन गरी प्राथमिकताका आधारमा नयाँ बानेश्वर र लैनचौरलाई नमुनाका रूपमा छनोट गरेको थियो । उनले जाइकाले हस्तान्तरण गरेको दस्तावेजअनुसार काम गर्न सके उपत्यकाको ट्राफिक व्यवस्थापनमा कम्तीमा ३० प्रतिशत सुधार हुने विश्वास व्यक्त गरे । योजना कागजमा, सडकमा उस्तै सास्ती जुन निकायहरू यो गुरुयोजना कार्यान्वयन गर्ने जिम्मेवारीमा छन् । तिनै निकायहरू सडकमा देखिएका सामान्य समस्या समाधान गर्न समेत असफल देखिन्छन् । केही समयदेखि कोटेश्वर-तीनकुने सडकखण्डमा जडान गरिएको अत्यधिक चम्किलो बत्ती भएको एएनपीआर क्यामेराले रातमा चालकको आँखा तिर्मिराउँदा दुर्घटनाको जोखिम बढाएको छ । तर सडक विभागका अधिकारीहरू यो क्यामेरा आफूहरूले जडान नगरेको भन्दै पन्छिरहेका छन् । उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार यो क्यामेरा ‘फेस डिटेक्सन’ प्रविधियुक्त भए पनि कुन निकायले र कुन प्रयोजनका लागि राख्यो भन्नेबारे सरकारी निकायहरू नै अनभिज्ञ छन् । उपत्यकाको ट्राफिक व्यवस्थापनलाई सहज बनाउन जडान गरिएका अधिकांश ट्राफिक लाइटहरू बन्द अवस्थामा छन् । जसले गर्दा सडकमा ट्राफिक जाम र दुर्घटनाको जोखिम बढेको छ । उपत्यकाका कुल ६९ स्थानमा जडान गरिएका ट्राफिक लाइटमध्ये २७ वटा पूर्ण रूपमा बन्द छन् भने ४२ वटा मात्र सञ्चालनमा रहेको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता दीपक गिरीले लगभग ४० प्रतिशत लाइटहरू बिग्रेर थन्किएको बताए । उपत्यकाको महालक्ष्मीस्थान, मित्रपार्क, पद्मोदय, कोटेश्वरजस्ता दर्जनौं स्थानका लाइटहरू महिनौंदेखि बन्द छन् । यसैगरी, त्रिपुरेश्वर, माइतीघर र थापाथलीजस्ता अति व्यस्त चोकमा त झन् ट्राफिक लाइटले कामै गर्न नसक्ने भन्दै आइरहेका छन् । ‘यो विभिन्न कारणले बिग्रेको हो,’ उनले भने, ‘कहिले विद्यार्थी आन्दोलनमा तोडफोड हुन्छ, कहिले चट्याङजस्ता प्राकृतिक कारणले बिग्रिन्छ । तर मुख्य समस्या समयमा मर्मत नहुनु हो । ’ ट्राफिक लाइट बनाउने र मर्मत गर्ने जिम्मेवारी कुन निकायको हो भन्नेमा समेत अन्योल देखिएको छ । प्रवक्ता गिरीका अनुसार यी लाइटहरू सडक विभाग र सम्बन्धित महानगरपालिकाले जडान गरेका हुन् र मर्मतको जिम्मा पनि उनीहरूकै हो । तर, निकायहरूबीच समन्वयको अभाव र ढिलासुस्तीका कारण बिग्रेका लाइटहरू महिनौंसम्म बन्द रहने गरेका छन् । ‘हामीले लाइट नचलेको जानकारी सम्बन्धित निकायलाई गराउँछौं, तर मर्मत प्रक्रिया निकै सुस्त छ,’ उनले भने । कार्यान्वयनमा आशंका जाइकाको सहयोगमा केही मुख्य चोकहरूमा अत्याधुनिक ट्राफिक लाइट जडान गर्ने प्रयास पनि पूर्ण रूपमा सफल हुन सकेको छैन । बानेश्वर चोकको लाइट सफलतापूर्वक सञ्चालनमा आए पनि लैनचौरमा जडान गरिएको लाइटले भने झन् ट्राफिक जाम बढाएपछि त्यसलाई सञ्चालनमा ल्याउन सकिएको छैन । उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार लैनचौरको बाटो साँघुरो भएकाले लाइटको प्रणालीले सबैतिरका गाडीलाई पालो मिलाउन सकेन । ‘जाइकाले बाटो फराकिलो बनाउन सडक विभागलाई सुझाव दिएको छ,’ प्रवक्ता गिरीले भने, ‘सडक विभागले बाटो विस्तार नगरेसम्म त्यो लाइट सञ्चालनमा आउने अवस्था छैन । ’ उपत्यकामा १६० भन्दा बढी मुख्य चोकहरू भए पनि हालसम्म ६९ ठाउँमा मात्र लाइट जडान गरिएको छ । त्यसमा पनि २७ वटा बन्द हुँदा ट्राफिक प्रहरीलाई सवारी व्यवस्थापन गर्न हम्मेहम्मे परेको छ भने आमयात्रुले दैनिक सास्ती भोग्नुपरेको छ । बिग्रेका लाइटहरू कहिलेसम्म मर्मत हुन्छन् र उपत्यकाको ट्राफिक व्यवस्थापन कहिले सहज बन्छ भन्ने प्रश्नमा सरकारी निकायहरूसँग कुनै ठोस जवाफ छैन । योजना बन्ने तर कार्यान्वयन फितलो हुँदा करोडौंको लगानी बालुवामा पानीसरह भएको छ भने नागरिकको दैनिकी कष्टकर बन्दै गएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल अन्तरनिकाय समन्वय र प्रविधिको प्रयोग बढाउनुपर्नेमा जोड दिन्छन् । उनले यातायात व्यवस्थापन कुनै एक निकायको प्रयासले मात्र सम्भव नहुने बताए पनि व्यवहारमा भने त्यसको ठीक उल्टो अवस्था छ ।
एनसेल बन्यो भोल्टे रोमिङ सेवा सुरु गर्ने पहिलो नेपाली टेलिकम कम्पनी
काठमाडौं । नेपाल भ्रमणमा आउने विदेशीका साथै नेपाल बाहिर जाने आफ्ना ग्राहकहरुका लागि भ्वाइस ओभर लङ टर्म इभोल्युसन (भोल्टे) अन्तर्राष्ट्रिय रोमिङ सेवा सुरु गर्ने एनसेल पहिलो नेपाली टेलिकम कम्पनी बनेको छ । यससँगै अब ग्राहकहरूले विदेश यात्रा गर्दा पनि स्पष्ट सुनिने भ्वाइस कल र उच्च गतिको डेटा सेवा उपयोग गरी सधैं अन रहन सक्छन् । एनसेलले पहिलादेखि नै विभिन्न देशबाट नेपाल आउने विदेशीहरुलाई इनबाउन्ड भोल्टे रोमिङ सेवा दिँदै आएको छ । कम्पनीले अब आफ्नो सेवा विस्तार गर्दै, सोमबारबाट लागु हुनेगरी भारत जाने ग्राहकहरूका लागि एयरटेलसँगको साझेदारीमा आउटबाउन्ड भोल्टे रोमिङ सेवा पनि प्रदान गर्न थालेको हो । भोल्टे दूरसञ्चार क्षेत्रको एक नयाँ प्रविधि हो । यसले फोरजी नेटवर्कमार्फत अझ छिटो कनेक्ट हुने उच्च गुणस्तरीय आवाजसहितको एचडी कल सुविधा प्रदान गर्दछ । यो सेवा थपिँदा पहिला नै उत्कृष्ट रोमिङ अफरको फाइदा लिइरहेका एनसेलका ग्राहकहरूका लागि भारत रोमिङ अझै परिस्कृत भएको छ । विभिन्न उद्देश्यका साथ नेपाल भ्रमणमा आउने अन्तर्राष्ट्रिय पर्यटकसमेत सबै ग्राहकलाई उत्कृष्ट डेटा र भ्वाइस सेवा अनुभव प्रदान गर्न एनसेल प्रतिबद्ध रहेको छ । ग्राहकहरुलाई भारत भ्रमणका बेलामा गुणस्तरीय सेवा प्रदान गर्न एयरटेलसँग साझेदारी गर्न पाएकोमा कम्पनी खुसी रहेको र थप अन्तर्राष्ट्रिय मोबाइल सेवा प्रदायकहरूसँग भोल्टे रोमिङ विस्तार गर्न परीक्षणहरू गरिरहेको एनसेलले जनाएको छ । एनसेलले भारतको जियो र भोडाफोन, अमेरिकाको एटी एन्ड टी, टी मोबाइल, र भरिजोन, जापानका सफ्टबैंक र एनटीटी डोकोमो, चीनको चाइना मोबाइल र चाइना युनिकम तथा क्यानडाको बेल र टेलस लगायतका प्रमुख अन्तर्राष्ट्रिय मोबाइल सेवा प्रदायकहरूसँग आउटबाउन्ड रोमिङ सेवा परीक्षण गरिरहेको छ । इनबाउन्ड भोल्टे रोमिङका लागि, एनसेलले एयरटेल र जियो (भारत), चाइना मोबाइल (चीन), ओरेडू (कुवेत), मोबिली (साउदी अरेबिया), एटी एन्ड टी (अमेरिका) र भियटेल (भियतनाम)का ग्राहकहरूलाई भोल्टे रोमिङ सेवा दिँदै आएको छ ।
कजारियाको नयाँ शोरूम वीरगञ्जमा
काठमाडौं। कजारियाले नेपालमा आफ्नो उपस्थिति अझ मजबुत बनाउँदै वीरगञ्जमा अत्याधुनिक शोरूम उद्घाटन गरेको छ । जय श्रीराम ट्रेड एण्ड कन्सर्नद्वारा सञ्चालित यस शोरुमले उच्च गुणस्तरका टायलहरूको बढ्दो मागलाई पूरा गर्ने लक्ष्य राखेको छ। उद्घाटन समारोहमा खानेपानीमन्त्री प्रदीप यादव, कजारिया रमेश टाइल्स लिमिटेडका निर्देशक हिमांशु अग्रवाल लगायत विभिन्न व्यक्तिहरूको उपस्थिति थियो । शोरुम वीरगञ्जको प्रमुख क्षेत्र ब्रम्ह चोकमा अवस्थित छ । प्रिमियम टाइल्सलाई नेपालभर सहजै उपलब्ध गराउने आफ्नो लक्ष्यलाई निरन्तरता दिँदै कम्पनीले विभिन्न ठाउँमा शोरुम खोल्दै आइरहेको छ । कजारिया रामेश टायल्स लिमिटेडले नेपालकै सबैभन्दा ठूलो टाइल उत्पादन प्लान्ट स्थापना गरेर नेपालको टायल उद्योगमा नयाँ कीर्तिमान स्थापित गरेको छ । विश्वस्तरीय मापदण्ड अनुसार तयार गरी अत्याधुनिक प्रविधिद्वारा निर्मित कजारिया रामेश टाइल्स लिमिटेडले आधुनिक सजावटका बदलिँदो रुचिहरूलाई ध्यानमा राख्दै ३ हजारभन्दा बढी विशेष डिजाइनका टायलहरू उपलब्ध गराउँदै आएको छ । नेपालभर ४५ भन्दा बढी एक्सक्लुसिभ शोरूमहरू र १०० भन्दा बढी भरपर्दो डिलरहरूको बढ्दो नेटवर्कको साथ कजारिया प्रिमियम टायल्सको क्षेत्रमा एक परिचित नाम बन्न सफल भएको छ ।
प्राधिकरणका निलम्बित अध्यक्ष ओझाको माग सर्वोच्चले खारेज गर्यो, अन्तरिम आदेश जारी नहुने
काठमाडौं । नेपाल बीमा प्राधिकरणका निलम्बित अध्यक्ष शरद ओझाको पक्षमा अन्तरिम आदेश जारी गर्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ । सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाँल र शान्ति सिंह थापाको इजलासले ओझाको माग दावी बमोजिम पुनः काममा फर्कन अन्तरिम आदेश जारी नहुने आदेश दिएको हो । नेपाल सरकार मन्त्रिपरिषदको बैठकले गत असार ३० गते तीन सदस्यीय छानिबिन समिति गठन गरेपछि ओझा स्वतः निलम्बनमा परेका थिए । सोका विरुद्धमा ओझाले सर्वोच्च अदालतमा रिट दायर गरी सरकारले गठन गरेको समिति गैर कानुनी भएकोले खारेजको माग गर्दै तत्काल काममा फर्कन अन्तरिम आदेश माग गरेका थिए । सो मुद्दामा आज छलफल भएको थियो ।
गण्डकी प्रदेशको मानवसेवा आश्रमलाई एनएमबि बैंकको सोलार सामग्री
काठमाडौं । एनएमबि बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत गण्डकी प्रदेशको मानवसेवा आश्रमलाई १ हजार लिटरको सोलारका साथै सोलार बत्तीहरू हस्तान्तरण गरेको छ । पोखरास्थित आश्रममा आयोजित एक कार्यक्रमबीच उक्त सोलार सामग्री हस्तान्तरण गरिएको हो बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) गोविन्द घिमिरेले कार्यक्रमको अध्यक्षता गरेका थिए । मानवसेवा आश्रमका संस्थापक अध्यक्ष रामजी अधिकारीले एनएमबि बैंकलाई धन्यवाद व्यक्त गरे । बैंकका सीईओ‌ र डीसीईओले संयुक्त रूपमा सोलार सामग्री हस्तान्तरण गरे । कार्यक्रममा बैंकका संस्थापक सेयरधनीहरू, बैंकका कर्मचारीहरू, समाजसेवीलगायत अन्य प्रतिनिधिको उपस्थित रहेको थियो । एनएमबि बैंले हाल देशभरि २०२ शाखाहरू, १८७ एटीएम र ९ एक्सटेन्सन काउन्टरहरूमार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।
कक्षा १२ को नतिजा सार्वजनिक
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । सोमबार साँझ बसेको बोर्ड बैठकको निर्णयपछि नतिजा प्रकाशन गरिएको हो । बोर्डको पूर्व निर्धारित तालिकाअनुसार नतिजा साउन १५ गतेभित्रै प्रकाशन हुनुपर्ने थियो । तर गत चैत २० गतेदेखि शिक्षकहरूले गरेको २९ दिने आन्दोलनका कारण उत्तरपुस्तिका परीक्षणमा ढिलाइ भएकाले नतिजा समयमा आउन सकेको थिएन । सोही आन्दोलनका कारण गत वैशाख ११ गतेका लागि तय भएको परीक्षा पनि २१ गतेदेखि सुरु भएको थियो । यस वर्षको परीक्षामा कुल ५ लाख ११ हजार ५ सय २५ जना परीक्षार्थी सहभागी भएका थिए ।
१२ कक्षाको नतिजा सार्वजनिक गर्न बैठक जारी
काठमाडौं । १२ कक्षाको नतिजा सार्वजनिक राष्ट्रिय परीक्षा बोर्डको बैठक अहिले बसिरहेको छ । अहिले बैठक बसेकाले कुनै प्राविधिक समस्या नआए बैठक सकिने बित्तिकै नतिजा सार्वजनिक गर्ने बोर्डले जनाएको छ । बोर्डको क्यालेन्डर अनुसार १५ साउनभित्र १२ कक्षाको नतिजा सार्वजनि हुनुपर्ने हो । तर, केही दिन ढिला गरी नतिजा सार्वजनिक हुन लागेको हो । गत ११ वैशाखका लागि तय भएको परीक्षा आन्दोलनका कारण २१ वैशाखदेखि भएको थियो । २१ वैशाखदेखि सुरु भएको परीक्षामा ५ लाख ११ हजार ५ सय २५ परीक्षार्थी सहभागी भएका थिए । यसरी हेर्न सकिन्छ नतिजा ? परीक्षाको नतिजा वेबसाइट, एसएमएस सर्भिस र आईभीआर सर्भिसमार्फत थाहा पाउन सकिने छ । राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट result.neb.gov.np वा neb.gov.np र नेपाल टेलिकमको वेबसाइट https://neb.ntc.net.np बाट नतिजा हेर्न सकिन्छ । यसैगरी एसएमएस सेवा अन्तर्गत NEB Symbol No. टाइप गरी नेपाल टेलिकमको १६०० मा एसएमएस गरेर नतिजा प्राप्त गर्न सकिने छ । यसैगरी आईभीआर सेवा अन्तर्गत नेपाल टेलिकमको १६०१ नम्बरमा डायल गरी प्राप्त निर्देशानुसार नतिजा प्राप्त गर्न सकिनेछ । यूएसएसडी सेवा अन्तर्गत ८१६०१३ नम्बरमा डायल गरी प्राप्त निर्देशानुसार पनि नतिजा प्राप्त गर्न सकिन्छ ।