विकासन्युज

नयाँ व्यवस्थासँगै १५ सय उद्योग खारेज हुने प्रक्रियामा

काठमाडौं, १५ माघ । सरकारले अब नयाँ दर्ता स्वीकृत लिने उद्योगहरुले सञ्चालन अवधिको मापदण्ड तोकेको छ । औद्योगिक प्रवद्र्धन बोर्डमा बसेको बैठकले दर्ता भएको १० वर्षयभित्र सञ्चालनमा गर्नुपर्ने व्यवस्था गरेको हो । नयाँ औद्योगिक व्यवसाय ऐन २०७३ कार्यान्वयनका लागि गत मंगलबार उद्योगमन्त्री नवीन्द्रराज जोशीको अध्यक्षतामा बसेको बैठकले उद्योगको प्रकृति अनुसार सञ्चालन अवधि तोकेको हो । पुराना ऐनअनुसार दर्ता भएका तर सञ्चालनमा नआएका उद्योगहरु स्वत खारेज हुने प्रकृयालाई पनि अघि बढाएको छ । बैठकले पुरानो मापदण्डअनुसार सञ्चालनमा आएका उद्योगहरु पुरानै प्रक्रियामा सञ्चालन भएपनि नयाँ स्वीकृत लिने उद्योगका हकमा उद्योगको प्रकृतिका आधारमा कार्ययोजना तय गरिने छ । उद्योगीले पेश गरेको कार्ययोजनाका आधारमा समयसीमा तोक्न लागिएको उद्योग मन्त्रालयकी सहसचिव यमकुमारी खतिवडाले बताइन् । पछिल्लो बैठकले उद्योगदर्ताको लागि प्रकृतिअनुसार वर्गीकरण पनि गरेको छ । ठूला, मझौला तथा वैदेशिक लगानीका उद्योगका लागि उद्योग विभागका दर्ता गनुपर्नेछ भने साना तथा लद्यु, घरेलु उद्योग साना तथा घरेलु उद्योगमा दर्ता गर्नु पर्ने छ । त्यसैगरी विशेष आर्थिक क्षेत्र(सेज)मा स्थापना हुने स्वदेशी उद्योगमा सेजमा दर्ता प्रक्रियाका लागि सूचना प्रकाशित गर्ने योजना मन्त्रालयले बनाउन लागेको छ । उद्योगीले उद्योगमा लगानी गर्ने पूँजी र क्षेत्रको आधारमा उद्योगको वर्गीकरण गरिने छ । पुरानो व्यवस्थाअनुसार साना उद्योग पनि उद्योग विभागमै दर्ता हुँदै आएको थियो । उद्योगले पुरा गर्नुपर्ने मापदण्ड निर्माण गर्न उद्योग विभागका महानिर्देशकको संयोजनमा अर्थं, कृषि, पर्यटन, वन, वातावरण तथा स्थानीय विकास मन्त्रालयका प्रतिनिधिहरुको सहभागिमा कार्यदले बनाउन लागिएको खतिवडाले बताइन् । उद्योग मन्त्रालयले देशमा औद्योगिक वातावरण निर्माण गर्न अर्थात औद्योगिकरणका माध्यमबाट देशभित्रै रोजगारी सिर्जना गर्न, उत्पादकत्व बढाउन उद्योगीहरुलाई सहज र सरल हुने खालका नीतिगत व्यवस्था गर्न लागेको हो । बैठकले तय गरेका निर्णयहरुलाई मन्त्रीपरिषद्मा सिफारिस गर्ने बताइएको छ । पुरानो व्यवस्थाअनुसार दर्ता भएका तर, हालसम्म सञ्चालनमा नआएका करिब एक हजार पाँच सय उद्योग खारेज हुने प्रक्रियामा रहेको विभागका महानिर्देशक बैठकमा जानकारी गराएका थिए । नयाँ ऐन पारित भएसँगै दर्ता भएर १० वर्षसम्म पनि सञ्चालनमा नआएका उद्योगहरू खारेजीमा जानेछन् । सञ्चालनमा आएका उद्योगका हकमा पनि नयाँ नीतिगत व्यवस्था लागू गरिने भएको छ । तीन वर्षसम्म स्थिर पूँजी बढाउन नसकेका उद्योगहरुको हकमा आगामी बैठकले निर्णय गर्नेछ । नयाँ औद्योगिक ऐन पारित भएपनि लामो समयसम्म बोर्डको बैठक बस्न नसकेको भन्दै झण्डै दुई साताको छलफलपछि उक्त दिन बैठक बसेको हो र अब तालिका मिलाएर बोर्डको नियमित बैठक पनि वस्ने भएको छ ।

सिद्धार्थ डेभलपमेन्ट बैंकको डेपुटी सिईओमा पवन ढकाल नियुक्त

काठमाडौं, १४ माघ । सिद्धार्थ डेभलपमेन्ट बैंकले डेपुटी सिईओमा पवन ढकाललाई नियुक्त गरेको छ । बैंकले यसै साता ढकाललाई डेपुटी सिईओमा नियुक्त गर्ने निर्णय गरेको थियो । ढकाल यसअघि कैलाश विकास बैंकको असिष्टेन्ट जेनरल म्यानेजर थिए । ढकालले करिब २५ वर्ष बैंकिङ् क्षेत्रमा बिताएका छन् । स्ट्याण्डार्ड चाटर्ड बैंकबाट बैंकिङ् करिअर शुरु गरेका ढकालले सो बैंकमा करिब ८ वर्ष बिताएका थिए । उनले माछापुच्छ्रे बैंकमा १४ वर्ष काम गरेका थिए भने कैलाश विकास बैंकमा साढे ३ वर्ष सेकेन्ड म्यानको भूमिका निर्वाह गरेका थिए । ढकालले कैलाश विकास बैंकबाट राजीनामा दिइसकेका छन् । करिब एक महिनापछि उनले सिद्धार्थ डेभलपमेन्ट बैंकको डेपुटी सिईओको जिम्मेवारी सम्हाल्ने छन् ।

नेशनल बैंकिङ्ग ईन्ष्टिच्युटद्धारा सम्पति शुद्धिकरण सम्मेलन सम्पन्न

काठमाडौं, १४ माघ । नेशनल बैंकिङ्ग ईन्ष्टिच्युटले नेपालमा दोस्रो पटक सम्पति शुद्धिकरण विषयको सम्मेलन सम्पन्न गरेको छ । सो कार्यक्रमको उद्धघाटन गर्दै नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरन्जिवी नेपालले त्यहाँ उपस्थित विभिन्न बैंकका १५० भन्दा बढी प्रतिनिधीहरुलाई सम्बोधन गरेका छन् । उनले एएमएलको महत्व बताउँदै यसको कुनै विकल्प नरहेको र यसबाट बैंक तथा वित्तिय संस्थाहरुले दिर्घकालीन स्थायित्व र लाभ लिन सक्ने कुराको जानकारी गराएका छन् । साथै, बैंकिङ्ग कर्मचारीहरु यस विषयमा सतर्क भई कुनै पनि हिसाबले सम्झौता हुन दिन नहुने बताए । त्यसैगरी नेपाल बैंकर्स संघका प्रमुख अनिल केशरी शाहले अबको बेला भनेको एएमएल सम्बन्धि विषयमा कर्मचारीहरुलाई दक्षता दिलाउने र प्रविधि विकासमा जोड दिने बताएका छन् । त्यसैगरि नेशनल बैंकिङ्ग ईन्ष्टिच्युटका अध्यक्ष तथा बैंक अफ काठमाडौं लुम्बिनिका प्रमुख कार्यकारी अधिकृत अजय श्रेष्ठले नेपालको वर्तमान बैंकिङ्ग अवस्थालाई हेर्दा यो सम्मेलन निकै उचित समयमा हुन पुगेको र अहिलेको अवस्थामा वित्तिय क्षेत्रमा निक्षेपको अभाव भएको र निक्षेप लिनुपर्दा पनि एएमएलसम्बन्धि कुरालाई अनुसरण गरि अघि बढ्नुपर्ने बताए । त्यसैगरि उद्धघाटन सत्रमा नेशनल बैंकिङ्ग ईन्ष्टिच्युट र फिनटिलेक्टी, इन्डियाद्धारा नेपाली बैंकिङ्ग क्षेत्रमा गरिएको सम्पति शुद्धिकरण र आतकंवादी क्रियाकलापमा वित्तिय लगानी निवारण सम्बन्धि सर्बेक्षणको जानकारी गराएका छन् ।

वीरगन्ज औद्योगिक करिडोर विद्युत्भार कटौतीमुक्त हुने, थप ५० मेगावाट विद्युत् उपलब्ध

काठमाडौं, १४ माघ । सरकारले केहीदिनभित्रै वीरगन्ज औद्योगिक करिडोरलाई विद्युत्भार कटौतीमुक्त बनाउने भएको छ । भारतबाट आयात हुन लागेको थप ५० मेगावाट विद्युत् बारा पर्सा औद्योगिक करिडोरलाई नै उपलब्ध गराउने विषयमा वीरगन्ज उद्योग वाणिज्य सङ्घको टोलीलाई विश्वस्त तुल्याउँदै ऊर्जामन्त्री जनार्दन शर्माले छिट्टै विद्युत्भार कटौतीमुक्त गर्ने विश्वास दिलाएका छन् । वीरगन्जमा कार्यरत उद्योगी एवम् व्यवसायीको प्रतिनिधिमण्डललाई विश्वास दिलाउँदै मन्त्री शर्माले आफू औद्योगिक राजधानीलाई थप सवल बनाउन लागिपरेको र त्यसमा स्थानीयवासीको सकारात्मक पहल जरुरी रहेको बताए । ऊर्जा मन्त्रालयसँग नियमित छलफलमा रहेको वीरगन्ज उद्योग वाणिज्य सङ्घका प्रतिनिधिले आफूहरु सरकारलाई सकारात्मक सहयोग गर्न तयार रहेको बताएका छन् । रक्सौल परवानीपुर अन्तरदेशीय प्रसारण लाइनको काम आगामी साताभित्र सम्पन्न हुने क्रममा रहेको छ । सो अन्तरदेशीय प्रसारण लाइनबाट थप विद्युत् आयात हुन लागेको छ । नेपाल र भारतका ऊर्जा सचिवस्तरीय बैठकले रक्सौल परावनीपुर र कुशाहा कटैया अन्तरदेशीय प्रसारण लाइनमार्फत थप ५०/५० मेगावाट विद्युत् आयात गर्ने सहमति भएको छ । वीरगन्ज औद्योगिक करिडोरमा तत्काल नै विद्युत् उपलब्ध गराए एक सय मेगावाट विद्युत् खपत हुन सक्छ । वाणिज्य सङ्घका अध्यक्ष ओमप्रकाश शर्माले आफूहरुको प्रतिनिधिमण्डललाई मन्त्री शर्माले छिट्टै विद्युत्भार कटौतीमुक्त गरिने र भारतबाट आयात भएको विद्युत्लाई बारा, पर्साका उद्योगलाई नै उपलब्ध गराउने वचन दिएको बताए । वीरगन्ज औद्योगिक करिडोरलाई उच्च प्राथमिकता दिएको उल्लेख गर्दै मन्त्री शर्माले काठमाडौँ उपत्यकापछि वीरगन्जलाई विद्युत्भार कटौतीमुक्त गर्ने प्रयासमा रहेको बताए । भारतीय ठेकेदार कम्पनी मोहन इनर्जीले निर्माण गरिरहेको रक्सौल परवानीपुर अन्तरदेशीय प्रसारण लाइनमध्ये टावर निर्माणको काम सम्पन्न भएको छ भने आठ किलोमिटर क्षेत्रमा तार तान्ने काम जारी रहेको आयोजना प्रमुख लक्ष्मीनारायण मुखियाले जानकारी दिए । विद्यमान ३३ केभी प्रसारण लाइनबाट हाल १० मेगावाट विद्युत् आयात भइरहेको छ । नयाँ प्रसारण लाइन निर्माण सम्पन्न भएपछि भारतबाट थप ५० मेगावाट विद्युत् आयात गरिने छ । यसले वीरगन्ज औद्योगिक करिडोर र आसपासका क्षेत्रलाई पूर्णरुपमा विद्युत्भार कटौतीमुक्त गर्ने योजना नेपाल विद्युत् प्राधिकरणको छ । आयोजनाको सबैभन्दा विवादित बनेको चारवटा टावरको फाउन्डेसन निर्माण सम्पन्न भएको छ । कुल ८ दशमलव ५ किलोमिटर क्षेत्रमा तार तान्न बाँकी रहेको छ । भारतीय ठेकेदार मोहना इनर्जीले दैनिक दुई सत्रमा काम गरेर भए पनि यसै महिनाको अन्त्यसम्ममा प्रसारण लाइन निर्माण सम्पन्न गर्ने जानकारी आफूलाई दिएको आयोजना प्रमुख मुखियाले बताए । परवानीपुर क्षेत्रमा केही स्थानीयवासीले प्रसारण लाइन निर्माणमा अवरोध गर्दा आयोजना केही समय ढिला हुन पुगेको हो । गत पुसको २० गते ऊर्जा मन्त्री शर्मा, ऊर्जा सचिव अनुपकुमार उपाध्याय, प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आयोजनास्थलको निरीक्षण गरी तोकिएको समयभन्दा पहिल्यै आयोजना सम्पन्न गर्न निर्देशन दिएका थिए। आयोजनालाई छिटो सम्पन्न गराउन वीरगन्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष शर्माले आफूहरुले आयोजना निर्माणका लागि सहजीकरण गरिरहेको र आइपर्ने समस्या समाधानका लागि उद्योगीसमेत लागिपरेको बताए। रासस

स्वावलम्बन लघुवित्त विकास बैंकको १६ औं वार्षिकोत्सव सम्पन्न

काठमाडौं, १४ माघ । स्वावलम्बन लघुवित्त विकास बैंक लि.को १६ औं वार्षिकोत्सव सम्पन्न भएको छ । बैंकले इलाका कार्यालय विर्तामोड-झापा, इटहरी-सुनसरी, लहान-सिरहा, बर्दिवास-महोत्तरी, बीरगंज-पर्सा, गठ्ठाघर-भक्तपुर र घोराही-दाङ्गमा एक समारोहबीच वार्षिकोत्सव मनाएको हो । भक्तपुरमा आयोजित समारोहमा प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलले बैंकले सदस्यहरुको जीबनस्तर उठाएको, गरिबी न्यूनिकरण गर्न सहजीकरण गरेको, बित्तीय पहुँच नपुगेको स्थानमा लघुवित्त बैंकहरु पुगेकोमा खुसी व्यक्त गरेका छन् । त्यस्तै, प्रमुख कार्यकारी अधिकृत नरेशमान प्रधानले ग्राहक सदस्यहरुलाई भरपर्दो सेवा पुर्याउन बैंक तत्पर रहेको बताए । समारोहमा बैंकमा आवद्ध ज्येष्ठ ग्राहक सदस्यहरु, उत्कृष्ट लघु व्यवसायी, वचतकर्ता, केन्द्र प्रमुख तथा शाखा कार्यालयहरुलाई सम्मान गरिएको थियो । त्यस्तै, एसएलसी परीक्षामा ग्राहक सदस्यका उत्कृष्ठ छोराहरुबाट २ जना तथा छोरीहरु २ जना गरी जम्मा ४ जना छोराछोरीलाई नगद सहित सम्मान गरिएको थियो । साथै, कर्मचारीका छोरा छोरीहरु मध्ये एस.एल.सी. परीक्षामा सर्वोत्कृष्ट अंक ल्याउने ४ जनालाई नगद सहित सम्मान-पत्र प्रदान गरिएको थियो । बैंकले हाल ४९ जिल्लाका १२३ कार्यालय मार्फत २ लाख ९ हजार ७ सय ४७ ग्राहक सदस्यहरुलाई लघुवित्त सेवा पुर्याउँदै आएको छ । बैंकको हाल लगानीमा रहिरहेको कर्जा ६ अर्व ९९ करोड रुपैयाँ रहेको छ ।

निक्षेपको व्याजदर २० प्रतिशतले बढ्दा सेयर बजार ९० अंकले घट्यो

काठमाडौं, १४ माघ । गत साता बैंक तथा वित्तीय संस्थाहरुले मुद्दती खातामा २० देखि ३५ प्रतिशत व्याज बढाए । अघिल्लो सातासम्म बैंकहरुले निक्षेकर्ताले १० प्रतिशत व्याज दिएका थिए । गत साता एनसीसी, एनआईसी, ग्लोवल आईएमई लगायत वाणिज्य बैंकहरुले १२ प्रतिशत व्याजमा निक्षेप आह्वान गरे । वाणिज्य बैंकहरुले व्याज बढाएपछि विकास बैंक र फाइनान्स कम्पनीहरुलाई पनि असर पर्यो । ९ प्रतिशत व्याज दिदै आएको कैलाश विकास बैंकले १२ प्रतिशत व्याज प्रस्ताव गर्यो । अधिकांश राष्ट्रिय स्तरका विकास बैंकहरुले १२ प्रतिशत व्याज दिने प्रस्ताव गरे । गुडविल फाइनान्सले निक्षेपकर्तालाई १३.५ प्रतिशत व्याज प्रस्ताव गरेको छ । बैंकहरुले निक्षेपको व्याजदर वृद्धि गर्दा निक्षेपकर्तालाई लाभ भएको छ । तर सेयर बजारमा त्यसको उल्टो प्रभाव पर्यो । यस साता मात्र सेयर बजार ९० अंकले घट्यो । मुद्दती व्याजमा २० देखि ३५ प्रतिशत वृद्धि हुँदा सेयर बजार करिव ६ प्रतिशतले झरेको छ । आईतबार १४६५ मा रहेको नेप्से परिसूचक विहीबार १३७५ अंकमा झरेको छ । यस साता नेप्से परिसूचक घटे पनि कारोबार रकममा भने सुधार आएको छ । साताभर दुई अर्ब २२ करोड ९७ लाख रुपैयाँको सेयर कारोबार भएको छ । कारोबार रकम गत साताको भन्दा १९.९४ प्रतिशत बढि हो । गत साता एक अर्ब ८५ करोड ९० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । यस साता १५५ कम्पनीहरुको एक करोड ६६ लाख ६७ हजार  सेयरहरु खरिद बिक्री भएका छन् ।

त्रिशूली थ्री ‘बी’ अगाडि बढाउन अन्तर्राष्ट्रिय बोलपत्र, आगामी वैशाख १९ गतेसम्म पेश गर्नुपर्ने

काठमाडौं, १४ माघ । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी त्रिशूली जलविद्युत् कम्पनी लिमिटेडले माथिल्लो त्रिशूली थ्री ‘बी’ जलविद्युत् आयोजना अगाडि बढाउन शुक्रबार विश्वव्यापी बोलपत्र आह्वान गरेको छ । कुल ३७ मेगावाट क्षमताको सो आयोजना ‘क्यासकेड’ परियोजनाका रुपमा लिइएको छ । आयोजनाको निर्माण अघि बढाउन कम्पनीले सूचनामार्फत सीमित रुपमा विश्वव्यापी बोलपत्र आह्वान गरेको आयोजना प्रमुख मोहन गौतमले जानकारी दिए । आयोजनाले बोलपत्र पेस गर्ने अन्तिम मिति आगामी वैशाख १९ गते मङ्गलबारसम्मका लागि तोकिएको छ । प्राधिकरण र नेपाल टेलिकमको संयुक्त लगानीमा आयोजना निर्माण हुन लागेको हो । आयोजना इन्जिनियरिङ प्रोक्युमेन्ट कन्स्ट्रक्सन (इपिसी) ढाँचामा अगाडि बढाउन लागिएको परियोजना हो । बोलपत्रमा भाग लिन आयोजनाले विभिन्न सात अन्तर्राष्ट्रिय कम्पनीलाई छनोट गरेको छ । छनोट भएका कम्पनीले मात्रै बोलपत्रमा भाग लिन पाउनेछन् । पूर्वयोग्यता परीक्षणमा छनोट भएका सात कम्पनीमध्ये छवटा चिनियाँ र एक भारतीय कम्पनी रहेका छन् । बोलपत्रको आवश्यक प्रक्रिया सम्पन्न गरेर आगामी मङ्सिरबाट निर्माण शुरु गर्ने सो आयोजना आगामी तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । आयोजनामा विद्युत् प्राधिकरण र नेपाल टेलिकमको ३०/३०, आयोजना प्रभावित रसुवा, नुवाकोट जिविस, गाविस तथा रसुवा र नुवाकोटका सामुदायिक संस्थाले पाँच/पाँच, आयोजना प्रभावित १०, सर्वसाधारणलाई १५ र प्राधिकरण र टेलिकमका कर्मचारीलाई पाँच प्रतिशत सेयर दिने गरी लगानी संरचना तय गरिएको छ । नविल बैंकको नेतृत्वमा, नेपाल बैंक, जलविद्युत् लगानी तथा विकास कम्पनी लिमिटेड, नागरिक लगानी कोषले लगानी गर्ने विषयमा छलफल अन्तिम चरणमा पुगेको आयोजनाले जनाएको छ । आयोजना आर्थिक रुपमा आकर्षक भएको गौतमले बताए । उनका अनुसार आयोजनाको प्रतिफल २२ प्रतिशत हुनेछ । आयोजनाबाट वार्षिक ३० करोड युनिट बिजुली उत्पादन हुने कम्पनीले गरेको सम्भाव्यता अध्ययनले देखाएको छ । प्राधिकरणले निर्माण गरिरहेको ६० मेगावाटको माथिल्लो त्रिशूली थ्री ‘ए’ आयोजनाबाट निस्कने पानी ३.७ किलोमिटर लामो सुरुङबाट नुवाकोटको बेत्रावती नजिक सिरुवापानीस्थित विद्युत्गृहमा खसालिने छ । आयोजनाको सामान्य बाँधमात्रै निर्माण गरे हुने भएकाले लागत अन्य आयोजनाको भन्दा कम पर्ने बताइएको छ । रासस

सिद्धार्थ बैंकको पोखराको शाखा स्थानान्तरण

काठमाडौं, १४ माघ । सिद्धार्थ बैंकले पोखराको सभागृहस्थित आफ्नो शाखा कार्यालयलाई पोखराको लेकसाइडमा स्थानान्तरण गरेको छ । शाखा स्थानान्तरण कार्यक्रमको उद्घाटन बैंकका सञ्चालक समितिका सदस्य दिनेश शंकर पालिखे र बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सुन्दर प्रसाद कँडेलले संयुक्त रुपमा गरेका हुन् । बैंकले यस शाखा मार्फत् आफ्ना ग्राहकहरुलाई अझै छिटो, छरितो र सर्वसुलभ ढंगले आधुनिकतम बैंकिङ सेवा प्रदान गर्ने लक्ष्य लिएको छ । सिद्धार्थ बैंकले हाल ६१ शाखा, २ एक्स्टेन्सन काउन्टर, ६८ शाखारहित बैंकिंग सेवा केन्द्र तथा ८२ ए.टी.एम मार्फत् ग्राहकहरुलाई बैंकिंङ सेवा प्रदान गर्दै आएको छ । चालु आर्थिक वर्षको पौष मसान्तको वित्तिय विवरण अनुसार बैंकको निक्षेप ७४ अर्ब ९३ करोड रुपैयाँ र कर्जा ६२ अर्ब ६५ करोड रुपैयाँ रहेको छ । सो अवधिमा बैंकको खुद मुनाफा ७२ करोड ६० लाख रुपैयाँ रहेको छ ।