नेपाल आउने जहाजमा हतियारधारी सेना राख्ने भारतीय प्रस्ताव, नेपाल सरकार भन्छ-छलफल हुँदैछ
काठमाडौं, ६ माघ । भारतले नेपाल आउने जहाजमा हतियारधारी सेना राख्ने प्रस्ताव अघि सारेको छ । भारतले नेपाल आउने आफ्ना जहाजमा इन फ्लाइट सेक्युरीटी अफिसरका नाममा हतियारधारी सेना राख्ने योजना अघि सारेको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका निमित्त सचिव सुरेश आचार्यका अनुसार नेपालले दुई तर्फी हवाई रुट माग्ने नेपालको प्रस्तावलाई काउन्टर दिँदै भारतले इन फ्लाइट सेक्युरीटी अफिसरको प्रस्ताव अघि सारेको हो । ‘हामीले धनगढीबाट नेपाल प्रवेश गर्ने र बाहिरीने रुट मागेका थियौं तर उसले काउन्टर प्रस्तावका रुपमा इन फ्लाइट सेक्युरीटी अफिसर राख्न पाउनुपर्ने अडान लियो’, केहि दिन अघि भारतमा भएको वार्ताको प्रशंग सुनाउँदै निमित्त सचिव आचार्यले विकास समिति बैठकमा भने । हाल नेपाल भित्रिने जहाज सिमरा रुट भएर र बाहिरीने जहाज धनगढी रुट भएर उडिरहेका छन् । नेपालले धनगढी रुटबाट नेपाल भित्रिने र बाहिरीने दुबै उडान अनुमति मागिरहेको छ । नेपालले इन फ्लाइट सेक्युरीटी अफिसर राख्ने अनुमति दिएमा भारतले आफ्ना जहाजमा सादा पोशाकका हतियारधारी सेना राख्नेछ । उसको कमाण्ड जहाजको पाइटले गर्नेछ । त्यस्ता सेक्युरीटी अफिसर नेपाली भूमिमा प्रवेश गर्न भने पाउने छैनन् । उनीहरु भारतीय जहाजमा आउनेछन र जहाजमै बसेर फेरी अर्काे उडानमा जानेछ । भारतले अघि सारेको प्रस्ताव माथि छलफल भैरहेको तर कुनै निर्णय भने नभएको निमित्त सचिव आचार्यले व्यवस्थापिका संसदको विकास समितिमा बताएका हुन् ।
प्रभु बैंकलाई आस्वा प्रणालीमा सहभागी हुन बोर्डको अनुमति
काठमाडौं, ६ माघ । प्रभु बैंक लिमिटेडले (सार्वजनिक निष्काशन) सम्बन्धी निर्देशिका, २०७३ बमोजिम धितोपत्र दरखास्त संकलन गर्ने कार्य आस्वा प्रणालीमा सहभागी हुन नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरेको छ । यस अन्तर्गत सार्वजनिक रुपमा धितोपत्र निष्काशन हुँदाका बखत खरिद गर्न चाहने यस बैंकको जुनसुकै शाखा कार्यालयका खाताधनी लगानीकर्ताहरुबाट दरखास्त फारम संकलन गरी दरखास्त फारममा उल्लेख भए बमोजिमको रकम सम्बन्धित लगानीकर्ता खाताधनीकै खातामा रोक्का राख्न सक्ने बैंकले जनाएको छ । उक्त धितोपत्र बाँडफाँड भए पश्चात् निजको नाममा कायम हुन आएको धितोपत्र बराबरको रकम सम्बन्धित धितोपत्र निष्कासनकर्ता कम्पनीमा पठाई बाँकी रकम सम्बन्धित खाताधनीले पुर्ववत् रुपमा प्रयोग गर्न सक्ने गरी फुकुवा गर्ने व्यवस्था रहेको छ । यस बैंकका शाखा कार्यालयहरुका खाताधनी लगानीकर्ताहरुले सहज, सरल र झन्झट मुक्त तवरले सार्वजनिक रुपमा निष्कासन हुने धितोपत्रमा लगानी गर्न सक्ने जस्ता सुविधा प्राप्त गर्ने सक्ने बैंकले जनाएको छ ।
कृषि विकास बैंकद्धारा रक्तदान कार्यक्रम सम्पन्न
काठमाडौं, ६ माघ । कृषि विकास बैंकले आफ्नो ५० औं स्थापना दिवस (स्वर्ण जयन्ति) को अबसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । बैंकले कृषि विकास बैंक कर्मचारी संघ नेपाल मुख्य कार्यालय समितिको आयोजनामा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेको हो । उक्त कार्यक्रमको प्रमुख अतिथी ने.क.पा.(एमाले) केन्द्रीय कमिटीका सदस्य तथा पेशागत महासंघका अध्यक्ष बिश्वनाथ प्याकुरेल रहेका थिए । साथै, विशिष्ट अतिथिमा बैंक संचालक समितिका अध्यक्ष प्रमोदकुमार कार्की र प्रमुख कार्यकारी अधिकृत लिलाप्रकाश सिटौला रहेका थिए । उक्त रक्तदान कार्यक्रममा ११६ जना कर्मचारीहरुले रक्तदान गरेका छन् ।
आईएमई कस्टमर कार्ड प्रयोगमा बोनस पोईन्ट र उपहारको योजना
काठमाडौं, ६ माघ । नेपालको नम्बर १ रेमिटेन्स कम्पनी आईएमईले प्रयोगमा ल्याएको कस्टमर कार्डमा बोनस अङ्क सहित निश्चित उपहारको व्यवस्था गरेको छ । यो योजना यसै माघ १ गतेदेखि आगामी असार मसान्तसम्म लागु हुने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार योजनाअन्तर्गत कस्टुमर कार्ड प्रयोग गरी गरिएका अन्तर्राष्ट्रिय कारोबारको भुक्तानी र आन्तरिक संकलन कारोबार रकम अनुुसार निश्चित बोनस अङ्क प्राप्त हुनेछ । निश्चित बोनस अङ्कमा तोकिएको उपहार प्राप्त गर्न सकिनेछ । साथै बोनस अङ्क नलिएको अवस्थामा कस्टमर कार्ड कारोबार(आन्तरिक पठाइने) अन्तर्गत प्रत्येक दोस्रो कारोबारको सेवा शुल्कमा ५ प्रतिशत छुटको सुविधा प्राप्त गर्न सकिनेछ । पेन ड्राइभ, ब्याग, डीसहोम र मोबाईल सेट बोनस अङ्क वापत प्राप्त गर्न सकिने उपहारहरू हुने कम्पनीले जनाएको छ । पछिल्लो समयमा आईएमईले कार्डमा आधारित रेमिटेन्स सेवालाई मुख्य प्राथमिकता दिँदै आएको छ । कम्पनीले नेपालका शहरी तथा ग्रामिण क्षेत्रलाई समेट्ने गरी ७५ जिल्लाका ५,५०० सयभन्दा बढी सव-एजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखामार्फत् रेमिटेन्स सेवा दिँदै आइरहेको छ ।
फेवा विकास बैंकको नाफा ६५ प्रतिशतले वृद्धि, ६ महिनाको नाफा २८ करोड रुपैयाँ
काठमाडौं, ६ माघ । फेवा विकास बैंक लिमिटेडको नाफा चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा ६५ प्रतिशतले बढेको छ । बैंकले दोश्रो त्रैमास अर्थात ६ महिनामा २८ करोड ५३ लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ । सो नाफा गत वर्षको सोही अवधीको तुलनामा ६५ प्रतिशतले बढी हो । बैंकले चालु आर्थिक वर्षको दोश्रो त्रैमासमा १२ अर्ब ५९ करोड रुपैयाँ निक्षेप र ११ अर्ब १४ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ । गत वर्ष सोही अवधीको तुलनामा बैंकको निक्षेप र कर्जामा क्रमशः २० र २६ प्रतिशत वृद्धि भएको बैंकद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । बैंकको कर्जा निक्षेप तथा पूँजीकोष अनुपात ७८.१७ प्रतिशत र तरलता अनुपात २५.६७ प्रतिशत कायम रहेको छ । साथै बैंकको निष्कृय कर्जाको मात्रा पनि गत वर्षको तुलनामा अत्यन्तै न्यून रहेको बैंकका प्रमुख कार्यकारी अधिकृत रेशमबहादुर थापाले बताएका छन् । बैंकले केन्द्रिय कार्यालय सहित देशका विभिन्न ठाउँहरुमा गरी २९ वटा शाखा कार्यालय मार्फत बैकिङ्ग सेवा तथा सन्ध्याकालिन सेवा पनि प्रदानगर्दै आइरहेको छ । साथै, न्यून आय भएका व्यक्तिलाई विपन्न वर्ग कर्जा तथा समुहमा आवद्घ लघु वित्त कर्जा पनि प्रदान गर्दै आएको बैंकले बताएको छ । पोखरामा केन्द्रिय कार्यालय रहेको गण्डकी विकास बैंक लिमिटेडसँग गाभ्ने र गाभिने गाभ्ने/गाभिने (मर्ज गर्ने) सम्वन्धी विशेष प्रस्तावलाई समेत सर्वसम्मत रुपमा पारित गरेको छ । सभाले मर्जर पश्चात कायम हुने चक्तापूँजी १ अर्ब ८४ करोड रुपैयाँको २५ प्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्ताव समेत पारित गरेको छ ।
हुन्डाईको एक्स्चेन्ज क्याम्प आयोजना शुरु
काठमाडौं, ६ माघ । नेपालका लागि हुन्डाई गाडीको आधिकारीक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लिले तिन दिने लामो एक्स्चेन्ज क्याम्प कार्यक्रम ल्याएको छ । सो कार्यक्रम यहि माघ ६ गते बिहिबार देखि माघ ८ गते शनिबारसम्म सञ्चालन हुनेछ । ग्राहकहरुका लागि उत्कृष्ट एक्स्चेन्ज योजना र आफ्नो सवारी साधन अभिवृद्धि गर्ने सुवर्ण अवसर प्रदान गर्न कम्पनीले सो क्याम्पको आयोजना गरेको हो । साथै, लक्ष्मी इन्टरकन्टिनेन्टलले आफ्ना ग्राहक सामु नगद छुट, एक वर्षे गाडि बिमा, रोड ट्याक्स, लोयालिटी बोनस, स्पेशल इन्ट्रेस्ट रेट र एक्स्चेन्ज बोनस हरेक गाडिको बिक्री सँगै प्रदान गर्ने छ । यस कार्यक्रममा एक्स्चेन्जका साथै टेष्ट ड्राइभ एण्ड वीन र मनोरञ्जनका कार्यक्रमहरु सम्मेलित छन् । कार्यक्रम अवधिमा टेष्ट ड्राइभ गरेका मध्ये, हरेक दिन लक्की ड्र मार्फत एक भाग्यसाली ग्राहकलाई सामसुङ ग्यालेक्सि जे७ स्मार्ट फोन प्रदान गर्ने आयोजकले बताएका छन् । सो कार्यक्रम बारे बोल्दै लक्ष्मी इन्टरकन्टिनेन्टलका सेल्स एण्ड मार्केटिङ-डिजिएम रुपेष शर्माभट्टले भने,’ग्राहकहरुलाई सधै उत्कृष्ट स्ुविधा प्रदान गर्न लक्ष्मी हुन्डाई तल्लीन रहेको छ । यस देशव्यापी कार्यक्रमले पनि ग्राहकहरुलाई उत्कृष्ट एक्स्चेन्ज योजना र आफ्नो सवारी साधन अभिवृद्धि गर्ने सुवर्ण अवसर प्रदान गर्नेछ ।’ यस हुन्डाई एक्स्चेन्ज योजना देशभरका हुन्डाई डिलर नेटवर्कमा लागु हुनेछ । ग्राहकहरुको सुविधाको लागि विभिन्न कार्यक्रम र योजना आयोजना गरिरहने लक्ष्मी इन्टरकन्टिनेन्टलले यस हुन्डाई एक्स्चेन्ज योजना मार्फत निरन्तरता दिएको छ ।
नेप्से सामान्य अंकले उकालो, राष्ट्रिय बीमा कम्पनीको सेयर मूल्य १० प्रतिशतले वृद्धि
काठमाडौं, ६ माघ । साताको अन्तिम दिनको सेयर कारोबारमा सामान्य सुधार आएको छ । नेप्से परिसूचक शून्य दशमलब ३३ अंकले बढेर १४६२ दशमलब ५६ अंकमा पुगेको छ । बुधबार जस्तै बिहीबारको बजारमा पनि केही उतार चढाव आएको छ । बजारमा ३३ करोड रुपैयाँको सेयर कारोबार भएको छ । सो दिन १३१ कम्पनीको ११ लाख १ हजार कित्ता सेयर किनबेच भएको छ । बिहीबारको बजारमा सबैभन्दा बढी राष्ट्रिय बीमा कम्पनीका सेयरधनीले करिब १० प्रतिशत कमाएका छन् । ९ दशमलब ४४ अंकले बढेको कम्पनीको सेयर मूल्य प्रतिकित्ता १२ सय ४४७ रुपैयाँ रहेको छ । त्यस्तै, कर्नाली डेभलपमेन्ट बैंकका लगानीकर्ताले ८ प्रतिशत कमाएका छन् । हिमालयन डिष्टिलरीको सेयर मूल्य करिब ६ प्रतिशतले घटेको छ । बजारमा यस कम्पनीको सेयर मूल्य ६३७ रुपैयाँ रहेको छ । सोही दिन उत्पादन मूलक समूह र बैंकिङ् समूहको परिसूचक सामान्य अंकले ओरालो लागेका छन् भने कारोबार भएका बाँकी समूको परिसूचक सामान्य अंकले उकालो लागेका छन् । बीमा समूको परिसूचक ५२ दशमलब ४ अंकले बढेको छ ।
मन्त्रिपरिषद्वारा विश्व बैंकको १६ अर्ब ३७ करोड ऋण सहायता स्वीकार्ने निर्णय
काठमाडौं, ६ माघ । सरकारले सामाजिक संरक्षण र व्यक्तिगत घटना दर्ता कार्यक्रमको सवलीकरणका लागि विश्व बैंकले प्रदान गरेको १६ अर्ब ३७ करोड रुपैयाँ ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको छ । सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले रेडियो नेपालको रिक्त कार्यकारी निर्देशक पदमा सुरेशकुमार कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको सूचना तथा सञ्चारमन्त्री एवम् सरकारका प्रवक्ता सुरेन्द्रकुमार कार्कीले जानकारी दिए । कार्की यसअघि पनि रेडियो नेपालमा सोही पदमा कार्यरत थिए । बैठकले राष्ट्रिय किसान आयोग गठन गर्ने निर्णय गर्नुका साथै २०७१ सालको बाढीबाट प्रभावित बाँके, बर्दिया, दाङ, सुर्खेत र सिन्धुपलाञ्चोकमा निजी आवास पुनःनिर्माण गर्न तयार पारिएको अनुदान वितरणसम्बन्धी कार्यविधि, २०७३ लाई स्वीकृत गरेको छ । सरकारले नेपाल दूरसञ्चार प्राधिकरणमा रिक्त दुई सदस्य पदमा नियुक्तिका लागि सञ्चार सचिवको संयोजकत्वमा एक समिति पनि गठन गरेको छ । समितिको सदस्यमा मन्त्रालयका प्रशासन महाशाखाका सहसचिव र विज्ञ डा भेषराज कँडेल छन् । त्यस्तै, बैठकले प्राविधिक प्रमुख सेनानी खुमबहादुर कुँवरलाई प्राविधिक महासेनानीमा पदोन्नति गर्नुका साथै सचिवमा पदोन्नति हुनुभएका सहन्यायाधिवक्ता किरण पौडेललाई नायब महान्यायाधिवक्तामा नियुक्त गरेको छ । सरकारले सहरजिस्ट्रार नकुल सुवेदीलाई न्यायपरिषद्को सचिवमा नियुक्त गर्नुका साथै सहरजिस्ट्रार नृपध्वज निरौलालाई सर्वोच्च अदालतको रजिस्ट्रारमा नियुक्त गरेको छ । सहरजिस्ट्रार राजीव गौतमलाई कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको सचिवमा पदोन्नति गरिएको छ । त्यस्तै, सहन्यायाधिवक्ता राजनप्रसाद भट्टराईलाई बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको सचिवमा पदोन्नति गरिएको पनि उनले जानकारी दिए । सरकारले काभ्रेपलाञ्चोकमा केही दिनअघि वीभत्स हत्या गरिएका अजित मिजार र लक्ष्मी परियारको शव सद्गत गर्न, उनीहरुका परिवारलाई सहयोग गर्न र ती मुद्दालाई अदालतमा लैजान युवा तथा खेलकुदमन्त्री दलजित श्रीपाइलीको नेतृत्वमा समिति गठन गरेको छ । उनीहरु दुवैको शव हाल त्रिवि शिक्षण अस्पतालमा रहेका छन् । रासस