विकासन्युज

एनसीसी बैंकलाई आस्वा सदस्यता प्रदान

काठमाडौं, ५ माघ । नेपाल धितोपत्र बोर्डले नेपाल क्रेडिट एण्ड कमर्स बैंक लि. लाई आस्वा सदस्यता प्रदान गरेको छ । बोर्डका अनुसार यस प्रणालीबाट शेयर कारोबार गर्दा लगानी गरेको रकम लगानीकर्ताको खातामा नै रोक्का हुन्छ भने शेयर बाँडफाँड पश्चात् खाताबाट आवश्यक रकम कट्टा गरी बाँकी रकम खातामा फुकुवा गरिन्छ । यस सेवाबाट एनसीसी बैंकमा खाता भएका ग्राहकहरु प्राथमिक निष्कासनको समय आवेदन बुझाउन घण्टौं लाईन बस्नुपर्ने, बाँडफाँड पश्चात् चेक संकलन गर्नु पर्ने, चेक संकलन गर्नु पर्दा घण्टौं लाईन बस्नुपर्ने, चेक क्लियरिङ्ग गर्नुपर्ने जस्ता समस्याबाट झन्झट मुक्त हुने बैंकले जनाएको छ ।

उच्च अदालतका ८० जना न्यायाधीशलाई शपथ ग्रहण

काठमाडौं, ५ माघ । उच्च अदालतमा नियुक्त भएका नवनियुक्त ८० जना न्यायाधीशले बुधबार पद तथा गोपनीयताको शपथ लिएका छन् । सर्वोच्च अदालतमा बुधबार आयोजित विशेष समारोहमा उनीहरुलाई सम्बन्धित उच्च अदालतका मुख्य न्यायाधीशले पद तथा गोपनीयताको सपथ गराएका हुन् । समारोहमा विराटनगर उच्च अदालतका मुख्य न्यायाधीश तेजबहादुर केसी, जनकपुरका उच्च अदालतका मुख्य न्यायाधीश सुरेन्द्रवीर बस्नेत, पाटन उच्च अदालका मुख्य न्यायाधीश टङ्कबहादुर मोक्तान, पाटन उच्च अदातलका मुख्य न्यायाधीश पुरुषोत्तम भण्डारी, तुलसीपुर उच्च अदालतका मुख्य न्यायाधीश बमबहादुर श्रेष्ठ, सुर्खेत उच्च अदालतमा मुख्य न्यायाधीश डम्बरबहादुर शाही र दिपायल उच्च अदालतका मुख्य न्यायाधीश प्रकाशकुमार ढुङ्गानाले आ-आफ्नो क्षेत्रका न्यायाधीशलाई पद तथा गोपनीयताको सपथ गराएका हुन्। समारोहमा प्रधानन्यायाधीश सुशीला कार्की र कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयशङ्कर नायक र सर्वोच्च अदालतका न्यायाधीशको उपस्थिति रहेको थियो । सात उच्च अदालतमा ८० जना न्यायाधीशलाई न्याय परिषद्को सिफारिसमा सर्वोच्चका प्रधानन्यायाधीश कार्कीले पुस २९ गते नियुक्त गरेका हुन् । परिषद्ले पुस २८ गते नियुक्तिका लागि उनीहरुलाई सिफारिस गरेको थियो । रासस

नेपाल बैंकको हकप्रद निश्काशन गर्न बिक्री प्रबन्धकमा सिभिल क्यापिटल नियुक्त

काठमाडौं, ५ माघ । नेपाल बैंकले २३ दशमलब ७४ प्रतिशत हकप्रद सेयर निश्काशन गर्न लागेको छ । उक्त सेयर निष्काशनका लागि बैंकले निश्काशनकर्ता तथा बिक्री प्रबन्धकमा सिभिल क्यापिटललाई नियुक्त गरेको छ । बुधबार सम्पन्न सेयर निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गर्ने सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्रप्रताप शाह तथा क्यापिटलका प्रमुख कार्यकारी अधिकृत पराग बिष्टले हस्ताक्षर गरेका छन् । बैंकका अनुसार सिभिल क्यापिटलले बैंकको हाल कायम चुक्ता पूँजीको २३ दशमलव ७४ प्रतिशतले हुने एक करोड ५४ लाख ३१ हजार आठ सय ४० कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ । बैंकले ५६ औं वार्षिक साधारण सभाबाट पारित भए बमोजिम प्रति एक सय कित्ता बराबर २३ दशमलब ७४ कित्ता हकप्रद सेयर निष्काशनको प्रकृया अघि बढाएको बैंकले जनाएको छ । हाल बैंकको चुक्ता पूँजी छ अर्ब ५० करोड रहेको छ । सो मात्राको हकप्रद सेयर निष्काशन पश्चात बैंकको कूल चुक्ता पूँजी आठ अर्ब चार करोड रुपैंया पुग्नेछ ।

७० प्रतिशत नेपालीको बैंक खाता यसै बर्षभित्र, सरकारी पैसा बैंकबाट मात्रै

काठमाडौं, ५ माघ । सरकारले चालु आर्थिक बर्षभित्रै ७० प्रतिशत नेपालीको बैंक खाता खोल्ने महत्वकांक्षी योजना अघि सारेको छ । अर्थमन्त्री कृष्ण बहादुर महराले समृद्ध नेपालको लागि दिगो आर्थिक विकासको तत्कालिन कार्यान्वयन कार्ययोजना २०७३ सार्वजनिक गर्दै यसै आव भित्र ७० प्रतिशत नेपालीको बैंक खाता खोलिसक्ने घोषणा गरेका हुन् । मन्त्री महराले द्धन्द्धकालमा विस्थापित भएका बैंकका शाखाहरु पुनस्थापित गर्ने, बैंक तथा वित्तिय संस्थाहरुलाई गाउँगाउँमा शाखा विस्तार गर्न प्रोत्साहन गर्ने, वित्तिय साक्षरता अभियानलाई तिब्र बनाउने लगायतका योजना मार्फत ७० प्रतिशत नेपालीको बैंक खाता खोलिसक्ने दावी गरेका हुन् । उनले एक व्यक्ति एक बैंक खाता कार्यक्रम अन्तर्गत शुन्य मौज्दातमा खाता खोल्ने अभियान चलाउने र सो वापतको सेवा शुल्क बैंक तथा वित्तिय संस्थालाई सरकारले नै उपलब्ध गराउने नीति रहेको पनि जानकारी गराए । राष्ट्रिय बाणिज्य बैंकले द्धन्द्धकालमा विस्थापित आफ्ना ६५ शाखा पुनस्थापित गराउने तयारी अघि बढाएको जानकारी पनि मन्त्री महराले दिएका थिए । ग्रामिण क्षेत्रमा पुगेर उत्पादन मुलक क्षेत्रमा केन्द्रिय बैंकले तोके भन्दा बढि कर्जा प्रवाह गर्ने बैंकलाई प्रोत्साहन उपलब्ध गराउने पनि उनले घोषणा गरे । उनले ब्याजदर करिडोरलाई कडाईका साथ लागु गर्ने, बैंक तथा वित्तिय संस्थाहरुमा रहेको २ लाखसम्मको निक्षेप सुरक्षणलाई थप प्रभावकारी बनाउने, मझौला उद्यम कर्जा र लघुवित्त विपन्न कर्जाको सुरक्षण अनिवार्य गर्ने पनि बताए । त्यस्तै, एक बैंक शाखा एक नमुना कार्यक्रम सञ्चालन गरेर ग्रामिण अर्थतन्त्रलाई उकास्ने पनि मन्त्री महराको कार्ययोजनामा समेटिएको छ । सरकारी पैसा बैंकबाट मात्रै मन्त्री महराले सार्वजनिक गरेको योजनामा आगामी बर्षदेखि हुने सबै खाले सरकारी भुक्तानीलाई बैंकिङ च्यानल अनिवार्य गरिने उल्लेख गरिएको छ । वित्तिय अनुशासनलाई बढावा दिन सरकारी निकाय मार्फत हुने सबै नगद प्रवाह बैंक खाता मार्फत मात्रै गर्ने प्रबन्ध मिलाईने उनले उल्लेख गरेका छन् ।

लक्ष्मी बैंकको नयाँ शाखा काठमाडौंको पुरानो बानेश्वरमा सञ्चालन

काठमाडौं, ५ माघ । लक्ष्मी बैंकले आफ्नो नयाँ शाखा काठमाडौंको पुरानो बानेश्वरमा संचालनमा ल्याएकोे छ । बैंकले शाखा संजाल विस्तार गर्ने क्रममा बुधबार उक्त शाखा संचालन गरेको हो । यस शाखा पश्चात् काठमाडौँमा लक्ष्मी बैंकको १६ वटा शाखाहरु हुनेछ । बैंकको शाखा संजाल अब ६५, ३ विस्तार काउन्टर अनि ८१ ए.टि.एम पुगेको छ । यस शाखाको विस्तार सँगै बैंकले ग्राहकहरुलाई उनीहरुकै रोजाईको माध्यम अर्थात शाखा कार्यालय, इन्टरनेट बैंकिङ्ग र मोवाईल फोन मार्फत बैंकिङ्ग सेवा प्रादन गरी शहरी तथा अर्ध शहरी क्षेत्रमा आफ्नो ब्राण्ड तथा ग्राहक अनुभवलाई अझ सशक्त पार्ने नीतिअनुरुप महत्वपूर्ण फड्को मार्ने विश्वास लिएको छ । सुविधाजनक नयाँ निक्षेप योजनाहरु र विभिन्न आवधिक तथा बचत निक्षेप सेवाहरुका साथसाथै व्यक्तीगत तथा साना व्यवसायकर्जा सेवाहरु प्रदान गरी व्यक्तीगत तथा साना व्यवसाय बैंकिङ्ग सेवाको दायरालई फराकिलो पार्दै जाने बैंकको लक्ष्य छ । आगामी दिनहरुमा बैंकले अझ धेरै शाखा अनि सेवाहरु देशभरि विस्तार गर्ने लक्ष्य लिएको छ ।

नेप्से सामान्य अंकले ओरालो, हिमाल डिष्टिलरीको सेयर मूल्य १० प्रतिशतले गिरावट

काठमाडौं, ५ माघ । बुधबारको सेयर बजारमा निकै उतारचढाव देखिएको छ । बजारमा कारोबार शुरु भएको एक घण्टामै नेप्से परिसूचक घटेर १४५७ अंकमा पुगेको थियो । त्यस पछिको कारोबारमा भने परिसूचकलाई केही टेवा पुगेको देखिन्छ । बजार बन्द हुँदा नेप्से परिसूचक शून्य दशमलब ८१ अंकले घटेर १४६२ दशमलब २३ अंकमा अडिएको छ । सामान्य अंकले घटेको बजारमा ३० करोड ९४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सबैभन्दा बढी प्रभु बैंकको ३ करोड बढी रुपैयाँको सेयर कारोबार भएको छ । बजारमा बैंकको सेयर मूल्य प्रतिकित्ता ३४७ रुपैयाँ रहेको छ । सो दिन कुल १३३ कम्पनीको १२ लाख १७ हजार कित्ता सेयर किनबेच भएको छ । बजारमा सबैभन्दा बढी जनउत्थान सामुदायिक लघुवित्त विकास बैंकका लगानीकर्ताले करिब ९ प्रतिशत कमाएका छन् । सो दिन यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता १ हजार ८६० रुपैयाँ रहेको छ । सोही बजारमा सबैभन्दा बढी हिमालयन डिष्टिलरी लिमिटेडको सेयर मूल्य १० प्रतिशतले घटेको छ । यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता ६७५ रुपैयाँ रहेको छ । त्यस्तै, खानीखोला हाइड्रोपावर कम्पनीको सेयर मूल्य करिब १० प्रतिशतले घटेको छ । बुधबार इन्स्योरेन्स र विकास बैंक समूूहको परिसूचक बाहेक बाँकी समूहको परिसूचक ओरालो लागेका छन् । बीमा समूहको परिसूचक ६६ अंकले र विकास बैंक समूूहको परिसूचक ६ अंकले उकालो लागेका हुुन् । होटल र उत्पादनमूलक समूहको परिसूचक दोहोरो अंकले ओरालो लागेका छन् ।

७० अर्बको लागतमा मल उद्योग स्थापना गर्ने, प्रतिवर्ष सात लाख मेट्रिक टन मल उत्पादन गर्ने लक्ष्य

काठमाडौं, ५ माघ । लगानी बोर्डले रासायनिक मल उद्योग कारखाना  स्थापना सम्भाव्यता अध्ययन प्रतिवेदन खासै उत्कृष्ट नरहेको प्रारम्भिक चरणमा ठहर गरको छ । भारतको डेभलपमेन्ट कर्पोरेशन (कर्नाटक) लिमिटेडले ढल्केवरमा सो कारखाना स्थापना गर्न विस्तृत अध्ययन गरी बोर्डसमक्ष हालै प्रतिवेदन बुझाएको थियो । प्रस्तुत प्रतिवेदनमा प्रतिवर्ष सात लाख मेट्रिक टन मल उत्पादन गर्न सक्ने गरी सो क्षेत्रमा एक सय ६२ हेक्टर जग्गामा कारखाना स्थापना गर्न सकिने उल्लेख छ । व्यवस्थापिका-संसद, कृषि तथा जलस्रोत समितिको बुधबारको बैठकमा बोर्डका कार्यकारी निर्देशक महाप्रसाद अधिकारीले सो जानकारी गराउँदै प्रारम्भिक अध्ययनमा प्रतिवेदन उत्कृष्ट नठहरिएको बताए । उनका अनुसार प्रतिवेदनले कारखाना स्थापनाका लागि ७० अर्ब रुपैयाँ लाग्ने र यसका लागि करिब तीन सय मेगावाट ऊर्जाको आवश्यकता पर्ने उल्लेख छ । कार्यकारी निर्देशक अधिकारीले प्रतिवेदनमा बोर्डले विस्तृत अध्ययन गरी सरकारलाई सुझाव दिने बैठकमा जानकारी दिए। उनले हालसम्म पश्चिम सेती (७५० मेगावाट), अरुण ३ (९०० मेगावाट), माथिल्लो कर्णाली (९०० मेगावाट) जस्ता जलविद्युत् आयोजनाका कार्यान्वयनस्थिति र प्रगतिबारे बैठकमा जानकारी गराएका थिए । सुर्खेत, दैलेख र अछाम जिल्लामा आयोजना क्षेत्र रहेको माथिल्लो कर्णाली जलविद्युत् आयोजनालाई आवश्यक पर्ने जग्गा अधिग्रहण हुन लागेको छ । सो आयोजनाको लागत एक खर्ब १५ अर्ब रुपैयाँको छ । यसैगरी सङ्खुवासभामा आयोजनास्थल रहेको अरुण ३ का लागि जग्गा अधिग्रहणको कार्य जारी छ । सो आयोजनाको लागत ६७ अर्ब रुपैयाँ छ भने डोटी, डडेलधुरा, बझाङ र बैतडी आयोजनास्थल रहेको पश्चिम सेती कार्यान्वयन चरणमा छ । बैठकमा सांसद लक्ष्मीप्रसाद पोखरेलले सरकारले आयोजना कार्यान्वयनका क्रममा निजी जग्गालाई दिने मुआब्जा समान रुपमा वितरण गर्न आग्रह गरेका छन् । अर्का सांसद डिल्लीप्रसाद काफ्लेले कलकारखाना स्थापना गर्न सरकारले पहिलो प्राथमिकता दिन र सम्भाव्यता प्रतिवेदनलाई थप अध्ययन गर्न सुझाव दिए । सांसद अमृतकुमार बोहराले ठूला जलविद्युत् आयोजनालाई निर्धारित समयभित्र पूरा गर्न सरकारले अनुगमनलाई ध्यान दिनुपर्ने बताए । रासस

तेस्रो बङ्गलादेश एक्स्पो-२०१७ भृकुटीमण्डपमा सञ्चालन हुँदै

काठमाडौं, ५ माघ । आपूर्तिमन्त्री दीपक बोहरा र बङ्गलादेशी राजदूत मास्फी विन्ते शाम्सले भृकुटीमण्डपको प्रदर्शनी कक्षमा आयोजना गरिएको तेस्रो बङ्गलादेश एक्स्पो-२०१७ को मङ्गलबार संयुक्तरुपमा उद्घाटन गरेका छन्। माघ ४ गतेदेखि ८ गतेसम्म जारी रहने सो एक्स्पोमा बङ्गलादेशबाट भवन तथा निर्माण सामग्री, छालाका सामग्री, कपडा, जुत्ता, इलेक्ट्रिोनिक सामान, हस्तकला, जेनेरेटर, मोटर साइकल, प्रशोधित खाद्य, सञ्चार प्रविधि, शैक्षिक संस्थाका सामानका स्टल राखिएका छन् । सो एक्स्पोमा नेपाली निर्यात तथा उत्पादन पनि प्रदर्शनीमा राखिएका छन् । प्रदर्शनी दुवै देशका व्यापारी तथा निर्यातकर्तालाई फाइदा पुर्याउने उद्देश्यले गरिएको बङ्गलादेशी दूतावासले मङ्गलबार प्रकाशित विज्ञप्तिमा जनाएको छ । उद्घाटन कार्यक्रममा वाणिज्य सचिव ङइन्द्रप्रसाद उपाध्याय, सिएनआइका हरिहर शर्मा, एनसिसीका राजेशकाजी श्रेष्ठ तथा नेपाल उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष भवानी राणालगायतको उपस्थिति रहेको थियो । रासस