विकासन्युज

सुर्यालाइफ इन्स्योरेन्समा चरम अस्थिरता, सात वर्षमा पाँच कार्यकारी प्रमुख फेरिए

सूर्यालाइफ इन्स्योरेन्स सञ्चालनमा आएको करिब सात वर्ष मात्र भएको छ । २०६४ चैतबाट सञ्चालनमा आएको यस कम्पनीमा हालसम्म पाँच जना कार्यकारी प्रमुख आए र गए । छैटौ कार्यकारी प्रमुखको लागि कम्पनीले ‘वान्टेड नोटिसी’ जारी गरेको छ । कम्पनीको यो पदमा आवेदन दिन ४ दिन बाँकी रहेको छ । कम्पनीको प्रमुख पदमा रहेका कतिपयको योग्यता नियामक निकाय बीमा समितिले तोके अनुरुप नपुगेपछि छोड्नु परेको जानकारहरु बताउँछन । कोही आन्तरिक विवादले त कोही सञ्चालक समितिबाट बढि किचलो भयो भन्दै निस्किएका देखिन्छन । अग्रवाल समूहको पकडमा रहेको यस कम्पनीको पहिलो प्रमुखको रुपमा भारतीय नागरिक बी.सी. शर्मा थिए । संस्थापक प्रमखको रुपमा रहेका शर्माले करिब ७ महिनामात्र यो जिम्मेवारी सम्हाले । त्यसपछि कम्पनीको कार्यकारी प्रमुखको रुपमा शेखर बराल, नन्द किशोर शर्मा, गोपाल धिमिरे र मनोज लाल कर्णले जिम्मेवारी सम्हाले । शर्मालगतै महाप्रबन्धकको जिम्मेवारी सम्हालेका शेखर बराल नै कम्पनीमा लामो समय रहेका प्रमूख हुन् । उनले करिब डेढ बर्ष कम्पनीमा व्यतित गरे । राम्रो अवसर पाएपछि बरालले सूर्यालाइफ छोडेका हुन । बरालले छोडेपछि केही समय रिक्त रहेको पदमा सञ्चालक मध्येकै एक नन्दकिशोर शर्माले प्रमूखको जिम्मेवारी सम्हाले । तर त्यसैबीच बीमा समितिले बीमा कम्पनीहरुको योग्यता तोक्यो । बीमा कम्पनीमा प्रमूख हुन कम्तिमा स्नातकोत्तर गरेको हुनु पर्ने लगायतका प्रावधान रहेपछि नन्द किशोर शर्माले पनि पद छोड्नु परेको हो । नन्दकिशोर शर्मापछि कार्यकारी प्रमूखको जिम्मेवारी सम्हालेका गोपाल घिमिरेले पनि केही महिनामा कम्पनी छाडे । सञ्चालक समितिबाट किचलो भइरहने, साना साना बिषयमा पनि निर्देशन आइरहने लगायतको कारणले घिमिरेले कम्पनी छाडेको बुझिएको छ । घिमिरे लगत्तै प्रमूखको रुपमा कार्यवहाक महाप्रबन्धक भएर काम गरेका मनोज लाल कर्णले सबैभन्दा छोटो समय जिम्मेवारी सम्हाले । गत भदौं २६ गते यो जिम्मेवारी सम्हालेका कर्णले गत पुस ४ गते नै कम्पनी छाडे । उनले जिम्मेवारी छाड्नुमा आन्तरिक विवाद रहेको बुझिएको छ । उनको कार्यकालमा भएको कामकारवाहीको कम्पनीले छानबिन गरिरहेको स्रोत बताउँछ । कम्पनीको व्यवस्थापन तहमा नै अस्थिरता देखिदै आएको छ । महाप्रबन्धकमात्र होइन कम्पनीको सहायक महाप्रबन्धकमा पनि तारम्तार फेरबदल भइरहने गरेको छ । दुई बर्षको अन्तरालमा सहायक महाप्रबन्धकमा 2 जना फेरिइसकेको छ ।

सोल्टि होटेलको लागि सन् २०१४ सम्मानित बर्ष, एक राष्ट्रिय र चार अन्तराष्ट्रिय सम्मान

२५ पुस । नेपालको होटल व्यवसायको चम्किलो ताराको रुपमा स्थापित हुन सफल सोल्टि होटेललाई सन् २०१४ सम्मान प्राप्तिको बर्ष बनेको छ । यो एक बर्षको अवधिमा पाँच तारे यस होटेलले एक राष्ट्रिय र चार वटा अन्तराष्ट्रिय गरि पाँच सम्मान थापेको छ । आर्थिक बर्ष २०६९/७० मा होटल व्यवसाय क्षेत्रबाट सरकारलाई सबैभन्दा बढी कर तिर्ने होटलको रुपमा सोल्टिले सम्मान पाएको हो । होटेलले गत मंसिर १ तेस्रो राष्ट्रीय कर दिवसको अवसरमा आन्तरिक राजश्व विभागबाट सम्मान पाएको हो । होटेललाई अर्थमन्त्री डा. राम शरण महतले यस्तो सम्मान प्रदान गरेका हुन् । यो अवधिमा होटेलले ट्रिप एडभाइजर ट्राभलर्स च्वाइस अवार्ड २०१४, ट्रिप एडभाइजर सर्टिफिकेट अफ एक्सिलेन्स अवार्ड २०१४, सफारी इण्डिया साउथ एसिया ट्राभल अवार्डस् फर वेष्ट लग्जरी होटेल २०१४ र टुडेज ट्राभलर अवार्ड – वेष्ट इन्टरनेशनल विजनेश होटेल इन नेपाल २०१४ पाएको हो । होटलबाट दिइने सेवा तथा उत्पादनको यात्रुहरुबाट प्राप्त समिक्षाको आधारमा ट्रिप एडभाइजर ट्राभलर्स च्वाइस अवार्ड २०१४ प्रदान गरिएको हो । लोकप्रिय होटल बुकिङ वेभ पोर्टलमा आएका समिक्षाको आधारमा ट्रिप एडभाइजरले यस्तो सम्मान दिने गर्दछ । ट्रिप एडभाइजर सर्टिफिकेट अफ एक्सिलेन्स अवार्ड २०१४ पनि ट्रिप एडभाइजरले उसको साइटमा यात्रुहरुबाट गरिएको समिक्षाको आधारमा उत्कृष्ठ होटल व्यवसायीको रुपमा सोल्टिलाई सम्मान दिइएको हो । विश्वभरीका यात्रा सम्बन्धि लेखकहरुको संगठन पयासिफिक एरिया ट्राभल राइटरस् एशोशिएसनले होटेललाई उत्कृष्टको रुपमा सफारी इण्डिया साउथ एसिया ट्राभल अवार्डस् फर वेष्ट लग्जरी होटेल २०१४ बाट सम्मान गरेको हो । त्यस्तै, सोल्टि क्राउन प्लाजा भारतको टुडेज ट्राभलरबाट यात्रा तथा पर्यटन उद्योगमा क्षेत्रमा उत्कृष्ट हुने होटेलको रुपमा सोल्टि टुडेज ट्राभलर अवार्डबाट सम्मानित भएको हो ।  

इन्भेष्टमेन्ट कम्पनीका लगानीकर्ता ठगिदैछन्

२३ पुस । केही इन्भेष्टमेन्ट कम्पनीहरुले लगानीकर्तालाई ठगिरहेको खुलासा भएको छ । सेयर लगायत अन्य आर्थिक क्षेत्रमा लगानी गर्ने उदेश्यका साथ स्थापना भएका इन्भेष्टमेन्ट कम्पनीहरु मध्ये केहीले लगानीकर्ता ठगिरहेका हुन । राजधानी इन्भेष्टमेन्ट फण्ड सेयरबजारका ठुला लगानीकर्ता निर्मल प्रधानबाट उनको कम्पनी राजधानी इन्भेष्टमेण्ट फण्डमा रहेका लगानीकर्ता ठगिदै छन् । प्रधानले फण्डको सेयर लिएका लगानीकर्ताहरुको लगानी रकमको ४० प्रतिशत रकम ठगि गरिरहेका हुन् । हामीले फण्डमा लगानी गरेको कुलमध्ये ६० प्रतिशत बराबर रकम मात्र प्रधानले फिर्ता गर्ने बताएका छन, एक लगानीकर्ताले भने । प्रधानले ६० प्रतिशत रकम बराबरको नेपाल क्रेडिट एण्ड कमर्श बैंक (एनसीसी)को सेयर दिएर रकम फिर्ता गरिरहेका हुन् । योसंगै बाँकी ४० प्रतिशत रकमको दायित्व प्रधानले नलिने भएका छन् । प्रधानले अघिल्लो वर्ष यस्तो गरेको स्वीकारेका छन। ‘गत बर्ष हाम्रो कम्पनीको नेटवर्थ ४९ रुपैयाँँ भएको थियो, त्यसैले मैले लगानीकर्तालाई प्रतिकित्ता बराबर ६० रुपैयाँ वा ६० प्रतिशत लगानी बराबरको एनसीसीको सेयर लिन भनेको थिएँ । उहाँहरुले त्यतिखेर एनसीसीको सेयर लिदा २४० रुपैयाँ मूल्य थियो, बेच्दा सात सय रुपैयाँसम्म पाए यसले त फाइदा नै भएको देखाउँछ नि’¬–प्रधानले भने । अहिले भने प्रधानले लगानीकर्तालाई प्रतिकित्ता एक सय रुपैयाँ रकम फिर्ता दिएको दाबी गरेका छन् । तर रकम फिर्ता लिन बाँकी रहेका ती लगानीकर्ताले भने अहिले पनि प्रधानले पुरानै र्शत राखेको बताएका छन् । प्रधानका अनुसार हाल कम्पनीको नेटवर्थ ४८.५० रहेको छ भने कुल १६५ जनामा जम्मा ३२ लगानीकर्ता बाँकी छन्। करिब १५ जना भने प्रधान र प्रधानका परिवार तथा समूहका व्यक्तिहरु हुन् । करिब ७ वर्षअघिदेखि सञ्चालनमा रहेको राजधानी इन्भेष्टमेन्ट फण्डका अध्यक्ष निर्मल प्रधान हुन् । फण्डले २०६६ फागुनमा प्राथमिक सेयर निष्कासनको लागि धितोपत्र बोर्डमा अनुमति समेत मागेको थियो । यस्तो अनुमति माग्नु अघि नै सर्वसाधारणबाट रकम संकलन गरेको आरोपमा कम्पनीलाई धितोपत्र बोर्डले कारवाही समेत गरेको थियो । पिपुल्स इन्भेष्टमेन्ट कम्पनी आर्थिक वर्ष २०६४/६५ बाट सञ्चालनमा रहेको पिपुल्स इन्भेष्टमेन्ट कम्पनीमा अध्यक्ष गुरु प्रसाद न्यौपानेले यस्तै ठगि गरिएको बुझिएको छ । ‘न्यौपानेले पटकपटक मान्छे पठाएर लगानीकर्ताहरुसंग सस्तोमा कम्पनीको सेयर खरिद गर्दैआएका छन्, अहिले मैले मेरो नजिक सबैलाई त्यसरी सेयर नबेच्न भन्दै आएको छु’, पिपुल्स इन्भेष्टमेन्ट फण्डका पूर्व अध्यक्ष नागेन ढकालले बताए । यस्तो प्रस्ताव राखेकै कारण केही लगानीकर्ताहरुले न्यौपानलाई कम्पनीको गत कात्तिकमा भएको सातौं वार्षिक साधारण सभामा घेराबन्दीसहित बिरोध समेत गरेका थिए । कम्पनीले सात बर्षमा पहिलो पटक ९.५२ प्रतिशत बोनस र ६ प्रतिशत नगद लाभांश दिएको छ । हाल कम्पनीमा चार सय १८ जना सेयरधनी रहेका छन भने चुक्तापूँजी १० करोड रुपैयाँ रहेको छ । न्यौपानेले भने त्यसमा कुनै सत्यता नभएको विकासन्युजसंगको कुराकानीमा दाबी गरेका छन। पुँजीबजारको नियमक निकाय धितोपत्र बोर्डले भने यी कम्पनीहरुमा देखिने यस्ता समस्यामा कुनै कारवाही गर्न नमिल्ने बताएको छ। धितोपत्र बोर्डका प्रवत्ता तथा निर्देशक निरज गिरीले भने, यी सुचीकृत कम्पनी नभएकोले हामीहरुमा यिनीहरुको सुपरिवेक्षण लगायत कुनै पनि दायित्व हुदैन ।

माथिल्लो मस्र्याङदी–ए मा ११ सय ४५ जनालाई रोजगारी

२२ पुस । नेपालमा बेरोजगारी समस्या बढ्दै गइरहेको बेला चीनको एक बहुराष्ट्रिय कम्पनीले लमजुङमा एक हजार भन्दा बढि महिला पुरुषलाई रोजगारी दिलाएको छ । जडित क्षमता ५० मेगावाट रहेको माथिल्लो मस्र्याङ्दी–ए जलविद्युत आयोजनाले १९ महिलासहित ११ सय ४५ जनालाई रोजगारी दिएको हो । आगामी जुलाईको अन्त्यसम्मा आयोजना निर्माणको सम्पूर्ण कार्य सक्ने लक्ष्यका साथ प्रवद्र्धक कम्पनी सिनो–सगरमाथा हाइड्रोपावर प्रालिले यतिका कामदारलाई रोजगारी दिएको छ । निर्माण थालेको छोटो समयमा ८० प्रतिशत काम सकिएको यस आयोजनामा ७ सय जना नेपाली कामदार र ४ सय जना चिनियाँ कामदार कार्यरत रहेको आयोजनाका सहायक म्यानेजिङ डाइरेक्टर चाङ फा पिनले कारोबारलाई बताए । उनले भने, “आयोजनामा डेढ महिनाभन्दा बढि बन्द हडताल भई निर्माण कार्यमा अवरोध आएपनि आफुहरुले आयोजना बन्द भएको बेलामा बाँकी रहेको काम सँगसँगै लगेका छौं ।” आयोजना प्रभावित क्षेत्रका ४ सय ४ जनासहित जिल्लाका ७ सय ६ जना कामदारलाई आयोजनामा रोजगारी दिइएको छ । प्रभावित क्षेत्र अन्तर्गत भुलभुले गाविसबाट १ सय ९९ जना, खुदी गाविसबाट १ सय २१ जना, बाहुनडाँडा गाविसबाट ५२ जना र सिम्पानी गाविसबाट ३२ जना कामदार आयोजनामा कार्यरत रहेका छन् । प्रभावित क्षेत्रका मजदुरले आयोजनाबाट मासिक रुपमा ८० लाख भन्दा बढी र बार्षिक रुपमा १० करोड आम्दानी गर्न गरेको आयोजनाको तथ्याङ्कमा उल्लेख गरिएको छ । केही बर्षअघिसम्म जिल्लाबाट बार्षिक रुपमा हजारौ युवाहरु विदेश पलायन हुने गरेको तथ्याङ्क भेटिएपनि विगत ३ बर्षअघि देखि भने यो दर घटेको बताइएको छ । पछिल्लो समययता जिल्लामा एक पछि अर्को गर्दै जलविद्युत आयोजनाहरु निर्माण हुन थालेपछि जिल्लाबाट बैदेशिक रोजगारीमा जाने युवाहरुको संख्यामा केही कमी आएको पाइएको छ । ५० मेगावाट क्षमताको एउटा आयोजनाले विगत साँढे २ बर्षअघि देखि ११ सय कामदारलाई रोजगारी दिएको छ भने जिल्लामा निर्माण सम्पन्न ४.४ मेगावाट क्षमताको राँधी खोला र सिउरी खोलाले पनि त्यही अनुपातमा जिल्लाका युवाहरुलाई रोजगारी दिएको थियो । यसैगरी दोर्दी करिडोरमा पनि अहिले ३ वटा जलविद्युत आयोजनाहरु निर्माणाधिन अवस्थामा रहेका छन् । जसमा १ दशमलव ७ मेगावाट क्षमताको छयाङ्दी खोला, २७ मेगावाट क्षमताको दोर्दी र २५ मेगावाट Ôमताको माथिल्लो दोर्दी ए जलविद्युत आयोजना रहेका छन् । पूर्ण रुपमा यि तीनै आयोजनाहरु संचालन हुन थालेपछि जिल्लाका झण्डै तीनहजार युवाहरुले रोजगारी पाउने छन् । भुलभुलेमा रहेको ५० मेगावाट क्षमताको माथिल्लो मस्र्याङ्दी–ए जलविद्युत आयोजनाले तोकीएको समयमा आयोजनाको सबै कमम सक्नको लागि आगामी जुलाई महिनासम्म अरु केही कामदार थप गर्ने जनाएको छ । आयोजनाका सहायक म्यानेजिङ डाइरेक्टर चाङ फा पिनले भने, “सानो जिल्लामा यो एउटा आयोजना निर्माण हुँदा यति कामदारहरु लाभान्वित भएका छन् । यही मस्याङ्दी करिडोरमा बन्न लागेको ६०० मेगावाटको माथिल्लो मस्र्याङ्दी–२ र १ सय ३७ मेगावाट क्षमताको अपर मस्र्याङ्दी–१ बन्ने हो भने जिल्लाका युवाहरु बैदेशिक रोजगारीमा जानु पर्देन् । ”

गाउँगाउँमा स्मार्ट फोन जाँदैछ

तपाई कुन कुन मोबाइल बोक्नु हुन्छ ? म नोट फोर बोक्छु । एउटा सामसङकै एस फाइभ बोक्छु । सामसङले नेपाली बजारमा सार्वजनिक गरिनसकेको सिडिएमए फोन बोक्छु । ट्याबलेटमा नोट प्रो बोक्छु । गियर एस बोक्छु । कुन कुन एप्सहरु प्रयोग गर्नु हुन्छ ? नोट प्रोको प्रयोग म नोट बनाउन प्रयोग गर्छु । मैले कलम कापीको प्रयोग गर्दिन् । एस नोट फिचर म अलि धेरै नै प्रयोग गर्छु । त्यस बाहेक, फेसबुक, फोन, एसएमएस त सामान्य नै हुन्छन् । विश्वमा के भैइरहेको छ भन्ने थाहा पाउन फ्लिप बोर्ड एप्स चलाउँछु । नयाँ टेक्नोलोजी के के आईरहेका छन् भनेर पत्ता लगाउन यो एप्स प्रयोग गर्छु । तपाईको दैनिकीमा नगदको प्रयोग कत्तिको हुन्छ ? म अमेरिका बसेर पढेको मान्छे । त्यसैले पनि त्यति धेरै नगदको कारोबार गर्दिन् । प्रायः जसो क्रेडिट÷डेबिट कार्डहरुकै प्रयोग गर्छु । तर पनि क्यास नबोकि हुँदैन् । केही हदसम्म क्यास पनि बोक्छु । म जाने प्रायः जसो ठाउमा भुक्तानी गर्नुपर्दा कार्डबाटै प्रयोग गर्छु । ७५ प्रतिशत भन्दा बढी कार्डबाटै कारोबार गर्छु । सामसङका कुन कुन शोरुमहरुमा कार्डबाट कारोबार हुन्छ ? हाम्रो सबै शोरुमहरुमा त्यस्तो सुबिधा छ । कार्डबाट कारोबार गर्ने सिस्टमको शुल्क कति छ ? यो सिस्टम जडान गरेर चलाउन ३ देखि ४ प्रतिशत लाग्ने रहेछ । प्रत्येक कारोबारमा त्यति पैसा लाग्ने रहेछ । त्यसैले पनि नेपालमा धेरैले यो सुबिधा लागू गर्न हिच्किचाउने गरेको देखियो । हामीले यो शुल्क आफैं व्यहोर्दै आएका छौं । तपाईका कति प्रतिशत उपभोक्ताले कार्डबाट मोबाइल खरिद गर्छन् ? नेपाल भरीनै कार्डबाट कारोबार गर्नेहरुको संख्या त्यति धेरै छैन् । कार्डप्रतिको विश्वास पनि विकास भैसकेको छैन् । त्यसका लागि केहि समय अझै लाग्छ । सबै ठाउँमा नचल्ने भएकाले पनि कतिपय अवस्थामा कार्डबाट कारोबार बढेको छैन् । तपाईले बोकेका आइटी डिभाइसको मूल्य कति होला ? नोट प्याडको करिव ९० हजार, ल्यापटपको एक लाख, हातमा बाँधेको गियरको ४० हजार, नोट फोरको ८० हजार, एस फाईभको ६० हजार र सिडिएमए फोनको १० हजार रुपैयाँ जति पर्छ । गियर सर्कल भन्ने ब्ल्युटुथ डिभाईस छ त्यसको पनि १० हजार रुपैयाँ जति मुल्य पर्छ । यी सबै समान छुट्यो भने के हुन्छ ? यी सबै समान छुट्यो भने म अफिस नआएर घरमै बसेपनि हुन्छ । मुख्य कुरा फोन र ल्यापटप भएन भने चाँही म घरमै बसेपनि हुन्छ । तपाईका यी समान हराए भने त्यहाँका डकुमेन्टहरुको सुरक्षा सम्भव छ ? मेरा समानहरु हरायो भने कसैले दुरुपयोग गर्न सक्दैनन् । फुटाएर फाल्नुको बिकल्प हुन्न । कसैले लगेर दुरुपयोग गर्ने सम्भावनै छैन । मैले ट्राकिङ सिस्टम जडान गरेको छु । हराउने बित्तिकै कहाँ छ भन्ने पत्ता लगाउन सकिन्छ । प्रि–इन्सर्टको सुबिधा पनि प्रयोग गरेको छु । त्यसले कहाँ छ समान भन्ने तत्काल पत्ता लगाउन सकिन्छ । तपाई विश्वकै ए ग्रेडको आईटी प्रयोगकर्ता हो ? सामसङ विश्वकै टप आईटी ब्राण्ड हो । म यसको नेशनल डिष्ट्रिव्युटर हुँ । सामसङका सबै नयाँ आईटी डिभाईसहरु मसँग हुन्छन् र मैले प्रयोग गर्ने अवसर पाउँदै आएको छु । कुरा यत्ति हो । ग्रेडिङ कसरी गर्ने हो त्यो आफैं बुझौं । विश्व बजार र नेपालको टेक्नोलोजीको बजार कस्तो देख्नु हुन्छ ? आईटी पूर्वाधारका दृष्टिकोणमा हेर्ने हो भने हामी अलि पछाडी नै छौं । तर पनि डिभाईसहरुको प्रयोगमा भने नेपाली पनि पछाडी छैनन् । बजारमा आएका नयाँ उत्पादनहरु तत्कालै खरिद गरेर प्रयोग गर्ने मानिसहरु पनि थुप्रै छन् । हामी खासै पछाडी छैनौं । यद्यपि हाम्रा कार्यालयहरु भने टेक्नो फ्रेण्डी भैसकेका छैनन् । कम्प्युटराईज्ड सिस्टम लागू भैसकेको छैन । यसले समयको अधिकतम सदुपयोग गर्न सकिएको छैन । तपाईको अफिसको आईटी प्रशासनको अवस्था कस्तो छ ? डाटा भनेको अत्यन्तै क्रिटिकल बस्तु हो । त्यसकारण यसको सुरक्षा प्रमुख चुनौती हो । हाम्रो कम्पनी सबै रुपमा नयाँ टेक्नोलोजीले भरिपूर्ण छ । मेरो ल्याण्डलाईन फोनमा पनि ट्याबलेड जोडिएको छ । बाहिर कोहि मान्छे आयो कि भनेर यहीबाट हेर्न सकिन्छ । हाम्रो कम्पनीका सबै जानकारी हाम्रो आफ्नै सर्भरमा सुरक्षित छन् । तोडफोड वा आगलागी भयो भने पनि हाम्रा डाटाहरु सुरक्षित नै रहन्छन् र हाम्रो व्यवासायमा कुनै बाधा उत्पन्न हुँदैन । स्मार्ट फोनको बजार कस्तो भैरहेको छ ? स्मार्ट फोनको बजार विश्वव्यापी रुपमा नै बढिरहेको छ । नेपालमा पनि यसको प्रवेश गरेदेखि नै हरेक वर्ष बजार बढिरहेको छ । पहिले यसलाई विलाशिताको बस्तु मानिन्थ्यो । अब यो आवश्यकता बन्दै गएको छ । सन २०१५ मा उपत्यका बाहिर पनि स्मार्ट फोनको बजार बढ्ने अनुमान गरेका छौं । उपत्यका बाहिरका मोबाइल प्रयोगकर्ताहरुसँग क्रय शक्ति बढ्ने प्रक्षेपण हामीले गरेका छौं । रेमिट्यान्सको यत्रो ठूलो फ्लो छ । त्यसले गर्दा उपभोक्ताको क्रयशक्ति बढेको र त्यो स्मार्ट फोनको खरिदमा प्रयोग हुने हाम्रो अनुसन्धानले देखाएको छ । स्मार्ट फोनमा सबै सुबिधा उपलब्ध छन् । घरायसी कामदेखि डाक्टरले रोगको उपचार गर्न समेत स्मार्ट फोनको डिभाईस प्रयोग गर्न सक्ने अवस्था बनिसकेको छ । नेपालमा सामसङको बजार हिस्सा कति पुग्यो ? हामीले सन २०१४ मा ५ करोड २० लाख रुपैयाँ मूल्य बराबरको मोबाइल बेच्यौं । २०१५ मा ६ करोड ५० लाख रुपैयाँ मूल्य बराबरका मोबाईल बेच्ने योजना छ । नेपाली मोवाइल फोनको बजारकै कुरा गर्ने हो भने अहिले हाम्रो बजार हिस्सा बिक्री मूल्यका आधारमा ४५ प्रतिशत र संख्याका आधारमा करिब ११ प्रतिशत पुगेको छ । नेपालमा सामसङको प्रतिस्पर्धा कुन ब्राण्डसँग छ ? हिजोसम्म नेपाली बजारमा हाम्रो प्रतिष्पर्धी थिएन । विश्वव्यापी रुपमै पनि सामसङको प्रतिष्पर्धी भनेको आईफोन नै हो । नेपालमा पनि अहिले आईफोन भित्रिसकेको छ । हाम्रो प्रतिष्पर्धा आईफोनसँग नै हो । अरु त इन्ट्री लेभलका स्मार्ट फोनहरु मात्रै हुन् । उनीहरु हाम्रो लेवलमा आउनै सक्दैनन् । हाम्रो अर्काे मुख्य प्रतिष्पर्धी भनेको अनधिकृत रुपमा भित्रिने सामसङ मोबाइल नै हो । यसलाई रोक्न सकियो भने नेपाली बजारमा सामसङ लिडिङ कम्पनी नै हो । चिनियाँ जियोनी र ह्वावे मोबाईलको आगमनलाई कसरी हेर्नु भएको हो ? जियोनी र ह्वावे मध्यम लेवलका स्मार्ट फोनहरु हुन् । हाम्रो प्रतिष्पर्धा आईफोनसँगै हो । अरु त सस्तोमा बनाउने होडबाजीमा लागेका कम्पनीहरु हुन् । उनीहरु आ–आफ्नै बीचमा कम मूल्यका लागि प्रतिष्पर्धा गर्छन् । मोबाइलमा प्रयोग हुने मुख्य एप्सहरु के के हुन् ? यो देशैपिच्चे फरक फरक हुन्छन् । यद्यपी विश्वव्यापी रुपमा हेर्ने हो भने फेसबुक, भाईबर अलि बढि प्रयोगमा छन् । नेपालको सन्दर्भमा हेर्ने हो भने लोड सेडिङ, डिक्सनरी, समाचार केन्द्रित एप्सहरु नै अलि बढि प्रयोग हुन्छन् ।

चीनको रेल सञ्जालसँग नेपाललाई जोड्नेबारे अध्ययन थाल्न निर्देशन

२१ पुस । व्यवस्थापिका–संसद्अन्तर्गतको विकास समितिले चीनको रेल सञ्जालसँग नेपाललाई जोड्न रसुवा–केरुङको सम्भाव्य रेल लाइनको तत्काल विस्तृत अध्ययन गरी काम अघि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिएको छ । समितिको आज सिंहदरबारमा बसेको बैठकमा नेपालमा रेल्वे यातायातको विकासको संभावना, देशको समग्र आर्थिक विकास एवम् भौतिक पूर्वाधारको विकासमा यसले पु¥याउने योगदान एवं नेपालको भौगोलिक अवस्थिति र रेल्वे यातायातको महत्वका सम्बन्धमा छलफल भएको थियो । समितिले मुलुकमा द्रुतगतिको रेल्वे लाइनको विकास र विस्तारका साथै हाल विद्यमान रहेको रेल्वे यातायातको स्तरोन्नति र विस्तार गर्न यथेष्ट बजेट छुट्याई कार्यान्वयनमा लैजान भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, अर्थ मन्त्रालय र रेल विभागलाई निर्देशन दिएको हो । बैठकमा छलफलपछि सभापति रवीन्द्र अधिकारीले मुलुकको द्रुततर आर्थिक विकासका लागि रेल्वे यातायातको विकास एवम् विस्तारका लागि अत्यावश्यक पर्ने रणनीतिका साथै अन्य नीतिगत र कानुनी व्यवस्था गर्न सम्बन्धित निकायलाई निर्देशन दिने निर्णय भएको बताए । समितिले अन्तरदेशीय एसियाली रेल सञ्जाल विस्तारसम्बन्धी अभिसन्धिको नेपाल पक्ष राष्ट्र भएकाले रेल्वे यातायातको अन्तरदेशीय सम्बन्ध अभिवृद्धि गर्न तथा देशभित्र द्रुतगतिको रेल्वे यातायातको सञ्जाल विस्तार गर्न तत्कालै सम्भाव्य आयोजनाको विस्तृत परियोजना अध्ययन प्रतिवेदन तयार गरी कार्यान्वयनको प्रक्रियामा लैजान र तत्कालै कार्य प्रारम्भ गर्न निर्देशन गरेको छ । बैठकमा राष्ट्रिय प्राथमिकताको मेची–महाकाली रेल्वे आयोजनाको निर्माणको गतिलाई तीव्रता दिन, निर्धारित समयभित्रै कार्य सम्पन्न गर्न तथा यस आयोजनाको प्रगति विवरण हरेक तीन÷तीन महिनामा समितिमा उपलब्ध गराउन पनि समितिले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र रेल विभागलाई निर्देश गरेको छ । रासस

मिडिया नीतिको मस्यौदा तयार भएको छ

सन्तोष श्रेष्ठ अध्यक्ष, नेपाल विज्ञापन संघ (आन) आनको अध्यक्ष भइसकेपछि तपाईंका योजनाहरू के के छन् ? निर्वाचनकै समयमा हामीले २ सय ६३ जना सदस्यको प्रतिक्रिया र अनुभवका आधारमा आफ्ना एजेन्डा अघि सारेका थियौं । त्यही योजनाका आधारमा आनको नेतृत्वमा आएका हौं । बिना योजना हामीले जितेका होइनौं । निर्वाचनकै बेला अघि सारेका एजेन्डाहरू हाम्रा आगामी कार्यभार हुन् । तत्कालीन र दीर्घकालीन योजनासहित हामी अगाडि बढेका छौं । म टिमवर्कमा विश्वास गर्छु, त्यसकै आधारमा हामी अघि बढ्ने हो । समग्र विज्ञापन क्षेत्रको हितबाहेक अरु स्वार्थ छैन । सरकार, विज्ञापनदाता, मिडिया, विज्ञापन एजेन्सी र उपभोक्ता सबैको हितका लागि हामीले काम गर्ने हो । यी पाँचै पक्षले जित्ने गरी विन विन सिचुएसनमा आनको यो नेतृत्व अघि बढ्छ । पाँचैंवटा पक्षले जित्ने गरी अघि बढ्ने कुरा त्यति सजिलो छ र ? चुनौतीका बीचमा काम गर्दा छुट्टै आनन्द हुन्छ । जहाँ समस्या हुन्छ, त्यहाँ समाधान पनि हुन्छ । यो खारिएर आएको टिम हो । त्यसकारण पनि चुनौतीको सामना गर्न हामी सफल हुन्छौं भन्ने लाग्छ । यी पाँचै क्षेत्रका केही साझा एजेन्डा हुन्छन् । विज्ञापनका क्षेत्रमा यी सबैको साझा एजेन्डा छन् । तिनैलाई अघि बढाउँछौं । आ–आफैंले जित्ने एजेन्डा छन् भने उनीहरू आफै लड्छन् । साझा एजेन्डामा हामीसँगै संघर्ष गर्छौ । विश्वासको वातावरण बनाउँछौं । पाँचै पक्षको साझा एजेन्डा चाहिँँ के के हुन् ? इन्डस्ट्री मार्जिन, स्वस्थ प्रतिस्पर्धा, नीति नियमका पक्षहरू हाम्रा साझा एजेन्डा हुन् । यसमा हामी सबैले जित्ने गरी काम गर्न सक्छौं । सिस्टम, व्यावसायिकता, इन्डस्ट्री मार्जिन यी कुरामा हामी एक अर्कासँग हातेमालो गरेर विश्वास जितेर अघि बढ्न तयार छौं । त्यसका लागि म सबै पक्षलाई आह्वान पनि गर्छु । विज्ञापन क्षेत्रको छवि सुधार्न र व्यावसायिकताको विकासका लागि के के गर्नुपर्ने देख्नुहुन्छ ? व्यावसायिकताको विकास र छवि सुधार्न धेरै पक्षहरूको चाँजोपाँचो मिलाउनुपर्ने देखिन्छ । पहिलो कुरा त, नीतिहरूको आवश्यकता पर्छ र त्यो हाम्रो अनुकूल हुनुपर्छ । मिडिया नीतिको मस्यौदा तयार भएको छ । त्यो हाम्रो हितमा छ । अर्काे कुरा, मिडियाले पनि व्यावसायिक चरित्र देखाउनुपर्छ । आनले पनि त्यसकै लागि काम गर्छ । हाम्रो नयाँ टिम त्यसमा प्रतिबद्ध छ । यो उद्योगलाई बनाउनेबाहेक हाम्रो पनि अर्काे उद्देश्य छैन । हामी एकताबद्ध पनि भएका छौं । यसमा विश्वासको वातावरण बनाउन सकियो भने छवि पनि सुध्रिन्छ र व्यावसायिकता पनि स्वतः विकास हुन्छ । त्यसपछि इन्डस्ट्री मार्जिन पनि बढ्छ । अनि त्यसले दक्ष जनशक्तिको आकर्षण बढ्छ । अन्ततः मिडिया क्षेत्रकै शान बढाउन मद्दत गर्छ । यो हाम्रो सपना पनि हो । एउटा विज्ञापन एजेन्सीको वार्षिक कारोबार कति जति होला ? विज्ञापन क्षेत्रमा वार्षिक पाँच अर्बको कारोबार हुन्छ । २ सय ६३ वटा एजेन्सी हामीसँग छन् । बाहिर करिब ५० वटा विज्ञापन एजेन्सी छन् । त्यसरी हेर्नेे हो भने प्रतिएजेन्सीको वार्षिक कारोबार एक करोड ८० लाख रुपैयाँ जति हुने अनुमान गरिएको छ । आनभन्दा बाहिर रहेका कम्पनीहरूको कारोबार त्यति ठूलो छैन । यत्रो भोल्युमको कारोबारले व्यावसायिकता कायम गर्न सकिएला त ? एजेन्सी कति चाहिन्छन् भन्ने कुरा बजारले निर्धारण गर्छ । आजका लागि हेरेर मात्रै हुँदैन । हामीले थोरै काम गर्नेवित्तिकै वार्षिक पाँच अर्बबाट बढेर ८/१० अर्ब पु¥याउन सकिन्छ । त्यसैले पनि हामी अलि आशावादी छौं । विज्ञापनको बजार वार्षिक कति प्रतिशतले बढिरहेको छ र त्यसमा सरकारी योगदान कति हो ? वर्षेनी १०/१५ प्रतिशतले विज्ञापन बजार वृद्धि भइरहेको छ । माओवादीको हिंसाका समयमा समेत यो वृद्धि नै भएको थियो । अब केही छिटो गतिमा वृद्धिदर बढ्छ भन्ने लाग्छ । कुल विज्ञापनमा २०/२२ प्रतिशत सरकारी विज्ञापन नै छ । बाँकी निजी क्षेत्र तथा गैरसरकारी संस्थाहरूको छ । कुन चाहिँ क्षेत्रको विज्ञापन बढी देख्नुहुन्छ ? नेपालमा निर्माण क्षेत्रको विज्ञापन न्यून छ । व्यापारको विज्ञापन नै बढी छ । वास्तवमा औद्योगिक क्षेत्रको तुलनामा व्यापार क्षेत्रको विज्ञापन बढी देखिन्छ । उत्पादन क्षेत्रका तुलनामा सेवा क्षेत्रको विज्ञापन निकै बढी नै छ । प्रिन्ट, ब्रोडकास्ट र अन्य मिडियामा विज्ञापनको अवस्था कस्तो छ ? प्रिन्ट मिडियाले ४० प्रतिशत विज्ञापन लान्छ । टिभीले २५ प्रतिशत विज्ञापन ओगट्छ । तेस्रोमा पर्ने रेडियोले १०/१२ प्रतिशत विज्ञापन कभर गरेका छन् । होर्डिङ बोर्डहरूले ९/१० प्रतिशत विज्ञापन बजार ओगट्या छन् । अनि डिजिटल मिडियाले ५ प्रतिशत जति विज्ञापन ओगट्छन् । अबको पाँच सात वर्षमा त डिजिटल मिडियाले नै कायापालट गर्ने देखिन्छ । क्लिन फिडको मुद्दा कहाँ पु¥याउनु भयो ? क्लिन फिडका बारेमा हामी चुप लागेर बसेका छैनौं । सञ्चार नीतिमा क्लिन फिडको कुरा समेटिएको छ । सूचना तथा सञ्चारमन्त्रीसँग हामीले प्रस्ट कुरा राखिसकेका छौं । त्यसमा क्लिन फिड नीति लागू गर्ने भनेर प्रस्ट लेखिएको छ । चाँडै क्लिन फिड कार्यान्वयनमा आउँछ । सरकार पूरै सकारात्मक छ । अब आक्रामक रूपमा अघि बढाउँछौं ।

यसरी ई–मनीले विस्थापन गर्दैछ नोट कारोबार

२० पुस । पछिल्लो समयमा मुद्राको परिभाषा बदलिएको छ । भुक्तानीका लागि सरकारी अधिकारीको आधिकारिक हस्ताक्षर, स्पेसिफिकेसन र सरकारी ग्यारेन्टी उल्लेख गरिएको नोट चाहिन छाडेको छ । मुद्राको डिजिटल प्रयोगले सबै प्रकारका भुक्तानीमा नोट नभए पनि हुने अवस्था सिर्जना भएको छ । अहिले टेलिकम सेवा प्रदायक सबै कम्पनीको बिल भुक्तानी कार्डबाटै गर्न सकिन्छ । पैसा तिर्नका लागि लाइनमा बसिरहनुपर्ने बाध्यता छैन । त्यस्तै पानी, बिजुली, सरकारी कर, जरिवाना र महसुलहरू पनि आफ्नो खाताबाट तिर्नुपर्ने व्यक्ति तथा संस्था र निकायको खातामा सार्न सकिने भएको छ । प्रविधिको विकास र प्रयोगले होटल रेस्टुरेन्टको विल, हवाईजहाजको टिकट खरिद र सपिङ मलहरूमा हुने खरिदको भुक्तानी पनि कार्डबाटै हुन थालेको छ । यस्तै, मोबाइलबाट रकम ट्रान्सफर गर्न मिल्ने प्रविधिका कारण यसैबाट कसैलाई सापटी दिन र फिर्ता लिन पनि सकिने अवस्था सिर्जना भएको छ । प्रविधिको प्रयोगले कागजी नोटको प्रयोग कम हुने भए पनि नेपालको ग्रामीण क्षेत्रमा अझै यस्तो सुविधा पु¥याउन नसकिएको नेपाल राष्ट्र बैंकका प्रवक्ता मनमोहनकुमार श्रेष्ठको भनाइ छ । सहरी क्षेत्रमा भने कागजी नोटको प्रयोग कम हुँदै गएको उनले बताए । ‘सहरी क्षेत्रमा नोटको प्रयोग कम हुदै गएको तथ्यांकले पनि देखाएको छ,’ श्रेष्ठ भन्छन्, तर ग्रामीण क्षेत्रमा बैंकिङ सुविधा र पूर्वाधारको कमीका कारण अपेक्षाकृत सुधार हुन सकेको छैन । ग्रामीण क्षेत्रमा बैकिङ सुविधा बढाउन र अत्याधुनिक प्रविधि स्थापित गराउन नेपाल राष्ट्र बैंकले विभिन्न सुविधासमेत दिएर बैंक तथा वित्तीय संस्थाहरूलाई प्रोत्साहन दिइरहेको उनको भनाइ छ । धेरैले आजकाल खल्तीमा पैसा बोकेर हिँड्न छाडेका छन् । नगद खल्तीमा बोकेर हिँड्दा हराउने चिन्ता र लुटिने डरले सताइरहने भएकाले विकल्पको रूपमा प्रविधियुक्त बैकिङ उपकरण प्रयोग गर्न थालिएको हो । आफूलाई पैसा चाहिने ठाउँकै नजिकको बैंकको शाखा कार्यालयवाट निःशुल्क रूपमा चेक साट्न पाइन्छ । यस्तै चेक साट्न नपाइने राति वा सार्वजनिक विदाको दिन एटीएमबाट निःशुल्क रूपमा पैसा झिक्न पनि पाइन्छ । बैंक तथा वित्तीय संस्थाले प्रविधिमा धेरै लगानी गरेर अन्तरशाखा कारोवार (एबीबीएस) सुविधा निःशुल्क दिन थालेपछि नगदै बोकेर हिँड्नुपर्ने समस्या हटेको छ । बैंकहरूले एक शाखामा राखेको पैसा अर्काे शाखाबाट झिक्दा शुल्क लिँदैनन् । यही सुविधा प्रयोग गरेर सर्वसाधारण आफू कार्यरत ठाउँको नजिकको शाखामा पैसा राख्ने र आफूले खर्च गर्नुपर्ने ठाउँको नजिकको शाखाबाट झिक्न थालेका छन् । नेपालीमा बढ्दै गएको यो बैंकिङ बानीले नेपाल प्रहरी र नेपाल राष्ट्र बैंकको पनि चिन्ता कम गरिदिएको छ । बाटोमा यात्रु लुटिएलान् भन्ने प्रहरीको चिन्ता केही कम भएको छ । त्यस्तै नोटको बढी प्रयोग हुदा चाँडै थोत्रो हुने र नयाँ नोट छाप्न निकै महंँगो हुने भएकाले नोटको कम प्रयोगमा राष्ट्र बैंकको पनि चिन्ता रहँदै आएको थियो । नगदै बोकेर नहिँडे पनि आफूलाई चाहिने ठाउँमा पैसा पाउँदा सर्वसाधारण त खुसी हुने नै भए । बैंकिङ क्षेत्रको विकासले नगदै बोकेर हिँड्नुपर्ने समस्या समाधान भएको नेपाल बैंकर्स एसोसिएसनका अध्यक्ष उपेन्द्र पौडेलको भनाइ छ । ‘तपाईसँग जहाँ पैसा हुन्छ त्यहीँको शाखामा राख्नुस, जहाँ चाहिन्छ त्यहीको शाखाबाट झिक्नुस्,’ एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृतसमेत रहेका पौडेलले भने, सबै दिन बैंकका शाखा खुल्ला हुन्छन, २४ सै घन्टा खुल्ने एटिएम छन्, कतिपय ठाउमा बैंक तथा वित्तीय संस्थाले प्रदान गरेका कार्ड पनि प्रयोग गर्न सकिन्छ, यति सुविधा भएपछि नगदै बोकेर हिड्नै परेन । पछिल्लो समयमा देशका शहरी र अर्धशहरी क्षेत्रमा मात्र होइन दुर्गम गाउमा पनि बैंकका शाखा खुलेका छन् । गाउगाउसम्म पुगेका बैंकले सर्वसाधारणलाई गाउमै पैसा दिइरहेका छन् । भौतिक रुपमा शाखा नपुगेका ठाउमा पनि बैंकहरुले शाखारहित सेवा पनि दिइरहेका छन् । यस्तै प्रविधिको प्रयोगले मोवाइलवाटै रकम राख्न र झिक्न सकिने सुविधा पनि दिइरहेका छन् । नेपाल बंगलादेश (एनबी) बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुंगाना बैंकहरुले सर्वसाधारणलाई नगदै बोकेर हिड्नु पर्ने बाध्यतावाट मुक्त गराएको बताउछन् । ‘नगदै बोकेर हिड्नै परेन, देशको एक कुनामा भएको बैंकको शाखामा राखेको पैसा कुनै शुल्न नै नतिरी अर्काे कुनाको शाखावाट झिक्न पाइन्छ,’ ढुंगाना भन्छन्– भौतिक रूपमा बैंकका शाखा नभएको ठाउँहरूमा पनि सर्वसाधारणले शाखरहित बैंकिङ तथा अन्य प्रकारका सुविधामार्फत नगद राख्न र झिक्न पाइरहेका छन् । पछिल्लो समयमा बैंकिङ क्षेत्रको उल्लेख्य विकास भएको छ । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार अहिले देशभरमा वाणिज्य बैंकहरुका शाखा मात्रै १ हजार ५ सय ४७ पुगेका छन् । यस्तै विकास बैंकका शाखा ८ सय १८, फाइनान्स कम्पनीका २ सय ३९ र लघुवित्तका शाखा संख्या ८ सय २६ पुगिसकेको छ । यस्तै साढे २९ हजार भन्दा बढी सहकारी संस्थाहरुले पनि सर्वसाधारणलाई वित्तीय सेवा प्रदान गरिरहेका छन् । बैंकहरुले १ हजार ६ सय ५२ एटिएम सेन्टर संचालनमा ल्याएका छन् । कतिपय बैंकहरुले एक बैंकको एटिएम कार्ड अर्काे बैंकको एटिएममा प्रयोग गर्दा पनि सामान्य मात्रै शुल्क लाग्ने सम्झौता गरेका छन् । यस्तै विभिन्न बैंकहरूले ५ सय ४ स्थानमा शाखारहित बैंकिङ सेन्टर स्थापना गरेका छन् । शहरी क्षेत्रमै किनमेलको लागि बैंकहरुले प्रदान गरेका क्रेडिट कार्ड, प्रिपेड कार्ड जस्ता कार्ड सहयोगी हुन्छ । यस्ता कार्ड वाहकले सपिङ मल, होटल, रेष्टुरेन्ट, सिनेमा हल जस्ता ठाउहरुमा बस्तु खरिद र सेवा प्रयोग गर्दा पनि नगदको साटो कार्डवाट भुक्तानी गर्ने सुविधा पाएका छन् । यो सवै उपलब्धी बैंकिङ्ग सेवामा प्रविधिको प्रयोगले सम्भव भएको हो । यस्तै विभिन्न सपिङ मलहरुमा बैंकहरुका एटिएम सेन्टर स्थापना भएका छन् । यी सवै ग्राहकको सुविधाकै लागि हुन् ।