विकासन्युज

चन्द्रागिरिको निशुल्क बस सेवा सञ्चालनमा, बस काठमाडौंको दुई स्थानबाट लाग्ने

काठमाडौं, १७ पुस । थानकोटस्थित चन्द्रागिरि हिल्स लिमिटेडको परिसरमा निशुल्क बस सेवाको शुभारम्भ भएको छ । कम्पनीका अध्यक्ष चन्द्रप्रसाद ढकालले उक्त सेवाको शुभारम्भ गरेका हुन् । निशुल्क बस सेवाको शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले भालेश्वर महादेवको दर्शन गर्न आउने दर्शानार्थी तथा चन्द्रागिरि घुम्न आउने पर्यटकहरुलाई थप सहज हुने बताएका छन् । कार्यक्रममा संचालक अम्बिका प्रसाद पौडेलले चन्द्रागिरि क्षेत्रको धार्मिक, ऐतिहासिक तथा पर्यटकीय महत्वको बारेमा जानकारी गरेका छन् । कम्पनीले चन्द्रागिरि केबलकार चढेर भालेश्वर महादेवको दर्शन गर्न आउने दर्शानार्थी तथा घुम्न आउने पर्यटकहरुको लागि अशोक लेलेण्डको ४२ सिट क्षमता भएको निशुल्क बस सेवाको व्यवस्था गरेको छ । बसहरु प्रत्येक दिन बिहान साढे सात बजे काठमाडौंको महाराजगञ्ज र कोटेश्वरस्थित भाटभटेनी सुपर मार्केटबाट लाग्ने छन् । महाराजगञ्ज भाटभटेनीबाट छुट्ने बस नयाँँ वषपार्क, बालाजु भाटभटेनी, स्वयम्भू, कलङ्की हुँदै चन्द्रागिरि केबलकार पुग्ने कम्पनीले जनाएको छ । त्यस्तै, कोटेश्वर भाटभटेनीबाट छुट्ने बस बालकुमारी, ग्वार्को, सातदोबाटो, एकान्तकुना, बल्खु, कलङ्की हुँदै चन्द्रागिरि केबलकार पुग्ने छ । यि बसहरु सोही स्थान हुँदै फर्कने छन् ।

कृषि क्षेत्रमा ५ महिनामै थपियो सवाँ दुई अर्ब लगानी थपियाे, विगतकाे तुलनामा उच्च

काठमाडौं, १८ पुस । चालू आर्थिक वर्ष २०७३/७४ को पहिलो ५ महिनामा कृषिजन्य उद्योगमा दुई अर्ब २६ करोड ८५ लाख रुपैयाँभन्दा बढी लगानी थप भएको छ । चालू आवको यस अवधिमा भएको सो लगानी क्षेत्रगत रुपमा हेर्दा हालसम्मकै सर्वाधिक हो । आव २०६९/७० मा ५४ वटा कृषि तथा वनजन्य उद्योगमा करिब २ अर्ब अर्थात एक अर्ब ९९ करोड २२ लाख लागनी भएको छ । कृषिक्षेत्र देश सरकारको पहिलो प्राथमिक क्षेत्र हुनका साथै यसमा विभिन्न सेवा सुविधा तथा अनुदानका कारण पनि कृषि क्षेत्रमाा लगानी बढेको हो । बढ्दो आयातलाई प्रतिस्थापन गर्न उत्पादको उत्तम र सहज उपाय कृषिजन्य वस्तु हो,’ कृषि विकास मन्त्रालयका प्रवक्ता योगन्द्र कार्कीले भने ‘यसको उत्पादनमा वृद्धि नगरिएसम्म नेपालमा आयात प्रतिस्थापनलगायत समृद्ध सम्भव छैन ।’ त्यसैले सरकारले यसमा लगानी वर्षैपिच्छे बढाउँदै लगेको हो । ‘सरकारले कृषि क्षेत्रको विकासको लागि दीर्घकालीन, मध्यकालीन तथा छोटा अवधिका रणनीति तयार पारेको छ , उनी भन्छन् ‘२० वर्षे कृषि रणनीतिमार्फत नेपाललाई कृषिजन्य वस्तुमा आत्मनिर्भर बनाउने सरकारको लक्ष्य छ । डेढ अर्ब रुपैयाँभन्दा बढीको कृषि उपज नेपाल भित्रिरहेको सन्दर्भमा आयात विस्थापन गर्न चुनौती छ र त्यो चुनौतीको सामना गर्न ठूलो लगानी आवश्यक पर्छ । यसले पनि लगानीकर्तालाई आकर्षित गरेको हुनसक्छ ।’ उद्योग विभागको तथ्याङ्कअनुसार चालू आवको साउनदेखि मङ्सिरसम्ममा कृषि तथा वनजन्य उद्योगको क्षेत्रमा सवा दुई अर्ब बराबर रुपैयाँ नयाँ लगानी प्रतिबद्धता भएको छ । यो रकम अघिल्ला आर्थिक वर्षको तुलनामा सर्वाधिक हो । मङ्सिर मसान्तसम्ममा दुई ठूला, एउटा मझौला र पाँच ओटा साना गरी जम्मा आठ ओटा उद्योग दर्ता भएका छन् । त्यसमध्ये तीन ओटा सानाबाहेक बाँकी सबै उद्योगमा शतप्रतिशत स्वदेशी लगानी भएको विभागले जानकारी दिएको छ । ठूला दुईओटा उद्योगमा मात्रै दुई अर्ब २० करोड रुपैयाँबराबरको लगानी देखिएको छ । कृषि तथा वनजन्य उद्योगको क्षेत्रमा ठूला लगानीमा उद्योग खुल्न थालेसँगै लगानीको आकार समेत बढेको हो । लगानीकर्ताले कृषिक्षेत्रमा आधारित उद्योगको भविष्य विस्तारै बुझ्दै गएसँगै लगानीसमेत बढ्न थालको नेपाल उद्योग वाणिज्य संघ बरिष्ठ उपाध्यक्ष भवानी राणाले बताइन् । अन्य उद्योगमाभन्दा छोटो समयमा राम्रो प्रतिफल दिने क्षेत्र कृषि भएकाले पनि यसमा लगानीको आकर्षण बढेको हो । ‘यसका साथै उत्पादन गर्न सके बजारको अभाव पनि छैन,’ उनले भनिन् ‘स्पष्ट कानुनी आधारहरु तय भए यो लगानी अझ बढ्छ । हालसम्म खुलेका चार सय तीन कृषि तथा वनजन्य उद्योगमा कुल १९ अर्ब ७५ करोड ६४ लाख २० हजार रुपैयाँ लगानी भएको विभागले जानकारी दिएको छ । ती उद्योगबाट ३४ हजारभन्दा बढीको संख्यामा रोजगारी सृजना गरेको अनुमान छ । विभागमा आव २०७०/७१ मा ४६ ओटा कृषि उद्योग दर्ता भएको थियो भने एक अर्ब ५६ करोड ६६ लाख लगानी प्रतिवद्धता भई एक हजार ६ सय २७ लाई रोजगारी दिने प्रतिवद्धता थियो । आर्थिक वर्ष २०७१/७२ र ०७२/७३ मा यस्तो लगानी क्रमशः एक अर्ब ५१ करोड र ९८ अर्ब लगानी प्रतिवद्धता भएको छ ।

विदेशीको भन्दा आन्तरिक पर्यटकको खर्च तीन गुणासम्म, आन्तरिक गन्तव्य खचाखच, घुम्ने र खर्च गर्ने नेपालीनै धेरै

काठमाडौं १८, पुस । नयाँ वर्ष, लामो विदानको दिन र कुनै विशेष मेला महोत्सव हुँदा नेपाली आन्तरिक गन्तव्यमा पुग्ने संस्कृति बढेको छ । अहिले सन् २०१७ को सुरुवाटमा नयाँ वर्ष मनाउँने बहानामा पोखरा, चितवन, लुम्बिनी, रारा, मुस्ताङसहितका अन्तरिक पर्यटकीय गन्तव्य नेपालीले नै खचाखच भएका छन् । विदेशीकै तुलनामा नेपालीले गर्ने खर्च बढेकै कारण सन् २०१७ को नयाँ वर्षमा पोखराका सबै होटल नेपालीकै कारण खचाखच भएको छ । पोखराको अतिथि रिसोर्ट एण्ड स्पाका निर्देशक सुरज खनालका अनुसार विदेशीकै तुलनामा नेपालीले होटलकोे कोठा बुकिङ गरेका छन् । कम्तिमा ६ हजार माथिको कोठा मात्रै होटलमा उपलब्ध भएपनि नयाँ वर्षमा ६० प्रतिशत पाहुना नेपाली नै भएको पनि उनको भनाइ छ । विदेशी पर्यटकको तुलनामा आन्तरिक पर्यटकीय गन्तव्यमा पुग्ने र खर्च गर्ने नेपालीको संस्कृति बढेको छ । नेपालीले विदेशी पर्यटकको तुलनामा तीन गुणासम्म खर्च गर्न थालेका छन् । विदेशीको तुलनासँग खानपानमा नेपालीलाई कसैले पनि नभेट्याउने भैसकेको छ । आन्तरिक पर्यटक बनेर नेपालीले गर्ने खर्च सोही गन्तव्यमा पुग्ने विदेशीको तुलनामा निकै धेरै हुन थालेको छ । नेपालमा आन्तरिक पर्यटकको गतिविधि बढ्नु पर्यटकीय उत्साह मात्रै नभएर खर्च गर्ने माध्यम पनि बन्न थालेको नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशीले बताए । उनका अनुसार आन्तरिक गन्तव्य घुमघाममा सबैभन्दा धेरे खर्च नेपालीको खानपानमै हुने गरेको छ । ‘पहिले पैसा जोगाएर राख्नुपर्छ भन्ने संस्कृति थियो भने अहिले पैसा खेलाउने बस्तु हो, यसलको भरपूर प्रयोग गर्नुपर्छ । घुमघाम र रमाइलो पनि गर्नुपर्छ भन्ने धारणा नेपाली पर्यटकप्रति पनि बढ्न थालेको देखिएको छ’, जोशीले भने । उनका अनुसार विदेशी पर्यटक प्याकेजमा घुम्छन तर नेपाली लहडमा घुम्ने गरेका छन् । विदेशीले लामो समयको लागि आउने र नेपाली पर्यटक छोटो समयमा मात्रै घुम्ने भएकोले पनि नेपालीको खर्च बढी देखिएको हो । आन्तरिक पर्यटकीय गन्तव्यमा पनि पहिले विदेशी तथा गोरा छाला मात्रै पर्यटक हुन भन्ने संस्कृति परिवर्तन भएको छ । जसको कारण खर्च गर्न सक्ने क्षमता विदेशीको मात्रै हैन नेपालीको पनि हुने गरेछ भन्ने धारणा विकास हुन थालेको छ । पर्यटकीय गन्तव्यको प्रवद्र्धनले पर्यटक बढ्दै आन्तरिक पर्यटकले जति पैसा खर्च गछ्र्रन्, त्यति पैसा विदेशीले नगर्नुको कारण हो नेपाली कहिलेकाँही घुम्ने र क्षणिक रमाइलो धेरै खर्च गर्न क्षमताको विकास भएको पर्यटन व्यवसायी कर्ण शाक्यको भनाइ छ । उनका अनुसार होटल तथा रेस्टुराँमा हेर्दा पनि विदेशी पर्यटकले कालो चिया र पाउरोटी खाएर दिन विताएको देखिन्छ तर आन्तरिक पर्यटले भने खानपानमा निकै खर्च गर्ने गरेका छन् । आन्तरिक पर्यटक एकठाउँमा घुम्न गएपछि ह्वीस्की, मःम, चिकेन करीसहितको स्न्याक्स सबै एकैपटक खाइसक्नुपर्छ भन्ने मान्यतामा हुन्छन् । विदेशी भने सधै व्यालेन्स मिलाएर मात्रै खान्छन, शाक्यले भने । विदेशीको अध्ययन, भ्रमण र किताल लेख्ने गरी घुमफिरको मज्जा लिएर ज्ञान संकलन गर्छन भने आन्तरिक पर्यटक हाहु मै पैसा सक्छन र खानपिनमा नै खर्च रहेर रमाइरहेका हुन्छन । शाक्यका अनुसार जे होस् आन्तरिक पर्यटक स्रोत र साधान परिचालन गर्ने माध्यम पनि हो । आन्तरिक पर्यटकबाट खर्च गरेको एक रुपैयाँ गाउँमा पुगेपछि तीन रुपैयाँ हुने गरेको छ, त्यो नै अहिलेको पर्यटनको उपलब्धि हो । नेपालीकै क्षमता पर्यटकीय स्तरदेखि पाँचतारे डिलक्ससम्म आन्तरिक पर्यटकको माहोल जति बढी हुँदै गयो पर्यटकको पहिचान त्यसैगरी बढ्दै जाँदा पर्यटकीय स्तरदेखि पाँचतारे डिलक्ससम्म नेपालीको खर्च गर्ने क्षमता विकास भएको छ । पाँचतारे होटल सोल्टीका पूर्व अध्यक्ष प्रभाकरसम्शेर राणाका अनुसार पछिल्लो समय विदेशीकै भरमा होटल चलाउनु परेको छैन । होटलको पार्टी हल नेपालीले नै भरिने गरेको छ, रेस्टुरेन्टका सीट नेपालीले नै भर्ने गरेका भने होटलको ६० प्रतिशत अकुपेन्सी पनि नेपालीकै हुने गरेको राणाको बुझाई छ । उनका अनुसार पहिले एक सय २० डलर पर्ने कोठा अहिले ८० देखि ९० डलरमा नै आउनु होटल खाली नहुनु र नियमिति पाहुना आउनुकै कारणले भएको हो । विगत पाँच सात वर्षदेखि नेपालका तारेदेखि पाँच तारेसम्मका होटल विदेशीकै भरमा बाँच्नुपर्र्ने अवस्था नरहेको होटल सांग्रिलाका कार्यकारी प्रमुख प्रवीन पाण्डेको भनाइ छ । विदेशी पर्यटकले मात्रै होटल धानेको हुन्थ्यो भने भूकम्पपछि सबै होटल तथा पर्यटन बन्द भैसक्थे । तर, त्यसो नहनुको कारण नै नेपाली, आन्तरिक पर्यटक, विभिन्न कर्पोरेट हाउसका कर्मचारी तथा नेपाली जोडीको खर्चले होटल थानिएको पनि पाण्डेको बुझाई छ । सामाजिक संञ्जालकै कारण घुम्ने संस्कृति बढ्यो पछिल्लो समय नेपालमा सामाजिक संञ्जालकै कारण घुम्ने र खर्च गर्ने संस्कृति बढेको छ । नेपालको एक ठाउँबाट अर्को ठाउँमा घुम्म जानु भनेको रमाइलो गर्नु, केही नयाँ कुरा सिक्नु र मनलाई आनन्द दिनु हो । तर, पछिल्लो समय सामाजिक संञ्जाल फेसबुक, ट्वीटरका कारण फोटो खिच्ने र सामाजिक संजालमा पोस्ट गर्ने संस्कृति पनि बढेको छ । आफू सरहका साथीभाई घुमेर फोटो हाल्ने गरेकोले पनि घुम्न जान मन लाग्ने र देखासेकीले गर्दा पनि कहिले होमस्टे, कहिले पदयात्रा, कहिले टुरतर्फ नेपालीको पनि आकर्षण बढ्न थालेको पर्यटन बोर्डको बुझाई छ । बोर्डका अनुसार घुम्ने संस्कृतिको विकास हुनु र पर्यटनप्रतिको जागरण बढ्नुलाई सकारात्मक रुपमा लिइएको छ । विदाको समयमा घुम्ने बढी विदेशी मात्रै पर्यटक होइनन् भन्ने धारणालाई हरेक विदाको समय तथा दसैं तिहारको समयमा हुने लामो विदाले नै देखाउने गरेको मुस्ताङका पर्यटन व्यवसायी ट्रिपल गुरुङले बताए । उनका अनुसार पहिले विदेशी पर्यटक मात्रै कुरेर बस्नुपर्ने थियो भने अहिले नेपाली पर्यटकको कारण विदेशी कुर्नुपर्ने बाध्यता छैन । व्यवासायीको सेवा गर्ने संस्कृति पनि पहिले विदेशीलाई मात्रै हुन्थ्यो भने अहिले नेपालीको लागि पनि हुन थालेको छ । विदेशी मुस्कीलले एक दुई जना पुग्ने मुगुको रारामा पछिल्लो समय नेपालीकै भिड लाग्न थालेको राराका होटल व्यवसायी गोपाल वमले बताए । उनका दसैं तिहारको विदाको समयमा रारामा आन्तरिक पर्यटक थेग्नै गाह्रो हुन थालेको छ । अन्य समयमा पनि विदाको दिन आन्तरिक पर्यटक भरिभराउ हुने गरेको पनि बमको भनाइ छ । उनका अनुसार विदेशी प्याकेजमा आउने सीमित खर्चले पु¥याउने गरेपनि नेपालीले भने आफूसँग भएको सकेर पनि साथीसँग भएको पनि सकिने गरी खर्च गर्ने गरेका छन् । नेपालीको घुमघामलाई पनि व्यवस्थित बनाउन सकिएको अवस्थामा पर्यटनको स्थापित अंश नै आन्तरिक पर्यटक हुन सक्ने उनको बुझाई छ । आफैं कमाएर खर्च गर्नेको तुलनामा बाआमाले दिएको पैसामा खर्च गर्ने युवा वर्गको जमात अझै पनि ठूलो संख्यामा रहेको बोर्डका सीईओ जोशीको बुझाई छ । उनका अनुसार आफैं कमाएर खर्च गर्नेले पु¥याएर खर्च गर्छन भने विदेशमा रहेका आफन्तले दिएको पैसा, रेमिट्यान्स तथा अभिभावकसँग मागेर गरिने घुमघामको खर्च तुलनात्मक रूपमा अरू भन्दा बढी नै हुने गरेको पनि उनको बुझाई छ । उनका अनुसार पछिल्लो समय आन्तरिक पर्यटकको प्रतिको जागरण, घुमफिर वर्ष तथा विदा पर्यटनको प्याकेजले पनि घुम्ने कल्चर बढेको हो ।

सन् २०१७ मा घुम्नै पर्ने १० गन्तव्य, घुम्नुपर्ने विश्वको पाँचौं उत्कृष्ट गन्तव्यमा नेपालपनि

काठमाडौं १८, पुस । सन् २०१७ मा घुम्नुपर्ने विश्वको पाँचौं उत्कृष्ट गन्तव्यमा नेपाल पनि परेको छ । लोन्ली प्लानेटले हरेक अंग्रेजी वर्षसँगै आउँदो वर्ष घुम्न विश्वका उत्कृष्ट गन्तव्यहरूको सूची सार्वजनिक गर्दै आएको छ । यस वर्ष सार्वजनिक गरेको सूचीमा दक्षिण एसियाबाट नेपालमात्र परेको छ । प्लानेटले सार्वजनिक गरेको सूचीअनुसार पहिलो स्थानमा क्यानडा, दोस्रोमा कोलम्बिया, तेस्रोमा फिनल्याण्ड तथा चौथोमा डोमिनिका रहेका छन् । त्यस्तै छैटौंमा बर्मुडा, सातौंमा मंगोलिया, आठौंमा ओमान, नवौंमा म्यानमार तथा दशौंमा इथियोपिया छन् । लोन्ली प्लानेटले हरेक वर्ष सार्वजनिक गर्ने यो सूची भ्रमण गरेका पर्यटकको प्रतिक्रिया, भ्रमणका लागि पर्यटकले देखाएको चासो तथा विभिन्न तथ्यांकलाई आधार मानेर तयार हुन्छ । गएको वर्षको वैशाख १२ मा गएको भूकम्पले क्षति गरेका पदमार्गहरू पुनर्निर्माण भइसकेको समेत जनाएको छ । नेपालमा घुम्न लायक धेरै ठाउँ रहेको लोन्ली प्लानेटले उल्लेख गरेको छ । प्लानेटले तयार पारेको उत्कृष्ट गन्तव्यका सूचीहरूलाई विश्व पर्यटन संगठनले समेत अनुमोदन गरेको छ । प्लानेटले विश्वभरका पर्यटकलाई सन् २०१७ मा छुटाउन नहुने नेपालका १० गन्तव्य समेत सार्वजनिक गरेको छ । नेपालका उत्कृष्ट १० गन्तव्यहरू रारा मुगु जिल्लामा पर्ने देशकै सबैभन्दा ठूलो ताल तथा स्वच्छ पानी भएको तालको रूपमा रारा ताललाई लिइन्छ । पछिल्लो समय गाडीमार्फत जान सकिने भएकाले पर्यटकहरूलाई जान र आउन हवाई र गाडी जुनसुकै साधन प्रयोग गर्न सक्छन् । पछिल्लो समय आन्तरिक पर्यटकले भरिभराउन हुन थालेको रारामा पर्यटकलाई जान सहज हुन थालेपछि विदेशी पर्यटकहरू पनि ठूलो संख्यामा जाने आशा गरिएको छ । रारा जानको लागि फागुनदेखि जेठ मध्यसम्म र असोजदेखि मंसिरसम्म उपयुक्त हुने समेत प्लानेटले उल्लेख गरेको छ । पुनहिल नेपालको मुख्य र सबैभन्दा आकर्षक पदमार्ग घान्द्रुक–घोरेपानी–पुनहिल रहेको उल्लेख गर्दै प्लानेटले पुनहिलमा पुगेर दर्जनौ हिमश्रृंखला हेर्न सकिने भएकोले उक्त क्षेत्रको भ्रमणमा जान सुझाव दिएको छ । म्याग्दी जिल्लामा रहेको पुनहिल ३ हजार २ सय १० मिटर उचाइमा रहेको छ । अन्नपूर्ण पदमार्ग क्षेत्रको एउटा मुख्य भागको रूपमा रहेको पुनहिलमा ३० वटा होटल छन् । सो क्षेत्रमा एक रातमा ७ हजार पर्यटक राख्न सक्ने क्षमता छ । जोमसोम–मुक्तिनाथ हिन्दू र बुद्धमार्गीको समेत तीर्थस्थल रहेको मुक्तिनाथ क्षेत्र पर्यटकको लागि आकर्षक गन्तव्य रहेको लोन्ली प्लानेटले जनाएको छ । ३ हजार ७ सय १० मिटर उचाइमा रहेको उक्त भ्याल्लीले आन्तरिक र बाह्य पर्यटकको मुख्य गन्तव्य स्थलको रूपमा पहिचान कमाएको छ । खप्तड खप्तड राष्ट्रिय निकुञ्ज नेपालको सुदूरपश्चिम क्षेत्रमा पर्ने चार जिल्लाको संगमस्थल हो । बजाङ, बाजुरा, अछाम र डोटी जिल्लामा रहेको उक्त क्षेत्र १ हजार ४ सय मिटर उचाइदेखि ३ हजार ३ सय ३० मिटर क्षेत्रमा फैलिएको छ । खप्तड जानको लागि चैत र वैशाख तथा असोज–कात्तिक महिना उपयुक्त हुने लोन्ली प्लानेटले जनाएको छ । पछिल्लो समय नेपाल पर्यटन बोर्ड तथा पर्यटन व्यवसायी संस्थाहरूले खप्तड जानको लागि स्वदेशी तथा विदेशीका लागि प्याकेजसमेत घोषणा गरेका छन् । कोशी टप्पु कोशी टप्पु वन्यजन्तु आरक्षण केन्द्रलाई लोन्ली प्लानेटले चरा अवलोकनको लागि उत्कृष्ट गन्तव्य भएको उल्लेख गरेको छ । १ सय ७५ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको कोशीटप्पु सुनसरी, सप्तरी र उदयपुर जिल्लामा फैलिएको छ । सन् १९८७ रामसार सूचीमा सुचीकृत भएको नेपालको पहिलो ठूलो रामसार क्षेत्रका रूपमा परिचित यस आरक्षमा विभिन्न ४८९ प्रजातिका चरा, २१९ को संख्यामा दुर्लभ अर्ना र दुर्लभ डल्फिनसमेत पाइन्छ । सो क्षेत्र भ्रमण गर्नको लागि पनि पर्यटन व्यवसायीहरूले विभिन्न प्याकेज बिक्री गर्दै आएका छन् । इलाम नेपालको पूर्वी क्षेत्रमा रहेको इलामको मुख्य आकर्षण भनेको चिया बगान हो । रमणीय स्थानमा रहेको बगानले स्वदेशी तथा विदेशी पर्यटकलाई आकर्षित गर्दै आएको छ । इलाममा चिया बगानको साथै पिकनिक स्पट तथा साइट सिनको लागि आकर्षक स्थान छन् । इलाम जा असोज, कात्तिक, मंसिर तथा फागुन, चैत र वैशाख उपयुक्त मानिन्छ । बर्दिया राष्ट्रिय निकुञ्ज बर्दिया राष्ट्रिय निकुञ्ज नेपालको मध्य तथा सुदूरपश्चिममा क्षेत्रमा रहेको छ । बर्दिया राष्ट्रिय निकुञ्जले करिब ९६८ वर्ग किलोमिटर क्षेत्रफल ओगटेको छ । निकुञ्ज नेपालको पश्चिममा कर्णाली नदीको पूर्वतिरको तराई प्रदेशमा अवस्थित छ । सन् १९६८ मा शाही शिकार आरक्षको रूपमा स्थापना गरिए पनि सन् १९६७ मा करिब ३६८ वर्गकिलोमिटर क्षेत्रफलको उक्त आरक्षणलाई शाही कर्णाली वन्यजन्तु आरक्षको रूपमा घोषणा गरियो । उक्त क्षेत्रमा जानको लागि हवाई तथा सडक दुवै मार्ग प्रयोग गर्न सकिन्छ । हवाई मार्गमार्फत जान काठमाडौंबाट नेपालगन्जको उडानमा जानुपर्ने हुन्छ । लाङटाङ रसुवाको सौन्दर्य हिमाल, ताल, तातोपानी, थरीथरीका वनस्पति, हाब्रे, हिमालयन थार, लाङटाङ हिमाल ९७ हजार २ सय ४५ मिटर० र गणेश हिमाल श्रृंखला अनि हिउँमा रमाउने क्षेत्र लाङटाङ हो । नेपालको तेस्रो गन्तव्यस्थलको रूपमा परिचित लाङटाङ भूकम्पपछि केही सुस्ताएको थियो । काठमाडौंबाट १ सय ३२ किलोमिटर बस यात्रापछि स्याफ्रुबेंसी पुगिन्छ । लाङटाङ पैदल यात्रा सोही स्थानबाट लाङटाङ पदयात्रा सुरु हुन्छ । लाङटाङ भूकम्पका कारण ध्वस्त भए पनि पछिल्लो समय बाटोहरू निर्माण भएसँगै पर्यटकहरूको चहलपहलसमेत बढ्न थालेको छ । नवलपरासी जंगलसँग रमाउँदै बोट लिएर चराचुरुंगी हेर्नको लागि उत्कृष्ट गन्तव्य पछिल्लो समय नवलपरासीलाई लोन्ली प्लानेटले उल्लेख गरेको छ । चितवन राष्ट्रिय निकुञ्जभित्र पर्ने उक्त क्षेत्रमा १ सय १४ प्रजातिका चराचुरुंगीहरूको अवलोकन गर्न पाइन्छ । नवलपरासी वरपर पछिल्लो समय सुविधासम्पन्न होटल तथा रिसोर्टसमेत खुलेका छन् । हात्ती सफारीमार्फत जंगली जनावरहरूको अवलोकन गर्न समेत पाइने क्षेत्रलाई प्लानेटले सन् २०१७ मा पर्यटकलाई घुम्न सुझाव दिएको छ । बारपाक गोरखाको उत्तरी क्षेत्रमा पर्ने बारपाक भूकम्पको केन्द्रबिन्दू हो । त्यहाँका अधिकांश घरहरू भत्किएका थिए । विगतमा नमुना होमस्टेसमेत रहेको बारपाक अहिले पुनर्निर्माणको काम भइरहेको छ । प्रकृतिले रमणीय स्थानमा रहेको बारपाक समुद्र सतहदेखि १ हजार ९ सय मिटर उचाइमा छ । कारोबार दैनिकबाट ।

संघीयता कार्यान्वयनले केन्द्रमा १२ वटा मात्रै मन्त्रालय, १८ वटा परे खारेजको सूचीमा

काठमाडौं १८ पुस । उच्चस्तरीय प्रशासन सुधार कार्यान्वयन तथा अनुगमन समितिले संघीयता कार्यान्वयन गर्न केन्द्र (संघ)मा १२ मन्त्रालय बनाउन प्रस्ताव गरेको छ। मुलुक संघात्मक संरचनामा जाँदा प्रभावकारी केन्द्रीय संरचना निर्माण गर्नुपर्ने ठहर गर्दै समितिले संघमा १२ र प्रदेशस्तरमा बढीमा १० वटासम्म मन्त्रालय बनाउन प्रस्ताव गरेको हो। संघीयतामा जाँदा केन्द्रीय तहको काम, कर्तव्य, अधिकार, भूमिका र जिम्मेवारीमा धेरै फरक पर्ने भएकाले त्यसलाई व्यवस्थापन गर्न सानो मन्त्रिपरिषद् बनाउन समितिले सुझाब दिएको हो। गत साता प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई प्रशासन सुधार कार्यान्वयन अनुगमनसम्बन्धी दोस्रो प्रतिवेदन बुझाउँदै समितिले यस्तो प्रस्ताव गरेको हो। सरकारले राज्य पुनर्र्र्संरचनाका विभिन्न पक्षको अध्ययन गरी आवश्यक सिफारिस गर्न १२ फागुन ०७१ मा प्रशासकीय अदालतका अध्यक्षसमेत रहेका प्रशासनविद् काशीराज दाहालको अध्यक्षतामा विभिन्न मन्त्रालयका सचिवसदस्य रहेको उच्चस्तरीय समिति गठन गरेको थियो। समितिले संघ र प्रदेशमा आवश्यक पर्न सक्ने मन्त्रालय र तिनका कार्यक्षेत्रसमेत निर्धारण गरी सरकारलाई दोस्रोपटक प्रतिवेदन बुझाएको हो। मुख्यसचिव डा। सोमलाल सुवेदीले समितिकै प्रस्तावबमोजिम सरकारले केन्द्रमा १२ देखि १५ वटासम्म मन्त्रालय बनाउने गरी गृहकार्य थालेको जानकारी दिए। अहिले केन्द्रमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसहित ३१ वटा मन्त्रालय रहेको छ। अब आधाभन्दा बढी संख्यामा ती मन्त्रालय कटौतीमा पर्नेछन्। ‘प्रशासन सुधार समितिले संघमा बढीमा १२ वटासम्म मन्त्रालय बनाउन प्रस्ताव गरेको छ, हामी पनि संघमा सकेसम्म १२, नभएमा बढीमा १५ वटासम्म मन्त्रालय बनाउने गरी गृहकार्यमा लागिसकेका छौँ, मुख्यसचिव सुवेदीले नयाँ पत्रिकासँग भने। प्रशासन सुधार समितिका अध्यक्ष दाहालले संघीय शासन व्यवस्थामा संघीय संरचनालाई छरितो र चुस्त बनाउनुपर्ने तथा प्रदेश र स्थानीय तहमा पनि आधारभूत संरचना मात्र निर्माण गर्नु उपयुक्त हुने निष्कर्षसहित संघमा १२ र प्रान्तमा १० वटासम्म मन्त्रालय बनाउन प्रस्ताव गरेको जानकारी दिए। समितिले संघ र प्रदेशमा आवश्यक पर्ने मन्त्रालयहरूको प्रस्ताव गर्दै ती निकायको काम, कर्तव्य र अधिकारसमेत किटान गरेको छ। यसले संघीय र प्रान्तीय तहमा मन्त्रालयहरूको संख्या निर्धारण गर्न सरकारलाई सहज हुने देखिएको छ। समितिले संघमा प्रस्ताव गरेका मन्त्रालय १ प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय २ रक्षा मन्त्रालय ३ अर्थ मन्त्रालय ४ कानुन तथा न्याय मन्त्रालय ५ परराष्ट्र मन्त्रालय ६ संघीय मामिला मन्त्रालय ७ गृह मन्त्रालय ८ मानव संसाधन विकास मन्त्रालय ९ पर्यटन, उद्योग तथा वाणिज्य मन्त्रालय १० जलस्रोत तथा कृषि मन्त्रालय ११ सूचना तथा सञ्चार मन्त्रालय १२ राष्ट्रिय पूर्वाधार विकास मन्त्रालय समितिले खारेज गर्न प्रस्ताव गरेका मन्त्रालय १.भूमिसुधार तथा व्यवस्था २. भौतिक पूर्वाधार तथा यातायात ३. महिला, बालबालिका तथा समाजकल्याण ४. युवा तथा खेलकुद ४.वन तथा भूसंरक्षण ५.वाणिज्य तथा आपूर्ति ६. जनसंख्या तथा वातावरण ८.शान्ति तथा पुनर्निर्माण ९.शिक्षा १०. श्रम तथा रोजगार ११. सहकारी तथा गरिबी निवारण, १२. सहरी विकास १३ सामान्य प्रशासन १४.सिँचाइ १५.पशु पन्छि विकास १६. खानेपानी तथा सरसफाइ १७. स्वास्थ्य मन्त्रालय १८.विज्ञान तथा प्रविधि नयाँ पत्रिका दैनिकबाट

हावाबाट ३१ किलोवाट बिजुली निकालिँदै, अछाममा धमाधम काम हुँदै

अछाम १८, पुस । गत बर्ष तत्कालिन प्रधानमन्त्री केपी ओलीले हावाबाट बिजुली निकाल्ने कुरा गर्दा धेरैले हावा गफ भनेको थिए । तर अछामजस्तो विकट जिल्लाको कमलबजारमा हावाबाट बिजली निकाल्ने कार्य अन्तिम चरणमा पुगेको छ । हावाबाट बिजुली बाल्ने योजनासहित मंसिर महिनाको तेस्रो हप्ताबाट धमाधम काम भईरहेको छ । वैकल्पिक उर्जा प्रवद्धन केन्द्रको सहयोग र स्थानियको श्रम तथा अनुदानमा सुरु गरिएको उक्त आयोजनामा बिजुली बाल्नका लागि बिद्युत् भवन निर्माण र पंखा जोडिसकिएको छ भने खम्बा गाड्ने काम भइरहेको छ । आयोजनाबाट ३१ किलोवाट क्षमताको हावाबाट विद्युत् उत्पादन गरी कमलबजार नगरपालिका भित्र विस्तार गरिने छ । कारोबार दैनिकबाट ।

उपभोगमै ९५ प्रतिशत आय, प्रतिव्यक्ति आय ७९ हजार ३ सय ७० रुपैयाँ, बचत नै हुँदैन नेपालीको आम्दानी

काठमाडौं पुस १८, आम नेपालीले कुल आयको झन्डै ९५ प्रतिशत उपभोगमा सक्ने गरेको पाइएको छ । केन्द्रीय तथ्यांक विभागले हालै समायोजन गरेको गत आर्थिक वर्ष २०७२/७३ को राष्ट्रिय लेखा तथ्यांकअनुसार कुल गार्हस्थ्य उत्पादन (जीडीपी)को ९४.७४ प्रतिशत अन्तिम उपभोग हुने गरेको छ । यो हालसम्मकै उच्च अनुपातको उपभोग हो । आव ०७१र७२ मा कुल उपभोग खर्च जीडीपीको ९१.२१ प्रतिशतमात्र थियो भने पाँच वर्षअघि ८६ प्रतिशतमात्र थियो । उपभोग बढ्दै जाँदा कुल राष्ट्रिय बचतमा त्यसको सोझो असर पर्छ । आव २०६७/६८ का जीडीपीको झन्डै १४ प्रतिशत राष्ट्रिय बचत हुने गरेकोमा गत आवसम्म आइपुग्दा यो ५.२६ प्रतिशतमा झरेको । तथ्यांक विभागका अनुसार अहिले नेपालीको प्रतिव्यक्ति आय ७९ हजार ३ सय ७० रुपैयाँबराबर पुगेको छ । अमेरिकी डलरमा भने प्रतिव्यक्ति आय ७५२ डलरमात्र छ, यो अघिल्लो आव ०७१/७२ भन्दा १० डलरले घटेको हो । अमेरिकी डलरसँगको विनिमयमा नेपाली मुद्रा कमजोर भएकाले नेपालीको प्रतिव्यक्ति आय पनि घटेको हो । अहिले नेपालको अर्थतन्त्रको कुल आकार २२ खर्ब ४८ अर्ब ६९ करोड रुपैयाँमात्र पुगेको छ । गत वर्षको भूकम्प, मधेश आन्दोलन र भारतीय नाकाबन्दीका कारण आर्थिक वृद्धिदर ०.५६ प्रतिशतमा खुम्चेको विभागको प्रतिवेदनमा उल्लेख छ । खुम्चियो कृषि विभागका अनुसार जीडीपीमा कृषिको योगदान ३१.२ प्रतिशतमा खुम्चेको छ, जुन आव ०५८/५९ मा ३५.६ प्रतिशतमा थियो । यसैगरी उद्योग क्षेत्रको योगदान पनि ५.५३ प्रतिशतमा खुम्चिएको छ, अघिल्लो आवमा यसको अंश ६.५ प्रतिशत थियो । अर्थतन्त्रमा सेवा क्षेत्रको योगदान ५४.३ प्रतिशत पुगेको छ, जसमध्ये रियल इस्टेट र व्यावसायिक क्षेत्र, शिक्षा र वित्तीय क्षेत्रको योगदान ह्वात्तै बढेको पाइएको छ । पछिल्लो दशकमा अत्याधिक विस्तार भएको रियल इस्टेट क्षेत्र र व्यावसायिक क्षेत्रले जीडीपीमा ९.२ प्रतिशत, शिक्षा क्षेत्रले ६.८ प्रतिशत र वित्तीय क्षेत्रले ५ प्रतिशत हिस्सा ओगटेका छन् । कृषिपछि अर्थतन्त्रमा सर्वाधिक योगदान गर्ने क्षेत्र भने थोक तथा खुद्रा व्यापार नै छ, जसले १४.२ प्रतिशत हिस्सा ओगटेको छ । होटल तथा रेष्टुँरा क्षेत्रको योगदान भने २.१ प्रतिशतमा स्थिर छ । कारोबार दैनिकबाट ।

धान उत्पादनमा कीर्तिमान, एक खर्ब साढे चार अर्बको ५२ लाख ३० हजार मेट्रिक टन धान फल्यो

काठमाडौं १८, पुस । अघिल्लो वर्षको तुलनामा सर्वाधिक धान फलेको यस वर्ष तराईका १० जिल्लाले उत्पादनमा कीर्तिमान राखेका छन्। अघिल्लो आर्थिक वर्ष भारतीय नाकाबन्दी लगायतकका कारण मल बिउ र औषधि अभावले धान उत्पादनको १० प्रतिशत घटेको थियो। अघिल्लो वर्ष कम उत्पादन भएका जिल्लामै यस वर्ष सर्वाधिक धान उत्पादन भएको हो। गत वर्षको तुलनामा २१.६६ प्रतिशतले धान उत्पादन वृद्धि भएर यो वर्ष १ लाख खर्ब साढे चार अर्ब मुल्य बराबरको ५२ लाख ३० हजार मेट्रिक टन धान फलेको छ। अघिल्लो आर्थिक वर्षमा ४२ लाख ९१ हजार मेट्रिक टन धान फलेको थियो। अघिल्ला वर्षाको तुलनामा सर्वाधिक धान फलेको यस वर्ष तराईका १० जिल्लाले उत्पादनमा कीर्तिमान बनाएका छन्। अघिल्लो आर्थिक वर्ष भारतीय नाकाबन्दीलगायतका कारण मल, बिउ र औषधि अभावले धान उत्पादन १० प्रतिशतले घटेको थियो। अघिल्लो वर्ष कम उत्पादन भएका जिल्लामै यस वर्ष अत्यधिक धान उत्पादन भएको छ। गत वर्षको तुलनामा २१.६६ प्रतिशतले उत्पादनमा वृद्धि भएर यो वर्ष एक खर्ब साढे चार अर्ब मूल्यबराबरको ५२ लाख ३० हजार मेट्रिक टन धान फलेको छ। अघिल्लो आर्थिक वर्षमा ४२ लाख ९९ हजार मेट्रिक टन धान फलेको थियो। यस वर्ष उल्लेख्य परिमाणमा धान फल्नुमा १० वटा जिल्लाको उत्पादनले मुख्य भूमिका खेलेको छ। कृषि विकास मन्त्रालयले आइतबार वर्षेवालीको तथ्यांक सार्वजनिक गर्दै १० जिल्लामा अत्याधिक उत्पादन हुँदा परिमाणमा वृद्धि आएको जनाएको छ। केही वर्षयता उत्पादनको हिसावले निकै तल पुगेको केही जिल्ला पनि यो वर्ष माथि उक्लेका छन्। नेपाल राष्ट्रबैंक र केन्द्रीय तथ्यांक विभागसँग सहकार्य गरी धान उत्पादनको अवस्था सार्वजनिक गरिएको छ। यो वर्ष आश्चर्यजनक रूपमा धानको उत्पादन वृद्धि भयोु, मन्त्रालयका प्रवक्ता योगेन्द्र कार्कीले भने, ुउन्नत बिउ, मल, प्रविधि र अकासे पानीका कारण उत्पादनले रेकर्ड तोड्यो। धान उत्पादनका हिसाबले झापा सर्वोत्कृष्ट ठहरिएको छ। झापामा यस पटक तीन लाख ३८ हजार मेट्रिक टन धान फलेको छ। यसैगरी दोस्रो नम्बरमा मोरङ आएको छ। मोरङमा तीन लाख २५ हजार आठ सय मेट्रिक टन उत्पादन भएको छ। तेस्रो नम्बरको कैलालीमा दुई लाख ८३ हजार दुई सय २४ मेट्रिक टन र चौथो रूपन्देहीमा दुई लाख ७२ हजार एक सय ८४ मेट्रिक टन धान फलेको वरिष्ठ तथ्यांक अधिकृत रामकृष्ण रेग्मीले जानकारी दिए। यस्तै बारामा दुई लाख ४० हजार चार सय २५ मेट्रिक टन, धनुषामा दुई लाख २५ हजार तीन सय ९८ मेट्रिक टन, कपिलवस्तुमा दुई लाख १० हजार पाँच सय ८२ मेट्रिक टन, बर्दियामा दुई लाख दुई हजार मेट्रिक टन, सुनसरीमा एक लाख ८४ हजार मेट्रिक टन र सुनसरीमा एक लाख ८४ हजार मेट्रिक टन धान फलेको छ। नवलपरासीमा एक लाख ८२ हजार, पर्सामा एक लाख ८० हजार, कञ्चनपुरमा एक लाख ६७ हजार, सप्तरीमा एक लाख ६२ हजार र सिरहामा एक लाख ५५ हजार मेट्रिक टन धान फलेको छ। सातआठ वर्षदेखि सुनसरी, सप्तरी, सिरहा, धनुषा, सर्लाही, महोत्तरीलगायतका जिल्लामा धान कम परिमाणमा फल्दै आएको थियो। धान उत्पादनमा वृद्धि भए पनि नेपालीको भाते बानीका कारण यस वर्ष पनि करिब चार लाख मेट्रिक टन चामल अपुग हुने अवस्था छ। ुगत वर्षको गहुँको उत्पादनकै हाराहारीमा उत्पादन भए यो वर्ष खाद्यान्नमा आत्मनिर्भर भएर करिब आठ लाख मेट्रिक टन खाद्य बचत हुने अवस्था छ, प्रवक्ता कार्कीले भने। कृषि विभागका महानिर्देशक युवकध्वज जीसीका अनुसार चालू आर्थिक वर्षमा गत वर्षको तुलनामा यस वर्ष मकै, कोदो र फापर उत्पादनमा समेत वृद्धि भएको छ। यस वर्ष २२ लाख ५९ हजार मेट्रिक टन मकै फलेको छ। अघिल्लो आर्थिक वर्षमा २२ लाख ३१ हजार मेट्रिक टन मकै फलेको थियो। यस्तै यस वर्ष तीन लाख ६ हजार मेट्रिक टन कोदो उत्पादन भएको छ। अन्नपूर्ण पोस्टबाट ।