विकासन्युज

काठमाडौं-बिरगञ्ज रेल वेः ग्लोबल टेण्डरको समय एक हप्ता थपियो

काठमाडौं, १८ पुस । काठमाडौं-बिरगञ्ज विद्युतिय रेल मार्गको सम्भाव्यता अध्ययन गर्न इच्छुक कम्पनीका लागि जारी गरिएको ग्लोबल टेण्डरको म्याद एक हप्ता थपिएको छ । रेल विभागले गत मंसिर १९ गते सम्भाव्यता अध्ययनका लागि उपयुक्त कम्पनी छान्न भन्दै ग्लोबल टेण्डर आव्हान गरेको थियो । ‘काठमाडौं–बिरगञ्ज रेल मार्गको सम्भाव्यता अध्ययनका लागि आव्हान गरिएको ग्लोबल टेण्डरको समय एक हप्ता थपेका छौं’, रेल विभागका सिनियर डिभिजनल इञ्जिनियर प्रकाश उपाध्यायले विकासन्युजसँग भने । सरकारले आर्थिक बर्ष २०७३/७४ कोे बजेटमा काठमाडौं–बिरगञ्ज रेलमार्गको सम्भाव्यता अध्ययन गर्ने योजना अघि सारेको थियो । सम्भाव्यता अध्ययनका लागि रेल विभागले करिब ७ करोड बजेट छुट्याएको छ ।विभागले यात्रु बोक्ने तथा कार्गाे समान बोक्ने रेल वे लाइन निर्माणको सम्भाव्यता अध्ययन अघि बढाउन लागेको बताएको छ । समय सिमा भित्र आवेदन दिने कम्पनीमध्येबाट विभागले पहिलो चरणमा ६ वटा कम्पनीलाई छनौट गर्नेछ । ती कम्पनीसँग ३० देखि ४५ दिनको समय भित्र वित्तिय तथा प्राबिधिक रिपोर्ट मागिनेछ । त्यसरी वित्तिय तथा प्राबिधिक रिपोर्ट बुझाउने कम्पनीमध्येबाट एउटा कम्पनीलाई सम्भाव्यता अध्ययन गर्ने जिम्मा दिईने उपाध्यायले बताए । यसरी अधिकतम ४ महिना भित्र काठमाडौं–बिरगञ्ज विद्युतिय रेलमार्ग निर्माणको सम्भाव्यता अध्ययन गर्ने कम्पनीको छनौट हुनेछ । सो कम्पनीले ६ महिना भित्र सम्भाव्यता अध्ययनको रिपोर्ट विभालाई बुझाउने छ र त्यसकै आधारमा विभागले नयाँ प्रक्रिया मार्फत डिपिआर निर्माणको काम अघि बढाउनेछ । यद्यपी सन २०१७ को अप्रिल महिना भित्र रिपोर्ट बुझाउनुपर्ने विभागले सार्वजनिक गरेको सूचनामा उल्लेख गरिएको छ ।

सोमबारको सेयर बजारमा उतारचढाव, नेप्से १७ अंकले वृद्धि, ५१ करोडको सेयर कारोबार

काठमाडौ, १८ पुस । सोमबार सेयर बजारमा उतारचढाव देखिएको छ । सेयर कारोबार सुरु भएको आधा घन्टामै नेप्से परिसूचक बढेर १४८४ अंकमा पुगेको थियो । त्यसपछिको एक घण्टामा फेरि घटेर १४६६ अंकमा पुगेको थियो । त्यसपछिको सेयर कारोबार भने केही टेवा पुगेको देखिन्छ । कारोबार बन्द हुँदा नेप्से परिसूचक १७ दशमलब १३ अंकले बढेर १४८२ अंकमा अडेको छ । सोमबार बजारमा ५१ करोड ४९ लाख रुपैयाँको सेयर कारोबार भएको छ । सोही दिन १३० कम्पनीको १० लाख १७ हजार कित्ता सेयर किनबेच भएको हो । सोमबार जस्तै आइतबार पनि सेयर बजार उकालो लागेको थियो । सो दिन होटल समूह बाहेक कारोबार भएका सबै समूहको परिसूचक उकालो लागेका छन् । सबैभन्दा बढी बीमा समूहको परिसूचक २८ अंकले उकालो लागेको छ । त्यस्तै, बैंकिङ् र विकास बैंक समूहको परिसूचक क्रमशः २३ र १३ अंकले बढेका छन् । होटल समूहको परिसूचक ६ दशमलब ३७ अंकले ओरालो लागेको छ । बजारमा तीन कम्पनीका सेयर मूल्य करिब १० प्रतिशतले बढेका छन् । सप्तकोसी डेभलपमेन्ट बैंक, अरुण फाइनान्स र मञ्जुश्री फाइनान्सका लगानीकर्ताले क्रमशः ९.७५, ९.६४ र ९.२९ प्रतिशत कमाएका छन् । मिथिला लघुवित्त विकास बैंकको सेयर मूल्य करिब १० प्रतिशतले घटेको छ । सो दिन सबैभन्दा बढी एभरेष्ट बैंकको ३ करोड बढी रुपैयाँको सेयर किनबेच भएको छ । त्यस्तै, सिटिजन बैंक इन्टरनेशनल, बैंक अफ काठमाण्डू लुम्बिनी र सिद्धार्थ बैंकको २ करोड बढीको सेयर कारोबार भएको छ ।

सोमबार मात्रै ३ करोड कित्ता बोनस र एक लाख बढीको हकप्रद सेयर नेप्सेमा सूचिकृत

काठमाडौं, १८ पुस । सोमबार मात्रै २ करोड ९९ लाख ४४ हजार ६८१ कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत भएको छ । साथै, सोही दिन मिथिला लघुवित्त विकास बैंकको एक लाख ६९ हजार ७४० कित्ता हकप्रद सेयर नेप्सेमा सूचिकृत भएको छ । सोमबार ४ वटा बैंक तथा वित्तीय संस्थाको बोनस सेयर नेप्सेमा सूचिकृत भएको छ । नविल बैंकको एक करोड ४२ लाख ८९ हजार ३७४ कित्ता र अपी पावर कम्पनीको ५ लाख कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत भएको छ । त्यस्तै, नेपाल इन्भेष्टमेन्ट बैंकको एक करोड ४९ लाख १४ हजार ०२७ कित्ता र कन्ट्रि डेभलपमेन्ट बैंकको २ लाख ४१ हजार २८० कित्ता गरि सो मात्राको बोनस सेयर नेप्सेमा सूचिकृति भएको छ ।

५ महिनामा उठ्यो ३ अर्ब ५९ करोड, १९ महिनाको आम्दानी कता हरायो ?

काठमाडौं, १८ पुस । नेपाल आयल निगमको पुर्वाधार कोषमा पाँच महिनामै ३ अर्ब ५९ करोड रुपैंयाँ संकलन भएको छ । निगमले आफ्नो पुर्वाधार सुदृढिकरणका लागि भन्दै स्थापना गरेको पुर्वाधार कोषमा चालु आर्थिक बर्षको पाँच महिनामा ३ अर्ब ५९ करोड रुपैंयाँ जम्मा भएको हो । निगम श्रोतका अनुसार साउन देखि मंसिर १५ गतेको अवधीमा सो रकम जम्मा भएको हो । तर निगमले पुर्वाधार विकासका नाममा २०१७१ माघ देखि नै उपभोक्तासँग शुल्क असुल्दै आएको थियो । ५ महिनामै साढे तीन अर्ब भन्दा बढि रकम संकलन गरेको निगमले १९ महिनाको हिसाब किताब भने तयार गरेको छैन् । निगमको पुर्वाधार कोषमा कति रकम जम्मा भएको छ ? भन्ने प्रश्नको जवाफमा निगमका प्रवक्ता भानुभक्त खनालले भने–‘कति पैसा उठेको छ, हिसाब गरेका छैनौं तर ऋण तिर्न प्रयोग गरेको भने सत्य हो ।’ कति उठाउँछ निगम ? निगमले हाल पूर्वाधार विकासका लागि भन्दै डिजेल, पेट्रोल र मट्टितेलमा प्रतिलिटर पाँच÷पाँच रुपैंयाँ असुलिरहेको छ । त्यस्तै, हवाई इन्धन तर्फ आन्तरिक र वाह्यमा प्रतिलिटर दश/दश रुपैंयाँ उठाउँदै आएको छ । निगमले खाना पकाउने एलपी ग्यासमा भने प्रति सिलिण्डर ५० रुपैंयाँ उठाउँदै आएको छ । यसरी उपभोक्ताबाट संकलन गरिएको रकम हालसम्म अरबौं पुगिसकेको छ । उपभोक्ता मञ्च नेपालका अध्यक्ष प्रेमलाल महर्जन भन्छन–‘पूर्वाधार विकास कोषका लागि उपभोक्तासँग उठाएको पैसा नाफामा राखेर ऋण तिर्ने अनि बोनस खाने प्रयोजनका लागि खर्चिको छ, यो सरासर वित्तिय अपराध हो ।’ के केमा उठाउँछ निगमले पैसा ? निगमले हाल पूर्वाधार विकास बाहेक अन्य चार शिर्षकमा पनि उपभोक्तासँग रकम असुलिरहेको छ । निगमले मूल्य स्थिरिकरण कोषका लागि पेट्रोलमा प्रति लिटर ५१ पैसा, डिजेल र मट्टितेलमा ३९/३९ पैसा, हवाई इन्धन आन्तरिक उडानमा ४३ पैसा र बाह्य उडानमा प्रति लिटर ४१ पैसा असुलिरहेको छ । त्यस बाहेक बुढीगण्डकी जलविद्युत आयोजना निर्माणका लागि पनि निगमले डिजेल, पेट्रोल र आन्तरिक तथा बाह्य उडानको हवाई इन्धनमा प्रतिलिटर ५ रुपैंयाँ असुल्दै आएको छ । त्यस्तै, डिजेल र पेट्रोलमा प्रदुषण शुल्कका नाममा प्रतिलिटर ५० पैसा असुलिएको छ । सडक मर्मत सम्भार करका नाममा पेट्रोलमा ४ रुपैंयाँ र डिजेलमा २ रुपैंयाँ असुल्दै आएको छ । बुढीगण्डकी जलविद्युत आयोजनाका लागि भने निगमको कोषमा ४ अर्ब संकलन भएको निगमले श्रोतले बतायो ।

कञ्चनको ९ लाख ९० हजार कित्ता हकप्रद खुला, माघ २३ गतेसम्म आवेदन दिन सकिने

काठमाडौं, १८ पुस । कञ्चन डेभलपमेन्ट बैंकले कुल ९ लाख ९० हजार कित्ता हकप्रदको बिक्री खुला गरेको छ । बैंकले ५० प्रतिशत अर्थात दुई बराबर एकको अनुपातमा हकप्रद सेयरको बिक्री खुला गरेको हो । सो मात्राको हकप्रदको लागि इच्छुक लगानीकर्ताले सोमबार (आज) देखि माघ २३ गतेसम्म आवेदन दिन सक्ने बैंकले जनाएको छ । बैंकका अनुसार लगानीकर्ताले कञ्चन डेभलपमेन्ट बैंकको केन्द्रीय तथा सम्पुर्ण शाखा कार्यालय, ग्लोबल आइएमई क्यापिटल र ग्लोबल आइएमई बैंकका अन्य विभिन्न सात शाखाबाट आवेदन दिन सक्नेछन् । हाल बैंकको बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटले गरिरहेको छ । हाल बैंकको चुक्ता पूँजी १९ करोड ८० लाख रुपैयाँ चुक्ता पूँजी रहेको छ ।

नारायणगढ-मुग्लिन सडकखण्ड निर्माणले गति लिन सकेन, ६७ प्रतिशत काम अझै बाँकी

चितवन, १८ पुस । दैनिक चार घन्टा सडक रोकेर काम गर्दै आएको भए पनि नारायणगढ-मुग्लिन सडकखण्डको विस्तार कार्यले गति लिन सकेको छैन । सडकको करिब दुई किलोमिटर क्षेत्रमा पहाड काटेर बाटो फराकिलो पार्नुपर्ने भएपछि सडक नै रोकेर काम थालिएको हो । पुस ७ गतेबाट हरेक दिन बिहान ११ देखि दिउँसो ३ बजेसम्म सडकको भित्तो काट्ने काम भइरहेको छ । सो सडकको कालीखोला नजिक, चार किलो, जलवीरे, घुमाउने र १६ किलोमा पहाड काटेर सडक फराकिलो बनाउने काम भइरहेको छ भने दासढु्ङ्गामा सडकको सतह मिलाउने काम भइरहेको छ । आयोजनाका इञ्जिनियर शिव खनालका अनुसार छोटो समय बाटो रोक्दा पहाड काट्ने कामले गति लिन सकेको छैन । बिहान ११ बजे सडकमा छिरेका सवारी साधन बाहिरिँदा करिब १ बज्ने गर्दछ । त्यसबीचमा अत्यावश्यक सवारीका नाममा एम्बुलेन्स, पर्यटक बस, कूटनीतिक नियोगका सवारीलगायत भनसुनमा धेरै सवारी छिर्ने गर्दछन् । मोटरसाइकल नियमित भएकाले पूर्ण रुपमा आधा घन्टा पनि पूरै सडक रोकेर काम गर्न कठिन भएको खनालले बताउनुभयो । सडक खुलेपछि हुने सवारी चापले अन्य समयको कामलाई पनि प्रभावित बनाएको छ । आयोजनाले आठ घन्टा सवारी रोक्न माग गरेको भए पनि स्थानीय प्रशासनले चार घन्टा मात्रै अनुमति दिएको थियो । अत्यावश्यकका नाममा धेरै सवारी नछोड्ने र कम्तीमा छ घन्टा बाटो रोक्न पाए चार घन्टा काम गर्न पाइने आयोजनाका प्रमुख इञ्जिनियर चन्द्रनारायण यादव बताउछन् । सो सडकको ५० प्रतिशत काम सम्पन्न हुनुपर्ने अहिलेको समयमा ३३ प्रतिशतमात्रै काम भएको छ । सडकको १६ किलोमा ७५ मिटर अग्लो करिब ३०० मिटर लम्बाइ भएको पहाड काट्नु पर्नेछ भने घुमाउनेमा ४४ मिटर अग्लो १५० मिटर लम्बाइ भएको पहाड काट्नुपर्ने हुन्छ । जलवीरे, चारकिलो र कालीखोलामा पनि त्यति नै अग्ला पहाड काटेर सडक चौडा गर्नुपर्ने हुन्छ । आयोजनाका इञ्जिनियर खनालका अनुसार सो क्षेत्रमा ५ दशमलब ५ मिटरमात्रै सडक चौडा छ । जहाँ विस्तार गरेर सडक १० मिटर फराकिलो बनाइँदैछ । सो क्षेत्रमा कडा चट्टान रहेका छन् । खनालका अनुसार एउटा ब्रेकरले दैनिक ५० देखि ६० घनमिटरमात्रै चट्टान काट्न सक्छ । छ ठाउँमा ब्रेकर, स्काभेटर र लोडर एक एकवटा परिचालन गरिएको छ भने आवश्यक मात्रामा टिपर प्रयोग गरिएको छ । चितवनका प्रमुख जिल्ला अधिकारी, नारायणप्रसाद भट्टले अत्यावश्यका नाममा अनावश्यक सवारी साधन प्रवेश गरेको भए त्यसलाई तत्काल रोकिने र कामले गति लिन नसके केही समय बढाएर भए पनि सडक छिटो निर्माण गरिने बताएका छन् । उनले आजै सरोकारवाला निकायसहितको सडकको अनुगमन गरी थप के गर्न सकिन्छ, सडक विस्तारका लागि सहयोग गरिने बताए । उनले भने – “म आजै आयोजना प्रमुख, तीनवटै सडकखण्डका ठेकेदार, परामर्शदाता, सुरक्षा निकायसहित प्रत्यक्ष निरीक्षण गरेर सडकको गति बढाउने गरी थप निर्णय गर्दछु ।” सडक विभागको योजना तथा डिजाइन महाशाखाले गरेको सर्वेक्षणअनुसार सो सडक हुँदै दैनिक छ हजार १७७ हाराहारीमा सवारी आवागमन हुने गर्दछ । रासस

राष्ट्रिय वाणिज्य बैंकको एटिएम सेवा सदरमुकाममा

सोलुखुम्बु, १८ पुस । राष्ट्रिय वाणिज्य बैंक सोलुखुम्बु शाखा कार्यालयले सदरमुकाममा एटिएम सेवा शुरु गरेको छ । यसअघि कुनै पनि बैंकले एटिएम प्रयोगमा नल्याएको अवस्थामा बैंकले सदरमुकाममा सोमबारबाट एटिएम सेवा शुरु गरेको हो । प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले सो सेवा शुभारम्भ गरेका छन् । एटिएम कार्डको प्रयोगबाट रु दुई लाखसम्म झिक्न मिल्ने र सेवा बिहान ७ देखि साँझ ७ बजेसम्म उपलब्ध हुने सो शाखाका निमित्त प्रमुख भावना फुयाँलले जानकारी दिएका छन् । जिल्लास्थित सबै सरकारी तथा गैरसरकारी कार्यालयका साथै सर्वसाधारणको बैंकीङ कारोबारका कारण रकम झिक्न घन्टौँ लाइन लाग्नुपर्ने अवस्था अब कम हुने निमित्त प्रमुख फुयाँलले बताए । रासस

सीई ग्रुपद्धारा विभिन्न अनाथ तथा असहाय बालबालिकालाई सहयोग

काठमाडौं, १७ पुस । घर जग्गातथा रियल स्टेट व्यवसायिक समूह सीई ग्रुपले बालबालिकाका साथमा आफ्नो स्थापनाको रजत जयन्ती मनाएको छ । उक्त अवसरमा ग्रुपको सहायक कम्पनी सीइ कन्सट्रक्सन प्रालीले नवकिरण अनाथ तथा असहाय आश्रमका ४० बालबालिकालाई ज्याकेट वितरण गरेको छ । ‘मेकिङ दिस विन्टर वार्म’भन्ने नाराका साथ गु्रपले ज्याकेट वितरण गरेको जानकारी दिएको छ । ग्रुपका संस्थापकहरु विजय राजभण्डारी, गोपाल मानन्धर र श्याममीलन श्रेष्ठले बालबालिकाहरुलाइ ज्याकेट वितरण गरेका थिए । गत साता ग्रुपले मानव सेवा आश्रमका वृद्धवृद्धालाई व्याल्ङकेट वितरण गरेको थियो । ग्रुपले प्रत्येक वर्ष विभिन्न सामाजिककार्य गर्दै आइरहेको छ । यस वर्ष भने रजत जयन्ती परेकोले वर्षभरी नै सामाजिककार्य सञ्चालन गरिने बताइएको छ ।