ज्योति विकास बैंकले पायो ‘वेष्ट इन्टरप्राइज अवार्ड’
काठमाडौं । ज्योति विकास बैंकले ‘वेष्ट इन्टरप्राइज अवार्ड’ प्राप्त गर्न सफल भएको छ । बैंकलाई उक्त अवार्ड सोक्रेटिश कमिटि, अक्सफोर्ड, बेलायतले प्रदान गरेको हो । हालै लण्डनमा सम्पन्न एउटा अन्तराष्ट्रिय समारोहमा ज्योति विकास बैंकलाई नेपालको बैंकिंग क्षेत्रको उत्कृष्ठ संस्था घोषित गरिएको थियो । साथै, सो बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर कुँवरलाई मेनेजर अफ दि एअर द्वारा सम्मान गरिएको छ । यो समारोह लण्डन स्थित इन्स्टीच्युट अफ डाइरेक्टर्स, युरोपियन बिजनेस एसेम्बलीले संयुक्त रुपमा आयोजना गरेका थिए । यस समारोहमा नेपाल लगायत ५४ देशका प्रतिनिधिहरु सहभागी थिए । तिनमा भारत, श्रीलंका, बंगलादेश, पाकिस्तान, कम्बोडिया, इन्डोनेशिया, फिलिपिन्स, अफगानिस्तान, मलेशिया, मेक्सिको, बेलायत समेत थिए । सहभागी संस्थाहरुमा युनाइटेड बैंक अफ इन्डिया, अजिजी बैंक अफगानिस्तान, नोम्पेन्ह वाटर सप्लाई अथरिटी कम्बोडिया, युनिभर्सिटी अफ योर्क, डिवाई पाटिल युनिभर्सिटी इन्डिया, ओपन युनिभर्सिटी अफ स्वीटजरलैण्ड समेत थिए ।
विश्वको पहिलो पानीजहाज सुरुङ् मार्ग बन्दै, समुन्द्रको ८० लाख टन चट्टान विष्फोट गरि हटाइने
काठमाडौं । आँधी हुरी आइरहने समुद्री इलाका छल्न चट्टानी प्रयद्विप मुन्तिर सुरुङ मार्ग निर्माण गर्ने योजना नर्बेले अगाडि सारेको छ । स्टाड प्रायद्विप नजिकैको नर्वेली तटमा ठूला छाल र आँधी हुरीहरु आइरहेन्छ । तर पानी जहाजको सुरक्षा र तीनको गति बढाउन त्यहाँ एक महन्वकांक्षी समाधानको उपाय अघि सारिएको छ । त्यहाँको चट्टानी प्रायद्विपको मुन्तिर ‘विश्वको पहिलो पानीजहाज सुरुङ’ खनिने छ । यो सुरुङले उथलपुथल युक्त समुद्री इलाका छलेर दुई फियोडेका शान्त समुद्रलाई जोड्ने छ । पानी जहाजको निम्ति नहर मार्ग पहिले पनि बनाईएका हुन् । तर नर्वे सरकारले भनेको छ यो यस किसिमको पहिलो सुरुङ मार्ग हो । बीबीसीका अनुसार यसको निर्माण गर्न इञ्जिनियरहरुले अनुमानित ८० लाख टन चट्टान विष्फोन गरि हटाउनुपर्छ । उनीहरुले १७०० मिटर लामो उक्त सुरुङ मार्ग निर्माण कार्य सन् २०२३ सम्ममा सम्पन्न गर्ने आशमा छन् ।
गर्जाङ उपत्यका हाइड्रो पावरले ६ लाख कित्ता सेयर निष्काशन गर्दै, विद्युत उत्पादन यहि वैशाखबाटै
काठमाडौं । गर्जाङ उपत्यका हाइड्रो पावरले ६ लाख कित्ता साधारण सेयर निष्कासन गर्ने भएको छ । प्रति सेयर एक सयका दरले हाइड्रोपावरले ६ करोडको साधारण सेयर निष्कासन गर्न लागेको हाइड्रोपावरका प्रमोटर तथा सञ्चालक माणिकरत्न शाक्यले बताए । कुल २० करोड पुँजी रहेको उक्त हाइड्रोपावरमा १४ करोड रुपैयाँको प्रमोटर सेयर रहेको छ । पावर कम्पनीले उक्त पूँजीमध्ये ६ करोडको साधारण सेयर यहि बैशाखभित्र निष्कासन गर्न लागेको हो । हाइड्रोपावरले २ लाख कित्ता सेयर स्थानीयलाई दिने छ भने वाँकी चार लाख कित्ता सेयर सर्वसाधारणका लागि यहि वैशाखभित्र निष्कासन गर्ने तयारी गरेको छ । धितोपत्र बोर्ड (सेवोन) बाट सेयर निष्कासनको अनुमति आउने वित्तिकै ४ लाख कित्ता सेयर निष्कासन गर्ने शाक्यले बताए । ‘अहिले हामी सेवोनबाट सेयर निष्कासनका लागि अनुमति लिने क्रममा रहेका छौ,’ अनुमति पाउने वित्तिकै सेयर निष्कासन हुने छ । रामेछापको चुचुरे गाउँपालिकाको चाके खोलाबाट शुन्य दशमलव ८३ मेगावाट विद्युत उत्पादन गर्न लागिएको शाक्यले बताए । उनका अनुसार आयोजना निर्माण कार्य सम्पन्न भइसकेको छ । आयोजनाले यहि वैशाखबाट व्यवसायिक उत्पादन शुरु गर्नेछ । प्रति मेगावाट १७ करोड रुपैयाँको लागतमा उक्त आयोजनाको निर्माण कार्य सम्पन्न भएको हो । आयोजनाले अबको दुई वर्षभित्र क्यासक्याबिङमार्फत अन्य स्थानमा पावर हाउसहरू निर्माण गरेर विद्युत क्षमता अभिबृद्धि गर्ने योजना बनाएको छ । उक्त कार्य सम्पन्न भएपछि विद्युत उत्पादन क्षमता बढेर पाँच दशमलव ३ मेगावाट पुग्ने छ । आयोजना आफैले १२ किलो मिटर प्रसारण लाइन निर्माण गरी केन्द्रीय प्रसारण लाइनमा जडान गर्ने कार्य पनि सम्पन्न गरिसकेको छ ।
यति ब्रुअरीको नयाँ “अर्ना लाइट” र “अर्ना स्ट्रङ्ग” बियरहरु नेपाली बजारमा
काठमाडौं । यति ब्रुअरीले नेपाली बियरप्रेमीहरु माझ दुई नयाँ बियरहरु प्रस्तुत गरेको छ । कम्पनीले आइतबार क्लब ट्वेन्टी-फाइभ, टंगालवुडमा आयोजित एक कार्यक्रम मार्फत “अर्ना लाइट” र “अर्ना स्ट्रङ्ग” बियरहरु नेपाली बजारमा सार्वजनिक गरेको हो । कम्पनीका अनुसार यी नयाँ बियररुले नेपाली बियर उपभोक्ताहरुलाई निकै प्रत्येक्षित विकल्प तथा थप आकर्षण प्रदान गर्ने छ । अनावरण सँगै अर्ना लाइट र अर्ना स्ट्रङ्ग देशभरका सबै प्रमुख लिक्वर आउटलेट, होटल, रेस्टुरेन्ट्, स्टोर तथा पब्हरुमा सर्वत्र उपलब्ध हुने कम्पनीले जनाएको छ । अर्ना लाइट नेपालको पहिलो र एकमात्र लो-क्यालोरी अर्थात् कम क्यालोरी भएको बियर हो । जुन “हाइ अन फन, लो अन क्यालोरी” भन्ने मूख्य सन्देश लिई बजारमा आएको छ । यस बियरले “स्वाद” लाई प्राथमिकता दिँदै उपभोक्ताहरुले बियरमा चाहने हरेक गुणलाई प्रस्तुत गर्नुका साथै क्यालोरी र कार्बको मात्रा घटाई आजकलको व्यस्त जीवनशैलीमा उपभोक्ताहरुले अधिक रुचाएको “फिट्नेश” मा पनि ध्यान दिएको छ । नयाँ वर्षको आगमनसँगै प्रस्तुत गरिएकोयस बियरले सबै बियरप्रेमीहरु माझ एक फरक र ताजा विकल्प ल्याई नेपालको बियर बजारको परिदृश्यमा महत्वपूर्ण परिवर्तन ल्याएको छ । स्वादमा कुनैपनि किसिमको असर नपर्ने गरी एक्स्ट्रा क्यालोरी तथा कार्बको मात्रा घटाउनका निम्ति यस बियरलाई २५ प्रतिशत सम्म बढि समयको लागि “ब्रिउ” गरिएको छ । सामान्य माइल्ड बियरको तुलनामा अर्ना लाइटमा क्यालोरी २० प्रतिशत र कार्ब ३४ प्रतिशत कम रहेको छ । कार्यक्रममा बोल्दै कम्पनीका जेनेरल म्यानेजर (सेल्स् तथा मार्केटिङ्ग), अरुण के.सी. ले भने – “अर्ना लाइटको अनावरण हाल उपभोक्ताहरुमा देखिएको एक स्वस्थ जीवनशैलीको चाहना तथा बियरको रोजाईमा आएको परिवर्तनका कारण भएको हो । त्यसैले अर्ना लाइटले बियर बजारमा एक फरक पृष्ठ सुरु गर्न गइरहेको छ जसले उपभोक्तहरुलाई उनिहरुले खोजि रहेको फरक विकल्प तथा बियर क्याटेगोरीमा एक भेराइटी प्रस्तुत गर्नेछ, त्यो पनि स्वादमा कुनै पनि किसिमको सम्झौता नगरी । समय आएको छ एउटा यस्तो बियरको मजा लिने जुन उनिहरुको जीवनशैलीमा एकदमै उपयुक्त छ – अर्ना लाइट ।” अर्ना लाइट बियरको लन्च एक वृहत बजार व्यवस्थापन क्याम्पेनसँगै हुनेछ । साथै अन्य विभिन्न स्याम्पलिङ्ग एक्टिभेसनहरु मार्फत पनि बढि भन्दा बढि उपभोक्ताहरु माझ यसको सन्देश पुर्याइनेछ । उक्त कार्यक्रममा कम्पनीले अर्ना स्ट्रङ्ग बियरको पनि अनावरण गरेको थियो जुन “स्ट्रङ्ग” स्वाद चाहने उपभोक्ताहरुलाई ध्यानमा राख्दै ल्याइएको हो । “चढ्छ मज्जाले” भन्ने बजार प्रवद्र्धन सन्देशका साथ बजारमा आएको अर्ना स्ट्रङ्गले अर्ना लाइटले जस्तै एक फरक र शानदार स्वादका पस्कने निश्चित छ । अर्ना लाइट र अर्ना स्ट्रङ्ग दुवै यति ब्रुअरी प्रा. लि. द्वारा चैनपुर, चितवनमा तयार गरिएको हो । यी बियरहरु ६५० मि.लि. बोतलमा क्रमशः ४.६ प्रतिशत र ६.५ प्रतिशत अल्कोहल प्रति बोतलका साथ बजारमा उपलब्ध रहेकाे कम्पनीले जनाएकाे छ ।
उद्योग वाणिज्य महासंघको साधारणसभा शुरु, भोली निर्वाचन
काठमाडौं । नेपाल उद्योग वाणिजय महासंघले आफ्नौं ५१औं वार्षिक साधारणसभा तथा निर्वाचनमा भाग लिन देशभरको उद्योगी व्यवसायीका नेताहरु राजधानी काठमाडौंमा भेला भएको छन् । सोमबार प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गरेको साधारणसभामा महासंघका जिल्ला तथा नगर उद्योग वाणिज्य संघ, बस्तुगत संघ तथा एशोसिएट सदस्यका प्रतिनिधिको रुपमा एक हजार भन्दा बढी उद्योगी व्यवसायी सहभागी भएका छन् । सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले राजनीति परिवर्तनपछि आर्थिक परिपर्तन शुरु भएको बताए । चालु आर्थिक वर्षको आर्थिक वृद्धि ६ प्रतिशतभन्दा बढी रहने प्रष्ट देखिएको चर्चा गर्दै आगामी दुई दशकसम्म दुई अंकको आर्थिक वृद्धि हासिल गर्न सकिने बताए । उच्चदरको आर्थिक वृद्धिका लागि सरकार र नीति क्षेत्रबीच समन्वय र सहकार्य गरिने बताउँदै सरकारले निजी क्षेत्रलाई प्रोत्साहित गर्ने नीति लिने बताए । निजी क्षेत्रको स्वदेशी तथा विदेशी लगानी वृद्धिले मात्र दुई अंकको आर्थिक वृद्धि हुने उनले बताए । उनले संघीयता र संविधानको कार्यान्वयनमा सहयोग गर्न व्यवसायीलाई आग्रह गरे । संघीयतामा दोहोर करको भार पर्छ कि भन्ने चिन्त नगर्न उनले आग्रह गरे । प्रधानमन्त्री प्रचण्डले महासंघको अध्यक्षमा महिला नेतृत्व आएको भन्दै खुसी व्यक्त गरे । राष्ट्रपति, सभामुख, प्रधानन्यायधीश लगायतका महत्वपूणं पदमा महिला नेतृत्व समालेको बेला निजी क्षेत्रको सबैभन्दा ठूलो संगठनको अध्यक्षमा पनि महिला नेतृत्व आउनुले नेपाली महिलासँग नेतृत्व क्षमता छ पुष्टी भएको उनले बताए । महासंघका अध्यक्ष पशुपति मुरारकाले निजी क्षेत्रको एकतामा जोड दिए । महासंघले आज उद्योग दिवस बनाउँदै वार्षिक साधारणसभाको सबै काम सम्मन्न गर्दैछ भने भोली नयाँ कार्यसमितिको निर्वाचन हुँदैछ । महासंघले ५१ औं स्थापना दिवसको अवसरमा महासंघमा पूर्व विनोद चौधरीलाई विशेष सम्मान गरेको छ । सचिवलय सुधारमा महत्वपूर्ण काम गरेको भन्दै चौधरीलाई सम्मान गरेको हो । चौधरी अध्यक्ष भएको बेलामा नेपाल उद्योग वाणिज्य महासंघको मुख्यालय भवन बनेको थियो । दोस्रो कार्यकालको लागि निर्वाचनमा पराजित भएपछि चौधरी महासंघको गतिविधिमा सहभागी हुन छाडेका थिए । उनको नेतृत्वमा नेपाल उद्योग परिसंघ स्थापना भएपछि महासंघ र परिसंघबीच लामो समय कुटुतापूर्ण सम्बन्ध भएको थियो । महासंघले विभिन्न क्षेत्रमा सफल व्यवसायीहरु विरेन्द्र बहादुर बस्नेत, कैलाश सिरोहिया, कर्ण शाक्य, हिमालयन शमशेर राणा, रुद्रराज पाण्डे, स्वः रामलाल गोल्छा, स्वः लक्ष्मणबाबु श्रेष्ठलाई सम्मान गरेको छ । त्यस्तै, सेवातर्फ महत्वपूर्ण योगदान गरेबाफत कुलमान घिसिङ, अनुराधा कोइराला, सन्दुक रोइत, सुरेशराज शर्मालाई सम्मान गरेको छ ।
सुर्या लाइफ इन्स्योरेन्सको सेयर मूल्य समायोजन, प्रतिकित्ता १०५९ रुपैयाँ
काठमाडौं । सुर्या लाइफ इन्स्योरेन्सको सेयर मूल्य समायोजन भएको छ । सोमबार नेप्सेले कम्पनीको ५ प्रतिशत बोनस सेयर पछिको सेयर मूल्य समायोजन गरेको जनाएको छ । समायोजन पछिको सेयर मूल्य प्रतिकित्ता १०५९ रुपैयाँ तोकेको छ । जसका लागि आधार मूल्य १०१३ रुपैयाँ रहने भएको छ ।
तीन दिनदेखि रुकुममा टेलिफोन सेवा अवरुद्ध
रुकुम । यहाँका सर्वसाधारण तीन दिनदेखि फोन सेवाबाट वञ्चित भएका छन् । शुक्रबार साँझ रोल्पाको रातामाटामा रहेको रिपिटर स्टेसनमा चट्याङ परेपछि सर्वसाधारण सञ्चार सेवाबाट वञ्चित भएका हुन् । फोन सेवा सञ्चालन नहुँदा सेवाग्राही मर्कामा परेका छन् । चट्याङका कारण जिल्लामा सञ्चालन भएका जिएसएम, सिडिएमए र ल्यान्डलाइन फोन सेवा अवरुद्ध भएको दूर सञ्चार कार्यालय रुकुमले जानकारी दिएको छ । नेपाल टेलिकमका सबै फोन अवरुद्ध भएपछि सेवाग्राहीलाई एकअर्कामा सम्पर्क गर्न समस्या भएको छ । फोन सेवा अवरुद्ध भएको तीन दिनसम्म सञ्चालन नहुँदा सानो कामका लागि पनि सर्वसाधारण आफँै सम्बन्धित ठाउँमा पुग्नुपर्ने बाध्यता रहेको मुसिकोट नगरपालिकाका स्थानीयवासी गोरखबहादुर केसीले बताउनुभयो । चट्याङका कारण रिपिटर स्टेसनमा रेडियो उपकरण जलेर पूर्णरुपले क्षति भएको र मर्मतका लागि प्राविधिक टोली नेपालगन्जबाट सम्बन्धित ठाउँमा गइसकेकाले अबको केही दिनपछि फोन सेवा सुरु हुने बताइएको छ । हिमाली क्षेत्रमा हिमपात भएका कारण मर्मतका लागि केही समय लाग्ने नेपाल टेलिकम क्षेत्रीय निर्देशनालय नेपालगन्जले जानकारी दिएको छ । रासस
४/४ दिनको फरकमा तीन जहाज ल्याउँदै श्री एयरलाइन्स, पहिलो जहाज बुधबार
काठमाडौं । निजी क्षेत्रको वायुसेवा कम्पनी श्री एयरलाइन्सले करिब एक अर्ब रुपैयाँ लगानी गरेको नियमति उडानको आन्तरिक वायुसेवा कम्पनी स्थापना गरेको छ । १७ वर्षदेखि नियमित रुपमा हेलिकोप्टर उडान गरिहेको यो वायुसेवाले पहिलोपटक नियमति उडानमा पनि सेवा विस्तार गर्न लागेको हो । कम्पनीले जहाज ल्याउने, उडान गर्ने, आन्तरिक व्यवस्थापन मिलाउँने, दक्ष जनशक्ति उत्पादन गर्नेसहितका कार्यमा करिब एक अर्ब लगानी गरेको उल्लेख छ । यो कम्पनीको औपचारिक सेवा सुरुवात भने जहाज आएको एक महिना भित्रमै हुने उल्लेख छ । जहाज आउने समय करिब तय भैसक्यो । अहिलेसम्मको तयारी अनुसार १ जहाज जापानबाट र २ वटा युरोपबाट आउने निश्चित भएको छ । यी जहाज चार दिनेको फरक पारेर १२ दिन भित्रै आइसक्ने श्री एयरलान्इसका कर्पोेरेट प्रवन्धक अनिल मानन्धरले बताए । उनका अनुसार नेपाल नागरिक उड्डयन प्राधिकरणबाट जहाज ल्याउन र काठमाडौं विमानस्थलमाा अवतरणको अन्तिम स्वीकृति मात्रै बाँकी रहेको छ । जहाज जापान तथा युरोपबाट उडेर आउने भएकोले पहिलो जहाज बुधबारसम्म आइपुग्ने मानन्धरको भनाइ छ । उनका अनुसार थप २ जहाज पनि त्यसको ४/४ दिनको फरक पारेर ल्याइने उल्लेख छ । यो वायुसेवाले ४ वटा जहाज ल्याउने भएपनि अहिले तय भएको भने ३ वटा हो । अर्को एउटाको तय गर्ने बाँकी रहेको पनि श्री एयरलान्सले जानकारी दिएको छ । सुगम क्षेत्रकै विमानस्थलमा उडान हुने जहाज ल्याएर सुगम क्षेत्रकै विमानस्थलमा उडान हुने भएको छ । यी जहाज काठमाडौंलाई आधार बनाए भद्रपुर, विराटनर, धनगढी, पोखरा, भैरहवासहितका विमानस्थलमा उड्ने पनि श्रीले जानकारी दिएको छ । यो वायुसेवाले एकैपटकमा ५० देखि ७० जना सम्म बोक्न सक्छ । आन्तरिक उडानको यी जहाजले अन्य दुर्गम क्षेत्रमा भने उडान गर्न सक्दैन । त्यसैले श्रीका जहाज आएपछि आन्तरिक वायुसेवाबीच सहरी क्षेत्रका विमानस्थल (सुगम गन्तव्य)मा प्रतिस्पर्धा हुने भएको छ । जहाज कम्पनीबीचको प्रतिस्पर्धाले आन्तरिक उडानका यात्रुलाई लाभ हुने भएपनि आन्तरिक वायुसेवाको स्थायित्वमा भने चुनौति हुने नेपाल वायुसेवा निगमकै एक पूर्व कर्मचारीको भनाइ छ । उनका अनुसार जहाज आउनु र यात्रु उडानको सेवा विस्तार हुनु राम्रो हो । तर, वायुसेवा कम्पनीको स्थायित्व र भविष्य भने निकै चुनौतिपूर्ण रहेको छ । श्रीले उडान व्यवस्थापनका लागि आन्तरिक रुपमा जनशक्ति तयार पार्ने र कार्यालय व्यवस्थापन गर्ने सम्मको काम गरिसकेको छ । श्रीले हाल हेलिकोप्टरको सेवा त्रिपुरेश्वरबाट दिइरहेको छ । आन्तरिक उडानको सेवा सुरु गर्ने भएपनि यसलेकार्यालय सिनामंगलमा सारिसकेको छ । आन्तरिक उडान र हेलिकोप्टर सेवाको कार्यालय अब सिनामंगल हुने पनि श्रीले बताएको छ । श्रीले आन्तरिक उडानका लागि ५० सीट क्षमताको सीआरजे २०० र ईआरजे ७०० नामक ७० सिट क्षमतको जहाज ल्याउने भएको छ । यो कम्पनीले दुबै प्रकृतिका दुई २ वटा जहाज ल्याउने छ ।