विकासन्युज

क्लियरिङ बैंक तत्काल नथपिने, प्रक्रिया पुर्याएर काम गर्दा ढिलो भयोः गुप्ता

काठमाडौं, २ कात्तिक ।  नेपाल धितोपत्र बोर्डको निरन्तरको ताकेताका बावजुद तत्काल थप क्लियरिङ बैंक नथपिने भएको छ । बोर्डले गत बैशाख १ गतेदेखि नै न्युनतम ३ वटा क्लियरिङ बैंक सञ्चालन गर्न निर्देशन दिएको भएपनि सिडिएस एण्ड क्लियरिङ लिमिटेडले सफ्ट वेयर र अन्य प्राबिधिक पक्षलाई देखाएर हालसम्म क्लियरिङ बैंक थपेको छैन् । सिडिएसले अझै केहि महिना नयाँ क्लियरिङ बैंक थप्न नसकिने बताएको छ । ‘सफ्ट वेयरको काम सकिनै लागेको छ, त्यसपछि क्लियरिङ बैंकका लागि टेण्डर प्रक्रिया सुरु हुन्छ, त्यो प्रक्रिया पुरा भएर क्लियरिङ बैंकले काम थाल्न अझै केहि समय लाग्छ’, सिडिएसका प्रमुख कार्यकारी अधिकृत देवप्रकाश गुप्ताले विकासन्युजसँग भने । उनका अनुसार हालसम्म थप क्लियरिङ बैंक सञ्चालनका लागि सफ्ट वेयर विकासकै काम भैरहेको छ । त्यसपछि टेण्डर आव्हान गरिनेछ र मुल्यांकनका लागि पनि केहि समय लाग्नेछ । सार्वजनिक खरिद ऐनलाई टेकेर क्लियरिङ बैंकका लागि टेण्डर र मुल्यांकनको काम गर्नुपर्ने भएकाले ढिला हुने गुप्ताले बताए । ‘सार्वजनिक खरिद ऐनको व्यवस्था अनुसार क्लियरिङ बैंक थप्ने काम अघि बढ्छ, टेण्डरका लागि समय छुट्याउनु पर्छ, मुल्यांकनका पनि छुट्टै आधार र समय सिमा छ, त्यसकारण अझै केहि समय लाग्छ’, गुुप्ताले भने । नेपाल धितोपत्र बोर्डले बैशाख १ गतेदेखि क्लियरिङ बैंकको संख्या कम्तिमा ३ वटा बनाउन नेप्से र सिडिएसलाई निर्देशन दिएको थियो । माघ १३ गते बोर्डले निर्देशन दिएको भएपनि सिडिएसले चैतको अन्तिम साता थप क्लियरिङ बैंक आवश्यक नरहेको जवाफ बोर्डमा पठाएको थियो । तर धितोपत्र बोर्डले सिडिएसको जवाफ प्रति तिब्र असन्तुष्ठि जनाउँदै तत्काल कार्यान्वयन गर्न पुनः निर्देशन दिएको थियो । बोर्डले निर्देशन दिएको नौं महिना र कार्यान्वयन गर्न तोकेको समय सिमा नाघेको पाँच महिनापछि पनि नयाँ क्लियरिङ बैंक थपिएका छैनन् । हाल ग्लोबल आइएमई बैंकले मात्रै क्लियरिङ बैंकको काम गर्दै आएको छ । एउटा मात्रै क्लियरिङ बैंक हुँदा चेक राफसाफमा ढिलाई भएर लगानी कर्ताले सास्ती भोग्दै आएका थिए ।

बैंक तथा वित्तीय संस्थासम्बन्धी विधेयक चाँडै संसद्मा पेस गरिने

काठमाडौं, २ कात्तिक । बैंकिङ क्षेत्रको सुधारका लागि ल्याउन लागिएको बैंक तथा वित्तीय संस्थासम्बन्धी कानुनमा संशोधन र एकीकरण गर्न बनेको विधेयक चाँडै संसद्मा पेस गरिने भएको छ । व्यवस्थापिका–संसद् अर्थसमितिको मंगलबारको बैठकले उक्त विधेयकलाई व्यवस्थापिका–संसद्को बैठकमा चाँडो पेस गर्ने गरी समितिबाट अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेको हो । समितिका सभापति प्रकाश ज्वालाले समितिको आगामी बैठकमा विधेयकमाथि दफाबार छलफल गरेर अन्तिम रुप दिने र त्यसका लागि अर्थमन्त्री, राष्ट्र बैंकका गभर्नर एवम् पूर्व अर्थमन्त्रीसँग अनौपचारिक छलफल गरेर निष्कर्षमा पुग्ने बताए । उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महराले बैठकमा लामो छलफल भई धेरै समस्याको समाधान भइसकेको अवस्थामा चाँडो विधेयकलाई अगाडि बढाउन समितिलाई आग्रह गरे । वर्षौंसम्म विधेयकलाई रोक्न नहुने उनको भनाइ थियो । “सबै विषय ऐनमा नै हुनुपर्छ भन्ने भन्दा पनि नियम तथा निर्देशनबाट समेत नियमनका काम गर्न सकिन्छ त्यसतर्फ ध्यान दिँदै जनताको अपेक्षालाई सम्बोधन गर्नुपर्छ,” उनले भने । त्यसैगरी बैठकमा सहभागी पूर्व अर्थमन्त्री एवम् सांसद डा रामशरण महतले कानुनले सबै व्यवस्थापन गर्न खोज्नेभन्दा पनि त्यसका लागि अन्य उपाय अवलम्बन गरी चाँडो विधेयकलाई अगाडि बढाउनुपर्नेमा जोड दिए । बैठकमा सांसदहरु शक्ति बस्नेत, इच्छाराज तमाङ, उदयशमशेर राणा, विमल केडिया, जगदिशनरसिंह केसी, सुवोध पोखरेल, दीपक कुइँकेल र शेरबहादुर तामाङले आ–आफ्नो धारणा राखेका थिए । यस्तै नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपालले बैंक तथा वित्तीय संस्था निजीभन्दा पनि जनताको निक्षेप सङ्कलित सार्वजनिक संस्था भएकाले बैंकको सुरक्षाका लागि नियमन निकायलाई सबल बनाउनुपर्नेमा जोड दिए । अर्थसचिव डा शान्तराज सुवेदीले बैंक तथा वित्तीय संस्था जनताको विश्वासमा चल्ने भएकाले त्यसलाई कायम राख्नका लागि व्यक्तिगत स्वार्थभन्दा माथि उठेर ऐन तयार गरिनुपर्ने बताए । त्यसैगरी राजस्व सचिव राजन खनालले बैंक डुब्दा जनताको लगानी जोखिममा पर्ने र बैंक तथा वित्तीय संस्थाबाट जनताको रकम नोक्सानी भएमा सरकारले व्यहोर्नुपर्ने भएकाले त्यसतर्फ सबैको ध्यान जानुपर्नेमा जोड दिए। रासस

सामसंङ एसयूएचडी टिभी प्रि–बुक गर्ने पहिलो ग्राहकलाई हस्तान्तरण

काठमाडौं, २ कात्तिक । सामसंङ इलेक्ट्रोनिक्स एण्ड होम एप्लायन्सका आधिकारिक बितरक हिम इलेक्ट्रोनिक्स प्रा. लि.ले क्वान्टम डट टेक्नोलोजीयुक्त एसयूएचडी टिभी प्रि–बुक गर्ने पहिलो ग्राहक नैकापका विक्रम प्रसाद साहलाई एसयूएचडी टिभी हस्तान्तरण गरेको छ । सामसंग प्लाजाकी निर्देशक सिमा गोल्छाले दरवारमार्गमा आयोजित एक विशेष कार्यक्रममा पहिलो प्रि बुक गर्ने बिक्रम प्रसाद साहलाई एसयूएचडी टिभी हस्तान्तरण गरेकी हुन् । साहले ५५ इन्चको एसयूएचडी टिभी यहि २०७३ असार २८ गतेदेखि २०७३ भदौ ३० गते बिचको अवधिमा बुकिंङ गरेका थिए । उनले उक्त टिभीका साथै ८८ हजार ९०० रुपैयाँ बराबरको सामसंग ग्यालेक्सी एस सेभेन तथा सामसंग गियर भिआर उपहार स्वरुप प्राप्त गरेका छन् । दशैं र तिहारको अवसर पारेर २०७३ भदौ ३० गतेदेखि २०७३ कात्तिक ३० गतेसम्म विशेष मूल्यमा क्यासब्याक सहित उपलब्ध गराइएको कम्पनीलले जनाएको छ । कम्पनीका अनुसार मोडल नम्बर UA55KS9000 को ५५ इन्चको एसयूएचडी टिभीको मूल्य ३ लाख ७० हजार रुपैयाँ तथा मोडल नम्बर UA65KS9000 को ६५ इन्चको एसयूएचडी टिभीको मूल्य ५ लाख ७० हजार रुपैयाँ पर्ने छ ।

आन्तरिक पर्यटकको गन्तव्य बन्दै मनाङ, दैनिक २०० पर्यटकको आगमन

लमजुङ, २ कात्तिक । हिमालपारीको जिल्ला मनाङ आन्तरिक पर्यटकको गन्तव्य बन्दै गएको छ । जिल्लामा मोटरबाटो बनेपछि आन्तरिक पर्यटक सवारी साधनबाट आउने क्रम बढेको हो । बिदा मनाउन र घुमघाम गर्नका लागि युवायुवती मोटरसाइकल तथा अन्य सार्वजनिक सवारीसाधन चडेर मनाङसम्म आउने आन्तरिक पर्यटक बढिरहेको मनाङ पर्यटन व्यवसायी समितिका अध्यक्ष विनोद गुरुङले बताए । “मनाङमा अहिले दैनिक काठमाडौं, पोखरा, बुटवल, चितवन, पाल्पालगायतका स्थानबाट आन्तरिक पर्यटक आउने गरेका छन्” गुरुङले भने “सवारी सञ्चालनमा आएपछि लमजुङबाट पनि मनाङ घुम्न जानेको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ ।” माथिल्लो मनाङसम्म मोटरसाइकलमा पुग्न सकिने भएपछि गन्तव्य मनाङ बनाएर अधिकांश आन्तरिक पर्यटक आएको गुरुङले बताए । पछिल्लो समय मनाङमा पुगेका पर्यटक सजिलै तिलिचो तालसम्म पुग्ने गरेका छन् । “धेरैजसो आन्तरिक पर्यटक तिलिचो जानका लागि आएका छन्, केही चाँहि थोरङला पनि गएका छन्” गुरुङले भने। सडक सञ्जालले मनाङमा पर्यटकको आगमन घट्ने अनुमान गरिए पनि पछिल्लो समय आन्तरिक पर्यटक आगमनमा उल्लेख्य वृद्धि भएको छ । दैनिकजसो विदेशी तथा आन्तरिक पर्यटकको आगमन बढ्न थालेपछि मनाङका पर्यटन व्यवसायी उत्साहित भएका छन् । “सडक बनेपछि पैदलयात्री आउँदैनन् कि भन्ने धेरैको अनुमान थियो” गुरुङले भने “तर अहिले आन्तरिक पर्यटकको ओइरो लागेको छ ।” विश्व प्रसिद्ध थोराङला पासको लागि जाने पर्यटक हिमाली जिल्ला मनाडमा कम्तीमा दुई दिनसम्म बस्ने गर्दछन् । सिजनमा दैनिक २०० को हाराहारीमा आउने पर्यटकबाट स्थानीय व्यवसायीले राम्रै आम्दानी गर्ने गरेका छन् । हिउँ पर्ने र चाक्ला जग्गा जमिन नभएकाले मनाङमा अन्य खेतीपाती हुँदैन । मनाङको मुख्य बाली भनेको फापर, आलु नै हो । त्यसैले त्यहाँका तीन प्रतिशत मानिस मात्रै कृषि पेसामा छन् । मुख्य पेसाका रुपमा मनाङका नागरिकले पर्यटन व्यवसायलाई नै रोजेका छन् । मनाङका ८० प्रतिशत नागरिक पर्यटन व्यवसायमा लागेको बताइन्छ । रासस

भोजपुर–काठमाडौं सिधा यातायात सेवा शुरु, भाडा दुई हजार ५०० रुपैयाँ मात्र

भोजपुर, २ कात्तिक । भोजपुरदेखि काठमाडौंसम्म सिधा यातायात सेवा सुचारु भएको छ । चुम्लुङ्मा यातायात प्रालिले मंगलबारदेखि भोजपुरदेखि धरान हुँदै काठमाडौँसम्म सिधा माइक्रोबस सञ्चालनमा ल्याएको हो । चुम्लुङ्माले १८ सिट क्षमताका छवटा माइक्रोबस भोजपुर झिकाइसकेको भएपनि सडक सहज नहुँदा दिनमा दुईवटा मात्र बस सञ्चालन गरिने भएको छ । भोजपुरदेखि काठमाडौँ सिधा यातायातको भाडादर दुई हजार ५०० रुपैयाँ निर्धारण गरिएको चुम्लुङ्मा यातायात प्रालिका सञ्जीव केशीले जानकारी दिए । भोजपुरदेखि सिधै काठमाडौं सञ्चालन हुने माइक्रोबसमा फ्रि वाइफाइ, एसी, एलइडी कोचलगायतको सुविधा रहेको जनाइएको छ । भोजपुरदेखि काठमाडौं सिधा यातायात सञ्चालनमा आएपछि भोजपुरका स्थानीयवासी हर्षित भएका छन् । यसअघि, देशको राजधानी काठमाडौं जान भोजपुरदेखि धरान हुँदै गाडी फेरेर झन्डै तीन दिन लगाएर जानुपर्ने बाध्यता रहेको थियो । रासस

नेपालमा दोस्रो अन्तराष्ट्रिय चर्मरोग सम्मेलन कात्तिक ३ गतेदेखि शुरु

काठमाडौं, २ कात्तिक । चर्म, यौन तथा कुष्ठरोग समाज नेपालले दोस्रो अन्तराष्ट्रिय चर्मरोग सम्मेलनको आयोजना काठमाडौंमा गर्ने भएको छ । उक्त सम्मेलन यही कार्तिक ३ गतेदेखि ६ गतेसम्म सञ्चालन हुने छ । यस सम्मेलनको मूल मर्म “एथिक्स एण्ड कम्युनिकेशन स्किल इन डर्माटोलोजी” रहेको छ । यो सम्मेलनमा यूरोप, अमेरिका ,अष्ट्रेलिया, मध्य पूर्वीय देश र एसियाली क्षेत्रका करीव २० राष्ट्रबाट ५०० जना चर्मरोग विशेषज्ञहरूले भाग लिने यस सम्मेलनको आयोजक समितिका अध्यक्ष तथा त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका प्राध्यापक डा.दिनेशविनोद पोखरेलले जानकारी गराए । उक्त ४ दिने सम्मेलनमा १०० वटा भन्दा बढी चर्म तथा यौन रोग सम्वन्धी वैज्ञानिक शोधपत्रहरू प्रस्तुत हुने जानकारीमा आएको छ । यसबाट नेपाल लगायत यस क्षेत्रको चर्मरोग विशेषज्ञको वृत्ति विकासका साथै यस क्षेत्रका चर्मरोगीहरूले समेत यस सम्मेलनको निष्कर्षबाट लाभान्वित हुने विश्वास प्रा.डा.पोखरेलले गरेका छन् । साथै नेपालको अहिले भूकम्पग्रस्त अवस्थाबाट पुनस्थापना हुने क्रममा यस सम्मेलनले नेपालको पर्यटकीय व्यवसायलाई समेत बृद्धि गर्ने छ । साथै, नेपालको अर्थतन्त्रमा सकारात्मक योगदान गराउने र नेपालको विश्व सामू पहिचान बृद्धि गराउन मद्दत गर्ने आयोजकको विश्वास छ ।

नेप्सेले किन रोक्यो ५२ कम्पनीको सेयर कारोबार ?

काठमाडौं, १ कात्तिक । नेपाल स्टक एक्सचेञ्जले नेप्सेमा सूचीकृत विभिन्न ५२ बैंक तथा वित्तिय संस्थाको शेयर कारोबार रोक्का गरेको छ । नियम अनुसार वार्षिक नविकरण शुल्क आर्थिक वर्षको प्रथम तीन महिना भित्र नबुझाएको भन्दै नेप्सेले यी कम्पनीको शेयर कारोबार रोक्का गरेको हो । उक्त कम्पनीहरुले तोकिएको बार्षिक नविकरण शुल्क बुझाएपछि मात्र शेयर कारोबार पुन सञ्चालनमा आउने नेप्सेले जनाएको छ ।

शितघर तथा खाद्यान्न भण्डार गृह निर्माणका लागि पाँच बर्ष ब्याज अनुदान, रौतहटको कोल्ड स्टोरलाई स्विकृति

काठमाडौं, २ असोज । कृषि उपजहरुमा उत्पादनपछिको क्षति न्युनिकरण तथा माग र आपुर्तिको व्यवस्थापनका लागि सुरु गरिएको शितघर तथा खाद्यान्न भण्डार गृह निर्माणले तिब्रता पाउन थालेको छ । सरकारले चालु आर्थिकका लागि शितघर तथा खाद्यान्न भण्डारण गृह निर्माणका लागि शतप्रतिशत ब्याज अनुदानको व्यवस्था गरेपछि त्यस्ता भण्डार गृह निर्माणमा आकर्षण बढेको हो । रौतहटको चन्द्रपुर नगरपालिकामा ६ हजार मेट्रिक टन क्षमताको आलु राख्ने कोल्ड स्टोर निर्माणका लागि स्विकृति दिईसकिएको छ । पहिलो २ हजार मेट्रिक टन क्षमतामा सञ्चालन भैरहेको सो कोल्ड स्टोरले ४ हजार मेट्रिक टन क्षमता विस्तारका लागि दिएको आवेदन स्विकृत भएको हो । अन्य आधा दर्जन जिल्लाबाट आवेदन आईरहेको कृषि विकास मन्त्रालय अन्तर्गत रहेको कृषि इञ्जिनियरिङ निर्देशनालयका निमित्त कार्यक्रम निर्देशक मधुसुधन सिंह बस्न्यातले विकासन्युजलाई जानकारी दिए । धनगढीबाट २ वटा र दाङबाट एउटा कोल्ड स्टोर निर्माणका लागि आवेदन आएका छन् भने नुवाकोटबाट जानकारी मागिएको पनि उनले बताए । यस्ता कोल्ड स्टोरमा आलुको बिउ तथा अफ सिजनमा चिनियाँ स्याउ र तरकारी खाने आलु समेत राख्न सकिने कार्यक्रम निर्देशक बस्न्यातले बताए । यसरी निर्माण गरिएको कोल्ड स्टोरले पाँच बर्षसम्म ब्याज शतप्रतिशत ब्याज मिनाहा पाउँछन । बैंक तथा वित्तिय संस्थाबाट ऋण लिएर पुर्वाधार निर्माण गरेपछि त्यसमा लागेको कुल खर्चको ब्याज सरकारले राष्ट्र बैंक मार्फत प्रत्येक तीन तीन महिनामा भुक्तानी गरिदिने व्यवस्था रहेको छ । पुर्वाधार निर्माणमा लागेको रकमको मात्रै ब्याज अनुदान सुबिधा प्राप्त हुन्छ । यस्ता पुर्वाधार निर्माणका लागि दुई बर्षको निर्माण अधवी तोकिएको हुन्छ । कार्यबिधी संसोधनको तयारी सरकारी स्वामित्वका बाणिज्य बैंकहरुबाट मात्रै ब्याज अनुदान दिन सकिने व्यवस्था रहेको शितघर मापदण्ड २०७३ लाई संसोधनका लागि पठाइएको कार्यक्रम निर्देशक बस्न्यातले बताए । ‘निजी बाणिज्य बैंकहरुसँगको सहकार्यबाट समेत शितघर निर्माण गर्न सकिने व्यवस्था राखेर कार्यबिधी मन्त्रीपरिषदमा पठाईसकेका छौं ।’ निर्देशक बस्न्यातले भने । निर्देशनालयले पनि शितघर तथा खाद्यान्न भण्डारण गृह निर्माणका लागि पुनः आवेदन मागेको छ । २ हजार मेट्रिक टन क्षमताको कोल्ड स्टोर निर्माणका लागि १४ करोड लागत लाग्ने उनले जानकारी दिए । खाद्यान्न भण्डार गृह निर्माणका लागि समेत व्यवसायीहरु आकर्षित हुने अपेक्षा उनले व्यक्त गरे । २०७४ असार मसान्तसम्म्ममा यस्ता संरचना निर्माणका लागि ब्याज अनुदानको सुबिधा कायम रहनेछ ।