विकासन्युज

नेपाली वर्णविन्यासको मुद्दा पूर्ण इजलाशमा गयो, ३० दिनभित्र सुनुवाई हुने

काठमाडौं, ३० असोज । सर्वोच्च अदालतले परम्परागत नेपाली वर्णविन्यास परिवर्तनको रिट निवेदनमा विशेष अग्राधिकारसहित पूर्ण इजलाशमा छलफल गर्ने निर्णय गरेको छ । सर्वोच्च अदालतका न्याधिशद्धय गोविन्दकुमार उपाध्याय र शारदाप्रसाद घिमिरेको संयुक्त इजलाशले आइतबार सो निर्णय गरेको हो । अदालतले विपक्षीहरुले लिखित जवाफ पेश गरेको मितिले ३० दिनभित्र पूर्ण इजलाशसहित सुनुवाई गर्ने भएको हो । आइतबार रिटमाथि अधिवक्ताद्धय बाबुराम दाहाल र स्वागत नेपालले गरेको बहसपछि अदालतले सो निर्णय भएको थियो । नेपाल सरकार, शिक्षा मन्त्रालय, पाठ्यक्रम विकास केन्द्र तथा नेपाल प्रज्ञा प्रतिष्ठानससिहत परिवर्तनमा संलग्न सरकारी निकायलाई सहित छलफल गर्ने भएको हो । पत्रकारद्वय स्वागत नेपाल र टपेन्द्रबहादुर कार्कीले दायर गरेको रिटमा आइवार संयुक्त इजलाश बसेको थियो । सो इजलाशले पूर्ण इजलाशमा जानुपर्ने आवश्यकता बोध गर्दे ३० दिनको मितिनै तोकर छलफलको निर्णय गरेको हो । प्रचलित वर्र्णिवन्यासको अस्तित्व मेट्ने गरी सरकारले गरेको निर्णय र सोअनुरूप तयार भएका पाठ्यक्रम खारेज गर्न माग गर्दै दायर रिटमा प्रारम्भिक सुनवाइ गर्दै न्यायाधीश जगदीश शर्मा पौडेलले २६ भदौमा जवाफ पेस गर्न कारण देखाउ आदेश जारी गरेका थिए । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, शिक्षा मन्त्रालय, पाठ्यक्रम विकास केन्द्र र नेपाल प्रज्ञा प्रतिष्ठानलाई विपक्षी बनाएर दायर रिटमा उनीहरूको जवाफ बुझाउने ३० असोज अर्थात आज अन्तिम दिन हो । निवेदकले भाषाजस्तो संवेदनशील विषयमा संविधानले व्यवस्था गरेको भाषा आयोगको सिफारिसमा मात्र भाषाबारे निर्णय गर्नुपर्ने लगायतको संवैधानिक र कानुनी प्रावधान उल्लंघन गरेको भन्दै तत्काल मन्त्रीस्तरीय निर्णय र निर्णयअनुसार विद्यालयमा लागू पाठ्यपुस्तक वितरणमा समेत रोक लगाउन माग छ । पाठ्यक्रम विकास केन्द्रको प्रस्तावमा तत्कालीन शिक्षामन्त्री दीनानाथ शर्माले २२ साउन २०६९ मा अभ्यासमा रहेको वर्र्णिवन्यास संशोधनको निर्णय गरेका थिए । उनकै निर्णयको आधारमा सरकारले परिमार्जित वर्णविन्यासअनुसार नेपाली शब्दकोश, विद्यालय तहमा कक्षा ९ सम्मको नेपाली विषयको पाठ्यक्रममा परिवर्तन गरी अध्ययन अध्यापन गराउन थालेपछि निवेदकले मन्त्रीको निर्णयलाई चुनौती दिएका हुन् ।

यस वर्ष मात्र एक खर्ब ३४ अर्ब रुपैयाँको खाद्यन्न आयात

काठमाडौं, ३० असोज । सरकारले खाद्यवस्तु उत्पादनमा जोड दिँदै आएपनि यसको आयात भने बढ्दो छ । यसवर्ष मात्र सबै प्रकारका गरी कूल एक खर्ब ३४ अर्ब रुपैयाँको खाद्य वस्तु आयात भएको छ । खाद्यन्नमा गहुँ र कुखुराको मासुबाहेक नेपालीलाई आफ्नो उत्पादनले धान्दैन । खानेबानीमा सुधार नहुँदा पनि चामालको आयातदर वृद्धि हुँदै आएको छ भने गहुँको खपत दर न्यून छ । नेपालमा यसवर्ष १७ लाख मेट्रिक टन गहुँ उत्पादन भएको छ भने २५ अर्ब रुपैयाँको चामल आयात भएको छ । आज अक्टोबर १६ का दिन विश्वभर खाद्य दिवस मनाइन्छ, नेपालमा भने परिणाम खोज्ने भन्दा औपचारिक भाषणमा मात्रै यो दिवस मनाइएको छ । ‘जलवायु परिवर्तन भइरहेको छ, खाद्य र कृषि फेरिनैपर्छ । ’ ३६ औँ विश्व खाद्य दिवसको नारा हो यो । नारामा गोलवद्ध भएका वक्ताले खाद्य अधिकार र कर्तब्यका बारेमा सिंहदरबार भित्र र बाहिर आ–आफ्ना अभिव्यक्ति सार्वजनिक गरे । सिंहदरबार बाहिर खाद्यका लागि कृषिका अभियानका संयोजक डा कृष्ण पौडेलले संविधानमा उल्लेखित खाद्य अधिकार र खाद्य सम्प्रभूतालाई कार्यान्वयन गर्न सबै समूह र व्यक्ति प्रतिवद्ध हुनुपर्ने धारण व्यक्त गरे । नेपालका अधिकांश भागमा खानै नपाएर कोही व्यक्ति मरेको औपचारिक तथ्याङ्क अहिलेसम्म बाहिर आएको छैन तर कर्णली अञ्चलका केही जिल्लामा भोकमरी बढेको भन्ने समाचार सम्प्रेषण हुने क्रम जारी छ । सो क्षेत्रमा पाइने स्थानीय उवा, कोदो, जौँ, कागुनो, जुनेलोजस्ता अतिपौष्टिक खाद्यन्न विस्थापित भएका छन् । त्यहाँका मानिसको खानेबानीमा समेत परिवर्तन आएको छ । स्थानीयस्तरमा पाइने अन्नको सट्टा खरिद गरेको चामलमा परनिर्भर भएका कारण स्थानीय खाद्यन्न अभाव भएको हो । राष्ट्रिय कृषक समूह महासङ्घका अध्यक्ष उद्धव अधिकारी खाद्यान्नउत्पादनमा भन्दा खरिदमा सरकारी निकाय सक्रिय भएको आरोप लगाउछन् । नेपाल कृषि पत्रकार प्रतिष्ठानका उपाध्यक्ष किरण आचार्य खेती गर्नेभन्दा नगर्नेले भरपेट खान पाउँछन् तर दैनिक खेतबारीमा काम गर्ने महिला, आदिवासी, दलित जनजाति, सुकुम्वासी र सीमान्तकृत तथा पिछडिएको वर्गले भरपेट खान पाउदैनन् भन्छन्। अहिले पनि २५ प्रतिशतभन्दा बढी नेपाली चरम गरिबीमा जीवन बिताउन बाध्य छन् भने ४० प्रतिशत भन्दामाथि कुपोषणको सिकार छन् । तर नेपालले खाद्य सुरक्षा र पोषणका लागि दिगो खाद्य प्रणाली स्थापित गर्न सकेको छैन । सेप्टेम्बर २०१५ मा सम्पन्न संयुक्त राष्ट्रसङ्घीय दिगो विकास सम्मेलनमा १९३ राष्ट्रले आगामी १५ वर्षभित्र भोकमरी अन्त गर्ने जनाएका थिए । त्यसको दुई महिनापछि फ्रान्सको राजधानी पेरिसमा भेला भएका १९५ देशका प्रतिनिधिले खाद्य सुरक्षा नै अहिलेको मुख्य प्राथमिकता रहेको तर जलवायु मुख्य चुनौती रहेको धारण सार्वजनिक गरेका थिए । नेपालमा भने जलवायु परिवर्तन भन्दा पनि जग्गाको खण्डीकरण र खेतीपाती नगर्ने अर्थात बाझै राख्ने चलनले खाद्य सङ्कट निम्तीनसक्ने विज्ञवर्गले चिन्ता व्यक्त गरेका छन् । कृषि गणना २०६८ लाई आधार मान्दा विगत एक लाख २९ हजार हेक्टर जमिन बाझै छ । जस्मा ३० लाख ९० हजार हेक्टर जमिनमा खेती भएको छ । सो अवधिमा धान ९ प्रतिशत, गहुँ ६, मकै १२ कोदो १९, जौ ३५, फापर ४०, कोसेबाली २१, तोरीबालीमा १३ प्रतिशतले उत्पादन घटेको छ । छैठौं कृषि गणनाले एक लाख १६ हजार व्यक्तिले आफ्नै जमिन नभएका कारण कृषि पेसा अपनाउन नपाएको र कृषिबाटै रोजगार गर्न चहानेको लागि राज्यले सहज लगानीको वातावरण मिलाउन नसकेको समेत सो गणनामा उल्लेख छ । त्यसैगरी, हुनेखाने कुलिन वर्ग सहर केन्द्रित हुने र युवावर्ग वैदेशिक रोजगारमा गएका कारण जग्गा बाझिने क्रम बढेको हो । बयालिस प्रतिशत कृषकले व्यवसायीक कृषिका लागि ऋण उपलब्ध नभएको कृषि गणना २०६८मा उल्लेख छ । उर्वरजमिनलाई बाझो राख्न नपाइने कानुनको अभाव, सीमित व्यक्तिबाट प्रचुर जमिन अतिक्रमण, जग्गको खण्डीकरण, खेतीयोग्य भूमि घडेरीमा परिवर्तन , परम्परागत आकासे खेतीमा परनिर्भरता, सिँचाइको अभाव, उन्नत जातका बिउविजन तथा मलखाद तथा कृषि अनुदानको अभाव, सरकारी उदासिनता, उत्पादको उचित मूल्य नपाउनु र शिक्षित वर्गबाटै कृषि पेसालाई उपहास गर्ने कारणले नेपालमा खाद्य सङ्कट बढ्दै आएको हो । रासस

काष्ठमण्डप डेभलपमेन्ट बैंकले २३ प्रतिशत बोनस दिने, पूँजी ८३ करोड रुपैयाँ पुग्ने

काठमाडौं, ३० असोज । काष्ठमण्डप डेभलपमेन्ट बैंकले लगानीकर्तालाई २३ प्रतिशत बोनस दिने भएको छ । साथै, बैंकले एक दशमलब ६ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ । उक्त निर्णय बैंकको आइतबार बसेको बैंक सञ्चालक समितिको बैठकले गरेको हो । बैठकको निर्णयलाई राष्ट्र बैंक तथा बैंकको अगामी साधारणसभाले पारित गर्नुपर्ने छ । हाल बैंकको चुक्ता पूँजी ६७ करोड ९९ लाख रुपैयाँ रहेको छ । बोनस पश्चात बैंकको नयाँ पूँजी ८३ करोड ६३ लाख रुपैयाँ पुग्ने छ । आइतबार बैंकको प्रतिकित्ता सेयर करिब ५ सय रुपैयाँमा कारोबार भएको छ ।

सिभिल बैंक र इन्टरनेशनल लिजिङ्गको सोमबारदेखि एकिकृत कारोवार शुरु

काठमाडौं, ३० असोज । सिभिल बैंक र इन्टरनेशनल लिजिङ्ग एण्ड फाईनान्स कम्पनी एक आपसमा गाभिई सोमबारबाट (२०७३ कार्तिक १) संयुक्त कारोवार शुरु गर्ने भएको छ । नेपाल राष्ट्र बैंक तथा कम्पनी रजिष्ट्रारको कार्यालयबाट अन्तिम स्वीकृती प्राप्त भई उक्त कम्पनीको कारोबार भोलिदेखि हुन लागेको छ । मर्जर पछि बैंकको नाम सिभिल बैंक नै रहेको र बैंकको संचालक तथा उच्च व्यवस्थापनमा पनि कुनै परिर्वतन नभएको बैंकले जनाएको छ । यो मर्जर पश्चात बैंकको शाखा संख्या ५१ पुगेको छ । सिभिल बैंकले २३ करोड रुपैयाँ चुक्ता पुँजी रहेको युनिक फाईनान्स र २२ करोड रुपैयाँ चुक्ता पुँजी रहेको हामा मर्चेन्ट एण्ड फाइनान्स लिमिटेडलाई खरिद गर्ने सम्वन्धी समझदारीपत्रमा हस्ताक्षर गरिसकेको छ । यो खरिद पछी बैंकको चुक्ता पुँजी ५ अर्ब ५४ करोड रुपैयाँ पुग्ने बैंकले जनाएको छ । यस मर्जरबाट बैंकको व्यवसाय गर्ने क्षमता वृद्धि भई केहि ठूला परियोजनाहरु लगायत उद्योग व्यवयसायमा थप लगानी गर्न सहज हुने बैंकका प्रमुख कार्यकारी अधिकृत किशोर महर्जनले बताए । २०७४ असार मसान्तसम्म बैंकको चुक्ता पुँजी ८ अर्ब पुर्याउन बैंकले बोनस शेयर र हकप्रद शेयर दिने बताएको छ । साथै, अन्य बैंक तथा वित्तीयसँग गाभ्ने र गाभिने प्रक्रियालाई अगाडि बढाइने बैंकका प्रमुख कार्यकारी अधिकृत महर्जनले बताए ।

कञ्चन डेभलपमेन्ट बैंकले २५ प्रतिशत बोनस दिने, पूँजी २४ करोड रुपैयाँ पुग्ने

काठमाडौं, ३० असोज । कञ्चन डेभलपमेन्ट बैंकले लगानीकर्तालाई २५ प्रतिशत बोनस दिने भएको छ । साथै, बैंकले एक दशमलब ३१५८ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ । उक्त निर्णय आइतबार बसेको बैंकको १०५औं सञ्चालक समितिको बैठकले गरेको हो । बैठकको निर्णयलाई राष्ट्र बैंक तथा बैंकको अगामी साधारणसभाले परित गर्नुपर्ने छ । हाल बैंकको चुक्ता पूँजी १९ करोड ८० लाख रुपैयाँ रहेको छ । बोनस पश्चात बैंकको नयाँ पूँजी २४ करोड ७५ लाख रुपैयाँ पुग्ने छ । आइतबार बैंकको प्रतिकित्ता सेयर करिब साढे ६ सय रुपैयाँमा कारोबार भएको छ ।

दसैँ पछिको सेयर बजार राताम्मे, १६ अंकको गिरावट, ६० करोडको कारोबार

काठमाडौं, ३० असोज । दसैंअघि हरियाली छाएर बन्द भएको सेयर बजार दसैंपछि खुलेको बजार भने राताम्मे भएको छ । दसैंपछि आइतबार लगत्तै खुलेको बजार १६ दशमलब १४ अंकले घटेर १८०३ अंकमा झरेको छ । सो दिन जम्मा १२२ कम्पनीको ७ लाख ६७ हजार कित्ता सेयर ६० करोड रुपैयाँमा किनबेच भएको छ । सो दिन कारोबार भएका ७ वटै समूहको परिसूचक ओरालो लागेका छन् । सबैभन्दा बढी बीमा समूहको परिसूचक ८१ अंकले ओरालो लागेको छ । त्यस्तै होटल, हाइड्रोपावर, बैकिंङ् र अन्य समूह क्रमशः ७२, १८, १५ र ११ अंकले ओरालो लागेका छन् । बाकी विकास बैंक र फाइनान्स समूहको परिसूचक क्रमशः ९ र ५ अंकले घटेका छन् । सबैभन्दा बढी पुर्णिमा विकास बैंकको सेयर मूल्य करिब साढे ४ अंकले घटेको छ । त्यस्तै, प्रभु इन्स्योरेन्स, नेपाल ग्रामीण विकास बैंक, मितेरी डेभलपमेन्ट बैंक र सोल्टी होटलका लागानीकर्ताले करिब ४ प्रतिशत गुमाएका छन् । सबैभन्दा बढी ज्योती विकास बैंकका लगानीकर्ताले करिब १० प्रतिशत कमाएका छन् । त्यस्तै, कामना विकास बैंकका लगानीकर्ताले ७ प्रतिशत कमाएका छन् । बजारमा सबैभन्दा बढी कुमारी बैंकको १७ करोड ७९ लाख रुपैयाँको सेयर कारोबार भएको छ । प्रभु इन्स्योरेन्सको ५ करोड २९ लाख रुपैयाँ र बिओकेको ४ करोड ४६ लाख रुपैयाँ बरावरको सेयर किनबेच भएको छ ।

दसैँमा मात्रै डेढ सय सवारी दुर्घटना, १० जनाको मृत्यु, छ गम्भीर घाइते

काठमाडौं, ३० असोज । दसैँका अवधिमा राजधानीमा करिब डेढ सय सवारी दुर्घटना भएका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखानुसार गत वर्ष असोज १५ गते घटस्थापनादेखि २९ गते पूर्णिमासम्मका अवधिमा एक सय ४६ दुर्घटनामा १० जनाको मृत्यु, छ गम्भीर घाइते र एक सय ११ जना सामान्य घाइते भएका छन् । ट्राफिक प्रहरीले दसैंका अवधिमा १४ हजार छ सवारी साधनलाई कारबाही गरेको छ । गत वर्ष सो अवधिमा तीन हजार पाँच सय ३२ मात्रै कारबाहीमा परेका थिए । मापसे, ट्राफिक नियम उल्लङ्घन र बढी भाडा असुल्ने तथा क्षमताभन्दा बढी यात्रु राख्नेहरु यस पटकको दसैँ अवधिमा कारबाहीमा परेका हुन् । मापसेमा मात्रै एक हजार दुई सय ९१ जना कारबाहीमा परेका छन् बढी भाडा लिने लामो दूरीका १४ सवारी साधन र ६० ट्याक्सीलाई कारबाही गरिनाका साथै दुई जनालाई पक्राउ गरिएको महाशाखाले जनाएको छ । तुलनात्मक रुपमा गत वर्षको असोजभन्दा यस वर्ष सवारी दुर्घटना बढी भएको छ । गत वर्ष तीन सय २८ सवारी दुर्घटना भएकामा यस वर्ष तीन सय ८९ सवारी दुर्घटना भएको छ । असोज महिनाभर मृत्यु हुने १३ र गम्भीर घाइतेको सङ्ख्या १७ तथा सामान्य घाइते २९३ जना छन् । रासस

रिलायबल डेभलपमेन्ट बैंकलाई धितोपत्र बोर्डको प्रश्नः पूर्व घोषित हकप्रद सेयर के हुन्छ ?

काठमाडौं, ३० असोज । नेपाल धितोपत्र बोर्डले रिलायबल डेभलपमेन्ट बैंकलाई अक्वायर प्रक्रिया र हकप्रद सेयरबारे प्रश्न गर्दै चिठ्ठी लेखेको छ । बोर्डले दशैं बिदा अघि नै चिठ्ठी लेखेर ग्लोबल आइएमई बैंकसँगको अक्वायर प्रक्रिया र पूर्व घोषित हकप्रद सेयरका बारेमा प्रश्न गरेको हो । ‘अक्वायरमा जाने प्रक्रिया र पुर्व घोषित हकप्रद सेयरका बारेमा जानकारी गराउन दशैं अघि नै पत्र काटेका छौं, अझै जवाफ आइसकेको छैन्’, धितोपत्र बोर्डका प्रवक्ता निरज गिरीले विकासन्युजसँग भने । रिलायबल डेभलमपेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत नारायण बाबु लोहनीले पनि धितोपत्र बोर्डले चिठ्ठी पठाएको स्विकार गरे । ‘बोर्डले अक्वायर प्रक्रिया अघि बढेपछि पुर्व घोषित हकप्रद सेयर के हुन्छ भनेर जानकारी मागेर पत्र पठाएको छ, हामी जवाफको तयारीमा छौं ।’, रिलायबलका प्रमुख कार्यकारी अधिकृत लोहनीले विकासन्युजसँग भने । रिलायबल डेभलपमेन्ट बैंकले गत असार १७ गतेको १० औं बार्षिक साधारण सभाबाट एक बराबर एकको अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने निर्णय गरेको थियो । तर सो मात्रामा हकप्रद सेयर निष्काशन नै नगरि ग्लोबल आइएमई बैंकसँग अक्वायरमा जाने सम्झौतामा हस्ताक्षर गरिसकेको छ । हकप्रद सेयरको आसमा लगानी गरेका लगानी कर्तामाथी अन्याय भएको भन्दै धितोपत्र बोर्डले पत्र काटेको हो । असोज १४ गते रिलायबल डेभलपमेन्ट बैंकका तर्फबाट अध्यक्ष राधेश्याम अग्रवालले ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्र प्रसाद ढकालसँग अक्वायर सम्झौतामा हस्ताक्षर गरेका थिए । दुवै बैंकबीच एक्विजिसन सम्बन्धी सम्पूर्ण काम कारबाही ३ महिना भित्र सम्पन्न गर्ने लक्ष्य र्निधारण गरिएको छ । राष्ट्रिय स्तरको विकास बैंकको रुपमा विगत १० वर्षदेखि कारोबार गर्दै आईरहेको रिलायबल डेभलपमेन्ट बैंकको चुक्ता पूँजी ७८ करोड ८५ लाख रुपैयाँ रहेको छ । रिलायबल डेभलपमेन्ट बैंकलाई ग्लोबल आइएमई बैंकले एक्विजिसन गरेपछि बैंकको कुल चुक्ता पूँजी ८ अर्ब रुपैयाँ भन्दा बढी हुनेछ ।