अमेरिकामा भन्दा चीनमा बढी अर्वपति, चीनमा ५ सय ९४ र अमेरिकामा ५ सय ३५ जना अर्बपति
काठमाडौं २८, असोज । अमेरिकाको तुलनामा चीनमा अर्बपतिहरू बढेका छन् । धनाढ्यहरूबारे जारी वार्षिक सूचीले चीनमा अर्बपतिहरू बढेको देखाएको हो । चीनको संघाईस्थित ‘हरून’ रिपोर्टमा अमेरिकी अखबार फोब्र्सको सूचीसँग तुलना गर्दै चिनियाँ अर्बपतिहरूका नाम सार्वजनिक गरिएको छ । हरूनका अनुसार चीनमा ५ सय ९४ र अमेरिकामा ५ सय ३५ जना अर्बपति छन् । प्रोपर्टी म्याग्नेट वाङ जिआनलियन सूचीमा सबैभन्दा माथि छन् । त्यसपछि अलिबाबाका ज्याक मा दोस्रो अर्बपति हुन् । बीबीसीका अनुसार चीनमा धनाढ्यहरूको मिल्दोजुल्दो सूची जारी गर्ने हरून रिपोर्टलाई विश्वसनीय नै मानिन्छ । हरूनले विगत १८ वर्षदेखि चिनियाँ अर्बपतिहरूको सूची जारी गर्दै आएको छ । यसै वर्षको सुरुमा उसले एउटा छुट्टै विश्वव्यापी सूची जारी गर्दै पहिलो पटक अमेरिकाको तुलनामा चीनमा अर्बपतिहरूको संख्या बढेको जनाएको थियो । तर, उसको उक्त ग्लोबल रिपोर्टमा विश्वका सर्वाधिक धनाढ्यहरूको ‘टप २०’ मा कुनै पनि चिनियाँ परेका थिएनन् । चीनको सर्वाधिक धनाढ्यहरूको सूचीमा पहिलो नम्बरमा परेका वाङ जिआनलिनको व्यक्तिगत कुल सम्पत्ति ३२ दशमलव १ अर्ब अमेरिकी डलर छ । उनको कम्पनी ‘डालियन वान्दा’ अमेरिकी चलचित्र बजारमा वर्षभरि नै चर्चामा रहिसकेको छ । यसैगरी, अलिबाबाका ज्याक मा आफ्नो कुल सम्पत्ति ३० दशमलव ६ अर्ब अमेरिकी डलरका साथ दोस्रो र इन्टरनेटरअनलाइन गेमिङका सञ्चालक पोनी मा कुल सम्पत्ति २४ दशमलव ६ अर्ब अमेरिकी डलरका साथ तेस्रो धनाढ्य रहेको रिपोर्टमा छ । रियल स्टेट कम्पनी ‘बाओनेङ ग्रुप’ का याओ झेन्गुआको सम्पत्ति यो वर्ष अप्रत्याशित रूपमा वृद्धि हुँदै १७ दशमलव २ अर्ब अमेरिकी डलरका साथ चौथो स्थानमा पर्यो । चीनका अधिकांश अर्बपति बेइजिङ, त्यसपछि क्रमशः शेन्झेन, संघाई र हङझाउमा बसोबास गर्ने गरेको बीबीसीले जनाएको छ ।
कतारमा कामदारलाई कानुन खुकुलो, रोजगारदाता र कामदारबीचको सम्झौतापत्र अनुसार नयाँ कानुन लागू हुने
काठमाडौं २८, असोज । कतारमा रोजगारदाता र कामदारबीचको सम्झौतापत्र अनुसार नयाँ स्पोन्सरसिप कानुन लागू हुनेछ । कतारमा काम गर्ने, बस्ने र घर फिर्ने अवधि करारपत्रमै उल्लेख हुन्छ । यसअघि सबै अधिकार कम्पनीले चाहेअनुसार हुन्थ्यो । कम्पनीबाट रद्द भएर स्वदेश फिरेको दुई वर्षसम्म अर्को कम्पनीमा जान लगाएको प्रतिबन्ध हटेको छ । सक्कली करारपत्र पाए लगत्तै कतार जानेबाटो खुल्नेछ । नतोकिएको करारपत्रमा आएका कामदार पाँच वर्षपछि अर्को कम्पनीमा जान पाउनेछन् । तोकिएको करारपत्र सकिएपछि सरकारको सम्बन्धित विभागबाट अनुमति लिई नयाँ रोजगार गर्न पाउने बाटो खुलेको छ । उक्त मितिदेखि कानुन कार्यान्वयनमा आउने सार्वजनिक जानकारी दिन व्यापक प्रचारप्रसार गरिने कतारी समाचार समिति (क्यूएनए) ले जनाएको छ । नयाँ स्पोन्सरसिप कानुन प्रभावकारी रूपमा कार्यान्वयन गर्न कतारले गैरकानुनी रूपमा बस्दै आएका कामदारका लागि तीन महिने आममाफी दिइसकेको छ । आममाफीको अवधि डिसेम्बर १ बाट सकिँदैछ । समाचार स्रोत कान्तिपुर दैनिक ।
कालिकोटका वासिन्दको दसैंको आसिक, बालविवाह अन्त्य होस्
काठमाडौं २८, असोज । दसैंमा विशेष गरी दीर्घायु र सुखसमृद्धिको आशिष दिइन्छ । तर, कालिकोटमा यसपालि फरकखाले आशिष दिइयो । महिला हिंसाविरूद्धको अभियानस्वरूप सरोकारवालाले बालविवाह न्यूनीकरणका शुभकामना आदानप्रदान गरे । उनीहरूले आफन्तलाई आशिष दिए, ‘कसैले बालविवाह नगरून्, छोरीचेलीले अकालमा ज्यान गुमाउनु नपरोस्, बालविवाह अन्त्य होस् ।’ २०७५ सालभित्र कालिकोटलाई बालविवाह मुक्त जिल्ला बनाउन अघि सारिएको रणनैतिक योजना पूरा गर्न गाउँगाउँमा अभियान सञ्चालन भइरहेको छ । अभियानअन्तर्गत जिल्लाका ३० मध्ये जुविथा, सुकाटिया, छाप्रे, मान्म, दाहा, पाखा, कालिका, रकु र राचुली गरी ९ गाविस बालविवाह मुक्त घोषणा भइसकेको जिल्ला बालकल्याण समिति महिला विकास अधिकृत सीता थापामगरले बताइन् । अन्य गाविसमा पनि गाउँ बाल संरक्षण समितिमार्फत अभियान चलिरहेको उनले जानकारी दिइन् । कान्तिपुर दैनिकबाट ।
नेपाली युवालाई उत्कृष्ट विद्यार्थी पुरस्कारं, अन्तर्राष्ट्रिय प्रतिस्पर्धाबाट नेपाली विद्यार्थी छानिए
काठमाडौ २८, असोज । अस्ट्रेलियामा अध्ययनरत नेपाली युवालाई अस्ट्रेलियन सरकारले उत्कृष्ट विद्यार्थीको रुपमा सम्मानित गरेको छ । सिड्नीमा रहेको युनिभसिर्टी अफ टेक्नोलोजीमा अध्ययनरत विजय सापकोटालाई न्यु साउथ वेल्स राज्यले उत्कृष्ट विद्यार्थीको रुपमा सम्मानित गरेको समाचार शुक्रबारको कान्तिपुर दैनिकमा छापिएको छ । अस्ट्रेलियन सरकारले प्रत्येक बर्ष अन्तर्राष्ट्रिय विद्यार्थीहरुमध्येबाट छनोट गरेर उक्त पुरस्कार दिने गर्दछ । अन्तर्राष्ट्रिय विद्यार्थीलाई दिइने उक्त पुरस्कार सबैभन्दा उच्च तहको मानिन्छ ।
श्रीमतीकाे हत्यापछि उदयपुरकाे बेल्टारबजार तनावग्रस्त, दर्जनौँ सेल अश्रुग्यास प्रहार
गाईघाट (उदयपुर), २७ असोज । उदयपुर जिल्लाको बेल्टार बसाहा नगरपालिकाअन्तर्गत बेल्टारबजार गएरातिदेखि तनावग्रस्त बन्न पुगेको छ भने भीडलाई नियन्त्रण गर्न प्रहरीले दर्जनौँ राउन्ड अश्रुग्याससमेत प्रयोग गरेको छ । बेल्टार–२ सिरबानी बस्ने राजेन्द्र कटुवालकी श्रीमती भीमकुमारी कटुवालको पाँच दिनअघि मोरङको सिजुवास्थित बेतौनाको जङ्गलमा हत्या भएको थियो । गएराति उनको शव ल्याउने क्रममा बेल्टारबजारमा हजारौँको सङ्ख्यामा स्थानीयवासी राजेन्द्रको विरुद्ध आन्दोलनमा उत्रेपछि बेल्टारबजार तनावग्रस्त बन्न पुगेको स्थानीयवासी शिवकुमार राईले बताए । भीमकुमारीको शव ल्याउने बित्तिकै माइती पक्षका र हजारौँ स्थानीयवासी, राजेन्द्र र उनका आफन्तविरुद्ध प्रत्यक्षरुपमा जाइलागेपछि झडप सुरु भएको कुरा इलाका प्रहरी कार्यालय बेल्टारले बताएको छ । उक्त झडप नियन्त्रण गर्न इलाका प्रहरी कार्यालयको सम्पूर्ण प्रहरी शक्ति प्रयोग गरेर दर्जनौँ राउन्ड अश्रुग्यास प्रयोग गर्नु परेको इलाका प्रहरी कार्यालय बेल्टारका प्रमुख भीमकान्त सिलवालले बताए । प्रहरीले सम्पूर्ण जनशक्ति लगाएर रातिको १२ बजेसम्ममा भीड नियन्त्रण भएपनि अझैसम्म बेल्टारबजार तनावग्रस्त रहेको कुरा स्थानीयवासीले बताएका छन् । बजारक्षेत्र तनावग्रस्त बन्दै गएपछि प्रहरी शक्तिसमेत अन्य क्षेत्रबाट थप्ने कार्य सुरु भएको र सम्भावित घटनालाई नियन्त्रण गर्ने तयारी प्रहरीले गरेको इलाका प्रहरी कार्यालय बेल्टारले गरेको छ । प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएका राजेन्द्रसहित आफन्तलाई भीमकुमारीको शव लिन मोरङ पठाएर राति भीमकुमारीको शव ल्याउने क्रममा बेल्टारबजारमा झडप र तनाव सुरु भएको प्रहरीले बताएको छ । अहिले बजार क्षेत्र तनावग्रस्त भए तापनि स्थानीय बुद्धिजीवी, राजनीतिक दलसहितका भद्रभलादमीलाई बोलाएर सो विषयमा छलफल गर्न इलाका प्रहरी कार्यालय बेल्टारले तयारीसमेत गरेको प्रहरी प्रमुख भीमकान्त सिलवालले बताए । भीमकुमारीको शव पनि इलाका प्रहरी कार्यालय बेल्टारमा नै प्रहरीको नियन्त्रणमा राखिएको प्रहरीले बताएको छ । पाँच दिनअघि भीमकुमारी कटुवालको मोरङको सिजुवामा बस्दै आएका आफ्नै देवर सुवास कटुवालले फोनबाट बोलाएर नजिकैको बेतौनाको जङ्गलमा लगेर बीभत्स तरिकाले हत्या गरेर सुवासले विष सेवन गरेका थिए । अहिले सुवासको अस्पतालमा उपचार भइरहेको छ भने भाउजूको हत्या आफूले नै गरेको स्वीकार गरेको पनि प्रहरीले बताएको छ । तर भीमकुमारीको हत्यामा राजेन्द्र आफैँ र सबै घरपरिवारको संलग्नता रहेको भीमकुमारीको माइती पक्षको दाबी रहेको छ । राजेन्द्र स्वयम् पनि प्रहरी सेवामा कार्यरत रहेको र यसअघि नै उसले कान्छी श्रीमतीसमेत विवाह गरेर लुकाएर राखेका कारण भीमकुमारीको हत्या गरेको माइती पक्षको आरोप रहेको पनि प्रहरीले बताएको छ । यसअघि नै राजेन्द्रको परिवारका सबै ६ जना र राजेन्द्रसहितलाई पनि प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिसकेको पनि इलाका प्रहरी कार्यालय बेल्टारले बताएको छ । रासस
पर्यटक सवारीले पहिचान भएका पर्यटक मात्रै बोक्न पाइने, हरियो नम्बर प्लेटको विवाद कायमै
काठमाडौं, २७ । हरियो नम्वर प्लेटका पर्यटकीय सवारी साधानले अब पहिचान भएका पर्यटक मात्रै बोक्न पाउने भएका छन् । सरकारले गत भदौ तेस्रो साता स्वीकृत गरेको सवारी तथा यातायात व्यवस्था नियमावली २०७३ अनुसार पहिचान नभएका पर्यटक हरियो नम्वर प्लेटका सवारी साधनले बोक्न नपाउने भएका छन् । नियमावलीको दफा २ को (ङ)मा पर्यटक सवारीले पर्यटक बाहेक अन्य यात्री बोकेमा सवारी साधानको दर्ताको प्रमाणपत्र ६ महिनासम्मका लागि निलम्बन गर्ने उल्लेख छ । नियमावलीको दफा ४ को (ग)मा पनि पर्यटक सवारीले पर्यटक बाहेक अन्य यात्री बोकेमा चालक अनुमतिपत्र निलम्बन गर्ने व्यवस्था पनि रहेको छ । सरकारले ल्याएको यो व्यवस्थाले पर्यटक सवारीले पर्यटक पहिचान गरेर मात्रै पर्यटकीय सेवा दिनुपर्ने भएको छ । सरकारले ल्याएको यो कार्यविधि अनुसार पर्यटक पहिचान गराएर मात्रै सेवा दिनुपर्ने भएको पर्यटक बस व्यवसायी संघका अध्यक्ष श्रीकान्त आचार्यले बताए । उनका अुनसार सरकारले कार्यविधि पारित गरेर व्यवसायीसमक्ष पनि जानकारी आइसकेका छ । ‘सरकारले ल्याएको संसोधि कार्यविधिको व्यवस्थाको मस्यौदामा पर्यटक बाहेक गैरपर्यटक बोक्न नपाइने भन्ने व्यवस्था राखिएको थियो’, आचार्यले भने । व्यवसायीको पहलमा गैरपर्यटक शब्द हटेकोले पर्यटकीय सेवामा कुनै समस्या नहुने बताए । पर्यटक पहिचान गर्ने विषयमा पर्यटक सवारीले पर्यटकीय गन्तव्यमा पुग्ने र घुम्ने उद्देश्य बोेकेका बाहेकलाई सेवा नदिने भएकोले पनि समस्या नहुने तर्क दिए । उनका अनुसार पर्यटक को हुन भनेर चाहिँ पर्यटन मन्त्रालयले पहिचान गर्नुपर्छ । पर्यटन मन्त्रालय अन्तर्गत पर्यटन विभागका प्रवत्ता दुर्गादत्त ढकालका अनुसार भने आन्तरिक र वाह्य दुबै पर्यटक हुन । पर्यटन ऐन तथा नीति तथा नियमावलीले नै स्पष्ट रूपमा पर्यटक पहिचान गरेकोले पर्यटकीय सेवामा कुनै समस्या हुँदैन । उनका अनुसार आज भन्दा अगाडि जसरी पर्यटक सवारीले सेवा दिएका छन्, भोली पनि त्यसैगरी तर व्यवस्थित ढंगबाट सेवा दिने ढकालको भनाइ छ । उनका अनुसार बाहिर हल्ला भएजस्तो पर्यटक सवारी संचलनमा कुनै असहजता छैन । पर्यटन मन्त्रालयले अनुमति दिएका र पर्यटक सवारीका रूपमा दर्ता भएकाले आफ्नो उद्देश्य खुलाएर सेवा दिन पाउँछन् । पर्यटन मन्त्रालयले पनि पर्यटक सवारीलाई दर्ता गरेरै अनुमति प्रदान गरेको छ । कुनै असहज अवस्था भए एक सरकारी निकायले अर्को सरकारी निकायसँग समन्वयन गरेर मिलाउन सकिन्छ, यसका लागि व्यवसायीले प्रक्रियागत रुपमा माग र सुझाव दिनुपर्ने पनि उनको भनाइ छ । पर्यटकको पहिचान कसरी ? एउटा गन्तव्यबाट अर्को गन्तव्यमा घुम्न जाने उद्देश्यले निस्किएका सबै नेपाली तथा विदेशी पर्यटक हुन । ‘दसैं तथा अन्य चाडबाडमा घर, माईत, मावली तथा ससुराली जाने नेपाली चाँहि पर्यटक होइन्’, पर्यटन विभागका प्रवक्ता दुर्गादत्त ढाकालले भने । पर्यटक गाडीले यस्ता गैर पर्यटकलाई सेवा पनि नदिने उनको छ । विश्व पर्यटन संगठनले नै घुम्ने उद्देश्य खुलाएर निस्कने पर्यटक मानेको छ भने नेपालको कानूनले पनि घुम्ने उदेश्यले पोखरा, चितवन, लुम्बिनी सहितका पर्यटकीय गन्तव्यमा जाने सबै पर्यटक हुन भनेर पहिचान गरेको ढकालले जानकारी दिए । नयाँ पर्यटकको पहिचान गर्ने र पर्यटक सवारीमा को राख्ने र को नराख्ने भनेर बहस गर्ने नपर्ने पर्यटन मन्त्रालयको भनाइ छ । घुम्ने उद्देश्यले हिडेका सबै नेपाली पर्यटक भएको स्पष्ट व्यवस्था हुँदाँहुनै पुन पहिचानको जरुरी नभएको पनि पर्यटन मन्त्रलयको भनाइ । यातायात व्यवस्था विभागका महानिर्देशक चन्द्रमान श्रेष्ठका अनुसार पनि घुम्ने उद्देश्यले एक ठाउँबाट अर्को ठाउँको पर्यटकीय गन्तव्यमा जाने सबै पर्यटक हुने बताए । उनका अनुसार हरियो नम्बर प्लेटका सवारी साधनले आम नेपाली नागरिक (गैरपर्यटक) बोक्न नपाइने भनेको हो, पर्यटकलाई बोक्न नपाइने भनेको छैन । नेपाल पर्यटन यातायात व्यवसायी संघका अध्यक्ष साङ्गे लामाका अनुसार विस २०३७ देखि रातो नम्बरप्लेटमा सेवा दिएको अवस्थामा अहिले सबै सिजनमा सबै पर्यटकलाई हरियो नम्बरप्लेटमा सेवा दिए गाह्रो हुने बताए । यसका लागि हरियो नम्बरप्लेटको कमी भएको अवस्थामा रातो नम्बरप्लेटका सवारीले समेत सेवा दिन पाउनुपर्ने पनि बताए ।
माेबाइलबाट राम्रो फोटो निकाल्ने फर्मुला
काठमाडौं। दशैंमा राम्रो फोटो निकाल्न कसलाई रहर हुँदैन र ! जति राम्रो फोटो आयो त्यति नै सामाजिक सञ्जालमा सेयर गर्न र फ्रेममा सजाएर राख्न मन लाग्छ। १ एङ्गलिक तपाईले फोटो खिच्दा जहिलेपनि के विचार पुर्याउनुपर्छ भने जति राम्रो एङ्गल मिलाउनुभयो त्यति राम्रो फोटो आउँछ। जस्तै तपाईले फोटो खिच्दा हाफ खिच्ने हो कि फुल खिच्ने हो त्यसको निर्क्यैल गर्नुहोस। त्यसपछि फोटोमा के कुरा निकाल्ने र व्याकग्राउण्डमा के निकाल्ने भनेर मनमनै छानिसक्नुपर्छ। २ लाईटिङ फोटो लिदा विचार गर्नुपर्ने अर्को कुरा हो लाईटिङ। लाईटिङ मिलेन भने न तपाईको फोटो कि धैरै लाईट भएर ओभर लाइटिङ वा कम भएर स्याडो हुन्छ। त्यस काणले जहिलेपनि फोटो लिदा लाईटको एकदम ध्यान निनुहोला। ३ अव्जेक्ट फोकस क्यामेरा, एङ्गलिङ र फोकस सँगै फोटो लिदा सँधै वस्तुको ख्याल गर्नुपर्छ। तपाईले के बस्तुलाई टार्गेट गर्नुभएको हो सोहि अनुसार फोँकस मिलाउनुपर्छ। ४ व्याकग्राउण्ड अव्जेक्ट सवै कुरा मिल्यो तर पछाडि रहेको बस्तु नराम्रो आयो भने पनि फोटो नराम्रो आउँछ। त्यहि भएका कारण प्रत्यक सट तपाईका लागि उत्तिकै महत्वपूर्ण हुन्छ। सामान्यतया यत्ति भयो भने तपाईको फोटो धेरै हदसम्म राम्रो आउँछ।
सेल्फी खिच्न स्मार्टफोनका लागि उत्कृष्ट एपहरू
काठमाडौं, २७ असेज । वर्षमा एकपटक आउने दशैंमा जसलाई पनि राम्रो फोटो निकाल्ने र भविष्यका लागि मेमोरी बनाउने अनि सामाजिक सञ्जालमा सेयर गर्ने इच्छा त भइहाल्छ। दशैंमा आफन्तले टिका लगाइदिएको वा अन्य कुनै पनि घटनाहरु जिन्दगीभरका लागि विर्सन नसकिन क्षण हुन्छन। इन्स्टा पिकफ्रेम यो एप गुगल प्ले स्टोर र आइओएस को एप स्टोरमा पाइन्छ। यसको सवैभन्दा राम्रो पक्ष भनेको इन्सट्यान्ट सेल्फि खिचेर लगभग एकसय भन्दा धेरै इफेक्ट र फ्रेममा फोटो राख्न मिल्छ। पिप क्यामेरा यो पनि गुगल र आइओएस दुवै स्टोरमा पाइन्छ। विभिन्न इफेक्टमा सेल्फिको मजा लिन सकिने यो एपमा अरुमा भन्दा फरक किसिमका फ्रेममा फोटो खिच्न सकिन्छ। स्विट सेल्फि यो एप पनि गुगल र आइओएस दुवै स्टोरमा पाइन्छ। यसको सवैभन्दा राम्रो पक्ष भनेको यसमा धेरै किसिमका इफेक्टहरु रहेका हुन्छन जसका कारण तपाईको फोटोलाई आफ्नो इच्छा अनुसार इफेक्ट हालेर परिवर्तन गर्न सक्नुहुनेछ। क्यामेरा ३६० डिग्री यो एप पनि गुगल र आइओएस दुवै एप स्टोरमा पाइन्छ। यसको सवैभन्दा राम्रो विशेषता भनेको तपाइले यसमा टाइम सेट गर्न सक्नुहुनेछ जसका कारण तपाईले मोवाइललाई अलि टाढा राखेर पनि आफ्नो बडिको हाउभाउ मिलाउन पाउनुहुन्छ। यसले तपाईलाई १० सेकेन्डसम्मको समय दिन्छ। वा तपाईले टाइम सेट नगरी पनि सेल्फिको मजा लिन सक्नुहुनेछ।