विकासन्युज

विद्युत प्राधिकरणका पुर्व महाप्रवन्धक महेन्द्रलाल श्रेष्ठ विरुद्ध विशेष अदालतमा आरोपपत्र दायर

काठमाडौं । नेपाल विद्युत् प्राधिकरण तत्कालिन महाप्रवन्धक महेन्द्रलाल श्रेष्ठले अकुत सम्पत्ति आर्जन गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा उनी विरुद्ध सोमबार आरोपपत्र दायर गरेको छ । प्राधिकरणका तत्कालिन उत्पादन सञ्चालन तथा संभार विभागको पूर्वमहाप्रबन्धक श्रेष्ठले सार्वजनिक सेवाको पदमा रहदा मर्यादा विपरितका कार्य गरी स्रोत पुष्टी हुन नसक्ने अकुत सम्पत्ति आर्जन गरेकाले आवश्यक छानविन गरी कारवाही गरिपाउँ भन्ने व्यहोराको उजुरीको अनुसन्धान हुंदा श्रेष्ठले अकुत सम्पत्ति आर्जन गरेको ठहर अख्तियारले गरेको छ । उनको वैध आयको तुलनामा २ करोड ८८ लाख ८२ हजार रुपैयाँ बराबरको सम्पत्ति आफ्नो पदीय जिम्मेवारीको दुरुपयोग एवं भ्रष्टाचार गरी आर्जन गरेको र मानसिव कारण विना अमिल्दो र अस्वाभाविक उच्च जीवनस्तरयापन गरेको देखिन आएको अख्तियारले जनाएको छ । उनी प्राधिकरणको श्रेष्ठ, नेपाल विद्युत प्राधिकरणको वितरण निर्माण डिभिजनको सहायक ईन्जिनियर पदमा ०३६ साल चैत ५ गते नियुक्ति भई तह तह बढुवा सरुवा भई प्राधिकरणको, उत्पादन तथा सञ्चालन तथा संभार विभागको महाप्रबन्धक, र प्राधिकरणको कामु कार्यकारी निर्देशक भई ०७० साउन ९ गतेदेखि अनिवार्य अवकाश लिएका थिए । आय व्ययको विवरण र निजले आफ्नो तथा आफ्नो परिवारका सदस्यको नाममा खरिद एवं लगानी गरेको चल अचल सम्पत्तिका सम्वन्धमा तथ्य प्रमाणलाई छानविन र विश्लेषण गरी हेर्दा उनले आय आर्जन गरेको वैध आयको तुलनामा २ करोड ८८ लाख बयास हजार रुपैयाँ पदीय जिम्मेवारीको दुरुपयोग एवं भ्रष्टाचार गरी आर्जन गरेको अख्तियारको ठहर छ । भ्रष्टाचार गरी गैरकानूनी आर्जन गरेको, स्रोत नखुलेको चल अचल सम्पत्ति निज र उनका श्रीमती करुणादेवी कर्माचार्य श्रेष्ठ, छोरा कमलेन्द्रलाल श्रेष्ठ र छोरी प्रेरणा श्रेष्ठको नाममा बदनियत साथ राखेको तथा लुकाए छिपाएको पुष्टी हुन आएको दावी अख्तियारको छ ।  

गोपालबहादुर खड्काले जग्गा खरिदमा अनियमतिता गरेको संसदीय समितिको ठहर

  काठमाडौं । संसदीय समितिले पेट्रोलियम भण्डारणका लागि नेपाल आयल निगम लिमिटेडका कार्यकारी निर्देशक गोपालबहादुर खड्काले जग्गा खरिद गर्दा अनियमितता गरेको ठहर गरेको छ । उद्योग वाणिज्य तथा आपूर्ति  उपभाेता समितिको सोमबार बसेको बैठले अध्ययन समितिको प्रतिवेदन सार्वजनिक गर्दे जग्गा खरिदमा अनियमितता भएको ठहर गरेको हो । सम्बन्धित निकायले छानविन गरी खड्कामाथि कार्वाही गर्नुपर्ने प्रतिवेदनमा उल्लेख गरिएको छ । मन्त्रालयको उच्च नेतृत्व र आयल निगमले बोलपत्र माध्यमबाट जग्गा खरिद गर्दा आर्थिक अपव्यय अपचलन र अनियमितता भएको ठहर गरिएको छ । २ लाख रुपैयाँ पर्ने जग्गा १६ लाख रुपैयाँमा किनेको पाइएको प्रतिवेदनमा उल्लेख छ । यस्तै वडादेखि मालपोत हुँदै प्रमुख जिल्ला अधिकारी (सिडिओ) सम्मको मिलोमतोमा भएको पाइएको छ । चलनचल्तीकाे भन्दा ४ गुणा बढी तिरेको समितिको  ठहर छ । बोलपत्रले अत्याधिक व्ययभार पारेको र सर्वसाधारणले तिरेको रकम अपव्यय गरेको, निगमले खरिद गरेको झापाको जग्गा रेल्वे लाइन भित्र परेको र खरिद गर्ने माध्यम कानुनसम्मत देखिए आर्थिक अनियमितता गरेको समितिको निष्कर्ष छ । निगमले सात प्रदेशमा पेट्रोलियम भण्डारण स्थापना गर्न जग्गा खरिद गरेको हो ।

सेयर बजारमा सामान्य सुधार, साढे ३ अंकले बढ्यो

काठमाडौं । लगातार घट्दै गएको सेयर बजार सोमबार ३.६ अकं बढेको छ । सोमबार बैंक र वित्त क्षेत्रको सेयर घटेको छ भने होटल, जलविद्युत, बीमा र उत्पादनमुलक क्षेत्रको सेयर बढेको छ । आइतबार साढे ३५ अंकले बजार घटेको थियो । सोमबार नबिल बैंकको सेयर सबैभन्दा बढी कारोबार भएको छ । नबिलको सेयर प्रतिकित्ता १ हजार ६३० रुपैयाँमा १० करोड २८ लाख ८५ हजार रुपैयाँको सेयर किनबेच भएको थियो । सोमबार ८४ करोड १३ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।

२ चिनी उद्योगबाट ६ मेगावाट बिजुली किन्न सरकार र उद्योगीबीच सम्झौता

काठमाडौं । सरकारले २ वटा चिनी उद्योगबाट ६ मेगावाट बिजुली खरिद गर्ने भएको छ ।  एभरेष्ट जनरल सुगर मिल्स लिमिटेडबाट ३ र इन्दुशंकर चिनी उद्योग लिमिटेडबाट ३ मेगावाट बिजुली खरिद गर्ने भएको हो । एभरेष्ट मोहत्तरीको गौशला र इन्दुशंकर सर्लाहीको हरिभवनमा छन् । बिजुली खरिदबिक्री (पीपीए) को विषयमा विद्युत विकास विभाग र उद्योगीबीच सोमबार करार सम्झौतामा हस्ताक्षर भएको छ । उद्योगले प्रतियुनिट ८ रुपैयाँ ४० पैसामा बिजुली नेपाल विद्युत प्राधिकरणलाई बिक्री गर्नेछन् । मुलुकमा ऊर्जा संकट समधान गर्नका लागि सरकारले चिनी उद्योगबाट पनि बिजुली किन्ने योजना बनाएको हो । यसअघि ल्याइएको ऊर्जा विकास कार्ययोजनामा लोडसेडिङ अन्त्यका लागि चिनी उद्योगबाट बिजुली किन्ने उल्लेख छ । सोही योजनाअनुसार विभागले खरिद गर्न लागेको हो । पटकपटक उद्योगबाट उत्पादन हुने बिजुली खरिद गर्ने भनेपनि विद्युत विकास विभागले बिजुली बिक्रीका उद्योगसँग पुनः सहभागी हुन आह्वान गरेको थियो । मुलकभर एक दर्जन उद्योग सञ्चालनमा रहे पनि आधा दर्जन उद्योगले मात्र प्रस्ताव पेश गरेका थिए । पहिलो चरणमा दुई उद्योगसंग प्रारम्भीक सम्झौता गरेको हो । उद्योगबाट खेर जाने खोस्टाबाट बिजुली उत्पादनका लागि आवश्यक पुर्वाधार तयार गर्न एक वर्षको समय दिने भएको छ । “सकेसम्म आउदो हिउँदमा उत्पादन हुने गरी काम थाल्न भनेका छौ” विभागका महानिर्देशक नवीनराज सिंहले भने । आउदो हिउँदमा ल्याउने गरी काम अघि बढाउन विभागले उद्योगीलाई भनेको छ । उद्योग सञ्चालन भएपछि बिजुली उत्पादन हुने उनको भनाई । खेर गइरहेको बगास रहुन्जेलसम्म उद्योगबाट बिजुली उत्पादन हुने उनको भनाई छ । ६ महिना बिजुली उत्पादन हुने अनुमान गरिएको छ । उनका अनुसार वैशाखमा प्रस्ताव आह्वान गर्दा एभरेष्ट सुगर मिल, बागमती खाँडसारी मिल, अन्नपूर्ण सुगर मिल्स, इन्दुशंकर चिनी उद्योग लिमिटेडलगायतले पेश गरेका छन् । उद्योगहरु संघमार्फत आएकाले समस्या भएको सिंहको भनाइ छ । एभरेष्टले १२ किलोमिटर टाढा सोही जिल्लाका औरही सबस्टेसन र इन्दु शंकरले १५ किलोमिटर टाढा रहेको हरिपुर सबस्टेसनमा बिजुली जोड्ने छन् । यस्तै अन्नणुर्ण जनरल एन्ड सुगर लिमिटेडसंग पनि साढे ३ मेगावाट बिजुली खरिदको प्रक्रिया अघि बढेको सिंहले जानकारी दिए । अन्नपुर्णसंग पनि छिट्टै करार सम्झौता हुने भएको छ ।        

एक्सेल डेभलपमेन्ट बैंकले ३० प्रतिशत बोनस सेयर दिने

काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंकले सेयरधनीलाई ३० प्रतिशत बोनस सेयर दिने भएको छ । बैंकको आइतबार सम्पन्न १९५ औ सञ्चालक समिति बैठकले गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई ११ करोड ५८ लाख रुपैयाँ बराबर बोनस सेयर दिने प्रस्ताव गरेको हो । नेपाल राष्ट्र बैंकबाट स्वीकृति र वार्षिक साधारणसभाले अनुमोदन गरेपछि बैंकले लाभांश वितरण गर्ने छ ।

दशैंमा पैसा पठाउँदै हुनुहुन्छ, यस्ता छन रेमिटेन्स कम्पनीका अफर

काठमाडौं । दशैंमा विदेशबाट आफन्तलाई पैसा पठाउँदै हुनुहुन्छ ? त्यसो हो भने उपयुक्त रेमिटेन्स कम्पनी छान्नुस् जसले तपाईलाई राम्रो अफर दिईरहेको छन् । यो रेमिटेन्स अधिक मात्रामा नेपाल पठाउने समय हो । दशैं, तिहार तथा छठ लगायतका चाडबाडमा विदेशमा काम गर्ने नेपालीहरुले अनिवार्य रुपले घरमा पैसा पठाउँछन् । रेमिटेन्स कम्पनीहरुले अत्याधिक रेमिटेन्स भित्रिने यहि समयलाई लक्षित गरेर उपभोक्ता आकर्षित गर्न बिभिन्न अफरहरु ल्याईरहेका छन् । यद्यपी कुनै पनि कम्पनीले सेवा शुल्क भने घटाईरहेका छैनन् । बिशेषतः आईएमई, प्रभु मनि ट्रान्सफर, सिटी एक्सप्रेस, मनिग्रामले चाडबाड लक्षित आकर्षक योजना अघि सारेका छन् । तपाईँ पनि विदेशबाट नेपालमा रहेका आफन्तलाई पैसा पठाउँदै हुनुहुन्छ ? वा तपाईँका आफन्तले विदेशबाट तपाईलाई पैसा पठाउँदै हुनुहुन्छ ? यदि त्यस्तो हो भने रेमिटेन्स कम्पनीहरुले ल्याएका यी अफरहरु हेर्नुस अनि छान्नुस उपयुक्त रेमिटेन्स कम्पनी । आइएमई आइएमईले यसपाली छक्का पञ्जा अफर ल्याएको छ । कम्पनीले छक्का पञ्जा २ चलचित्र प्रदर्शनमा आउनै लाग्दा आफ्ना ब्राण्ड एम्बेसडर दिपक राज गिरि र दिपाश्री निरौलालाई अघि सारेर त्यस्तो अफर ल्याएको हो । यो अफर अनुसार नेपालमा पैसा पठाउनेहरुले जिवन बीमा र नगद पुरस्कार समेत प्राप्त गर्न सक्नेछन् । आईएमईले हरेक ६ हप्तामा १० लाख नगद पुरस्कार बाढ्नेछ भने हरेक १५ औं दिनमा ६ लाख रुपैंयाँको जिवन बीमा गराउनेछ । त्यस्तै, हरेक ६० जनालाई एक सय रुपैंयाँको आइएमई पेको रिचार्ज उपलब्ध गराउनेछ । चाँडै गर्नुहोस, जीवन बीमादेखि नगद उपहारसम्मका यी अफरहरु तपाईकै भर्खाईमा छन् । प्रभु मनि ट्रान्सफर प्रभु मनि ट्रान्सफरले प्रभुसँग दशैं, तिहार, छठको उमंग हर्षले सबै जना दंग अफर ल्याएको छ । यो अफर अनुसार हरेक हप्ता एक जनाई लक्की ड्रबाट एलइडी टिभी, एक जनालाई सेट टप बक्स तथा एक महिनाको रिचार्ज कार्ड दिनेछ । त्यस्तै, हरेक हप्ता २ जनाले स्मार्ट फोन पाउनेछन् । कम्पनीले बम्पर उपहारका रुपमा प्रभु हेलि कप्टरबाट पोखरा–मुक्तिनाथ–पोखरासम्मको यात्रा पनि गराउनेछ । ६० प्रतिशत नेपालीका घरमा रेमिटेन्स भित्रिने गरेको सरकारी तथ्यांक छ । १०९ वटा मुलुकबाट रेमिटेन्स भित्रिने गरेको छ । मुलुकको कुल ग्रार्हस्थ उत्पादनको तुलनामा २६ प्रतिशत रेमिटेन्स भित्रिने गरेको देखिन्छ । सिटी एक्सप्रेस सिटी एक्सप्रेस कम्पनीले उपभोक्तालाई लक्कि ड्र मार्फत ९० दिनसम्म उपहार दिने घोषणा गरेको छ । योजना अवधिभर सिटी एक्सप्रेस मार्फत मनी ट्रान्सफर गर्ने सम्पुर्ण सेवाग्राहीहरु सो योजनामा सहभागी हुन पाउनेछन् । यो अफर भदौ १८ गतेदेखी मंसिर १५ गतेसम्म लागु हुने अफरमा लक्कि ड्र मार्फत दैनिक एक तोला चाँदीका सिक्का, क्याप, टी सर्ट र किरिङ उपहार पाइनेछ । साप्ताहिक रुपमा एकजना विजेताले ओप्पो मोबाइल र हरेक महिना लक्की ड्रमा विजयी हुने एक जनालाई एलजी रेफ्रिजेरेटर उपहार पाउनेछन् । अन्तिम विजेताले भने बम्पर उपहारका रुपमा रेनोल्टको क्विड आर.एक्स.एल कार जित्न सक्ने छन् । मनि ग्राम मनिग्रामले दशैंमा कारोवारको दोब्बर रकम जित्न सक्ने स्कीम ल्याएको छ । दुई महिने विशेष कार्यक्रम देश भरी लागु हुने र यसले ग्राहकहरुले आफ्ना प्रियजनलाई दोब्बर रकम जिताउन सक्ने अवसर दिने जनाएको छ । दुई महिनामा १६ जना भाग्यशाली विजेतालाई पठाएको रकमको दोब्बर पैसा दिने जनाएको छ । यस्तो योजना सेप्टेम्बर १ तारिखदेखि अक्टोबर ३० तारिखसम्म लागु हुने मनि ग्राम कम्पनीले जनाएको छ ।

वोमी माईक्रोफाइनान्सले २१ प्रतिशत बोनस सेयर दिने

काठमाडौं । वोमी माइक्रोफाइनान्सले २१ प्रतिशत बोनस सेयर दिने भएको छ । भदौ २५ गते बसेको कम्पनीको सञ्चालक समिति बैठकले लगानी कर्तालाई २० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.१०८ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । कम्पनीले गत आवको नाफाबाट लगानी कर्तालाई एक करोड २९ लाख ६० हजार रुपैंयाँको बोनस सेयर दिन लागेको हो ।  नेपाल राष्ट्र बैंकको स्वीकृति र कम्पनीको आगामी साधारण सभाबाट पास गरेपछि लगानी कर्ताले सो मात्रामा बोनस सेयर पाउनेछन् ।  

नेपालकै पहिलो वनस्पति उद्योगलाई जग्गा खाली गर्न ३५ दिने ‘अल्टिमेटम’, ‘उद्योग चलाउन सरकार नै उदासिन’

काठमाडौं । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले नेपाल वनस्पति घ्यू तथा तेल उद्योग लिमिटेडलाई जग्गा खाली गर्न अल्टिमेटम दिएको छ । नेपालको पहिलो उद्योगले विगतमा भारत र चीनमा घ्यू तथा तेल निर्यात गर्थ्यो । तर आर्थिक संकट, व्यवस्थापकिय कमजोरी तथा कमजोर मापदण्डका कारण बन्द भएको साल्ट ट्रेडिङ कर्पोरेशनका प्रवक्ता कुमार राजभण्डारीले बताए । बन्द उद्योगलाई पुन सञ्चालनमा ल्याउने विषयमा छलफल चलिरहेको उनले जानकारी दिए । उनले भने, ‘यो उद्योगले गूणस्तरमा कहिले सम्झौता गरेको थिएन । आज निर्यात व्यवसायमा ठुलो महत्व बोकेको उद्योग बन्द छ । यसलाई चलाउन सरकार नै उदासिन देखिएको छ ।’ लिज सम्झौता नविकरण नगरी सरकारी जग्गा अनिर्णयको बन्दक बनाएको भन्दै औद्योगिक क्षेत्रले उद्योगलाई ३५ दिनभित्र खाली नगरे सम्पूर्ण सम्पती जफत गर्न निर्देशन दिएको हो । उद्योगलाई पटक पटक लिज सम्झौता नविकरण गर्न आग्रह गर्दापनि निर्णय नगरेको व्यवस्थापन कार्यालयले बताएको छ । यसरी अनिर्णयको बन्दक रहँदा जमिनको उत्पादकत्व ह्रासोन्मुख बनाएको कार्यालयले जनाएको छ । २०५३ सालमा हेटौंडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले औद्यगिक क्षेत्रभित्र रहेका ६९.७३ रोपनी जग्गा उद्योग प्रयोजन र ५९ सालमा ९.२३ रोपनी जग्गा आवास प्रयोजनका लागि वनस्पति घ्यू तथा तेल उद्योगलाई लिजमा दिएको थियो । २० वर्षमो लिज अवधी पुरा गरेको उद्योग ६४ सालदेखि बन्द अवस्थामा रहेको छ । २०७२ सालमा कार्यालयलाई उद्योग सञ्चालनका लागि ३५ दिने अल्टिमेटम दिएको थियो । तर तीन वर्ष बितिसक्दा पनि उद्योग सञ्चालनमा नआएको र नविकरण पनि नभएपछि कार्यालयले जफत गर्ने निर्णय गरेको छ ।