बुधबारको सेयर बजारमा १४ अंकको गिरावट
काठमाडौं । बुधबारको सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । सो दिन १४ दशमलब ५५ अंकले ओरालो लागेर १५९८ अंकमा झरेको छ । बजारमा परिसूचकमा ओरालो लागेता पनि सेयर कारोबारमा सुधार आएको छ । बुधबार ९७ करोड ८३ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । जुन रकम अघिल्लो कारोबारको तुलनामा ७ करोड रुपैयाँ बढी हो । अघिल्लो कारोबारमा ९० करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । बुधबार बीमा समूहको परिसूचक सबैभन्दा बढी १०६ अंकले ओरालो लागेको छ । त्यस्तै, उत्पादनमूलक र अन्य समूहको परिसूचक बाहेक बाँकी समूहको परिसूचक ओरालो लागेका छन् । सो दिन सबैभन्दा बढी सिद्धार्थ इक्विटी ओरिन्टेड स्किमका लगानीकर्ताले १० प्रतिशत गुमाएका छन् । त्यस्तै, नबिल ब्यालेन्स फण्ड १, हिमालयन पावर पार्टनर र हिमालयन डिष्टीलरीको सेयर मूल्य ५ प्रतिशतले घटेको छ ।
महशुल नतिर्ने राष्ट्रपति र प्रधानमन्त्रीको बिजुली लाइन काटिन्छ-ऊर्जामन्त्री
काठमाडौं । उर्जामन्त्री महेन्द्रबहादुर शाहीले १० दिनभित्र विद्युत महसुल वक्यौता नतिर्ने कसैलाई पनि नछोड्ने घोषणा गरेका छन् । रिपोर्टर्स क्लब नेपालले बुधवार आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री शाहीले १० दिनभित्र विद्युत महसुल बक्यौता नतिरे राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीका क्वार्टर र सरकारी कार्यालयसहित कसैलाई पनि नछाड्ने घोषणा गरेका हुन्। उनले सो अवधी भित्र बक्यौता नबुझाए सबैको विद्युत लाईन काटिने स्पष्ट पारे । मन्त्री शाहीले भने,“मन्त्रालयले विद्युत वक्यौता नतिर्ने जो कोहीलाई कारवाही गर्ने निर्णय गरेको छ । जसले १० दिनभित्र वक्यौतासहितको महसुल तिर्दैन त्यस्ता मन्त्रालय र घर मालिकको लाइन काटिनेछ, यस कार्यमा कर्मचारीलाई निर्देशन दिएको छु ।” कर्मचारीले नसके आफै गएर लाइन काट्ने जानकारी दिए । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र आफुबीच कुनै पनि मनमुटाव र मतभेद नभएको स्पष्ट पार्दै उनले भने, “मेरो र निर्देशकज्यू बीचमा कुनै प्रकारको मतभेद छैन, समाचारमा आएको कुरा झुठा छ, म यसैमार्फत सबै जनता र सब पक्षलाई स्पष्ट पार्न चाहन्छु ।” “हामी मुलुक र जनताको लागि खुट्टा बलिया बनाएर विद्युत उत्पादन वितरण र उज्यालो अभियानमा जुटिरहेका छौ।” उनले भने । गत वर्ष पनि जनार्दन शर्मा ऊर्जामन्त्री भएपछि पहिलो काम बिजुलीको महशुल उठाउन जोड दिएका थिए । त्यसबेला प्राधिकरणले करोडौ रुपैयाँ बिजुलीको बक्यौता उठाएका थिए ।
गरिमा विकास बैंकको अध्यक्षमा चन्द्रकान्त बराल नियुक्त
काठमाडौं । गरिमा विकास बैंकको अध्यक्षमा चन्द्रकान्त बराल नियुक्त भएका छन् । भदौ १३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले बराललाई कम्पनीको अध्यक्षमा नियुक्त गराएको हो । सोही बैठकले यसअघि कम्पनीको अध्यक्षको पदमा रहेका दिलिपप्रताप खाँडको राजीनामा स्वीकृत गरेको छ । साथै, कम्पनीको सञ्चालक हरिकुमार श्रेष्ठको राजीनामालाई पनि सोही बैठकले स्वीकृत गरेको छ ।
चितवन जिल्लामा दूध उत्पादनमा वृद्धि
चितवन । जिल्लामा वर्षेनी दूध उत्पादन बढ्दै गएको छ । जिल्ला पशुसेवा कार्यालयकाअनुसार पछिल्लो पाँच वर्षको अन्तरालमा जिल्लामा कूल १० हजार ६९६ मेट्रिक टन दूध उत्पादनमा वृद्धि भएको छ । गत आवमा मात्र चार हजार ४१४ मेट्रिक टन दूध उत्पादनमा वृद्धि भएको कार्यालय प्रमुख डा डिल्लीराम सेढाईंले जानकारी दिए । दूध उत्पादनका हिसाबले चितवन अब्बल बन्दै गएको छ । आव २०६९÷७० मा जिल्लामा ७९ हजार ५१५ मेट्रिक टन दूध उत्पादन भएको थियो । आव २०७३÷७४ मा दूध उत्पादन वृद्धि भएर ९० हजार २११ मेट्रिक टन पुगेको सेढाईंले बताए । आव २०७०÷७१ मा ८२ हजार ९३० मेट्रिक टन, आव २०७१/७२ मा ८४ हजार ७७ तथा आव २०७२/७३ मा ८५ हजार ७९७ मेट्रिक टन दूध उत्पादन भएको तथ्यांक छ । दैनिक करिब दुई लाख ५० हजार लिटर दूध उत्पादन हुने गरेको छ । यहाँ उत्पादित दूध अन्य जिल्लामा समेत बिक्रीका लागि पठाउने गरिएको छ । “चितवनमा उत्पादित अधिकांश दूध काठमाडाँैलगायत मुख्य शहरमा पठाउने गरिएको छ,” डा सेढार्इंले भने । उत्पादन वृद्धिदर वार्षिक ४ दशमलब ८९ प्रतिशत रहेको छ । तर दुग्ध उत्पादक किसान उक्त तथ्यांक सहि नभएको दाबी गर्छन् । उनीहरुकाअनुसार किसान दुग्ध पेशा छाड्ने क्रममा छन् । दुग्ध उत्पादक किसान आनन्द निउरे पछिल्लो समयमा किसान विभिन्न समस्यामा परेका कारण तथा राज्यले उचित संरक्षण नदिँदा पलायन हुने क्रम बढेको बताउँछन् । पशुसेवा कार्यालयले पुराना किसानले व्यवसाय छाड्दै गए पनि नयाँ किसान थपिँदै गएकाले दूध उत्पादनमा वृद्धि हुँदै गएको जनाएको छ । जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष हरिहर सुवेदी चितवनमा पछिल्लो समयमा दूध उत्पादनमा ह्रास आउन थालेको बताउँछन् । आत्मनिर्भर घोषणाका लागि प्रक्रिया शुरु चितवनलाई दूधमा आत्मनिर्भर घोषणाका लागि आवश्यक प्रक्रिया शुरु भएको छ । केन्द्रबाटै कार्यविधिसमेत आइसकेकाले त्यही कार्यविधिमा टेकेर आवश्यक प्रक्रिया शुरु भएको जिल्ला पशुसेवा कार्यालयका प्रमुख डा सेढार्इंले जानकारी दिए । जिल्लाका हरेक सेवा कार्यालयलाई ताजा तथ्यांक अध्यावधि गर्न निर्देशन दिइसकेको उनले बताए । सरकारले वार्षिक प्रतिव्यक्ति ९० लिटर दूध आवश्यक हुने जनाएको छ । जिल्लाको तथ्यांक हेर्दा प्रतिव्यक्ति १३७ लिटर दूध पुग्ने देखिन्छ । नब्बे लिटरभन्दा माथिको प्रतिव्यक्ति ४७ लिटर दूध बढी देखिएकाले जिल्लालाई आत्मनिर्भर घोषणाका लागि कार्यालयले काम थालेको उनको भनाइ छ । “सरकारी योजनाअनुसार मासु, अण्डा र दूधमा जिल्लालाई आत्मनिर्भर बनाउन लागि परेका छौँ,” उनले भने । रासस
यूनाइटेड इन्स्योरेन्सको १० प्रतिशत बोनस र शतप्रतिशत हकप्रद सेयर स्थगित
काठमाडौं । यूनाइटेड इन्स्योरेन्स कम्पनी(नेपाल)को १० प्रतिशत बोनस र शतप्रतिशत हकप्रद सेयर स्थगित भएको छ । कम्पनीको आर्थिक वर्ष २०७२/०७३ को वित्तीय विवरण बीमा समितिबाट अस्वीकृत भएपछि कम्पनीको सो मात्राको बोनस र हकप्रद सेयर जारी गर्ने प्रस्ताव स्थगित भएको हो । कम्पनीको बोनस र हकप्रद सेयर वितरण तथा निश्कासनको प्रस्ताव अर्को निर्णय नभएसम्मको लागि स्थगित गरिएको कम्पनीले जनाएको छ । साथै, बीमा समितिले परिमार्जन सहित पुनः वित्तीय विवरण पेश गर्न कम्पनीलाई निर्देशन दिएको छ ।
१ सय १३ विद्यालय पुनःनिर्माण
गोरखा । फिन चर्च एडले भूकम्पले भत्काएका गोरखाका १ सय १३ विद्यालयमा २२६ वटा कक्षाकोठा पुनःनिर्माण गरेको छ । गोरखा नगरपालिका, पालुङटार नगरपालिका, मसेल, बगुवा, ताप्ले, मान्वु, आरुघाटलगायत क्षेत्रका विद्यालयमा अर्धपक्की भवन निर्माण गरिएको फिन चर्च एडकी कार्यकारी व्यवस्थापक जेभिस रानाले जानकारी दिए । दुईकोठे एउटा भवन पुनः निर्माणलाई १० लाख ३८ हजार रुपैयाँ लगानी भएको छ । भवन पुनः निर्माणलाई ४५ मिलियन सहयोग आएको थियो । गोरखा नगरपालिकाभित्रका नवज्योति प्रावि, चन्द्रज्योति प्रावि, राजवृक्ष प्रावि, गोरखकाली प्रावि, भगवती प्रावि, बज्रभैरव प्रावि, बालविकास प्रावि, सूर्यज्योति निमाविलगायत विद्यालयमा भवन निर्माण गरिएको हो । विद्यालयमा दुईकोठे भवन निर्माण गर्नुका साथै मदरसा पनि पुनःनिर्माण गरेको फिन चर्च एडका जिल्ला संयोजक किसन श्रेष्ठले बताए । पक्की विद्यालय भवन निर्माण नभएसम्म अर्धपक्की भवनबाट पठनपाठन भइरहेका छन् । फिन चर्च एडले गोरखामा १ सय १३ विद्यालय, मकवानपुरमा १ सय ११ र सिन्धुलीमा ९८ वटा विद्यालय भवन निर्माण गरिदिएको छ । युरोपियन युनियन, युनिसेफ र फिन चर्च एडले संयुक्त रुपमा लगानी गरी विद्यालय भवन निर्माण गरेका हुन् । गोरखामा विश्व परिदृश्य वकालत मञ्चले दाताहरुको अर्थ सहयोगमा विद्यालय भवन निर्माण गरेको हो । जिल्ला शिक्षा अधिकारी दीपेन्द्र सुवेदीले भूकम्पबाट क्षति पुगेका ४सय ४९ विद्यालयमध्ये अहिलेसम्म २ सय ५ वटा पुनःनिर्माण भइसकेको र १ सय ५० वटा प्रावि तहका विद्यालय पुनःनिर्माणमा स्रोत जुटाउन बाँकी रहेको बताए ।रासस
एक्सेल डेभलपमेन्ट बैंकले ५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने, भदौ २१ गते बुक क्लोज
काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंकले ५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ । सो प्रयोजनको लागि भदौ २१ गते कम्पनीको बुक क्लोज हुने भएको छ । उक्त बुक क्लोजसम्बन्धि निर्णय कम्पनीको सञ्चालक समितिको बैठकले गरेको हो ।
फर्टिलाइजर एशोसिएशन नेपालको अध्यक्षमा चन्द्रकान्त डल्लाकोटी
काठमाडौं । नेपाल मलखाद(फर्टिलाइजर) ब्यबसायी संघको प्रथम महाअधिबेशनले चन्द्रकान्त डल्लाकोटीलाई अध्यक्षमा चयन गरेको छ । साथै, डल्लाकोटीकाे अध्यक्षतामा १३ सदस्य रहेको नयाँ कार्यसमिती चयन गरेको छ । यसैगरि प्रथम उपाध्यक्षमा राजेश भक्त श्रेष्ठ, द्धितिय उपाध्यक्षमा गौरीशंकर कडेल, महासचिबमा इश्वरी प्रसाद अर्याल, सचिबमा जिबन पौडेल, कोषाध्यक्षमा बिष्णु बुर्लाकोटी चयन भएका छन् । त्यसैगरी, कार्यसमिती सदस्यहरुमा जया अधिकारी, आनन्द रुवाली, उज्वल घिमिरे, सुदेश चन्द्र घिमिरे, आशिष चौधरी, यज्ञ बास्तोला चयन भएका छन् । यस्तै महिला मनोनित सदस्यमा बसन्ता श्रेष्ठ, गोर्खाबाट रामशरण कोइराला, बिराटनगर बाट गोबिन्द पोख्रेल र पूण्य कुमारी कुमाल रहेका छन् । ललितपुरको हिमालय होटलमा सम्पन्न प्रथम महाधिबेसनको उद्घाटन कृषिबिकास मन्त्री रामकृष्ण यादबले गरेका थिए । कार्यक्रममा नेपाल सरकार कृषिबिकास मन्त्रालयका सचिब, उपसचिब लगायतको उपस्थिती रहेको थियो ।