विकासन्युज

३५० भन्दा बढि अभिकर्ताको सहभागितामा सन नेपाल एचिभर नाइट २०८२ सम्पन्न

काठमाडौं  । जीवन बीमाको माध्यमबाट नेपालीको सुरक्षा सुनिश्चित गर्ने अभिकर्ताहरूको समर्पण र मेहनतको सम्मानस्वरूप सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कार्यक्रम ‘सन एचिभर्स नाइट २०८२’ सौराहास्थित होटल सेभेन स्टार लिमिटेडमा सम्पन्न भएको छ । कार्यक्रममा विभिन्न बिधाहरुमा सर्वोत्कृष्ट हुने अभिकर्ताहरुलाई सम्मान तथा प्रमाणपत्र वितरण गरिएको थियो । २०२५, सर्वाधिक बीमालेख बिक्री, व्यक्तिगत तथा टीम व्यवसायमा सर्वाधिक बीमा शुल्क संकलन, सर्वाधिक अभिकर्ता सक्रियता आदि विभिन्न विधाहरुमा अब्बल हुने अभिकर्ताहरुलाई सम्मान गरिएको हो । साथै कम्पनीले ब्यवसायका आधारमा अभिकर्ताहरुलाई शुक्र, चन्द्र , मंगल तथा दी सन क्लब मा बर्गिकरण गरी सोही अनुसारको सम्मान पनि गरेको छ । कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्याल, वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत कवि फुयाँल, प्रमुख बजार अधिकृत गणेश चौलागाईं लगायत वरिष्ठ प्रदाधिकारीहरुको उपस्थित रहेको थियो । कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृतले यस प्रकारको कार्यक्रमले अभिकर्ताहरूको व्यक्तित्व विकास भई ग्राहकमा पुर्‍याउने सेवामा थप दक्षता अभिबृद्धि गरि कम्पनी प्रतिको निष्ठा, भरोसा, मिहिनेत र बीमितप्रतिको उत्तरदायित्वको नै कम्पनीको मेरुदण्ड भएको जानकारी गराए । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले हाल देशभरका १४३ शाखाबाट जीवन बीमा व्यवसाय संचालन गरिरहेको छ ।

प्रधानमन्त्रीले आज राष्ट्रियसभामा सम्बोधन गर्ने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियसभाको आजको बैठकमा ‘नेपालको अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नति (एलडिसी ग्रयाजुएसन)का बारेमा सम्बोधन गर्ने भएको छ । आज अपराह्न हुने बैठकमा विकास, आर्थिक मामिला तथा सुशासन समितिका सभापति कमला पन्तले प्रस्तुत गर्ने ‘नेपालको अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नति (एलडिसी ग्रयाजुएसन) सम्बन्धी अध्ययन प्रतिवेदन, २०८१ माथिको छलफलमा उठेका विषयमा प्रधानमन्त्री ओलीले जवाफसहित सम्बोधन गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।  

कर्णालीमा १६ हजार घरको विपद् बिमा, बिमांक रकम साढे ११ अर्ब

कर्णाली । कर्णाली प्रदेशमा ११ अर्ब ५० करोड बराबर १६ हजार विपद् जोखिम घरको प्राकृतिक विपद् बिमा गरिएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्वारा सुर्खेत वीरेन्द्रनगरमा आज आयोजित ‘घर बिमा शुभारम्भ कार्यक्रम’मार्फत पहिलो चरणमा यहाँका १५ स्थानीय तहका २१३ वडाका १६ हजार ७२ घरको विपद् बिमा भएको सार्वजनिक गरिएको हो । उक्त कार्यक्रममा मुख्यमन्त्री यामलाल कँडेलले स्थानीय तहसँगको सहकार्यमा बीमक कम्पनीद्वारा घरको मूल्यांकन गरी गत असार २५ गतेभित्र सम्बन्धित स्थानीय तहको सिफारिससहित विवरण पठाइएका १५ स्थानीय तहका १६ हजार ७२ घरको घरलाई बिमा योजनामा समावेश गरिएको बताए । उनले भने, ‘कर्णाली प्रदेशभित्र स्थायी बसोबास भएका नागरिकको निजी आवासीय घरको प्राकृतिक विपद्लगायत भवितव्यको कारणबाट हुने क्षति र नोक्सानीमा आर्थिक सुरक्षाको प्रत्याभूत गर्न प्रदेश सरकारको आव २०८१/८२ को वार्षिक नीति तथा कार्यक्रम र वार्षिक बजेटअन्तर्गत ‘घर बिमा कार्यक्रम सञ्चालनसम्बन्धी कार्यविधि २०८१’ यहाँको मन्त्रिपरिषद्बाट २०८१ फागुन १३ गते पारित भई कार्यान्वयनमा आएको छ । यसले जनतालाई विपद्मा सरकार हाम्रो साथमा छ भन्ने प्रत्याभूत गराउनेछ ।’ मुख्यमन्त्री कँडेलका अनुसार थोरै रकममा नागरिकको सम्पत्ति सुरक्षा हुनेगरी प्रदेश सरकारले नवीनतम कामको थालनी गरेको छ । घर बिमा जस्तै प्रदेशमा कृषि, पशुु बिमा कार्यक्रमको प्रभावकारी सञ्चालनको आवश्यकता रहेको बताए । उनले क्षतिपूर्ति दिनेभन्दा बिमा कार्यक्रममार्फत सुरक्षा अपनाउने काममा स्थानीय तह अग्रसरता लिनुपर्नेमा जोड दिए। कम रकममा बिमा गराउँदा त्यसले हाम्रो जोखिम टार्न सहयोग पुग्छ भन्नेमा नागरिकस्तरमा सचेतना फैलाउनुपर्ने उनको भनाइ छ । कर्णाली प्रदेश सरकारका प्रमुख सचिव वीरेन्द्रकुमार यादवले कर्णालीका नागरिकको आर्थिक अवस्था, भौगोलिक विकटता र विपद् जोखिममा ध्यान दिँदै नागरिकको समस्यालाई प्राथमिकतामा राखेर सरकारले घर बिमा कार्यक्रम शुभारम्भ गरिएको बताए ।  उनले सुगममा मात्र नभई विपद् पर्दाको समयमा दुर्गममा गएर पनि काम गर्न बिमा कम्पनीलाई सुझाए ।कार्यविधिबमोजिम घर बिमा कार्यक्रममा आबद्ध हुन प्रदेशका स्थानीय तहलाई सूचना गरिएकामा १० जिल्लाका २३ स्थानीय तहले प्रतिबद्धतासहितको पत्राचार गरेको मन्त्रालयका सचिव पुष्पराज शाहीले जानकारी दिए। उनका अनुसार कार्यविधिको दफा ३ (४) बमोजिम नेपाल बिमा प्राधिकरणले छनोट गरी पठाएका २३ वटा स्थानीय तहमा २३ वटा बीमक कम्पनी खटाई निजी आवासको मूल्यांकन सुरु गरिएको थियो । प्रतिघर अधिकतमा २० लाखसम्मको मात्र प्रदेश सरकारले प्रिमियम व्यहोर्ने व्यवस्था  रहेको र सो भन्दा माथि भए स्वयं धरधनीले व्यहोर्नुपर्ने जानकारी पनि सचिव शाहीले दिए । प्रिमियमबापत जम्मा ९८ लाख २४ हजार ८९३ भुक्तानी भएको उनले बताए ।  कार्यक्रममा सल्यान शारदा नगरपालिकाका कार्यवाहक प्रमुख सुुस्मिता सापकोटा, जाजरकोट बारेकोट, सुर्खेत बराहताल र कालीकोट महावै गाउँपालिकाका अध्यक्ष वीरबहादुर गिरी, भीमबहादुर भण्डारी र खेमबहादुर सिंहलगायतले कर्णाली जस्तो विपद् जोखिमयुक्त प्रदेशमा गरिएको घर बिमा कार्यक्रमले नागरिकको सुरक्षामा थप बल मिलेको बताए । प्रदेश सरकारले थालनी गरेको कार्यक्रमलाई प्रभावकारी बनाउन पालिकाकोतर्फबाट आवश्यक समन्वय गर्ने उनीहरूले प्रतिबद्धता व्यक्त गरे ।    मन्त्रालयका उपसचिव उत्तम गौतमले चालू आव २०८२/८३ मा घर बिमा कार्यक्रममा तीन करोड ५० लाख छुट्याएको बताउँदै अघिल्लो आर्थिक वर्ष घर बिमामा समावेश नभएका स्थानीय तहलाई चालू आर्थिक वर्षमा समावेश गरिने जनाए ।  उनका अनुसार कार्यविधिको दफा ४ बमोजिम घर बीमालेखले भूकम्पबाट हुने क्षति, अग्नीजन्य, हावाजन्य, पानीजन्य, भूमिजन्य, खस्ने वा भासिने, चट्याङजन्य, आकाशीय सामाग्रीजन्य, धक्काजन्य, स्वजलन, बाढी तथा डुबानबाट क्षतिग्रस्त घर, हुलदङ्गा तथा आतङ्कवादजन्य जोखिम तथा अन्य प्राकृतिक विपद्ले क्षतिग्रस्त घर समेट्ने उल्लेख छ । घर बिमा गर्ने स्थानीय तहमा शारदा नगरपालिका सल्यानले चार हजार ७०७, ठाँटीकाँध गाउँपालिका दैलेखले ५२६, सुर्खेत गुर्भाकोट  नगरपालिकाका ९१६, लेकबेंसी नगरपालिकाका २६५, बराहताल गाउँपालिकाका दुई हजार चार ६९, रुकुमपश्चिम त्रिवेणी गाउँपालिकाका ३३९, सानीभेरी गाउँपालिकाका २१२ घरधुरीको बिमा गरिएको छ । त्यसैगरी तिलागुफा नगरपालिका कालीकोटका ६५५, पलाता गाउँपालिकाका ६४३, महावै गाउँपालिकाका ६८०, डोल्पा जगदुल्ला गाउँपालिकाका ६४०, जुम्ला सिञ्जा गाउँपालिकाका एक हजार ५४५, हुम्ला खार्पुनाथ गाउँपालिकाका ६६१, मुगु छायाँनाथ रारा नगरपालिकाका एक हजार ३११ र जाजरकोट बारेकोट गाउँपालिकाका ७३३ घरधुरीको प्राकृतिक विपद् घर बिमा गरिएको छ । रासस

भोटेकोसीमा भीषण बाढी, सतर्क रहन आग्रह

त्रिशूली । बुधबार बिहान ३ः०० बजेदेखि भोटेकोसीमा भीषण बाढी आएको छ । बाढीका कारण त्रिशूलीको जलसतह ह्वात्तै बढेको छ । रसुवा र नुवाकाटका स्थानीय प्रशासनले सतर्क रहन तटीय क्षेत्रका सर्वसाधारणलाई अनुरोध गरेको छ । नुवाकोटका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद हुमागाईका अनुसार बाढीले जिल्लाको पैरेबेँसी, वेत्रावती, त्रिशूली, देवीघाटलगायत स्थानमा कटान गरेको छ । बाढी बस्तीतर्फ पनि पस्ने सक्ने भएकाले सुरक्षित रहन प्रशासनले आग्रह गरेको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका जवानले ‘माइकिङ’ गरेर नदी आसपासमा भएका घरपरिवारका सदस्यलाई सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन् । बाढीले नुवाकोटको किस्पाङ गाउँपालिका–५ स्थित ‘त्रिशूली–काठमाडौं प्रसारण लाइन’को स्टेशनमा क्षति भएको छ ।    

वीरगञ्जबाट भित्रिए ६८ हजार ७४३ सवारीसाधन

काठमाडौं । गत आर्थिक वर्षमा वीरगञ्ज नाकाबाट ६८ हजार ७४३  सवारीसाधन भित्रिएका छन् । वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेका अनुसार सो अवधिमा इन्धनबाट चल्ने अन एसेम्वल्ड मोटरसाइकलदेखि क्रेनलहरीसम्मका ६८ हजार ७४३ वटा सवारीसाधन आयात भएका हुन् । सवारीसाधनको आयातबाट दोस्रो धेरै राजस्व सङ्कलन हुँदै आइरहेको छ । गत आवभरिमा इन्धनबाट चल्ने सवारीसाधनबाट मात्र रु १७ अर्ब ३१ करोड राजस्व सङ्कलन भएको छ । गत आवमा रु छ अर्ब ६० करोड मूल्यका ५० हजार २९१ वटा  अनएसेम्वल्ड मोटरसाइकल आयात भएका छन् । ती सवारी आयातबाट यस नाकाले रु छ अर्ब ३१ करोड राजस्व सङ्कलन गरेको छ । गत आवमा रु दुई अर्ब ९४ करोड मूल्यका एक हजार ४५४ वटा अन्य बस तथा ट्रकका चेसिस आयात भएका छन् । त्यसैगरी,  सोही अवधिमा रु दुई अर्ब एक करोड मूल्यका नौ सय १२ वटा इन्धनबाट चल्ने जीप, कार र भ्यान आयात भएका छन् । गत आवमा नै रु एक अर्ब ३७ करोड मूल्यका पाँच हजार ७३५ वटा ट्रयाक्टर तथा ट्रिलर आयात भएका छन् । सोही अवधिमा रु एक अर्ब ११ करोड मूल्य पर्ने ४१७ वटा इन्धनबाट चल्ने बस यहाँ भित्रिएका छन् । सोही अवधिमा रु ७१ करोडका एक सय ३९ वटा क्रङ्क्रिट मिश्रण लहरी आयात भएका छन् भने रु ७४ करोडको  तीन सय १२ वटा ट्रक, मिनी ट्रक आयात भएका छन् । त्यसैगरी, सोही अवधिमा रु ४३  करोड ३१ लाख मूल्यका चार हजार ६४६ वटा मोटरसाइकल आयात भएका छन् । वीरगञ्ज नाका हुँदै गत आवमा रु एक अर्ब ६४ करोड मूल्यका साना–ठूला दुई हजार ३३७ वटा विद्युतीय सवारीसाधन आयात भएका थिए ।  वीरगञ्ज भन्सारले गत वर्ष विद्युतीय सवारीसाधन आयातबाट रु एक अर्ब ८० करोड ४५ लाख राजस्व सङ्कलन गरेको थियो ।

मापदण्डविपरीत सञ्चालित उद्योगमा कारबाही

सिरहा । लहानमा मापदण्डविपरीत सञ्चालन भएका पिउने पानी प्रशोधन उद्योग कारबाहीमा परेका छन् । इलाका प्रशासन कार्यालयको नेतृत्वमा मङ्गलबार भएको संयुक्त अनुगमनमा  चारवटा उद्योगलाई रु पाँच हजारका दरले जरिवाना गरिएको हो । लहान–१ स्थित ‘सीता मिनीरल वाटर इन्डष्ट्री’ तथा ‘फ्रेण्डस इन्टरनेसनल नेपाल’, लहान–३ को ‘केबी एण्ड सन्स नेपाल’ र धनगढीमाई–१० को ‘केएल मिनीरल वाटर’लाई कारबाही गरिएको इलाका प्रशासन कार्यालयका प्रशासकीय अधिकृत सन्तोष रायले जानकारी दिए । संयुक्त अनुगमन टोलीमा लहान नगरपालिका, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय राजविराज र घरेलु तथा साना उद्योग कार्यालयका प्रतिनिधि सहभागी थिए ।

कुमारी सुनौलो लगानी योजनाको ८.८८ प्रतिशत लाभांश घोषणा

काठमाडौं । कुमारी क्यापिटलले कुमारी सुनौलो लगानी योजनाको लाभांश घोषणा गरेको छ । क्यापिटलको साउन १३ गते बसेको बैठकले कुमारी सुनौलो लगानी योजना म्युचुअल फण्डका इकाईधनीहरूलाई गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट करसहित ८.८८ प्रतिशत प्रतिफल वितरण गर्ने भएको हो । कुमारी बैंक कोष प्रवर्द्धक र कुमारी क्यापिटल योजना व्यवस्थापक रहेको कुमारी म्युचुअल फण्ड अन्तर्गत सञ्चालित कुमारी सुनौलो लगानी योजनाको गत वर्षको लेखापरीक्षण सम्पन्न भएपछि प्रतिफल वितरण गरेको हो । साथै प्रतिफल वितरण प्रयोजनार्थ साउन १३ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले साउन १२ गतेसम्म कायम इकाईधनीहरू मात्रै उक्त प्रतिफल प्राप्त गर्न योग्य हुनेछन् । कुमारी सुनौलो लगानी योजनाका इकाईधनीहरूले लाभांश प्राप्त पश्चात् समायोजित मूल्यमा पुनः लगानी योजनामार्फत उक्त रकमले थप इकाईहरु खरिद गर्न सकिने कम्पनीले जनाएको छ । जसका लागि साउन २७ गतेभित्र नाम दर्ता गराउनुपर्नेछ ।

बैंकिङ अनुशासन भङ्ग भयो, राजनीतिक दलहरू संवेदनशील हुनुपर्छः अध्यक्ष यादव

काठमाडौं । नेपाल लघुवित्त बैंकर्स संघका अध्यक्ष राम बहादुर यादवले बैंकिङ क्षेत्रमा बैंकिङ अनुशासन भङ्ग भएको बताएका छन् । नेपाली कांग्रेस वित्तीय संस्था समन्वय विभागले काठमाडौंमा आयोजना गरेको देशको वित्तीय तथा मौद्रिक स्थिति विषयक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । बैंकिङ क्षेत्र संवेदनशील भएकाले राजनीतिक दलहरूले संवेदनशील भएर धारणा राख्नुपर्ने उनको भनाइ छ । बैंकिङ क्षेत्र विरुद्ध भइरहेका अराजक गतिविधि रोक्न सबै राजनीतिक दलहरूले गम्भीर भएर लाग्नु पर्ने उनले बताए ।  तीनै तहका सरकारले दिने व्यावसायिक तालिम, वित्तीय साक्षरताको कार्यक्रम, जनचेतना मूलक कार्यक्रममा लघुवित्त संस्थाहरूसँग समन्वय गर्न सकियो भने आर्थिक र सामाजिक रुपान्तरणमा गर्न सकिने उनको धारणा छ । साथै, सहरी र ग्रामीण अर्थतन्त्रलाई सन्तुलन कायम गर्न उद्यमशीलता र रोजगारी श्रृजनामा जोड दिनुपर्ने उनले बताए । ‘सहरी अर्थतन्त्रलाई मात्रै बढी जोड दिइन्छ । तर, ग्रामीण अर्थतन्त्रलाई सन्तुलन गर्न नसक्दा समस्या सधैं आइरहन्छ । किनभने सहरी र ग्रामीण अर्थतन्त्र समान रुपमा अघि बढ्नुपर्ने हुन्छ । ग्रामीण क्षेत्रमा उत्पादन गरेर शहरले खपत गर्ने र शहरको पैसा ग्रामीण क्षेत्रमा जानुपर्छ,’ उनले भने, ‘ग्रामीण क्षेत्रमा पूर्वाधार विकास असाध्यै भएका छन् । तर, त्यो विकासलाई उपभोग गर्ने मान्छे छैनन् । विकाससँग उत्पादनलाई जोड्न सकिरहेको छैन । जबसम्म उद्यमशीलताको विकास गर्न सकिँदैन, रोजगारी श्रृजना गर्न सकिँदैन, तबसम्म ग्रामीण क्षेत्रको मान्छेहरू सहरमा आउने र शहरको मान्छे विदेशमा जाने प्रवृत्ति रोक्न सकिँदैन ।’  ग्रामीण क्षेत्रमै रोजगारी, उद्यमशीलता श्रृजना गर्न लघुवित्त संस्थाहरूले अहम् भूमिका खेलिरहेको उनले बताए । उनका अनुसार लघुवित्त संस्थाहरू ६० लाख घरपरिवारमा पुगिसकेका छन् भने २७ लाख व्यक्तिलाई ऋण प्रवाह गरेका छन् । ‘३० प्रतिशत बैंकको ऋण ४ प्रतिशत व्यक्तिमा गएको भन्ने सुनिन्छ । तर, लघुवित्त संस्थाहरूले त्यसरी कर्जा प्रवाह गरेका छैनन् । ६० खर्ब रुपैयाँ ऋणमध्ये ८ प्रतिशत अर्थात्  ५ खर्ब रुपैयाँ ऋण लघुवित्तको छ । त्यो ५ खर्ब रुपैयाँ ऋण ६० प्रतिशत मान्छेहरूले लगेका छन् । जति मान्छेहरूमा ऋणको पहुँच विस्तार गर्न सकियो त्यति नै उद्यमशीलताको विकास गर्न सकिन्छ,’ उनले भने ।