कुमारीको पारिश्रमिक तीन हजार रूपैयाँ
काठमाडौं २२, भदौ । जीवित देवी मानिने कुमारीको मासिक पारिश्रमिक कति होलारु कसैले कुमारीको पारिश्रमिक ३ हजार रूपैयाँ मात्र छ भन्यो भने ठट्टा ठानेर नहाँस्नुहोला। भक्तपुरकी कुमारीलाई कौसि तोषाखानाबाट २ हजार १ सय ५० रूपैयाँ र गुठी संस्थानको भक्तपुर सूर्यविनायकस्थित शाखाबाट ९ सय रूपैयाँ गरी मासिक पारिश्रमिक जम्मा ३ हजार रूपैयाँ मात्रै रहेको बुधबारको नागरिक दैनिकमा समाचार छापिएको छ। भक्तपुर तलेजु मन्दिरका मूल नाइके नरेन्द्रप्रसाद जोशीले कुमारीको तलब वृद्धभत्ता जति पनि नभएको भन्दै दुःख व्यक्त गरे। ‘तलब रकमले कुमारीकै अपमान गरेजस्तो लाग्छ,’ तलेजुका मूल नाइके जोशीले भने,‘ बरू वृद्ध भत्ता मासिक दुई हजार छ।’ काठमाडौं र ललितपुरका कुमारीको तलब भने भक्तपुरकी कुमारीको भन्दा बढी छ। २०४१ साल यता कुमारीलाई भत्ताको व्यवस्था गरिएको हो।
कांग्रेस र माओवादीका धेरै नेता बेरोजगार, विभाग गठन अलपत्र हुँदा नेताहरू कामविहीन
काठमाडौं २२, भदौ । कांग्रेसमा १२औँ महाधिवेशनपछि पदाधिकारीसहितको केन्द्रीय कार्यसमिति ८५ सदस्यीय थियो । तर, सुशील कोइरालाको पाँचवर्षे कार्यकालमा पदाधिकारीबाहेक अरूले काम पाएनन् । विधानमा व्यवस्था भएका विभाग गठन गरे पनि देउवा पक्षको विरोधका कारण कुनै पनि विभागले काम गर्न सकेनन् । अञ्चल समन्वय समितिको हालत पनि उस्तै भयो । १३औँ महाधिवेशनसम्म पनि कुनै प्रस्ट जिम्मेवारी नपाएपछि नेताहरू आफ्नै हिसाबले खटे, पार्टी काममा लागे, देश दौडाहामा निस्किए । विभाग गठन अलपत्र परेपछि नेताहरू कामविहीन भएका थिए । झन्डै दुई दर्जनको हाराहारीमा रहेको भ्रातृ संस्थाको महाधिवेशन समयमा गराउन नसक्दा पनि नेताले उचित जिम्मेवारी नपाउने र यसकै आधारमा तलैसम्म नेता–कार्यकर्ता परिचालित नहुने समस्या कांग्रेसले भोगेको छ । पार्टी सभापति शेरबहादुर देउवानिकट नेता रमेश रिजाल पनि तोकेर जिम्मेवारी नदिँदा पार्टी लथालिंग हुँदै आएको बताउँछन् । ‘अहिले होइन, बिपी कोइरालादेखि नै समयमा काम नहुँदा पार्टी लथालिंग हुँदै आएको हो,’ रिजाल भन्छन्, ‘सभापतिमा देउवाजी आएपछि रातारात हुन्छ भन्ने पनि होइन । तर, अब बिस्तारै गति लिन्छ । भ्रातृ संस्थाको अधिवेशनले त्यो देखाएको छ ।’ पार्टीले तोकेरै विभागीय जिम्मेवारी दिएको भए तलैसम्म संस्थागत रूपमा पार्टी सक्रिय हुने र यसको फाइदा सिंगो पार्टीलाई हुने उनको भनाइ छ । ‘जिम्मेवारी दिइयो भने संस्थागत रूपमा नेताले काम गर्छ नत्र व्यक्तिगत रूपमा काम गर्न बाध्य हुन्छ,’ रिजाल भन्छन् । त्यसैले संस्थागत जिम्मेवारी दिएर नेताहरूलाई सक्रिय र जिम्मेवार बनाउनुपर्ने बुधबारकोेनयाँ पत्रिका दैनिकमा समाचार छापिएको छ ।
अदुवा निकासि रोकियो, १५ वर्ष अघि नै प्रतिवन्धित विषादी भेटिएको आरोप
काठमाडौं २२, भदौ । भारतको क्वारेन्टाइनले नेपालमा उत्पादन भएको अदुवामा विषादी भेटिएको कारण देखाएर निर्यातमा रोक लगाएको छ । विषादीको कारण एक सातादेखि अदुवा निर्यातमा रोक लागेको हो । १५ वर्षअगाडि आयात, विक्री र प्रयोगमा प्रतिवन्ध लगाइएको विषादीको अवशेष नेपाली अदुवामाा पाइएको भन्दै निर्यात रोकिएको समाचारमा उल्लेख छ । निर्यात रोकिएपछि नेपालको ७२ लाख किलो अदुवा अलपत्र परेको छ । निर्यात गर्न ठिक्क पारिएको यो अदुवा एक साताको मात्रै हो । कृषि विकास मन्त्रालयका अनुसार सन् २००९ मा प्रतिवन्ध लगाइएको अल्दिकार्ब नामको विषादीको अवशेष नेपाली अदुवामा पाइएको उल्लेख छ । भारतले यही विषादीका कारण गत भदौ १६ गतेबाट अदुवा निर्यातमा रोक लगाएको हो । भारतले विषादी भेटिएको आरोपमा रोक लगाएको भएपनि भित्री तथ्य भने नभेटिएको सरकारी अधिकारीकै भनाइ छ ।
चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण स्थगित, कारण नेपालको तयारी कमजोर
काठमाडौं २२, भदौ । आगामी दशैंको समय पारेर हुने भनिएको चिनियाँ राष्ट्रपति सि जिङपिङको नेपाल यात्रा स्थगित भएको छ । भ्रमण स्थितिग भएको आशयको निर्णय हालै चिनियाँ राजदूत ऊ चुन्ताईले तीन दिन पहिले नेपालका उच्च नेतृत्वलाई अवगत गराएको स्रोतले उल्लेख गरेको समाचार बुधबारको अन्नपूर्ण पोष्टमा समाचार छापिएको छ । चीनले नेपालका तर्फबाट भ्रमण सम्बन्धमा आवश्यक तयारी नगरिएको र चीनसँग नजिकिँदै गएको नेपालसम्बन्धप्रति नयाँ सरकारको प्रतिबद्वता नदेखिएको उसको बुझाइ समेत अवगत गराएको छ । अब चिनियाँ राष्ट्रपति पुसभित्र आउने सम्भानवना टरेको छ । ‘चिनियाँ राष्ट्रपतिको भ्रमणन स्थगित भएको अनौपचानरिक जानकारी आएको छ,’ एक उच्च अधिकारीले मंगलबार भने । भ्रमण स्थगितको तीन कारण १. पर्याप्त तयारी अभाव २. वान बेल्ट वान रोडमा नेपालको प्रतिवद्धताकमजोर ३. केपी ओलीसँग भएको सम्झौताको कार्यान्वयनमा गृहकार्य अभाव
सेञ्चुरी बैंकमा पाँच रुपैंयाँमा बचतखाता, बार्षिक तीन प्रतिशत ब्याज
काठमाडौं, २१ भदौ । सेञ्चुरी कमर्सियल बैंकले ५ रुपैंयाँमा बचत खाता खोल्ने गरी नयाँ बचत खाता योजना ल्याएको छ । भदौ १२ गतेबाट सुरु भएको नयाँ खातामा बचत कर्ताले वार्षिक ३ प्रतिशत ब्याज दरले मासिक भुक्तानी समेत पाउनेछन् । नयाँ खाता योजना अनुसार ३५० रुपैंयामा डेबिड कार्ड र २ लाखसम्मको निक्षेप सुरक्षण बिमा समेत रहेको छ । बैंकले आर्थिक वर्ष २०७२/७३ को असार मसान्तसम्ममा ३८ करोड २६ लाख नाफा कमाएको थियो । बैंकले २८ अर्ब ९७ करोड निक्षेप संकलन गर्दै २५ अर्ब ८ करोड कर्जा परिचालन गरेको थियो । बैंकले हालसम्ममा ३१ वटा शाखा, २९ वटा एटीएम्, ८ वटा शाखारहित बैंकिङ्ग र ३ वटा एक्सटेन्सन् काउन्टरबाट सेवा प्रदान गर्दै आएको छ ।
यति डेभलपमेन्ट बैंक र एनसिएमबिच सेयर निष्काशन सम्झौता
काठमाडौं, २१ भदौ । यति डेभलपमेन्ट बैंकको हकप्रद सेयर निष्काशन एनसिएम मर्चेण्ट बैंकिङले निष्काशन गर्ने भएको छ । सेयर निष्काशन सम्बन्धी सम्झौता पत्रमा यति डेभलपमेन्ट बैंकका कायम मुकायम प्रमुख कार्यकारी अधिकृत सागर शर्मा र एनसिएम मर्चेण्ट बैंकिङ्गका प्रबन्ध संचालक बिजयलाल श्रेष्ठले हस्ताक्षर गरेका हुन् । इति डेभलपमेन्ट बैंकले १४औं वार्षिक साधारणसभाबाट २ बराबर एक कित्ता अर्थात ५० प्रतिशत हकप्रद सेयर जारीी गर्ने निर्णय गरेको थियो । बैंकले ६९ लाख ३१ हजार एक सय ६६ दशमलब ७२ कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ । हकप्रद सेयर निष्काशनपछि बैंकको २ अर्ब ७ करोड ९३ लाख ५० हजार १६ रुपैंयाँ पुग्नेछ ।
नविल बैंकले ४५ प्रतिशत लाभाशं दिने
काठमाडौं, २१ भदौ । नविल बैंकले ४५ प्रतिशत लाभांश दिने भएको छ । बैंक सञ्चालक समितिको भदौ २१ गते बसेको बैंठकले ४५ प्रतिशत लाभांश दिने निर्णय गरेको हो । सञ्चालक समिति बैठकले ३० प्रतिशत बोनस सेयर र १५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । नेपाल राष्ट्र बैंकको स्विकृति तथा बैंकको आगामी साधारण सभाबाट पारित गरेपछि लगानी कर्ताले सो मात्रामा लाभांश पाउने छन् । बैंकले आर्थिक वर्ष २०७२/७३ को नाफाबाट सो मात्रामा लाभांश वितरण गर्न लागेको हो । सो आवमा बैंकले २ अर्ब ८२ करोड नाफा कमाएको थियो ।
टाटाको कार टेष्ट ड्राइभ गर्नुहोस, गरिबका छोराछोरीले निःशुल्क पढ्न पाउनेछन्
काठमाडौं, २१ भदौ । टाटा मोटर्सले टेष्ट ड्राइभ योजना मार्फत गरिबका छोराछोरीलाई अध्ययनका लागि फण्ड जुटाउने अभियान ल्याएको छ । नेपालका लागि टाटा मोटर्सको आधिकारीक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालीले टाटाका बिभिन्न कारहरुको टेष्ट ड्राइभ गर्दा विपन्न परिवारका बालबालिकाको शिक्षाका लागि फण्ड जुटाउने अभियान थालेको हो । मंगलबार राजधानीमा पत्रकार सम्मेलन गर्दै कम्पनीले ‘शिक्षाका लागि टेष्ट ड्राइभ’ अभियान भदौ २५ गते शनिबारदेखि सञ्चालन हुने जानकारी दिएको हो । तीन महिनासम्म सञ्चालन हुने अभियानमा न्युनतम १० हजार जनाले टेष्ट ड्राइभ गर्ने अनुमान कम्पनीले गरेको छ । सो अवधीमा टेष्ट ड्राइभ गर्ने प्रत्येक व्यक्ति वापत पाँच सय रुपैयाँ कम्पनीले शिक्षाका लागि टेष्ट ड्राइभ अभियानका लागि उपलब्ध गराउने छ । टेष्ट ड्राइभका लागि टाटाका टिआगो, बोल्ट र जेष्ट कार राखिनेछन् । टाटा मोटर्सको नेपालका लागि कन्ट्रि मेनेजर हेमन्त पुरानिकले विपन्न परिवारका नेपाली बालबालिकालाई शिक्षामा पहुँच विस्तारका लागि योजना ल्याएको बताए । उनले योजनाबाट दशौं हजार विपन्न परिवारका नेपाली बालबालिकाले शिक्षा प्राप्त गर्ने दावी समेत गरे । सिप्रदी ट्रेडिङका उपाध्यक्ष सौरभ राज थपलियाले पनि नेपालमा शिक्षाको महत्वको प्रचारका लागि अभियान थालिएको बताए । उपाध्यक्ष थपलियाले आर्थिक अभावमा कुनै पनि नेपालीले शिक्षाको ज्योतिबाट बञ्चित हुनु नपरोस भन्ने उदेश्यले अभियानको आरम्भ गरिएको जानकारी समेत दिए । युनिसेफका अनुसार नेपालमा प्रत्येक १० जना बालबालिकामध्ये ७ जनाले विद्यालय भर्ना भएर कक्षा पाँच पढ्ने गरेका छन् । आर्थिक अभावका कारण तीमध्ये आधाले मात्रै निम्न माध्यमिक तह उतिर्ण गर्छन् । भदौ २५ गते धापाखेल र सानेपास्थितर जेम्स स्कुलकोबाट अभियानको सुभारम्भ गरिनेछ । अभियानबाट संकलन गरिएको फण्डबाट देशका बिभिन्न भूभागमा आर्थिक अभावका कारण अध्ययन छाड्ने अवस्थामा पुगेका बालबालिकाको शिक्षा दिक्षाका लागि प्रयोग गरिने थपलियाले जानकारी दिए । यो अभियानलाई देशका मुख्यमुख्य शहरमा समेत विस्तार गर्ने योजना रहेको उनले बताए ।