तेल, दुध, विस्कूट, पाउरोटी बढी मात्रामा गुणस्तरहिन भेटिए, अधिकांश होटल रेष्टुरेन्टलाई पहेंलो स्टीकर
काठमाडौं, ३२ साउन । बजारमा उपलब्ध खाद्यन्य मध्ये १० प्रतिशत खाद्यन्य अयोग्य भेटिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गत आर्थिक वर्ष बजार अनुगमन गर्दा उक्त तथ्य भेटिएको हो । बजार अनुगमनको क्रममा २१२० पटक गरिएको ल्याब टेष्टमा २०२ वटाको गुणस्तर प्रतिवेदन मानव स्वास्थ्यको लागि हानिकारक पाईएको विभागले जनाएको छ । त्यसमा ३९ वटा ब्राण्डका खाने तेल, १७ वटा ब्राण्डका दुध, १७ ब्राण्डका ध्यू, ७ वटा ब्राण्डका विस्कूट, ४ ब्राण्डका दाल, ४ प्रकारका पाउरोटी अखाद्य पाईएको छ । ती ब्राण्डहरुको नाम भने विभागले गोप्य राखेको छ । गत वर्ष विभागले गरेको महत्पपूर्ण कार्यको विवरण सार्वजनिक गर्दा विभागले आफूहरुले गरेको कार्यको अमूर्त विवरण सार्वजनिक गरेपनि अखाद्य तेल, दुध, ध्यू, विस्कुट, पाउरोटी जस्ता दैनिक उपभोग्य र मानव स्वास्थ्यमा प्रतिकूल असर पार्ने ब्राण्डहरुको नाम गोप्य राखेर उपभोक्ता माथि ठेक्नेहरुको बचाऊ गरेको छ । प्रचारको लागि विभागले जारी गरेको विज्ञप्तीमा २ किलो गुणस्तरहित गुँदपाक नष्ट गरेको विवरण समेत समेटेको छ । विभागले ६६८ वटा होटल तथा रेष्टुरेन्टमा अनुगमन गरेकोमा ५८२ वटालाई पहेँलो, ३ वटालाई रातो र ८६ वटालाई हरियो स्टीकर वितरण गरेको विभागले जनाएको छ । हरियोको अर्थ गुणस्तरीय सेवा दिएको मानिन्छ । पहेँलोले कम गुणस्तर र रातो पूर्ण गुणस्तरहिन जनाउँछ । आयातित बस्तुमा २३ हजार १२३ प्रकारका बस्तुको गुणस्तर जाँच भएकोमा ४७ वटा बस्तु कानुनी मापदण्ड विपरित र गुणस्तरहित पाईएका छन् ।
केशको अफरमा अपाचे बाइक सित्तैमा
काठमाडौं, ३२ साउन । केश कन्स्ट्रक्सनको आधिकारीक विक्रेता फोर्स कन्स्ट्रक्सन एण्ड एसोसियट्स प्रा.ली. ले “दमदार मेशिन दमदार अफर, टिभिएस अपाचेको सानदार सफर” नामक योजना ल्याएको छ । कम्पनीका अनुसार यस योजना अन्तर्गत हरेक ब्याकहो लोडरको खरिद गर्ने ग्राहकले टिभिएस अपाचे आरटिआर १६० बाइक सित्तैमा प्राप्त गर्नेछ । यो योजना सिमित अवधिका लागि सिमित संख्याका ब्याकहो लोडरमा लागु रहने कम्पनीले जानकारी दिएको छ ।
सिद्धार्थ बैंकको ग्राहकहरुलाई ग्राण्डी अस्पतालमा छुट
काठमाडौं, ३२ साउन । सिद्धार्थ बैंकले आफनो ग्राहकहरुलाई थप सुविधा दिने उदेश्यले ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालसँग सम्झौता गरेको छ । उक्त सम्झौता अनुसार अब सिद्धार्थ बैंकका ग्राहकहरुले ग्राण्डी अस्पतालले प्रदान गर्ने शैया, प्याथोलोजी, रेडियोलोजी, शल्यक्रिया र अन्य सेवा उपयोग गर्दा विशेष छुट पाउने भएका छन् । बैंकका अनुसार यो छुट वहिरंग, औषधि, वेलनेस चेकअप र प्रत्यारोपणमा भने पाइने छैन । सिद्धार्थ बैंकका ग्राहकहरुले सेवा उपभोग गरि सिद्धार्थ बैंकको भिसा कार्डबाट भुक्तानी गर्दा यो छुट पाउने बैंकले जनाएको छ । सिद्धार्थ बैकका पेमेन्ट सेलुसन्स डिपार्टमेन्टका प्रमुख सुरेश राज महर्जन तथा ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालका मार्केटिङ्ग तथा व्यापार प्रवद्र्धन प्रमुख प्रतिक तिवारीले सो सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।
छ महिनाभित्र एक लाख १० हजार नेपालीलाई राष्ट्रिय परिचयपत्र वितरण
काठमाडौं, ३२ साउन । निर्वाचन आयोगले सङ्कलन गरेका विवरणलाई प्रयोग गर्दै पहिलो चरणमा छ महिनाभित्र एक लाख १० हजार नेपालीलाई राष्ट्रिय परिचयपत्र वितरण गरिने भएको छ । नेपाल बाहेक विश्वका सयभन्दा बढी देशमा राष्ट्रिय परिचयपत्र वितरण भइसकेका छन् । राष्ट्रिय परिचयपत्रप्राप्त नागरिकको सम्पूर्ण वैयक्तिक विवरण भण्डारण एक स्वचालित चिप्स मार्फत रहने व्यवस्था मिलाइएको छ । परिचयपत्र वितरणका लागि छ महिनाका अवधिमा सात हजार राष्ट्रसेवक कर्मचारी परिचालन गरिने राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्रका कार्यकारी निर्देशक दिनेश भट्टराईले जानकारी दिए। नेपालको संविधानको धारा ५१च(७) मा नागरिकका सूचना र विवरण एकीकृत रुपमा व्यवस्थापन गर्न एकीकृत राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणाली लागू गरिने भनिएको छ । राष्ट्रिय परिचयपत्रप्राप्त व्यक्ति सेवा प्रवाह गर्ने सरकारी निकाय लोकसेवा आयोग, राहदानी विभाग, जिल्लास्थित मालपोत यातायात व्यवस्था स्थानीय पञ्जीकरण कार्यालय तथा स्थानीय निकाय, बैंक, टेलिकम लगायत संस्थासँग आबद्ध हुन्छ । एसियाली विकास बैंकको सहयोगमा रु ५१ करोड ७१ लाख ४२ हजार ५१ का लागतमा राष्ट्रिय परिचयपत्र प्रणालीको केन्द्रीय प्रणाली र स्थानीय प्रणाली स्थापना भई परिचयपत्र वितरण गरिसकिने छ । राष्ट्रिय परिचयपत्रबाट नागरिकको शान्ति सुरक्षा र कानुन कार्यान्वयनमा सहजता, विकास निर्माण र योजना तर्जुमा, सेवा प्रवाहमा चुस्तता, प्रभावकारी र सुशासन कायम गर्न सहयोग पुग्ने विश्वास लिइएको छ । रासस
रु दुई लाख अनुदानले घर बन्दैन– डा भटराई
गोरखा, ३२ साउन । गोरखाको बारपाकलाई केन्द्र बनाएर भूकम्प गएको १५ महिना हुँदा पनि पुनःनिर्माणको काम सुरु नभएकामा नयाँ शक्ति पार्टीका संयोजक डा बाबुराम भट्टराईले सरकार र प्राधिकरणप्रति असन्तुष्टि जनाएका छन्। ‘गोरखा पुनःनिर्माणः सम्भावना र चुनौती’ विषयको अन्तक्र्रियामा भट्टराईले भूकम्पपीडितलाई घर बनाउने प्रयोजनका लागि रु दुई लाख रुपैयाँको सट्टा रु पाँच लाखका दरले अनुदान रकम वितरण गर्नुपर्नेमा जोड दिए । “पचास थरिका सर्त राखेर दिएको दुई लाख अनुदानले घर बन्दैन” सदरमुकाममा मंगलबार भएको कार्यक्रममा भट्टराईले भने, “पाँच लाख रुपैयाँका दरले अनुदान दिने र न्यूनतम ब्याजमा ऋण दिने व्यवस्था गरियो भने मात्रै भूकम्पपीडितले भूकम्पप्रतिरोधी घर बनाउँछन् । सरकारले ५० हजार रुपैयाँका दरले किस्ताबन्दीमा दिएको राहतले घर बनाउने सामग्री ढुवानी गर्न र जगखन्न पनि पुग्दैन ।” संसदद्बारा अधिकारसम्पन्न प्राधिकरण बनाउन सरकारलाई भट्टराईको सुझाव छ । रासस
हिमालयन बैंक र लाइफ ईन्स्युरेन्सबीच बैंकासुरेन्स सेवा सम्बन्धि सम्झौता
काठमाडौं, ३२ साउन । हिमालयन बैंक लिमिटेड र लाइफ ईन्स्युरेन्स नेपाल लिमिटेड बीच बैंकासुरेन्स सेवा प्रदान गर्ने सम्बन्धि सम्झौता भएको छ । उक्त व्यबस्था अनुसार बैंकले लाइफ ईन्स्युरेन्स नेपालको कर्पोरेट एजेन्टको रुपमा जीवनबीमा सेवा प्रदान गर्नेछ । सो सम्बन्धि सम्झौता पत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शम्शेर ज.ब.रा र लाइफ ईन्स्युरेन्स नेपालको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत अभिजित घोष दस्तिदरले एक समारोहका बीच हस्ताक्षर गरेका हुन् ।
५० करोडका विकास योजना सम्पन्न
भद्रपुर, ३२ साउन । जिल्ला विकास समितिले गत आर्थिक वर्षमा ५० करोड नौ लाख ९९ हजार रुपैयाँ लागतका विकासका योजना सम्पन्न भएका छन् । सो आवमा एक हजार ६४ स्वीकृत योजनाका लागि कुल ६४ करोड ४६ लाख नौ हजार रुपैयाँ विनियोजन गरिएको थियो भने ९८३ योजना सम्पन्न भइसकेका छन् । अरु योजना सम्पन्न हुन नसक्दा १४ करोड ३६ लाख १० हजार रुपैयाँ भुक्तानी हुन बाँकी रहेको योजना शाखाका कर्मचारी डिल्ली नेपालले जानकारी दिए । सम्पन्न हुन नसकेका उन्नाइसवटा योजना चालु आवमा सम्पन्न हुने बताइएको छ । रासस
पर्यटक आकर्षणको लोभलाग्दो सम्पदा ‘नेपालको ताजमहल’ उच्च जोखिममा
पाल्पा, ३२ साउन । बौघागुम्बा गाविस–२, कालीगण्डकी नदीको दक्षिणको भिरालो चट्टाननिरको तीरमा अवस्थित रानीमहल बर्सेनि जोखिमको नजिक पुगेको छ । राणाकालीन समयमा पश्चिमी कलाकौशल प्रयोग गरी निर्माण गरिएको सुन्दर धरोहर ऐतिहासिक एवं पुरातात्विक हिसाबले महत्वपूर्ण मानिन्छ । पर्यटक आकर्षणको लोभलाग्दो सम्पदा ‘नेपालको ताजमहल’ मानवीय क्रियाकलापका कारण अहिले अस्तित्व बचाउने चुनौतीमा पुगेको छ । एक सय २३ वर्ष पुरानो महलमाथिबाट नवलपरासीको गैँडाकोटदेखि तिब्बतको कोरोला नाकासम्मको सडक विस्तार गरिएपछि दायाँ र बायाँ क्षेत्रबाट ठूला पहिरा बारम्बार खस्दा यस क्षेत्र पछिल्ला वर्षमा उजाडजस्तो बन्न थालेको हो । हराभरा सुन्दर, शान्त एवम् मनोरम रानीमहल दरबार नजिकैबाट पहिरो खस्दा दिनप्रतिदिन जोखिम बढेको छ । धीरशम्शेरका सत्र भाइमध्ये पाल्पाका जर्नेल खड्गशमशेरले रानी तेजकुमारीको विसं १९४९ मा पाल्पामै निधनपछि उनको सम्झनामा निर्मित दरबार करिडोर विस्तार गर्दा वातावरणीय हिसाबले पनि सुन्दरता गुम्ने अवस्था नजिकै आएको छ । महलमाथि सडक विस्तार गर्दा डोजरको प्रयोग गरिएपछि यहाँको जमिनमा असर गर्दै आएपछि माथिल्लो भाग खस्न सक्ने स्थानीय बासिन्दा प्रेमबहादुर श्रेष्ठ बताउछन्। भारतको आग्रामा राजा शाह जहाँले आफ्नी रानी मुमताजको स्मृतिमा बनाएको ताजमहलकै प्रतिरुप हेर्न धेरै भारतीय शरद ऋतुमा यहाँ आउँछन् । “रानीमहल दरबारको वरिपरिबाट पहिरो खसिसकेका छन्, सडकमाथिको पहिरो खस्दा रानीमहल समस्यामा पर्न सक्ने छ । पहिरो पहिला झैँ रानीघाटलाई छलेर दायाँबायाँबाट गयो भने रानीघाट जोगिन सक्छ, नत्र रानीमहल सङ्कटमा पर्न सक्छ” उनको अनुमान छ । सडक विस्तारका क्रममा रानीमहलमाथिको सडक कोप्रो पारिएकाले जतिबेला पनि त्यो थुम्को खस्न सक्ने देखिन्छ । सडक विस्तारका क्रममा जथाभाबी माटो फालेपछि खोलाले बगाएको माटोले समेत रानीघाट क्षेत्रको शोभा गुमाउन सहयोग गरेको स्थानीय बासिन्दा ताराबहादुर साठ्ठीघरेले बताए । करिडोरको सडकको माथिल्लो भागबाट पहिरो खसेपछि रानीमहलको सडकसमेत बगाउँदा मान्छे हिँड्नसमेत समस्या भएको छ । विश्वमै विरलै बहने उत्तर बाहिनी नदीका रुपमा रहेको कालीगण्डकी नदी भएकाले समेत यस क्षेत्रको महत्व अझै रहे पनि रानीमहलको अस्तित्व जोगाउन नसकेकामा पाल्पाको पर्यटन व्यवसायलाई समेत असर पर्नेछ । ताजमहल दरबार क्षेत्रमा घोडा बाँधिने तबेला, सैनिकले पहरा दिने स्थान, सैनिक तैनाथीस्थल आदि भग्नावशेष मर्मत भएका छन् । खड्गशम्शेर नुहाउनका लागि जाने कालीगण्डकी किनारसँगै जोडिएको फलामको बार भएको बाटोको नमुना पर्यटकले हेर्नलायक सम्पदाका रुपमा रहेको छ । ताजमहल दरबारको पूर्वतर्फको भागमा खड्गशम्शेरले पूजा गर्ने पूजाकोठाको नमुना मात्र छ । तीनतले दरबारमा माथिल्लो तला बैठक कोठा र बीचमा खड्गशम्शेरका कोठीहरुले राणाकालीन कला संस्कृतिको बेजोड नमुनाको प्रस्तुत गर्छन् । दरबारको बायाँतर्फ शीतलपाटी र फोहराका लागि कुँदिएका ढुङ्गाले निर्मित दुई पोखरी छन् । तेस्रो तहमा दाहिनेतर्फ पाले पहरा बस्ने गृह छ भने खुड्किलाको बायाँतर्फ एकै किसिमका शिवजी र गङ्गाको दुई मन्दिरले धार्मिक पर्यटक आकर्षित हुँदै आएका छन् । युवा पुस्ताले ताजमहललाई प्रेमको प्रतीकका रुपमा लिन्छन् । प्रणय दिवसका अवसरमा यस क्षेत्रमा हजारौँ युवा प्रेमको प्रस्ताव राख्ने गर्छन् । युवा पुस्ता ताजमहलप्रति निकै आकर्षित हुँदै आएको स्थानीयवासी ताराबहादुर श्रेष्ठले बताए । रासस