विकासन्युज

चीनबाट इन्धन ल्याउने प्रस्ताव परराष्ट्र मन्त्रालयमा

काठमाडौँ, २० असार । वर्षाको कारण नारायणगढ–मुग्लिन सडकखण्डमा अवरोधपछि राजधानीमा तेलको अभाव देखिएको छ । भारतीय नाकाबन्दीमा इन्धन अभावले कायल भएका राजधानीबासी फेरी त्रसित भएका छन् । तर नेपाल आयल निगमले उपभोक्ताले इन्धन भण्डारण नगरेमा माग अनुसार वितरण गर्न सकिने दावी गरेको छ । यसैबीच आपूर्ति मन्त्रालयले नेपाल र चीनबीच भएको दुईपक्षीय सम्झौताबमोजिम पेट्रोलियम पदार्थ खरिदको प्रक्रिया अघि बढाउनेसम्बन्धी प्रस्ताव परराष्ट्र मन्त्रालयमा पठाएको छ । गत चैतमा प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका अवसरमा नेपालमा पेट्रोलियम पदार्थ आपूर्ति गर्ने र तीन स्थानमा भण्डारण केन्द्र खोल्नेलगायत सम्झौता भएको थियो । व्यवस्थापिका– संसद्को उद्योग, वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिको आजको बैठकमा आपूर्ति मन्त्री गणेशमान पुनले आफूहरुले कार्यदल गठन गरी चीनबाट पेट्रोलियम पदार्थ आपूर्ति गर्नेसम्बन्धी प्रतिवेदन परराष्ट्र मन्त्रालयमा पठाएको जानकारी दिए । उनले सो प्रतिवेदनमा कर र यातायातबारे स्पष्ट हुन बाँकी रहेकाले कूटनीतिक संयन्त्रबाट छलफल हुने बताए । सरकारले इन्धनमा भारतसँगको एकाधिकार कायम नराखी चीनसँग कुल मागको ३३ प्रतिशत पेट्रोलियम पदार्थ आपूर्ति गर्ने योजना बनाएको छ । मन्त्रालयका निमित्त सचिव उत्तमप्रसाद नागिलाले भने राजनीतिक नेतृत्व र कूटनीतिक नेतृत्वबाट सो सम्बन्धमा छलफल भएपछि खरिदका लागि सहजता हुने बताए । समितिले एलपी ग्यास आपूर्तिलाई व्यवस्थित गराउने सम्बन्धमा यसअघि दिइएको निर्देशनको कार्यान्वयन अवस्था, ग्यास सिलिन्डरको गुणस्तर र उपभोक्ताको हितका सम्बन्धमा मन्त्री, सचिव, सम्बन्धित निकायका प्रमुख, उद्योगी र उपभोक्ता अधिकारकर्मीलाई आमन्त्रण गरी छलफल गरेको हो । नेपाल आयाल निगमका प्रबन्ध निर्देशक गोपालबहादुर खड्काले ४५० थान ग्यास ल्याउने बुलेट खरिदको प्रक्रिया पनि अघि बढाएको जानकारी दिए । उनले डिपोहरुको स्तरोन्नति र पुनःनिर्माणबारे काम भइरहेको बताए । समितिका सभापति भीष्मराज आङ्देम्बेले समितिका निर्देशन पालना भए÷नभएको सम्बन्धमा सरकारले प्रतिवेदन नदिएको, उपभोक्ताका अधिकार कुण्ठित हुने स्थिति भएको र वर्षायामको नाममा पुनः इन्धन अभाव गराउने प्रयत्न भएकोतर्फ ध्यानाकर्षण गराए । बैठकमा उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष ज्योति बानियाँ, राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले नारायणगढ–मुग्लिन सडकखण्डमा अवरोध भएको नाममा पेट्रोलियम पदार्थको कृत्रिम अभाव र कालोबजारी सुरु भएकाले तत्काल छानबिन गरी कारबाही गर्न माग गरे ।

चीनमा बन्यो सबैभन्दा ठूलो टेलिस्कोप, लागत १८० करोड डलर

चीन, १९ असार । चीनमा बनेको विश्वकै सबैभन्दा ठूलो रेडियो टेलिस्कोप परीक्षणका लागि तयार भएको छ । टेलिस्कोपको ठूलो ‘डिस’ को केन्द्रमा चार हजार ४५० प्यानल प्रयोग गरी बनाइएको छ । ‘रिफ्लेक्टर’ का लागि ३० वटा फुटबल मैदान बराबरको क्षेत्र छुट्टाइएको उक्त टेलिस्कोप आगामी सेप्टेम्बरमा ऐतिहासिक रुपमा परीक्षण गरिने तयारी भएको चिनियाँ अधिकारीले जनाएका छन् । चीनको दक्षिण पश्चिमी गइझोउ प्रान्तको पिङताङ्गमा उक्त टेलिस्कोपलाई राख्नका लागि विशेषज्ञ, निर्माणकर्ता, विज्ञानमा रुची राख्ने केही चिनियाँ नागरिक र समाचारदाता गरी करिब ३०० जनाको उपस्थिति रहेको थियो । टेलिस्कोप निर्माणकर्ता सङ्गठन नेसनल एस्ट्रोनोमिकल अब्जर्भेसनका उपप्रमुख झेङ सिआओनियनले भने वैज्ञानिकले अब ५०० मिटर अपर्चर स्फेरिकल टेलिस्कोप ‘फास्ट’ को काममा सुधार तथा परीक्षणको निरीक्षणको काम सुरु हुनेछ । नेसनल एस्ट्रोनोमिकल अब्जर्भेसन चिनियाँ एकेडेमी अफ साइन्सेजअन्तर्गत काम गर्ने संस्था हो । करिब एक अर्ब ८० करोड अमेरिकी डलर खर्चेर बनाइएको उक्त टेलिस्कोप निर्माण सन् २०११ देखि सुरु गरिएको थियो । रासस

जमलको जुत्ताघरमा समर सेल मेला, भाग्यमानीले पाए मोटरसाइकल

काठमाडौं, २० असार । राजधानीको जमलस्थित नाचघरमा रहेको नेपाली जुत्ता घरमा बृहत समर सेल मेला सुरु भएको छ । नेपाली जुत्ता उत्पादक कम्पनीहरुले मिलेर स्थापना गरेको नेपाली जुत्ता घर प्रालीले आयोजना गरेको मेलामा ७० प्रतिशतसम्म छुट सुबिधा प्राप्त हुनेछ । जुत्ता मेलामा शिखर सुज, बिएफ डियरहिल सुज, स्काई सुज, क्रस रोड, कोशेली, सफट् टच, लेदर विंग्स, टाकुरा, इजी र शुल् ल्याण्ड गरि १० वटा कम्पनीका सबै खाले जुत्ता चप्पलहरु सेल गरिनेछन् । समर सेलमा ५० हजार जोर जुत्ता चप्पल बिक्रि गर्ने लक्ष्य रहेको बिएफ डियर हिल सुजका प्रबन्ध निर्देशक होमनाथ उपाध्यायले बताए । मेलाको उद्घाटन गर्दै नेपाल उद्योेग बाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले नेपालका उद्योगी व्यवसायीलाई प्रोत्साहन गरे मात्रै आत्मनिर्भर अर्थतन्त्रको जग बस्ने बताए । स्वदेशी उद्योग धन्दाको प्रवद्र्धनका लागि सरकार गम्भिर नभएको आरोप समेत लगाए । त्यस्तै, नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य तथा शिखर सुजका प्रबन्ध निर्देशक रामकृष्ण प्रसाईले पनि स्वदेशी उद्योगको प्रवद्र्धनमा जोड दिए । को होला भाग्य मानी ? कार्यक्रममा नेपाली जुत्ता घर प्रालीले गत दशैं तिहारमा ल्याएको स्क्र्याचमा मनी, बम्परमा बाइक धनी उपहार योजनाको लक्की ड्र समेत गरेको छ । लक्की ड्रमा प्रथम हुनेले मोटरसाइकल, द्धितिय हुनेलाई ल्यापटप,तृतिय हुनेलाई २१ इञ्चको एलइडी टीभी र सान्त्वना हुने १० जनालाई एक एक वटा राइस कुकर प्रदान गरिनेछ । उनीहरुलाई १० दिन भित्रै सम्पर्क गर्न पनि नेपाली जुत्ता घर प्रालीले अनुरोध गरेको छ ।

विद्युतीय शवदाह गृह बुधबारसम्म सञ्चालनमा आउने

काठमाडौं, २० असार । एक हप्ताअघिदेखि बिग्रेको विद्युतीय शवदाह गृह बुधबारसम्म सञ्चालनमा आउने भएको छ ।असार १३ गते सोमबारको अविरल वर्षाले चावहिल, गौशालाको ढल विद्युतीय शवदाह यन्त्रको पम्पमा जमेपछि यन्त्र बन्द भएको थियो । पम्पमा जमेको ढल निकाल्न सोमबार खानेपानी तथा ढल निकास विभागबाट जेट मेसिन ल्याएर सफा गर्न लागिएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा गोविन्द टन्डनले राससलाई जानकारी दिए। “पम्प सफा गरेर सकेसम्म मङ्गलबार नसके बुधबार विद्युतीय शवदाह गृह सञ्चालनमा ल्याइनेछ, यन्त्रमा समस्या छैन अविरल वर्षासँगै आएको बाढी र ढलले पम्पमा आएको समस्या समाधानमा लागेका छौँ” – उनले भने । विसं २०७२ माघ १० गतेदेखि नेपालमै पहिलो शवदाह गृह सञ्चालनमा आएको थियो । यन्त्र सञ्चालनमा आएदेखि हालसम्म एक हजार ८०० शवदाह गरिएको कोषले जनाएको छ । रासस

गेट कलेजको पूर्वविद्यार्थी सम्मेलन सम्पन्न

काठमाडौं, २० असार । ग्लोबल एकेडेमी अफ टुरिजम एन्ड हस्पिटालिटी एजुकेशन (गेट कलेज)को पहिलो पूर्वविद्यार्थी सम्मेलन सम्पन्न भएको छ । उक्त सम्मेलानले विवेक पौडलको अध्यक्षतामा गेट आल्मुनाइ फोरम गठन गरेको छ । राजधानीको मण्डिखाटारस्थित रहेको गेट कलेजले विगत नौ वर्षदेखि नेपालमा विश्वस्तरीय होटल व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको छ । “नेपालमै अन्तर्राष्ट्रिय स्तरको होटल व्यवस्थापनको डिग्री लिन चाहने हामी युवाका लागि गेट कलेजले एउटा अवसर प्रदान गरिदियो,” हाल गोकर्ण फरेस्ट रिसोर्टका प्रबन्धक रहेका पौडलले सम्मेलनमा भने, “गेट कलेजमा अध्ययन गरेका विद्यार्थीहरू आज हामी नेपालका विभिन्न पाँच तारे होटलदेखि अन्तर्राष्ट्रिय क्षेत्रमा विभिन्न निकायहरूका कार्यरत छौं ।” सम्मेलनमा दिइएको जानकारीअनुसार गेट कलेजमा अध्ययन गर्ने विद्यार्थीहरू अष्ट्रेलिया, जर्मनी, हङकङ, यूएइए, बहराइन, कतार, मलेसिया र चीनमा अभ्यासरत छन् । सन् २००७ मा सुरु भएको कलेजबाट हालसम्म ३९१ जनाले अध्ययन पूरा गरेका छन् र हाल ३२५ जना विद्यार्थीहरू अध्ययनरत रहेका कलेजले बताएको छ । यसबाहेक गेट कलेजको भातृ संस्था गेट भोकेनसलतर्फ २००० जनाले होटल व्यवस्थापनका विभिन्न आयाममा आवधिक प्रशिक्षण पूरा गरिसकेका छन् । गेट भोकेसनलतर्फ अष्ट्रेलिया सरकारको शैक्षिक प्रतिष्ठान टेफको मान्यताप्राप्त कोर्ष नियमित सञ्चालनमा छ । गेट भोकेसनलको कोर्षलाई सीटीईभीटीद्वारा मान्यता प्रदान गरिएको छ भने त्रिभुवन विश्वविद्यालयले गेटको एकेडेमिक कोर्षलाई मान्यता प्रदान गरेको छ । “गेट कलेजमा हामी नेपाली विद्यार्थीले मात्र नभइ विभिन्न १६ देशका विद्यार्थीले अध्ययन पूरा गरेका छन्,” पौडेलले भने । कार्यक्रममा गेट कलेजका प्रमुख कार्यकारी अधिकृत खेम लकाईंले होटल व्यवस्थापन शिक्षाको अन्तर्राष्ट्रिय प्रचलनअनुसार प्रयोगात्मक पक्षमा बढी ध्यान दिइएको कारणले नै कलेजको शिक्षा विशिष्ट रहेको बताएका छन् । “गेट कलेज मूल्य, मान्यता, नैतिकतायुक्त र स्वच्छ शैक्षिक वातावरणमा विश्वास राख्दछ । हामी यस कलेजमा अध्ययनरत सम्पूर्ण विद्यार्थीको उज्ज्वल भविष्य र उनीहरूको गुणस्तरीय शैक्षिकस्तरप्रति पूर्ण प्रतिबद्ध छौं,” लकाईंले भने । उनले कलेजले गुणस्तरीय शैक्षिक स्तर कामय गर्नमा कुनै सम्झौता नगर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । सम्मेलनमा गेट कलेजको पहिलो ब्याचदेखि एघारौं ब्याचसम्मका नेपाल तथा विभिन्न मुलुकमा होटल, रेष्टुराँ, ट्राभल एजेन्सी र अन्य निकायमा संलग्न, आफ्नै स्वःव्यवसायमा संलग्न करिब सयजना विद्यार्थीको सहभागिता थियो । यस्तो सम्मेलन हरेक वर्ष आयोजना गरिने रहेको गेट आल्मुनाइ फोरमका अध्यक्ष विवेक पौडेलले जानकारी दिएका छन् ।

युके भ्रमणमा निस्किने नेपाली क्रिकेट टोलीको घोषणा

काठमाडौं, २० असार । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) अन्तर्गतको छनोट समितिले युके (संयुक्त अधिराज्य)को तयारी भ्रमणमा निस्कने नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरेको छ । सोमबार घोषणा गरिएको १५ सदस्यीय टोलीले इङ्ल्यान्डको म्यारिलेबोन क्रिकेट क्लब (एमसिसी)सँग आगामी साउन ४ गते (जुलाई–१९) उसकै घरेलु मैदानमा खेल्नेछ । कप्तान पारस खड्काको नेतृत्वको टोलीमा उपकप्तान ज्ञानेन्द्र मल्ल, शक्तिप्रसाद गौचन, वसन्त रेग्मी, शरद भेषवाकर, सोमपाल कामी, सागर पुन र विनोद भण्डारी छन् । त्यस्तै, सुवास खकुरेल, करण केसी, अनिलकुमार मण्डल, सन्दीप लामिछाने, विक्रम सोब, राजु रिजाल तथा राजेश पुलामी मगरसमेत टोलीमा अटाएका छन् । नेपालले आगामी अगस्टमा नेदरल्यान्डसँग उसकै मैदानमा विश्व क्रिकेट लिग च्याम्पियनसिपका दुई खेल खेल्दैछ । हाल नेपाली टोली त्यसैको तयारी रहे बमोजिम युके भ्रमणमा निस्कन लागेको हो । क्रिकेटको आधिकारिक निकाय नेपाल क्रिकेट सङ्घ निलम्बनमा रहेका अवस्थामा आइसिसीले आफ्नै अग्रसरतामा नेपाली टोलीको छनोट गरेको हो । छनोट समितिमा आइसिसीका प्रतिनिधि भेन्कातपाथी, नेपाली टोलीका प्रमुख प्रशिक्षक जगत टमाटा र कप्तान खड्का थिए । रासस

रिलायबल बैंकले १० प्रतिशत बोनस र १ बराबर १ को अनुपातमा हकप्रद सेयर जारी गर्ने

काठमाडौं, २० असार । रिलायबल डेभलपमेन्ट बैंकले आर्थिक वर्ष २०७१/७२ को मुनाफाबाट १० प्रतिशत बोनस सेयर दिने भएको छ । साथै, बैंकले पूँजी वृद्धिका लागि बोनस सेयर पश्चात १ बराबर १ को अनुपातमा हकप्रद सेयर जारी गर्ने भएको छ । उक्त निर्णय शुक्रबार बसेको बैंकको दशौँ वार्षिक साधारणसभाले पारित गरेको छ । यसका साथै बैंकले १९ प्रतिशत प्रोमोटर शेयरलाई साधारणमा परिवर्तन गरी संस्थापक समूहको ५१ प्रतिशत र सर्वसाधारण समूहको ४९ प्रतिशत शेयर स्वामित्व कायम गर्ने भएको छ । कार्यक्रममा बोल्दै  बैंकका सिइओ नारायण बाबु लोहनीले बैंकले आगामी दिनमा बैंकलाई अझ सबल बनाउदै लैजाने र आगामी आ.व.मा शेयरधनीहरुलाई अझ बढी बोनस प्रदान गर्ने बताएका छन् । बैंकको शुक्रबारसम्मको निक्षेप ८१२ करोड रुपैयाँ र कर्जा लगानी ६५८ करोड रुपैयाँ रहेको बैंकले जनाएको छ । साथै बैंकले असार मसान्त भित्र तनहुको डुम्रेमा शाखा सन्चालनमा ल्याउने समेत जनाएको छ । बैंकले सहायक संस्थाको रुपमा रिलायबल क्यापिटल समेत छिट्टै सन्चालन ल्याउनकोलागि सबै तयारी भइरहेको जनाएको छ । बोनस पश्चात ७८ करोड चुक्ता पूँजी रहेको यस बैंकले अधिकृत पूँजी वृद्धि गरी ३ अर्ब पु¥याउने भएको बैंकद्धारा जारी विज्ञेप्तिमा उल्लेख छ ।

नेपाल एसबीआई बैंकको अध्यक्षमा आचार्य नियुक्त

काठमाडौं, २० असार । नेपाल एसबीआई बैंकको अध्यक्षमा कृष्णप्रसाद आचार्य चयन भएका छन् । आईतबार बसेको सञ्चालक समितिको बैठकले बैंकको अध्यक्षमा आचार्यलाई चयन गरेको हो । आचार्य कर्मचारी संचय कोषको प्रशाशक (कार्यकारी प्रमुख) हुन् । यसअघि नविल बैंक, हिमालयन बैंकमा सञ्चालक भएर काम गरेका आचार्यले यूनाईटेड इन्स्योरेन्स, एनआईडीसी डेभलपमेन्ट बैंकमा कार्यकारी प्रमुख भएर काम गरेका थिए ।