बजारमा ललिपप आतंक, हानिकारक शिशा भेटिएपछि उत्पादन र बिक्रिमा प्रतिबन्ध
काठमाडौं, ७ असार । महंगी र कालोबजारीले उपभोक्ता हैरान भैरहेका बेला बजारमा ललिपपको नयाँ आतंक देखिएको छ । हेर्दा राम्रो देखिने र खाँदा गुलियो स्वाद भएका ललिपपहरुमा हानिकारक शिशा फेला परेपछि यस्तो आतंकको पर्दाफास भएका हो । एसियन बिस्कुट एण्ड कन्फेक्सनरी दुहबीद्धारा उत्पादित ललिपपका नलिहरुमा चम्किने अज्ञात रसायन फेला परेको छ । ती रसायनहरु मर्करी भएको र त्यसले मानव स्वास्थ्यमा गम्भिर हानी पुर्याउने भन्दै उत्पादन तथा बिक्रि वितरणमा रोक लगाएको खाद्य प्रबिधी तथा गुण नियन्त्रण विभागका प्रवक्ता पूर्णचन्द्र वस्तीले विकासन्युजलाई जानकारी दिए । एसियन बिस्कुट एण्ड कन्फेक्सनरीले उत्पादन गर्दै आएको ग्लो पप, फ्लोरोसेन्ट आइसक्रिम ललिपप, प्रेस्टिज रोजेज फ्लोरोसेन्ट लगायतका चम्किने ललिपपहरुमा हानिकारक रसायन फेला परेको हो । राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलालल महर्जनले बर्दियामा ललिपप खाएर चार जना बालक बिरामी भएपछि गुणस्तर परिक्षणका लागि विभागमा उजुरी दिएको बताए । ‘ललिपप खाएर बालबालिका बिरामी भएको खबर आएपछि हामीले उजुरी हालेका थियौ, ललिपपको नलिभित्र रहेको चम्किने पदार्थ मर्करी हो र त्यसले स्वास्थ्यलाई गम्भिर असर गर्ने देखियो’, मञ्चका अध्यक्ष महर्जनले भने । ग्लो पप, फ्लोरोसेन्ट आइसक्रिम ललिपप, प्रेस्टिज रोजेज फ्लोरोसेन्ट ललिपप उत्पादन गर्दै आएको एसियन बिस्कुट एण्ड कन्फेक्सनरी उद्योगमा विभागले ताला लगाएको छ । बजारमा पुगेका यस्ता ललिपप समेत फिर्ता गर्न उद्योगलाई निर्देशन दिएको छ । ‘उत्पादन बन्द गराएका छौं भने बजारमा पठाइसकिएका समान फिर्ता गर्न निर्देशन दिएका छौं, अब आयातित ललिपपको समेत बजार अनुगमन गर्छाै’, विभागका प्रवक्ता वस्तीले भने ।
क्यास्ट्रोल एक्टिभो अब नेपाली बजारमा
काठमाडौं, ७ असार । क्यास्ट्रोल लुब्रिकेन्ट्सको नयाँ उत्पादन ‘क्यास्ट्रोल एक्टिभो’ नेपाली बजारमा भित्रिएको छ । नेपालमा क्यास्ट्रोल लुब्रिकेन्ट्सको आधिकारिक वितरक नेपाल ओभरसिज ट्रेडिङ कन्सर्न प्रालिले क्यास्ट्रोल एक्टिभोलाई भित्र्याएको हो । एक्टिभो फोर स्ट्रोक इन्जिन आयल हो । एक्टिभोको प्रवेशसँगै अब नेपाली बजारमा पहिले देखि प्रचलित क्यास्ट्रोलको एक्टिभ ४टी लुब्रिकेन्ट्सको स्थानमा एक्टिभो स्थापित हुने भएको छ । एक्टिभो पहिलेको एक्टिभ भन्दा विशेष रुपमा परिस्कृत गरेर बजारमा ल्याइएको छ । यसमा अत्याधुनिक एक्टिभ बोन्ड मोलिक्युल्स रहेको नेपाल ओभरसिज ट्रेडिङ कन्सर्नका मार्केटिङ म्यानेजर अमरज्योति रञ्जित बताउँछन् । रञ्जितका अनुसार उक्त मोलिक्युल्सको सहयोगले इन्जिनमा एक किसिमको झिल्ली बस्न गई इन्जिनलाई सुरक्षित राख्छ र यसमा अनावश्यक पदार्थ बस्न वा जम्न पाउदैन । इन्जिनका भागहरुमा उक्त मोलिक्युल्स टाँसिएर बसेको हुन्छ जसले स्टार्ट बन्द गरेको र फेरि स्टार्ट गरेको अवस्थामा पनि इन्जिनलाई पूर्ण सुरक्षित राख्ने कम्पनीले बताएको छ । एसिया र मध्यपूर्वी देशमा एक्टिभ र युरोप तथा अमेरिकी बजारमा एक्टिभो प्रचलित थियो । क्यास्ट्रोलको एक्टिभ पहिलेदेखि नै नेपाली उपभोक्ताहरुका बीचमा लोकप्रिय भएकाले दक्षिण एसियामै पहिलो पटक एक्टिभोलाई नेपाली बजारमा पठाइएको कम्पनीको भनाइ छ । पहिलेको एक्टिभ सरहकै मूल्य कायम भएकाले पनि यसले नेपाली बजारमा लोकप्रियता हासिल गर्ने कम्पनीको दावी छ ।
सिद्धार्थ र युनिभर्सल डेभलपमेन्ट बैंकबीच एकीकृत कारोबार शुरु
काठमाडौं, ७ असार । सिद्धार्थ बैंक लिमिटेड र बिजनेस युनिभर्सल डेभलपमेन्ट बैंकबीच एकीकृत कारोबार शुरु भएको छ । मर्जर पश्चात् मंगलबार एक औपचारिक समारोहका बीच सिद्धार्थ बैंक लिमिटेडको नामबाट एकीकृत कारोबारको शुभारम्भ भएको बैंकले जनाएको छ । बैंकको एकीकृत कारोबारको समुद्घाटन नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले गरेका हुन् । बैंकले आगामी दिनहरुमा एक सबल र सुदृढ बैंकको रुपमा आफ्ना ग्राहकहरुका विविध बैंकिङ्ग आवश्यकताहरुलाई अझ प्रभावकारी रुपमा पुरा गर्ने लक्ष्य लिएको छ । मर्जर पश्चात् सिद्धार्थ बैंकको कुल पुँजी ३ अर्ब २ करोड रुपैयाँ भएको बैंकले जनाएको छ । साथै, बैंकले १ अर्ब ९० करोड रुपैयाँ मुनाफा र १ अर्ब १६ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको विज्ञप्तिले जनाएको छ । हालसम्ममा ६२ अर्ब १० करोड रुपैयाँ कुल निक्षेप संकलन गर्न र ५३ अर्ब ६४ करोड रुपैयाँ कर्जा प्रवाह गर्न सफल भएको बैंकले जानकारी गराएको छ । मर्जर पश्चात् बैंकले नेपालभर ६९ शाखा, ८१ ए.टि.एम र ६५ स्थानमा शाखारहित बैंकिंग सेवाको माध्यमबाट उच्चस्तरीय बैंकिङ सेवा प्रदान गर्ने बैंकले बताएको छ ।
द व्रिटिश कलेज र सिस्कोबीच सहकार्य
काठमाडौं, ७ असार । द ब्रिटिस कलेजले सिस्कोसँग मिलेर नेटवर्क स्कील ट्रेनिङ एकेडेमी सञ्चालन गर्ने भएको छ । विश्वभर नेटवर्किङको नेतृत्व लिइरहेको सिस्कोले मानिसहरुलाई सञ्चार मार्फत जोडिरहेको छ । सिस्कोसँगको सहकार्यले द व्रिटिश कलेजमा अध्ययनरत विद्यार्थीको सूचना प्रविधि क्षेत्रका करिअर बनाउन सहयोग गर्ने कलेजले बताएको छ । ‘यो एउटा विश्वव्यापी शैक्षिक कार्यक्रम हो । जसमा नेटवर्क सेक्युरिटी तथा प्रशासन, प्राविधि सहयोग, हेल्थकेयर आइटीः प्रोफेशनल सर्टिफिकेट, इन्जिनियरिङमा उच्च शिक्षा, कम्प्युटर साइन्स तथा अन्य क्षेत्रगत विषयहरु रहेका छन्’, कलेजले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । कलेजले लगातारको अध्ययन र केही अग्रेजहरुसँगको छलफल पछि सूचना प्रविधि क्षेत्रमा नयाँ कार्यक्रम सुरु गरेको बताएको छ । त्यसैगरी, औद्योगिक क्षेत्रमा हुने गरेको प्राविधिक जनशक्तिलाई ध्यान दिएर पनि यस्तो शैक्षिक कार्यक्रम सुरु गरिएको कलेजले बताएको छ । उक्त एकेडमीले द व्रिटिश कलेजमा ‘सिसिएनए राउटिङ’ र ‘स्वीचिङ’ जस्ता कोर्सहरु अफर गरेको छ । यी कोर्सहरु सिस्को नेट स्पेस, नेटवर्किङ एकेडमीको मातहतमा रहेर प्रदान गरिनेछ । सिस्को तथा ग्लोबल एजुकेटर टिमले अनलाइन कोर्सहरु पनि विकास गरिसकेको छ । यसैलाई मध्यनजर गर्दै विभिन्न ल्याब, नेटवर्क सिमुलेसन अभ्यास, एसिसमेन्ट जस्ता विशेषताहरु अफर गरिएका छन् । सर्टिफाइड इन्सट्रकटरहरुले विभिन्न तहमा रहेर विद्यार्थीहरुको प्रगति हेर्ने तथा सेवा प्रदान गर्ने काम गर्नेछन् । सिस्को नेटवर्किङ एकेडमीले विश्वभरका १६५ राष्ट्रहरुमा ४० लाख विद्यार्थीहरुलाई सूचना प्रविधि र नेटवर्किङ विषयमा जानकारी प्रदान गरिरहेको छ ।
धुर्मुस–सुन्तली फाउन्डेसनलाई टोकियोको सहयोग, करिब ११ लाखभन्दा बढी नगद
टोकियो, ७ असार । गत वर्ष वैशाख १२ गतेको भूकम्पबाट अतिप्रभावित सिन्धुपाल्चोकको गिरान्चौर नमुना एकीकृत बस्ती निमार्णार्थ जापानवासी नेपालीले रु ११ लाख १५ हजार रु ५४३ सहयोग गरेका छन् । धुर्मस सुन्तली फाउन्डेसनमा संस्थागत र व्यक्तिगत रुपमा सहयोग प्राप्त भएको हो । अभियानका संयोजक शिव तण्डुकारका अनुसार गत वर्षको भूकम्पबाट अतिप्रभावितमध्येको सिन्धुपाल्चोकको गिरान्चौर नमुना बस्ती निर्माणकर्ता फाउन्डेसनको सहयोगार्थ त्रिपुरेश्वरको कृषि विकास बैंकमा रहेको फाउन्डेसनको खातामा पठाइएको संयोजक तण्डुकारले जानकारी गराए । रासस
काबुलमा भएको घटनाप्रति आयोगको दुःख व्यक्त, नेपाली कामदारको सुरक्षामा गम्भीर हुन आग्रह
काठमाडौं, ७ असार । राष्ट्रिय मानव अधिकार आयोगले अफगानिस्तानको राजधानी काबुलमा भएको आक्रमणमा परी १४ नेपाली नागरिकको मृत्यु र पाँच घाइते भएको घटनाप्रति गम्भीर दुःख व्यक्त गरेको छ । आयोगका सचिव बेदप्रसाद भट्टराईले सोमबार जारी गरेका प्रेस विज्ञप्तिमा वैदेशिक रोजगारीको सिलसिलामा गएका भनिएका ती नागरिकको अवस्थाको बारेमा नेपालका तर्फबाट नियमित र प्रभावकारी अनुगमन हुन नसक्दा तथा सुरक्षाको प्रत्याभूति नभएका देशमा गैरकानूनी तबरबाट उनीहरुलाई पु¥याइँदा जीवनको अधिकार गुम्न गएको देखिएको उल्लेख छ । आयोगले आजै अफगानस्तानस्थित अफगानिस्तान स्वतन्त्र मानव अधिकार आयोगलाई सहयोगको लागि अनुरोधसमेत गरेको छ । अनुरोधमा घटनामा परी मृत्यु भएका व्यक्तिका बारेमा आवश्यक सहयोगसहित जानकारी उपलब्ध गराउन, मृतकको विवरण, शव स–सम्मान परिवारलाई उपलब्ध गराउने व्यवस्था मिलाउन आग्रह गरेको छ । साथै, मृतक परिवारलाई पर्याप्त राहत तथा क्षतिपूर्ति दिलाई घाइतेको प्रभावकारी उपचारका लागि आवश्यक पहल गरिदिनका साथै त्यहाँ रहेका नेपाली नागरिकको मानवअधिकार रक्षार्थ आवश्यक सहयोग गर्न पनि आयोगले अनुरोध गरेको छ । सुरक्षाको प्रत्याभूति नभएका कुनै पनि देशमा नेपाली नागरिकलाई आप्रवासी कामदारका रुपमा पठाउने कार्यलाई व्यवस्थित गर्न तथा रोजगारीका लागि गएका नेपाली नागरिकको शान्ति सुरक्षाको प्रत्याभूतिका लागि कूटनीतिक पहलमार्फत तत्काल प्रभावकारी व्यवस्था मिलाउन आयोगले नेपाल सरकारलाई आग्रह गरेको छ । रासस
हेटौँडामा पेट्रोल पम्प सञ्चालन गर्ने तयारी, अभाव र मूल्य वृद्धि नियन्त्रण गर्ने
काठमाडौं, ७ असार । साल्ट ट्रेडिङ कर्पोरेसनले पेट्रोल पम्प सञ्चालन गर्ने तयारी गरेको छ । सो संस्थाले पेट्रोल, डिजेल लगायत पेट्रोलियम पदार्थको कारोबार गरी बजारमा उत्पादनमा सन्तुलन कायम राख्ने उद्देश्यले पेट्रोल पम्प सञ्चालनका लागि गृहकार्य अगाडि बढाउँदैछ । कर्पोरेसनले पम्प सञ्चालनका लागि हेटौँडा तथा त्यस आसपास क्षेत्रमा सम्भावित अध्ययन गरिरहेकोे छ । करिब पाँच दशक अगाडि स्थापित उक्त संस्थाले विशेष गरी नुनको अभाव हुन नदिन त्यसको मौज्दात राख्दै बजारमा आपूर्तिको व्यवस्थापन गरी सहयोग गर्दै आएको छ । कर्पोरेसनका संस्थापक लक्ष्मीदास मानन्धरले अहिले ग्यास तथा खाद्य सामग्रीको समेत सर्वसुलभ मूल्यमा बिक्री गरी उपभोक्तालाई सेवा उपलब्ध गराइँदै आएको जानकारी दिए । उनले विभिन्न समयमा बजारमा पेट्रोलियम पदार्थको कृत्रिम अभाव र अस्वाभाविक मूल्य वृद्धि नियन्त्रण गरी आफ्नो संस्थाले सरकारलाई सहयोग तथा जनतालाई सेवा पु¥याउँदै आएको बताए । रासस
मुक्त हलिया भन्छन-आठ धुर जमिन टोक्नु की बोक्नु
कञ्चनपुर, ७ असार । मुक्त हलियाहरुले आठ धुर जमिनमा आफुहरुको पुनः स्थापना सम्भव भएको बताउँदै तीन कठ्ठा जमिन माग गरेका छन् । सरकारले उपलब्ध गराउँदै आएको आठ धुर जग्गामा घर बनाउन समेत नसकिने भएकाले कम्तीमा तीन कट्ठा जग्गा उपलव्ध गराइनुपर्ने माग अघि सार्दै राष्ट्रिय हलिया मुक्त समाज कञ्चनपुरका अध्यक्ष सिवि लुहारले पुनःस्थापनको कार्यलाई दु्रतगतिमा अगाडि बढाइनुपर्ने बताए । राष्ट्रिय हलिया महासङ्घका महासचिव ईश्वर सुनारले मुक्त हलिया परिवारले बालबालिकालाई विद्यालयमा पठाउँदा शुल्क तिर्नुपर्ने भएकाले अधिकांश बालबालिका विद्यालय शिक्षा पूरा हुन नपाउँदै मजदुरीमा संलग्न हुनुपर्ने अवस्था रहेकाले सर्वसुलभ र निःशुल्क शिक्षाका लागि पहल गरिदिन माग गरे । मुक्त हलियाको वास्तविक अवस्था बुझ्न कञ्चनपुर पुगेको व्यवस्थापिका–संसद्को कृषि तथा जलस्रोत समितिमा आबद्ध सांसदको टोलीले सोमबार कञ्चनपुरको झलारी र बेदकोट नगरपालिकाको गयलनदी क्षेत्रको निरीक्षण गरेको थियो । सो क्रममा हुक्त हलियाहरुले आठ धुर जमिनमा पुनस्थापना समभव नभएको बताउँदै तीन कठ्ठा जमिनको व्यवस्था गरिदिन आग्रह गरेका हुन् । टोलीले बस्तीमा पुगेर हलिया परिवारको पुनःस्थापनका बारेमा जानकारी लिएको छ । बस्तीमा पुगेको सांसदको टोली समक्ष मुक्त हलिया परिवारले प्रभावकारी रुपमा पुनःस्थापना गरिनु पर्ने, लगतमा छुट भएकाको लगत लिइनु पर्ने, शिक्षा, रोजगारी र स्वास्थ्यको ग्यारेन्टी गरिनुपर्ने माग अघि सारेका छन् । संसद्को कृषि तथा जलस्रोत समितिका सभापति सांसद गगन थापाले मुक्त हलिया परिवारले भोग्दै आएको पीडाबारे जानकार भएकाले पुनःस्थापनको कार्यलाई न्यायोचित रुपमा अगाडि बढाउनका लागि नयाँ ढङ्गले सोच्ने बेला आएको बताए । उनले कल्पनानै नगर्ने ठाउँमा हलिया परिवार बसेको पाइएकाले तत्काल पुनःस्थापनका लागि सरकारलाई आग्रह गरिने बताए । “धेरै मुक्त हलिया परिवार लगतबाट छुटेको र परिचयपत्र वितरणमा समेत समस्या देखिएको गुनासो आएकाले यसबारे छलफल गरेर सरकारलाई प्रतिवेदन बुझाउँछौँ” उनले भने। संविधानले पनि अधिकार स्थापित गरेकाले चाँडै हलियाको समस्या समाधान हुनेमा आशावादी भएको उनले उल्लेख गरे । सांसदको टोलीले जिल्ला पुनःस्थापन समितिका अध्यक्ष प्रमुख जिल्ला अधिकारी, सदस्य सचिव भूमि सुधार कार्यालयका प्रमुख र सदस्यसँग भेटघाट गरी पुनःस्थापनमा देखिएका चुनौती र प्रगतिबारे समेत जानकारी लिएको छ । टोलीमा सांसद गगन थापा, अमृत बोहरा, सीता नेपाली, विक्रम खनाल, डिल्लीप्रसाद काफ्ले र समितिका सचिव आनन्दप्रसाद अधिकारीलगायतको सहभागिता रहेको छ । मुक्त हलिया परिवारको बस्ती अनुगमनपछि समस्याबारे गहन छलफलपश्चात् विस्तृत अध्ययन प्रतिवेदन तयार गरी प्रधानमन्त्रीको कार्यालय, भूमि सुधार मन्त्रालयलगायत सम्बन्धित क्षेत्रमा कार्यान्वयनका लागि पठाइने बताइएको छ । कञ्चनपुरमा लगतमा समावेश भएका दुई हजार ५१६ मुक्त हलिया परिवारमध्ये एक हजार ४२२ परिवार प्रमाणीकरणमा परेका छन् । हालसम्म ३४३ परिवार मात्रै पुनःस्थापनमा परेका छन् । रासस