ग्रामीण विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा पर्वतकुमार कार्की नियुक्त
काठमाडौं, १३ असोज । नेपाल ग्रामीण विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा पर्वतकुमार कार्की नियुक्त भएका छन् । असोज ९ गते बसेको ६७ औँ बैंक सञ्चालक समितिको बैठकले कार्कीलाई ४ वर्षे कार्यकालको लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको हो । कार्कीले आगामी ४ वर्ष सम्म ग्रामीण विकास बैंकको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हाल्नेछन् ।
सेयर बजारमा सामान्य अंकको सुधार, ८१ करोडको करोबार, ३ कम्पनीको सेयर मूल्य १० प्रतिशले बृद्धि
काठमाडौं, १३ असोज । बुधबार घटेको सेयर बजार बिहीबार भने सामान्य अंकले सुधार भएको छ । बिहीबार नेप्से परिसूचक ४ दशमलब २८ अंकले बढेर १७५३ अंकमा पुगेको छ । सो दिन १४२ कम्पनीको ९२ लाख ६९ हजार कित्ता सेयर ८१ करोड २४ लाख ७४ हजार रुपैयाँमा किनबेच भएको छ । बिहीबार बैंक अफ काठमाडौं लुम्बिनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ । त्यस्तै ज्योति विकास बैंक र कुमारी बैंकका लगानीकर्ताले करिब १० प्रतिशत कमाएका छन् । सबैभन्दा बढी निर्धन उत्थान बैंकका लगानीकर्ताले १० प्रतिशत गुमाएका छन् । सो दिन कारोबार भएका ८ समूह मध्ये ३ समूहको परिसूचक उकालो लागेका छन् भने अन्य समूहको परिसूचक ओरालो लागेका छन् । उत्पादनमूलक, बैंकिङ् र होटल समूहको परिसूचक क्रमशः १८, १२ र ६ अंकले बढेका हुन् । बीमा र विकास बैंकको क्रमशः १९ र १८ अंकले घटेका छन् भने अन्य बाँकी समूहको सूचक सामान्य २ अंकले घटेको छ । बिहीबार नेपाल बङ्गलादेश बैंकको ८ करोड बढी रुपैयाँको सेयर किनबेच भएको छ । सनराइज बैंकको ४ करोड र एभरेष्ट बैंक, शिखर इन्स्योरेन्स कम्पनी र सिद्धार्थ बैंकको प्रति कम्पनी करिब ३ करोड रुपैयाँको सेयर कारोबार भएको छ ।
मञ्जुश्रीले १४ प्रतिशत बोनस दिने
काठमाडौं, १३ असोज । मञ्जुश्री फाइनान्सले लगानीकर्तालाई १४ प्रतिशत बोनस दिने भएको छ । साथै, कम्पनीले कर प्रयोजनको लागि शून्य दशमलब ७४ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ । उक्त निर्णय बुधबार बसेको कम्पनीको १३०औँ सञ्चालक समितिको बैठकले गरेको हो । कम्पनीको निर्णय राष्ट्र बैंकद्धारा स्वीकृत तथा कम्पनीको आगामी साधारणसभाले पारित गरे पछि सेयर धनीले सो मात्रामा लाभांश पाउने छन् । हाल कम्पनीको चुक्ता पूँजी २५ करोड रुपैयाँ रहेको छ । बोनस सेयर पश्चात फाइनान्सको पूँजी २८ करोड ५७ लाख रुपैयाँ पुग्ने छ ।
२ अर्ब ९६ लाख कित्ता सेयर नेप्सेमा सूचिकृत, ९ लाख कित्ता प्रवद्र्धक सेयर साधारण सेयरमा परिणत
काठमाडौं, १३ असोज । बिहीबार मात्र २ अर्ब ९६ लाख ६२ हजार ०६१ कित्ता सेयर नेप्सेमा सूचिकृत भएको छ । सो दिन सिटिजन बैंकको १ करोड ६८ लाख कित्ता सेयर र प्रभु बैंकको ६४ लाख १७ हजार कित्ता हकप्रद सेयर नेप्सेमा सूचिकृत भएको छ । त्यसैगरी, स्टान्डार्ड चाटर्ड बैंकको ५६ लाख ४२ हजार कित्ता सेयर र रिलायन्स फाइनान्सको ७ लाख ४२ हजार कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत भएको छ । सो दिन फेवा विकास बैंकको ९ लाख ४६ हजार ६७७ कित्ता प्रवद्र्धक सेयर साधारण सेयरमा परिणत भएको छ । अब फेवा विकास बैंकको कुल सेयरमा ५१ प्रतिशत प्रवद्र्धकको र ४९ प्रतिशत सर्बसाधारणको भएको छ ।
टिभीएसका दुई नयाँ शो–रुम वीरगञ्ज र बालाजुमा सञ्चालन
काठमाडौं, १३ असोज । शंकर ग्रुप अन्र्तगतको ‘टिभीएस मोटर कम्पनी’ को नेपालका लागि एक मात्र आधिकारीक बिक्रेता जगदम्बा मोटर्सले दुई नयाँ आधुनिक शो–रुम वीरगञ्ज र बालाजुमा सञ्चालनमा ल्याएको छ । दुवै शो–रुम मार्फत टिभीएसका बाइक तथा स्कुटरका सबै रेञ्जहरु उपलब्ध गराइएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार उक्त शो–रुममा टिभीएस अपाचे आरटीआर २००, ४ भी, अपाचे आरटीआर १६०, अपाचे आरटीआर १८०, जुपीटर, वीगो, जेष्ट, स्पोर्ट १००, फिनीक्स १२५ तथा स्टार सिटी प्लस ११० लगायत रहेका छन् । गत असोज १० गतेदेखि सञ्चालनमा आएका दुवै शो–रुममार्फत ग्राहकलाई फाइनान्स तथा एक्सचेञ्जको सुविधा समेत उपलब्ध हुनेछ । कम्पनीले ७१औँ शो–रुम नेपालको उद्योग नगरी वीरगञ्जमा सञ्चालनमा ल्याएको हो । वीरगञ्जमा टिभीएस मोटरसाइकलको आधिकारीक बिक्रेताका रुपमा म्याक्स अटो प्रालि अनुबन्धित भएको हो । उक्त शो–रुमको आलोक काब्राले रिबन काटेर उद्घाटन गर्नुभएको थियो । सो अवसरमा एक र्यालीको समेत आयोजना गरिएको थियो । उक्त र्यालीमा ५० जनाको सहभागिता रहेको थियो । त्यस्तै, कम्पनीले आफ्नो ७२ औं शो–रुमका रुपमा राजधानी काठमाडौको बालाजुमा नयाँ शो–रुम सञ्चालनमा ल्याएको हो । शो–रुम सञ्चालनका लागि आवर मोटर प्रा. लि. आधिकारिक बिक्रेताका रुपमा अनुबन्धित भएको छ । उक्त शो–रुमको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि एवम् नेपाली सिनेमा क्षेत्रका कलाकार/नायक शिव श्रेष्ठले गरेका थिए ।
समावेशिताको नमूना प्रस्तुत गर्दै सिन्धुपाल्चोकमा नमुना युवा संसद
सिन्धुपाल्चोक, १३ असोज । सिन्धुपाल्चोकमै पहिलोपटक नमुना युवा संसद् आयोजना गरिएको छ । भूकम्पपछिको पुनर्निर्माणमा युवाहरुको भूमिका खोज्न आयोजना गरिएको नमुना युवा संदमा युवाहरूले संसदीय प्रक्रियामार्पmत् आफ्ना र जिल्लाका महत्वपूर्ण मुद्दाहरू उठान गरेका थिए । समावेशीताको उत्कृष्ठ नमुना प्रस्तुत गरिएको नमुना युवा संसदको आयोजना नेपाल युवा संस्था सञ्जाल(आयोन)ले राष्ट्रिय युवा परिषद्को जिल्ला युवा समितिसँगको सहकार्य र संयुक्त राष्ट्रसंघ विकास कार्यक्रमको सहयोगमा गरेको हो । व्यवस्थापिका–संसद्का चारजना माननीय सदस्यहरू स्थानीय शेर बहादुर तामाङ तथा अमृत बोहरा, राजीव विक्रम शाह र रुपा महर्जन दुई दिने अभिमुखीकरण तथा एकदिने नमुना युवा संसद्को दौरानमा आई युवालाई सबै तहका निर्णय प्रक्रियामा सहभागी भई संसद् र सरकारलाई जवाफदेही बनाउन आग्रह गरेका थिए । व्यवस्थापिका संसद् र संसदीय प्रक्रियाका सम्बन्धी दुई दिने तालिम कार्यक्रम सम्पन्न गरी उक्त नमूना युवा संसद्को अभ्यास सिन्धुपाल्चोकका युवाहरूले गरेका थिए । उक्त नमुना युवा संसद्मा युवाहरूले अनौपचारिक निर्वाचन प्रक्रियामार्पmत् निर्वाचित गरेका मन्त्रिमण्डलमा ५० प्रतिशत भन्दा बढी महिला मन्त्रीहरू, २५ प्रतिशत भन्दा बढी दलित मन्त्रीहरू रहेका थिए ।
विराटलक्ष्मी विकास बैंकले १८ प्रतिशत बोनस सेयर दिने
काठमाडौं, १३ असोज । विराटलक्ष्मी विकास बैंकले १८ दशमलब ५ प्रतिशत बोनस सेयर दिने भएको छ । साथै, कर प्रयोजनको लागि बैंकले शून्य दशमलब ९७ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ । उक्त निर्णय बुधबार बसेको बैंक सञ्चालक समितिको बैठकले गरेको हो । बैठकको निर्णयलाई राष्ट्र बैंकद्धारा स्वीकृत तथा बैंकको आगामी साधारण सभाले अनुमोदन गर्नु पर्ने छ । हाल बैंकको चुक्ता पूँजी ४२ करोड ५३ लाख रुपैयाँ रहेको छ । बोनस सेयर पश्चात बैंकको पूँजी ५० करोड ४० लाख रुपैयाँ पुग्ने छ । हाल बैंकको प्रतिकित्ता सेयर करिब ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।
निर्धन उत्थान बैंकले ३१ प्रतिशत लाभांश दिने, पूँजी ५९ करोड ९७ लाख रुपैयाँ पुग्ने
काठमाडौं, १३ असोज । निर्धन उत्थान बैंकले सेयरधनीलाई ३१ प्रतिशत लाभांश दिने भएको छ । बैंकले २० प्रतिशत बोनस सेयर र ११ दशमलब ५८ प्रतिशत नगद लाभांश गरि सो मात्रामा लाभांश दिने निर्णय गरेको हो । उक्त निर्णय बुधबार बसेको बैंक सञ्चालक समितिको बैठकले गरेको हो । बैठकको निर्णय राष्ट्र बैंक तथा बैंकको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले सो मात्रामा लाभांश पाउने छन् । हाल बैंकको चुक्ता पूँजी ४९ करोड ९७ लाख रुपैयाँ रहेको छ । बोनस सेयर पश्चात बैंकको पूँजी ५९ करोड ९७ लाख रुपैयाँ पुग्ने छ । बिहीबार बैंकको प्रतिकित्ता सेयर करिब २ हजार १३० रुपैयाँमा किनबेच भइरहेको छ ।