प्रवाहित कर्जा ७.४ प्रतिशतले वृद्धि, घरजग्गामा १५ प्रतिशत मात्र बैंकको लगानी
काठमाडौं, ३ पुस । चालु आर्थिक वर्षको चार महिनामा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ७.४ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा २.७ प्रतिशतले मात्र बढेको थियो । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको चार महिनामा निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरुको ७.८ प्रतिशत र विकास बैंकहरुको ९ प्रतिशतले बढेको छ भने वित्त कम्पनीहरुको ७.२ प्रतिशतले घटेको छ । बाणिज्य बैंक र विकास बैंकहरुको तुलनामा वित्त कम्पनीहरुले कर्जा प्रबाहमा धेरै व्याज लिने भएकोले कर्जा प्रबाहमा कमी भएको हो । यस अवधिमा कृषि क्षेत्रतर्फको कर्जा ५.७ प्रतिशत, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा ५.७ प्रतिशत, निर्माण क्षेत्र तर्फको कर्जा ७.३ प्रतिशत, थोक तथा खुद्रा व्यापारतर्फको कर्जा ७ प्रतिशत, सेवा उद्योगतर्फको कर्जा ८.१ प्रतिशत र यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा १०.१ प्रतिशतले बढेको छ । गत कार्तिकसम्ममा बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहिरहेको कर्जामध्ये ६०.७ प्रतिशत कर्जा घर जग्गाको धितोमा र १४.९ प्रतिशत कर्जा चालू सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) को धितोमा प्रवाह भएको नेपाल राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः ५९.७ प्रतिशत र १२.६ प्रतिशत मात्र रहेको थियो । कात्तिकसम्ममा बैंक तथा वित्तीय संस्थाहरूको कुल लगानीमा रहेको कर्जामध्ये घरजग्गा क्षेत्रमा १५ प्रतिशत अर्थात २ खर्व ७० अर्ब ४० करोड रुपैयाँ कर्जा प्रबाह भएको छ । कात्तिक मसान्त सम्कममा बैंक तथा वित्तीय संस्थाहरूले सेयरको धितोमा प्रवाह गरेको मार्जिन प्रकृतिको कर्जा कुल कर्जाको २.२ प्रतिशत आर्थात ३९ अर्ब ३० करोड रुपैयाँ रहेको छ । त्यस्तै, वाणिज्य बैंकहरूबाट साना तथा मझौला व्यवसायमा प्रवाहित कर्जा कुल कर्जाको २.५ प्रतिशत आर्थात ३७ अर्ब ४७ करोड रुपैयाँ रहेको छ । समीक्षा अवधिमा वाणिज्य बैंकहरूबाट प्रवाहित ट्रष्ट रिसिट (आयात) कर्जा ७.४ प्रतिशत ( ५ अर्ब ३५ करोड) ले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा १ प्रतिशतले घटेको थियो ।
प्रभु बैंकको नयाँ शाखा मनाङमा सञ्चालन
काठमाडौं, ३ पुस । आइतबारदेखि प्रभु बैंकले मनाङ जिल्लाको चामेमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले यूके एड “सक्षम” को सहकार्यमा उक्त स्थानमा नयाँ शाखा कार्यालय स्थापना गरी सञ्चालनमा ल्याएको हो । नेपाल राष्ट्र बैंकका गभर्नर डा.चिरञ्जीवि नेपालले एक समारोहका बीच उक्त शाखा कार्यालयको उद्घाटन गरेका हुन् । साथै धारापानी,अपर मनाङ, ताल, ढुकुरपोखरी र पिसाङमा शाखा रहित बैंकिङ्ग सेवापनि सञ्चालनमा ल्याइएकोे बैंकद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।
आर्थिक प्रलोभनमा पारी युवतीहरुलाई ओमानसम्म पुर्याउने तीन नेपाली प्रहरीद्धारा पक्राउ
काठमाडौं, ३ पुस । नेपाली युवतीहरुलाई आकर्षक तलव भत्ता पाइने भन्दै बैदेशिक रोजगारीका क्रममा ओमानमा लैजाने एक गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । ति गिरोहले आर्थिक रुपमा विपन्न नेपाली युवतीहरुलाई राम्रो जागिर र तलव पाइन्छ भन्दै ओमानमा लैजाने गरेको पाइएको छ । पक्राउ पर्नेहरुमा नवलपरासीका ३५ बर्षीय राज कुमार खरेल, ताप्लेजुङका ४६ पूर्ण बहादुर लिम्बु र रुपन्देहीका ४१ बर्षीय हरिप्रसाद थारु रहेको प्रहरीले जनाएको छ । उनीहरु कुवेत पठाई काम दिलाउने भनि नेपालको सुनौलीबाट भारतको नयाँ दिल्ली, श्रीलंका हुँदै कुवेत तथा दुवईबाट ओमानसम्म पठाउने कार्यमा सम्लग्न रहेको प्रहरीले जनाएको छ । आइतबार पत्रकार सम्मेलन गर्दै प्रहरीले दिल्ली, श्रीलंका, कुवेत दुवइ तथा ओमानमा युवतीहरूको शारीरिक तथा मानसिक यातना तथा यौन हिंसा हुने गरेको पाइएको जानकारी दिएको छ । उनीहरुलाई प्रहरीले मानब बेचबिखन तथा ओसार पसार मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान कार्य गरिरहेको छ ।
भार्गव विकास बैंकको साधारणसभा पुस २३ गते, पुस १० गतेदेखि २३ गतेसम्म बुक क्लोज
काठमाडौं, ३ पुस । भार्गव विकास बैंकले आगामी पुस २३ गते वार्षिक साधारणसभा बोलाएको छ । सो प्रयोजनको लागि पुस १० गतेदेखि पुस २३ गतेसम्म बैंकको बुक क्लोज हुने भएको छ । उक्त निर्णय पुस ३ गते बसेको बैंकको १५४औँ बैंक सञ्चालक समितिको बैठकले गरेकोे छ ।
साङयाङको नयाँ शोरुम उद्घाटन, क्रिशमस र नयाँ वर्षमा ५ लाख छुट अफर
काठमाडौं, ३ पुस । कोरियाली कार उत्पादक कम्पनी साङयाङको नयाँ शोरुम उद्घाटन भएको छ । नेपालका लागि कोरियाली राजदुत चो यांगले नक्सालस्थित नयाँ शोरुमको उद्घाटन गरेका हुन् । नेपालमा साङयाङ कारको आयात कर्ता आइएमएस मोटर्स प्रालीले नयाँ शोरुमको सुरुवात गरेको हो । शोरुमको उद्घाटनसँगै क्रिशमस र नयाँ बर्ष २०१७ को उपलक्ष्यमा साङयाङ कारको खरिदमा नगद ५ लाखसम्म छुट अफर पनि घोषणा गरिएको छ । यस्तो छुट अफर १८ डिसेम्बरदेखि ६ जनवरीसम्म लागु हुनेछ । शोरुम उद्घाटन गर्दै नेपालका लागि दक्षिण कोरियाका राजदुत चो यांग जिनले कोरियाली जनताले जस्तै नेपाली जनताले पनि साङसाङ कार चढेर सुरक्षा र आनन्द महशुस गर्न सक्ने दावी गरेका थिए । यसैगरी, आइएमएस मोटर्स्ले नेपालका मुख्य शहरहरुमा आफ्ना डिलरहरुको उपस्थिति बढाएर बजार विस्तार अभियानलाई तिब्र बनाउने बताए । साथै, निकट भविष्यमा कम्पनीले एक्स्क्लुसिभ साङयङ सर्भिस सेन्टरको सुरुवात गर्ने समेत घोषणा गरेको छ । आइएमएस मोटर्सका अध्यक्ष दिपक मलहोत्राले आक्रामक बजार विस्तार अभियान सञ्चालन गर्ने बताएका थिए । हाल नेपालमा साङयङका एक्सएलभी, कोराण्डो, रेक्सटन, एक्टियोन लगायतका लक्जरी एसयुभी कार उपलब्ध गराएको छ । साङयङका कारहरुमा अल्ट्रा हाई स्ट्रेन्थ, बुटस्पेश, डुअल अटोमेटिक एसी, ब्ल्युटुथ कनेक्टिभीटी लगायतका सुबिधा रहेका छन् । साङयङ मोटर कम्पनी दक्षिण एसियाको चौथो ठूलो अटोमोबाइल उत्पादक कम्पनी हो जसलाई कोरियाको एसयूभी एक्स्पर्ट भनेर पनि चिनिन्छ । कम्पनीले विभिन्न मोडलका लक्जरी कार, एसयूभी, पिक-अप ट्रक, भ्यान, ट्रक तथा बसहरु निर्माण गर्दै आएको छ ।
नेप्से परिसूचक सामान्य अंकले वृद्धि, ६२ करोडको सेयर कारोबार
काठमाडौं, ३ पुस । लगातार घटिरहेको सेयर बजारमा केही सुधार आएको छ । आइतबार नेप्से परिसूचक १ दशमलब २९ अंकले बढेर १५३१ दशमलब ३५ अंकमा पुगेको छ । बजारमा परिसूचक साथै कारोबार रकममा पनि केही सधार भएको छ । सो दिन १३३ कम्पनीको ७५ लाख २४ हजार कित्ता सेयर ६२ करोड २० लाख २२ हजार रुपैयाँमा किनबेच भएको छ । सो दिन सबैभन्दा बढी एभरेष्ट बैंकको सेयर कारोबार भएको छ । १५ करोड ३४ लाख रुपैयाँको सेयर किनबेच भएको बैंकको सेयरको मूल्य प्रतिकित्ता ३ हजार २९९ रुपैयाँ रहेको छ । आइतबार बीमा, होटल र अन्य समूहको परिसूचक बाहेक कारोबार भएका बाँकी समूहको परिसूचक ओरालो लागेका छन् । बीमा, होटल र अन्य समूहको परिसूचक क्रमशः ७२, ९ र २ अंकले उकालो लागेका छन् । सबैभन्दा बढी हाइड्रोपावर समूहको परिसूचक १३ दशमलब ३५ अंकले घटेका छन् । अल्पाइन डेभलपमेन्ट बैंक र एनबी इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले ९ प्रतिशत भन्दा बढी कमाएका छन् । त्यस्तै, प्रोगेसिभ फाइनान्स कम्पनीका लगानीकर्ताले ९ प्रतिशत भन्दा बढी गुमाएका छन् ।
पाँच महिनामा साढे ८६ अर्ब लगानी प्रतिवद्धता
काठमाडौं, ३ पुस । राजनीतिक स्थिरतासँगै देशमा लगानी पनि विस्तार हुन थालेको छ । चालू आर्थिक २०७३/७४ को ५ महिनामा ८६ अर्ब ५७ करोड रुपैयाँको लगानी प्रतिवद्धता भएको छ । सो अवधिमा भएको लगानी अघिल्लो आव २०७२/७३ को समीक्षा तुलनामा १४ अर्ब ५२ करोड रुपैयाँले बढी हो । अघिल्लो आवको सो अवधिमा ७२ अर्ब ५ करोड रुपैयाँ लगानी भएको थियो । देशमा राजनीतिक स्थिरतासँगै लगानीका विभिन्न क्षेत्र पूर्वाधार निर्माण, उत्पादन र उत्पादकत्व बढाउन तथा लगानी भित्र्याउने लक्ष्य राज्यले लिएकोे र लगानीकताहरुलाई प्रोत्साहन गर्न विभिन्न स्कीमहरु ल्याएकोले लगानी बढेको उद्योग मन्त्रालयले बताएको छ । उद्योग दर्तादेखि खारेजी प्रक्रियामा समेत सहज बनाउँदै लगेका कारण लगानीमा वृद्धि हुँदै गएको उद्योग मन्त्रालयकी प्रवक्ता यमकुमारी खतिवडाले बताइन् । ‘अब औद्योगिक ऐन पनि संशोधन भएको छ भने सेज कानुन पनि आएको छ,’ उनले भनिन् ‘यसले उद्योगीहरुमा अझ उत्साह थपेकोले आउँदा दिनमा अझै लगानी बढ्नेछ ।’ अघिल्लो आवमा भूकम्प र नाकाबन्दी तथा औद्योगिक ऐन पनि परिमार्जनको अवस्थामा भएकोले पर्ख र हेरको अवस्थामा उद्योगीहरु त्यतिकै लगानी गर्न चाम्रिएका थिए । चालू आवमा उद्योगमैत्री वातावरण सिर्जना हुँदै गएको, उद्योगबाट प्रशस्तै फाइदा दिन सकिने सम्भावना देखिएपछि लगानी बढेको नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारकाले बताए । ‘अझ सरकारले उद्योग स्थापनाको लागि पूर्वाधारको तयारी र लगानीको सुरक्षा प्रत्याभुत गरिदिएमा लगानी अझै बढ्छ,’ उनले भने । उद्योग विभागको तथ्याङ्क हेर्दा लगानीकर्ताहरुले लगानीको ट्रेनलाई परिवर्तन गरेका छन् । समीक्षा अवधिमा अघिल्लो वर्ष उत्पादनमूलक उद्योगमा लगानी बढी भएपनि चालू आवमा ऊर्जामूलक उद्योगमा बढी लगानी भएको देखिएको छ । ५ महिनाको सो अवधिमा ५२ अर्ब २० करोड रुपैयाँ ऊर्जामूलक उद्योगमा लगानी भएको छ । लगानीकर्ताहरुले दोस्रो लगानीको क्षेत्र उत्पादनमूलक उद्योगलाई लिएका छन् । साउनदेखि मंसिरसम्मको सो अवधिमा उत्पादनमूलकमा सेवा उद्योगमा १४ अर्ब ९९ लाख रुपैयाँ लगानी भएको छ भने सेवा उद्योगमा १० अर्ब रुपैयाँ लगानी भएको उद्योग विभागको तथ्याङ्कमा उल्लेख गरिएको छ । चालू आवको ५ महिनामा २ सय ३८ वटा उद्योगहरु उद्योग विभागमा दर्ता भएका छन् । समीक्षा अवधिमा ५ अर्ब ४३ करोड पर्यटनमूलक उद्योगमा लगानी प्रतिवद्धता भएको छ भने कृषि तथा वनजन्य उद्योगमा २ अर्ब २६ करोड निर्माण उद्योगमा १ अर्ब र खनिज उद्योगमा ७ करोड १७ लाख लगानी प्रतिवद्धता भएको छ । चालू आवका लगानी प्रतिवद्धता भएका उद्योगहरु सञ्चालनमा आए ७ हजार जनशक्तिलाई रोजगारी सिर्जना हुने देखिएको छ । अघिल्लो वर्ष सबैभन्दा बढी उत्पादनमूलक उद्योगमा कुल लगानीको आधाभन्दा बढी लगानी भएको छ । समीक्षा अवधिमा उत्पादनमूलक उद्योगमा मात्रै ४३ अर्ब ८९ करोड रुपैयाँ लगानी भएको छ । लगानी प्रतिवद्धताको दोस्रो स्थान ऊर्जामूलक उद्योगले लिएको छ । देशमा नयाँ नयाँ जल विद्युत आयोजना विस्तार हुँदै जाँदा ऊर्जा क्षेत्रमा लगानी बढेको हो । पर्यटन र सेवामूलक उद्योगमा पनि करिब साढे ५ अर्ब लागनी भएको छ भने अन्य उद्योगको तुलनामा कृषि तथा वनजन्य उद्योग र निर्माण उद्योगमा भएको लगानी नगन्ने छ । अघिल्लो आवमा भएको उद्योगहरुमा ८ हजार ३ सय ४३ जनाले रोजगारी पाउने भएका छन् ।
हुन्डाईद्धारा ट्राफिक प्रहरीलाई २५ थान भिडियो क्यामेरा सहयोग
काठमाडौं, ३ पुस । हुन्डाई गाडीको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लिले कर्पोरेट सामाजिक उतरदायित्व अन्तर्गत जिल्ला प्रहरी कार्यालय, कास्कीलाई २५ थान क्यामरा हस्तान्तरण गरेको छ । हुन्डाई मोटर्सले ल्याएको अभियान अन्तर्गत ६ वटा विषय ड्रिम मुभ, नेक्स्ट मुभ, इजि मुभ, ग्रीन मुभ, सेभ मुभ र ह्यापी मुभमा गर्दै आएको छ । यी हरेक कदमले समाजमा गर्दै आएको योगदानमा कम्पनीको दृष्टिकोण झल्किएरहेको छ । ट्राफिक सुरक्षा अभियान अन्तराष्ट्रिय हुन्डाई कर्पोरेट सामाजिक उत्तरदायित्वको मुख्य आधार रहि आएको छ । सेफ मुभ अन्तर्गत हुन्डाई २५ थान ड्यास कम ट्राफिकलाई हस्तान्तरण गरेको छ । सो ड्यासबोर्डको क्यामेराले गाडीको वाइन्ड स्क्रिनबाट निरन्तर भिडियो रेकर्ड गर्न सक्ने छ । सो क्यामेरा वाइन्ड स्क्रिनको भित्री भाग वा ड्यासबोर्डको माथिल्लो भागमा जडान गर्न सकिने छ । यसले दुर्घटनाको प्रमाण दिनुका साथै ट्राफिक नियम उल्लंघन र बीमा ठगीहरु पनि नियन्त्रण गर्न सहयोय पुर्याउने छ । यसले ट्राफिक व्यवस्थापनको पनि अध्ययन गर्न सघाउने छ । उक्त क्यामेराले २४ एफपिएस भिडियो १२८० * ७२० पिक्सेलमा रेकडिङ् गर्दछ । साउन्ड रेकडिङ् र ६४ जिबीको मेमोरी कार्ड सपोर्ट गनुको सार्थ यसले २४ घण्टा निरन्तर भिडियो रेकर्ड गर्दछ । साथै यसमा रहेको जिपिएसले गाडीको गति देखाउँदछ । यसमा वाइड एन्जल लेन्स छ भने यसले १३२ डिग्रीको दृश्य वाइड स्क्रीनबाट देखाउँदछ ।