विकासन्युज

नमस्ते वित्तीय संस्थाको २५ प्रतिशत लाभांश दिने प्रस्ताव राष्ट्र बैंकद्धारा स्वीकृत

काठमाडौं, १५ मंसिर । नमस्ते वित्तीय संस्थाको २५ दशमलब २६ प्रतिशत लाभांश दिने प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृति दिएको छ । कम्पनीले २४ प्रतिशत बोनस र एक दशमलब २६ प्रतिशत नगद लाभांश गरि सो मात्रामा लाभांश दिने प्रस्ताव गरेको थियो । अब कम्पनीको उक्त प्रस्तावलाई कम्पनीको आगामी साधारणसभाले अनुमोदन गर्नु पर्ने छ । उक्त सभाले अनुमोदन गरेपछि मात्र संस्थाका लागानीकर्ताले सो मात्रामा लाभांश पाउने छन् ।

बजारमा नुन अभाव हल्ला मात्र, हल्लाको पछि नलाग्न सर्वसाधारणलाई आग्रह

पोखरा, १५ मंसिर । साल्ट ट्रेडिङ कर्पोरेसनको पोखरास्थित गण्डकी अञ्चल कार्यालयले नुन अभाव नरहेको जनाएको छ । गोदाममा पर्याप्त मात्रामा नुन रहेकाले बजारमा अभाव भएको कुरा हल्ला मात्र भएको कार्यालयका लेखापाल सागर शेरचनले बताए । उनले हल्लाकापछि नलाग्न सर्वसाधारणलाई आग्रह गरेका छन् । गोदाममा रहेको नुन “हाम्रो गोदाममा करिब २० हजार क्विन्टल नुन भण्डारण गरिएको छ,” उनले भने । पोखरा कार्यालयमार्फत गण्डकी अञ्चलभित्र बर्सेनि करिब ६५ हजार क्विन्टल नुन बिक्री वितरण हुँदै आएको छ । रासस

माथिल्लो कर्णाली र अरुण थ्रीः जिएमआर र सतलजले लगानी जुटाउन सकेनन्

काठमाडौं, १५ मंसिर । ९००/९०० मेगावाट क्षमताको माथिल्लो कर्णाली जलविद्युत आयोजना र अरुण थ्रीको निर्माणकर्ता कम्पनी जिएमआर र सतलज जलविद्युत निगम लगानी जुटाउन असफल भएका छन् । पावर डेभलपमेन्ट एग्रिमेन्ट(पिडिए)अनुसार माथिल्लो कर्णालीको निर्माता कम्पनी जिएमआरले असोज ३ गते र अरुण थ्रीको सतलजले मंसिर १० गते भित्र वित्तिय व्यवस्थापन(लगानीको श्रोत) जुटाई सक्नुपर्ने थियो । तर यी दुबै कम्पनीले हालसम्म वित्तिय व्यवस्थापन गर्न सकेका छैनन् । ‘जिएमआर र सतलज दुबैले तोकिएको समयमा वित्तिय व्यवस्थापन गर्न सकेनन्, यसले आयोजना अघि बढाउन केहि समस्या उत्पन्न भएको छ, समयमै काम सम्पन्न गर्न पनि समस्या हुने देखेका छौं’, लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले भने । व्यवस्थापिका संसदको विकास समिति बैठकमा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी र समिति सभापति रबिन्द्र अधिकारी । जिएमआरले भूकम्पलाई कारण देखाउँदै वित्तिय व्यवस्थापनका लागि समय थपिदिन आग्रह गरेको पनि उनले जानकारी दिए । तर सतलजले भने अझै पनि वित्तिय व्यवस्थापन किन गर्न नसकिएको हो र कहिले गर्ने भन्नेबारे कुनै जानकारी दिएको छैन् । ‘जिएमआरले भूकम्पका कारण लगानी जुटाउन ढिलो भएको बताउँदै समय थप्न माग गरेको छ, तर सतलजले अझै केहि जानकारी दिएको छैन’, प्रमुख कार्यकारी अधिकृत अधिकारीले भने । उनले भूकम्पलाई कारण बताउँदै जिएमआरलाई समय थपिदिँदा नेपाललाई नोक्सानी हुन सक्ने बताउँदै बोर्डले सचेतता पुर्वक निर्णय गर्ने प्रतिवद्धता पनि व्यक्त गरे । जिएमआर भारतीय निजी कम्पनी हो भने सतलज जलविद्युत निगम भारतको पब्लिक कम्पनी हो । माथिल्लो कर्णालीको लागत ११५ अर्ब प्रक्षेपण गरिएको छ भने अरुण थ्रीको लागत ६७ अर्ब प्रक्षेपण गरिएको छ । माथिल्लो कार्णालीको पिडिएमा निर्माण कर्ता कम्पनी जिएमआरसँग नेपालले २०७१ असोज ३ गते हस्ताक्षर गरेको थियो भने अरुण थ्रीको पिडिएमा लागि सतलजसँग २०७१ मंसिर ९ गते हस्ताक्षर गरेको थियो । माथिल्लो कर्णालीले सन २०२१ सेप्टेम्बर १९देखि विद्युत उत्पादन गर्ने पिडिएमा उल्लेख गरिएको छ । त्यस्तै, अरुण थ्रीले सन २०२३ नोभेम्बर २५ देखि विद्युत उत्पादन थाल्ने उल्लेख छ । तर यी दुबै कम्पनीले तोकिएको समयमा वित्तिय व्यवस्थापन अर्थात लगानी जुटाउन नसकेपछि आयोजना समयमै सम्पन्न गर्न समेत नसक्ने देखिएको हो । ‘दुबै कम्पनीले वित्तिय व्यवस्थापन गर्न सकेका छैनन्, समयमै काम सम्पन्न गर्नमा पनि आशंका उत्पन्न भएको छ, हामी गहन अध्ययन गरिरहेका छौं’, अधिकारीले भने । माथिल्लो कर्णालीबाट नेपालले २५ बर्षमा १५६ अर्ब रोयल्टी, ८३ अर्ब आयकर र १२ प्रतिशत निःशुल्क विद्युत, २७ प्रतिशत निःशुल्क इक्विटी र २ मेगावाट बराबरको ग्रामिण विद्युतिकरण उपलब्ध हुनेछ । त्यस्तै, अरुण थ्रीबाट नेपालले १५० अर्ब रोयल्टी, ७७ अर्ब आयकर, २१ दशमलब ९ प्रतिशत निःशुल्क विद्युत र प्रभावित नागरिकलाई प्रतिपरिवार प्रतिमहिना ३० युनिट विद्युत उपलब्ध हुनेछ ।

नेप्से परिसूचक १६०० माथि, एक अर्ब ३६ करोड रुपैयाँको सेयर कारोबार

काठमाडौं, १५ मंसिर । लगातार ओरालो लागेको नेप्से परिसुचक पछिल्लो ३ दिनमा उत्तरचढाव हुँदै उकालो लागेको छ । घटेर १४ सय अंक मुनि झरेको  परिसचक ३ दिनमै उच्च अंक (१३७) ले बढेर बुधबार १६०० अंक माथि पुगेको छ ।  परिसुचक सोमबार ४०, मंगलबार ४३ र बुधबार ५४ अंकभन्दा बढीले बढेको हो । बुधबार ५४ दशमलब ६५ अंकले बढेर १६०८ दशमलब ३३ अंकमा पुगेको छ । सो दिन १३५ कम्पनीको १५ लाख २५ हजार कित्ता सेयर एक अर्ब ३६ करोड रुपैयाँमा किनबेच भएको छ । बजारमा सबैभन्दा बढी एभरेष्ट बैंकको २० करोड रुपैयाँ बढीको सेयर कारोबार भएको छ । बैंकको प्रतिकित्ता सेयर ३ हजार २९८ रुपैयाँमा किनबेच भएको छ । त्यस्तै, बैंक अफ काठमाडौं लुम्बिनी, शिखर इन्स्योरेन्स र सिद्धार्थ बैंकको ५ करोड भन्दा बढी रुपैयाँको सेयर कारोबार गरेको छ । लाइफ इन्स्योरेन्स कम्पनी नेपाल र मेगा बैंकको ४ करोड रुपैयाँको सेयर कारोबार भएको छ । सो दिन बजारमा कारोबार भएका सबै परिसूचकहरु उकालो लागेका छन् । सबैभन्दा बढी बीमा समूहको परिसूचक ३२६ अंकले उक्लिएको छ । होटल समूह सामान्य रहेको छ भने बाकी समूहको सूचकहरु दोहोरो अंकले उकालो लागेका छन् । बुधबार नेपाल इन्स्योरेन्स कम्पनी, मितेरी डेभलपमेन्ट बैंक र वोमी माइक्रोफाइनान्स वित्तिय संस्थाका लागानीकर्ताले १० प्रतिशत नाफा कमाएका छन् । राष्ट्रिय बीमा कम्पनी र लक्ष्मी लघुवित्तको सेयर मूल्य बराबर ९.९९ प्रतिशतले बढेको छ । त्यस्तै, ९ प्रतिशत भन्दा बढी कमाउनेमा अन्य ११ कम्पनीका लगानीकर्ताहरु रहेका छन् । सो दिन सबैभन्दा बढी मिर्मिरे माइक्रोफाइनान्सको सेयर मूल्य करिब ४ प्रतिशतले घटेको छ ।

सेयर बजारमा आएको उतारचढाव सामान्य हो: गभर्नर डा.नेपाल

काठमाडौं, १५ मंसिर । नेपाल राष्ट्र बैंकका गभर्नर डा.चिरन्जीवी नेपालले सेयर बजारको उचारचढाव सामान्य भएको बताएका छन् । नेपाल धितोपत्र बोर्डका पूर्व अध्यक्ष समेत रहेका गभर्नर नेपालले बजार घट्नु र बढ्नु सामान्य रहेको बताउँदै त्यसलाई ठूलो रुपमा नलिन आग्रह गरे । नेपाल आर्थिक पत्रकार समाजको १९ औ स्थापना दिवसको अवसरमा बोल्दै गभर्नर नेपालले सेयर बजार विश्वव्यापी रुपमा घटबढ हुने भन्दै यसलाई दीर्घकालिन लगानीको रुपमा हेरिनुपर्ने बताए । उनले सेयर बजारमा सवैभन्दा बढी हिस्सा बैंक तथा वित्तिय संस्थाको रहेकोले राष्ट्र बैंकले नजिकबाट नियाली रहेको पनि दावी गरे । ‘पुँजी बजार भनेको छरिएर रहेको पैसा एकीकृत गर्ने हो । सेयरबजारमा जम्मा भएको पैसा पनि कुनै न कुनै संस्थाले कुनै स्थानमा लगानी गरिहेको हुन्छ गभर्नर,’ नेपालले भने । ‘बाणिज्य बैंकहरुको पुँजी आठ अर्व बनाउँदा ठूलो हाउगुजी थियो अहिले तिनै मानिसहरु पुँजी १६ अर्व पुर्याउनुपर्ने, १२ अर्व पुर्याउनुपर्ने भन्दै हिडेका छन्’ उनले भने । बाणिज्य बैंकहरुको पुँजी आठ अर्व बनाउँदा पनि नेपाली जनताले नै आफ्नो पैसा हालेको उनले स्पष्ट पारे । सोही अवसरमा गभर्नर डा.नेपालले भारतीय ५०० र एक हजार रुपैयाँको विषयमा दैनिकजसो रिजर्भ बैंक अफ इन्डिया र भारतीय राजदुतसँग आफ्नो कुराकानी भइरहेको बताए । उनले भने –‘ हाम्रो प्रधानमन्त्री र अर्थमन्त्रीले भारतीय समकक्षीसँग दुईपटक कुराकानी गरिसक्नु भएको छ यसबारे भारत सकारात्मक रहेको छ । त्यसैले ५०० र एक हजार दरका नोट साटिने व्यवस्था अव छिट्टै हुन्छ ।’ त्यस्तै उनले रेमिट्यान्सको बृद्धिदर घट्दो रहेको जनाउँदै आयातमा निर्भर राजस्व र रेमिट्यान्सको भरमा राज्य सञ्चालन हुदा ठूलो दुर्घटना हुन सक्ने पनि बताए । उनले आन्तरिक रुपमा उत्पादन बढाउनका लागि राष्ट्र बैंकले व्यवसायीलाई कर्जा सहजीकरण गरिएको पनि दावी गरे । त्यस्तै कार्यक्रममा उपराष्ट्रपति नन्द बहादुर पुनले देशको व्यापार घाटा चुलिदो रहेको बताए । उनले भने –‘हामीले गतवर्ष ८ अर्बको तरकारी र २३ अर्बको चामल छिमेकी मुलूकबाट आयात गरेछौँ । कृषिको लागि उर्बर भूमीमा बसिरहेका हामी नेपालीले यति ठूलो मात्रामा कृषिजन्य वस्तु आयात गर्नु हाम्रो लागि लज्जाको विषय नै हो । आयात वृद्धि भएर व्यापार घाटा उच्च हुनु द्रुत आर्थिक विकास खोजीरहेका हाम्रो लागि चुनौतीको विषय पक्कै हो । तर, हामी आत्तिनुपर्ने अवस्था मैले देखेको छैन । ’ सोही कार्यक्रममा उर्जामन्त्री जनार्दन शर्माले अव देश आर्थिक विकासमा लाग्नु पर्ने बताए । सो कार्यक्रममा सेजनद्धारा प्रकाशित गरिएको अर्थनीति पनि सार्वजनिक गरिएको थियो ।

एसिया कप क्रिकेट- नेपालले थाइल्यान्डसंग सामना गर्ने, खेल बिहीबार हुँदै

काठमाडौं, १५ मंसिर । थाइल्यान्डमा जारी एसिसी महिला एसिया कप टि–ट्वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत चौथो खेलमा नेपालले आयोजक थाइल्यान्डसंग सामना गर्ने भएको छ । बैंककस्थित एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीको खेल मैदानमा भोलि बिहीबार हुने खेलमा नेपाल थाइल्यान्डसंग प्रतिस्पर्धा गर्ने भएको हो । नेपालले थाइल्यान्डलाई पराजित गरेपनि यसअघिको लगातारको हारले गर्दा अन्तिम प्रतिस्पर्धामा पुग्ने सम्भावना भने समाप्त भएको छ । जारी प्रतियोगितामा यसअघि तीन खेल खेलेको नेपाल तीनै खेलमा पराजय भोग्दै अङ्क विहीन छ । नेपालले पहिलो खेलमा पाकिस्तानसँग नौ विकेटले पराजित भयो भने दोस्रो खेलमा श्रीलङ्कासँग आठ विकेटको लज्जास्पद हार बेहारेको थियो । त्यतिबेला नेपालले जम्मा २३ रन मात्र जोडेको थियो, जुन नेपाली महिला क्रिकेट इतिहासकै अत्यन्त न्यून स्कोर हो । यसअघि सन् २०१४ को इन्चोन एसियाली खेलकुद प्रतियोगितामा नेपालले बङ्गलादेशविरुद्ध खेलमा २६ रन बनाएको थियो । त्यसैगरी मङ्गलबार भएको खेलमा नेपाल बङ्गलादेशसँग ९२ रनले पराजित हुन पुग्यो । लामो समयदेखि देशभित्र खेल्ने वातावरण पाउन नसकेको महिला टोलीले थाइल्यान्डमा पनि सन्तोषजनक नतिजा हात पार्न सकेन । प्रतियोगितामा आयोजक थाइल्यान्डबाहेक नेपालको सबै प्रतिद्वन्द्वी पाकिस्तान, श्रीलङ्का, बङ्गलादेश र भारत टेस्ट राष्ट्र टोली हुन् । रासस

रमेश र किरणले पाए सेजन अवार्ड, चार पत्रकारलाई एचबीएल फेलोसिप

काठमाडौं, १५ मंसिर । नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आफ्नो १९ औ  स्थापना दिवसको अवसर पारेर दुईजना पत्रकारलाई सेजन अवार्ड प्रदान गरेको छ ।  सेजन अवार्ड पाउनेहरुमा छापा माध्यमबाट हिमाल मिडियाका रमेश कुमार र विद्युतीय सञ्चार माध्यमबाट रेडियो कान्तिपुरका किरण अधिकारी रहेका छन् । वर्षभरी उत्कृष्ट आर्थिक समाचार संम्प्रेषण गर्ने दुई पत्रकारहरुलाई सेजनले आफ्नो स्थापनाको अवसर पारेर सेजन अवार्ड दिने गरेको छ । वर्षभरी उत्कृष्ट आर्थिक समाचार संम्प्रेषण गर्ने दुई पत्रकारहरुलाई सेजनले आफ्नो स्थापनाको अवसर पारेर सेजन अवार्ड दिने गरेको छ । त्यस्तै सेजन डेको अवसर पारेर एचवीएल–सेजन आर्थिक पत्रकारिता फेलोशिपको लागि चारजना छनौट भएका छन् । अनलाइनबाट उद्धव थापा, अंग्रेजी दैनिकबाट सागर घिमिरे, टेलिभिजनबाट सुनिता कार्की र नेपाली पत्रिकाबाट विनय बञ्जरा छनौट भएका हुन् ।

मिस्त्रीखोला जलविद्युत् आयोजना निर्माण शुरु, लगानीका लागि ७ कम्पनीसँग ऋण सम्झौता

म्याग्दी, १५ मंसिर । नारच्याङमा ४२ मेगावाट क्षमताको मिस्त्रीखोला जलविद्युत् आयोजना निर्माण कार्य सुरु भएको छ । पाँच अर्ब ६४ करोड रुपैयाँको लागतमा रोवस्ट इनर्जी कम्पनीले निर्माण सुरु गरेको उक्त आयोजना आगामी सन् २०१८ को डिसेम्बरसम्ममा सम्पन्न गर्ने लक्ष्य रहेको छ । एक सय ८० मिटर पहुँच मार्ग निर्माण सकेर मुख्य सुरुङको काम सुरु गरेको आयोजनाका प्रमुख इन्जिनियर दामोदर श्रेष्ठले जानकारी दिए । “छिट्टै बाँध र विद्युत्गृहको पूर्वाधार निर्माणको काम सुरु गर्ने तयारी भएको छ,” उनले भने । नारच्याङ बेँसीदेखि निलगिरि र घलेम्दी खोलाको दोभानमा रहने बाँधसम्म नौ किलोमिटर सडक र तीन वटा बेलीब्रिज निर्माण भइसकेको छ । दुई हजार ३०० मिटर सुरुङबाट ल्याइने पानी तीन सय चार मिटरको हेडबाट नारच्याङ बेँसीमा निर्माण हुने विद्युत् गृहमा खसालेर बिजुली निकालिनेछ । आयोजनाको लागि लगानी जुटिसकेको प्रबन्ध निर्देशक डोलराज शर्माले बताए । नेपाल इन्भेस्टमेन्ट बैंकसँग ७० करोड रुपैयाँ, जलविद्युत् विकास कम्पनीसँग एक अर्ब रुपैयाँ र नेपाल बैंकसँग ५० करोड रुपैयाँ ऋण सम्झौता भइसकेको छ । यसैगरी नविल बैंकबाट एक अर्ब रुपैयाँ, लक्ष्मी बैंकबाट ४० करोड रुपैयाँ, सिद्धार्थ बैंकबाट ३० करोड रुपैयाँ र एस डेभलभमेन्ट बैंकबाट ३० करोड रुपैयाँ ऋण लगानीका लागि सम्झौता भएको बताइएको छ । मिस्त्रीखोलाले विसं २०६४ मा निर्माणका लागि अनुमति पाएको थियो । नेपाल विद्युत् प्राधिकरणले २२० केभी कालीगण्डकी करिडोर प्रसारण लाइन र दाना सव स्टेसन निर्माणमा ढिलाइ गर्दा सो आयोजना नौ वर्षपछि धकेलिएको हो । रासस