मनसुनजन्य विपद् जोखिम न्यूनिकरणका लागि पूर्वसूचना प्रणाली चुस्त पारिएको छ : गृहमन्त्री लेखक
काठमाडौं । गृहमन्त्री रमेश लेखकले मनसुनजन्य विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना प्रणाली चुस्त पारिएको बताएका छन् । आइतबार राष्ट्रिय सभाअन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा बोल्दै गृहमन्त्री लेखकले यस्तो बताएका हुन् । उनले मनसुनजन्य विपद् जोखिम न्युनिकरण र प्रतिकार्यका लागि समेत आवश्यक गृहकार्य भइरहेको बताए । गृह मन्त्रालय मातहत रहेको विपद् जोखिक न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले सरोकारवाला सबैसँग आवश्यक समन्वय र सहकार्य गरिरहेको समेत जानकारी दिए । उनले भने, ‘अहिले मनसुनको समय छ । मनसुनको समयमा विभिन्न जोखिमहरु उत्पन्न हुने गर्दछन् । त्यसको जोखिम न्युनिकरणका लागि पूर्वसूचना प्रणालीलाई दुरुस्त गर्ने, विपद् आइसकेपछि प्रतिकार्यका कामहरु गर्नको लागि तयारी गरिरहेका छौं । हामीसँग कानूनले नै विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरण गठन भएको छ । गृह मन्त्रालय त्यसको सम्पर्क मन्त्रालय हो ।’ यस वर्षको मनसुनमा देशका अधिकांश स्थानहरुमा सरदरभन्दा बढी वर्षा हुने अनुमान गरिएको छ । विपद्का सम्भावित जोखिमयुक्त क्षेत्रमा खोज तथा उद्धार र सामग्रीको भण्डारण, डोजर, स्काभेटर लगायतका हेभी इक्यूपमेन्ट तयारी अवस्थामा रहेको समेत बताइएको छ ।
नबिल र ग्लोबलको प्रतिस्पर्धा, ५४ अर्ब रुपैयाँ नाफा गर्दा ३ बैंक करोड क्लबमा सीमित
काठमाडौं । वाणिज्य बैंकहरुले ११ महिनामा ५४ अर्ब रुपैयाँ भन्दा बढी नाफा आर्जन गरेका छन् । नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष २०८१/८२ को जेठ मसान्तसम्ममा २० वटा वाणिज्य बैंकले ५४ अर्ब ८ करोड ४३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका हुन् । ११ महिनामा सबैभन्दा धेरै नाफा नबिल बैंकले गरेको छ । नबिलले ६ अर्ब ४० करोड रुपैयाँ नाफा आर्जन गरेको राष्ट्र बैंकले जनाएको छ । यस्तै, ग्लोबल आइएमई बैंकले ६ अर्ब ३ करोड ६४ लाख रुपैयाँ नाफा गरेर दोस्रो स्थानमा रहेको छ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईमबि)ले ५ अर्ब ६८ करोड ८१ लाख रुपैयाँ, एभरेष्ट बैंकले ४ अर्ब २४ करोड रुपैयाँ, नेपाल बैंकले ३ अर्ब ७ करोड रुपैयाँ, एनएमबि बैंकले ३ अर्ब ३ करोड रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । यस्तै, जेठसम्ममा प्राइम बैंकले २ अर्ब ९० करोड रुपैयाँ, स्ट्याण्डर्ड चार्टर्ड बैंकले २ अर्ब ७२ करोड रुपैयाँ, लक्ष्मी सनराइज बैंकले २ अर्ब ५७ करोड रुपैयाँ, प्रभु बैंकले २ अर्ब ३१ करोड रुपैयाँ, सिद्धार्थ बैंकले २ अर्ब २१ करोड रुपैयाँ नाफा आर्जन गरेका छन् । यस्तै, राष्ट्रिय वाणिज्य बैंकले २ अर्ब २० करोड रुपैयाँ, सानिमा बैंकले २ अर्ब १५ करोड रुपैयाँ, कृषि विकास बैंकले १ अर्ब ८१ करोड रुपैयाँ, नेपाल एसबिआई बैंकले १ अर्ब ५४ करोड रुपैयाँ, माछापच्छ«े बैंकले १ अर्ब ५० करोड रुपैयाँ, सिटिजन्स बैंकले १ अर्ब ४१ करोड रुपैयाँ खुद नाफा गरेको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकका अनुसार हिमालयन बैंकले ९० करोड ५३ लाख रुपैयाँ, एनआईसी एशिया बैंकले ८२ करोड ९७ लाख रुपैयाँ र कुमारी बैंकले ४८ करोड १९ लाख रुपैयाँ नाफा गरेका हुन् ।
नवराज सुवेदीको प्रतिक्रिया : अध्यक्ष लिङदेनको स्वेच्छाचारिता रोक्न निर्वाचन आयोग गुहारेँ
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अनुशासन समितिबाट हटाइएपछि वरिष्ठ नेता नवराज सुवेदीले निर्वाचन आयोगमा उजुरी दिएका छन् । अध्यक्ष राजेन्द्र लिङदेनले असार २५ गते नेता सुवेदी पार्टी सदस्य नरहेको निष्कर्ष निकाल्दै अनुशासन समिति अध्यक्षबाट हटाएर रोशन कार्कीलाई अध्यक्ष पदमा मनोनित गरेका थिए । सोही निर्णयका विरुद्ध पार्टीका पूर्वअध्यक्ष प्रकाशचन्द्र लोहनी र महामन्त्रीद्वय धवल समशेर जबरा र कुन्ती शाहीसहित आइतबार उनी निर्वाचन आयोग पुगेका हुन् । आयोगमा उजुरी दिएपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै नेता सुवेदीले पार्टीको निर्णयबिना अध्यक्षको स्वेच्छाचारिताले आफूलाई अनुशासन समितिबाट हटाएको कारण उजुरी दिन पुगेको प्रतिक्रिया दिए । उनले अध्यक्ष लिङदेनले प्राकृतिक न्यायको विरुद्धमा निर्णय गरेको पनि आरोप लगाए । पार्टीभित्र भइरहेको षड्यन्त्र नहोस् र निष्पक्ष न्यायका लागि आयोगमा उजुरी दिएको दोहो¥याउँदै उहाँले थप प्रतिक्रिया पछि दिने जानकारी दिए । उनले भने, ‘अध्यक्षको स्वेच्छाचारिताले मलाई अनुशासन समितिबाट हटाइएको हो । केन्द्रीय समितिको बैठकबाट कुनै निर्णय भएको छैन । त्यसकारण म निर्वाचन गर्न आएको हो । पार्टीभित्र अन्याय भइरहेकोले त्यसको खिलापमा मैले आवाज उठाएको हो । पार्टीभित्र यस्तो षड्यन्त्र नहोस् भनेर म उजुरी गर्न आएको ।’ राजसंस्था पुनःस्थापनको आफूहरुको आन्दोलन जारी रहेको पनि दाबी गर्नुभयो । पार्टीभित्र कुनै गुट नहुन् भन्ने पक्षमा आफू रहेको पनि उनको भनाइ छ ।
स्पेसएक्सले एक्सएआईमा दुई अर्ब अमेरिकी डलर लगानी गर्ने
काठमाडौं । एलन मस्कको स्पेसएक्सले आफ्नो आर्टिफिसियल इन्टेलिजेन्स कम्पनी एक्सएआईमा दुई अर्ब अमेरिकी डलर लगानी गर्न सहमत भएको कम्पनीनिकट लगानीकर्तालाई उद्धृत गर्दै वाल स्ट्रिट जर्नलले शनिबार जनाएको छ । मोर्गन स्टेनलीले गत महिना घोषणा गरेको एक्सएआईको पाँच अर्ब डलरको ‘इक्विटी फन्ड’ जम्मा गर्ने एक हिस्साका रुपमा यो लगानी गरिएको रिपोर्टमा उल्लेख छ । यो स्पेसएक्सको एक्सएआईमा पहिलो ज्ञात लगानी हो र अर्को कम्पनीमा यसको सबैभन्दा ठूलो लगानी हो । मस्कले एआई सञ्चालनलाई प्रोत्साहन गर्न आफ्नो व्यापार साम्राज्यलाई बारम्बार परिचालन गरेका छन् । मस्को लगानीको एक्स एआई (एक अग्रणी एआई अनुसन्धान र परिनियोजन कम्पनी च्याटजीपीटी प्लेटफर्म सिर्जना गर्नका लागि प्रसिद्ध) ओपनएआईसँग प्रतिस्पर्धा गरिरहेको छ । यस वर्षको सुरुमा उनले एआई अनुसन्धान प्रयोगशाला एक्सएआर्ईलाई सामाजिक सञ्जाल प्लेटफर्म एक्समा एकीकृत गरी ग्रोकको पहुँच बढाउने प्रयासलाई अघि बढाएका थिए । यो सहकार्यले नयाँ कम्पनीको मूल्य ११३ अर्ब डलर पुगेको रिपोर्टमा उल्लेख छ । मस्कले ग्रोकलाई ‘विश्वको सबैभन्दा स्मार्ट एआई’ को संज्ञा दिएका छन् । यसले स्पेसएक्सको उपग्रह इन्टरनेट सेवा, स्टारलिङ्कको लागि ग्राहक–समर्थन सुविधाहरूलाई सहयोग गर्छ । एआई च्याटबोट ग्रोक ४ को बुधबारको रिलीजको क्रममा, मस्कले टेस्लाको ‘अप्टिमस फ्लीट’ जस्तै ‘ह्युमनोइड रोबोट’हरूमा ‘ग्रोक एम्बेड’ गर्ने आफ्नो संकेत प्रकट गरेका छन् । मस्कका प्रतिनिधिले भविष्यमा स्पेसएक्स र एक्सएआईबीच थप व्यावसायिक साझेदारी हुने बताएका छन् ।
ओम मेगाश्रीले जडान गर्यो ३५० किलोवाटको सौर्य विद्युत्, हरितगृह ग्यास घटाउँदै
काठमाडौं । ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडले भरतपुर महानगरपालिका–२९, जुगेडीस्थित उद्योग परिसरमा ३५०.३५ किलोवाट क्षमताको सौर्य ऊर्जा प्रणाली जडान गरेको छ । ऊर्जा आत्मनिर्भरता र वातावरणमैत्री औद्योगिक उत्पादनतर्फको यो कदमले कम्पनीलाई यस क्षेत्रमा उदाहरणीय बनाएको छ । ‘स्वास्थ्य र राष्ट्रका लागि एक सङ्कल्प’ भन्ने मूल मन्त्रका साथ अघि बढेको कम्पनीले सौर्य ऊर्जा प्रयोगमार्फत उद्योगको सञ्चालन खर्च घटाउने, उत्पादन लागत कम गर्ने र त्यसको प्रत्यक्ष लाभ मुनाफा प्रवाहमार्फत लगानीकर्तासम्म पुर्याउने लक्ष्य लिएको जनाएको छ । नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट आईपीओ निष्कासनको अनुमति प्राप्त गरिसकेको कम्पनीले ६३७ वटा प्यानल प्रयोग गरी सौर्य प्रणाली जडान गरेको हो । यस प्रणालीले विशेषगरी पिक आवर (उच्च माग हुने समय) मा नवीकरणीय ऊर्जाबाट औद्योगिक गतिविधि सञ्चालन गर्न मद्दत पुर्याउनेछ । कम्पनीले नेपाल विद्युत् प्राधिकरणसँगको समझदारीमा अतिरिक्त विद्युत् बिक्री गरी आम्दानीको नयाँ स्रोत सिर्जना गर्ने योजना पनि अघि सारेको छ । हरितगृह ग्यास उत्सर्जनमा कमी ल्याउने यस कदमले ओम मेगाश्रीलाई वातावरणमैत्री तथा दीगो औद्योगिक मोडलका रूपमा उभ्याएको छ । कम्पनीले निजी क्षेत्रको सामाजिक उत्तरदायित्व निर्वाह गर्दै वातावरण, अर्थतन्त्र र नीतिगत व्यवस्थाबीच सन्तुलन कायम गर्दै 'हरित उत्पादन, उच्च मुनाफा' भन्ने अवधारणालाई व्यवहारमा उतारिरहेको जनाएको छ ।
जलवायु परिवर्तनबारे गुफाडाँडामा अन्तरक्रिया
काठमाडौं । जलवायु परिवर्तनको असर न्यूनीकरण गर्ने उद्देश्यले सम्पादक समाज नेपालले शनिबार सिन्धुपाल्चोकको गुफाडाँडामा पदयात्रा तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा विभिन्न सञ्चारमाध्यमका करिब सयजना पत्रकारको सहभागिता रहेको थियो । कार्यक्रममा मेलम्ची नगरपालिकाका नगरप्रमुख आइतमान तामाङले गुफाडाँडाको प्रवर्द्धनमा स्थानीय सरकार अग्रसर भएको जानकारी दिए । उनले गुफाडाँडाको हरियाली, शान्त वातावरण र हिमशृङ्खलाको दृश्यावलोकनलाई प्राकृतिक सम्पदाको अद्वितीय संयोजनका रूपमा उल्लेख गरे । मेलम्ची–९ का वडाध्यक्ष किरणदीप खड्काले गुफाडाँडालाई जलवायु अध्ययन केन्द्र बनाउने लक्ष्यसहित प्रमुख पर्यटकीय गन्तव्यको रूपमा विकास गर्ने योजना सुनाए । उनले स्थानीय स्रोतसाधनमा आधारित होमस्टे प्रवर्द्धनको आवश्यकता पनि औँल्याए । सम्पादक समाजका महासचिव श्याम डोटेलले गुफाडाँडा क्षेत्रमा जलवायु परिवर्तनको असर बढ्दो रहेको भन्दै त्यसको न्यूनीकरण तथा स्थानीय उत्पादन र परिकारहरूको पहिचान निर्माणमा पत्रकारहरूको भूमिका महत्वपूर्ण रहेको बताए । पत्रकार महासङ्घ सिन्धुपाल्चोकका अध्यक्ष ध्रुव दङ्गालले क्षेत्रको विकास र समृद्धिका लागि पत्रकारहरूको सदैव साथ रहने प्रतिबद्धता जनाए । पदयात्रामा सम्पादक समाज नेपालका संस्थापक किरण वैद्य, गोरखापत्र दैनिकका प्रधान सम्पादक जुनारबाबु बस्नेत, वरिष्ठ पत्रकार तीर्थ कोइराला, महासचिव श्याम डोटेल लगायत पत्रकारहरूको सक्रिय सहभागिता रहेको थियो । पदयात्राका क्रममा शङ्खरापुर नगरपालिकाका नगरप्रमुख रमेश स्थापितले पत्रकार टोलीलाई एक समारोहकाबीच स्वागत तथा सत्कार गरेका थिए ।
नुवाकोटको मध्यताँदी जलविद्युत आयोजनामा प्रभु बैंकले ७१ करोड लगानी गर्ने
काठमाडौं । नुवाकोटको ताँदी खोलामा निर्माणाधीन ५.५ मेगावाट क्षमताको मध्यताँदी जलविद्युत आयोजनाका लागि आवश्यक लगानी जुटेको छ । 'दुप्चेश्वर महादेव हाइड्रो कम्पनीले प्रवर्द्धन गरिएको यस आयोजनाको कुल लागत १ अर्ब १० करोड रुपैयाँ अनुमान गरिएको छ । उक्तमध्ये ७१ करोड ४४ लाख रुपैयाँ लगानी प्रभु बैंकले गर्ने भएको हो । शुक्रबार काठमाडौंमा आयोजना गरिएको लगानी सम्झौतापत्रमा आयोजनाका तर्फबाट अध्यक्ष अनिल जोशी र प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनको उपस्थितिमा परियोजना प्रमुख (प्रोजेक्ट हेड) दीपेश पोखरेलले हस्ताक्षर गरेका थिए । सम्झौता अनुसार आयोजनामा प्रभु बैंकको ६५ प्रतिशत र निर्माण कम्पनीको ३५ प्रतिशत लगानी रहनेछ । दुप्चेश्वर गाउँपालिका–६ मा आयोजना निर्माण कार्य सुरु भइसकेको प्राविधिक सल्लाहकार इञ्जिनियर सरोज खनालले जानकारी दिए । अहिले आयोजनामा सडक, आवास गृह लगायतको पूर्वाधार निर्माण कार्य भइरहेको छ । १५ महिनाभित्र आयोजना निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ । आयोजनाबाट उत्पादित विद्युत् ६ किलोमिटर लामो प्रशारण लाइनमार्फत नुवाकोटको समुद्रटार सवस्टेशनमा पुर्याइनेछ र त्यहाँबाट राष्ट्रिय प्रशारण प्रणालीमा जोडिनेछ ।
मौद्रिक नीति पछि पहिलो पटक ५० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
काठमाडौं । अधिक तरलता भएपछि मौद्रिक नीति पछि पहिलो पटक राष्ट्र बैंकले आइतबार ५० अर्ब निक्षेप खिच्दैछ । निक्षेप संकलन उपकरण बोलकबोलमार्फत राष्ट्र बैंकले निक्षेप खिच्न लागेको हो । अहिले कुल निक्षेप ७१ खर्ब भन्दा बढी पुगेको छ । केन्द्रिय बैंकले वित्तीय प्रणालीको अधिक तरलता र ब्याजदर व्यस्थापनका लागि निक्षेप संकलन उपकरण र स्थायी निक्षेप सुविधामार्फत तरलता खिच्दै आएको छ । बोलकबोलमा राष्ट्र बैंकबाट इजाजतप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन् । दीर्घकालीन निक्षेप संकलन रकम बाँडफाँट गर्दा काउण्टर पार्टीहरूले बोल गरेका ब्याजदरअनुसार सबैभन्दा कम दर बोल गर्ने रकम प्राथमिकता क्रममा राखी आह्वान गरेको रकमसम्म क्रमशः बाँडफाँट गरिनेछ । निक्षेप चुलिँदा आज अनलाइन खरिद प्रणालीमार्फत बोलकबोल गर्न लागिको छ र ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुने छ भने आज बोलकबोल हुने निक्षेप संकलन उपकरणको सावाँ तथा ब्याज २०८२ साउन १ गते भुक्तानी हुने राष्ट्र बैंकले जानकारी दिएको छ । बोल गर्न सकिने रकम न्युनतम १० करोड रुपैयाँ र अधिकतम ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म हुनेछ । खासगरी केन्द्रिय बैंकको खुला बजार कारोबार सम्बन्धी कार्यविधि अनुसार वित्तीय बजारमा दीर्घकालीन प्रकृतिको अधिक तरलता स्थिति देखिए त्यसको व्यवस्थापन गरी बजार ब्याजदर व्यवस्थित गर्न कारोबार सञ्चालन समितिले आवश्यकता अनुसार कुनैपनि दिन संरचनात्मक खुला बजार कारोबार अन्तर्गत बढीमा ६ महिना अवधिको दीर्घकालीन निक्षेप संकलन उपकरण प्रयोग गर्न सक्ने व्यवस्था छ । यही व्यवस्था टेकेर केन्द्रिय बैंकले पटकपटक निक्षेप संकलन उकरण प्रयोग गर्दै आएको छ ।