विकासन्युज

क्यान्सर उपचारमा प्रयोग हुने दुर्लभ र महँगा औषधी अब निःशुल्क

काठमाडौं । अब क्यान्सर उपचारमा प्रयोग हुने दुर्लभ र अत्यावश्यक औषधि निःशुल्क उपलब्ध हुने स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले जानकारी दिएका छन् ।  नेपालमा उपलब्ध नभएका कारण उपचारका लागि विदेश जानुपर्ने समस्या कम गर्न मन्त्री पौडेलको विशेष पहलमा अन्तर्राष्ट्रिय च्यारिटी डाइरेक्ट रिलिफले ३७ प्रकारका औषधी सहयोग गर्ने प्रतिबद्धता जनाएअनुसार पहिलो भाग नेपाल आइपुगेको हो । यसअघि मन्त्री पौडेलले त्यस्ता औषधी प्राप्त गरेर सरकारी अस्पतालमा निःशुल्क उपलब्ध गराउने निर्णय गरेका थिए । डाइरेक्ट रिलिफले वन हर्ट वल्र्डवाइड संस्थामार्फत नेपाल सरकारलाई पठाएको सहयोग हस्तान्तरणका लागि आयोजित कार्यक्रममा बोल्दै मन्त्री पौडेलले औषधी अभावमा विदेश गएर महँगो खर्च गनुपर्ने बिरामीको समस्या कम गर्न लामो मेहनत पछि सफलता प्राप्त गरेको बताए ।  डाइरेक्ट रिलिफले स्तन, छाला तथा विभिन्न खालका क्यान्सर उपचारमा आवश्यक पर्ने दुर्लभ र महँगा ती औषधी नेपालको आवश्यकताअनुसार ५ वर्षसम्म सहयोग स्वरुप उपलब्ध हुने मन्त्री पौडेलले जानकारी दिए ।  ‘क्यान्सरको औषधि महँगो हुँदा विपन्न नागरिकलाई समस्या छ,’ मन्त्री पौडेलले भने,‘राज्यको लगानीबीना नै धेरै नागरिकलाई राहत दिने प्रयास गरेका हौं ।’ हाल ३७ प्रकारका औषधी क्रमैसँग आउने भए पनि अरु आवश्यक औषधी समेत सहयोगमा प्राप्त गर्न प्रयास गरिने मन्त्री पौडेलले बताए ।  ‘सुची थप गरेर धेरै नागरिकलाई अझ राहत दिन प्रयत्न गर्नेछौं,’ मन्त्री पौडेलले भने । मन्त्री पौडेलले सरकारी क्यान्सर अस्पतालमा तत्काल औषधी पठाउने व्यवस्था मिलाइएको जानकारी समेत दिए ।   मन्त्री पौडेलले सरकारले दिने स्वास्थ्य सुविधा तथा बीमाबारे पर्याप्त जानकारी प्राप्त नहुँदा नागरिकले सेवा लिन नसकिरहेको प्रसंग कोट्याउँदै सञ्चारमाध्यमलाई यस्ता जानकारी प्राथमिकताका साथ प्रसार गरेर सहयोग गरिदिन आग्रह गरे ।  मन्त्रालयको समन्वय महाशाखा प्रमुख डा. भीम सापकोटाले ५ वर्षसम्म नेपालको आवश्यकताअनुसार औषधी प्राप्त गर्ने गरी समझदारी भएको जानकारी दिए ।  वन हर्ट वल्र्डवाइडका नेपाल प्रतिनिधि सूर्य भट्टले मन्त्री पौडेलको विशेष पहलबाट मात्र औषधी प्राप्त भएको भन्दै यो नेपालका लागि ठूलो उपलब्धि भएको बताए ।  स्तन क्यान्सर, प्लाक सोरियासिस, अल्जाइमर आदि स्वास्थ्य समस्यामा प्रयोग हुने यी औषधि र स्वास्थ्य सामग्रीहरू यी चार अस्पतालहरूमा क्यान्सरका बिरामीहरूलाई  निःशुल्क रुपमा उपलब्ध गराइने मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिए ।  मन्त्रालयलाई हस्तान्तरण गरिएका औषधी र स्वास्थ्य सामाग्रीहरु आजै क्यान्सर उपचारमा संलग्न चार अस्पतालहरु बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, भरतपुर, भक्तपुर क्यान्सर अस्पताल, भक्तपुर, शुशिल कोइराला प्रखर क्यान्सर अस्पताल, बाँके, वीर अस्पताल, काठमाडौंलाई हस्तान्तरण गरिएको छ ।   

क्याटलले सेरेसको प्लान्टभित्र सुरु गर्‍यो 'फ्याक्ट्री-इन-फ्याक्ट्री' मोडेलमा ब्याट्री उत्पादन

काठमाडौं । क्याटलले चीनको चोंगकिंगस्थित सेरेस सुपर कारखानामा कोश-देखि-प्याक प्रविधियुक्त दुईवटा अत्याधुनिक ब्याट्री प्याक उत्पादन लाइनहरू औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ । यससँगै क्याटलले चोंगकिंगमा पहिलो उत्पादन केन्द्र स्थापना गरेको छ भने ‘कारखानाभित्र कारखाना’ (फ्याक्ट्री-इ-फ्याक्ट्री) सहकार्य मोडेल पनि पहिलोपटक प्रयोगमा ल्याएको छ । उक्त मोडेलले प्रमुख सामग्री आपूर्तिकर्ताहरूलाई सवारी उत्पादन स्थलमै सिधा समावेश गर्ने सुविधा दिन्छ । सेरेस कम्पनीका अनुसार यस प्रणालीले २० मिनेटभन्दा कम समयमा निर्देशन अनुसार उत्पादन लाइन अनुकूलन गर्न सक्नेछ र हजारौँ सामग्रीहरू दैनिक रूपमा आपूर्ति भई सोही दिनको उत्पादन प्रक्रियामा प्रयोग गर्न सकिनेछ । क्याटलका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत (सीइओ) डा. रोबिन जेङले भने, 'यो उत्पादन लाइन अहिलेसम्मकै सबैभन्दा उन्नत, स्वचालित र डिजिटल प्रविधि प्रयोग गरिएको लाइन हो ।' सेरेस र क्याटलबीचको रणनीतिक साझेदारी सन् २०२२ को अगस्टमा भएको सम्झौताबाट सुरु भएको हो । उक्त सम्झौता अनुसार, अबको पाँच वर्षसम्म ‘आइटो’ ब्रान्डका सबै सवारी साधनहरूमा क्याटलको ब्याट्री मात्र प्रयोग गरिनेछ । नयाँ आइटो मोडेलहरूमा क्याटलको ‘किलिन’ ब्याट्री पनि समावेश गरिने बताइएको छ । ‘आइटो’ ब्रान्ड सेरेस र हुवावेबीचको सहकार्यमा बनेको हो, यद्यपि यो औपचारिक रूपमा संयुक्त लगानी भने होइन । २०२४ को जुलाईमा, सेरेसले हुवावेबाट आइटोको ट्रेडमार्क र पेटेन्टहरू २५ लाख युआन (झण्डै ३४.४ मिलियन अमेरिकी डलर) मा खरिद गरेको थियो। हुवावे अझै पनि आइटो गाडीहरूका लागि मुख्य सामग्री तथा सफ्टवेयर आपूर्तिकर्ताको रूपमा सक्रिय छ र बिक्री सञ्जाल मार्फत आइटो सवारीहरूको बिक्री गरिरहेको छ । ‘आइटो’ ले आफूलाई नयाँ पुस्ताको लक्जरी सवारी ब्रान्डको रूपमा चिनाउँदै आएको छ । हालसम्म आइटो ब्रान्डअन्तर्गत ७ लाखभन्दा बढी सवारी बिक्री भइसकेका छन् । चोंगकिंगस्थित सेरेस सुपर कारखाना आइटोको मुख्य उत्पादन केन्द्र हो । पावर ब्याट्री बजारमा क्याटलको पकड अझै बलियो देखिएको छ । चीन अटोमोटिभ पावर ब्याट्री उद्योग नवप्रवर्तन गठबन्धनका अनुसार, सन् २०२५ को जनवरीदेखि मे महिनासम्म चीनभर २४१.४ गिगाव्याट घण्टा ९न्ध्ज० पावर ब्याट्री प्रयोगमा आएको छ, जुन अघिल्लो वर्षको तुलनामा ५०.४ प्रतिशतले वृद्धि हो । यद्यपि गत वर्षको तुलनामा क्याटलको बजार हिस्सा ३.८३ प्रतिशत अंकले घटेको देखिएको छ । पावर ब्याट्रीबाहेक, क्याटल र सेरेसबीचको सहकार्य शून्य-कार्बन लक्षित परियोजनासम्म पनि विस्तार भएको छ । सन् २०२५ को अप्रिलमा, दुबै कम्पनीले सेरेस सुपर कारखानामा ५० मेगाव्याट घण्टा क्षमताको सौर्य ऊर्जा परियोजनाको पहिलो चरण सफलतापूर्वक सम्पन्न गरेका छन् । यो ऊर्जा प्रणाली राष्ट्रिय ग्रिडमा जडान गरिएको छ र यसले कारखानालाई हरित ऊर्जा आपूर्ति गर्न मद्दत पुर्‍याउनेछ ।

मराङखोलामा बनेको झोलुङ्गे पुलले जोड्यो घाइरीबोट र खाउरीबाङ, यात्राअवधि १५ मिनेटमा छोटियो

म्याग्दी । धवलागिरि गाउँपालिका-६ मा रहेको मराङखोलामा तीन सय ६५ मिटर लामो झोलुङ्गे पुल निर्माण भएको छ । सहरी विकास मन्त्रालयअन्तर्गतको स्थानीय पूर्वाधार विकास आयोजना कास्की, पोखराले घाइरीबोट र खाउरीबाङ जोड्ने पुल निर्माण गरेको हो । धवलागिरि गाउँपालिका-६ का वडाध्यक्ष राजाराम सुवेदीले पुलबाट धवलागिरि-६ का साथै वडा नं ५ मल्कवाङ र मालिका गाउँपालिका-७ बिमका बासिन्दा लाभान्वित भएका जानकारी दिए । ‘मराङमा रहेको वडा कार्यालय, स्वास्थ्य चौकी र जनविकास माविमा पुग्नका लागि अर्बाङ, घण्टीवाङका बासिन्दालाई यात्राअवधि छोटिएको छ’, उनले भने ‘अर्वाङ, घण्टीवाङ, रिखका बासिन्दालाई मराङबेँसीमा झरेर वडा कार्यालय, स्वास्थ्यचौकी, माध्यमिक विद्यालय भएको ठाउँमा पुग्न करिब एक घण्टा पैदलयात्रा गर्नुुपर्नेमा पुल बनेपछि यात्राअवधि १५ मिनेटमा छोटिएको छ ।’ उक्त पुल निर्माणका लागि २०८१ साल असारमा बेनी नगरपालिका-२ को निर्माण कम्पनीले रु दुई करोड ५० लाखमा ठेक्का सम्झौता गरेको थियो । अठार महिनाको ठेक्का अवधि भए पनि १२ महिनामै पुल निर्माण सम्पन्न भएको निर्माण कम्पनीका सञ्चालक प्रदीप सापकोटाले बताए । स्थानीय पूर्वाधार विकास आयोजना कास्कीमार्फत यसै वर्ष धवलागिरि गाउँपालिका-३ दरखोलामा तीन सय ६६ मिटर लामो झोलुङ्गे पुल पनि निर्माण भएको छ । यस वर्ष निर्माण भएका दुईवटासहित म्याग्दीमा तीन सय मिटरभन्दा लामा झोलुङ्गे पुलको सङ्ख्या चारवटा झोलुङ्गे पुल छवटा पुगेको छ । रघुगङ्गा गाउँपालिका–१ बेग र बादुक जोड्ने बेगखोलामा तीन सय ६५ दशमलव ८० मिटर, मालिका-७ बिमवाङ र धवलागिरि -६ रिख जोड्ने तीन सय ५० मिटर, बेनी नगरपालिका-१ रत्नेचौर र बागलुङ नगरपालिका-४ कुडुले जोड्ने तीन सय ८८ मिटर र अन्नपूूर्ण गाउँपालिका-५ शिख र किन्दु जोड्ने तीन सय ४४ मिटर लामो पुुल निर्माण भइसकेका छन् । रासस

काठमाडौं महानगरको २५ अर्ब बराबरको बजेट आज सार्वजनिक हुँदै

काठमाडौं । काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि २५ अर्ब ११ करोड रुपैयाँ बराबरको बजेट आज प्रस्तुत गर्न लागेको छ । मेयर बालेन्द्र शाह (बालेन)ले आज दिउँसो २ बजे नगरसभा आह्वान गरेका छन् । त्यसअघि बिहान कार्यपालिका बैठक बस्ने कार्यक्रम रहेको उनले जानकारी दिए । गत शुक्रबार बसेको ४०औं कार्यपालिका बैठकमा मेयर शाहले आज नै बजेट प्रस्तुत गर्ने प्रस्ताव गरेका थिए । राजश्व परामर्श समितिको बैठकले २५ अर्ब ११ करोड रुपैयाँको बजेट सीमा निर्धारण गरेअनुसार आज सोही प्रस्तावित बजेट सार्वजनिक गरिनेछ । संविधान अनुसार स्थानीय तहले असार १० गतेभित्र बजेट ल्याइसक्नुपर्ने व्यवस्था छ । तर, काठमाडौं महानगरभित्र देखिएको आन्तरिक द्वन्द्वका कारण बजेट ल्याउन ढिलो भएको हो ।

नेपालमै फर्किएर काम गर्ने रहर थियो : अभिनेत्री मिरुना मगर

काठमाडौं । अभिनेत्री मिरुना मगरले आफू बेलायतमा हुर्किए पनि नेपालमै फर्किएर काम गर्ने रहर रहेको बताएकी छन् । हालै आयोजित अन्तर्क्रियामा अभिनेत्री मगरले आफ्नो आमा नेपाली रङ्गमञ्चसँग जोडिएकाले आफू कलाप्रति बाल्यकालमै आकर्षित भएको बताइन् । उनले भनिन्, ‘म हङकङमा जन्मिए पनि १२ वर्षसम्म नेपालमा हुर्किएकी हुँ । यद्यपि त्यसपछि बेलायत गएर त्यही शिक्षा लि एँ। तर, मलाई नेपालमै आएर केही काम गर्ने इच्छा थियो । आमा नाटकमा काम गर्ने हुनुभएकाले मैले नेपाल आएर अनुप बरालसँग अभिनयको प्रशिक्षण लिएर चलचित्रमा काम गर्न सुरु गरेकी हुँ ।’ बेलायतमा हुर्किएकाले पनि अभिनयसम्बन्धी औपचारिक शिक्षा नलिएता पनि काम गर्न सुरु गरेपछि निर्देशक, छायाँकार र कलाकारसँग सिक्ने अवसर पाएको मगरले बताइन् । पछिल्लो समय चलचित्रको छायाङ्कन स्थलमा चलचित्र अध्ययन गरेका विद्यार्थीहरू विभिन्न विभागमा भेटिएता पनि अध्ययन र वास्तविक काम गर्ने शैलीमा कहीँकतै तालमेलको अभाव रहेको अभिनेत्री मगरको बुझाइ छ । ‘अध्ययन गरेर आउनुभएका अहिले छायाङ्कन स्थलमा धेरै भेटिनुहुन्छ । तर, उहाँहरूको अध्ययनको सिकाइ र हामीले काम गर्ने शैली भिन्न हुँदा कतिपय अवस्थामा सहजता नभएको महसुस गरेकी छु। त्यस कारण शिक्षा लिइसकेपछि काम गर्नु अगाडि बुझ्ने मौका पाउनुपर्छ जस्तो मलाई लाग्छ,’ अभिनेत्री मगरले भनिन् । चलचित्रका विभिन्न विधाको अध्ययन गरिरहेका विद्यार्थीले छायाङ्कन स्थलमा पुगेर त्यसलाई प्रत्यक्ष हेरेर बुझ्ने वातारण बन्नुपर्नेमा अभिनेत्री मगरले जोड दिइन् । उनले आफूले पर्दामा निर्वाह गर्ने पात्रले एउटा वर्ग र समुदायलाई भिन्न रूपमा प्रस्तुत गरेको बताइन् । ‘मैले बेलायतमा बाँचेको भन्दा चलचित्रमा बाँचेको जीवन भिन्न छ । यद्यपि म प्रवासमा हुर्किएर शिक्षा लिएता पनि मैले चलचित्रमा निर्वाह गरेका पात्रले लिने निर्णय र उनीहरूको जस्तो विद्रोह गर्न सक्ने क्षमता छैन । सोही कारण पनि मेरा पात्र दर्शकको रोजाइमा परेको हुन सक्छ,’ अभिनेत्री मगरले भनिन् । ‘लालपूर्जा’ नामक चलचित्रमार्फत अभिनय यात्राको सुरुआत गरेकी अभिनेत्री मगरले अभिनय गरेको ‘कबड्डी ४’, ‘जारी’, ‘ऊनको स्वीटर’ लगायतका चलचित्र नेपालमा व्यावसायिक रूपमा सफल भएका छन् ।

बागलुङको जैमिनी बाढी : तीन सय रोपनी खेत बन्यो बगर

बागलुङ । बागलुङको जैमिनी नगरपालिका–४ का डम्मरबहादुर सार्कीको जैमिनी नगरपालिका–१० सहेला फाँटमा रहेको नौ रोपनी धान लगाइएको खेत बाढी पसेर बगर बन्यो । भर्खरै रोपेको धानसहितको खेत बाढीका कारण सखाप भएपछि सार्कीको निद्रा छैन । खेतमा कालुङखोला पसेपछि खेत बगरमा पणित भएको उनको भनाइ छ । २४ असारको राति कालुङखोलाको जलविद्युत् बगाउने गरी आएको बाढीले भर्खर धान रोपेको खेत कटान गर्नुका साथै बगर बनेको सार्कीको भनाइ छ ।  सार्कीको मात्र होइन, कालुङखोला र ठेउलेखोलाको क्षेत्र नगरपालिका-१०, ९ र ४ मा रहेको भर्खर धान लगाइएको खेत बगर बनेको हो । जैमिनी नगरपालिकाका अनुसार सबैभन्दा बढी क्षति जैमिनी नगरपालिका–९, पैयुथन्थापमा भएको छ । पैयुथन्थापमा मात्र एक सय ५० रोपनी धानखेत बगर बनेको जैमिनी नगरपालिका कृषि शाखा प्रमुख सुवास सापकोटाले जानकारी दिए । सापकोटाका अनुसार अहिले नगरपालिकाको कृषि प्राविधिक, इञ्जिनियर र जनप्रतिनिधिको सक्रियतामा तथ्यांक संकलन भएको छ । उनले नगरपालिकाभर तीन सय रोपनी धान लगाइएको खेत बाढीले क्षति पुर्‍याएको अनुमान गरिएको बताउँदै अहिलेसम्म एक सय ५० रोपनी धानखेतको क्षति भएको तथ्यांक संकलन गरिएको छ । अहिले जैमिनी नगरपालिका–९ मा मात्र एक सय ५० रोपनी खेतीयोग्य जग्गा बगरमा परिणत भएको र ५० रोपनी जग्गा पुनः खेतमा फर्काउनै नसक्ने गरी नदीले कटान गरेको सापकोटाले बताए ।    अविरल वर्षाका कारण २४ असारको राति आएको बाढीले जैमिनी नगरपालिकाको कालुङखोला र ठेउलेखोला आसपासको धानखेत बगरमा परिणत गरेको र एक अर्बभन्दा बढीको क्षति पुर्‍याएको हो । कालुङखोलामा आएको बाढीले कालुङखोला जलविद्युत् आयोजनामा पूर्ण रूपमा क्षति पुर्‍याएको छ ।  एउटा जलविद्युत्‌गृह बगाएको, झण्डै तीन सय रोपनी खेतमा क्षति पुर्‍याएको र नौवटा सिँचाइ कुलोमा क्षति पुर्‍याएको जैमिनी नगरपालिकाले जनाएको छ । जलविद्युत् आयोजना बाढीले बगाउँदा पैयुथन्थापका एक सय २२ परिवार अन्धकारमा बस्न बाध्य भएका छन् । जैमिनी नगरपालिकाले क्षतिको विवरण संकलन गरिरहेको बताउँदै क्षतिको मूल्यांकनका आधारमा राहत दिने नगरप्रमुख नरबहादुर पुनले जानकारी दिए । 'तत्कालका लागि धान रोप्न लाग्ने लागत किसानलाई दिनेगरी नगरपालिकाले तयारी गरेको छ, रोपनीका हिसाबले किसानलाई राहत दिने, कुलो मर्मत गर्ने कार्य तत्कालै गर्दछौँ,' नगरप्रमुख पुनले भने, 'किसानको खेतको क्षतिपूर्ति दिन त नगरपालिकाले नसक्ला तर यसपटक धान उब्जनीमा हुने गिरावटलाई ध्यानमा राखेर राहत दिने तयारीमा छौँ, सिँचाइ कुलो मर्मतमा नगरपालिकाको ध्यान जान्छ ।' रासस

मेक्सिको र इयूलाई ३० प्रतिशत कर लगाउने ट्रम्पको घोषणा

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिको र युरोपेली सङ्घ (इयू) लाई लक्षित गर्दै ३० प्रतिशत कर वृद्धि गरिएको घोषणा गरेका छन् । राष्ट्रपति ट्रम्पले आफ्नो ट्रुथ सोसल प्लेटफर्ममा पोस्ट गरिएको औपचारिक पत्रमा भनिएको छ, ‘करसम्बन्धी यी दुवै घोषणा अगस्ट १ देखि लागू हुने छन् ।’ राष्ट्रपति ट्रम्पले संयुक्त राज्य अमेरिकामा अवैध लागूपदार्थको प्रवाहमा मेक्सिकोको भूमिका र इयूसँगको व्यापार असन्तुलनलाई कर वृद्धि गर्नु पर्नाको कारणको रूपमा उल्लेख गरेका छन् । इयूले यो घोषणाको तीव्र आलोचना गर्दै यसले आपूर्ति श्रृङ्खलामा खलल पुर्याउने चेतावनी दिएको छ, तर समय सीमाभन्दा अगाडि नै सम्झौतामा वार्ता जारी राख्ने बताएको छ । गत जनवरीमा राष्ट्रपतिमा फर्केपछि ट्रम्पले आफ्ना प्रतिस्पर्धी र सहयोगीहरूलाई लक्षित गरी व्यापक कर वृद्धि गरेका छन् । यसले वित्तीय बजारलाई तहसनहस बनाएको छ र विश्वव्यापी आर्थिक मन्दीको भय बढाएको छ । ट्रम्प प्रशासनले व्यापारिक साझेदारलाई कर लागु हुने मितिभन्दा पहिले सम्झौताहरू सुरक्षित गर्न दबाब दिइरहेको छ ।   अहिलेसम्म अमेरिकी अधिकारीहरूले बेलायत र भियतनामसँग दुई वटा सम्झौता मात्र गरेका छन् भने चीनसँग अस्थायी रूपमा प्रतिशोधात्मक (टिट फर ट्याट) करलाई घटाएका छन् ।  ट्रम्पले घोषणा गरेको मेक्सिकोका लागि नयाँ शुल्क यस वर्षको सुरुमा मेक्सिकोकासामानमा लगाएको २५ प्रतिशत करभन्दा बढी हुनेछ, यद्यपि अमेरिका–मेक्सिको–क्यानडा सम्झौता (यूएसएमसीए) अन्तर्गत संयुक्त राज्य अमेरिका प्रवेश गर्ने उत्पादनहरूलाई छुट दिइएको छ । ‘मेक्सिकोले मलाई सीमा सुरक्षित गर्न सहयोग गरिरहेको छ, तर मेक्सिकोले जे गरेको छ, त्यो पर्याप्त छैन,’ ट्रम्पले मेक्सिकोका राष्ट्रपति क्लाउडिया शेनबामलाई लेखेको पत्रमा भनेका छन् ।  उनले भने, ‘सन् २०२५ अगस्ट १ देखि हामी संयुक्त राज्य अमेरिकामा पठाइएका मेक्सिकोका उत्पादनहरूमा ३० प्रतिशत थप कर लिनेछौँ ।’ युरोपेली सङ्घसँग वार्ता जारी रहँदा ट्रम्पले अप्रिलमा सार्वजनिक गरेको २० प्रतिशत करको तुलनामा इयूको शुल्क पनि निकै बढी हो । आपूर्ति श्रृङ्खलामा खलल पुग्ने युरोपेली आयोगकी प्रमुख उर्सुला भोन डेर लेयेनले एक विज्ञप्ति जारी गर्दै भने, ‘इयूको निर्यातमा ३० प्रतिशत कर लगाउँदा एटलान्टिक महासागरका दुवैतर्फका व्यवसाय, उपभोक्ता र बिरामीलाई हानि पुग्ने गरी आवश्यक ट्रान्साटलान्टिक आपूर्ति श्रृङ्खलामा खलल पुग्नेछ ।’ उनले भने, ‘हामी अगष्ट १ सम्ममा सम्झौताका लागि काम गर्न तयार छौं । साथै, हामी इयूको हितको रक्षाका लागि आवश्यक सबै कदम चाल्नेछौं, जसमा आवश्यक परेमा समानुपातिक प्रतिकारको उपाय अपनाउने उपाय पनि समावेश छ ।’ युरोपेली सङ्घ र अन्य दर्जनौं अर्थतन्त्रमाथि बुधबारदेखि अमेरिकी करको स्तर १० प्रतिशतको आधार रेखाबाट वृद्धि गर्ने तयारी गरिएको थियो तर ट्रम्पले यो समय सीमालाई अगस्ट १ सम्मका लागि पछाडि सारेका थिए ।  यस हप्ताको सुरुदेखि नै ट्रम्पले २० भन्दा बढी देशलाई पत्र पठाउँदै क्यानडाका लागि ३५ प्रतिशत करसहित प्रत्येकका लागि अद्यावधिक शुल्क लगाएका छन् । एक अमेरिकी अधिकारीले एएफपीलाई बताएअनुसार यूएसएमसीएको छूट क्यानडाका लागि रहने अपेक्षा गरिएको थियो। ब्रसेल्सले २० प्रतिशत कर फिर्ता हुन नदिन वासिङ्टनसँग सम्झौता गर्न तयार रहेको शुक्रबार जनाएको छ । ट्रम्पले यस वर्षको सुरुमा स्टिल र आल्मुनियमको आयातमा छुट्टाछुट्टै कर लगाएपछि इयूले करिब २१ अर्ब युरो बराबरको अमेरिकी सामानमा प्रतिशोधात्मक कर लगाउने तयारी गरेको थियो । युरोपेली अधिकारीहरूले निलम्बन लम्ब्याउन कुनै कदम चालेका छैनन् तर आवश्यक परेको खण्डमा चाँडै गर्न सक्नेछन्। एटलान्टिक काउन्सिलका अन्तर्राष्ट्रिय अर्थशास्त्रका अध्यक्ष जोश लिप्सकीले भने, ‘सम्झौताका लागि सबै आन्दोलनको बावजुद, यो खतराले इयू विश्वका लगभग सबै देशजस्तै अनिश्चितताको घेरामा रहेको देखाउँछ।’    उनले एएफपीसँग भने, ‘अबको बाटो इयूले कस्तो प्रतिक्रिया दिन्छ भन्नेमा निर्भर गर्दछ र यो व्यापार युद्धको अहिलेसम्मको सबैभन्दा अनिश्चित क्षणमध्ये एक हो ।’