गरिमा क्यापिटलले फागुन २८ गतेदेखि गरिमा सुवर्ण योजना बिक्री खुला गर्ने
काठमाडौं । गरिमा क्यापिटलले फागुन २८ गतेदेखि दोस्रो म्युचुअल फण्ड गरिमा सुवर्ण योजना निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले १ अर्ब रुपैयाँको प्रति इकाई १० रुपैयाँ दरका १० करोड इकाई बिक्री खुला गर्नेछ । कम्पनीले कुल इकाईमध्ये पहिलो चरणमा ५० करोड रुपैयाँको ५ करोड इकाई बिक्री खुला गर्नेछ । जसमध्ये ९० लाख इकाई कोष प्रवर्द्धक गरिमा विकास बैंक, ६० लाख इकाई योजना व्यवस्थापक गरिमा क्यापिटल र बाँकी ३ करोड ५० लाख इकाई सर्वसाधारण लगानीकर्तालाई बिक्री गरिने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार उक्त म्युचुअल फण्ड खुलामुखी योजना भएकोले बाँकी रहेको इकाई सामूहिक लगानी कोष नियमावलीको व्यवस्था बमोजिम योजना व्यवस्थापकले तोकेको वितरणमार्फत निरन्तर खरिदबिक्रीका लागि खुला गरिनेछ । कम्पनीको उक्त म्युचुअल फण्डका इकाई खरिदका लागि न्यूनतम १०० इकाईदेखि अधिकतम ५० लाख इकाईसम्म आवेदन दिन सकिनेछ । यस योजनाको इकाईमा चैत २ गतेसम्म आवेदन दिन सकिनेछ । यदि उक्त अवधिमा पूर्ण बिक्री नभएको खण्डमा आवेदन दिने समय चैत १२ गतेसम्म लम्बिनेछ । कम्पनीको म्युचुअल फण्ड निष्काशन तथा बिक्री प्रबन्धक गरिमा क्यापिटल क्यापिटल रहेको छ । लगानीकर्ताहरुले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई सीआस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत ऋणपत्रमा आवेदन दिन सक्नेछन् ।
आइसिएफसि फाइनान्सको ५० करोडको ऋणपत्र बिक्री खुला
काठमाडौं । आइसिएफसि फाइनान्स लिमिटेडले आज फागुन ११ गतेदेखि ऋणपत्र निष्काशन तथा बिक्री खुला गरेको छ । फाइनान्सले ७ वर्ष अवधिको वार्षिक ८ प्रतिशत ब्याजदरमा ‘८ प्रतिशत आइसिएफसि फाइनान्स लिमिटेड डिबेञ्चर २०८९’ बिक्री खुला गरेको हो । फाइनान्सले प्रतिऋणपत्र १ हजार रुपैयाँ अंकित मूल्य दरका ५० करोड रुपैयाँ बराबरको ५ लाख कित्ता ऋणपत्र बिक्री गर्नेछ । जसमध्ये ३० करोड रुपैयाँको ३ लाख कित्ता ऋणपत्र व्यक्तिगत र २० करोड रुपैयाँको २ लाख कित्ता सर्वसाधारणलाई बिक्री गरेको हो । सर्वसाधारणलाई छुट्याएको ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात १० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषका लागि बिक्री गरिने जनाएको छ । कम्पनीको ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम २ लाख कित्तासम्म आवेदन दिन सक्नेछन् । कम्पनीको ऋणपत्रमा लगानीकर्ताहरुले छिटोमा फागुन १४ गते र ढिलोमा फागुन २५ गतेसम्म आवेदन दिन सक्नेछन् । फाइनान्सको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताहरुले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई सीआस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत ऋणपत्रमा आवेदन दिन सक्नेछन् ।
बस साँझ ७ बजे पोखराबाट छुटेको थियो, राति १ बजे त्रिशूलीमा खस्यो
काठमाडौं । धादिङको बेनीघाट रोराङ-५ भैंसीगौंडामा दुर्घटना भएको यात्रुबाहक बस अघिल्लो साँझ नै पोखराबाट गन्तव्यका लागि छुटेको खुलेको छ । माछापुच्छ्रे टुर्स एन्ड ट्राभल्सद्वारा सञ्चालित ग २ ख १४२१ नम्बरको उक्त बस ३४ जना यात्रुको चलानी लिएर आइतबार बेलुका ७ बजे पोखराबाट काठमाडौंका लागि प्रस्थान गरेको थियो । राति करिब १ः३० बजे बस अनियन्त्रित भई पृथ्वी राजमार्गबाट त्रिशूली नदी किनारमा खसेको हो । पोखराबाट काठमाडौंका लागि छुटेको यात्रुबाहक बस धादिङको बेनीघाट रोराङमा दुर्घटनामा पर्दा २० जनाको ज्यान गएको छ । रातिको समयमा भएको दुर्घटनामा अन्य २४ जना यात्रु घाइते भएका छन्, जसको काठमाडौँ र स्थानीय अस्पतालहरूमा उपचार भइरहेको छ । सशस्त्र प्रहरी र गोताखोरको टोलीले रातभर उद्धार कार्य जारी राखेका थिए। बसका चालक सुजित नेपाली अझै बेपत्ता छन् भने गाडीधनी ओमकुमार श्रेष्ठ पनि सोही बसमा सवार रहेको बुझिएको छ । पृथ्वीराजमार्ग बस सञ्चालक कम्पनी प्रालिका अध्यक्ष ऐनकुमार साइका अनुसार बसले पोखराबाट आधिकारिक रूपमा ३४ जनाको चलानी लिएको थियो । ‘प्रहरीबाट प्राप्त जानकारी अनुसार गाडीमा सवारमध्ये हालसम्म २० जनाको निधन भएको छ, पृथ्वी राजमार्ग सञ्चालक कम्पनीका कर्मचारी पनि घटनाबारे थप जानकारी लिन र बुझ्न मलेखुबाट घटनास्थलमा पुगेका छन्,’ साइले भने । उनका अनुसार घाइतेहरूको काठमाडौंस्थित ट्रमा सेन्टर र अन्य विभिन्न अस्पतालहरूमा उपचार भइरहेको छ ।
सुपर खुदी हाइड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । सुपर खुदी हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज फागुन ११ गते अन्तिम दिन रहेको छ । फागुन ५ गतेदेखि बिक्री खुला गरेको कम्पनीको आईपीओमा सर्वसाधारण लगानीकर्ताले आजसम्म आवेदन दिन सक्नेछन् । कम्पनीले जारी पुँजी १ अर्ब ५५ करोड रुपैयाँको २० प्रतिशत अर्थात् ३१ करोड रुपैयाँको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका ३१ लाख कित्ता सेयर जारी गरेको हो । जसमध्ये १५ करोड ५० लाख रुपैयाँको १५ लाख ५० हजार कित्ता सेयर आयोजना प्रभावित, सर्वसाधारणलाई छुट्याइएको १० प्रतिशत अर्थात् १ लाख ५५ हजार कित्ता विदेशमा रोजगार गरिरहेका नेपाली र ७७ हजार ५ सय कित्ता सामूहिक लगानी कोषलाई बिक्री गरिसकेको छ । दोस्रो चरणमा कम्पनीले ३१ हजार कित्ता कर्मचारीलाई छुट्याएर बाँकी रहेको १२ करोड ८६ लाख ५० हजार रुपैयाँको १२ लाख ८६ हजार ५०० कित्ता सेयर सर्वसाधारण लगानीकर्ताका लागि बिक्री खुला गरिएको जनाएको छ । कम्पनीको आईपीओमा न्यूनतम् १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल रहेको छ । कम्पनीको आईपीओमा नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई सीआस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ ।
सही कुराका लागि मात्र जिद्दी गर्छु : केपी शर्मा ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू सधैँ सही कुराका लागि मात्रै अडिग रहने गरेको बताएका छन् । आफ्नो किशोरावस्थादेखि नै राजनीतिक परिवर्तनको हुटहुटी बोकेर हिँडेको बताउँदै ओलीले पञ्चायत र राजतन्त्र फाल्ने संकल्पका साथ आफू मैदानमा होमिएको उल्लेख गरेका हुन् । उनले एमालेलाई देशको प्रमुख शक्ति बनाउने आफ्नो अर्को ठूलो लक्ष्य रहेको र त्यसलाई पूरा गरेरै छाडेको दाबी गरे । नेपालमा दुई तिहाइ हैसियतको पार्टी निर्माण गरेको भएपनि त्यसलाई सहन नसक्नेहरूले फुटाएको उनको गुनासो छ । आफूमाथि लाग्ने ‘जिद्दी’ को आरोपबारे स्पष्ट पार्दै उनले आफू कहिल्यै पनि गलत वा नराम्रो कुरामा जिद्दी नगर्ने बताए । उनले भने, ‘मैले करिव किशोरावस्था नै थियो, विवाह पनि भइसकेको थियो । त्यसबेला पञ्चायत फाल्नुपर्छ, राजतन्त्र फाल्नुपर्छ भन्ने लाग्यो मलाई, म त्यस काममा लागेँ । लागेपछि लागें, लागें । जबसम्म पञ्चायत फालिएन, जेल परियोस् कि, जेल ठोकियोस् कि, हत्कडी लगाओस् कि, यातना दियोस् कि, कुटोस् कि, पिटोस् कि, भोकै राखोस् कि, जे सुकै गरे पनि राजतन्त्र फाली छाड्छु, पञ्चायत फाली छाड्छु ।’ संघर्षशील जिन्दगी रमाइलो नहुने तर सही कामका लागि गरिने संघर्षको अन्त्य सुखद् हुने उनको तर्क छ ।
राजनीतिकदलद्वारा निर्वाचन अचारसंहिता पालना गर्ने प्रतिबद्ध
इनरुवा । अगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचका लागि जारी भएको अचारसंहिता पूर्ण रुपमा कार्यान्वन गर्नेमा सुनसरीका राजनीतिकदलले प्रतिबद्धता व्यक्त गरेका छन् । जिल्ला प्रशासन कार्यालय सुनसरीमा आइतबार सम्पन्न भएको सर्वदलीय बैठकमा प्रतिनिधिसभा निर्वाचनका लागि जारी भएको निर्वाचन अचारसिंहता पूर्ण रुपमापालना गर्ने विभिन्न राजनीतिकदलले सहमति जनाएका छन् । निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि चुनावमा होमिएका राजनीतिकदलले आ–आफ्नो ठाउँबाट जिम्मेवारी निर्वाह गर्ने, फागुन १२ गतेभित्र निर्वाचन अचारसंहिता विपरीत प्रचार, ब्यानर हटाउने, नहटाएको कानुनबमोजिम कारबाही गर्ने, प्रचारप्रसारमा डिजे प्रयोग नगर्ने र सामाजिक सद्भाव कायम गर्नका लागि सबैले आ–आफ्नो ठाउँबाट भूमिका निर्वाह गर्ने सहमति भएको सुनसरीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले जानकारी दिए । निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउनका लागि सुरक्षाकर्मी तयार रहेको सुनसरीका प्रहरी उपरीक्षक केशव थेबेले जानकारी दिए । बैठकमा नेपाली कांग्रेसबाट जिल्ला सभापति केदार भण्डारी, नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सचिव राम कोइराला, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट जिल्ला सभापति सागर दाहाल, जसपाबाट महेन्द्र यादव, जिल्लाका सम्पूण सुरक्षा अधिकारीको सहभागिता रहेको थियो । जिल्लामा निर्वाचनका लागि आवश्यकपर्ने सामग्री आइसकेको जानकारी दिइयो । निर्वाचनका लागि चाहिने आवश्यक मतपत्रसहित विभिन्न प्रकारका निर्वाचन सामग्री सुनसरी आइपुगेको र सम्बन्धित निर्वाचन क्षेत्रमा पुर्याउने कार्यसमेत गरिरहेको प्रजिअ घिमिरेले जानकारी दिए । सुनसरीमा ४ निर्वाचन क्षेत्रमा १६७ मतदानस्थल रहेको छ ।
यस्तो छ सोमबारका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (सोमबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४५ रुपैयाँ २८ पैसा र बिक्रीदर १४५ रुपैयाँ ८८ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७१ रुपैयाँ १६ पैसा र बिक्रीदर १७१ रुपैयाँ ८७ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर १९५ रुपैयाँ ८९ पैसा र बिक्रीदर १९६ रुपैयाँ ७० पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८७ रुपैयाँ २५ पैसा र बिक्रीदर १८८ रुपैयाँ ०३ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर १०२ रुपैयाँ ९१ पैसा र बिक्रीदर १०३ रुपैयाँ ३३ पैसा, क्यानेडियन डलर एकको खरिददर १०६ रुपैयाँ १९ पैसा र बिक्रीदर १०६ रुपैयाँ ६३ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११४ रुपैयाँ ६८ पैसा र बिक्रीदर ११५ रुपैयाँ १६ पैसा तोकिएको छ । जापानी येन १० को खरिददर नौ रुपैयाँ ३७ पैसा र बिक्रीदर नौ रुपैयाँ ४१ पैसा, चिनियाँ युआन एकको खरिददर २१ रुपैयाँ ०३ पैसा र बिक्रीदर २१ रुपैयाँ १२ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३८ रुपैयाँ ७३ पैसा र बिक्रीदर ३८ रुपैयाँ ८९ पैसा, कतारी रियाल एकको खरिददर ३९ रुपैयाँ ८६ पैसा र बिक्रीदर ४० रुपैयाँ ०२ पैसा कायम भएको छ । केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ६८ पैसा र बिक्रीदर चार रुपैयाँ ७० पैसा, युएई दिराम एकको खरिददर ३९ रुपैयाँ ५५ पैसा र बिक्रीदर ३९ रुपैयाँ ७२ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ २२ पैसा र बिक्रीदर ३७ रुपैयाँ ३८ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ ०५ पैसा र बिक्रीदर १० रुपैयाँ ०९ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १६ रुपैयाँ ०४ पैसा र बिक्रीदर १६ रुपैयाँ १० पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ९१ पैसा र बिक्रीदर २३ रुपैयाँ ०१ पैसा तोकिएको छ । राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ५९ पैसा र बिक्रीदर १८ रुपैयाँ ६७ पैसा, कुवेती दिनार एकको खरिददर ४७५ रुपैयाँ ६३ पैसा र बिक्रीदर ४७७ रुपैयाँ ५९ पैसा, बहराइन दिनार एकको खरिददर ३८५ रुपैयाँ ३१ पैसा र बिक्रीदर ३८६ रुपैयाँ ९० पैसा, ओमनी रियाल एकको खरिददर ३७७ रुपैयाँ ८४ पैसा र बिक्रीदर ३७९ रुपैयाँ ४० पैसा रहेको छ । यस्तै,भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।
धादिङमा दुर्घटनामा परेको बसमा ३४ यात्रु थिए: समिति अध्यक्ष साई
काठमाडौं । धादिङको बेनीघाट रोराङ गाउँपालिका-५ भैँसीगौडामा आज बिहान दुर्घटना भएको बसले पोखरादेखि ३४ जना यात्रु लिएर काठमाडौंका लागि छुटेको पृथ्वी राजमार्ग बस सञ्चालक समितिले जनाएको छ । पोखराको पर्यटक बसपार्कबाट आइतबार साँझ ७ बजे छुटेको ग.१ ख १४२१ नं. उक्त बसमा ३४ यात्रुसहित चालक र २ जना बसका कर्मचारी सवार रहेको समितिका अध्यक्ष ऐन बहादुर साईले बताए । ‘पोखरादेखि बस छुट्दा चालक, कर्मचारीसहित बसमा ३७ जना सवार थिए, बीच बाटोमा अन्य यात्रु पनि चढेको अनुमान गरिएको छ, विस्तृत विवरण आइसकेको छैन,’ उनले भने । बस दुर्घटनामा परी १७ जनाको मृत्यु भएको र २४ जना घाइते भएको जनाइएको छ । दुर्घटनाको थप विवरण आउन बाँकी छ ।