विकासन्युज

आज ६ प्रदेशमा मेघगर्जनसहित भारी वर्षाको चेतावनी

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही माथि रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर साधारणतया बादल लागेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको थोरै स्थानमा तथा मधेस प्रदेशको एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो देशभर अधिकांश बादल लाग्नेछ । देशका हिमाली भू-भागका केही स्थान, पहाडी भू-भागका धेरै स्थान र तराई भू-भागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ ।  कोशी, बागमती, गण्डकी, कर्णाली प्रदेशको पहाडी भू-भाग साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भू-भागको एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । आज राति देशभर साधारणतया बादल लाग्ने सम्भावना छ । देशका हिमाली भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी र तराई भू-भागको धेरै स्थानमा तथा कर्णाली प्रदेशको पहाडी र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई  भू-भागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ । गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भू-भागको थोरै स्थानमा र कोशी प्रदेशको पहाडी, गण्डकी र लुम्बिनी प्रदेशको तराई भू-भागको एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

बेल्जियमलाई हराउँदै स्पेन सेमिफाइनलमा

काठमाडौं । स्पेन फिफा विश्वकप २०२६ को सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार बिहान अमेरिकाको लस एन्जलसस्थित सोफी स्टेडियममा भएको क्वार्टरफाइनलमा बेल्जियमलाई २–१ ले पराजित गर्दै स्पेन अन्तिम चारमा पुगेको हो । स्पेनका लागि फाबियन रुइजले ३० औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । तर बेल्जियमका चाल्र्स डे केटेलाएरले ४१औं मिनेटमा बराबरी गोल फर्काउँदै पहिलो हाफ १–१ मा टुंग्याए । दोस्रो हाफमा दुवै टोलीले अवसर सिर्जना गरे पनि खेलको ८८औं मिनेटमा मिकेल मेरिनोले निर्णायक गोल गर्दै स्पेनलाई २–१ को जित दिलाए । मेरिनोले यसअघि अन्तिम १६ मा पोर्चुगलविरुद्ध पनि निर्णायक गोल गरेका थिए । बेल्जियमले खेलको ७१औं मिनेटमा ठूलो धक्का बेहोर्नुप‍र्यो । अनुभवी गोलरक्षक थिबो कोर्टुवा तिघ्राको चोटका कारण मैदान छाड्न बाध्य भए । उनको स्थानमा आएका सेन्ने लामेन्सले अन्त्यतिर आएको प्रहार नियन्त्रण गर्न नसक्दा मेरिनोले रिबाउन्डमा गोल गरेका थिए । यो जितसँगै युरो २०२४ को विजेता स्पेनले विश्वकप उपाधितर्फको आफ्नो अभियानलाई थप मजबुत बनाएको छ । स्पेनले अब सेमिफाइनलमा फ्रान्ससँग प्रतिस्पर्धा गर्नेछ ।

पूर्वन्यायाधीश र संवैधानिक पदाधिकारीको सम्पत्ति छानबिन नगर्न सर्वोच्चको रोक

काठमाडौं । सर्वोच्च अदालतले पूर्वन्यायाधीश लगायत महाभियोगबाट मात्रै पदमुक्त हुने संवैधानिक पदाधिकारीहरूलाई सम्पत्ति विवरण बुझाउन बाध्य नपार्न सरकारद्वारा गठित सम्पत्ति छानबिन आयोगका नाममा अन्तरिम आदेश जारी गरेको छ ।  न्यायाधीशहरू टेकप्रसाद ढुंगाना र श्रीकान्त पौडेलको इजलासले नेपालको संविधानको धारा २३९ को विशेष व्यवस्था आकर्षित हुने व्यक्तिहरूलाई सम्पत्ति विवरण बुझाउन बाध्य नपार्न यस्तो आदेश दिएको हो । अधिवक्ता डा. प्रेमराज सिलवाल लगायतले सरकारले गैरसंवैधानिक रूपमा सम्पत्ति छानबिन आयोग गठन गरेको दाबी गर्दै दायर गरेको रिट निवेदनमाथि सुनुवाइ गर्दै अदालतले सो आदेश दिएको हो ।  सर्वोच्चले पूर्ण इजलासबाट अन्तिम टुंगो नलाग्दासम्म कसैलाई पनि सम्पत्ति विवरण पेश गर्न बाध्य नपार्नु भन्दै उनीहरूले पेश गरिसकेको विवरण पनि छानबिन नगरी यथास्थितिमा राख्न र कसैलाई कानुनी कारबाहीको सिफारिस नगर्न निर्देशन दिएको छ । सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाका अनुसार आदेशमा प्रयोग गरिएको कसैलाई पनि भन्ने शब्दावलीले संविधानको धारा २३९ मा किटान गरिएका पदाधिकारीहरूलाई मात्र इंगित गरेको र यो सबैका हकमा लागू हुने छैन ।  अदालतको यो आदेशले पूर्वन्यायाधीशहरू, पूर्व संवैधानिक पदाधिकारी र नेपाली सेनाका अवकाशप्राप्त अधिकारीहरूलाई प्रभाव पार्नेछ । बहालवाला सैनिक अधिकारीका हकमा भने आदेश स्पष्ट छैन । संविधानको धारा २३९ अनुसार महाभियोगबाट पदमुक्त हुने व्यक्ति, न्यायपरिषदबाट पदमुक्त हुने न्यायाधीश र सैनिक ऐन बमोजिम कारबाही हुने व्यक्तिलाई पदमुक्त नभएसम्म अख्तियारले अनुसन्धान गर्न नपाउने व्यवस्था छ ।  बहालवाला न्यायाधीश र संवैधानिक पदाधिकारीलाई सम्पत्ति विवरण बुझाउनुपर्ने बाध्यकारी व्यवस्था नभए पनि महाभियोग, न्यायपरिषद् वा सैनिक ऐन बमोजिम पदमुक्त भइसकेका व्यक्तिहरूले भने विवरण बुझाउनुपर्नेछ । मुद्दाको सुनुवाइका क्रममा सर्वोच्च अदालतले तीनवटा महत्वपूर्ण संवैधानिक प्रश्नहरू अघि सारेको छ । जसमा संविधानले नै भ्रष्टाचार अनुसन्धानका लागि अख्तियारको परिकल्पना गरेको अवस्थामा जाँचबुझ आयोग ऐन, २०२६ अनुसार अलग्गै आयोग गठन गर्नु संविधान र कानुन अनुकूल छ कि छैन ? यस्तै, महाभियोग, न्यायपरिषद् र सैनिक ऐन बमोजिम कारबाही भोग्ने अधिकारीहरूमाथि अनुसन्धान गर्ने संवैधानिक क्षेत्राधिकारको अतिक्रमण गरी सम्पत्ति छानबिन आयोगले जाँचबुझ गर्नु कति सम्मको संविधानसम्मत हो ? संविधानको धारा १३२ ले प्रधानन्यायाधीश वा सर्वोच्चको न्यायाधीश भइसकेको व्यक्तिलाई अन्य सरकारी पदमा नियुक्ति हुन बन्देज गरेको अवस्थामा (मानव अधिकार आयोग बाहेक), सर्वोच्चकै पूर्वन्यायाधीशलाई यस आयोगको अध्यक्षमा नियुक्त गर्नु संविधानसम्मत देखिन्छ कि देखिँदैन ? रिट निवेदनमा अत्यन्तै गम्भीर र जटिल संवैधानिक एवं कानुनी प्रश्नहरू समावेश भएको निष्कर्ष निकाल्दै सर्वोच्चले यसलाई पूर्ण इजलासमा पेश गर्न आदेश दिएको छ । यदि प्रधानन्यायाधीशले यसमा थप जटिलता देखेमा मुद्दा संवैधानिक इजलासमा समेत जान सक्नेछ । अदालतले विषयको गम्भीरतालाई ध्यानमा राख्दै मुद्दालाई अग्राधिकार (प्राथमिकता) दिएर १५ दिनभित्र पेशीमा राख्न र एक साताभित्र दुई/दुई जनाका दरले एमिकस क्यूरी अर्थात् अदालतका सहयोगी पठाइदिन नेपाल बार एसोसिएसन र सर्वोच्च अदालत बार एसोसिएसनलाई आदेश दिएको छ ।  आयोगले असार मसान्तसम्म सम्पत्ति विवरण बुझाउन सूचना जारी गरेको पृष्ठभूमिमा अदालतको यो आदेश आएको हो । अब गठन हुने पूर्ण इजलासले यिनै प्रश्नहरूमा केन्द्रित रहेर आयोगको औचित्य र क्षेत्राधिकारबारे अन्तिम न्यायिक व्याख्या गर्नेछ ।

नेपाल र भारत ‘ए’ बीच तीन खेलको टी-२० शृंखला हुने

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा कीर्तिपुरस्थित त्रिवि (टीयू) अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपाल र भारत ‘ए’ बीच तीन खेलको टी-२० शृंखला आयोजना हुने भएको छ । नेपाल क्रिकेट संघले प्रेस विज्ञप्ति जारी गर्दै उक्त खेल तालिकासहितको विवरण सार्वजनिक गरेको हो । क्यानका अनुसार यो खेल शृंखला आगामी डिसेम्बर सन् २०२६ मा संचालन हुने तय भएको छ । स्कटल्याण्डमा सम्पन्न आइसिसी कन्फरेन्सका क्रममा नेपाल क्रिकेट संघका अध्यक्ष चतुर बहादुर चन्द, सचिव पारस खड्का र भारतीय क्रिकेट नियन्त्रण बोर्डका सचिव देवजीत साइकियाबीच भएको विशेष बैठकले यस टी-२० शृंखला आयोजना गर्ने महत्वपूर्ण निर्णय गरेको थियो । सार्वजनिक गरिएको खेल तालिका अनुसार नेपाल र भारत ’ए’ बीचको पहिलो टी-२० खेल डिसेम्बर ९ मा हुनेछ । यसैगरी, दोस्रो खेल डिसेम्बर ११ मा र तेस्रो तथा अन्तिम टी-२० खेल डिसेम्बर १३ मा कीर्तिपुर मैदानमा खेलिने नेपाल क्रिकेट संघका सचिव पारस खड्काद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।  

पशुपतिमा साउने सोमबारको तयारी सुरु

काठमाडौं ।  पशुपति क्षेत्र विकास कोषले पशुपति क्षेत्रमा साउने सोमबारको तयारी सुरु गरेको छ । मन्दिरका मूल भट्ट, भण्डारी, कोषका सञ्चालक परिषद्का सदस्यहरू तथा कोषका पदाधिकारीहरूबीच आगामी साउने सोमबार विशेष व्यवस्थापन तथा तयारीका लागि बैठक गरी तयारी सुरु गरेको हो ।  तयारी स्वरुप यही असार २७ गते शनिबारदेखि प्रत्येक दिन बिहान पशुपति क्षेत्रमा सफाइ गर्न सुरु गरिएको छ । बैकमा भक्तजनलाई सहज, सुरक्षित र व्यवस्थित रूपमा दर्शन तथा सेवा उपलब्ध गराउने विषयमा आवश्यक तयारी, व्यवस्थापन तथा समन्वयका विविध पक्षहरूमा विस्तृत छलफल गरी तयारी अघि बढाइएको कोषका सदस्य सचिव तीर्थ श्रेष्ठले जानकारी दिए ।

गणेश नेपालीको निधनप्रति यातायात व्यवसायी राष्ट्रिय महासंघद्वारा दुःख व्यक्त

काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले पठाओ चालक गणेश नेपालीको निधनप्रति गहिरो दुःख व्यक्त गरेको छ ।  महासंघका महासचिव डेकनाथ गौतमले आज शोक विज्ञप्ति जारी गरी शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गर्दा नेपालीको निधन भएको घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै समवेदना प्रकट गरे । महासंघले सार्वजनिक यातायात क्षेत्रमा विद्यमान कानुन, ऐन, नियमावली परिवर्तन नगरी अत्यधिक बिमा प्रिमियम, दायित्व र जरिवाना वृद्धि गर्ने गरी प्रकाशित सूचनाले यातायात क्षेत्रलाई आक्रान्त बनाएको र सोही कारणले यस्ता घटना घटेका भन्दै यसतर्फ सरकारको ध्यानाकर्षण भएको जनाएको छ ।  महासंघले मृतक नेपालीका परिवारलाई उचित क्षतिपूर्ति र निष्पक्ष छानबिनको मागसमेत गरेको छ ।

नयाँ नियमावलीका केही व्यवस्था खारेज गर्न माग गर्दै कांग्रेसले दर्ता गर्‍यो सर्वोच्चमा रिट

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधि सभाको नयाँ नियमावलीका केही व्यवस्थाहरु खारेज गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता गरेको छ । कांग्रेसले शुक्रबार दर्ता गरेको रिटमाथि संवैधानिक इजलाशमा छलफल गर्न अदालतले आगामी ३१ गतेका लागि पेशी पनि तोकेको छ ।  संविधानसँग बाझिने गरी नियमावलीलाई ऐनभन्दा माथि राखिएको, राष्ट्रिय सभाको अधिकार क्षेत्रलाई हस्तक्षेप गरिएको, नियमावलीको नियम १४० (११), २५९ संविधानको धारा २७४ (८)सँग बाझिएकोले खारेज गर्न कांग्रेसले रिटमा माग दावी गरेको छ ।  राष्ट्रिय सभामा कांग्रेसको संसदीय दलका नेता कमलादेवी पन्त, प्रमुख सचेतक पदम बहादुर परियार, प्रतिनिधि सभाको संसदीय दलका उपनेता अभिषेक प्रताप शाह र प्रमुख सचेतक बासना थापाले रिट दर्ता गर्नु भएको हो । कांग्रेसलगायतका दलहरुले विरोध र नारावाजी गर्दागर्दै गत जेठ १७ गते बहुमतका आधारमा पारित गरिएको प्रतिनिधि सभा नियमावली २०८३ मा कांग्रेसले त्यति बेला नै आपत्ति जनाएको थियो ।  कांग्रेसले नियमावलीको मस्यौदामा रहेका कतिपय प्रावधानमा थप छलफलको आवश्यकता रहेकोले छलफलका लागि समितिमा पठाउन माग गरेको थियो । तर सभामुख डोलप्रसाद अर्यालले मस्यौदालाई समितिमा लैजानुपर्ने विषय नरहेको भन्दै प्रक्रिया अघि बढाएका थिए । सो मस्यौदा समिति राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलका उपनेता गणेश पराजुलीको संयोजकत्वमा रहेको थियो । रिटमा प्रतिनिधि सभा, संसद सचिवालय, सभामुख अर्याल, मस्यौदा समिति संयोजक पराजुली र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयलगायतलाई विपक्षी बनाइएको रिटको मस्यौदाकार अधिवक्ता राजु कटुवालले जानकारी दिए । रिटमा उल्लेखित प्रावधानहरु बदर गरी कार्यान्वयन नगर्न आदेश दिन माग गरिएको छ ।

ऊर्जा मन्त्री विराज भक्त र अमेरिकी दूतावासका चार्ज द’अफेयर्सबीच भेटवार्ता

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठ र नेपालस्थित अमेरिकी दूतावासका चार्ज द’अफेयर्स (ए.आई.) बीच शुक्रबार मन्त्रालयमा भेटवार्ता भएको छ । भेटका क्रममा नेपाल-अमेरिका ऊर्जा सहकार्यलाई थप प्रभावकारी र परिणाममुखी बनाउने विषयमा विस्तृत छलफल भएको मन्त्रालयले जनाएको छ ।  छलफलमा स्वच्छ ऊर्जा विकास, जलविद्युत् उत्पादन, विद्युत् प्रसारण पूर्वाधारको विस्तार, ऊर्जा सुरक्षा, निजी तथा वैदेशिक लगानी प्रवर्द्धन, प्राविधिक सहयोग र क्षमता अभिवृद्धिलगायतका क्षेत्रमा सहकार्यलाई अझ मजबुत बनाउने विषयमा विचार आदानप्रदान भएको थियो । दुवै पक्षले नेपालको ऊर्जा क्षेत्रको दिगो विकासलाई प्राथमिकतामा राख्दै पारस्परिक हित र साझा उद्देश्यका आधारमा द्विपक्षीय सहकार्यलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । भेटवार्ता नेपाल र अमेरिकाबीच ऊर्जा क्षेत्रमा रहेको सहकार्यलाई नयाँ उचाइमा पुर्‍याउने विश्वाससहित सम्पन्न भएको मन्त्रालयले जनाएको छ ।