प्रधानमन्त्रीको कार्यभार उपप्रधानमन्त्री प्रकाशमान सिंहले सम्हाल्ने
काठमाडौं । प्रधानमन्त्रीको कार्यभार उपप्रधानमन्त्री सिंहले सम्हाल्ने भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली स्पेनको सेभियामा असार १६ देखि १९ गतेसम्म आयोजना हुने राष्ट्र सङ्घीय ‘विकासका लागि वित्त सम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलन’ भाग लिन प्रस्थान गरेपछि उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहलाई कार्यभार तोकिएको हो । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीको अनुपस्थितिमा उनले सम्पादन गर्ने दैनिक प्रशासनिक कार्यभार सिंहले गर्नेछन् । नेपालको संविधान बमोजिम प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति पौडेलले उपप्रधानमन्त्री सिंहलाई प्रधानमन्त्रीको दैनिक प्रशासनिक जिम्मेवारी सम्हाल्नेगरी तोकेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
राजनीतिमा सक्रिय भएको विद्या भण्डारीको घोषणा, एमालेको सदस्यता नवीकरण
काठमाडौं । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले आफू नेकपा एमालेको राजनीतिमा फर्किएको घोषणा गरेकी छिन् । स्व. मदन भण्डारीको ७४ औं जन्मोत्सवमा आयोजित सभालाई सम्बोधन गर्दै उनले सक्रिय राजनीतिमा फर्किएको घोषणा गरेकी हुन् । एमालेबाटै राजनीतिक यात्रालाई निरन्तरता दिने पवित्र उद्देश्यका साथ आफूले पार्टी सदस्यता नवीकरण गरेको उनले बताइन् । ‘फरक ढङ्गको राजनीतिक जिम्मेवारीबाट मुक्त भएपछि नेकपा (एमाले) मै रहेर पार्टीको राजनीतिक यात्रालाई निरन्तरता दिने पवित्र उद्देश्यका साथ पार्टी सदस्यता नवीकरण गरेको उनले बताइन् । भण्डारीले भनिन्, ‘अब म नेकपा (एमाले) परिवारको एक सदस्यको रूपमा पुनः जोडिएको छु र यसमा म गर्व गर्दछु ।’ उनले आफ्नो कुनै ठूलो महत्वाकांक्षा नरहेको पनि बताइन् ।
सर्बिया पठाइदिन्छु भन्दै १० लाख ठगी गर्ने युवक काठमाडौंमा पक्राउ
काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी सर्बिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका–९ बस्ने पर्सा सखुवा प्रसौनी गाउँपालिका–६ घर भएका २३ वर्षीय सुनिलकुमार सोनारलाई पक्राउ गरिएको छ । सुनिलले सर्बिया पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट रु १० लाख लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले निजलाई काठमाडौं महानगरपालिका–१० बाट बिहीबार पक्राउ गरेको हो । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार निजलाई कारवाहीको लागि वैदेशिक रोजगार विभागको जिम्मा लगाइएको छ । यसैबीच, बैंकिङ कसूर मुद्दाका २ जना फरार प्रतिवादी पनि पक्राउ परेका छन् । तनहुँ बन्दिपुर गाउँपालिका–१ का ४७ वर्षीय विष्णुबहादुर भण्डारी र काठमाडौं महानगरपालिका–२६ गोंगबु बस्ने रोल्पा माडी गाउँपालिका–४ का ३८ वर्षीय प्रेमबहादुर विकलाई पक्राउ गरिएको हो । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट भएको प्रहरी टोलीले जिल्ला अदालत काठमाडौंको २०८० मंसिर २७ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा रु ११ लाख जरिवाना र एक महिना कैद सजाय ठहर भई फरार रहेका भण्डारीलाई काठमाडौं महानगरपालिका–३ महाराजगञ्जबाट शुक्रबार पक्राउ गरेको हो । साथै सोही मुद्दामा फरार रहेका विकलाई काठमाडौं महानगरपालिका–२६ गोंगबुबाट बिहीबार प्रहरीले पक्राउ गरेको हो । प्रहरीका अनुसार भण्डारीलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेस गरिएको छ भने विकलाई इलाका प्रहरी कार्यालय कोहलपुर पठाइएको छ । साथै चेक अनादर मुद्दाका फरार प्रतिवादी ललितपुर महालक्ष्मी नगरपालिका–३ इमाडोल बस्ने मोरङ लेटाङ नगरपालिका–९ घर भएकी ५५ वर्षीया असारी लिम्बुलाई पनि शुक्रबार पक्राउ गरिएको छ ।
प्रधानमन्त्री ओली स्पेन प्रस्थान, राष्ट्र सङ्घीय सम्मेलनमा सहभागी हुने
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली स्पेनको सेभियामा असार १६ देखि १९ गतेसम्म आयोजना हुने संयुक्त राष्ट्र सङ्घीय ‘विकासका लागि वित्त सम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलन’ भाग लिने २१ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै त्यसतर्फ प्रस्थान गरेका छन् । प्रधानमन्त्री ओलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे र मुख्यसचिव एक नारायण अर्यालले बिदाइ गरे । प्रधानमन्त्रीको बिदाइका लागि विमानस्थलमा उच्च पदस्थ सरकारी अधिकृत एवं सुरक्षा निकायका प्रमुख उपस्थित थिए । ‘इन्टरनेशनल कन्फरेन्स अन फाइनान्सिङ फर डेभलपमेन्ट अफ युनाइटेड नेशन्स् (एफएफडी-४)’ का लागि राष्ट्र सङ्घका महासचिव एन्टेनियो गुटेरस र स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजको मैत्रीपूर्ण निमन्त्रणमा उनी आज अपरान्ह त्यसतर्फ प्रस्थान गरेका हुन् । सम्मेलनमा सरकार प्रमुख, विश्व र क्षेत्रीय संस्था, वित्तीय र व्यापारिक संस्था, व्यवसायी, नागरिक समाज तथा राष्ट्र सङ्घीय निकायका प्रतिनिधि सहभागी हुने छन् । परराष्ट्र मन्त्रालयका अनुसार सम्मेलनमा नेपालले अल्पविकसित, साना र टापु मुलुकका विकासका चुनौतीबारे आफ्ना धारणा राख्नेछ । दिगो विकासका लागि तत्काल र दीर्घकालीन लगानीका चुनौतीमा घटाउने सम्बन्धमा सम्मेलन केन्द्रित हुनेछ । स्पेनमा रहँदा प्रधानमन्त्री ओलीले विभिन्न मुलुकका आफ्ना समकक्षी तथा राष्ट्रप्रमुखसँग बेग्लाबेग्लै भेटवार्ता गर्ने कार्यक्रम छ । प्रधानमन्त्री ओलीले स्पेनका नरेश फिलिप द्वितीयासँग शिष्टाचार भेट तथा समकक्षी सान्चेजसँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ । प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलमा प्रधानमन्त्री पत्नी राधिका शाक्य, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र मन्त्रालयका सचिव अमृत बहादुर राई, अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्याय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव राजकुुमार श्रेष्ठलगायत छन् । प्रधानमन्त्री ओली यही असार २० गते शुक्रबार अपरान्ह स्वदेश फर्कने कार्यक्रम छ ।
तनहुँको व्यावसायिक अङ्गुर फार्ममा पर्यटक बढ्दै, वाइन उत्पादनका लागि धादिङ पठाइँदै
दमौली । जिल्लामा पहिलो पटक ७० रोपनी क्षेत्रफलमा गरिएको व्यावसायिक अङ्गुरखेती अवलोकन गर्न आन्तरिक पर्यटकको आकर्षण बढेको छ । घिरिङ गाउँपालिका–४ बाह्रबीसेमा व्यावसायिक रूपमा थालिएको अङ्गुरखेती हेर्न जिल्लाका विभिन्न क्षेत्रबाट आन्तरिक पर्यटक पुग्न थालेका हुन् । काठमाडौं चन्द्रागिरिका कुमार कार्कीले पाँच वर्षअघि यहाँ जग्गा खरिद गरी व्यावसायिक रूपमा अङ्गुरखेती गरिरहेका छन् । विसं २०७७ मा घिरिङ भिनेयार्ड एग्रो रिसर्च सेन्टर दर्ता गरी खेती सुरु गरेकोमा अहिले फार्ममा लटरम्म अङ्गुर फलेका छन् । करिब ७० रोपनी क्षेत्रफलमा डिभिको, चार्डोनी, अर्काडिया, सोन्जालगायत २१ प्रजातिका अङ्गुर लगाएको कार्कीले जानकारी दिए । उनका अनुसार जिल्लाको पहिलो अङ्गुरखेती हेर्न दैनिक ५० जनासम्म आन्तरिक पर्यटक यहाँ पुग्ने गरेका छन् । व्यास नगरपालिका–५ का मोहनकुमार श्रेष्ठले लटरम्म फलेका अङ्गुरले यहाँ पुग्ने जोकोहीलाई लोभ्याउने बताए । अङ्गुर फार्ममा पसगेका छिमेकी ऋषिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले अङ्गुरखेती प्रशंसालायक रहेको उल्लेख गरे । सञ्चालक कार्कीका अनुसार फार्ममा चार जनाले स्थायी र २० जनाले ज्यालादारीका रूपमा रोजगारी पाएका छन् । स्वीट्जरल्याण्डबाट प्रतिबिरुवा ७०० देखि एक हजारसम्ममा खरिद गरी यहाँ ल्याएर रोपिएको उनले जानकारी दिए । अङ्गुरखेतीका लागि हालसम्म एक करोड ५० लाखभन्दा बढी लगानी भइसकेको उनले बताए । कार्कीका अनुसार यहाँ उत्पादित अङ्गुर वाइन बनाउनका लागि धादिङ पठाउने गरिएको छ । सात सय ५० मिलिलिटरका बोतलमा विभिन्न तीन प्रकारका वाइन उत्पादन भइरहेको उनले जानकारी दिए । वाइन बनाउने कम्पनीले धादिङको थाँक्रे गाउँपालिका–१० जुङेखोला केवलपुरमा विगत १५ वर्षदेखि ३०० रोपनी क्षेत्रफलमा ३० हजार बिरुवा लगाएर व्यावसायिक अङ्गुरखेती गरी वाइन उत्पादन गर्दै आएको कार्कीले बताए । धादिङमा ३८ करोड ५० लाखको लागतमा अङ्गुरखेती र वाइन उत्पादन भइरहेको भन्दै त्यहाँ उत्पादित वाइन प्रतिबोतल एक हजार २०० मा बिक्री भइरहेको उनले उल्लेख गरे । कार्कीले भने, ‘कम्पनीसँग हाल वार्षिक तीन लाख लिटर वाइन उत्पादन गर्ने क्षमता छ ।’ वर्षामा एकपटक अङ्गुर फल्ने भएकाले अन्य समयमा फार्ममा रेखदेख, गोडमेल, काँटछाँट, बिरुवा मरेका ठाउँमा नयाँ बिरुवा लगाउनेलगायत कार्य गरिएको उनको भनाइ छ । फार्ममा हारियोमा सुजी, कायाबिनेट क्यान्टर, मनाज, सोबिनियन ग्रिस तथा खानका लागि फन्नी, सोफिया, आरकडिया, पोलिस्की, दुचबा, चालिचमानलगायत जातका अङ्गुर छन् । अङ्गुरको बोटमा चैत, वैशाखमा फूल फुल्छ भने त्यसपछि तीन महिनामा फल टिप्न तयार हुन्छ । यहाँको हावापानी उपयुक्त रहेकाले व्यावसायिक रूपमा अङ्गुरखेती भइरहेको घिरिङ गाउँपालिकाका अध्यक्ष होमबहादुर थापाले बताए । रासस
नागरिकता विधेयक प्रतिनिधि सभाबाट पारित : आमाको नामबाट नागरिकता पाउने बाटो खुल्यो
काठमाडौं । प्रतिनिधि सभाबाट नेपाल नागरिकता दोस्रो संशोधन विधेयक, २०८२ पारित भएको छ । सभाको शनिबारको बैठकले उक्त विधेयक बहुमतले पारित गरेको हो । उक्त विधेयक पारित भएसँगै एकल आमाका सन्तानले आमाको नामबाटै नागरिकता पाउने बाटो खुलेको छ । विधेयकाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै गृहमन्त्री रमेश लेखकले नागरिकताको विषयमा संविधान, कानून र सरकारको धारणा स्पष्ट रहेको बताए । उनले नागरिकता पाउनुपर्ने नागरिक नागरिकताविहीन नरहोस् र पाउन नपर्ने व्यक्तिले नागरिकता नपाओस् भन्ने विषयमा सरकार गम्भिर रहेको बताए । संविधानले गैरआवासीय नेपाली नागरिकलाई पनि नागरिकता प्रदान गर्ने व्यवस्था गरेको उल्लेख गर्दै त्यसका लागि छुट्टै कानून निर्माणको तयारीमा सरकार जुटेको पनि जानकारी दिए । उनले भने, ‘नेपाली नागरिकता पाउनुपर्ने नागरिक नागरिकताविहीन नरहोस् । र पाउन नपर्ने मानिसले नागरिकता नपाओस् भन्ने कुरमा संविधान, कानून र सरकार स्पष्ट छ । नागरिकता अत्यन्त संवेदनशील विषय हो । नेपालको नागरिकता पाउनुपर्ने मानिसले नगरिकता पाउनुपर्छ, पाउन नुहने मानिसले पाउनुहुन्न । यसका विषयमा दुविधा हुन सक्दैन । संविधानले गैरआवासीय नेपाली नाथगरिकलाई नागरिकता प्रदान गर्ने व्यवस्था गरेको छ ।’ नागरिकताको विषयमा रहेका विवाद र समस्या समाधान गर्नको लागि सरकारले नागरिकता विधेयक संशोधन गरेको हो ।
वाह्य ऋण पुँजी निर्माणमा खर्च गरिनेछ : अर्थमन्त्री पौडेल
काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वाह्य ऋण पुँजी निर्माणमा नै खर्च गरिने बताएका छन् । शनिबार प्रतिनिधि सभामा राष्ट्र ऋण उठाउने विधेयकमाथि उठेको प्रश्नको जवाफ दिँदै अर्थमन्त्री पौडेलले वैदेशिक ऋण, अनुदानहरुलाई राष्ट्रिय पुँजी निर्माणमा लगाइने बताएका हुन् । उनकाअनुसार वाह्य ऋण साधारण खर्चका निम्ति खर्च हुनुहुँदैन भन्ने पक्षमा सरकार छ । उनले भने–‘हामी स्पष्ट हुन जरुरी छ । साधारण खर्चका लागि ऋण लिने होइन । पुँजीगत खर्चका लागि लिनुपर्छ । उत्पादन उत्पादकत्व बढाउन ऋण लिनुपर्छ । यसका निम्ति आएका सुझावहरुप्रति सम्मान गर्न चाहन्छु । सरकारको दृष्टिकोण पनि त्यही नै हो । यसको अर्थ हामी ऋणलाई पुँजी निर्माणको क्षेत्रमा खर्च गछौँ भन्ने नै हो ।’ अर्थमन्त्री पौडेलले ऋण लिएर तिर्ने अवस्था अहिले पनि रही रहेको बताए । विगतको दायित्व धेरै भएकाले अहिले संयमित तवरले नै ऋण लिइएको उनको भनाइ रहेको छ ।
७० हेक्टरमा फैलियो ड्रागन फ्रुट, सुर्खेतका ४५ किसानको रोजगारी र आम्दानीको आधार
वीरेन्द्रनगर । सुर्खेतमा ड्रागन फ्रुटको सम्भावनाले किसानलाई नयाँ आशा दिएसँगै यहाँका किसान ड्रागन फ्रुट खेतीतर्फ आकर्षित हुँदै गएका छन् । जिल्लामा ड्रागन फ्रुटको सम्भावना देखिएपछि ४५ जना किसानले व्यावसायिक खेती सुरु गरेका हुन् । वीरेन्द्रनगर–८ का कृष्ण अधिकारीले चार वर्षदेखि ड्रागन फ्रुटखेती गर्दै आएका छन् । कोरिया पढ्न गएका अधिकारी पढाइ सकेर नेपाल फर्केपछि काठमाडौंमा कोरियन भाषा पढाउन सुरु गरे पनि उनलाई आफ्नै माटोले तान्यो। कृषि पेसामा केही गर्छु भन्ने योजनासहित उनले ड्रागन फ्रुटको खेती सुरु गरेका थिए । अहिले अधिकारीको आम्दानीको स्रोत ड्रागन फ्रुट बनेको छ । करिब ४० लाख लागत लागेको बताउँदै उनले ड्रागन फ्रुट, कुरिलो, फूल र मौरीपालन गरेको जानकारी दिए । अधिकारीले वीरेन्द्रनगर–११ ग्रागेतालमा २३ कट्ठा जमिन भाडामा लिएर कर्णाली ड्रागन कृषि तथा पशुपक्षी फार्म दर्ता गरी व्यावसायिक खेती सुरु गरेका हुन् । उनले २० कट्ठामा ड्रागन र बाँकीमा जग्गामा कुरिलो, फूल र मौरीपालन गर्दै आइरहेको बताए । सुरूवातमा सात सय ५० पोलमा तीन हजार ड्रागनका बिरुवा लगाएको जनाउँदै अधिकारीले फार्ममा हाल नौ सय पोलमा तीन हजार ६०० बेर्ना उत्पादनमूलक बनेका बताए । बिरुवाले एक वर्षमा उत्पादन दिने हुँदा लगानी छिटो उठ्ने उनको भनाइ छ । उनले भारतबाट ‘सियाम रेड’ जातका ड्रागनका बेर्ना ल्याएर खेती सुरु गरेका थिए । वार्षिक एक लाख भाडा तिर्ने उक्त जमिन अहिले अधिकारीको आम्दानीको स्रोत बनेको छ । ड्रागनको उत्पादन जेठदेखि मङ्सिरसम्म हुने गर्दछ । कोपिला आएको ३५ दिनमा फल बजार पठाउन सकिन्छ । यो वर्ष पहिलो सिजनमा एक सय ५० किलो फल उत्पादन भइसकेको अधिकारीले जानकारी दिए । ‘दोस्रो सिजनको फल बजार पठाउन सुरु भइसकेको छ । यस सिजनमा २० क्वीन्टलभन्दा बढी उत्पादन हुने अनुमान छ’, उनले भने । गत वर्ष ६० क्वीन्टल फल बिक्री गरेर रु २२ लाख आम्दानी गरेको अधिकारीले जानकारी दिए । यस वर्ष उत्पादन बढेर एक सय क्वीन्टल पुग्ने अनुमान गरिएको भन्दै करिब ३० लाखको कारोबार हुने अपेक्षा गरिएको उनले उल्लेख गरे । ‘खुद्रा बजारमा प्रतिकिलो चार सय र थोकमा रु तीन सय ५० मा बिक्री हुँदै आएको ड्रागनको माग दिनानुदिन बढ्दो छ । एक पटक लगाएको ड्रागनको बिरुवाले २० वर्षसम्म फल दिन्छ’, उनले भने । ड्रागनसँगै उनले कुरिलो खेती गरेका थिए । चैतदेखि भदौसम्म फल दिने यो वनस्पति एकपटक लगाएपछि १० वर्षसम्म उत्पादन दिन्छ । यस वर्ष मात्रै कुरिलो बिक्री गरेर उनले ६० हजार आम्दानी गरेको बताए । कुरिलो प्र्रतिकलिो ६ सयमा बिक्री हुन्छ । मौरीपालन सुरु गर्न परीक्षणमा तीन घार मौरी राखेको बताउँदै अधिकारीले यस वर्ष मौरीको घार विस्तार गरी ६० वटा पुर्याउने योजना रहेको जानकारी दिए । उनले भने, ‘अहिले मौरी परीक्षणका लागि तीन घार मात्र राखेका छौँ। उत्पादन प्रशस्त हुने अपेक्षा छ। यस वर्ष मौरीको घार ६० सम्म पुर्याउने तयारीमा छौं ।’ कृषिमा आत्मनिर्भर हुँदै गएको अधिकारीले फार्ममा एक जनालाई स्थायी रोजगारी पनि दिएका छन् । उनलाई मासिक १७ हजार तलब दिने गरेको अधिकारीले बताए । उनका अनुसार ड्रागन र कुरिलोका बिरुवा उत्पादन र बिक्रीबाट वार्षिक रु मात्र एक लाख ५० हजार आम्दानी हुने गरेको छ । अधिकारी जस्तै वीरेन्द्रनगर–१२ की पद्मा रावत ड्रागन फ्रुटको खेतीमा रमाउन थाल्नुभएको पाँच वर्ष भयो। वि.सं. २०७७ मा मालिका कृषि तथा ड्रागन फ्रुट फार्म स्थापना गरी श्रीमान् वीरबहादुर बुढा र उहाँले खेती गर्ने योजना बनाउनुभएको थियो । वि.सं. २०७७ चैतमा बिरुवा लिन भारतको गुजरात पुगे । त्यतिबेला कोरोना सङ्क्रमण महामारीका रूपमा फैलिएको थियो । कोरोनाका कारण वीरबहादुरको वि.सं. २०७८ वैशाख १७ गते मृत्यु भएपछि रावतले व्यवसायलाई निरन्तरता दिँदै आएका हुन् । रावतले छ सय ५० पोलमा दुई हजार ६०० बिरुवाबाट सुरु गरेका ड्रागन फ्रुटको खेती अहिले एक हजार ४०० पोलमा पाँच हजार ६०० बिरुवा पुगेका छन् । वार्षिक तीन लाख तिर्नेगरी जग्गा १५ वर्षका लागि सम्झौता गरी भाडामा लिएको उनले जानकारी दिए । ‘यस वर्षको पहिलो सिजनको ड्रागन बजार पठाउन सुरु भएको छ । अहिलेसम्म दुई क्वीटल बिक्री गरिसकेकी छु । एउटा बोटले आठ पटकसम्म उत्पादन दिन्छ । एउटा खम्बामा चार वटाका दरले बिरुवा रोप्ने गरिन्छ । यो फलको मूल्य अहिले केही घटेको छ, पहिला जस्तो अहिले आम्दानी हुँदैन तर आफूलाई घर खर्च र छोराछोरीको पढाइ खर्च पुगेको छ’, उनले भने । वर्षमा छ लाखसम्म आम्दानी हुने गरेको रावतले जानकारी दिए । उनले भने, ‘नयाँ रोपेका बिरुवाले फल दिने समय नभएकाले आम्दानी कम भएको हो । ड्रागनका बिरुवा बिक्री गरेर वार्षिक रु तीन लाख आम्दानी हुन्छ ।’ उनले फार्ममा तरकारी, फूलका बेर्ना लगाउनुका साथै कुखुरा र बाख्रापालन पनि गर्दै आएका छन् । कर्णाली ड्रागन उत्पादन महासङ्घ, कर्णाली प्रदेशका अध्यक्ष महेन्द्र खनालले पछिल्लो समय सुर्खेतका किसान ड्रागन खेतीतर्फ आकर्षित हुन थालेका बताए । उनका अनुसार अहिले सुर्खेतमा ४५ जना किसानले ड्रागन फ्रुटको खेती गर्दै आइरहेका छन् । उनका अनुसार करिब ७० हेक्टर क्षेत्रफलमा ड्रागन फ्रुटको खेती भइरहेको छ । खनालका अनुसार हाल उत्पादन भएका ड्रागन सुर्खेतमा बिक्री हुनुका साथै नेपालगञ्ज र काठमाडौंसम्म पठाइने गरिएको छ । सरकारी तथा निजी क्षेत्रको सहकार्यमा बजार पहुँच, भण्डारण सुविधा र प्रविधिको पहुँच सुनिश्चित गरिएमा ड्रागन फ्रुट खेतीले कर्णाली प्रदेशको कृषि व्यवसायलाई नयाँ उचाइमा पुर्याउन सक्ने अध्यक्ष खनालले बताए । रासस