एकभन्दा बढी खातामा एउटै मोबाइल नम्बर राखेर खाता सञ्चालन गर्न बन्देज
काठमाडौं । कुमारी बैंकले एक भन्दा बढी खातामा एउटै मोबाइल नम्बर (आधिकारिक तथा योग्य खातामा बाहेक) राखेर खाता सञ्चालन गर्न बन्देज गर्ने भएको छ । बैंकले एक भन्दा बढी खाताहरूमा एउटै मोबाइल नम्बर राखि बैंकिङ्ग सेवा प्राप्त गरि रहेका ग्राहकको खाता बन्देज गर्ने भएको हो । नेपाल राष्ट्र बैंकबाट जारी एकीकृत निर्देशन बमोजिम बैंक तथा वित्तीय संस्थाले ग्राहक पहिचान तथा सम्पुष्टि सम्बन्धमा ग्राहकले उपलब्ध गराएको मोबाइल नम्बरको विवरण ग्राहककै रहे÷नरहेको सुनिश्चित गर्न बैंकले आग्रह गरेको छ । निहित जोखिमका आधारमा संस्थाले आवश्यक पहिचान पद्धति अवलम्बन गर्नु पर्ने व्यवस्था रहेको तथा दूर संचार सेवा प्रदायकहरूले सञ्चालनमा नआएका सिम कार्डहरू पुनः जारी गरि अन्य प्रयोगकर्तालाई हस्तान्तरण गरेको हुन सक्ने बैंकले जनाएको छ । त्यसैले एक भन्दा बढी खातामा एउटै मोबाइल नम्बर (आधिकारिक तथा योग्य खातामा बाहेक) राखेर खाता सञ्चालन गर्न बन्देज गरिने बैंकले जनाएको छ । एक भन्दा बढी खातामा एउटै मोबाइल नम्बर राखेर कारोबार (मोबाइल बैंकिङ्ग समेत ) गरिरहेका ग्राहकलाई असार २९ गतेभित्र पायक पर्ने नजिकको शाखामा सम्पर्क गरि आफ्नो मोबाइल नम्बर अद्यावधिक गर्न बैंकले आग्रह गरेको छ ।
अमेरिकाद्वारा सुडानमाथि प्रतिबन्धको घोषणा
काठमाडौं । सुडानको रक्तपात पूर्ण गृहयुद्धमा खार्तुमको सेनाले रासायनिक हतियारको प्रयोग गरेको भन्दै सुडान सरकारमाथि अमेरिकाले प्रतिबन्ध लागू भएको घोषणा गरेको छ । अमेरिकी सरकारले शुक्रबार फेडरल रजिस्टरमा प्रकाशित गरेको सूचनामा अमेरिकी निर्यात, हातहतियार बिक्री र खार्तूममा सरकारलाई आर्थिक सहायतामा लगाइएको प्रतिबन्ध कम्तीमा एक वर्षका लागि कायम रहने जनाएको छ । प्रतिबन्ध अन्तर्गत सुडानलाई अत्यावश्यक मानवीय सहायता र खाद्यान्न वा अन्य कृषि जन्य वस्तु वा उत्पादनबाहेक अन्य सहायता बन्द गरिने अमेरिकाले जनाइएको छ । यद्यपि, केही सुविधामा आंशिक रूपमा माफी गरिनेछ किनभने ‘संयुक्त राज्य अमेरिकाको राष्ट्रिय सुरक्षा हितको लागि यो आवश्यक छ’, विज्ञप्तिमा भनिएको छ। अमेरिकी विदेश मन्त्रालयले गत महिना प्रतिबन्धहरूको घोषणा गर्दै भनेको थियो, ‘लगभग सबै देशहरू द्वारा हस्ताक्षरित एक अन्तर्राष्ट्रिय सन्धिले रासायनिक प्रयोग गर्न निषेध गरेको छ त्यसैले अमेरिकाले सुडान सरकारलाई सबै रासायनिक हतियारको प्रयोग रोक्न र रासायनिक हतियार कन्भेन्सन अन्तर्गत आफ्नो दायित्वहरू पालन गर्न आग्रह गर्दछ।’ न्युयोर्क टाइम्सले जनवरीमा सुडानको सेनाले अर्धसैनिक र्यापिड सपोर्ट फोर्सेज (आरएसएफ) सँगको युद्धमा दुर्गम क्षेत्रमा कम्तीमा दुई पटक रासायनिक हतियार प्रयोग गरेको उल्लेख गरेको थियो । नाम नखुलाइएका अमेरिकी अधिकारीलाई उद्धृत गर्दै पत्रिकाले उक्त हतियार क्लोरिन ग्याँस जस्तो देखिएको र यसले श्वासप्रश्वासमा गम्भीर समस्या भई मृत्युको कारण बन्न सक्ने उल्लेख गरेको छ । खार्तूमले रासायनिक हतियार प्रयोग गरेको आरोपको खण्डन गर्दै आएको छ । व्यावहारिक रुपमा सुडानका सैन्य प्रमुख अब्देल फतह अल बुरहान र आरएसएफका नेता तथा उहाँका प्रतिद्वन्द्वी तथा पूर्व डेपुटी नेता मोहम्मद हमदान डग्लो दुवै अमेरिकी प्रतिबन्धको चपेटामा परिसकेकाले यसको प्रभाव सीमित हुनेछ । सन् २०२३ को अप्रिलमा सेना र आरएसएफबीचको शक्ति सङ्घर्षपूर्ण युद्धमा परिणत भयो र यसको विनाशकारी परिणाम पहिले नै गरिब मुलुक रहेको सुडानका लागि अभिशाप बनेको छ । यस द्वन्द्वका कारण दसौँ हजार मानिसको मृत्यु भएको छ भने एक करोड ३० लाख विस्थापित भएका छन् । सुडान युद्धलाई संयुक्त राष्ट्रसङ्घले विश्वकै सबैभन्दा खराबमध्येको एक मानवीय सङ्कटको रूपमा व्याख्या गरेको छ।
माबिलुङ्ग इनर्जीले असार २२ गतेदेखि आईपीओ निष्काशन गर्ने
काठमाडौं । माबिलुङ्ग इनर्जीले असार २२ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ बिक्री खुला गर्ने भएकाे हाे । कम्पनीले जारी पुँजी ३८ करोड ५८ लाख २४ हजार रुपैयाँको ४८.९९ प्रतिशत अर्थात् १८ करोड ९० लाख ५३ हजार रुपैयाँको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका १८ लाख ९० हजार ५३० कित्ता सेयर बिक्री खुला गर्नेछ । जसमध्ये १० प्रतिशत अर्थात् ३ करोड ८५ लाख ८२ हजार रुपैयाँको ३ लाख ८५ हजार ८२४ कित्ता सेयर आयोजना प्रभावित क्षेत्र संखुवासभाको मादी नगरपालिका वडा नम्बर ७, ८, ९ र चैनपुर नगरपालिका वडा नम्बर २, ३, ७, ८, ९ का स्थानीय बासिन्दालाई छुट्याएको छ । साथै, सर्वसाधारणलाई छुट्याइएको १५ करोड ४ लाख ७० हजार रुपैयाँको १० प्रतिशत अर्थात् १ लाख ५० हजार ४७१ कित्ता नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरि विदेशमा रोजगारी गरिरहेका नेपालीका लागि छुट्याइएको छ । कम्पनीको आईपीओमा न्यूनतम् १० कित्तादेखि अधिकतम ५० हजार कित्ता सेयरका लागि आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओमा साउन ४ गते गतेसम्म आवेदन दिनुपर्नेछ । यदि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूलाई छुट्याएको सेयर पूर्ण बिक्री नभएमा आवेदन दिने समय साउन १९ गतेसम्म लम्बिनेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल रहेको छ । स्थानीय बासिन्दाले बिक्री प्रबन्धकसँगै माबिलुङ्ग इनर्जीको वेवसाइट, ग्लोबल आइएमई बैंकको चैनपुर शाखा, हिमालयन बैंकको मादि नगरपालिका शाखा, लक्ष्मी सनराइज बैंकको खाँदबारी शाखा र आयोजनाको पावरहाउस रहेको संखुवासभाको मादि नगरपालिका-७ बाट समेत आवेदन दिन सक्नेछन् । साथै नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सीआस्बा सदस्य बैंक तथा वित्तीय संस्थाबाट सीआस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन् ।
गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा भारी वर्षा हुने
काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहँदा आज दिउँसो देशभर साधारणदेखि पूर्णतया बदली रहनेछ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भागका केही स्थान तथा बाँकी भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको केही स्थान तथा अन्य प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ । देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज राति देशभर साधारणदेखि पूर्णतया बदली रहने छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भागका धेरै स्थान तथा बाँकी भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा अन्य प्रदेशका पहाडी भागका एक/दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ । देशको उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
होमस्टेले गाउँमै बस्न सिकाउँदै
मिला दरै काठमाडौं । घरधन्दा, मेलापात, बालबालिकाको हेरचाहमा मात्र व्यस्त हुने महिलाको दैनिकी फेरिएको छ । घरेलु कार्यमा व्यस्त रहने महिलाको जीवनशैलीमा परिवर्तन आएको छ । तनहुँको भानु नगरपालिका-९ चिती खोलाका महिला जीवनशैली परिवर्तनसँगै अहिले आयआर्जनतर्फ जोडिएका छन् । नियमित गरिने कार्यसँगै पाहुना स्वागत गर्ने भएपछि अहिले उनीहरूको परिवर्तन भएको छ । विसं २०७६ मा स्थापना भएको ग्रीन हिल भिलेज सामुदायिक घरबास (होमस्टे) सञ्चालन गरेपछि घरधन्दासँगै काम परिवर्तन भएको छ । घरबासमार्फत यहाँका अधिकांश महिला आयआर्जनसँग जोडिएका छन् । यहाँका प्रत्येक घरलाई सिँगारेर घरबासमा परिणत भएपछि महिलाहरूको जीवनशैलीमात्र होइन, गाउँको पहिचानसमेत फेरिएको छ । ग्रीन हिल भिलेज होमस्टे सञ्चालक समितिकी सचिव सुशीला पुलामी भन्छिन्, ‘यहाँका महिलाको जीवनशैलीमा परिवर्तन आउनुका साथै परिवार छाडेर बालबालिका लिएर अन्त बसाइँ सर्ने कार्य रोकिएको छ ।’ घरबासले परिवारसँगै बसेर आयआर्जनसँग जोडेको उनी बताउँछिन् । पुलामी भन्छिन्, ‘हालसम्म हामीले यहाँका महिला बालबच्चासहित पठनपाठनका लागि भन्दै अन्यत्र गएको थाहा पाएका छैनौँ, गाउँमै बस्न सिकाएको छ ।’ यहाँका महिलाले आफैंले उत्पादन गरेका खाद्यवस्तुकै माध्यमबाट पर्यटकलाई आकर्षण गर्न सकिन्छ भन्ने सोचेकै थिएनन् । उनी भन्छिन्, ‘हामीले पहिला पहिला त गाउँमा पर्यटक आउने कल्पना पनि गरेका थिएनौँ, खेतबारी र घरायसी काममा सीमित रहेका हामी अहिले ती कामसँगै पाहुनाको स्वागत गर्न व्यस्त हुन्छौं । होमस्टे सञ्चालनपछि हाम्रो दैनिकीमात्र होइन, गाउँको पहिचान नै फेरिएको छ ।’ ६ वर्ष अगाडि र अहिलेको गाउँको स्वरूप नै परिवर्तन भएको पुलामीको भनाइ छ । उनी भन्छिन्, ‘होमस्टे भनेको के हो भन्नेसम्म पनि थाहा नभएका हामी अहिले यहीबाट आर्थिक रूपमा सबल बन्न सिकाएको छ ।’ चिती खोलाका २१ घरमा सञ्चालन गरिएको घरबासमा एकै पटकमा करिब ४२ जनालाई बासको व्यवस्था हुन्छ । घरबासले स्थानीयस्तरमै उत्पादित खानाका परिकार पाहुनालाई खुवाउने गर्छन् । घरबास सञ्चालनका निम्ति क्षमता विकास, पाहुना सत्कार, विभिन्न खानाका परिकार बनाउने लगायतका तालिम लिइसकेको र सहज भएको सदस्य सीता सारूले बताइन् । ‘स्थानीय उत्पादन, गाउँघरमै पाइने जैविक, विषादी रहित र रैथाने परिकार पाहुनालाई खुवाउँछौँ । पहिले यही उत्पादन आफैंले मात्र खान धेरै भएर आफन्त र छर छिमेकमा बाँडिन्थ्यो, अहिले यही उत्पादन आम्दानीको स्रोत बनेको छ,’ उनले भनिन् । यस्तै, होमस्टे सञ्चालक समितिकी अध्यक्ष धनाकुमारी सारू मगरले गाउँमा होमस्टे सञ्चालनपछि स्थानीय महिलाको जीवनशैलीमा धेरै परिवर्तन आउनुका साथै आर्थिक रूपमा सबल बन्दै गएको बताइन् । ‘होमस्टे सञ्चालनपछि आर्थिक रूपमा मात्र होइन, यहाँका महिलालाई आत्मनिर्भर र नेतृत्वदायी भूमिकामा समेत अगाडि बढाएको छ,’ उनले भनिन्, ‘गाउँमै उत्पादित खाद्यवस्तुको उपयोग गरी आय स्तर बढाउन पाएपछि यहीबाट बसाइँसराइ जाने कुरा नै भएन ।’ यहीँ आम्दानी हुने भएपछि अन्यत्र जाने सोच यहाँका महिलामा आएको नपाएको उनको भनाइ छ । ‘ग्रीन हिल भिलेज होमस्टेले पाहुनालाई शान्त र प्राकृतिक वातावरणमा बस्ने अवसर दिएको छ, साथै यहाँका महिलालाई आर्थिक रूपमा आत्मनिर्भरतातर्फ सचेत गराएको छ,’, मगरले भनिन्, ‘पाहुनाले पनि हाम्रो गाउँको मौलिकता र आतिथ्यताबारे राम्रो प्रतिक्रिया दिएका छन् । यसले हामीलाई थप ऊर्जा मिलेको छ, त्यसैले होमस्टेको सेवा थप मौलिक र आफ्नोपनको महसुस गर्ने गरी सेवा दिँदै आएका छौँ ।’ होमस्टेमा आन्तरिक तथा बाह्य पर्यटक आउने गर्दछन् । हालसम्म करिब २ हजार ५०० पर्यटकलाई स्वागत गरेको घरबासका संस्थापक सदस्य गीता अधिकारी पाण्डेले बताइन् । ‘पाहुना गाउँको रहनसहन, खाना र स्थानीय संस्कृतिबाट प्रभावित भएर फर्कनुहुन्छ,’ उनले भनिन् । घरबासमा एक रात बास बसेकी सिएमसीमा अध्ययनरत छात्रा श्रेषा सुवेदीले यहाँको आथित्यताले अपनत्व महसुस हुने बताइन् । ‘यहाँको चिसो हावा र रमणीय दृश्यले लोभ्याएको छ । यहाँको अधिकांश खानेकुरा नै अर्गानिक पायौँ । साँच्चै अर्गानिक खाना खान फेरि आउने धोको छ,’ उनले भनिन् । घरबास सञ्चालनमा सहज बनाउने उद्देश्यले यहाँ आवश्यक पूर्वाधार पनि थपिँदै गएको छ । पाहुनालाई सञ्चालक समितिका सदस्यले पालैपालो गाउँ तथा वरपरका पर्यटकीय गन्तव्य घुमाउने, परम्परागत नाच देखाउने गर्छन् । गाउँमा पाहुना आउन थालेपछि गाउँ पनि सफा र चिटिक्क बन्दै गएको छ । यहाँ आउने पाहुनाले कृषि अवलोकन, प्राकृतिक सौन्दर्यको रूपमा रहेका जङ्गलमा विभिन्न चराचुरुङ्गीको आवाज सुन्न, सुन्दर सफा हावापानीमा रमाउन, चोककोट, गढीमाईसम्म हाइकिङ, चन्द्र झरना, शिवमन्दिर र चियाबारी पनि अवलोकन गर्न सक्छन् । यहाँबाट मनास्लु हिमालको सुन्दर दृश्य देख्न सकिन्छ । पृथ्वी राजमार्ग अन्तर्गत पुरानो बजारका रूपमा रहेको डुम्रे बजारबाट डुम्रे-बेँसीसहर-चामे मोटर मार्गबाट करिब २० किलोमिटर यात्रा गरेपछि घरबासमा पुग्न सकिन्छ ।रासस
असार १५ : धान दिवस र दही चिउराको सांस्कृतिक पर्व मनाइँदै
काठमाडौं । प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवस आज खेतमा काम गरी दही चिउरा खाएर मनाइँदै छ । कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही चिउरा खान्छन् । यसबेला दही चिउराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ । असार १५ लाई नेपाली समाजमा दही चिउरा खाने पर्वका रूपमा पनि लिइन्छ । खेतिपातीबाहेक अन्य पेसा र व्यवसायमा लागेका नेपालीले पनि आज दही चिउरा खाई असार १५ मनाउँछन् । हाम्रो संस्कृतिमा दहीको स्थान महत्त्वपूर्ण छ । शुभ कार्यका लागि घरबाहिर निस्कने, विदेश जाने आदि महत्त्वपूर्ण काम गर्नुअघि दही अक्षता मुछेर निधारमा रातो टीका लगाउने परम्परा छ । यस्ता शुभ काममा निस्कनुअघि सगुनका रूपमा पनि दही खुवाएर बिदाइ गरिन्छ । निस्कने बेलामा दही खाएर हिँडे साइत पर्ने जनविश्वास रहिआएको छ । दही वैज्ञानिक दृष्टिले पनि स्वास्थ्य वर्द्धक मानिन्छ । गुरु गोरखनाथले नेपालको एकीकरणकर्ता श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहलाई दही खान दिएर पराक्रमी हुने भविष्यवाणी गरेका थिए भनिन्छ । आयुर्वेदमा भोजनको अन्त्यमा दही मथेर बनाएको मोही पिएमा औषधि उपचारका लागि स्वास्थ्यकर्मीकहाँ जानु नपर्ने बताइएको छ । 'भोजनान्ते पिबेत् तक्रं वैद्यस्य किं प्रयोजनम्’ भन्नेजस्ता वाक्य पनि आयुर्वेदमा उल्लेख गरिएको छ । दहीले पाचन शक्ति पनि बढाउँछ । पखाला लागेका बेला दही चिउरा खाएमा औषधिको काम गर्छ । यसैले दही चिउरा खाने सँस्कारले नेपाली संस्कृतिमा बृहद् रूप लिएको छ । यसरी असार १५ गते नेपाली समाजमा राष्ट्रिय सांस्कृतिक पर्व बन्न सफल भएको छ । धान दिवस विसं २०६१ मङ्सिर २९ गते मन्त्री स्तरीय निर्णय गरी २०६२ साल असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो । कृषिप्रधान देश भएकाले नेपालका अधिकांश मानिसको पेसा खेतिपाती हो । किसान वर्षभरिका लागि छाक जुटाउन यो महिना खेतीमा व्यस्त हुन्छन् । आजका दिन असारे भाकामा लोकदोहोरी गाउँदै छुपुछुपु हिलोमा धान रोपिन्छ । ‘छुपु र छुपु हिलोमा धान रोपेर छोडौँला, बनाई कुलो लगाई पानी आएर गोडौँला’जस्ता लोकलयका गीत गाएर खेतमै रमाइलो पनि गरिन्छ । मध्य गर्मीको यो समयमा युवा लाठे र युवती रोपाहारले खेतका गराको हिलो छ्यापाछ्याप गरेर मनोरञ्जन गर्छन् । असारमा एकपटक हिलोमा पस्नै पर्ने मान्यता पनि नेपालीमा समाजमा रहेको छ । यस वर्ष असार मध्यसम्म पनि देशका सबै भागमा पर्याप्त मात्रामा वर्षा नभएका कारण हुनुपर्ने जति धान रोपाइँ हुनसकेको छैन । कति ठाउँमा रासायनिक मलको पनि अभाव भएको गुनासो किसानले गर्ने गरेका छन् । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले भने पर्याप्त मात्रामा रासायनिक मलको मौज्दात रहेको दाबी गरेको छ ।
पानीको बहाव बढेपछि चार पाङ्ग्रे सवारी आवतजावतमा रोक
काठमाडौं । कञ्चनपुरको महाकाली नदीमा पानीको बहाव बढेपछि शारदा ब्यारेजमा चार पाङ्ग्रे सवारी साधन आवतजावतमा रोक लगाइएको छ । लगातारको वर्षापछि महाकाली नदीमा पानीको सतह बढेपछि चार पाङ्ग्रे सवारी साधनमा रोक लगाइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सागर बोहराले जानकारी दिए । ‘महाकालीमा पानीको बहाव एक लाख क्युसेक पुगेपछि आवागमनमा रोक लगाइन्छ,’ उनले भने, ‘शनिबार महाकाली नदीमा पानीको बहाव एक लाख १५ हजार क्युसेक पुगेपछि चार पाङ्ग्रे सवारीसाधनमा रोक लगाइएको हो ।’ यही असार १६ गतेसम्म सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले सबैमा आग्रह गरेको छ ।
प्रतिनिधिसभाको बैठक बस्दै, रोकिएको निजामती विधेयक पारित गरिँदै
काठमाडौं । सङ्घीय संसदका दुवै सदनको बैठक बस्दैछ । प्रतिनिधिसभाको बैठक आज अपरान्ह १ बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्नेछ । आजको बैठकमा निजामती विधेयक पारित गर्ने कार्यसूची तय भएको छ । मुलुक सङ्घीय संरचनामा गए पनि प्रशासनिक सङ्घीयता कार्यान्वयनमा जटिलता पैदा हुँदै आएको गुनासो थियो । प्रतिनिधिसभाको यही असार ३ गतेको बैठकमा सो विधेयक पारित गर्ने गरी कार्यसूची तय भए पनि अन्तिम समयमा आएर रोकिएको थियो । आजका लागि निर्धारित कार्यसूचीअनुसार सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले ‘राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहित सङ्घीय निजामती सेवा विधेयक, २०८० माथि छलफल गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नेछन् । सो विधेयकमाथि सांसदहरूले धारणा राखेपछि पारित हुनेछ । प्रतिनिधिसभाले सो विधेयक पारित गरेर राष्ट्रिय सभामा पठाइनेछ । राष्ट्रिय सभाले पारित गरेर प्रतिनिधिसभामा फिर्ता पठाएपछि सभामुखले प्रमाणित गर्नेछन् । सभामुखले प्रमाणित गरेर राष्ट्रपति समक्ष पेस गर्ने र प्रमाणीकरण गरेपछि कार्यान्वयनमा आउनेछ । यस्तै, आजै राष्ट्रिय सभाको बैठक पनि बस्दैछ । अपरान्ह १२ः१५ बजे बस्ने बैठकमा विनियोजन विधेयक, २०८२ का विभिन्न शीर्षकहरू मध्ये १४ वटा मन्त्रालयको विनियोजन शीर्षकहरू माथि सामूहिकृत रूपमा छलफल हुने सम्भावित कार्यसूची छ ।