विकासन्युज

असार १५ गते सार्वजनिक बिदा

काठमाडौं । कर्णाली प्रदेश सरकारले असार १५ गते 'राष्ट्रिय धान दिवस'को अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । बुधबार जारी सूचनामार्फत प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जुम्लाबाहेक अन्य ९ जिल्लामा सरकारी तथा सार्वजनिक कार्यालयहरू बन्द रहने जानकारी दिएको हो । शाखा अधिकृत राजेश चौधरीका अनुसार मन्त्रिपरिषद्को २०८१ चैत १७ गतेको निर्णयअनुसार यो बिदा दिइएको हो । सूचनामा भनिएको छ, 'जुम्ला जिल्लाबाहेकका जिल्लाहरूमा मात्र सार्वजनिक बिदा लागू हुनेछ ।' जुम्लामा धान रोपाइँ चैत महिनामै सम्पन्न हुने परम्परा रहेकाले प्रदेश सरकारले प्रत्येक वर्ष चैत १२ गते जुम्लामा छुट्टै बिदा दिँदै आएको छ । कर्णाली प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले असार १५ गते धान दिवसको अवसरमा विशेष औपचारिक कार्यक्रम पनि आयोजना गर्दै आएको छ ।

बाफिया विधेयक हुबहु पारित गराउने रणनीतिमा अर्थमन्त्री र गभर्नर, बैंकर र व्यवसायी छुट्टिने निश्चित

काठमाडौं । अहिले अर्थसमितिमा छलफलका क्रममा रहेको बैंक तथा वित्तीय संस्था ऐन, २०७३ (बाफिया) लाई संशोधन गर्न बनेको विधेयक हुबहु नै पारित हुने भएको छ । संशोधनका लागि प्रस्ताव गरिएका विभिन्न दफामाथि छलफल भएपनि सरकारले पेस गरेअनुसार नै बाफिया पारित हुने संकेत देखिएको हो ।  छलफलको क्रममा बाफिया पुनर्लेखन गर्नुपर्ने, केही बुँदा हटाउनु पर्ने तथा केही थप गर्नु पर्ने राय समितिका सदस्यहरूले राखे पनि अन्ततः हुबहु नै पारित हुने अवस्था देखिएको हो ।  यस विषयमा प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिले अर्थमन्त्रालयको राय माग गरेको थियो । अर्थमन्त्रालयले पत्र पठाउँदै पुनर्लेखनको आवश्यकता नभएको तर्क राखेको हो ।  अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाले उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई जेठ २८ गते निर्णय गर्न लगाएर विधेयक पुनर्लेखन गर्न आवश्यक नरहेको पत्र समितिमा पठाएको हो अहिले यो विधेयक विशेषगरी बैंकर र व्यवसायी छुट्टिने व्यवसायीले चर्चामा छ । धेरैले बैंकर र व्यवसायी छुट्टिनु पर्ने धारणा राखिरहेका छन् भने कतिपयले अहिले उपयुक्त समय नभएको तर्क राखिरहेका छन् ।  यसअघि नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले बैंकर र व्यवसायी छुट्टिने व्यवस्थाले बैंकिङ क्षेत्रमा भूकम्प नै आउने बताएका थिए । उनले बैंक तथा वित्तीय संस्थाको अधिकांश कर्जा निश्चित व्यक्ति तथा समूहले उपभोग गरेको बताउँदै यो समस्याको समाधान गर्न आवश्यक नै रहेको धारणा राखेका थिए ।  उनले तत्काल बैंकिङ क्षेत्रमा भूकम्प नै आएपनि यसले बैंकिङ क्षेत्रको दिगो विकासमा टेवा पुर्‍याउने धारणा राखेका थिए  । विधेयकमा बैंकको उल्लेख्य स्वामित्वको सेयर हिस्सामा २ प्रतिशतको सीमालाई १ प्रतिशतमा झार्न प्रस्ताव गरिएको छ । बाफिया विधेयकमा सञ्चालकको योग्यतामा थप कडाइ गरिएको छ । अर्थमन्त्रालय र राष्ट्र बैंकले विधेयकलाई जस्ताको त्यस्तै अगाडि बढाउनु पर्ने अडान राखिरहेका छन् । 

मस्कको ‘रोबोट्याक्सी’परीक्षणमा गम्भीर गल्ती, टेक्सासका सडकमा ‘ट्राफिक हैरानी’

काठमाडौं । टेस्लाले टेक्सासको अष्टिनमा सुरु गरेको पहिलो सार्वजनिक ‘रोबोट्याक्सी’ परीक्षणमा गम्भीर ट्राफिक समस्या देखिएको छ । कम्पनीले छानेका केही प्रयोगकर्ताले सार्वजनिक गरेका भिडियोहरूमा पहिलो केही दिनमै यस्ता समस्याहरू देखिएका हुन् । टेस्लाका प्रमुख कार्यकारी एलन मस्कले कम्पनीको भविष्य स्वचालित गाडी प्रविधिसँग जोडेका छन् । अहिले टेस्लाको बिक्री घटिरहेको अवस्थामा उनले यो सेवा अमेरिकाभर विस्तार गर्ने योजना सार्वजनिक गरेका छन् । मस्कले २०२६ को दोस्रो अर्धसम्म ‘पुरै स्वचालित रूपमा चल्ने लाखौं टेस्लाहरू’ सञ्चालनमा आउने दाबी गरेका छन् । परीक्षणमा सामेल भएका टेस्लाका प्रशंसकहरूले समस्या नभएको घण्टौंको यात्रा भिडियोमा देखाए पनि केही गम्भीर समस्याहरूले अमेरिकी ट्राफिक सुरक्षा नियामकहरू र सवारी विशेषज्ञहरूलाई चासोको विषय बनाएको छ । गलत लेनमा प्रवेश गर्नु, यात्रुहरूलाई छ लेनको सडकको बीच वा जंक्शनमा झारिदिनु, अचानक ब्रेक लगाउनु, अत्यधिक गतिमा चलाउनु, फुटपाथ चढ्नुजस्ता समस्या देखिएका छन् । एउटा भिडियोमा टेस्लाको रोबोट्याक्सी उल्टो दिशातर्फको लेनमा करिब ६ सेकेन्डसम्म गुडेको देखिन्छ । अर्को घटनामा गाडीले बिना बाधा अचानक ब्रेक लगाउँछ, यात्रु अगाडि लड्छन् र सामान भुइँमा खस्छ । अर्को भिडियोमा गाडी प्रहरीको गाडी नजिकै दुईपटक बिनाकारण रोकिन्छ । टेस्लाले यस्ता गाडीमा अगाडिको सिटमा मानव सुरक्षा निरीक्षक राखेको छ । एउटा भिडियोमा निरीक्षकले अगाडिको डेलिभरी ट्रक ब्याक गर्न थालेपछि बटन थिचेर रोबोट्याक्सी रोकेको देखिन्छ । ‘पहिलो दिनमै यति धेरै गल्तीहरूको भिडियो देखिनु अत्यन्तै चासोको कुरा हो,’ क्यानेर्गी मेलोन विश्वविद्यालयका प्रोफेसर तथा स्वचालित प्रविधि विज्ञ फिलिप कुपम्यानले भने । टेस्लाले अहिले करिब १० देखि २० वटा मोडल वाई गाडीहरूमा रोबोट्याक्सी सेवा परीक्षण गरिरहेको छ । स्थानीय प्रशासनको प्रतिक्रिया अष्टिन सिटी प्रशासनले टेस्लाको समस्याबारे सामाजिक सञ्जालमा आएका विवरणहरूप्रति ध्यान दिएको जनाएको छ । यदि कुनै कानुनी वा सुरक्षासम्बन्धी चिन्ता आयो भने तुरुन्तै टेस्लासँग जानकारी साट्ने बताएको छ । प्रहरी विभाग पनि टेस्लासँग सहकार्य गरिरहेको जनाइएको छ । यी घटनाहरू दुर्घटनासम्म नपुगे पनि केही दृश्यहरू सुरक्षालाई प्राथमिकता दिइएको देखिन्छ । प्रिन्सटन विश्वविद्यालयका प्रोफेसर एलन कोर्नहाउजरले भने, ‘सुरुवातमा हेर्दा धेरै ठिकै देखिएको छ । केही अवस्थामा त यी गाडीहरू सामान्य चालकभन्दा राम्रोसँग चलेको देखिन्छ ।’ टेस्लाको यो परीक्षण अन्य कम्पनीभन्दा धेरै सार्वजनिक छ । गुगलको वेमो र जीएमको क्रुजले पनि अष्टिनका सडकमा यस्तै समस्याहरू सामना गरेका थिए । पछिल्ला दुई वर्षमा दर्जनौं घटनाहरूमा रोबोट्याक्सीले सडकको बीचमा गाडी रोकेको, प्रहरीको निर्देशन नमान्ने, आपतकालीन गाडी वा सडक बन्द व्यवस्थापन गर्न नसकेको रेकर्ड गरिएको थियो । २०२३ मा एक पैदलयात्रीसँग गम्भीर दुर्घटना भएपछि क्रुजले सेवा बन्द र्गयो । अहिले अमेरिकामा मानव निरीक्षकबिना भाडामा यात्रु चलाउने एकमात्र रोबोट्याक्सी सेवा वेमो हो, जसले हालै अष्टिनमा उबरसँग साझेदारीमा सेवा सुरु गरेको छ । एलन मस्कले वर्षौंदेखि टेस्लाको गाडीहरू निकट भविष्यमै पूर्ण स्वचालित हुने वाचा गर्दै आएका छन्, तर अझै त्यो पूर्ण रूपमा कार्यान्वयन भएको छैन । हाल टेस्लाले सीमित क्षेत्रभित्र यात्रुहरूलाई ४.२० डलर शुल्कमा सेवा दिइरहेको छ । स्वचालित ड्राइभिङ फिचरकै कारण दुर्घटना ? टेस्लाविरुद्ध मृतक परिवारको मुद्दा अब बिना ड्राइभर ट्याक्सीमा यात्रा, मस्कको रोबोट्याक्सी सार्वजनिक

वार्ताबाट क्षेत्रीय सुरक्षा पुनर्स्थापित गर्न इजिप्ट र इरानको आग्रह

काठमाडौं । इजिप्टका राष्ट्रपति अब्देल-फताह अल-सिसी र उनका इरानी समकक्षी मसूद पेजेश्कियानले बुधबार फोन वार्तामा क्षेत्रीय स्थितिबारे छलफल गरेका छन् । वर्तमान संवेदनशील परिस्थितिमा क्षेत्रीय सुरक्षा प्रवर्द्धन गर्न व्यापक राजनीतिक समाधानहरू अगाडि बढाउनु आवश्यक रहेको दुई नेताहरूको भनाइ छ ।  दुई नेताहरूले वासिङ्टन र तेहरान बीचको आणविक कार्यक्रममा वार्ता पुनः शुरु गर्ने महत्वलाई दोहोर्याएका छन् । मध्य पूर्वमा आम विनाशकारी हतियारमुक्त क्षेत्र स्थापनालाई प्रवर्द्धन गर्ने आवश्यकतामा जोड दिएका छन् ।  सिसीले कतारमा रहेको अमेरिकी आधारलाई लक्षित गरी हालै गरिएको इरानी क्षेप्यास्त्र आक्रमणलाई इजिप्टले अस्वीकार गरेको कुरालाई पुनः पुष्टि गरे । 

लागुऔषध नियन्त्रणका लागि छुट्टै विभाग गठन गर्ने सरकारको तयारी

काठमाडौं । सरकारले लागुऔषध नियन्त्रणका लागि आगामी आर्थिक वर्षमा लागुऔषध नियन्त्रण विभाग स्थापना गर्ने भएको छ । बिहीबार काठमाडौंमा लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै गृहमन्त्री रमेश लेखकले यो घोषणा गरेका हुन् ।  उनले सरकारले लागुऔषधको नियन्त्रणलाई उच्च प्राथमिकता दिएको बताए । लागुऔषधलाई नियन्त्रण गर्नका लागि सरकारले आगामी आर्थिक वर्षमा गृह मन्त्रालयअन्तर्गत छुट्टै विभागको स्थापना गर्ने जानकारी दिए । गृह मन्त्रालयले लागुऔषध नियन्त्रणका लागि विभिन्न योजनाहरू बनाएर काम गरिरहेको पनि गृहमन्त्री लेखकको भनाइ छ । उनले लागुऔषधको विस्तार धेरै भएको र समाज यसबाट प्रभावित बनिरहेको बताए । देशभरमा कारागारमा रहेका कैदीबन्दीमध्ये दोस्रो सबैभन्दा ठूलो संख्यामा लागुऔषधको दुव्र्यसनी, भण्डारण, ओसारपसार गर्नेहरु रहेको जानकारी दिए ।  गृहमन्त्र लेखकले भने, ‘सरकारले लागुऔषधको नियन्त्रणलाई उच्च प्राथमिकता दिएको छ । हामी लागुऔषधलाई नियन्त्रण गर्नका लागि तपाईंहरुले भन्नुभए जस्तै छिटै नै छुट्टै विभागको स्थापना गर्नेछौँ । म यो घोषणा गर्दछु । गृह मन्त्रालयले लागुऔषध नियन्त्रणका लागि विभिन्न योजनाहरु बनाएर काम गरिरहेको छ ।’ गृहमन्त्री लेखकले मन्त्रालयमा आफू आइसकेपछि लागुऔषध नियन्त्रणमा धेरै चासो दिएर काम गरिरहेको बताए । लागुऔषध आफैँमा एउटा समस्या रहेको र यसले समाजमा अरु समस्या पनि सिर्जना गरिरहेको जानकारी दिए ।

माल्दिभ्सका मेडिकल विद्यार्थी नेपालमा अध्ययनका लागि आउँदै, सरकारले सम्झौता गर्ने

काठमाडौं । माल्दिभ्सका मेडिकल विद्यार्थीलाई नेपालमा अध्ययन गराउने सम्झौता अन्तिम चरणमा पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल र माल्दिभ्सका स्वास्थ्य राज्यमन्त्री अहमद गसिमबीच बैंककस्थित संयुक्त राष्ट्रसंघीय सम्मलन केन्द्रमा भएको भेटवार्तामा माल्दिभ्सबाट प्राप्त मस्यौदामा नेपालका तर्फबाट सकारात्मक प्रगतिबारे जानकारी आदानप्रदान भएको छ । भेटमा स्वास्थ्य तथा जनसंख्या मन्त्री पौडेलले मस्यौदा अन्तिम चरणमा रहेको र चाँडै सम्झौता गर्ने गरी गृहकार्य भैरहेको माल्दिभ्सका राज्यमन्त्री लाई जानकारी दिए । उनले नेपालमा एमडी एमएसका अलावा एमबीबीएसमा माल्दिभ्सका विद्यार्थी स्वागत गर्न तयार रहेको भन्दै नेपालीलाई असर नपर्ने गरी बेग्लै कोटा राख्नेबारे आवश्यक परामर्श गरिरहेको र चाँडै निष्कर्षमा पुगिने बताए ।  मन्त्री पौडेलले माल्दिभ्समा नेपालीहरू काम गर्ने संख्या बढिरहेको तर उनीहरुले रकम घर पठाउन समस्या परेको बताए । प्रतिउत्तरमा माल्दिभ्सका स्वास्थ्य राज्यमन्त्रीले अर्थ मन्त्रालयसँग कुरा गरेर समाधान निकाल्ने बताए ।  नेपालले माल्दिभ्सका मेडिकल विद्यार्थी आकर्षित गर्न आवश्यक नीतिगत परिमार्जनको तयारी गरिरहेको छ । त्यहाँका स्वास्थ्य मन्त्रीसँग तीन महिना अघि इण्डोनेसियामा स्वास्थ्य मन्त्री पौडेलसँगको वार्तापछि जेनेभामा समेत यसबारे कुराकानी भएको थियो । मन्त्री पौडेलले विदेशी विद्यार्थीलाई नेपालमा मेडिकल शिक्षा दिने सम्बन्धमा सुझाव दिन कार्यदलसमेत गठन गरेर गृहकार्य थालेका थिए ।  त्यसयता माल्दिभ्सले पठाएको मस्यौदामा स्वास्थ्य मन्त्रालयले आवश्यक परिमार्जन गरेर सम्झौता गर्ने तयारी भैरहेको मन्त्री पौडेलको सचिवालयले जनाएको छ ।   

कामना सेवा विकास बैंकको मोबाइल एपबाट अब मुद्धती कर्जा पनि लिन सकिने

काठमाडौं । कामना सेवा विकास बैंकले ग्राहकहरूलाई लक्षित गर्दै मोबाइल एपमार्फत मुद्धती कर्जा सेवा सुरु गरेको छ । यस सुविधाबाट ग्राहकहरूले अब बैंकको मोबाइल बैंकिङ एप ‘KSiMobile’ प्रयोग गरी आफ्नै मुद्धती खाताको आधारमा तुरुन्तै कर्जा लिन सक्नेछन्, जुन रकम सीधा आफ्नै खातामा जम्मा हुनेछ । बैंकका अनुसार यसअघि मुद्धती खातामा आधारित कर्जा लिन ग्राहकलाई शाखा कार्यालय पुग्नुपर्ने र विभिन्न कागजी प्रक्रिया पूरा गर्नुपर्ने बाध्यता थियो । तर, नयाँ सुविधा सञ्चालनसँगै शाखा कार्यालयमा नगईकनै मोबाइल एपमार्फत सहज र छिटो कर्जा लिन सकिने भएको छ । बैंकले यो सेवाबाट ग्राहकको समयको बचत, डिजिटल अनुभवको सन्तुष्टि र सहज सेवा प्रवाहमा उल्लेखनीय सुधार आउने विश्वास व्यक्त गरेको छ । डिजिटल बैंकिङ सेवामा क्रमिक विस्तार गर्दै आएको कामना सेवा विकास बैंकले यसअघि नै मोबाइल एपमार्फत मुद्धती खाता खोल्ने तथा अनलाइन खाता खोल्ने सुविधा सुरु गरिसकेको छ । शाखा कार्यालयको निर्भरता घटाउँदै पूर्णरूपमा प्रविधिमैत्री बैंकिङ सेवा विस्तार गर्ने लक्ष्यका साथ बैंकले डिजिटल नवप्रवर्तनलाई प्राथमिकता दिँदै आएको छ ।

भोजपुरका ९ पालिकाको आयो बजेट तथा कार्यक्रम

भोजपुर । पहाडी जिल्ला भोजपुरमा रहेका स्थानीय तहहरुले आर्थिक वर्ष २०८२/८३ का लागि नगर तथा गाउँसभाबाट बजेटसहितको नीति कार्यक्रम सार्वजनिक गरेका छन् । जिल्लाका दुई नगरपालिका र सातवटै गाउँपालिकाको बजेटसहितको नीति कार्यक्रम प्रस्तुत गरेका हुन् ।   षडानन्द नगरपालिकाले सबैभन्दा बढी र पूर्वी पौवादुङमा गाउँपालिकाले सानो आकारको जेटको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । षडानन्द नगरपालिकाले रु ८९ करोड ६१ लाख ६१ हजार बराबरको नीति तथा कार्यक्रम ल्याएको छ । पौवादुङमाले रु ४० करोड ६७ लाख ६१ हजारको बजेट आगामी आर्थिक वर्षका लागि ल्याएको छ ।  भोजपुर नगरपालिकाले रु ६५ करोड ११ लाख ८० हजार, टेम्केमैयुङ गाउँपालिकाले रु ५७ करोड आठ लाख ५१ हजार, साल्पासिलिछो गाउँपालिकाले रु ५१ करोड ८५ लाख ५० हजार तथा अरुण गाउँपालिकाले रु ४८ करोड ८९ लाख ३६ हजार बराबरको बजेटमा रहेर नीति तथा कार्यक्रम ल्याएको छ ।  यसैगरी, हतुवागढी गाउँपालिकाले रु ४७ करोड ७० लाख ४२ हजार, आमचोक गाउँपालिकाले रु ४७ करोड तीन लाख ५८ हजार र रामप्रसाद राई गाउँपालिकाले रु ४६ करोड ८१ लाख ९४ हजार ४०७ बराबरको बजेट ल्याएको छ । पालिकाभित्रका सबै क्षेत्रलाई समेट्ने गरी बजेट अनुसारको नीति तथा कार्यक्रम ल्याएको पालिकाहरुले उल्लेख गरेका छन् ।