विकासन्युज

फाप्लु विमानस्थलमा १७ दिनपछि उडान, नियमित तालिका कागजमै सीमित

काठमाडौं । पर्यटकीय जिल्ला सोलुखुम्बुको फाप्लु विमानस्थलमा १७ दिनपछि जहाज उडान भएको छ । प्रतिकूल मौसमका कारण गत जेठ २६ गतेदेखि अवरुद्ध भएको जहाज उडाउन १७ दिनपछि बुधबार भएको नेपाल नागरिक उड्डयन प्राधिकरण फाप्लुले जनाएको छ । प्राधिकरणका वरिष्ठ अधिकृत आयुस थापाका अनुसार बुधबार नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्सं) को ट्विनअटर जहाजले काठमाडौंबाट फाप्लुसम्म सफल उडान भरेर पुनः काठमाडौं फर्किएको हो । जहाज १२ जना यात्रु लिएर फाप्लु आएको भए पनि जहाजले १० जना यात्रु लिएर काठमाडौँ फर्किएको अधिकृत थापाले जानकारी दिए ।  भेगको मौसम छिनछिनमा परिवर्तन भइरहने भएकाले बारम्बार लामो समय उडान ठप्प हुने गर्दछ । जेठ अन्तिमबाट सुरु भएको वर्षा र बाक्लो कुहिरोले लगातार १७ दिनसम्म विमानस्थल ठप्प भएको थियो । जिल्ला अस्पतालमा उपचार सम्भव नभएका जटिल अवस्थाका बिरामी तथा अशक्तहरुलाई काठमाडौं पठाउन सकस परेको स्थानीय पदम श्रेष्ठले बताए । उडान बन्द हुँदा गम्भीर अवस्थाका बिरामीको जीवन जोखिममा परेको स्थानीय स्वास्थ्यकर्मीहरू बताउँछन् । काठमाण्डौं  ‘रेफर’ गरिएका बिरामीलाई जहाजमार्फत पठाउन नसकिँदा घण्टौँ लगाएर गाडीमार्फत ओखलढुङ्गा तथा विराटनगर पठाउनु परेको स्थानीय पेम्बा शेर्पाको भनाइ छ ।  सगरमाथा क्षेत्र घुम्न आउने पर्यटकको मुख्य गेटवे लुक्ला हो भने फाप्लु वैकल्पिक स्थलका रुपमा लिने गरिन्छ । मौसमले उडान अवरुद्ध हुँदा फाप्लु हुँदै लुक्ला पुग्ने पर्यटकहरूले योजना परिवर्तन गरिरहेको यातायात व्यवसायी मिङ्मार शेर्पाले बताए ।  नियमित उडान तालिका कागजमै सीमित जिल्लाका सदरमुकाम नजिकको फाप्लु विमानस्थलमा हाल नेपाल एयरलाइन्सबाहेक अन्य निजी विमान कम्पनीहरूले नियमित उडान तालिका राखेका छैनन् । मौसम प्रतिकूल भइरहने र यात्रुसमेत पर्याप्त नहुने भएपछि निजी विमान कम्पनीहरूले नियमित उडान तालिका समावेश नगरेको हुन् । नेपाल एयरलाइन्सले हप्तामा सोमबार, बुधबार, शुक्रबार र शनिबार काठमाण्डौं–फाप्लुमा उडान भर्ने तालिका तय गरेको छ । तर, मौसमका कारण ती उडानहरू अवरुद्ध हुँदा यात्रु मारमा परेका छन् ।  नेपाल नागरिक उड्डयन प्राधिकरण फाप्लुका अनुसार हरेक महिना औसत १०/१२ दिन मात्र उडान हुन सक्ने अवस्था रहन्छ । अर्कोतर्फ नेपाल एयरलाइन्ससँग अहिले फाप्लुका लागि चल्ने ट्विनअटर जहाजको सङ्ख्या सीमित छ । यन्त्रको अवस्था, पाइलटको अभाव र अन्य प्राविधिक कारणले गर्दा समेत तालिका प्रभावित हुने गरेको प्राधिकरणले जनाएको छ । फाप्लुबाट काठमाडौंसम्मको सडक मार्गको दूरी करिब २७५ किलोमिटर छ तर, त्यो सडक अहिले पनि गाडीका लागि पूर्ण रूपमा उपयुक्त छैन । बीपी राजमार्गको सिन्धुली, खुर्को तथा काभ्रे क्षेत्रको सडक पहिरोका कारण जोखिमपूर्ण भएकाले जिल्लावासीलाई सङ्घीय राजधानी काठमाडौं आउजाउ गर्न कठिन छ । स्थानीय बिमला राई भन्छिन्, ‘सडकबाट जान भनेको शरीरलाई यातना दिनु हो । बिरामी छ भने झन् यात्रा कहिल्यै सकिँदैन जस्तो लाग्छ ।’ स्थानीय तहका जनप्रतिनिधिले हवाई सेवा नियमित बनाउन सरकारको ध्यानाकर्षण गराउँदै आएका छन् ।  प्रमुख जिल्ला अधिकारी अनोजकुमार घिमिरे भन्छन्, ‘मौसमका कारण नियमित उडान असम्भव हुन्छ, तर यसलाई वैकल्पिक रुपमा सेनाको हेलिकप्टर, निजी एयरलाइन्ससँग सहकार्य गरेर काम गरिरहेका छौँ । जहाजको भर नहुँदा बिरामी, सुत्केरी तथा अन्य अति आवश्यक सरकार कामका लागि धेरै सास्ती खेप्नु पर्दछ ।

यी चार प्रदेशमा धेरै भारी वर्षा हुने, तराईमा हावा हुरी

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायत बाँकी प्रदेशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही मधेश प्रदेशमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ । गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू-भागमा केही स्थानहरूमा तथा बाँकी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।  गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ । सबै प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । कोशी प्रदेशको तराई भू-भागका तथा मधेश प्रदेशको थोरै स्थानहरूमा हावा हुरीको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ । आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । कोशी प्रदेशलगायत देशका पहाडी भू-भागमा केही स्थानहरू र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।  कोशी र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूमा तथा बाँकी उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा हल्कादेखि मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ । कोशी प्रदेशको तराई भू-भागका तथा मधेश प्रदेशको थोरै स्थानहरूमा हावा हुरीको पनि सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ ।  महाशाखाका अनुसार कोशी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत बाँकी पहाडी केही स्थानहरूमा र बाँकी भू-भागका थोरै  स्थानहरूमा मेघगर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।  कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ । देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ । यसका कारण नदीको जल सतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो, भूक्षयजस्ता प्रकोप हुन सक्ने भएकाले जनस्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुन सक्ने असुविधा, जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ ।

प्रधानमन्त्री ओली स्पेन भ्रमणमा जाँदै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली युरोपेली मुलुक स्पेनको औपचारिक भ्रमणका लागि नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आगामी शनिबार त्यसतर्फ जाने भएका छन् । उनले स्पेनको औपचारिक भ्रमणका क्रममा त्यहाँ असार १६ देखि १९ गतेसम्म आयोजना हुने ‘विकासका लागि वित्त सम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलन’मा भाग लिने छन् ।  प्रधानमन्त्रीको औपचारिक भ्रमणको सम्पूर्ण तयारी पूरा भएको र स्वागतका लागि स्पेन स्थित नेपाली समुदाय आतुर र उत्साहित रहेको स्पेनका लागि नेपाली राजदूत शनिल नेपालले राससलाई जानकारी दिए ।  भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले आफ्ना समकक्षीसँग द्विपक्षीय भेटवार्ता गर्ने छन् । त्यस अवसरमा सहयोग र सम्बन्ध विस्तारसम्बन्धी केही महत्त्वपूर्ण विषयमा नेपाल र स्पेनबीच सहमतिपत्रमा हस्ताक्षर हुनेछ ।  प्रधानमन्त्रीले भ्रमणकै दौरान त्यहीँस्थित नेपाली समुदाय र स्पेनिस उद्योगी व्यवसायीसँग पनि अन्तरक्रिया गर्नेछन् । सम्मेलनका क्रममा प्रधानमन्त्रीको अन्य महत्त्वपूर्ण द्विपक्षीय भेटघाट समेत हुने दूतावासले जनाएको छ । स्पेन संसदीय प्रजातन्त्र र संवैधानिक राजतन्त्रात्मक शासन व्यवस्था भएको पश्चिम युरोपेली मुलुक हो । करिब ५ लाख ५ हजार ९९० वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको स्पेनको जनसङ्ख्या लगभग ४ करोड ७४ लाख छ ।  सन् १९८६ मा युरोपेली सङ्घको सदस्य भएको स्पेनले सन् १९९५ मा सेन्जेनको सदस्यता लिएको थियो । स्पेनमा ८४ प्रतिशत स्पेनिस, १.७ मोरक्कन, १.२ रोमानियन र अन्य जाति १२.३ रहेको तथ्याङ्क छ । स्पेनमा साना–ठूला गरी २० हजार फुटबल क्लब र १० लाख रजिष्ट्रर खेलाडी रहेको मुलुक हो । भाषाका हिसाबले स्पेनिस विश्वको चौथो धेरै बोलिने भाषा हो ।  नेपाल-स्पेन दैत्य सम्बन्ध  नेपाल र स्पेनबीच सन् १९६८ मे १३ मा कूटनीतिक सम्बन्ध स्थापना भए पनि सन् २०१८ मा मात्र त्यहाँ नेपालको आवासीय राजदूतावास स्थापना भएको हो । स्पेनको दूतावास यहाँ नभएकाले दिल्लीस्थित दूतावासले नेपाल हेर्दै आएको छ । स्पेनमा विभिन्न पेसा तथा व्यवसायमा करिब २० हजार नेपाली संलग्न रहेको अनुमान छ । उनीहरूमध्ये विशेष गरी कृषि, होटल, पर्यटन र निर्माणलगायत क्षेत्रमा बढी संलग्न रहेको जानकारी दिइएको छ ।  नेपाल र स्पेनबीच विगतदेखि नै उच्चस्तरीय भ्रमण आदानप्रदान हुँदै आएको छ । तत्कालीन राजा वीरेन्द्रले सन् १९८३ मा स्पेन तथा त्यहाँका राजा कार्लोसले पनि सन् १९८७ मा नेपालको चार दिने राजकीय भ्रमण गरेका थिए ।  तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सन् २०१६ मा स्पेनमा ‘द्वन्द्वमा परेका व्यक्तिहरूको बेचबिखनसम्बन्धी उच्चस्तरीय बहस’मा भाग लिएका थिए । त्यस्तै, सन् २०१९ मा तत्कालीन सञ्चारमन्त्री गोकुल बास्कोटाले स्पेनमा आयोजित मन्त्रीस्तरीय जिएसएमए कार्यक्रममा भाग लिएका थिए ।  पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबाट सन् २०२१ मा स्पेनको भ्रमण भएको थियो । त्यस अवसरमा नेपाल र स्पेनबीच जलवायु परिवर्तन र पर्यटनका क्षेत्रमा सहकार्य गर्ने सहमति भएको थियो । वैदेशिक रोजगारीका हिसाबले नेपालीका लागि स्पेन नयाँ गन्तव्य बनिरहेको छ । स्पेन विश्वमै पर्यटकीय गन्तव्यका रूपमा रहँदै आएको छ । त्यहाँको आयस्रोतको प्रमुख आधारमध्ये पर्यटन महत्त्वपूर्ण क्षेत्र हो । वार्षिक सवा करोड पर्यटकले स्पेनको भ्रमण गरेको तथ्याङ्क छ । यसैबीच स्पेनबाट सन् २०१८ मा १९ हजार ५६३ पर्यटक नेपाल भ्रमणमा आएकामा कोभिड–१९ पछि त्यसमा केही गिरावट देखिएको छ ।  नेपालको भौगोलिक अवस्थिति, प्रकृतिक सौन्दर्य, अनुपम सांस्कृतिक सम्पदा र विविध विशिष्ट पर्यटकीय स्थानले स्पेनिस पर्यटकहरूलाई आकर्षण गर्ने प्रशस्त सम्भावना छ । अनुकूल हावापानी र साहसिक पर्यटन, आध्यात्मिक चिन्तन, ध्यान र योगका लागि नेपाल उपयुक्त गन्तव्य स्थलकारूपमा परिचित छ । नेपालबाट हुन लागेको यो उच्चस्तरको भ्रमणले पनि स्पेनलगायतका युरोपली मुलुकका पर्यटकलाई नेपालबारे थाहा पाउन बलियो आधार प्रदान गर्ने विश्वास गरिएको छ । 

एक साताभित्र एसइईको नतिजा सार्वजनिक हुने

काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा एक साताभित्र सार्वजनिक गर्ने तयारी भएको छ । राष्ट्रिय परीक्षा बोर्ड अन्तर्गत सानोठिमी स्थित परीक्षा नियन्त्रण कार्यालय कक्षा १० का परीक्षा नियन्त्रक डा गणेश प्रसाद भट्टराईले एसइई परीक्षाको  नतिजा सार्वजनिक गर्ने अन्तिम तयारीका साथ तीव्र गतिमा काम भइरहेको बताए ।  उत्तरपुस्तिका परीक्षण र सम्परीक्षणको काम सकेर प्राप्ताङ्क इन्ट्री गर्ने काम भइरहेको बताउँदै उनले भने, ‘हामीले असारको तेस्रो साताभित्र नतिजा सार्वजनिक गर्ने गरी डेट लाइन तयार गरेका हौँ, कर्मचारी साथीहरूले डबल सिफ्टमा तीव्र गतिले काम गरिरहनुभएको छ । अहिले नम्बर इन्ट्री गर्ने र रुजु गर्ने काम भइरहेको छ । काम छिटो सकियो, प्रविधिले साथ दियो भने तेस्रो सातादेखि अगाडि तानेर एक साताभित्र नतिजा सार्वजनिक गर्न सकिन्छ, त्यसैका लागि दिनरात काम भइरहेको छ ।’  असार ६ गतेभित्रमा नतिजा सार्वजनिक गर्ने गरी कार्यतालिका बने पनि गत २०८१ सालको चैत २० गतेदेखि २०८२ वैशाख १७ गतेसम्म शिक्षकले काठमाडौंमा सडक आन्दोलन गरेको सडक आन्दोलन गरेका कारण नतिजा प्रकाशनमा ढिलाइ हुन पुगेको हो । गत २०८१ सालको चैत ७ गतेदेखि चैत १९ गतेसम्म सञ्चालन भएको एसइई परीक्षामा करिब पाँच लाख १० हजार विद्यार्थी सहभागी भएका थिए । 

माधव नेपाललाई ३५ लाख धरौटीमा छाड्ने आदेश

काठमाडौं । विशेष अदालतले पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई ३५ रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ । विशेष अदालतका सदस्यहरू तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको इजलासले पतञ्जली जग्गा प्रकरणमा भ्रष्टाचारको आरोप खेपेका पूर्वप्रधानमन्त्री नेपाललाई धरौटीमा छाड्न आदेश दिएको हो । नेपालका तर्फबाट ५ जना वकिलहरूले बहस गरेका थिए । पूर्वमहान्यायाधिवक्ता रमण श्रेष्ठ, शम्भु थापा, खम्मबहादुर खाती, गोविन्द बन्दीले बिनाशर्त रिहाइ गर्न माग गरेका थिए । सरकारी वकिलहरूले भने नेपाललाई पुर्पक्षका लागि थुनामा राख्न माग गरेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतञ्जलि जग्गा प्रकरणमा संलग्नता रहेको भन्दै नेपालसहित ९३ जना व्यक्तिहरूमाथि सार्वजनिक सम्पत्ति हानी नोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको हो । आयोगले अध्यक्ष नेपाल विरुद्ध १८ करोड ५८ लाख ५० हजार बिगो माग दाबी गरेको छ । अहिले उनको सांसद पद पनि निलम्बित भएका छ ।  काभ्रेमा रहेको पतञ्जलि योग पीठ तथा आयुर्वेदिक कम्पनीका नाममा रहेको हदबन्दी छुटको जग्गा किनबेच गरेको भन्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगले यसअघि अध्यक्ष नेपालसहितको बयान लिएको थियो ।  २०६६ सालमा नेपाल प्रधानमन्त्री हुँदा मन्त्रिपरिषदबाट निर्णय गरेर हदबन्दी छुटमा रहेको जग्गा खरिद गर्ने स्वीकृति दिइएको थियो। । तर पछि हदबन्दीभन्दा बढी कानून विपरीत जग्गा बिक्री गरेको भन्दै उजुरी आएपछि अख्तियारले यसबारे अनुसन्धान अघि बढाएको थियो । 

वैकल्पिक उर्जा विकास समिति सदस्यमा सन्तोष कोइराला नियुक्त

काठमाडौं । वैकल्पिक उर्जा विकास समिति सदस्यमा सन्तोष कोइराला नियुक्त भएका छन् । उर्जा, जलस्रोत तथा सिचाइ मन्त्रालयको मन्त्रिस्तरीय निर्णयबाट समितिको सदस्यमा बैंकर कोइराला नियुक्त भएका हुन् । उनी २ वर्षका लागि विज्ञ सदस्यका रुपमा नियुक्त भएका हुन् । वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)हरूको छाता संस्था नेपाल बैंकर्स संघका अध्यक्ष समेत रहेका कोइराला माछापुच्छ्रे बैंकका सीईओ समेत हुन् ।  कोइरालाको रणनीतिक योगदानले राष्ट्रिय महत्वका योजनाहरूमा नयाँ ऊर्जा भर्ने विश्वास लिएको छ । 

२५ जिल्लामा फैलियो कोरोना: बागमतीमा सबैभन्दा धेरै संक्रमित, तयारी अवस्थामा स्वास्थ्य मन्त्रालय

काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या बढ्न थालेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७ जनामा संक्रमण पुष्टि भएको छ भने एक जनाको मृत्यु भएको छ ।  हाल नेपालमा  १ सय ८७ जना कोरोना संक्रमितहरू रहेका छन् भने २५ जिल्लामा कोरोना फैलिएको छ ।  प्रदेशगत हिसाबमा हेर्दा सबैभन्दा धेरै बागमती प्रदेशमा १ सय ४७ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै सुदूरपश्चिम प्रदेशमा २५, कोशी प्रदेशमा ७ मधेस प्रदेशमा ५ जनालाई कोरोना संक्रमण भएको छ भने लुम्बिनी प्रदेशमा ४, गण्डकीमा तीन जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।  कोशी प्रदेशमा संक्रमित एक जनाको भने मृत्यु भएको छ । नेपालमा पुष्टि भइरहेको कोरोना भारत, चीन र अन्य दक्षिण एसियामा फैलिएको कोरोना नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।  मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले नेपालमा अहिले पुष्टि भइरहेको कोरोना ओमिक्रोनकै सब भेरियन्ट  रहेको बताए । ‘यो भेरियन्टमा नयाँ होइन जुन नेपालमा पहिल्यै देखिसकिएको थियो,’ उनी भन्छन्, ‘यो भेरियन्ट त्यति कडा नभएकाले आत्तिनुपर्ने अवस्था छैन ।’  अहिले भारत चीन लगायतका अन्य मुलुकमा कोभिड १९ को एनबी १.८.१ र एलएफ ७ भेरियन्ट फैलिरहेको छ । बाहिर फैलिएको यो भेरियन्ट पनि जोखिम नरहेको विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले यसअघि नै बताइसकेको छ ।  कोरोना संक्रमित एक जनाको मृत्यु भएको छ । मृत्यु भएका संक्रमित महिला रहेको खुलेको छ । इलामको सूर्याेदया नगरपालिकाकी ३९ वर्षकी महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको  हो ।  ७ दिन अगाडि श्वासप्रस्वासको समस्या देखिएपछि ती महिलालाई झापाको बिर्तासिटी अस्पताल पुर्याइएको थियो । अस्पतालमा जाँच गर्दा कोरोना संक्रमण पुष्टि भएपछि थप उपचारका लागि उनलाई विराटनगरमा रहेको नोबेल शिक्षण अस्पतालमा पुर्याइयो । अस्पतालको सघन कक्षमा लैजाँदै गर्दा उनको मृत्यु भएको नोवेल अस्पतालले जनाएको छ ।  अस्पतालका एक चिकित्सकले भने, ‘यही अस्पतालमा कोरोना पुष्टि भएको होइन, बिर्तासिर्टीबाट रेफर गरिएको केश थियो, जसमा कोरोना संक्रमित पनि भनिएको थियो तर यहाँ आईसीयूमा राख्न खोज्दा मृत्यु भयो ।’  मृतक महिलालाई अस्पतालले मङ्गलबार नै प्रहरीको जिम्मा लगाइएको थियो । स्वास्थ्य मन्त्रालयले भने मृत्यु भएकी महिलाको केशको विषयमा अध्ययन भइरहेको बताएको छ । ‘समाचार कोरोनाको कारण मृत्यु भयो भन्ने आएको छ, यो विषयमा मन्त्रालयले भेरिफाइड गर्ने काम गरिरहेको छ,’ प्रवक्ता बुढाथोकी भन्छन्, ‘हामीले पाएको सूचनाका आधारमा ती महिलामा हेपाटाइटिस बी र किड्नीको समस्या भएको रहेछ । ९ दिन पहिले नै बिरामी हुँदा एक दिन अगाडिमात्र कोरोना संक्रमण भनिएकोले प्रमाणित गर्न हामी लागिरहेका छौं ।’ मन्त्रालयको कस्तो छ तयारी ? कुनै पनि विपद महामारी कतिबेला आउँछ थाहा हुँदैन । हजारौंको संख्यामा ज्यान लिसकेको कोरोना फेरि फैलियो भन्ने सुन्नेबित्तिकै नागरिकहरू त्रसित हुन्छन् । तर अहिलेको अवस्थामा कोरानोको त्रास लिएर बस्नुपर्ने अवस्था नरहेको स्वास्थ्य मन्त्रालयको दाबी छ ।  प्रवक्ता बुढाथोकी अहिलेको संक्रमण संख्यालाई लिएर आत्तिनुपर्ने अवस्था नरहेको तर यो भन्दैमा बेवास्ता गरेर नहिँड्न आग्रह गर्छन् । ‘कोरोनाबाटमात्र होइन, विभिन्न किसिमका सरुवा जन्य रोगबाट बच्न माक्स अनिवार्य लगाउनुपर्छ,’ उनी भन्छन्, ‘भेट हुँदा हात नमिलाउने, माक्स लगाउने, कसैलाई रुघाखोकी लागेको भए टाढै बस्ने गर्नुपर्छ ।’  सम्भावित जोखिमका लागि कसरी काम गर्ने भन्ने विषयमा औषधी, आवश्यक जनशक्ति सबै तयारी राखिएको छ भने इमरजेन्सी मेडिकल टिम र रिप्रेजेन्टिटिभ टिमसमेत तयारी अवस्थामा राखेको बुढाथोकीले बताए ।  ‘तत्कालको अवस्था हेरेर जोखिम हुन्छ भन्ने छैन तर महामारी हो कुन बेला कस्तो रूप लिन्छ थाहा हुँदैन । त्यसैले यसका लागि आवश्यक सामाग्री, औषधी, चिकित्सक सबैको जोहो र व्यवस्था गरेका छौं,’ उनले भने ।  डा. बुढाथोकीले मन्त्रालयले योभन्दा बाहेक जनस्वास्थ्यका मापदण्ड पालना गर्न आग्रह गर्नेदेखि प्रभावित क्षेत्रबाट आएका मान्छेलाइ क्वारेन्टीनमा राख्ने काम गरिरहेको बताए । १७ वटा नाका र तीनवटा हवाइ नाका छन् । अहिले प्रभावित क्षेत्रबाट आएका सीमानाकाका हेल्थ डेस्कमा कोरोनाको टेस्ट पनि भइरहेको छ । संक्रामक रोग विशेषज्ञ डा. शेरबहादुर पुन अहिलेको अवस्था हेर्दा डराइहाल्नुपर्ने नभएपनि सचेत रहन भने आवश्यक रहेको बताउँछन् । ‘विगतको अनुभव छ भारतमा देखियो भने नेपालमा ढिलो चाँडो आउन सक्ने सम्भावना छ । हामी अहिले नै तयारीको अवस्थामा रहनुपर्छ । तर डराइहाल्ने स्थिति भने अहिले छैन,’उनले भने ।

एमाले स्थायी समिति सदस्य पाण्डे र केन्द्रीय सदस्य तिम्सिनाको निलम्बन फुकुवा

काठमाडौं । नेकपा (एमाले)ले स्थायी समिति सदस्य डा.विन्दा पाण्डे र केन्द्रिय सदस्य उषाकिरण तिम्सिनाको निलम्वन फुकुवा गरेको छ ।  बुधवार च्यासलस्थित पार्टी कार्यालय च्यासलमा बसेको केन्द्रिय सचिवालय बैठकले पाण्डे र तिमल्सेना निलम्वन फुकुवा गरेको पार्टी उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए। भाटभटेनी डिपार्टमेन्टका सञ्चालक मीनबहादुर गुरुङसँग १० रोपनी जग्गा चन्दा लिएर पार्टी कार्यालय बनाउने निर्णयको विरोध गर्दै पाण्डे र तिम्सिनाले सामाजिक सञ्जालमा स्टाटस लेखेका थिए । सोही कारण एमालेले दुवैलाई ६ महिनाका लागि निलम्बन गरेको थियो ।  उपमहासचिव ज्ञवालीका अनुसार बैठकले आसन्न विधान महाधिवेशन गोदावरीमा गर्ने निर्णय पनि गरेको छ ।  महाधिवेशनको तयारीका लागि केन्द्रीय कमिटीको बैठक आगामी साउन ५ गते काठमाडौंमा बोलाउने निर्णय समेत बैठकले गरेको ज्ञवालीले जानकारी दिए ।