सत्ता साझेदार दलहरूको बैठक बालुवाटारमा जारी
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा सत्ता साझेदार राजानीतिक दलहरूको शीर्ष नेताहरूको बैठक जारी रहेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार भएको बैठकमा प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष ओली, नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, कांग्रेसका नेता कृष्णप्रसाद सिटौला, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ, जनमत पार्टीका अध्यक्ष डा चन्द्रकान्त (सिके) राउत, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष अशोककुमार राईलगायत सहभागी छन् । प्रतिनिधिसभामा आगामी आर्थिक वर्षको विनियोजन विधेयकलाई निर्णयार्थ प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको र सरकार सञ्चालनका विविध सन्दर्भमा बैठक भइरहेको जनाइएको छ ।
रानी जमरा सिँचाइ आयोजनाको सहयोगले किसान उद्यमी बन्दै
भजनी । टीकापुरमा मोहन्याल भैँसीपालन फार्म सञ्चालन गर्दै आएका दुर्गाप्रसाद जैशी एक सफल व्यवसायीका रूपमा स्थापित व्यक्ति हुन् । कृषि कार्यक्रम कार्यान्वयन एकाइबाट राम्रो सहयोगकै कारण उनी सफल व्यवसायीका रूपमा स्थापित भएका हुन् । कार्यान्वयन एकाइले आफूलाई गोठ सुधार गोदाम निर्माणका लागि अनुदान, बोरिङ मोटर, पावर टिलर, नस्ल सुधारमा अनुदान, रेबिजको सुईमा सहयोग, घाँसको बीउ गाईभैँसीलाई विभिन्न पोषण सहयोग गर्दै आएको बताउँदै आयोजनाको सहयोगले भैँसीपालन व्यवसाय अगाडि बढाउन ठूलो राहत मिलेको उनको भनाइ छ । दैनिक ७० लिटर दूध बेच्ने गरेको उनले बताए । त्यसो त रानी जमरा कुलरिया सिँचाइ आयोजना कृषि क्षेत्रमा भविष्य देखेका किसानका लागि वरदान बन्दै गएको छ । राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत रहेका उक्त आयोजनाको कृषि कार्यक्रम कार्यान्वयन एकाइले किसानका लागि अनुदानमार्फत सञ्चालन गरेका कार्यक्रमकै कारण वरदान बनेको हो । आयोजनाले किसानलाई उन्नत बीउलगायत कृषि आधुनिकीकरणसहित प्राविधिक रूपमा सहयोग गर्न थालेपछि किसानले व्यावसायिक रूपमा सफलता हासिल गर्दै गएका छन् । टीकापुर नगरपालिका–३ घियाकका रमेशकुमार श्रेष्ठले बङ्गुरपालन व्यवसाय गर्दै आएका छन् । उनको व्यवसायको सहयोगी आधार पनि कार्यान्वयन एकाइ नै हो । उनका अनुसार एकाइले बर्सेनि मागका आधारमा सहयोग गर्दै आएको बताए । यस्तै दीपज्योति महिला कृषक समूहले पनि आयोजनाबाट राम्रो सहयोग पाइरहेको बताएको छ । अहिले सदस्यले पाँचपाँच कट्ठामा सामूहिक तरकारीखेती गर्ने गरेको कुरा समूहका सदस्य देशरानी चौधरीले बताए । उनले रानी जमराको सहयोगले तालिम बीउमा अनुदानसहित प्राविधिक सहयोग गर्दै आएको बताउँदै आयोजनाको कारण व्यावसायिक बन्न सकिएको बताएका छन् । आयोजनाले किसानका आवश्यकताका आधारमा उन्नत बीउमा ५० प्रतिशत, उपकरणमा ७० देखि ८० प्रतिशत अनुदान उपलब्ध गराउँदै आएको छ । आयोजनाको सहयोगमा बीउ उत्पादन गर्दै आइरहेको आयोजनाको कमाण्ड क्षेत्रका विभिन्न कृषक सहकारीलाई अनुदानमा भवन निर्माण, ग्रेडिङ मेसिन, ढुवानीका लागि सवारीसाधन उपलब्ध गराउँदा बीउ उत्पादनमा सहजता भएको जानकी गाउँपालिका–४ मुनुवास्थित बिजवृद्धि कृषि सहकारी संस्थाका व्यवस्थापक गोविन्द रावत बताउँछन् । सहकारीसँग अहिले आयोजनाको ७५ प्रतिशत अनुदानको १० मेट्रिक टनबराबर क्षमता भएको ट्रक र करिब चार सय आठ मेट्रिक टन क्षमता भएको बीउ भण्डारण भवन पनि रहेको व्यवस्थापक रावतले बताए । आयोजनाकै सहयोगले कृषि पेसालाई व्यावसायिक रूपमा जोड्न सहयोग पुगेको तरकारीखेती गर्दै आएका जानकी गाउँपालिका–५ पहाडीपुरका किसान नारायणप्रसाद जोशीले बताएका छन् । विगतका वर्षहरूमा वैदेशिक रोजगारमा गएका उनी हाल कृषि पेसामा आबद्ध रहेर विदेशको भन्दा राम्रो आम्दानी स्वदेशमै हुने गरेको बताउँछन् । 'किसानले लगाएका तरकारीले बजार राम्रो पाउनुपर्छ विदेशको भन्दा राम्रो कमाई स्वदेशमा हुन्छ ।' उनले भने, 'हाल तीन बिघा क्षेत्रफलमा खेती गरिरहेको तर मेरो क्षमता १० बिघा क्षेत्रफलमा गर्न सक्ने हो ।' विसं २०७७ देखि परम्परागत रूपमा बाख्रापालन गर्दै आएकी जानकी गाउँपालिका–९ अमरावतीकी किसान रिजना चन्द आयोजनाको सहयोगमा आधुनिक खोर निर्माण गरेर व्यावसायिक बाख्रापालनतर्फ प्रेरित भएको बताइन् । विद्यालयको आठ बिघा १६ कठ्ठा जग्गा भाडामा लिएर बाख्रापालनलगायत अन्य व्यावसायिक खेती गर्दै आएको चन्दका अनुसार आयोजना वास्तविक किसानका लागि वरदान बनेको छ । हाल आफूसँग सानाठूला गरेर ७५ वटा बाख्रा छ । त्यसैगरी अर्की किसान जानकी गाउँपालिका–३ सिमरन पशुपन्छी फार्मकी पशुपालक किसान सरिताकुमारी थारूले भैँसीपालन गर्दै आएकी छन् । भैँसीगोठ सुधारमा आयोजनाले सहयोग गरेको उनको भनाइ छ । थारूले भैँसीपालनका लागि भौतिक संरचना निर्माणमा किसानले आधामात्र लगानी गरेर आयोजनाले आधा अनुदान दिँदा त्यसबाट व्यावसायिक बन्न सजिलो भएको बताइन् । तीन वर्षदेखि भैँसीपालन गर्दै आएकी उनको फर्ममा हाल गाईभैँसी गरी १५ वटा छन् जसमध्ये छवटा दुहुनो भैँसी रहेकामा दैनिक ५० देखि ६० लिटर दूध उत्पादन हुँदै आएको छ । आयोजनाले व्यावसायिक किसानदेखि साना किसानको आयआर्जनमा वृद्धि गर्ने कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ । आयोजनाले केराखेती, बिजवृद्धि, बङ्गुरपालन, भैँसीपालन, बाख्रापालन, तरकारीखेती गर्ने किसानका आवश्यकताका आधारमा बीउ, भौतिक संरचना, नयाँ प्रविधि हस्तान्तरणमा अनुदान सहयोग गर्दै आइरहेको छभने व्यावसायिक, क्षमता अभिवृद्धि तालिमजस्ता कार्यक्रम पनि सञ्चालन गर्दै आइरहेको आयोजनाका पशु स्वास्थ्य प्राविधिक पुष्पराज भारती बताउँछन् । रासस
मानवीय संकटबीच गाजाका बासिन्दाहरू बढ्दो मूल्य र नगद अभावसँग संघर्ष गर्दै
काठमाडौं । अक्टोबर ७, २०२३ मा गाजामा इजरायली–प्यालेस्टिनी द्वन्द्व शुरु भएदेखि एन्क्लेभका २३ लाख बासिन्दाहरूले आर्थिक र मानवीय संकटको सामना गरेका छन् । नाकाबन्दी, आपूर्ति श्रृङ्खलाको अभाव र प्रभावकारी निरीक्षणको अभाव लगायत धेरै कारकहरू रहेको विज्ञहरुको भनाइ छ । रेकर्ड मुद्रास्फीति, क्रयशक्तिलाई कमजोर बनाएको छ । सबैभन्दा आधारभुत वस्तुहरूलाई पनि पहुँचबाट बाहिर राखेको छ । तीन सन्तानका बुबा ३३ वर्षीय जमिल अबु महादी, नगद पहुँचको उच्च लागतले ग्रस्त धेरै गाजाका बासिन्दाहरूमध्ये एक हुन् । छ सन्तानका बुबा ४५ वर्षीय मोहम्मद अल–हद्दादलाई थाहा छ कि पीठोको सानो झोलाले उनको परिवारलाई एक दिनको लागि खुवाउन मुस्किलले पुग्छ ।
विदेशबाट फर्किएका हरि मगरले भोजपुरमा सुरु गरे ६० लाखको उद्यम
भोजपुर । यहाँका युवाहरूमा पछिल्लो समय सीप सिकेर स्वरोजगार बन्ने लहर बढेको छ । युवाहरूले आफैँले सीप सिकेर थालेको उद्यमबाट मनग्य आम्दानी गर्दै आएका छन् । कतिपय युवा भने विदेशबाट फर्केर पुनः सीप सिकेर पनि उद्यममा जोडिएका छन् । विदेशबाट फर्केर स्वदेशमा सीप सिकेर जिल्लामा सफल उद्यमी बनेका छन्– हरि मगर (बाजेन) । वैदेशिक रोजगारीमा १० वर्ष बिताएर स्वदेश फर्किएका मगरसँग हातेट्रयाक्टर मर्मत गर्ने सीप छ । यही सीप अहिले उनको जीवन धान्ने साधन बनेको छ । जिल्लामा व्यावसायिक रूपमा कृषियन्त्र उपकरण बिक्री वितरणसँगै मर्मतमा लागेका मगरलाई अहिले कामले भ्याइनभ्याई छ । पाँच वर्षअघिबाट ट्रयाक्टर बनाउने काममा लागेपछि पछाडि फर्केर हेर्नु नपरेको मगरको भनाइ छ । स्थायी घर धनकुटाको छथर जोरपाटी भएका मगर सुरुमा हातेट्रयाक्टर मर्मत गर्ने सोचले भोजपुर आएको बताउँछन् । लामो समय विदेशमा बिताएपश्चात सीप सिकेर काममा लागेका मगर अहिले सफल उद्यमीका रूपमा चिनिन्छन् । सुरुमा हातेट्रयाक्टर मर्मतको सीप लिएर सानोतिनो काम गर्ने सोचले यो पेसामा लागेका मगर अहिले उदाहणीय उद्यमी बन्नुभएको छ । सीपले उद्यमीसँगै स्वरोजार बनाएको मगरले बताए । 'मैले विभिन्न देशमा गरी १० वर्ष बिताएँ', मगरले भने, 'विदेशबाट आएपछि मैले घरेलुमार्फत हातेट्रयाक्टर मर्मत गर्ने सीप लिने मौका पाएँ । सीप लिएपश्चात गाउँघरमा पुगेर किसानको सेवा गर्ने लक्ष्यले म भोजपुर आएको थिएँ । तर त्यही सीपले अहिले स्वरोजगारसँगै उद्यमी बनायो ।' आफूले सञ्चालन गरिरहको उद्यमबाट अहिले अन्य तीन जनालाई रोजगारी दिएको उनले बताए । गाउँघरमा हातेट्रयाक्टरले खेतबारी जोत्ने चलन बढेसँगै कामको चाप पनि बढेको छ । भोजपुर नगरपालिका–७ सातधारामुनि कृषि औजार उपकरण बिक्री पसल पनि सञ्चालन गरिरहेको उनी बताउँछन् । ट्रयाक्टर बिग्रिएर समस्या परेका किसानलाई खेतबारीमा नै पुगेर सेवा दिने गरेको मगरले बताए । साथै सीप सिक्न चाहने किसानलाई निःशुल्क सीप दिने र ६० लाख लगानीमा उद्यम सञ्चालन गरिरहेको उनले बताए । 'मैले आफैँले सिकेको सीपबाट कमाएको पैसाले पसल पनि सञ्चालन गरिरहेको छु, साथीहरूको लहलहैमा लागेर विदेश गइयो । अहिले यहीँ सीप सिकेर विदेशको भन्दा राम्रो आम्दनी गरिरहेको छु । सीपले मानिसलाई सक्षम बनाउने रहेछ', उनले भने । यहाँबाट जिल्लाभरका किसानलाई आफूले जानेको सीप दिँदै आएको उनको भनाइ छ । घरेलु तथा साना उद्योग कार्यालय तथा स्थानीय तहले सञ्चालन गर्ने सीपमूलक तालिममा प्रशिक्षक रूपमा काम गर्ने मौका पाउने मगरले बताए । तालिममार्फत दुई सय बढी किसानलाई हातेट्रयाक्टर मर्मतको सीप दिइसकेको उनको भनाइ छ । पछिल्लो समय गाउँघरमा गोरुले जोतेर खेती गर्ने चलन कम हुँदै आएको छ । कृषिजन्य यन्त्र उपकरणको प्रयोगले किसानलाई सहजता भए पनि सञ्चालन तथा मर्मतको ज्ञान नुहँदा भने किसानले समस्या भोग्दै आएका छन् । रासस
तीन महिनाका लागि राकियो भूमिगत विद्युतीकरणको काम
भरतपुर । भरतपुर महानगरपालिकामा जारी भूमिगत विद्युतीकरणको काम रोकिएको छ। सडक विभागले वर्षायाममा सडक खन्न स्वीकृति नदिने जनाएपछि तीन महिनाका लागि भूमिगत विद्युतीकरणको काम रोकिएको हो । नेपाल विद्युत् प्राधिकरणको पोखरा–भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाले भूमिगत विद्युतीकरणको काम गरिरहेको छ। आयोजनाका प्रमुख इञ्जिनियर आनन्द सुवेदीका अनुसार यही असार ३ गतेदेखि भदौ मसान्तसम्मका लागि काम रोकिएको हो । उनले भने, 'अहिले मुख्य काम पाइप गाड्ने, पाइप हाल्ने, खाल्डा खन्नेलगायतका रोकिएको छ ।' अहिले पाइप गाडिसकिएका ठाउँमा केवल जोड्ने, पोल गाड्नेलगायतका काम भइरहेको उनले बताए । सडक विभागले वर्षातमा खाल्डाखुल्डी खन्दा सडकको गुणस्तर बिग्रने भएकाले भूमिगत विद्युतीकरणको काममा रोक लगाएको हो । उनका अनुसार सडक छेउमा खाल्डा खन्दा सडकमा पानी पस्ने, भासिनेजस्ता समस्या हुने भएकाले काम रोकिएको हो । आयोजनाले हालसम्म भरतपुरकामा विद्युत् भूमिगतको काम ७५ प्रतिशत सम्पन्न गरेको उनले बताए । पूर्वपश्चिम राजमार्गअन्तर्गत पुलचोकबाट केन्द्रीय बस ट्रमिलनसम्मको सडकमा भूमिगत गर्ने काम सम्पन्न भएको छ । बाइपास सडकमा आँपटारीबाट केन्द्रीय बस ट्रमिलनसम्मको सडकमा एकतर्फी भूमिगतको काम सम्पन्न भएको छ भने अर्काेतर्फ भूमिगत गर्ने काम बाँकी छ । उनले भने, 'फाउन्डेसन राख्ने काम सकिएको छ । केही ठाउँमा मुख्य लाइन जडान बाँकी रहेको छ।' तेत्तीस केभी जडानको काम सकिएको छ भने ११ केभी र ४०० भोल्टको केवल राख्ने काम जारी छ । खाल्डा खन्ने क्रममा पानी आउने भएकाले वर्षातपछि कामलाई तीव्र बनाइने उनले बताए । उनका अनुसार भरतपुर महानगरभित्र विद्युतीय तार भूमिगत गर्न रु एक अर्ब ४० करोड लागत लाग्ने छ । सुरुआती समयमा रु एक अर्ब ३० करोड बजेट भरतपुरलाई विनियोजन गरिएको थियो । निर्माणको ठेक्का भारतको टाटा प्रोजेक्ट लिमिटेडले लिएर विद्युतीय तार भूमिगत गर्ने काम गरिरहेको आयोजना प्रमुख सुवेदीले बताए । ठेक्का सम्झौताअनुसार पहिलो चरणको समय सन् २०२४ को जनवरी २० मा सकिएसँगै पुनः आठ महिनाका लागि समय थप गरी काम अघि बढाइएको छ। काम थप हुँदै जाँदा समय पनि थप गरिँदै लगिएको उनले बताए । एसियाली विकास बैंकको सहयोगमा प्राधिकरणले यो आयोजना अघि बढाएको हो ।
राष्ट्रिय जीवन बीमाले १० वर्षसम्म व्यतीत बीमालेखमा ५० प्रतिशत विलम्ब शुल्क छुट दिने
काठमाडौं । राष्ट्रिय जीवन बीमा कम्पनीले विलम्ब शुल्क छुट दिने भएको छ । कम्पनी (साविक राष्ट्रिय बीमा संस्थान)का बीमितहरुको एक वर्ष वा सो भन्दा बढी अवधि व्यतीत भएका बीमा शुल्कमा लागेको विलम्ब शुल्कमा छुट दिने भएको हो । विभिन्न कारणले समयमै बीमाशुल्क भुक्तानी गर्न असमर्थ ग्राहकहरूलाई मध्यनजर गर्दै कम्पनीले १५ दिन अर्थात् असार २५ गतेसम्मका बीमालेख नवीकरण गरेमा ५० प्रतिशत छुट प्रदान गर्ने भएको हो । कम्पनीका अनुसार १० वर्षभन्दा बढी व्यतीत भएका बीमालेख यस विलम्ब शुल्क योजनामा समावेश गरिने छैन । यस्तै, विलम्ब शुल्कमा छुटको सुविधा बीमा लेख अवधिमा एक पटक प्रदान गरिनेछ । एक वर्षदेखि १० वर्षसम्मका व्यतीत बीमालेखहरु यस योजनामा समावेश गरिने कम्पनीले जनाएको छ ।
सांग्रिलाबाट ४ जना संस्थापक बाहिरिँदै, सिद्धार्थ प्रिमियरको १० लाख कित्ता सेयर बिक्रीमा
काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको करिब १० लाख कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको छ । कम्पनीका एक जना संस्थापक सेयरधनीले आफ्नो नाममा रहेको ९ लाख ९९४ हजार ६२२ कित्ता सेयर बिक्रीमा राखिएको हो । कम्पनीको उक्त सेयर विद्यमान संस्थापक सेयरधनीले मात्रै खरिद गर्न पाउनेछन् । खरिद गर्न इच्छुक सेयरधनीले ३५ दिनभित्र बोलपत्र पेस गर्नुपर्नेछ । यदि उक्त अवधिभित्र खरिद नगरेमा सर्वसाधारण सेयरधनीहरुका लागि बिक्रीमा राखिने कम्पनीले जनाएको छ । यस्तै, सांग्रिला डेभलपमेन्ट बैंकका चार जना संस्थापक सेयरधनीले सेयर बिक्रीमा राखेका छन् । बैंकका संस्थापक सेयरधनी ओसिन बतासले २५ हजार ७५९ कित्ता, विश्व प्रकाश गुरुङले २५ हजार ७५९ कित्ता, बलराम श्रेष्ठले ६४ हजार कित्ता र प्रभा बुढाले १४ हजार ३१२ कित्तासेयर बिक्रीमा राखेका हुन् । बैंकको सेयर विद्यमान संस्थापक सेयरधनीले मात्रै खरिद गर्न पाउनेछन् । खरिद गर्न इच्छुक सेयरधनीले ३५ दिनभित्र बोलपत्र पेस गर्नुपर्नेछ । यदि उक्त अवधिभित्र खरिद नगरेमा सर्वसाधारण सेयरधनीहरूका लागि बिक्रीमा राखिने बैंकले जनाएको छ । तर, प्रभा बुढाको स्वामित्वमा रहेको सेयर खरिदका लागि १५ दिनभित्र आवेदन दिनुपर्नेछ ।
दोर्दी खोला जलविद्युतको लकइनमा नरहेको सेयर बिक्रीमा
काठमाडौं । दोर्दी खोला जलविद्युत कम्पनीले करिब साढे १९ लाख कित्ता अवितरित हकप्रद सेयर लिलामीमा बिक्री गर्ने भएको छ । कम्पनीले असार २४ गतेदेखि असार ३२ गतेसम्म लकइनमा नरहेको हकप्रद सेयर लिलाममा बिक्री गर्ने भएको हो । कम्पनीले १ः१ अनुपातमा प्रति सेयर १०० रुपैयाँ दरले १ करोड ५ लाख ४२ हजार ६०४ कित्ता हकप्रद सेयर बिक्री गरेको थियो । बाँकी रहेको १९ लाख ४६ हजार ६७६ कित्ता सेयर जेठ ११ गतेदेखि जेठ २० गतेसम्म लिलामीमा राखेको थियो । उक्त अवधिमा समेत बिक्री नभएको सर्वसाधारण समूहतर्फको ९३ हजार ६२९ कित्ता सेयर पुनः लिलामीमा राखेको हो । सेयर खरिदका लागि इच्छुक व्यक्ति वा संस्थाले न्यूनतम १०० कित्तादेखि अधिकतम सम्पूर्ण सेयरसम्मको लागि बोलकबोल पेस गर्न सक्नेछन् । कम्पनीको सेयर बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ ।