विकासन्युज

महाप्रसादको कसिलो नीति विश्वले फुकाउँदै, यी मुख्य तीन व्यवस्थाले बैंकर र व्यवसायीलाई सहज

काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नर बनेपछि डा. विश्व पौडेलले एकपछि अर्को नीतिलाई खुकुलो बनाउने प्रयास गरिरहेका छन् । निवर्तमान गभर्नर महाप्रसाद अधिकारीले केही नीतिगत रुपमा कडाइ गरेको व्यवस्थालाई पौडेलले सहज बनाइरहेका छन् ।  सोमबार मात्रै नेपाल राष्ट्र बैंकले सीमाभन्दा बढी चालु पुँजी लिएका व्यवसायले बढी रकम तिर्न २ वर्ष थप समय दिएको छ । राष्ट्र बैंकले सीमाभन्दा बढी कर्जा लिएका कर्जा २०८१ असार मसान्तभित्र तिरिसक्नुपर्ने व्यवस्था गरेको थियो ।  चालू पुँजी कर्जासम्बन्धी मार्गदर्शन, २०७९ लागु भएको मिति २०७९/०७/०१ पूर्व प्रवाह भएका चालु पुँजीकर्जा लाई यस मार्गदर्शनअनुसार पहिलो पटक पुनरावलोकन वा नवीकरण गर्दा मार्गदर्शनले तोकेको सीमाभन्दा बढी प्रवाह भएका कर्जामध्ये भुक्तानी हुन बाँकी कर्जा रकमलाई समान आवधिक किस्ता कायम गरी २०८४ असार मसान्तसम्ममा भुक्तान हुने गरी भुक्तानी तालिका निर्धारण गरी असुलउपर गर्नुपर्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ ।  तर, यस्तो कर्जामा यस अघि कायम रहेको कर्जा नोक्सानी व्यवस्था रकम कर्जा नियमित नभएसम्म फिर्ता गर्न पाईने छैन । यसरी गरिएको कर्जा समायोजनलाई कर्जा वर्गीकरण तथा कर्जा नोक्सानी व्यवस्थाको प्रयोजनका लागि पुनरतालिकीकरण वा पुनरसंरचना नमानिले राष्ट्र बैंकको भनाइ छ ।  यस्तै, परिस्थितिवश समस्यामा परेका रु. २ करोडसम्मका तोकिएका क्षेत्र (कृषि, उर्जा र लघु, घरेलु, साना तथा मझौला उद्यम) मा प्रवाह भएको कर्जाको हकमा ऋणीको अनुरोधमा व्यावसायिक योजना तथा नगदप्रवाह लगायतका पक्षहरुको विश्लेषण गरी आवश्यकता र औचित्यको आधारमा बुझाउनुपर्ने ब्याजको कम्तीमा १० प्रतिशत रकम असुलउपर गरी विभिन्न शर्तहरुको अधीनमा रही एक पटकको लागि कर्जाको पुनरतालिकीकरण वा पुनरसंरचना गर्न सकिने व्यवस्था गरेको छ ।  राष्ट्र बैंकले यस्तो पुनरतालिकीकरण वा पुनरसंरचना २०८२ असोज मसान्तभित्र गरिसक्नु पर्ने, यसरी पुनरतालिकीकरण वा पुनरसंरचना गरिएको कर्जालाई २०८१ पुष मसान्तमा जुन वर्गमा वर्गीकृत गरिएको थियो कम्तीमा सोही वर्गमा वर्गीकरण गर्नुपर्ने व्यवस्था गरेको छ । पुनरतालिकीकरण र÷वा पुनरसंरचना अघि गरिएको कर्जा नोक्सानी व्यवस्था राइट ब्याक गर्न पाइने नपाइने व्यवस्था गरेको छ ।  यस्तै, कृषि, लघु, घरेलु तथा साना उद्यम/व्यवसाय, उर्जा र पर्यटन क्षेत्रमा २०८५ असार मसान्तसम्ममा देहायबमोजिम 'ख' वर्गका वित्तीय संस्थाले कुल कर्जा तथा सापटको न्यूनतम २० प्रतिशत र 'ग' वर्गका वित्तीय संस्थाले न्यूनतम १५ प्रतिशत कर्जा प्रवाह गर्नु पर्ने व्यवस्थाको समय सीमा बढाएर २०८५ सम्म पुर्याइएको छ ।   

रास्वपाको अघि झुक्यो सरकार, भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन

काठमाडौं । सरकारले अन्ततः भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन गरेको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठक पूर्वमुख्यसचिव शंकरदास बैरागीको नेतृत्वमा छानबिन समिति गठन गरेको हो ।  उक्त समितिमा सम्बन्धित मन्त्रालयहरूका सहसचिवहरू रहने गरि समिति बनाइएको छ । उक्त समितिलाई ३ महिनाको समय दिइएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने र गृहमन्त्रीको राजीनामा माग गर्दै आएको थियो । रास्वपाले लामो समयदेखि संसदमा विरोध जनाउँदै आएको छ ।   

ग्लोबल आइएमई बैंकका ग्राहकलाई आईएमई हस्पिटालिटी र इला होटल एण्ड रिसोर्टमा १५ प्रतिशतसम्म छुट

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडका कार्ड तथा मोबाइल बैंकिङ प्रयोगकर्ताहरूले आईएमई हस्पिटालिटी र इला होटल एण्ड रिसोर्टमा छुट पाउने भएका छन् । ग्लोबल आईएमई बैंक र आईएमई हस्पिटालिटी तथा इला कम्र्फोट एण्ड रिसोर्टबीच यससम्बन्धी समझदारीमा हस्ताक्षर भएको छ । समझदारीमा बैंकका सहायक महाप्रबन्धक दिलीप पोखरेल र आईएमई हस्पिटालिटीका प्रमुख कार्यकारी अधिकृत प्रसन्न अधिकारीले हस्ताक्षर गरे ।  समझदारी अनुसार ग्लोबल आइएमई बैंकका डेबिट तथा क्रेडिट कार्डवाहक एवम् बैंकको मोबाइल बैंकिङ ‘ग्लोबल स्मार्ट प्लस’ प्रयोगकर्ताहरुले आइएमई हस्पिटालिटीद्वारा संचालित होटल तथा रिसोर्टहरूमा १५ प्रतिशत र मौलाकाली केबलकारको टिकटमा १० प्रतिशत छुट पाउनेछन् ।  आईएमई समुहको लगानीमा देशका विभिन्न स्थानमा पर्यटक तथा पाहुनालाई स्तरीय सेवा सुविधा प्रदान गर्न होटल तथा रिसोर्ट सञ्चालन गरिरहेको छ ।  काठमाडौंको होटल ले हिमालय लाजिम्पाट र साके एण्ड फेङ्ग रेस्टुरेन्ट लाजिम्पाट, बागलुङको इला कम्फर्ट, गैंडाकोटमा इला होटल एण्ड रिसोर्ट मौलाकाली र पोखराको लेकसाइट रिट्रीट आन्तरिक तथा अन्तर्राष्ट्रिय पर्यटकहरूको आरामदायी बसाइँ र अविस्मरणीय अनुभवको लागि प्रख्यात छ ।  आफ्ना ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै बैंकले विभिन्न किसिमका समय सान्दर्भिक योजनाहरू ल्याएर ग्राहकहरुलाई लावान्भित गर्दै आएको छ । ग्लोबल आईएमई बैंक ग्लोबल फाइनान्सको बेष्ट बैंक अवार्ड २०२४ तथा युरो मनी अवार्ड फर एक्सलेन्स २०२४ अन्तर्गतका दुई विधाबाट नेपालको सर्वश्रेष्ठ बैंकको रूपमा सम्मानित बैंक होे । साथै ग्लोबल आईएमई बैंक विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ-संस्थाबाट फरकफरक विधामा सम्मानित भएको छ । ग्लोबल आईएमई बैंक मुलुकको सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो ।  बैंकको ३५२ शाखा कार्यालय, ३८५ एटीएम, १५८ शाखारहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १ हजारभन्दा बढी सेवा केन्द्रबाट आफ्ना ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

भरतपुर ३ का प्रेमकुमार श्रेष्ठ उत्कृष्ट करदाता

चितवन । भरतपुर महानगरपालिकाले १७ औं नगरसभाको अवसरमा असल करदाता, निर्माण व्यवसायी, कर्मचारी तथा खेलाडीलाई पुरस्कृत तथा सम्मान गरेको छ । महानगरपालिकाले आर्थिक वर्ष २०८१/०८२ मा घर बहालतर्फ सबैभन्दा बढी कर तिर्ने भरतपुर ३ का प्रेमकुमार श्रेष्ठ, व्यवसाय करतर्फ भरतपुर १ का रामनारायण श्रेष्ठ र वित्तीय संस्थातर्फ सिद्धार्थ बैंक भरतपुर ३ लाई सम्मान गरेको हो । यस्तै, उत्कृष्ट काम गर्ने निर्माण व्यवसायी सप्तगण्डकी बिल्डर्स भरतपुर ९ का उमानन्द कँडेललाई सम्मान गरेको छ । यस्तै, महानगरमा उत्कृष्ट कार्य सम्पादन गर्ने ८ जना कर्मचारीलाई पुरस्कृत तथा सम्मान गरिएको थियो भने आठौं दक्षिण एसियाली कराते प्रतियोगिता प्रथम स्थान प्राप्त गर्ने खेलाडी भरतपुर १० की प्रजिस्मा श्रेष्ठ नगदसहित सम्मान गरिएको थियो ।  

भरतपुर महानगरको १७औँ नगरसभा सम्पन्न, बजेट र विधेयकहरू सर्वसम्मत पारित

चितवन । आइतबारदेखि वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल सभाहलमा सुरु भएको नगर सभा सोमबार नीति तथा कार्यक्रम सर्वसम्मत रुपमा पास गर्दै सकिएको छ । महानगरपालिकाले आर्थिक वर्ष  २०८२/०८३ का लागि अनुमानित आय व्ययसहितको ५ अर्ब १९ करोड ७१ लाख ६६ हजार रूपैयाँको बजेट पास गरेको छ । १७ औँ नगर सभाले भरतपुर महानगरपालिकाको लेखा समिति, विधायन समिति, सुशासन समिति, न्यायिक समिति तथा लेखा समितिको प्रतिवेदन र राजस्व र व्ययको अनुमान (बजेट), आर्थिक विधेयक २०८२ र विनियोजन विधेयक २०८२ पारित गरेको छ । नगर सभा समापन कार्यक्रममा महानगर प्रमुख रेनु दाहालले दाहालले अब दुई वर्षभित्र महानगरमा धेरै आयोजनाहरू सम्पन्न भइ सक्ने र सबै नगरबासीको एकताले समृद्ध नगर निर्माण गर्न सहयोग पुग्ने बताइन् । भरतपुरको विकासको लागि सबैले आ–आफ्नो ठाउँबाट सकारात्मक र रचानात्मक प्रतिस्पर्धा हुन आवश्यक रहेको उनको भनाई थियो । नीति तथा कार्यक्रमलाई पूर्ण रुपमा कार्यन्वन हुनेमा विश्वस्त रहेको प्रमुख दाहालले बताइन् । महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारीले आन्तरिक आयआर्जनसँगै अन्तर सरकारी वित्तीय हस्तान्तरण,केन्द्र तथा प्रदेश सरकारको राजस्व बाँडफाँड तथा विविध कोष तथा आयबाट स्रोत व्यवस्थापन गर्ने गरी महानगरको आर्थिक वर्षको बजेट बिनियोजन गरेका थिए । महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारीले नगरसभामा प्रस्तुत गरेको बजेटमा आन्तरिक आयतर्फ १ अर्ब ८० करोड जसमा घर जग्गा रजिस्ट्रेसन एवं खानी तथा नदी जन्य पदार्थको राजस्व बाँडफाँटसमेत, अन्तरसरकारी वित्तीय हस्तान्तरणबाट २ अर्ब १५ करोड ७६ लाख २५ हजार, संघ सरकारको राजस्व बाँडफाँटबाट ३१ करोड ९१ लाख, बागमती प्रदेश सरकारको राजस्व बाँडफाँटबाट १४ करोड ४ लाख ४१ हजार गरी ४५ करोड ९५ लाख, जनसहभागीता तथा श्रमदानबाट ५ करोड, बैंक मौज्दात ७० करोड, सडकबोर्ड नेपालबाट ३ करोड रहने प्रक्षेपण गरिएको छ । महानगरले सामाजिक सुरक्षा लगायत अन्तरसरकारी अख्तियारी शीर्षकमा १ अर्ब ३५ करोड रहने प्रक्षेपण महानगरको छ । संघ राजस्व बाँडफाँटबाट ३२ करोड रहने प्रक्षेपण गरेको छ । महानगरले चालु आवमा निर्माण सम्पन्न हुन नसकेका तथा भुक्तानी बाँकी रहेका योजनालाई भुक्तानीका लागि ६० करोड, विगत आर्थिक वर्षमा भएका योजनाको दायित्व तथा आर्थिक वर्ष २०८१०/८२ मा बहुवर्षीय ठेक्का प्रणालीबाट भएको योजनाहरूको भुक्तानीका लागि २४ करोड ५० लाख बजेट विनियोजन गरेको छ । यसैगरी २९ वटा वडालाई न्यूनतम ३ करोड २१ लाख १८ हजार ७ सय ७ देखि अधिकतम ३ करोड ४० लाख ३३ लाख ४ सय ९२ बजेट विनियोजन गरिएको छ । सभामा १३ जना सदस्यहरुले महानगरपालिकाको विकास निर्माण जनताको माग र चाहनाका साथै कार्य सम्पादनमा भए गरेका समस्याका बारेमा आआफ्नो धारणा राख्नुका साथै प्रस्तावित नीति, कार्यक्रम र विधेयकमाथि आफ्नो सुझाव राखेका थिए ।

अमेरिकाले गम्भीर परिणाम भोग्नुपर्ने इरानको चेतावनी

काठमाडौं । इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प (आईआरजीसी) का प्रवक्ता इब्राहिम जोल्फगारीले अमेरिका अहिले युद्धमा प्रत्यक्ष संलग्न भएको र उसले इरानको ‘पवित्र भूमिको उल्लंघन’ गरेको बताएका छन् । प्रवक्ता जोल्फगारीले अमेरिकालाई एक भिडियो सन्देशमार्फत चेतावनी दिएका हुन् । उनले भनेका छन् कि अमेरिकाले ‘गम्भीर, दुःखद र अप्रत्याशित परिणाम’ भोग्नुपर्नेछ, जुन ‘शक्तिशाली र लक्षित अपरेशन’ मार्फत दिइनेछ । आफ्नो भिडियो सन्देशमा जोल्फगारीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सिधै अंग्रेजीमा सम्बोधन गर्दै भनेका छन्, ‘मिस्टर ट्रम्प, ग्याम्बलर ! तपाईं यो युद्ध सुरु गर्न सक्नुहुन्छ तर समाप्त हामी गर्छौं ।’ त्यस्तै, इरानी सञ्चारमाध्यमहरूले इरानका कमाण्डर इन चीफ अमीर हातामीको पनि एउटा भिडियो सार्वजनिक गरेका छन् । त्यो भिडियोमा हातामीले भनेका छन् कि विगतमा जबजब अमेरिकाले इरानविरुद्ध ‘अपराध’ गरेको छ, उसले ‘कडा जवाफ’ पाएको छ र यो पटक पनि त्यही हुनेछ । इरानका परमाणु केन्द्रहरूको निरीक्षण गर्न संयुक्त राष्ट्रसंघीय निकायको माग काठमाडौं । अन्तर्राष्ट्रिय परमाणु ऊर्जा एजेन्सी (आईएईए) का प्रमुख राफेल ग्रोसीले इरानमा युद्धविरामको अपील गरेका छन् ताकि इरानका परमाणु केन्द्रहरूको निरीक्षण गर्न सकियोस् । उनले भने, ‘कुनै पनि सम्झौताको लागि धरातलीय अवस्था प्रमाणित हुनु आवश्यक छ र त्यो केवल आईएईएको जाँचमार्फत सम्भव छ ।’ ‘आवश्यक सुरक्षा र संरक्षाको स्थिति कायम राख्न शत्रुता अन्त्य हुनैपर्छ, ताकि आईएईएका टोलीहरूले ईरानको अवस्थाको मूल्याङ्कन गर्न ती स्थलहरूमा जान सकून्,’ उनले थपे । यसअघि अमेरिकाले ईरानका तीनवटा परमाणु केन्द्रहरूमा हमला गरेपछि राष्ट्रपति ट्रम्पले आइतबार इरानलाई चेतावनी दिएका थिए । उनले भनेका थिए, ‘अब शान्ति हुनेछ वा इरानका लागि यस्तो विपत्ति आउनेछ जुन पछिल्ला आठ दिनमा देखिएका घटनाभन्दा धेरै ठूलो हुनेछ ।’ सान्दर्भिक सामग्री : मित्र इरानलाई बचाउने कि आफ्नो नाफा हेर्ने ? संकटमा रुस इरान-इजरायल संघर्ष र अमेरिकी हस्तक्षेपले तेल बजारमा नयाँ संकट इरान-इजरायल युद्धमा अमेरिकाको सीधा हस्तक्षेप, मध्यपूर्वमा संकट गहिरिँदै  

स्वास्थ्य क्षेत्रमा १२ हजार दक्ष जनशक्ति पुर्‍याउने सरकारको योजना छ : मन्त्री पौडेल

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य क्षेत्रमा दशकौँदेखि हुन नसकेको संगठन तथा व्यवस्थापन सुधारको प्रक्रिया अघि बढाएको दाबी गरेका छन् । प्रतिनिधि सभाको सोमबारको बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा उठेका प्रश्नहरुको जवाफ दिँदै मन्त्री पौडेलले यस्तो दाबी गरेका हुन् ।  उनले प्रत्येक वर्ष दुई हजार पाँच सय स्वास्थ्य जनशक्ति थप्ने लक्ष्यसहित अबको पाँच वर्षमा कुल १२ हजार दक्ष जनशक्ति पुर्याउने सकारको योजना रहेको बताए । सातै प्रदेशमा एक/एक वटा संघीय अस्पताल तथा स्वास्थ्य विज्ञान प्रतिष्ठानमार्फत सघन जलन उपचार, मुटु, मिर्गौला प्रत्यारोपण तथा क्यान्सरजस्ता विशिष्ट सेवा उपलब्ध गराइने व्यवस्था गरिएको जानकारी दिए ।  उनले मधेस प्रदेशमा विशेष सुविधा सम्पन्न मिर्गौला उपचार केन्द्र स्थापना गर्ने तथा काठमाडौंमा आधुनिक सुविधासहितको राष्ट्रिय न्युरो उपचार केन्द्र निर्माणका लागि बजेट विनियोजन गरिएको बताए । मन्त्री पौडेलका अनुसार संघीय अस्पतालहरूको सुदृढीकरण अन्तर्गत कोशी अस्पताल, रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान, नारायणी अस्पताल, राप्ति र भेरी स्वास्थ्य विज्ञान प्रतिष्ठान, मानसिक अस्पताल पाटन, संक्रामक रोग अस्पताल टेकु, पोखरा स्थित आयुर्वेद तथा प्राकृतिक चिकित्सा अस्पताल, नरदेवी आयुर्वेद अस्पताल लगायतका पूर्वाधार निर्माणका लागि बजेटको व्यवस्था गरिएको छ । मन्त्री पौडेलले भने, ‘ठूला संघीय अस्पतालहरु कोशी अस्पताल, रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान, नारायणी अस्पताल, राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठान, भेरी अस्पताल, मानसिक अस्पताल पाटन, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, संक्रामक तथा सरुवा रोग अस्पताल टेकु, पोखरा मा आयुर्वेद योग तथा प्राकृतिक चिकित्सा सहितको अस्पताल, नरदेवी आयुर्वेद अस्पताल पूर्वाधार निर्माणका लागि बजेट विनियोजन गरिएको छ ।’ उनले सरकार उपचारमुखी सेवामात्र नभई नागरिकमा रोग लाग्न नदिन पूर्व–तयारी तथा रोगको रोकथामका कार्यक्रमहरूमा समेत सन्तुलित लगानी गर्न प्रतिवद्ध रहेको स्पष्ट पारे ।   

२७ करोडमा बनेको सङ्खुवासभामा ५० शय्याको अस्पताल सञ्चालनमा

सङ्खुवासभा । सङ्खुुवासभामा ५० शय्याको जिल्ला अस्पताल निर्माण पूरा भएपछि हस्तान्तरण गरिएको छ । सघन सहरी तथा भवन निर्माण आयोजना धनकुटाले जिल्ला अस्पताललाई आज हस्तान्तरण गरेको हो ।   अस्पताल निर्माणका लागि विसं २०७५ असार २२ गते स्वामीनारायण आर्र्शीवाद जेभि सुनसरीसँग ठेक्का सम्झौता भएको थियो । अत्याधुनिक भवन निर्माण भएसँगै सेवा प्रवाहमासमेत सहज हुने भएको छ । भवन हस्तान्तरण कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख तथा अस्पताल विकास समितिका अध्यक्ष सुमन शाक्यले अब नयाँ भवनबाट सेवा सञ्चालन गराउनका लागि काम सुरु हुने जानकारी दिए ।  पुरानो भवनबाट नयाँ भवनमा सरेपछि जिल्ला अस्पतालमा पाइने सबै खालका सेवा पाइने प्रमुख शाक्यको भनाइ छ । अस्पताल भवन भ्याटसहित करिब २७ करोड २७ लाख ८० हजार सात सय २३ रुपैयाँमा निर्माण सम्पन्न भएको सघन सहरी तथा भवन निर्माण आयोजनाका प्रमुख सुमनकुमार मिश्रले बताए । भवन हस्तान्तरण भएपछि सङ्खुवासभा अस्पतालका तीन वटा सुविधा सम्पन्न ब्लक सञ्चालनमा आएको आयोजना प्रमुख मिश्रले बताए । जिल्ला अस्पतालमा हार्डजोर्नी विशेषज्ञ सेवा, बालरोग, सामान्य शल्यक्रिया, फिजियोथेरापि, प्रसूतिलगायतका सेवा सञ्चालनमा छन् । जिल्ला अस्पतालमा सङ्खुवासभाका १० वटा स्थानीय तहका मात्रै नभएर छिमेकी जिल्ला भोजपुरका आधाभन्दा बढी भागका सेवाग्राही जिल्ला अस्पताल आउने गरेका छन् । जिल्ला अस्पतालमा हाडजोर्नी विशेषज्ञ सेवा, बालरोग, सामान्य शल्यक्रिया, फिजियोथेरापि लगायतका सेवा सञ्चालनमा छन् । यसअघि समयमा जिल्ला अस्पताल भवन सम्पन्न नहँुदा २०३३ सालमा निर्माण भएको पुरानो भवनको प्यासेज र भूइँमा बिरामीको उपचार भइरहेको थियो । उक्त भवन म्याद थप गरेर हस्तान्तरण गरिएको हो । अस्पतालमा दैनिक तीन सय बढी सेवाग्राही उपचारका लागि आउँछन् । रासस