नेपाल र भारत ‘ए’ बीच तीन खेलको टी-२० शृंखला हुने
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा कीर्तिपुरस्थित त्रिवि (टीयू) अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपाल र भारत ‘ए’ बीच तीन खेलको टी-२० शृंखला आयोजना हुने भएको छ । नेपाल क्रिकेट संघले प्रेस विज्ञप्ति जारी गर्दै उक्त खेल तालिकासहितको विवरण सार्वजनिक गरेको हो । क्यानका अनुसार यो खेल शृंखला आगामी डिसेम्बर सन् २०२६ मा संचालन हुने तय भएको छ । स्कटल्याण्डमा सम्पन्न आइसिसी कन्फरेन्सका क्रममा नेपाल क्रिकेट संघका अध्यक्ष चतुर बहादुर चन्द, सचिव पारस खड्का र भारतीय क्रिकेट नियन्त्रण बोर्डका सचिव देवजीत साइकियाबीच भएको विशेष बैठकले यस टी-२० शृंखला आयोजना गर्ने महत्वपूर्ण निर्णय गरेको थियो । सार्वजनिक गरिएको खेल तालिका अनुसार नेपाल र भारत ’ए’ बीचको पहिलो टी-२० खेल डिसेम्बर ९ मा हुनेछ । यसैगरी, दोस्रो खेल डिसेम्बर ११ मा र तेस्रो तथा अन्तिम टी-२० खेल डिसेम्बर १३ मा कीर्तिपुर मैदानमा खेलिने नेपाल क्रिकेट संघका सचिव पारस खड्काद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।
पशुपतिमा साउने सोमबारको तयारी सुरु
काठमाडौं । पशुपति क्षेत्र विकास कोषले पशुपति क्षेत्रमा साउने सोमबारको तयारी सुरु गरेको छ । मन्दिरका मूल भट्ट, भण्डारी, कोषका सञ्चालक परिषद्का सदस्यहरू तथा कोषका पदाधिकारीहरूबीच आगामी साउने सोमबार विशेष व्यवस्थापन तथा तयारीका लागि बैठक गरी तयारी सुरु गरेको हो । तयारी स्वरुप यही असार २७ गते शनिबारदेखि प्रत्येक दिन बिहान पशुपति क्षेत्रमा सफाइ गर्न सुरु गरिएको छ । बैकमा भक्तजनलाई सहज, सुरक्षित र व्यवस्थित रूपमा दर्शन तथा सेवा उपलब्ध गराउने विषयमा आवश्यक तयारी, व्यवस्थापन तथा समन्वयका विविध पक्षहरूमा विस्तृत छलफल गरी तयारी अघि बढाइएको कोषका सदस्य सचिव तीर्थ श्रेष्ठले जानकारी दिए ।
गणेश नेपालीको निधनप्रति यातायात व्यवसायी राष्ट्रिय महासंघद्वारा दुःख व्यक्त
काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले पठाओ चालक गणेश नेपालीको निधनप्रति गहिरो दुःख व्यक्त गरेको छ । महासंघका महासचिव डेकनाथ गौतमले आज शोक विज्ञप्ति जारी गरी शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गर्दा नेपालीको निधन भएको घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै समवेदना प्रकट गरे । महासंघले सार्वजनिक यातायात क्षेत्रमा विद्यमान कानुन, ऐन, नियमावली परिवर्तन नगरी अत्यधिक बिमा प्रिमियम, दायित्व र जरिवाना वृद्धि गर्ने गरी प्रकाशित सूचनाले यातायात क्षेत्रलाई आक्रान्त बनाएको र सोही कारणले यस्ता घटना घटेका भन्दै यसतर्फ सरकारको ध्यानाकर्षण भएको जनाएको छ । महासंघले मृतक नेपालीका परिवारलाई उचित क्षतिपूर्ति र निष्पक्ष छानबिनको मागसमेत गरेको छ ।
नयाँ नियमावलीका केही व्यवस्था खारेज गर्न माग गर्दै कांग्रेसले दर्ता गर्यो सर्वोच्चमा रिट
काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधि सभाको नयाँ नियमावलीका केही व्यवस्थाहरु खारेज गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता गरेको छ । कांग्रेसले शुक्रबार दर्ता गरेको रिटमाथि संवैधानिक इजलाशमा छलफल गर्न अदालतले आगामी ३१ गतेका लागि पेशी पनि तोकेको छ । संविधानसँग बाझिने गरी नियमावलीलाई ऐनभन्दा माथि राखिएको, राष्ट्रिय सभाको अधिकार क्षेत्रलाई हस्तक्षेप गरिएको, नियमावलीको नियम १४० (११), २५९ संविधानको धारा २७४ (८)सँग बाझिएकोले खारेज गर्न कांग्रेसले रिटमा माग दावी गरेको छ । राष्ट्रिय सभामा कांग्रेसको संसदीय दलका नेता कमलादेवी पन्त, प्रमुख सचेतक पदम बहादुर परियार, प्रतिनिधि सभाको संसदीय दलका उपनेता अभिषेक प्रताप शाह र प्रमुख सचेतक बासना थापाले रिट दर्ता गर्नु भएको हो । कांग्रेसलगायतका दलहरुले विरोध र नारावाजी गर्दागर्दै गत जेठ १७ गते बहुमतका आधारमा पारित गरिएको प्रतिनिधि सभा नियमावली २०८३ मा कांग्रेसले त्यति बेला नै आपत्ति जनाएको थियो । कांग्रेसले नियमावलीको मस्यौदामा रहेका कतिपय प्रावधानमा थप छलफलको आवश्यकता रहेकोले छलफलका लागि समितिमा पठाउन माग गरेको थियो । तर सभामुख डोलप्रसाद अर्यालले मस्यौदालाई समितिमा लैजानुपर्ने विषय नरहेको भन्दै प्रक्रिया अघि बढाएका थिए । सो मस्यौदा समिति राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलका उपनेता गणेश पराजुलीको संयोजकत्वमा रहेको थियो । रिटमा प्रतिनिधि सभा, संसद सचिवालय, सभामुख अर्याल, मस्यौदा समिति संयोजक पराजुली र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयलगायतलाई विपक्षी बनाइएको रिटको मस्यौदाकार अधिवक्ता राजु कटुवालले जानकारी दिए । रिटमा उल्लेखित प्रावधानहरु बदर गरी कार्यान्वयन नगर्न आदेश दिन माग गरिएको छ ।
ऊर्जा मन्त्री विराज भक्त र अमेरिकी दूतावासका चार्ज द’अफेयर्सबीच भेटवार्ता
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठ र नेपालस्थित अमेरिकी दूतावासका चार्ज द’अफेयर्स (ए.आई.) बीच शुक्रबार मन्त्रालयमा भेटवार्ता भएको छ । भेटका क्रममा नेपाल-अमेरिका ऊर्जा सहकार्यलाई थप प्रभावकारी र परिणाममुखी बनाउने विषयमा विस्तृत छलफल भएको मन्त्रालयले जनाएको छ । छलफलमा स्वच्छ ऊर्जा विकास, जलविद्युत् उत्पादन, विद्युत् प्रसारण पूर्वाधारको विस्तार, ऊर्जा सुरक्षा, निजी तथा वैदेशिक लगानी प्रवर्द्धन, प्राविधिक सहयोग र क्षमता अभिवृद्धिलगायतका क्षेत्रमा सहकार्यलाई अझ मजबुत बनाउने विषयमा विचार आदानप्रदान भएको थियो । दुवै पक्षले नेपालको ऊर्जा क्षेत्रको दिगो विकासलाई प्राथमिकतामा राख्दै पारस्परिक हित र साझा उद्देश्यका आधारमा द्विपक्षीय सहकार्यलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । भेटवार्ता नेपाल र अमेरिकाबीच ऊर्जा क्षेत्रमा रहेको सहकार्यलाई नयाँ उचाइमा पुर्याउने विश्वाससहित सम्पन्न भएको मन्त्रालयले जनाएको छ ।
सर्वोच्च अदालतमा साउन ११ देखि नियमति सुनुवाइ हुने
काठमाडौं । सर्वोच्च अदालतमा आगामी साउन १ गतेदेखि ११ गतेसम्म नियमित सुनुवाइ नहुने भएको छ । प्रत्येक नयाँ आर्थिक वर्षमा लगत सार्न नियमति सुनुवाइ रोकिने अभ्यास हुँदै आएको हुनाले नियमित सुनुवाइ साउन ११ गतेबाट हुने भएको हो । यसअघि, दुई हप्ता नियमित सुनुवाइ नहुने अभ्यास थियो । सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार साउन आगामी साउन १ गतेदेखि ११ गतेसम्म बन्दी प्रत्यक्षीकरणका रिट निवेदनमा भने दर्ता तथा सुनुवाइ हुनेछ ।
हुम्लामा अधिँया गर्थ्याे गणेशको परिवार, ऋण काढेर किनेका थिए बाइक
काठमाडौं । गणेश नेपालीको शव यतिखेर वीर अस्पतालमा छ । बिहीबार राहदानी विभाग परिसर अगाडि उनले आत्मदाह प्रयास गरेका थिए । शुक्रबार वीर अस्पतालले मुगुको सोरु गाउँपालिका– १ निवासी २५ वर्षीय नेपालीको मृत घोषणा ग¥यो । उनी परिवारसहित भक्तपुरमा बसोबास गर्दै आएका थिए । बागमती प्रदेश ०२–०६४ प ३२५० नम्बरको मोटरसाइकल गणेशको थियो । जीवन गुजार्न भनेर ऋण लिएर मोटरसाइक किनेका उनले नै अन्ततः गणेशको ज्यान लियो । राइडिङ सेयरका चालक नेपाली मोटरसाइकलको सहारामा जीवन गुजार्दै आएका थिए । काठमाडौंका सडकलाई सहारा बनाएर बाँचिरहेका गणेशलाई सडकले खोस्यो । गणेश घरमा परिवारको कान्छो छोरा थिए । दुई दाजुभाइसहित एक बहिनी र आमाबुबा परिवारमा थिए । गाउँको बाँझो जमिन छाडेर आमाबुबा जिल्ला र गाउँ छाडेका थिए । गणेशका परिवारमा गरिबीले नछाडेपछि र अन्न देख्न नपाउने भएपछि परिवारैले गाउँ छाडे । स्थायी ठेगाना मुगु भएको सोरु गाउँपालिका १ का अध्यक्ष धनकर्ण छत्यालले बताए । गणेशका परिवार यस गाउँपालिकाको वडामा कोही पनि बसोबास नगर्ने उनले जानकारी दिए । ‘यहाँ बाँझो जमिन, सुख्खा तथा भीर पहिरो जाने जमिन छ । उनीहरुको जमिनमा केही पनि अन्न फल्दैन । बाँझो जमिन रूंगेर बस्न धेरै गाह्रो भएकाले यो ठाउँ छोडेर गएका हुन्,’ अध्यक्ष छत्यालले विकासन्युजसँग भने,’ हुम्लामा बहिनीसहित बाआमा बस्ने गरेका छन् । अरुकै अधियाँ खेती गरेर आफ्नो जिविका चलाइरहेका छन् ।’ गणेशको परिवार आर्थिक अवस्थामा गुज्रेको थियो । परिवारमा गरिबीको पहाड उक्लिदो थियो । सानैदेखि गणेशका दाइले गाउँको थातथलो छाडेर काठमाडौं आएका थिए । १५–१६ वर्षअघि नै उनका परिवारले मुगु छाडेका थिए । खण्डहर तथा मरुभूमी जस्तो जमिनलाई छाडेर सुख पाइने आशामा हुम्ला गएका थिए । हात र खुट्टा चलेसम्म जिउँने आशामा उनीहरू बुढा आमाबा हुम्लाका खेतीमा पुगे । छोराहरू घरका दुःख बिर्साउन काठमाडौं गएको अध्यक्ष छन्त्याल बताउँछन् । गाउँको घरजग्गा हेर्ने बेलामा मात्र गणेशको परिवार आउने गरेको उनको भनाइ छ । उनको मृत्युले पुरै गाउँ शोकमा डुबेको उनले सुनाए । गणेशको जीवन संघर्षले भरिएको थियो । उनले कृषितर्फ जुनियर टेक्निकल असिस्टेन्ट (जेटीए) पढेका थिए । उनले गाउँमै केही गर्ने सपना बुनेका थिए । उनी कृषि प्राविधिक बनेर गाउँमै सेवा गर्न चाहन्थे । गणेश पसिना, पौरख र ऊर्जाको प्रतिक थिए परिवारमा । उनको निधनपछि श्रीमतीको सहारा टुटेको छ, छोरी टुहुरो बनेकी छिन् । अब काठमाडौंका सडकमा गणेश भेटिने छैनन् । राइड सेयरिङमा उनको नम्बर देखिने छैनन् । यात्रुको खोजीमा काठमाडौंका सडकमा निस्कने छैनन् । साँझ, बिहान, घामपानीमा रेङकोट लगाएर सेवा दिने गणेश काठमाडौंका सडकमा देखिने छैनन् ।
सीमा सुरक्षा र राजस्व चुहावट नियन्त्रण थप सशक्त बनाउन विशेष टोली परिचालन
काठमाडौं । सशस्त्र प्रहरी बलले सीमा सुरक्षा र राजस्व चुहावट नियन्त्रण गर्ने कार्यलाई थप सशक्त बनाउन विशेष अनुगमन टोली परिचालन गरेको छ । निमित्त संगठन प्रमुख सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक बंशीराज दाहालले सशस्त्र प्रहरी वरिष्ठ परीक्षकहरूको नेतृत्वमा फिल्डमै अनुसन्धान गरी तत्काल कारबाही गर्न सक्ने अधिकार सहितको विशेष अनुगमन टोली परिचालन भएको जानकारी दिएका हुन् । शुक्रबार (आज )सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयबाट भर्चुअल माध्यमबाट मातहत युनिटका प्रमुखहरूलाई ब्रिफिङ गर्दै सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक दाहालले कुनै पनि प्रकारको भ्रष्टाचार, आर्थिक अनियमितता वा अनुचित प्रभावलाई शून्य सहनशीलताको नीति अनुसार काम गरिने बताए । शून्य सहनशीलताको नीतिअनुसार पालना नगरेको भेटिएमा जुनसुकै तहका कमाण्डरहरू तथा दर्जाका सशस्त्र प्रहरी कर्मचारीहरु माथि छानविन गरी आवश्यक कारवाही गरिने चेतावनीसमेत उनले दिए । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक दाहालले भन्सार छली, अवैध आयात–निर्यात तथा राजस्व चुहावट हुने सम्भावित नाकाहरूमा सबै सीमा सुरक्षा गुल्म, बोर्डर आउट पोष्ट तथा फरवार्ड पोष्टहरूले २४सै घण्टा निगरानी कायम राख्ने व्यवस्था गरी तस्करी नियन्त्रण तथा सीमा क्षेत्रबाट हुने अवैध निकासी पैठारीलाई पूर्णतया रोक्न कमाण्डरहरूलाई निर्देशन दिए । उनले सीमापार समकक्षी तथा सरोकारवाला सम्बन्धित निकायहरुबाट समेत सूचना लिई काम गर्न सकियो भने सीमामा संचालन गरिने अपरेशनल गतिविधिहरुमा थप सहजता आउने उल्लेख गरे । त्यस्तै, उनले खुला तथा संवेदनशील सीमा क्षेत्रको जोखिम विश्लेषण गरी गस्ती, मोबाइल पेट्रोलिङ तथा चेकिङलाई थप गरी प्रभावकारी बनाउन समेत निर्देशन दिए । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक दाहालले आर्थिक विधेयक, २०८३ मा समेत नेपाल सरकारले सशस्त्र प्रहरी बल, नेपाललाई अन्तर्राष्ट्रिय सीमा सुरक्षाको डेडिकेटेड व्यवसायिक फोर्सको रुपमा विकास गर्ने भनेर सम्वोधन गरेको उल्लेख गरे । उनले कुनैपनि बिषयमा सशस्त्र प्रहरी कर्मचारीहरू विवादको कारक नभई कानून बमोजिम निष्पक्ष र पारदर्शी ढंगले कार्य गर्नुपर्ने जनाउँदै यस्ता कार्यमा वाहिनीपतिहरूले आफ्नो मातहत कार्यालयहरुको निरन्तर रुपमा अनुगमन गर्दै कार्यक्षेत्रमा हुनेसक्ने गल्ती कमजोरीलाई समयमा नै आँकलन गरी समाधान गर्नेतर्फ लाग्नुपर्ने बताए। दाहालले मुख्यालयले सशस्त्र प्रहरी कर्मचारीहरुको जनशक्ति व्यवस्थापनमा समेत विशेष ध्यान दिएको र सोही अनुरूप लामो समयदेखि एउटै सीमावर्ती जिल्लामा कार्यरत कर्मचारीहरूलाई प्रदेशभित्रै अन्यत्र युनिटहरूमा परस्पर सरुवा गर्न र व्यावसायिक आचरण विपरित काम गर्नेहरूलाई वाहिनी तहमा नै करेक्सन ट्रेनिङ संचालन गर्न वाहिनीपतिहरुलाई निर्देशन दिए । सोही अवसरमा उनले मनसुनको समय शुरु भएको हुँदा विगतका बाढी–पहिरो तथा डुवानमा परेका क्षेत्रहरुको पहिचान गरी आवश्यक उद्धारका सामाग्रीसहित तयारी हालतमा रहन सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारीहरुलाई निर्देशनसमेत दिएका थिए । कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक गणेश बहादुर ठाडामगर, अञ्जनी कुमार पोखरेल लगायत सशस्त्र प्रहरी बल नेपाल उच्च अधिकृतका साथै भर्चुअल माध्यमबाट सशस्त्र प्रहरी बल नेपालका सम्पूर्ण वाहिनीपति, गणपति, गुल्मपति, बिओपी तथा बेश कमाण्डरहरू सहभागी रहेका थिए ।