नौ प्रकारका औषधि उत्पादनको तयारी
काठमाडौं । नेपाल औषधि लिमिटेडले नौ प्रकारका औषधि उत्पादनको तयारी गरेको छ । लिमिटेडले ती औषधिको तीन महिनाको परीक्षण पूरा गरी ६ महिनाको परीक्षण सकाउने तयारीमा छ । लिमिटेडले जुका, मधुमेह, उच्चरक्तचाप, कोलस्टरोल, आइरन चक्की, फोलिक एसिड, एजिथ्रोमाइसिनलगायत नौ प्रकारका औषधिको उत्पादनको तयारी गरेको हो । लिमिटेडका महाप्रबन्धक कैलाशकुमार पनेरुले ती औषधिको परीक्षण सकेर अर्को महिनादेखि उत्पादनका लागि औषधि व्यवस्थापन विभागबाट अनुमतिपत्र लिएर उत्पादन सुरु गर्ने जानकारी दिए । यसअघि लिमिटेडले ११ प्रकारका औषधि उत्पादन गर्दै आइरहेका छ ।
राष्ट्र बैंकले गर्यो एकै वर्ष पौने २ खर्ब रुपैयाँ नाफा, कर्मचारीलाई दियो ५ अर्ब ६ करोड
काठमाडौं । नेपाल राष्ट्र बैंकले एकै वर्ष पौने २ खर्ब रुपैयाँ खुद नाफा आर्जन गरेको छ । राष्ट्र बैंकले गत आर्थिक वर्ष २०८१/८२ मा १ खर्ब ७२ अर्ब ३९ करोड ९२ लाख ९५ हजार रुपैयाँ खुद नाफा गरेको हो । अघिल्लो आव २०८०/८१ मा राष्ट्र बैंकले १ खर्ब १५ अर्ब ३५ करोड ३७ लाख ८३ हजार रुपैयाँ खुद नाफा गरेको थियो । अघिल्लो आवको तुलनामा गत वर्ष ४९.४५ प्रतिशत अर्थात् ५७ अर्ब ४ करोड ५५ लाख ११ हजार रुपैयाँ बढी नाफा आर्जन गरेको राष्ट्र बैंकको तथ्याङ्कले देखाउँछ । यसअघि आव २०७९/८० मा ८७ अर्ब ६० करोड ३७ लाख रुपैयाँ, आव २०७८/७९ मा ६० अर्ब ९८ करोड ७ लाख रुपैयाँ, आव २०७७/७८ मा ३० अर्ब ४७ करोड ५३ लाख रुपैयाँ खुद नाफा गरेको थियो । गत वर्ष राष्ट्र बैंकको खुद ब्याज आम्दानी १०.२४ प्रतिशत बढेर ८७ अर्ब ३० करोड ९७ लाख ७ हजार रुपैयाँ गरेको छ । अघिल्लो वर्ष ७९ अर्ब ३१ करोड ६५ लाख ३२ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । गत वर्ष राष्ट्र बैंकले शुल्क तथा कमिशन आम्दानी १ करोड ८१ लाख ६२ हजार रुपैयाँ, गोल्ड सर्टिफिकेटबाट हुने आम्दानी ५३ करोड ७१ लाख ५६ हजार रुपैयाँ, अन्य आम्दानी ९९ करोड ७० लाख ७२ हजार रुपैयाँ, खुद अन्य आम्दानी १ अर्ब ४० करोड २० लाख ६५ हजार रुपैयाँ र कुल सञ्चालन आम्दानी ८८ अर्ब ४६ करोड ७४ लाख ७९ हजार रुपैयाँ गरेको छ । राष्ट्र बैंकका अनुसार गत वर्ष कर्मचारीको तलब खर्च ५ अर्ब ६ करोड ३३ लाख ६१ हजार रुपैयाँ, नोट छाप्ने खर्च ७७ करोड ३६ लाख ५ हजार रुपैयाँ, प्रशासनिक खर्च १ अर्ब ६६ करोड २६ लाख ८७ हजार रुपैयाँ र कुल खर्च ७ अर्ब ९८ करोड ४८ लाख २९ हजार रुपैयाँ गरेको छ । ५ अर्ब पुँजी रहेको राष्ट्र बैंकको रिजर्भमा ६ खर्ब ७६ अर्ब २ करोड ६३ लाख २३ हजार रुपैयाँ रहेको छ । गत असारसम्ममा राष्ट्र बैंकको सम्पत्ति तथा दायित्व २६ खर्ब २३ करोड ९५ लाख ४० हजार रुपैयाँ पुगेको छ । केन्द्रीय बैंकका अनुसार विभिन्न कोषमा आवश्यक रकम विनियोजन गरी बाँकी ४२ अर्ब रुपैयाँ नेपाल सरकारलाई उपलब्ध गराउने निर्णय गरेको छ ।
मेटलाइफ २०२५ का लागि फर्च्युन वर्ल्डको उत्कृष्ट २५ कार्यस्थलमा सम्मानित
न्यूयोर्क । विश्वको प्रतिष्ठित सूचीकर्ता ‘फर्च्युन वर्ल्ड’ ले २०२५ का लागि सार्वजनिक गरेको उत्कृष्ट २५ कार्यस्थलहरूको सूचीमा मेटलाइफ, इंक लगातार दोस्रो वर्ष पुर्याइएको छ । यस वर्ष मेटलाइफले सो सूचीमा १०औँ स्थान हासिल गरेको हो । विश्वभरका केवल २५ कम्पनीलाई प्रदान गरिने यो मान्यताले मेटलाइफको कर्मचारी, ग्राहक र समुदायप्रति रहेको दिगो प्रतिबद्धतालाई झल्काउँछ । 'यो मान्यता हाम्रा कर्मचारीहरूको निरन्तर समर्पण र ऊर्जाको प्रमाण हो,' मेटलाइफका अध्यक्ष तथा सीईओ मिशेल खलाफले भने, 'हामीले अवलम्बन गरेको नयाँ सीमाना वृद्धि रणनीतिलाई अघि बढाउँदै गर्दा, सबै कर्मचारीले फस्टाउन सक्ने वातावरण बनाउन तथा सरोकारवालाको भविष्य आकार दिने हाम्रो प्रतिबद्धता झन् दृढ भएको छ ।' फर्च्युनको अनुसन्धान साझेदार ग्रेट प्लेस टु वर्क द्वारा गरिएको नौ मिलियनभन्दा बढी कर्मचारी सर्वेक्षण प्रतिक्रियामा आधारित मूल्यांकनबाट यो सूची तयार गरिएको हो । विश्वभरका प्रमाणित संस्थाहरूमा कार्यरत २ करोड ५० लाखभन्दा बढी कामदारको अनुभव प्रतिनिधित्व गर्ने आधारमा उत्कृष्ट कार्यस्थल चयन गरिन्छ । मेटलाइफलाई हालसम्म अमेरिकाको फर्च्युन १०० उत्कृष्ट कम्पनीहरू सूचीमा लगातार तेस्रो वर्ष स्थान मिळेको छ भने एशिया, युरोप, ल्याटिन अमेरिका तथा मध्यपूर्वका विभिन्न देशहरूमा पनि उत्कृष्ट कार्यस्थलको मान्यता प्राप्त गरिसकेको छ । २०२५ मा मात्र मेटलाइफ ३३ विभिन्न बजारमा ‘सर्टिफाइड ग्रेट प्लेस टु वर्क’ बनेको छ । 'हाम्रा सबै उपलब्धिका मूल प्रेरक शक्ति हाम्रै कर्मचारी हुन्,' मेटलाइफका प्रमुख मानव संसाधन अधिकृत शुराउल सिब्लिसले भने, 'कर्मचारीलाई सम्मान, मान्यता र सशक्तिकरण दिने हाम्रो संस्कृतिले नै यो उपलब्धि सम्भव बनाएको हो ।' फर्च्युनका मापदण्डअनुसार, उत्कृष्ट २५ विश्वव्यापी कार्यस्थलमा सूचीकृत हुन कम्पनीसँग ५ हजार वा सोभन्दा बढी कर्मचारी हुनुका साथै २०२४ वा २०२५ को सुरुवातमा विभिन्न महादेशका कम्तिमा पाँच उत्कृष्ट कार्यस्थल सूचीमा मान्यता प्राप्त हुनुपर्छ । मेटलाइफले यी सबै मापदण्ड पूरा गर्दै वैश्विक प्रतिस्पर्धामा उच्च स्थान सुरक्षित गरेको छ ।
बागमती सरकारले ‘एक घर दुई भैंसी’ कार्यक्रमका लागि निर्ब्याजी ऋण उपलब्ध गराउने
रसुवा । बागमती प्रदेश सरकारले ग्रामीण क्षेत्रका नागरिकलाई रोजगारी दिलाउन निर्ब्याजी ऋण उपलब्ध गराउने भएको छ । जिल्ला समन्वय समिति रसुवाले सोमबार आयोजना गरेको दशौं जिल्ला सभालाई सम्बोधन गर्दै बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङले एक घर दुई भैंसी खरिदका लागि सरकारले निर्ब्याजी ऋण रकम उपलब्ध गराउने बताए । उनले सो कार्यक्रममा युवाहरू सहभागी भइदिन आग्रह गरे । दूध डेरी खोल्न, दाना र मलखादको व्यवस्थापन गर्नसमेत प्रदेश सरकार सहयोग गर्न तयार रहेको उनले बताए । जिल्ला समन्वय समिति प्रमुख अशोककुमार घिमिरेको सभापतित्वमा सम्पन्न सभामा जिल्लाका सरकारी कार्यालयको वार्षिक कामको प्रगति प्रस्तुत गरिएको थियो । सहभागीले राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत पर्ने गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडक सुधार आयोजनाको कार्यप्रगति प्रस्तुत नगरेकामा आलोचना गरेका थिए । प्रमुख जिल्ला अधिकारी राजेश पन्थीले जिल्लामा बाढीपहिरो जस्ता विपद्का घटना भइरहने र त्यस्ता विपद्को समस्या समाधानका लागि विपद् व्यवस्थापन समितिको बैठक बोलाउँदा सदरमुकामबाहिर कार्यालय रहेका कार्यालय प्रमुखहरुले बेवास्ता गर्ने गरेको बताए । जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख रजिन्द्र विक्रम सिंह ठकुरीले रसुवा र नुवाकोटको विकासमा हातेमालो गरी जनहितका काम अगाडि बढ्नुपर्नेमा जोड दिए । नेपाली कांग्रेसका जिल्ला सभापति पेम्वाछिरिङ तामाङले चिलिमे जलविद्युत्ले जिल्लालाई प्रदान गर्ने रोयल्टी रकमबाट कुनै प्रतिफल नपाएकाले सो रकम खोजी गरी प्रभावित बासिन्दा माझ ल्याउन, पर्यटन प्रवद्र्वन अगाडि बढाउन आग्रह गरे । जिल्लामा राम्रो काम गर्ने १० व्यक्ति/संस्थालाई जिल्ला सभाले सम्मानसमेत गरेको छ । सम्मानित हुनेमा नौकुण्ड गाउँपालिका उपाध्यक्ष चन्द्रबहादुर गलान, उत्तरगया गापाका अधिकृतस्तर छैटौँ तहमा कार्यरत रामकृष्ण न्यौपाने, नौकुण्ड गापा–४ का सचिव पूर्णबहादुर बुलुन, आमाछोदिङ्मो गापा–३ का वडा सचिव छोवाङदोर्जे तामाङ, श्रेणीविहीन पदमा कार्यरत जिल्ला समन्वय समितिका जयराम देवकोटा, गोसाइँकुण्ड गाउँपालिकाका नुर्पु घले रहेका छन् भने संस्थातर्फ चिलिमे जलविद्युत् आयोजना र माथिल्लो मैलुङ जलविद्युत् आयोजना रहेका छन् ।
दुई खर्ब ७५ अर्ब बक्यौता कर असुली हुन बाँकी
काठमाडौं । गत आर्थिक वर्ष २०८१/८२ सम्ममा तीन लाख ३० हजार ९१२ जना करदाताबाट दुई खर्ब ७५ अर्ब रुपैयाँ बक्यौता कर असुली हुन बाँकी देखिएको छ । सोमबार सार्वजनिक गरिएको आन्तरिक राजस्व विभागको वार्षिक प्रगति प्रतिवेदनअनुसार बक्यौता बाँकी रहेका करदाताबाट ९४ अर्ब ९५ करोड रुपैयाँ र प्रशासकीय पुनरावलोकनमा रहेका दुई हजार ९५ करदाताबाट एक खर्ब ८० अर्ब १० करोड रुपैयाँ बराबर असुली हुन बाँकी देखिएको हो । असुली हुन बाँकी कर बक्यौताको अवस्था हेर्दा आयकरतर्फ सबैभन्दा बढी एक लाख (३ हजार ६२) करदाताबाट दुई खर्ब १९ अर्ब ११ करोड रुपैयाँ उठ्न बाँकी रहेको छ । मूल्य अभिवृद्धि करतर्फ एक लाख ३७ हजार २५३ करदाताबाट रु ४८ अर्ब ७० करोड, अन्तः शुल्कतर्फ ३६४ करदाताबाट चार अर्ब नौ करोड रुपैयाँ र अन्यतर्फ एक हजार ७७० करदाताबाट तीन अर्ब १५ करोड रुपैयाँ बराबर कर असुली हुन बाँकी छ । गत आर्थिक वर्षमा आन्तरिक राजस्व विभागले कर बक्यौता असुलीका लागि राखेको वार्षिक लक्ष्यको प्रगति पनि न्यून देखिएको छ । 'बक्यौता सङ्कलनतर्फ आर्थिक वर्ष २०८१/८२ मा आयकरतर्फ २२ अर्ब ७६ करोड लक्ष्य रहेकामा आठ अर्ब ७१ करोड रुपैयाँ असुल भई लक्ष्यको तुलनामा ३८ दशमलव २९ प्रतिशत प्रगति हासिल भएको छ', वार्षिक प्रतिवेदनमा भनिएको छ । त्यसैगरी मूल्यअभिवृद्धि करतर्फ १६ अर्ब ३३ करोड रुपैयाँ बक्यौता उठाउने लक्ष्य रहेकामा ६३ दशमलव २८ प्रतिशत अर्थात् १० अर्ब ३३ करोड रुपैयाँ असुल भएको जनाइएको छ । गत आर्थिक वर्षमा बक्यौता समायोजनमा आयकरतर्फ २७ अर्ब ३८ करोड रुपैयाँ लक्ष्य रहेकोमा २१ अर्ब ३९ करोड रुपैयाँ प्रगति भई लक्ष्यको तुलनामा ७८ दशमलव एक प्रतिशत प्रगति भएको छ । त्यस्तै मूल्य अभिवृद्धिकरतर्फ १८ अर्ब १७ करोड रुपैयाँ लक्ष्य रहेकामा २२ अर्ब २९ करोड रुपैयाँ अर्थात् वार्षिक लक्ष्यको तुलनामा १२२ दशमलव ६३ प्रतिशत प्रगति भएको छ ।
प्रोटेक्भिट माइक्रो इन्स्योरेन्सद्वारा बीमा रकम हस्तान्तरण
काठमाडौं । प्रोटेक्भिट माइक्रो इन्स्योरेन्स, भरतपुर शाखाले इच्छाकामना गाउँपालिकालाई बीमा दाबी अन्तर्गतको रकम औपचारिक रूपमा हस्तान्तरण गरेको छ । शनिबार आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङ, उपाध्यक्ष माया सिलवाल लगायत जनप्रतिनिधिहरूको उपस्थितिमा भरतपुर शाखाका प्रमुख कुमार उप्रेतीले ३७ लाख ६५ हजार रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् । भदौ २४ गते जेनजी आन्दोलनका क्रममा आन्दोलनकारीद्वारा आगजनी गरिएका गाउँपालिकाका एक स्कर्पियो र एक बोलेरो गाडीको क्षतिपूर्तिस्वरूप सो बीमा रकम प्रदान गरिएको हो । प्रोटेक्भिट माइक्रो इन्स्योरेन्सले सेवा प्राप्तिकर्ताको जोखिम न्यूनीकरण तथा दाबी भुक्तानी प्रक्रियामा द्रुत, पारदर्शी र दिगो सेवा प्रवाह गर्नेजन्य प्रतिवद्धता पुनः व्यक्त गरेको छ ।
तोलामा ३ हजार ८ सय रुपैयाँले घट्यो सुनको मूल्य
काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको भाउ तोलामा ३ हजार ८ सय रुपैयाँले घटेको छ । सोमबार तोलामा ५ सय रुपैयाँले घटेको सुन मंगलबार ३ हजार ८ सयले घटेको हो । नेपाल सुन–चाँदी व्यवसायी महासंघकाअनुसार मंगलबार ३ हजार ८ सय रुपैयाँले घटेर एक तोला सुनको मूल्य २ लाख ३९ हजार ५ सय कायम भएको छ । सोमबार एक तोला सुन २ लाख ४३ हजार ३ सयमा खरिदबिक्री भएको थियो । सुनको मूल्य घटेसँगै चाँदीको भाउ पनि ओरालो लागेको छ । मंगलबार एक तोला चाँदी ३ हजार ९० रुपैयाँमा खरिदबिक्री भइरहेको महासंघले जनाएको छ । सोमबार चाँदी ३ हजार १ सय ५५ रुपैयाँमा कारोबार भएको थियो ।
मातृभूमि लघुवित्तको कामु सीईओमा बटाला नियुक्त
काठमाडौं । मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेडको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सीईओ)मा बखत बहादुर बटाला नियुक्त भएका छन् । मंसिर १ गते बसेको संस्था सञ्चालक समितिको बैठकले बटालालाई कामु सीईओको पदमा नियुक्त गर्ने निर्णय गरेको हो । संस्थाका सीईओ लक्ष्मी प्रसाद शर्माले पदबाट राजीनामा दिएपछि रिक्त भएको पदमा नायव प्रमुख कार्यकारी अधिकृत बटालालाई कामु सीईओको जिम्मेवारी दिइएको हो । संस्थाका अनुसार बटालाले मंसिर २ गतेदेखि कार्यभार समाल्नेछन् ।