विकासन्युज

शिवम सिमेन्टले १२.५० प्रतिशत लाभांश पारित गर्न डाक्यो १०औँ वार्षिक साधारण सभा

काठमाडौं । लाभांश प्रस्ताव पारित गर्न शिवम सिमेन्ट्सले वार्षिक साधारण सभा बोलाएको छ । कात्तिक ३० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले १०औँ वार्षिक साधारण सभा मंसिर २५ गते बिहान साढे १० बजे राष्ट्रिय सभा गृह, काठमाडौंमा बोलाएको हो ।  कम्पनीको सभाले गत आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको वार्षिक प्रतिवेदन, चालु आव २०८२/८३ को आय व्ययको लेखापरीक्षण कार्यका लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने, कम्पनीका आधारभूत सेयरधनी वा संचालक सम्बद्ध रहेको संस्थासँग तथा यसै संस्थासँग सम्बद्ध कम्पनीसँग गरेको कारोबार विवरणलाई अनुमोदन गर्ने र १ जना संचालक समितिको नियुक्तिलाई सभाबाट अनुमोदन गर्नेछ । कम्पनीको सभाले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट हाल कायम चुक्ता पुँजी ५ अर्ब ४५ करोड ६८ लाख ८ हजार रुपैयाँको २.५० प्रतिशतका दरले १३ करोड ६४ लाख २० हजार २१२ रुपैयाँ बोनस सेयर र कर प्रयोजनसहितका लागि १० प्रतिशतका दरले ५४ करोड ५६ लाख ८० हजार ८५० रुपैयाँ नगद गरी कुल १२.५० रुपैयाँ लाभांश प्रस्ताव पारित गर्नेछ ।  लाभांश तथा साधारण सभा प्रयोजनार्थ कम्पनीले मंसिर ११ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले मंसिर १० गतेसम्म नेपाल स्टक एक्सचेञ्जमा कारोबार भई कायम सेयरधनीहरुले साधारण सभामा सहभागिता जनाई लाभांश प्राप्त गर्न सक्नेछन् । 

मध्यरातमा दुर्गा प्रसाईं पक्राउ

काठमाडौं । मध्यरातमा प्रहरीले दुर्गा प्रसाईंलाई पक्राउ गरेकाे छ । जिल्ला प्रहरी परिसर काठमाडौं र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले भक्तपुर स्थित उनकै घरबाट प्रसाईंलाई पक्राउ गरेको हो ।  हिंसा भड्किने गरी अराजक गतिविधि गर्न अभिव्यक्ति दिएको आरोपमा उनलाई सोमबार मध्यरातमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।  उनलाई काठमाडौं प्रहरी परिसर भद्रकालीमा नियन्त्रणमा राखिएको छ । आफूलाई राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति बचाउ महाअभियानका संयोजकका रूपमा चिनाउने प्रसाईंले ७ मंसिरदेखि देशभर आन्दोलन गर्ने घोषणा गरेका थिए । प्रसाईंले देश ठप्प पार्ने भन्दै उग्र अभिव्यक्ति दिएका थिए । 

राष्ट्र बैंकले साढे ३ अर्ब रुपैयाँ मुद्दतीमा लगानी गर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको ३ अर्ब ५३ करोड रुपैयाँ बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने भएको छ । केन्द्रीय बैंकले एक सूचनामार्फत इच्छुक बैंक तथा वित्तीय संस्थाले आफूले लिन चाहेको रकम र प्रस्ताव गरिएको ब्याजदरसहित मङ्गलबार साँझ ७ बजेभित्र आवेदन दिन भनेको छ । राष्ट्र बैंकले उक्त रकम एक वर्षका लागि लगानी गर्न लागेको हो । सूचनामा वाणिज्य  बैंकमा २ अर्ब ८२ करोड ४० लाख रुपैयाँ, विकास बैंकमा ५२ करोड ९५ लाख रुपैयाँ र वित्त कम्पनीमा १७ करोड ६५ लाख रुपैयाँ लगानी गर्न लागेको उल्लेख छ । बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको दुई वर्ष पूरा भएको, न्यूनतम् कूल पुँजी कोष कायम रहेको र कूल कर्जा सापटीको ८ प्रतिशत र खुद निष्क्रिय कर्जा अनुपात ३ प्रतिशत ननाघेको हुनुपर्ने लगायतका सर्तहरु पूरा गरेको हुनुपर्नेछ ।

आज चितवन राइनोज र कर्णाली याक्स, विराटनगर किङ्ग्स र पोखरा एभेन्जर्स भिड्दै

काठमाडौं । दोस्रो संस्करणको  नेपाल प्रिमियर लिग (एनपीएल) मा आज २ खेल हुँदैछन् । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला कीर्तिपुरमा आज बिहान ११:४५ बजे हुने पहिलो खेलमा चितवन राइनोज र कर्णाली याक्स भिड्दा दोस्रो खेलमा विराटनगर किङ्ग्स र  पोखरा एभेन्जर्स प्रतिस्पर्धा गर्नेछन् । चारवटै टोलीको लक्ष्य सुखद सुरुआत गर्ने हुनेछ । चितवन कुशल मल्लका कप्तानीमा मैदान उत्रिँदा कर्णालीको नेतृत्व सोमपाल कामीले गर्नेछन् । विराटनगरको नेतृत्व सन्दीप लामिछानेले सम्हाल्दा पोखराको कप्तान कुशल भुर्तेल रहनेछन् ।  यसअघि सोमबार सम्पन्न खेलमा साविक विजेता जनकपुर बोल्ट्सलाई ५ विकेटले हराएर काठमाडौं गोर्खाजले सुखद सुरुआत गरेको छ । जितसँगै काठमाडौंले अङ्कतालिकामा दुई अङ्क पनि जोड्यो । नेपाल क्रिकेट सङ्घ (क्यान) को आयोजनामा मङ्सिर १ गतेदेखि सुरु प्रतियोगिताको फाइनल मङ्सिर २७ मा हुनेछ । प्रतियोगिताका विजेताले १ करोड १० लाख रुपैयाँ पाउने क्यानले जनाएको छ ।

फर्किएको रैथाने खान्कीको रौनक, पाँच तारे होटलको मेन्युमा कोदो, फापरको रोटी, ढिँडो

अच्युत रेग्मी काठमाडौं । एक जमाना यस्तो थियो मानिस कोदोको ढिँडो लुकाएर खान्थे, अथवा ढिँडो खाएको कुरा खुलेआम भन्न रुचाउँदैनथे । गाउँघरमा समेत यस्तै अवस्था थियो । किनभने ढिँडो गरिबको खान्की हो भन्ने मानसिकता थियो । त्यो समयमा चामलको भात धनी अर्थात् सम्पन्नहरुले र कोदो गरिबले खान्छन् भन्ने थियो । यसकारण गाउँघरमा कतै कतै त घरभित्र ढिँडो खाने र बाहिर कुकुरलाई चाहिँ एक गाँस दूध भात दिने गरेको तथ्यहरू पनि सुन्न पाइन्थ्यो । अहिले जमाना बदलिएको छ, समय फेरिएको छ । मानिस गाउँघरको त के कुरा सहर बजारका ठूलै होटलमा पनि ढिँडो खोज्दै जान थालेका छन् । ढिँडो अब लुकेर र लुकाएर खाने खान्की नभएर मनपर्ने खाना मात्र नभएर रोजाइको खानामा पर्न थालेको छ । त्यसैले मानिसले अहिले ढिँडो खाँदा गर्व गर्छन् र सामाजिक सञ्जालमा आज ढिँडो खाइयो भनेर तस्बिर पोष्ट गर्ने गर्छन् । पहिले दुर्लभ मानिएको भात अहिले विकल्पको खाना भएको छ । घरमा होस् या होटलमा, मानिसहरूले सकेसम्म भात खाँदैनन् । रोटी, च्याख्ला या ढिँडो नै रोजाइमा पर्न थालेको छ । पहिलेको धनी मानी तथा सानको खाना भातलाई अहिले मानिस रोगको घरका रुपमा लिन्छन् । किनभने चिकित्सकहरू नै धेरै भात नखान सुझाउँछन् । सकेसम्म अर्गानिक खाना, रैथाने उत्पादनको खान्की र सकेसम्म भात थोरै खानुपर्ने चिकित्सकहरूको सल्लाह छ । पहिलेको तुलनामा अहिले मानिसमा आफ्नो स्वास्थ्यसम्बन्धी चेतनामा वृद्धि भएको देखिन्छ । त्यसैले मानिस विषादी प्रयोग नभएको, रैथाने उत्पादन तथा कार्बोहाइड्रेट धेरै नभएका खानेकुरा रोज्न थालेका छन् । खाद्य, पोषण तथा जन स्वास्थ्यविद् डा अरुणा उप्रेती पछिल्लो समय पहिलेको रैथाने अन्न जस्तै कोदो, फापर, गुन्द्रुक, मकै तथा च्याख्ला र दाल भात धेरैको रोजाइमा पर्न थालेको बताउँछन् । रक्तचाप, मधुमेहलगायत रोगबाट जोगिनका लागि पनि बजारका र आधुनिक खानेकुराभन्दा रैथाने खाना नै खानुपर्छ भन्ने चेतना मानिसमा बढ्दै गएको उनको अनुभव छ । ‘पहिला रैथाने खाना खाँदा अपहेलित हुने अवस्था पनि थियो । तर, अहिले त्यस्तो छैन, सञ्चारमाध्यमले गर्दा रैथाने खानातर्फ मानिस आकर्षित भएका छन् । पहिला मैले कोदो खाएँ भन्दा मान्छेलाई अपमान महसुस पनि हुने गरेको थियो । अहिले भने पाँच तारे होटलमै पनि कोदो, फापरको रोटी, ढिँडो पाउन सकिन्छ । मेन्युमा नै पनि यस्ता परिकार लेख्न थालिएको देखिन्छ,’ उनी भन्छन् ।  मानिसमा शारीरिक व्यायाम आदि कम हुँदै गएको र बजारका खानेकुराको मात्रा बढ्दै गएकाले अर्गानिक तरिकाबाट उत्पादन गरिएका यस्ता स्थानीय, रैथाने खानाले स्वास्थ्यलाई राम्रो गर्ने उनको सुझाव छ । केही वर्ष पहिले मेडिकल व्यवसायी दुर्गा प्रसाईंले झापास्थित आफ्नो घरमा नेपाल कम्युनिष्ट पार्टीका तत्कालीन नेताद्वय एवं पूर्वप्रधानमन्त्रीद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई मार्सी चामलको भात खुवाएको विषयले चर्चा पायो । प्रसाईंले दुई पूर्वप्रधानमन्त्रीसँगै बसेर मार्सी चामलको भात खाएको फोटो सार्वजनिक भएसँगै बजारमा मार्सी चामलको चर्चा चुलियो । मार्सी चामलको ‘ब्रान्डिङ’ गरेर अहिले ललितपुरको झम्सिखेलमा ‘मार्सी थकाली’ सञ्चालनमा आएको छ । मार्सी धान विशेषतः चिसो हावापानीमा उत्पादन हुने धान हो । चिसो हावापानीमा उत्पादन हुने भएकाले मार्सी चामलको खाना स्वादिलो हुने गरेको छ । मार्सी थकालीका सञ्चालक मधुसूदन ढकाल हिमाली क्षेत्रमा उत्पादित हुने धानलाई आफ्नो रेष्टुरेण्टले ‘ब्रान्ड’ बनाएर अगाडि बढाएको बताउँछन् । मार्सी थकालीमा मार्सी खानासहित स्थानीयस्तरमै उत्पादित गुन्द्रुक, कालिज, बँधिया कुखुरा, बट्टाई, च्याङ्‍ग्राको सुकुटी, गँगटो, घुँगी, लोकल कुखुरालगायत रैथाने स्वाद लिन पाइन्छ । काठमाडौंको लाजिम्पाटस्थित बुकी बुटिक होटलका व्यवस्थापक मनिष श्रेष्ठ केही वर्ष अघिसम्म मानिस होटलमा विशेषगरी भात खान नै आउने गरेकामा अहिले उनीहरुको खानपिनमा निकै परिवर्तन आएको आफूले पाएको अनुभव सुनाउँछन् ।  मानिस बढी त लोकल अथवा रैथाने उत्पादनमा नै बढी आकर्षित हुने गरेको बताउँदै श्रेष्ठ भात नै खोजे पनि मानिसले मार्सी चामल या अरु नै त्यस्तै रैथाने चामलको भात खोज्ने नत्र ढिँडोलगायत अरु खानेकुरा मन पराउने गरेको बताउँछन् ।  त्यसैले आफूले स्थानीय उत्पादन, मार्सी चामलको थाली, लोकल कुखुरा तथा गाउँघरबाट रैथाने गेडागुडी, कालो मासको दाल र लोकल सागहरु मगाउने गरेको उनको भनाइ छ । यही कारणले अहिले सो होटल परिसरमा हरेक शनिबार बिहान स्थानीय एवं रैथाने उत्पादन जस्तै जुम्लाको सिमी, मुस्ताङको आलु, जुम्ली मार्सी चामल, फापर एवं काठमाडौंकै पनि काँठतिरका सागसब्जी र गेडागुडीका अर्गानिक उत्पादनको बजार लाग्ने गरेको श्रेष्ठ बताउँछन् ।  सेफ्स एशोसियसन नेपालका पूर्वअध्यक्ष एवं काठमाडौंको नागार्जुनस्थित नागार्जुन रिसोर्टका सल्लाहकार सेफ गोविन्द नरसिंह केसी रैथाने खाना खानेको सङ्ख्या पछिल्लो समय बढ्दै गएको बताउँछन् । ‘पहिले त होटलमा गएर खाने भनेको ठूलाबडाले मात्र हो भन्ने थियो, किनभने मानिससँग पैसा नै हुँदैनथ्यो । कहिलेकाहीँ होटल जानेहरूले पनि रैथानेभन्दा पनि होटलको आधुनिक परिकार नै खोज्थे । तर अहिले त्यस्तो छैन । मानिस ठूलै होटलमा गएर पनि अर्गानिक तथा रैथाने खाना खोज्ने गरेका छन् । यो चाहिँ स्वास्थ्यसम्बन्धी एक प्रकारको चेतना पनि हो,’ उनले भने ।  विगतमा सोल्टी होटलको सेफ समेत रहेका केसी पहिले अहिलेजस्तो तरकारी आदिमा विषादी प्रयोग गर्ने चलन नरहेकाले होटलको खाना पनि त्यति अस्वस्थ हुँदैनथ्यो । केसीको अनुभवमा अहिले उत्पादन बढाउन अनेक थरी औषधि, मलको प्रयोगले गर्ने र यस्ता समाचारले मानिसमा चेतना बढेको बताउँदै काठमाडौंका मानिस रैथाने खाना तथा स्थानीय उत्पादन खोज्दै अहिले नागार्जुन रिसोर्ट जस्तै काँठ क्षेत्रका होटलमा पुग्ने गरेका छन् । काठमाडौंको डाँडागाउँ स्थित रोयल भिल्ला रिसोर्टका सञ्चालक पुष्कल मल्लको अनुभव पनि त्यस्तै छ । काठमाडौँको भिडभाडबाट केही पर जङ्गल नजिक रहेको आफ्नो रिसोर्टमा पनि स्थानीय एवं नेपाली स्वादका खानामा ‘इञ्जोय’ गर्न मानिस आउने गरेको बताउँछन् । ‘पछिल्लो समय नेपाली खानाप्रति मानिसको रुचि बढेको देख्छु । हामीकहाँ पनि धेरै गेष्ट काठमाडौंबाटै आउनुहुन्छ र नेपाली मात्र नभएर रैथाने र अर्गानिक खाना नै खोज्नुहुन्छ, ढिँडो, गुन्द्रुक, सिस्नु फापर, मार्सी चामलको भात, लोकल कुखुराको झोल आदि खाने प्रचलन अहिले धेरै बढेको छ । धेरैको रोजाइ टिपिकल खाना पर्ने गर्दछ,’ मल्लले भने । केही वर्षयता राजधानी काठमाडौं सहर भित्रभन्दा पनि काँठ क्षेत्रमा  बढी नै मात्रामा होटल रेष्टुरेन्टहरु खुलेका छन् । ती होटलमा सहरका तुलनामा धेरै नै पाहुना जाने गरेको सञ्चालकहरूको अनुभव छ । राजधानी काठमाडौंबाहेक नेपालको प्रमुख पर्यटकीय नगरी पोखराको विमानस्थल नजिक रहेको ‘एयरपोर्ट’ थकाली, चिप्लेढुङ्गाको मन्त्र थकाली, फेवाताल ड्यामसाइडस्थित मोनालिसा थकाली, पोखराको नौडाँडामा रहेको भण्डारी भान्सा घर, चितवनको भरतपुरस्थित पाते ढिँडो थकाली, भरतपुरमै रहेको बाजेको माछा महललगायत थुप्रै होटल तथा रेष्टुरेन्टहरुले पारखीहरुलाई स्थानीय रैथाने खानाको स्वाद चखाइरहेका छन् । रासस

सुदूरपश्चिम प्रदेशको कूल गार्हस्थ उत्पादन ४ खर्ब ३० अर्ब रुपैयाँ

काठमाडौं । सुदूरपश्चिम प्रदेशको कूल गार्हस्थ उत्पादन ४ खर्ब ३० अर्ब रुपैयाँ बराबर पुग्ने अनुमान गरिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको सुदूरपश्चिम प्रदेशको आर्थिक गतिविधि अध्ययन २०८१/८२ को वार्षिक प्रतिवेदनअनुसार उक्त आवमा प्रदेशको कूल गार्हस्थ उत्पादनको वृद्धिदर ३.२८ प्रतिशत हुने संशोधित अनुमान रहेको छ । प्रदेशले चालु आर्थिक वर्षमा देशको कूल गार्हस्थ उत्पादनमा ७.०३ प्रतिशत योगदान पुर्याउने प्रारम्भिक अनुमान गरिएको छ । वृहत् औद्योगिक वर्गीकरणअनुसार प्रादेशिक कूल गार्हस्थ उत्पादनमा सबैभन्दा बढी ३४.७२ प्रतिशत योगदान कृषि, वन तथा मत्स्यपालन क्षेत्रको र सबैभन्दा कम ०.१३ प्रतिशत योगदान प्रशासनिक तथा सहयोगी सेवा क्षेत्रको रहने प्रारम्भिक अनुमान गरिएको छ । आव २०८०/८१ मा पनि कृषि, वन तथा मत्स्य क्षेत्रको योगदान अग्रस्थान (३३ प्रतिशत) र प्रशासनिक तथा सहयोगी क्षेत्रको योगदान अन्तिम स्थान (०.१३ प्रतिशत) मा हुने संशोधित अनुमान गरिएको थियो ।  त्यसैगरी, आव २०८१/८२ मा सुदूरपश्चिम प्रदेशको कूल गार्हस्थ उत्पादन ४ खर्ब ३० अर्ब रुपैयाँ र आर्थिक वृद्धिदर उपभोक्ता मूल्यमा ३.३२ प्रतिशत र आधारभूत मूल्यमा २.७१ प्रतिशत रहने अनुमान गरिएको छ । आधारभूत मूल्यमा प्रदेशको प्राथमिक क्षेत्रको वृद्धिदर २.८ प्रतिशत, द्वितीय क्षेत्रको वृद्धिदर २ प्रतिशत र तृतीय क्षेत्रको वृद्धिदर २.९ प्रतिशत रहने अनुमान गरेको छ ।  समीक्षा वर्षमा प्रमुख कृषिबाली (खाद्य तथा अन्य बाली, तरकारी एवं फलफूल तथा मसला)ले ढाकेको भू–क्षेत्र २.१६ प्रतिशतले वृद्धि भएको छ । यस्ता बालीको उत्पादन २.७७ प्रतिशतले बढेको छ । प्रमुख खाद्य तथा अन्य बालीमध्ये सबैभन्दा बढी तेलहन र आलुको उत्पादन क्रमशः १८.८९ प्रतिशत र १६.११ प्रतिशतले वृद्धि भएको छ भने फापरको उत्पादनमा सबैभन्दा बढी ७७.८८ प्रतिशतले ह्रास आएको छ । पशुजन्य उत्पादन अन्तर्गत माछा उत्पादन १०.३६ प्रतिशत, मासु ०.७९ प्रतिशत, ऊन उत्पादन ३.२७ र अण्डा १.७६ प्रतिशतले बढेको छ । प्रदेशका बैंक तथा वित्तीय संस्थाबाट प्रवाहित कूल कर्जाको १०.१४ प्रतिशत हिस्सा कृषि क्षेत्रमा प्रवाहित भएको छ । विंस २०८२ असारमसान्तसम्ममा सुदूरपश्चिम प्रदेशमा कृषिमा प्रवाहित कर्जा २०८१ असार मसान्तको तुलनामा ३.४१ प्रतिशतले ह्रास भई १५ अर्ब ९६ करोड ४२ लाख रुपैयाँ पुगेको छ । प्रदेशका अध्ययन नमुनामा समेटिएका उद्योगको औसत क्षमता उपयोग ३४.४७ प्रतिशत छ । समष्टिगत रुपमा मागमा आएको गिरावटले सम्पूर्ण औद्योगिक वस्तुको उत्पादनमा ह्रास आएको देखिन्छ । समीक्षा वर्षको अन्त्यसम्ममा यस प्रदेशका बैंक तथा वित्तीय संस्थाबाट प्रवाहित कूल कर्जाको १६.९७ प्रतिशत हिस्सा उद्योग क्षेत्रमा प्रवाहित भएको छ । सो क्षेत्रमा प्रवाह भएको कर्जा २०८१ असार मसान्तको तुलनामा ४.३७ प्रतिशतले वृद्धि भई २६ अर्ब ७२ करोड ३ लाख रुपैयाँ पुगेको छ । उक्त आवमा नमुनाका रुपमा छनोट गरिएका १० होटलको औसत अकुपेन्सी ३६.४० प्रतिशत रहेको छ । यस्तै, घरजग्गा रजिष्ट्रेसन सङ्ख्या ३७.५० प्रतिशतले बढेको छ भने रजिस्ट्रेसन राजस्व ३७.६२ प्रतिशतले बृद्धि भएको छ । गत असार मसान्तसम्म सुदूरपश्चिम प्रदेशमा बैंक तथा वित्तीय संस्थाले सङ्कलन गरेको कुल निक्षेप २०८१ असार मसान्तको तुलनामा १६.३० प्रतिशतले बढेको छ । यस्तै, कर्जा प्रवाह २.९८ प्रतिशतले वृद्धि भएको छ । यस्तै, यातायात साधनको दर्ता सङ्ख्या अघिल्लो आर्थिक वर्षको तुलनामा ३५.०७ प्रतिशतले वृद्धि भएको छ । यस प्रदेशका बैंक तथा वित्तीय संस्थाबाट प्रवाहित कूल कर्जाको ७२.८८ हिस्सा सेवा क्षेत्रमा प्रवाहित भएको छ । सुदूरपश्चिम प्रदेश सरकारको चालु खर्चतर्फ विनियोजन भएको बजेटमध्ये समीक्षा वर्षमा ७५.६६ प्रतिशत खर्च भएको छ भने पुँजीगत खर्चतर्फ विनियोजन भएको बजेटमध्ये ६६.४७ प्रतिशत खर्च भएको छ ।

मौलाकाली केबलकार पुनः सञ्चालनमा, छिट्टै सर्वसाधारणका लागि खुला गरिने

काठमाडौं । गत भदौ २४ मा भएको जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीबाट बन्द भएको मौलाकाली केबलकार पुनः सञ्चालनमा आएको छ । जेनजी आन्दोलनबाट क्षति पुगेर बन्द भएको केबलकारको दुई महिनापछि परीक्षण सञ्चालन सफल भएको हो । मौलाकाली केबलकार लिमिटेडका स्टेसन म्यानेजर सुरज पौडेलले आइतबार साँझ गरिएको प्राविधिक परीक्षण सफल भएपछि चाँडै नै केबलकार नियमित सञ्चालन गर्ने तयारी गरिएको बताए । केबलकारको अझै केही दिन प्राविधिक परीक्षण गर्ने र केही दिनभित्रै सर्वसाधारणका लागि खुला गरिने पौडेलको भनाइ छ । गैँडाकोट-१ मा रहेको ऐतिहासिक धार्मिक स्थल मौलाकालिका मन्दिरलाई लक्षित गरी गत वर्षको वैशाखबाट सञ्चालनमा आएको केबलकार जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोडपछि बन्द भएको थियो । ‘आगजनी र तोडफोडका क्रममा केबलकारको तल्लो स्टेसनमा क्षति पुगेको थियो । क्षतिग्रस्त उपकरणको विस्तृत परीक्षण तथा मर्मतका लागि केबलकार जडान गरिएको अष्ट्रियाको संस्थाबाट विशेष प्राविधिक टोली आएर एक सातासम्म परीक्षण गरेको थियो,’ प्राविधिक परीक्षणपछि क्षतिग्रस्त उपकरणको कमजोरी पहिचान गरी आवश्यक मर्मत सम्भार गरेपछि केबलकार सञ्चालन गरिएको पौडेलले बताए । केबलकारको आन्तरिक परीक्षण पश्चात् सबै ‘सिस्टम’ले स्थिर रूपमा काम गरिरहेको पुष्टि भएसँगै अब केही दिनभित्रै सर्वसाधारणका लागि औपचारिक सञ्चालन गर्ने तयारी गरिएको पौडेलको भनाइ छ । ‘मर्मतपछि केबलकारको सम्पूर्ण प्रणाली प्राविधिक रूपमा सुरक्षित रहेको पुष्टि भएको छ । अब अन्तिम चरणका केही परीक्षण र निरीक्षणपछि पूर्ण क्षमतामा सञ्चालनमा आउनेछ,’ स्टेसन म्यानेजर पौडेलले भने ।  मौलाकालिका मन्दिरका दर्शनार्थी तथा अपर स्टेसनमा रहेको होटलमा जाने यात्रुहरू ढुक्क भएर यात्रा गर्नसक्ने अवस्था भएपछि केबलकार नियमित सञ्चालनमा ल्याइने पौडेलले बताए । मौलाकाली केबलकार लिमिटेडका अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले जेनजी आन्दोलनका क्रममा केबलकारमा भएको आगजनी र तोडफोडका कारण ठूलो क्षति पुगेको बताए । उनले आगजनी र तोडफोडबाट केबलकार संरचना तथा उपकरणमा करोडौँ रुपैयाँ बराबरको क्षति पुगेको बताए । जेनजी आन्दोलनपछि केबलकार बन्द हुँदा मौलाकालिका मन्दिर आउने भक्तजनको सङ्ख्यामा कमी आएको जनाइएको छ । धार्मिक सेवा समिति मौलाकालिका मन्दिरका अध्यक्ष सालिकराम सापकोटाका अनुसार पछिल्लो समय मन्दिरमा भक्तजनको उपस्थिति न्यून रहेको छ ।  ‘केबलकार सञ्चलनमा हुने समयसम्म मन्दिर आउने दर्शनार्थीहरू उल्लेख्य रुपमा देखिनुहुन्थ्यो । केबलकार बन्द भएकाले यस वर्ष दसैँको समयमा अपेक्षाकृत रुपमा भक्तजनको उपस्थिति देखिएन,’ उनले भने ।  अब केबलकार नियमित रुपमा सञ्चालनमा आएपछि मन्दिरमा दर्शन गर्न आउने भक्तजन बढ्ने अपेक्षा गरिएको सापकोटाले बताए । पछिल्लो समय यस मन्दिरमा धार्मिकसँगै प्रकृतिमा रमाउने पर्यटक आउने गरेका सापकोटाले बताए । ‘हिउँदका समयमा मन्दिरबाट बिहान मन्दिर मुनी बजार क्षेत्रमा हुस्सु (कुहिरो) र सूर्योदयको सुन्दर दृश्यावलोकन गर्न सकिन्छ । योसँगै उत्तरतर्फ तनहुँ र गोरखाका रमणीय पहाडसँगै हिमालसमेत अवलोकन गर्न सकिन्छ,’ उनले भने ।  समुद्री सतहबाट ५६१ मिटर उचाइमा रहेको मौलाकालिका मन्दिर नारायणघाट बजारबाट ५ किलोमिटर पश्चिम उत्तरमा पर्छ । 

दरमखोला हाइड्रोको व्यावसायिक उत्पादन सुरु, बर्खामा ९.६ मेगावाट उत्पादन हुने

काठमाडौं । बागलुङको दरमखोला हाइड्रोपावरले व्यावसायिक उत्पादन थालेको छ । विसं २०७७ देखि निर्माण सुरु भएको हाइड्रोपावरबाट आइतबारदेखि व्यवसायी उत्पादन सुरु गरिएको हो । दरमखोला हाइड्रो इनर्जी लिमिटेडमार्फत सञ्चालनमा आएको हाइड्रोपावर गत असोज ३० गते केन्द्रीय प्रसारण लाइनमा जडान गरिएको थियो । विसं २०६५ मा हाइड्रोपावर निर्माण गर्ने भनिए पनि विसं २०७७ देखि मात्रै काम सुरु भएको हाइड्रोपावरको उत्पादन क्षमता ९.६ मेगावाट छ । सुरुमा गोर्खा हाइड्रोपावर कम्पनीले निर्माण गर्ने भने पनि अहिले दरमखोला हाइड्रो इनर्जी प्रालिले जिम्मा लिएको छ । गलकोट नगरपालिका-८ काँडेबासमा ड्याम निर्माण गरी साढे ४ किलोमिटर पश्चिम मनेवापाटामा विद्युतगृह निर्माण गरी विद्युत् उत्पादन सुरु गरिएको हाइड्रोपावरका इञ्जिनियर मिथिलेस चौधरीले जानकारी दिए । बर्खामा ९.६ मेगावाट विद्युत् उत्पादन गर्न सकिने भए पनि हिउँद याममा ६.६ मेगावाट मात्रै उत्पादन भइरहेको इञ्जिनियर चौधरीले बताए । इञ्जिनियर चौधरीले भने, ‘दरमखोला हाइड्रोपावरलाई नेपाल विद्युत् प्राधिकरणको प्रसारण लाइनमा जोडिएको छ, विद्युत्गृहभन्दा १४ किलोमिटर पूर्वमा रहेको हरिचौर सवस्टेशनमा जोडिएको छ, प्रसारण लाइनमा एक महिना अगाडि नै जोडे पनि व्यावसायिक उत्पादन भने अहिले बल्ल नियमित हुन थालेको छ, बर्खामा ९.६ मेगावाट उत्पादन गर्न सकिने भए पनि अहिले सकिँदैन ।’ हाइड्रोपावर निर्माणको जिम्मा रामेछाप शेर्पा कन्स्ट्रक्सन र क्रिमहाइडल लिमिटेड पाएका थिए । हाइड्रोपावर निर्माण गर्दा विभिन्न अवरोध हुँदा निर्माण सम्पन्न गर्न समय लागेको दरमखोला हाइड्रो इनर्जीका अध्यक्ष नरबहादुर पुनले बताए । सुरुमा गोर्खा हाइड्रोपावर कम्पनीले बनाउने गरी इजाजत पाए पनि उक्त कम्पनीले काम नगरेपछि आफूले सुरु गरेको उनको भनाइ छ । निर्माण सम्पन्न गर्न २ अर्ब रुपैयाँ बढी लगानी भएको अध्यक्ष पुन बताउँछन् । हाइड्रोपावरबाट विद्युत् उत्पादन हुन थालेपछि बागलुङका विकट गाउँ वस्तीमा विद्युत् पुग्ने अपेक्षा लिएको उनको भनाइ छ । ‘दरमखोला हाइड्रोपावर बागलुङमा अहिलेसम्म बनेकामध्ये सबैभन्दा ठूलो हाइड्रोपावर हो, यसको सर्भे धेरै वर्ष अगाडि भए पनि विभिन्न समस्याका कारण अलि ढिला काम थाल्यौँ, यद्यपि अहिले उत्पादन गर्ने स्थितिमा आएको छ,’ अध्यक्ष पुनले भने, ‘१७ वर्ष अगाडि गोर्खा हाइड्रोपार कम्पनीले इजाजत पाएको थियो, त्यसलाई रद्द गरेर हामीहरूले नयाँ कम्पनी बनाएर काम गर्यौँ, अहिले सम्पन्न भएर सकियो ।’