विकासन्युज

डिएसपी चौधरीलाई जिल्ला तानिएको होइनः प्रहरी प्रवक्ता काफ्ले

काठमाडौं ।  नेपाल प्रहरीका प्रवक्ता अबिनारायण काफ्लेले प्रहरी नायव उपरीक्षक (डिएसपी) प्रसन्नराज चौधरीलाई सोधपुछका लागि जिल्ला तानिएको भन्ने समाचार सही नभएको स्पष्ट पारेका छन् ।  कैलाली जिल्लामा कार्यरत डिएसपी चौधरीले हालै सार्वजनिक गरेको एक अभिव्यक्तिका कारण उनीमाथि कारबाही गरी जिल्ला तानिएको भनी सार्वजनिक भएको समाचारमा कुनै सत्यता नरहेको उनको भनाइ छ ।  प्रवक्ता काफ्लेले भनेका छन्, ‘उहाँलाई कुनै कारबाही गरिएको छैन, न त उहाँ निलम्वनमा पर्नुभएको छ । नेपाल प्रहरी चेन अफ कमान्डअनुसार सञ्चालन हुने संस्था हो । यस विषयमा सम्बन्धित प्रदेशमार्फत मौखिक रूपमा जानकारी लिन मात्र खोजेका हौँ । कुनै औपचारिक वा लिखित कारबाही प्रक्रिया अघि बढाइएको छैन ।’ प्रवक्ता काफ्लेले सरकारका कर्मचारीका रूपमा सार्वजनिक कार्यक्रममा बोल्दा पदको मर्यादा, व्यावसायिक आचरण र कानुनअनुसार प्रस्तुत हुनुपर्ने बताए ।  उनले भने, ‘विशेषगरी कुनै व्यक्तिको नाम लिएर अभिव्यक्ति दिँदा अझ बढी जिम्मेवार र संयमित हुनुपर्ने हुन्छ । विद्यार्थीसँगको कार्यक्रममा बोल्दा पनि शिष्ट र व्यावसायिक ढङ्गले प्रस्तुत हुनुपर्ने अपेक्षा रहन्छ । त्यसैले उहाँले कुन सन्दर्भमा के बोल्नुभएको हो भन्ने विषयमा सामान्य प्रशासनिक र व्यावसायिक रूपमा बुझ्न खोजेका हौं ।’ प्रवक्ता काफ्लेले यो जानकारी लिने नियमित प्रक्रिया मात्र रहेको स्पष्ट पार्दै यसलाई कारबाही वा अनुशासनको प्रक्रियाका रूपमा बुझ्नु उपयुक्त नहुने स्पष्ट पारे।   

३०८ केजी गाँजा बरामद

काठमाडौं । कोशी गाउँपालिका-७ भान्टाबारीस्थित केराबारी नजिकबाट ३०८ केजी गाँजा गएराति बरामद भएको छ । गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरी र इलाका प्रहरी कार्यालय भान्टाबारीबाट खटिएको प्रहरीको टोलीले ३०८ केजी गाँजा बरामद गरेको सुनसरीका प्रहरी उपरीक्षक केशवकुमार थेबेले जानकारी दिए ।   बरामद भएको गाँजा र संलग्न व्यक्तिको खोजतलास जारी रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

इटालीमा रेकर्डसहित इतिहास रचेकी अल्ट्रा धाविका सुनमाया बुढा मन्त्रालयमा सम्मानित

काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले अल्ट्रा धाविका सुनमाया बुढालाई सम्मान गरेका छन् । बिहीबार (आज) मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री पोखरेलले मायाको चिनोसहित अल्ट्रा धाविका बुढालाई सम्मान गरेका हुन् ।  सो अवसरमा मन्त्री पोखरेलले विश्वस्तरका खेलकुद प्रतियोगितामा नेपाली खेलाडीहरूले हासिल गरेको सफलताले नेपालको पहिचान र गौरव बढाएको बताए ।  उनले खेलाडीहरूको सफलताले राष्ट्रिय एकताको भावना बलियो बनाउनुका साथै अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे । शिक्षामन्त्रीबाट सम्मान ग्रहणपछि अल्ट्रा धाविका बुढाले यस सम्मानबाट आफूलाई थप हौसला र ऊर्जा प्राप्त भएको बताए । जुम्ला पातारासी गाउँपालिकाकी अल्ट्रा धाविका बुढाले हालै इटालीमा सम्पन्न प्रतिष्ठित ‘ला स्पोर्टिभा लावारेडो अल्ट्रा ट्रेल’ प्रतियोगिताको उपाधि जित्दै नयाँ इतिहास रचेकी थिइन् ।  इटालीको कोर्टिना द आम्पेज्जोमा आयोजित १२० किलोमिटर दूरीको उक्त प्रतियोगितामा सुनमायाले १३ घण्टा ३३ मिनेट १ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै नयाँ रेकर्ड कायम गरेकी थिइन् । 

सुकुमवासीको उचित व्यवस्था गर्न आग्रह

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले सुकुमवासीको उचित व्यवस्थापन गर्न आग्रह गरेको छ । आयोगका उपसचिव एवं सहायक प्रवक्ता श्यामबाबु काफ्लेले बिहीबार (आज) जारी गरेको प्रेस विज्ञप्तिमा सुकुमवासीको मानव अधिकार अवस्था जोखिममा पर्ने कार्य नगर्न र उनीहरूको जीवन, स्वतन्त्रता, समानता र मर्यादाको सम्मान गर्न आयोग नेपाल सरकारलाई आग्रह गरिएको छ ।  विसं २०८३ वैशाख १२ गतेदेखि काठमाडौं जिल्लाको बागमती किनारलगायत विभिन्न स्थानमा बसोबास गरेका सुकुमवासीको घरटहरा हटाइ उनीहरूलाई विभिन्न होल्डिङ सेन्टरमा राखिएको थियो । हाल उनीहरुलाई ती सेन्टरबाट हटाइएको छे ।  विज्ञप्तिमा भनिएको छ, ‘सुकुमवासीलाई पछिल्लो पटक हटाएको मितिदेखि आयोगले हालसम्म उनीहरूको अवस्थाबारेमा गरिरहेको अनुगमनबाट सूचना टाँस गरी पाँच दिनभित्र होल्डिङ सेन्टर खाली गर्न लगाएको, सो अवधि व्यतित भएपछि पुनः थप सात दिनको समयावधि तोकिएकोलगायत तथ्यहरु पाइएको छ ।’ राज्यका निकायबाट विनाविकल्प होल्डिङ सेन्टरबाट हट्न ‘अल्टिमेटम’ दिने, सेन्टरबाट हटाउने, खानाको पर्याप्त प्रबन्ध नगर्ने, विशेषतः उनीहरूका आर्थिक, सामाजिक, सांस्कृतिक र नागरिक अधिकारप्रति सरकारका निकायबाट अभिभावकत्व ग्रहण नगर्नेलगायत अवस्था देखिएको आयोगद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।  

राहदानी विभागअगाडि आत्मदाह प्रयास गरेका युवकको अवस्था गम्भीर, आईसीयूमा उपचार हुँदै

काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि आत्मदाह प्रयास गरेका युवकको अवस्था गम्भीर रहेको चिकित्सकले बताएका छन् । बिहीबार बिहान आत्मदाह प्रयास गरेका उनलाई उद्धार गरी वीर अस्पताल पुर्‍याइएको थियो ।  उपचारमा संलग्न चिकित्सकका अनुसार आईसीयूमा राखेर उपचार भइरहेका उनको अवस्था गम्भीर छ । उनको अनुहार, घाँटी, छाती, दुवै हात तथा खुट्टाको केही भाग जलेको छ । शरीरमा आगो लगाउनुअघि पार्किङ गरेर राखेको उनको मोटरसाइकलमा नगर प्रहरीले ह्वीललक गरेको थियो । सोही तनावका कारण उनले आत्मदाह प्रयास गरेका बताइए पनि स्पष्ट कारण खुलिसकेको छैन । प्रहरीले घटनाबारे अनसन्धान गरिरहेको छ ।   

प्रतिनिधिसभाबाट सार्वजनिक खरिद र सहकारीसहित चार महत्त्वपूर्ण विधेयक पारित

काठमाडौं । प्रतिनिधिसभाले विभिन्न चार विधेयकमा राष्ट्रियसभाबाट भएको संशोधन सर्वसम्मतिले स्वीकृत गरेको छ ।  सभाको बिहीबार (आज) को बैठकले सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३, सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३, सहकारी (पहिलो संशोधन) विधेयक, २०८३ र स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८३ माथि राष्ट्रियसभाबाट भएको संशोधन स्वीकृत गरेको हो ।    बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले प्रस्तुत गरेको  ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३ माथि राष्ट्रियसभाबाट भएको संशोधनमाथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको हो ।        अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पेस गरेको  ‘सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ) निवारण (तेस्रो संशोधन( विधेयक, २०८३ माथि राष्ट्रियसभाबाट भएको संशोधनमाथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको छ ।  भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले ‘सहकारी (पहिलो संशोधन) विधेयक, २०८३ माथि राष्ट्रियसभाबाट भएको संशोधनमाथि विचार गरियोस्’ भन्ने प्रस्ताव बहुमतले स्वीकृत भएको छ ।  छलफलमा भाग लिँदै सांसद पार्वती विकले उठाउनुभएको प्रश्नको जवाफ दिँदै मन्त्री रावलले भने,  ‘हामीले काम गर्दै जाँदा भोगेका समस्या समाधानका निम्ति विधेयक ल्याएको हो, यो यत्तिकै ल्याएको होइन, धेरै छलफलबाट आएको हो ।’ यसैगरी स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले प्रस्तुत गरेको  ‘स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८३ माथि राष्ट्रियसभाबाट भएको संशोधनमाथि विचार गरियोस्’ भन्ने प्रस्ताव पनि सर्वसम्मतिले स्वीकृत भएको छ । प्रतिनिधिसभाको अर्को बैठक यही असार २६ गते शुक्रबार अपराह्न १ः०० बजे बस्नेछ ।   

सेवानिवृत्त मुख्य सचिव अर्यालको बिदाइ, कार्कीलाई स्वागत

काठमाडौं । सेवानिवृत्त मुख्य सचिव सुमनराज अर्याललाई बिदाइ तथा नवनियुक्त मुख्य सचिव गोविन्दबहादुर कार्कीलाई स्वागत गर्दै सफल कार्यकालको शुभकामना दिइएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहीबार (आज) आयोजित बिदाइ कार्यक्रममा निवर्तमान मुख्य सचिव अर्यालले करिब तीन दशक लामो निजामती सेवापछि अवकाश लिन लागेको उल्लेख गर्दै देश र जनताको सेवा गर्ने अवसर पाएकामा खुसी व्यक्त गरे ।  उनले जेनजी आन्दोलनपछिको संवेदनशील अवस्थामा मुख्य सचिवको जिम्मेवारी चुनौतीपूर्ण रहे पनि राजनीतिक नेतृत्व, प्रधानमन्त्री वालेन्द्र शाहका सल्लाहकार, संवैधानिक आयोग, निजामती कर्मचारी, सुरक्षा निकाय तथा सार्वजनिक निकायको सहयोगले जिम्मेवारी सफलतापूर्वक निर्वाह गर्न सकेको बताए ।        प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असिम शाहले राजनीतिक सरकार अस्थायी भए पनि कर्मचारीतन्त्र स्थायी सरकार भएकाले मुलुक सञ्चालनमा निजामती प्रशासनको भूमिका महत्वपूर्ण रहेको बताए ।  सरकार र कर्मचारीतन्त्रबीच सहकार्य अपरिहार्य रहेको उल्लेख गर्दै उहाँले कर्मचारीको मूल्याङ्कन कामका आधारमा हुने स्पष्ट पारे । देश निर्माणमा योगदान दिने व्यक्तिको कहिल्यै बिदाइ नहुने उल्लेख गर्दै राजनीतिक सल्लाहकार शाहले सेवा निवृत्त मुख्यसचिव अर्यालको अनुभव, ज्ञान र कार्यशैलीलाई सरकारले आगामी दिनमा पनि उपयोग गर्ने विश्वास व्यक्त गरे ।  साथै, नवनियुक्त मुख्यसचिव कार्कीको नेतृत्वमा निजामती प्रशासन अझ प्रभावकारी बन्ने अपेक्षा राखे ।        नवनियुक्त मुख्य सचिव कार्कीले नयाँ जिम्मेवारी इमानदारी, निष्पक्षता र उत्तरदायित्वका साथ निर्वाह गर्ने प्रतिबद्धता जनाउँदै सरकारले अघि बढाएका निजामती सेवा सुधारसम्बन्धी नीतिलाई सार्वजनिक प्रशासन र निजामती सेवाको हितमा प्रभावकारी रूपमा कार्यान्वयन गर्ने प्रतिबद्धता जनाए । कार्यक्रममा प्रधानमन्त्री शाहकातर्फबाट राजनीतिक सल्लाहकार शाहले सेवानिवृत्त मुख्यसचिव अर्याललाई कदरपत्र प्रदान गरे ।  प्रधानमन्त्रीको स्वकीय सचिवालय तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका कर्मचारी र सचिवहरुले उनको नेतृत्व, योगदान र समर्पणप्रति आभार प्रकट गर्दै मुख्यसचिव कार्कीलाई शुभकामना व्यक्त गरेका थिए ।   

विश्व हिन्दु इकोनोमिक फोरम- २०२७ मार्फत नेपालमा विदेशी लगानी भित्राउने तयारी

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) र विश्व हिन्दू आर्थिक मञ्च (डब्लुएचईएफ) बीच नेपालमा सन् २०२७ मा आयोजना हुने विश्व हिन्दू आर्थिक मञ्चको सम्मेलन सहकार्यसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । समझदारीपत्रमा महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ र विश्व हिन्दु इकोनोमिक फोरम नेपाल–२०२७ आयोजक समितिका अध्यक्ष सुरज वैद्यले बुधबार महासंघमा आयोजित कार्यक्रममा हस्ताक्षर गरे । समझदारीअनुसार नेपाललाई विश्वस्तरीय लगानी, नवप्रवर्तन तथा उद्यमशीलताको आकर्षक गन्तव्यका रूपमा स्थापित गर्ने, सातै प्रदेशका लगानीयोग्य सार्वजनिक–निजी परियोजनाको पहिचान तथा प्रवर्द्धन गर्ने, वैदेशिक प्रत्यक्ष लगानी आकर्षित गर्ने तथा आर्थिक कूटनीतिलाई सुदृढ बनाउने लक्ष्य राखिएको छ । सो अवसरमा बोल्दै महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले यस सहकार्यले नेपाललाई अन्तर्राष्ट्रिय लगानी, व्यापार तथा व्यावसायिक साझेदारीको आकर्षक गन्तव्यका रूपमा स्थापित गर्न महत्त्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे ।  उनले सन् २०२७ मा नेपालमा आयोजना हुने विश्व हिन्दू आर्थिक मञ्चको सम्मेलन र आगामी लगानी सम्मेलनको सफलताका लागि यो सहकार्य महत्वपूर्ण आधार बन्ने उल्लेख गर्दै सम्मेलनअघि नेपालभित्र तथा विदेशमा संयुक्त प्रवद्र्धनात्मक कार्यक्रम सञ्चालन गरी ठोस लगानी प्रतिबद्धता जुटाइने बताए ।   ‘नेपालसँग प्राकृतिक स्रोत, सांस्कृतिक सम्पदा तथा रणनीतिक भौगोलिक अवस्थिति जस्ता विशिष्ट सम्भावनाहरू रहेका छन् ।  ती सम्भावनालाई उत्पादन, लगानी र रोजगारीमा रूपान्तरण गर्न अन्तर्राष्ट्रिय सहकार्य आवश्यक छ । यस समझारीले नेपालका ती सम्भावनाहरूबाट लाभ लिन सहयोग पुग्ने मेरा विश्वास छ,’ अध्यक्ष श्रेष्ठले भने । विश्व हिन्दु इकोनोमिक फोरम नेपाल–२०२७ आयोजक समितिका अध्यक्ष एवं महासंघका पूर्वअध्यक्ष सुरज वैद्यले सम्मेलनले वैदेशिक लगानी आकर्षित गर्न, युवा उद्यमशीलताको प्रवर्द्धन गर्न तथा नेपालको आर्थिक विकासलाई नयाँ गति दिन सहयोग पुग्ने बताए । त्यस्तै, विश्व हिन्दु इकोनोमिक फोरमका संरक्षक स्वामी विज्ञान आनन्दले नेपाल अथाह सम्भावना भएको मुलुक भएको उल्लेख गर्दै सम्मेलनका माध्यमबाट नेपालको आर्थिक विकासका लागि नयाँ सम्भावनाहरूको खोजी गर्न सकिने बताए । त्यसैगरी, महासंघका पूर्वअध्यक्ष कुशकुमार जोशीले यस फोरमका माध्यमबाट देशभरका उद्योगी–व्यवसायी, प्रदेश तथा जिल्ला तहका सदस्य संस्थालाई परिचालन गर्ने, लगानीयोग्य परियोजनाको पहिचानमा सहकार्य गर्ने, सरकार र निजी क्षेत्रबीच संवाद तथा नीतिगत सहजीकरणमा भूमिका निर्वाह गर्ने धारणा राखे ।  कार्यक्रममा महासंघका वरिष्ठ उपाध्यक्ष सुरकृष्ण वैद्य, जिल्लानगर उपाध्यक्ष कृष्ण प्रसाद शर्मा, विश्व हिन्दु इकोनोमिक फोरम नेपालका अध्यक्ष प्रदीपमान वैद्य लगायतले यस अन्तर्राष्ट्रिय सञ्जाल मार्फत विश्वका लगानीकर्ता, उद्योगी, व्यवसायी तथा नीति निर्मातालाई नेपालमा ल्याउन सकिने र यसबाट नेपालमा बाह्य लगानी प्रर्वद्धन गर्नमा सहयोग पुग्ने बताएका थिए ।  समझदारीपत्रअनुसार फोरममार्फत पर्यटन तथा आतिथ्य, आध्यात्मिक तथा वेलनेस पर्यटन, पूर्वाधार तथा यातायात, शिक्षा तथा सीप विकास, कृषि तथा जडीबुटी प्रशोधन, ऊर्जा, सूचना प्रविधि तथा खानी तथा खनिजजस्ता प्राथमिकताका क्षेत्रमा लगानी प्रवर्द्धन गरिने उल्लेख गरिएको छ ।