विकासन्युज

आयोगसँग बैंकरहरूले भने- राष्ट्रिय परिचयपत्र नभएका उम्मेदवारको बैंक खाता खोल्न सकिएन

काठमाडौं । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले बैंकिङ प्रणालीबाट निर्वाचन खर्च पारदर्शी हुने बताएका छन् । आयोगमा साेमबार आयोजित बैंकरहरुसँगको छलफलमा उनले हात-हातमा पैसा लिएर चुनावमा खर्च गर्न नपाइने व्यवस्था गरिएको र आयोगले छुट्टै निर्देशिका बनाएको बताए ।  जसअनुसार राजनीतिक दल र उम्मेदवारले चुनावमा खर्च गर्न छुट्टै बैंक खाता खोल्ने व्यवस्था आयोगले गरेको छ । निर्वाचनमा भाग लिने दल र उम्मेदवारले पहिलेको चुनावमा बैंक खातामार्फत खर्च गर्नुपर्ने अनिवार्य गरिएको थिएन । यस वर्षदेखि भने दल र उम्मेदवारले निर्वाचन खर्च अनिवार्य बैंक खातामार्फत गर्नुपर्ने व्यवस्था लागू गरेको हो । ‘भूगोलअनुसार उम्मेदवारले २५ लाख रुपैयाँदेखि ३३ लाख रुपैयाँसम्म खर्च गर्न पाउने व्यवस्था गरिएको छ, उम्मेदवारको खाताबाट पैसा कता जान्छ भन्ने अनुगमन पनि यसपटक हुन्छ, आर्थिक अनुशासनका लागि यो व्यवस्था गरिएको हो,’ कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले भने । आयोगका सचिव कृष्णबहादुर राउतले कालिकोटजस्तो दुर्गम जिल्लाका सबै उम्मेदवारले बैंक खाता खोलिसक्दा सुगम जिल्लाका धेरै उम्मेदवारले अझै खाता नखोलेको बताए । ७५३ वटै स्थानीय तहमा कुनै न कुनै बैंकको उपस्थिति रहेकाले खाता खोल्न यति असहज हुनु नपर्ने उनको भनाइ छ । दल र उम्मेदवारले २५ हजार रुपैयाँभन्दा बढी रकम बैंक खाताबाट लिने र खर्च गर्नुपर्ने व्यवस्था कार्यविधिमा उल्लेख छ । आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईले ३ हजार ४०६ जना प्रत्यक्षतर्फका उम्मेदवारमध्ये हालसम्म ६७१ जनाले मात्र बैंक खाता खोलेको निर्वाचन आयोगको प्रणालीमा सूचना प्राप्त भएको जानकारी दिए । नेपाल बैंकर्स एसोसिएसनका अध्यक्ष सन्तोष कोइरालाले कतिपय उम्मेदवारको राष्ट्रिय परिचयपत्र नभएकै कारण खाता खोल्न नसकेको जानकारी दिए । राजनीतिक दल र उम्मेदवारले खर्च गर्ने संयन्त्र के हुने भन्ने पनि प्रष्ट पारिनुपर्ने उनको भनाइ छ । कार्यक्रममा विभिन्न बैंकका प्रमुख कार्यकारी अधिकृतहरूले निर्वाचन खर्च सकिएर बाँकी रहेको पैसा के गर्ने ? भनी जिज्ञासा राखेका थिए । यस विषयमा आयोगले पछि निर्णय गर्ने जनाएको छ । आयोगले यसपटक गरेको यो व्यवस्थाले सम्पत्ति शुद्धीकरण र नेपाललाई ‘ग्रे लिष्ट’बाट हटाउनका लागि पनि सहयोग गर्ने विश्वास लिइएको छ । आगामी निर्वाचनहरुमा यो व्यवस्थालाई अझै परिष्कृत गर्दै लैजानुपर्नेमा जोड दिइएको थियो ।

सुपर खुदी हाइड्रोको आईपीओ आजदेखि बिक्री खुला, कहिलेसम्म आवेदन दिन पाइन्छ ?

काठमाडौं । सुपर खुदी हाइड्रोपावरले आज फागुन ५ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई सेयर बिक्री गरिसकेपछि अब सर्वसाधारण लगानीकर्तालाई आईपीओ बिक्री खुला गरेको हो । कम्पनीले जारी पुँजी १ अर्ब ५५ करोड रुपैयाँको २० प्रतिशत अर्थात् ३१ करोड रुपैयाँको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका ३१ लाख कित्ता सेयर जारी गर्नेछ । जसमध्ये १५ करोड ५० लाख रुपैयाँको १५ लाख ५० हजार कित्ता सेयर आयोजना प्रभावित, सर्वसाधारणलाई छुट्याइएको १० प्रतिशत अर्थात् १ लाख ५५ हजार कित्ता विदेशमा रोजगार गरिरहेका नेपाली र ७७ हजार ५ सय कित्ता सामूहिक लगानी कोषलाई बिक्री गरिसकेको छ ।  अब दोस्रो चरणमा कम्पनीले ३१ हजार कित्ता कर्मचारीलाई छुट्याएर बाँकी रहेको १२ करोड ८६ लाख ५० हजार रुपैयाँको १२ लाख ८६ हजार ५०० कित्ता सेयर सर्वसाधारण लगानीकर्ताका लागि बिक्री खुला गरिएको कम्पनीले जनाएको छ । कम्पनीको आईपीओमा न्यूनतम् १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओमा फागुन ११ गतेसम्म आवेदन दिन सकिनेछ । यदि उक्त अवधिमा पूर्ण बिक्री नभएमा फागुन २० गतेसम्म आवेदन दिने समय लम्बिनेछ ।  कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल रहेको छ । कम्पनीको आईपीओमा नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई सीआस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ ।

कारागार र विमानस्थलको सुरक्षा नेपाली सेनालाई

काठमाडौं । आसन्न निर्वाचनको सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै नेपाली सेनाले भोजपुरको कारागार र विमानस्थल सुरक्षाको जिम्मेवारी सम्हालेको छ । सदरमुकाममा रहेको कारागार कार्यालयसँगै भोजपुर नगरपालिका-१२, टक्सारमा रहेको जिल्लाको एक मात्र विमानस्थलको सुरक्षाका लागि सेना परिचालन गरिएको हो । कार्यरत प्रहरी निर्वाचनका लागि खटिनुपर्ने भएकाले ती दुवै ठाउँको सुरक्षाका लागि सेनालाई जिम्मेवारी दिइएको हो । जिल्लामा रहेका नेपाली सेनाको नयाँ श्रीनाथ गणले कारागार कार्यालय र विमानस्थलको सुरक्षा जिम्मेवारी सम्हालेको ती कार्यालयले जनाएका छन् ।  सुरक्षाका दृष्टिकोणले अतिसंवेदनशील मानिएका कारागार, विमानस्थल तथा आयोजनामा सेना परिचालन गर्ने मन्त्रिपरिषद्को निर्णय अनुरूप ती ठाउँको सुरक्षामा सेना खटिएको जिल्ला सुरक्षा समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी राजन पौडेलले बताए । गत माघ २१ गतेदेखि निर्वाचनका लागि शान्तिसुरक्षा कायम गर्न सेना परिचालन गर्ने निर्णयसँगै भोजपुरका ग्रामीण क्षेत्रमा पनि अहिले नेपाली सेनाले अन्य सुरक्षा निकायसँगको सहकार्यमा गस्तीलगायत कार्य गरिरहेको छ ।

अवतरण हुन नसकेपछि मध्यरातमा काठमाडौं फिर्ता भयाे श्री एयरलाइन्सको जहाज

काठमाडौं । काठमाडौंबाट धनगढीका लागि उडेको श्री एयरलाइन्सको जहाज अवतरण हुन नसकेपछि मध्यरातमा काठमाडौं फिर्ता भएको छ । गन्तव्यमा अवतरण हुन नसकेपछि जहाज काठमाडौं फर्कँदा यात्रु अलपत्र परेका छन् । सो जहाजमा रहेका यात्रुसमेत रहेका सञ्चारकर्मी रोयल आचार्यले जहाज अवतरण हुन नसकी काठमाडौं फर्कँदा विमानस्थलमा केहीबेर यात्रुले असन्तुष्टि जनाएको बताए ।  एयरलाइन्सका कर्मचारी सागर पौडेलले टिकट फिर्ता गर्न चाहने यात्रुको पैसा फिर्ता गर्ने र जान चाहने यात्रुलाई मङ्गलबार बिहानको उडानमा धनगढी पठाइने जानकारी दिए । उक्त जहाज धनगढीका लागि काठमाडौंबाट ९:४५ बजे उडेको थियो । धनगढी विमानस्थल अवतरणका लागि पटकपटक प्रयास गर्दा समेत सम्भव नभएपछि राति १२ बजे जहाज काठमाडौं फिर्ता भएको थियो । उडानमा चालक दलका सदस्यसहित ८० यात्रु थिए । 

नागा बाबा र साधुसन्तलाई ३० लाख रुपैयाँ बजेट, ५ हजारसम्म दक्षिणा दिएर बिदाइ गरिँदै

काठमाडौं । महाशिवरात्रिको उपलक्ष्यमा पशुपतिनाथको दर्शनका लागि आएका नागा बाबालगायत साधुसन्तलाई आज दान दक्षिणासहित बिदाइ गरिने भएको छ । महाशिवरात्रिका लागि फागुन कृष्ण एकादशीका दिन पशुपतिमा आएका साधुसन्तलाई गुठी संस्थान र पशुपति क्षेत्र विकास कोषले फाल्गुन कृष्ण औँसीका दिन बिदाइ गर्ने परम्परा रहिआएको छ । विसं १८३१ मा जङ्गबहादुरका जेठा छोरा जगतजङ्गले जगनन्द प्रकाशेश्वर गुठी स्थापना गरेदेखि यो परम्परा सुरु भएको संस्थानका पूर्व उप-प्रशासक एवं साधुसन्त बिदाइको धेरै पटक संयोजन गरेका दीपकबहादुर पाण्डेले जानकारी दिए । बिदाइका लागि संस्थानले करिब ३० लाख रुपैयाँ बजेट छुट्याएको छ । रातो, नीलो, सेतो, पहेँलो र हरियो रङका कार्ड दक्षिणाका लागि नागा बाबालगायत साधुसन्तलाई आएकै दिन बाँडिएको छ । कार्ड बाँडिएका साधुसन्तलाई स्तरअनुसार दक्षिणा दिइने परम्परा रहिआएको पाण्डेले जानकारी दिए । नेपाल बाहिरबाट आएका नागा बाबा र साधुसन्तलाई नजिकको सीमासम्म पुग्न सकियोस् भनी दक्षिणा बढाइएको संस्थानले जनाएको छ । पशुपतिका गोरखनाथ मठ, आर्यघाट पारिको रामचन्द्र मन्दिर, भस्मेश्वर अखडा, निर्मला अखडा र पशुपति परिसरका विभिन्न स्थानमा गरी करिब चार हजारदेखि बढी साधुसन्त नेपाल बाहिरबाट आई बसेका छन् । प्रत्येक स्थानमा फरक सम्प्रदायका साधु रहेका पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष श्रीधर सापकोटाले जनाकारी दिए । ‘पहिले पशुपतिमा नागाबाबा र साधुसन्तलाई भोजन गराई थापाथलीस्थित कालमोचनघाटबाट दक्षिणासहित बिदाइ गरिन्थ्यो । कोत पर्वमा मारिएका सबैलाई कालमोचनघाटमा जलाइएकाले शिवरात्रिमा धेरै साधुसन्तलाई यहाँबाट बिदाइ गर्दा मृतआत्माले शान्ति पाउँछ भन्ने विश्वासका साथ कालमोचनघाटबाट बिदाइ गर्ने गरिएको थियो । अहिले त्यो परम्परा हटेको छ । हाल पशुपतिको पश्चिम मूल ढोकाबाट नागा बाबा र साधुसन्तलाई बिदाइ गर्न थालिएको छ,’ उनले भने ।  पशुपति जस्तै महाशिवरात्रिको अवसर पारेर थापाथली कालमोचनघाटमा रहेका वैरागी अखडा, उदासी अखडा, सन्यासी अखडा र नाथ अखडामा आई बसेका नागा बाबा एवं साधुसन्तलाई पनि आजै दान दक्षिणासहित बिदाइ गरिने संस्थानले जनाएको छ । यी साधुसन्तलाई कालमोचनघाटबाटै बिदाइ गरिन्छ । पशुपतिनाथ मन्दिरमा २०६८ चैत २६ गते लागू गरिएको भेटीघाटी पारदर्शी तथा पूजा व्यवस्था नियमावली पछि २०६९ सालको महाशिवरात्रिदेखि पशुपति क्षेत्र विकास कोषले पनि दान दक्षिणा दिई भोजन गराएर नागाबाबा र साधुसन्तलाई बिदाइ गर्न थालेको थियो । ‘कोषले ५ हजार एक रुपैयाँदेखि १०१ रुपैयाँसम्म दक्षिणा दिने तयारी गरेको छ,’ कोष सञ्चालक परिषद् सदस्य एवं साधुसन्त सेवा तथा धार्मिक कार्यक्रम व्यवस्था उपसमिति संयोजक शिला पन्तले भने, ‘कोषले २० साधुलाई ५ हजार १ रुपैयाँ, २ सय साधुलाई १ हजार १ रुपैयाँ, एक हजार साधुलाई ७०१ रुपैयाँ, एक हजार साधुलाई ५०१ रुपैयाँ, १ हजार ३ सय साधुलाई ३०१ रुपैयाँ, सबै जोगीलाई २०१ रुपैयाँ र लाइनमा बस्ने जति सबैलाई १०१ रुपैयाँ दक्षिणास्वरुप दिनेछ ।’ साधुलाई दान दक्षिणाका लागि ८ लाख रुपैयाँ बजेट कोषले छुट्याएको उनको भनाइ छ । कोषले दान दक्षिणासहित पशुपतिनाथमा वर्षभर चढाइएका रुद्राक्ष पहिराएर साधुलाई बिदाइको तयारी गरेको छ । महाशिवरात्रिमा आएका नागा बाबा र साधुसन्तलाई पशुपतिनाथ मन्दिरभित्र ५ दिन र बाहिर ४ दिन धुनी जगाउनलाई ७ लाख रुपैयाँको ५० हजार किलो दाउरा किनिएको संस्थानका उप-प्रशासक पाण्डेले बताए ।  भेटीघाटी पारदर्शी गरी पशुपतिनाथ मन्दिरलाई नेपालकै उदाहरणीय मन्दिरका रूपमा स्थापित गराउने उद्देश्यका साथ २०६८ चैत २६ देखि कोषको भेटी बाकसमा जम्मा गरिएको भेटी १५ करोड रुपैयाँ पुगिसकेको पनि कोषले जनाएको छ । पशुपतिमा फोहोरको डङ्गुर शिवरात्रीको मेलापछि पशुपति क्षेत्र भने फोहोरको डङ्गुरले भरिएको छ । करोडौंको सम्पत्ति भएको नेपालको राष्ट्रदेव पशुपतिको मन्दिर परिसरमा एउटा मेला सकिएपछि फोहोरको डङ्गुर थुप्रिनु लाजमर्दो भएको कोषका पूर्वसदस्यसमेत रहेका स्थानीयवासी गोपाल प्रसाद सुवेदीले बताए । ‘कोषले राम्रो व्यवस्थापन गर्न सकेको भए पशुपति क्षेत्रमा फोहर बसिरहने थिएन,’ उनले भने । फोहरको डङ्गुरका कारण शिवरात्रिपछि पशुपति दर्शन गर्न आउने भक्तजन नाक थुनेर मन्दिरभित्र प्रवेश गर्नुपर्ने दुःखदायी अवस्था रहेको कीर्तिपुरबाट दर्शनका लागि आउनुभएका दर्शनार्थी लक्ष्मी शर्मा दाहालले बताए । हजारौं कर्मचारी भएको कोषले फोहर तत्काल व्यवस्थापन गर्न नसक्नु कोषको बेइज्जतको विषय भएको आम भक्तजनको गुनासो रहेको छ । कोषका सदस्य सचिव डा. टण्डनले लाखौँ भक्तजनको आगमनका कारण फूल प्रसादले पशुपति क्षेत्र फोहर देखिएकामा सफाइ सुरु गरी सकिएकाले बिहीबारसम्म पूर्ण रूपमा सफाइ सकिने बताए । नागाबाबा हेर्नेको घुइँचो शिवरात्रिका लागि पशुपतिमा नागाबाबाको आगमन हुन थालेपछि फागुन कृष्ण एकादशीदेखि हेर्न आउनेको घुइँचो लागेको छ । शिवरात्रि अगाडिका दुई दिन र शिवरात्रि पछिका दुई दिन पशुपतिमा नागाबाबा रहने भएकाले हेर्न आउनेको घुइँचो लागेको हो । नागाबाबालाई हेर्न आउनेमा अन्य व्यक्तिका अतिरिक्त क्याम्पस अध्ययन गर्ने छात्रछात्राको सङ्ख्या पनि उल्लेख्य देखिएका मन्दिर परिसरमा पूजापाठ गर्दै आएका पण्डित सुन्दर शर्मा कुइँकेलले बताए । क्याम्पसको पोशाकमा आउने गरेका छात्रछात्रा शिवरात्रिका अवसरमा पशुपति मन्दिरभित्रै छिर्ने गरेका छन् । शिवरात्रि अगाडि आफ्ना साथीसँग पशुपति बाहिर घुम्ने छात्रछात्रा शिवरात्रिका अवसरमा भने भित्रै छिरेर नागाबाबाको दर्शन गरेका उनको भनाइ छ । भारत वनारसबाट आएका सन्त स्वामी महेशानन्दले नेपालमा रहेको पशुपतिनाथ मन्दिर भारतका विभिन्न स्थानमा रहेका द्वादश ज्योतिर्लिङ्गको पनि शिर भएकाले प्रत्येक वर्ष शिवरात्रिमा दर्शनका लागि आउने गरेको बताए ।

उच्च पहाडी र हिमाली भू-भागमा आंशिक बादल, तराईमा कुहिरो

काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । हाल कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी र हिमाली भू-भागमा आंशिक बादल लागेको छ भने बाँकी भागमा मौसम सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो तराई भू-भागका केही स्थानमा मध्यान्हसम्म कुहिरो लाग्नेछ । देशका उच्च पहाडी र हिमाली भू-भागमा आंशिक बादल लाग्ने र बाँकी भू-भागमा मौसम सफा रहनेछ । कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी र हिमाली भागका एक/दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ । त्यसैगरी, आज राति तराई भागका केही स्थानमा तुवाँलो लाग्नेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत गण्डकी प्रदेशका पहाडी र हिमाली भागमा आंशिक बादल लाग्नेछ र  बाँकी भागमा मौसम मुख्यतया सफा रहनेछ । गण्डकी प्रदेशका उच्च पहाडी र हिमाली भागका एक/दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

नासा सेक्यूरिटीजमा २ करोडसम्म मार्जिन ट्रेडिङ सुविधा सुरु, ३० प्रतिशत प्रारम्भिक मार्जिनमै सेयर खरिद गर्न सकिने

काठमाडौं । नासा सेक्यूरिटीजले लगानकर्ताले ब्रोकरबाटै कर्जा लिएर सेयर खरिद गर्नसक्ने मार्जिन ट्रेडिङ कारोवार सुविधा सोमबार (आज) बाट सुरु भएको घोषणा गरेको छ । नेपाल धितोपत्र बोर्डले मार्जिन कारोबार सुविधासम्बन्धि निर्देशिका, २०८२ लागू गरेसँगै नासाले मार्जिन ट्रेडिङ कारोवार सुरु गरेको हो ।  अब लगानीकर्ताहरूले नासा सेक्यूरिटीजबाट ऋण लिएर सेयर खरिद गर्न सक्ने कम्पनीले जनाएको छ । यसले उनीहरूलाई आकर्षक लगानी अवसरहरू सदुपयोग गर्न सक्षम बनाउने दावी कम्पनीको छ । विभिन्न प्रकारका ग्राहक तथा उनीहरूको ऋण आवश्यकतालाई सहज रूपमा सम्बोधन गर्न उक्त ऋण संरचना लचिलो र ग्राहकमैत्री बनाइएको कम्पनीले बताएको छ । कम्पनीले २०७५ को निर्देशिकालाई प्रतिस्थापन गर्दै लागू गरिएको मार्जिन कारोवार सुविधासम्बन्धि निर्देशिका, २०८२ अन्तर्गत नयाँ योजना तथा स्किमहरू प्रस्तुत गरेको हो । यसले हरेक ग्राहकको मार्जिन आवश्यकतालाई ध्यानमा राखेर तयार पारिएको सुविधा प्रदान गर्ने कम्पनीको भनाइ छ । कम्पनीको मार्जिन ट्रेडिङ योजनाअन्तर्गत यदि कुनै ग्राहकले १० लाख रुपैयाँ बराबरको मार्जिन प्रोडक्ट लिन चाहन्छ भने उसले केवल ३० प्रतिशत प्रारम्भिक मार्जिन (३ लाख रुपैयाँ) राखी कारोबार सुरु गर्न सक्नेछन् र ७ लाख रुपैयाँ कम्पनीबाट ऋण सुविधा प्राप्त गर्न सक्नेछन् । यस योजनाअनुसार यदि ऋणको अवधि १ महिना भएमा त्यसमा सेवा शुल्क तथा ब्याज गरी जम्मा ७ हजार रुपैयाँ लाग्ने कम्पनीले बताएको छ । सोही रकमको ऋण २ महिनाका लागि लिएमा सेवा शुल्क तथा ब्याज गरी १३ हजार ६५० रुपैयाँ र ३ महिनाका लागि लिएमा सेवा शुल्क तथा ब्याज गरी १९ हजार ९५० लाग्ने कम्पनीले जनाएको छ । यसका अतिरिक्त कम्पनीले १० लाख रुपैयाँ देखि २ करोड रुपैयाँसम्मका योजना तथा अफरहरू उपलब्ध गराएको छ जसको अवधि १ महिनादेखि ३ महिनासम्मको रहनेछ। यस मार्जिन ट्रेडिङ सुविधा मार्फत लगानीकर्ताहरूले अझ ठूलो लगानी अवसरहरूको लाभ लिन सक्ने कम्पनीको विश्वास छ । नासा सेक्यूरिटीजबाट मार्जिन ट्रेडिङ सेवा लिन इच्छुक जो कोही ग्राहकले आफ्नो मार्जिन डिम्याट खाता तथा मार्जिन ट्रेडिङ खाता नासामै खोल्नुपर्ने कम्पनीले जनाएको छ । ऋणसम्बन्धी थप प्रक्रिया अघि बढाउन अब कम्पनीको नजिकको शाखा कार्यालयमा उपस्थित भई आफ्नो केवाईसी फाराम भर्नुका साथै आवश्यक आधिकारिक जानकारी तथा कागजातहरू पेश गर्न सक्नेछन् ।  आवेदन स्वीकृत भएपछि ऋण सुविधा उपलब्ध गराउन आवश्यक थप कार्यहरू अगाडि बढाइने कम्पनीले बताएको छ । यद्यपि यस सेवाको लाभ लिनका लागि ग्राहकहरूले सेबोनद्वारा जारी निर्देशिका अनुसार मार्जिन ट्रेडिङका लागि योग्य कम्पनीहरूको सूचीभित्र मात्र कारोबार गर्नुपर्नेछ।

६ सय ७१ उम्मेदवारले मात्रै खोले बैंक खाता

काठमाडौं । निर्वाचन प्रचारप्रसारका लागि आवश्यक रकम खर्च गर्नको लागि हालसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खोलेका छन् । कुल ३ हजार ४ सय ६ जना उम्मेदवारमध्ये ६ सय ७१ जनाले बैंक खाता खोलेको निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए । यो कुल उम्मेदवारको करिव २० प्रतिशत हो ।  राजनीतिक दल तथा उम्मेदवारहरूले प्रचारप्रसारका लागि आवश्यक रकम अनिवार्य रूपमा बैंक खातामार्फत जम्मा र खर्च गर्नुपर्ने व्यवस्था आयोगले गरेको छ । प्रवक्ता भट्टराईका अनुसार आयोगको अनुरोधमा नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई उम्मेदवारहरूको बैंक खाता खोल्नको लागि सहजीकरण गर्न परिपत्र जारी गरेको छ ।  हाल देशभर राजनीतिक दल र उम्मेदवारहरूले बैंक खाता खोल्ने प्रक्रिया अघि बढाएको उनले जानकारी दिए । उम्मेदवारहरूलाई खाता खोल्ने क्रममा देखिएका समस्याका बारेमा बैंक तथा वित्तीय संस्थाबाट जानकारी संकलन गरी आयोगले आवश्यक सहजीकरण गर्ने उनले बताए । उनका अनुसार खोलिएका खाताको सञ्चालन प्रयोजन, व्यवस्थापन प्रक्रिया र बैंकहरूले निर्वाह गर्नुपर्ने सहजीकरणबारे स्पष्टता दिन आयोगले सोमबार छलफल कार्यक्रम आयोजना गरेको थियो ।  बैंक तथा वित्तीय संस्थाहरूले निर्वाचन खर्च पारदर्शी र व्यवस्थित बनाउन लागू गरिएको बैंक खाता प्रणालीमा पूर्ण सहयोग गर्ने प्रतिवद्धता जनाएको उनले जानकारी दिए ।  वित्तीय सुशासन कायम गर्ने सन्दर्भमा बैंक तथा वित्तीय संस्थाहरूले आयोगको अपेक्षा अनुसारको नै सहयोग गरेको उनको भनाइ छ ।  उनले मतदाता शिक्षालाई प्रभावकारी बनाउन बैंक तथा वित्तीय संस्थाले सञ्चालन गर्ने मोबाइल एप, एटीएम मेसिन लगायतका डिजिटल डिस्प्लेहरूमा मतदाता शिक्षा सामग्री समावेश गर्न आयोगले अनुरोध गरेको पनि जानकारी दिए ।  यस विषयमा बैंक तथा वित्तीय संस्थाहरू सकारात्मक रहेको उनको भनाइ छ ।  उनका अनुसार आयोगले गरेको छलफलमा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर तथा अर्थ मन्त्रालयका सम्बन्धित सहसचिवको उपस्थिति रहेको थियो ।