दलहरुबीचको एकता र विभाजन के निर्वाचन लक्षित मात्रै हो ?
काठमाडौं । जेनजी आन्दोलनपछिको राजनीति परिस्थिति र आमनिर्वाचन घोषणा भएसँगै पछिल्लो समय मुलुकका राजनीतिक दलभित्र विभाजन र एकताको लहर चलेको छ । विभाजन र एकताका शृङ्खला पुराना राजनीतिक दलमा नभई पछिल्लो समय वैकल्पिक शक्तिका रुपमा उदाएका दलहरुमा दोहोरिएको छ । त्यति मात्रै होइन, भ्रष्टाचार र बेथिति अन्त्यलगायत मुद्दा सारेर आन्दोलनमा होमिएका जेनजीका प्रतिनिधिबीच पनि कतिपय विषयमा मतैक्यता छैन । विशेषगरी शासकीय स्वरुप, संविधान संशोधन, निर्वाचन प्रणालीलगायत विषयमा उनीहरुबीच पनि फरक मत छ । खासगरी दलहरुबीचमा वैचारिक दृष्टिकोणभन्दा पनि तत्कालको परिस्थितिबाट फाइदा लिने अभिप्रायका साथ विभाजन र एकताका घटनाक्रम देखिएको विश्लेषकको भनाइ छ । पछिल्लो समय नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी), राष्ट्रिय स्वतन्त्र पार्टी, नागरिक उन्मुक्ति र जनमत पार्टीबाट केही नेताहरु अलग्गिएर पार्टी तथा नयाँ राजनीतिक शक्ति निर्माणमा जुटेका छन् । माओवादी केन्द्र, एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टीलगायत विभिन्न १० राजनीतिक दल र राष्ट्रिय राजनीतिमा चर्चामा रहेका केही नेता मिलेर नेपाली कम्युनिष्ट पार्टी गठन भइसकेको छ। विभाजन र एकताको शृङ्खलामा विगतमा झैं यसपटक पनि वामपन्थी विचारधाराका दलहरु नै अग्रस्थानमा छन् । वरिष्ठ अधिवक्ता रामनारायण बिडारी यस परिघटनालाई निर्वाचन लक्षित कार्यक्रमका रुपमा हेर्छन् । 'निर्वाचन घोषणा भएको हुनाले परिणाम आफ्नो पक्षमा पार्न दलहरु जुट्ने र विभाजन हुने यो निर्वाचन लक्षित कार्यक्रम मात्रै हो । यो असैद्धान्तिक छ, सिद्धान्त, विचार र दृष्टिकोणमा एकता देखिन्न', उनले भने । यसलाई सबै दलमा बढिरहेको असन्तुष्टि तथा जेनजी आन्दोलनपछि नेताहरुमा देखिएको विचलित र त्रसित मानसिकताको उपजका रुपमा हेरिनुपर्ने उनको मत छ । पछिल्लो समय राजनीतिक दल पुनः गठन गर्ने भन्दै आफ्नो दल त्यागेका नेताहरु फेरि नयाँ दल सिर्जना गर्ने अभियानमा विभिन्न कोणबाट छलफलमा जुटेका देखिन्छन् । सो क्रममा माओवादीबाट अलग्गिएर प्रगतिशील राष्ट्रिय अभियान सञ्चालन गरेका नेता सुदन किराँती, नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का संयोजक दुर्गा सोब र रास्वपा छाडेका नेता सन्तोष परियारबीच आगामी मङ्सिर पहिलो साता पार्टी एकता घोषणा गर्ने सहमति भइसकेको छ । साथै जेनजीका अगुवामध्येका एक मिराज ढुङ्गानाले पनि पार्टी गठन गर्ने भन्दै पत्रकार सम्मेलन नै आयोजना गरिसकेका छन् । यद्यपि उनले निर्वाचन आफूहरुको माग र प्राथमिकता नभएको उल्लेख गर्दै विकास र सुशासन पहिलो सर्त भएको बताउँछन् । अधिकारकर्मी डा. राधा पौडेललाई भने राजनीतिक दलमा देखिएको फुट र जुट ‘रमिता’ जस्तो लागेको छ । 'जेनजी विद्रोह र भोलिपल्टको घटनाभित्र लुकेका अन्तरनिहित कारण र आयामलाई जोड्नुपर्नेमा यसमा राजनीतिक दल चुके', उनी भन्छन्, 'त्यो कार्यभारप्रति ध्यान नदिएर दलमा एकता र विभाजन देखिएको छ। यसले हामीलाई कहीँ पनि पुर्याउँदैन ।' दलहरुमा आन्तरिक लोकतन्त्र कमजोर भएको र उनीहरुले आशा दिलाउन नसक्दा आफैंमा टुटफुटको अवस्थामा पुगेको उनको भनाइ छ । मुलुकमा देखिएको बेथितिको कारणबारे एकरुपता नदेखिँदा ‘बिरामी एउटा छ, उपचार अर्को’ जस्तो भइरहेको अधिकारकर्मी पौडेलको टिप्पणी छ । रासस
मन्त्री घिसिङले गरे बागमती करिडोर निरीक्षण, ढल व्यवस्थापन र सडक सुधारमा जोड
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले शनिबार काठमाडौंको पूर्वी क्षेत्रस्थित बागमती नदी करिडोर क्षेत्रको फोहारमैला व्यवस्थापन र सडक मर्मत सम्भार बारे स्थलगत निरीक्षण गरेका छन् । शहरी विकास मन्त्रालयका सचिव गोपाल सिग्देल, भौतिक पूर्वाधार तथा यातायत व्यवस्था मन्त्रालयका सचिव केशव शर्मा, गोकर्णेश्वर नगरपालिका मेयर दीपक रिसाललगायत सम्बन्धित निकायका टोलीसहितको टोलीले गुह्येश्वरीबाट सुन्दरीजल क्षेत्रम्मको नदी कारिडोर र सडक स्तरोन्नति बारे जानकारी लिएको थियो । टोलीले गुह्येश्वरीदेखि सुन्दरीजलसम्म क्षेत्रमा पर्ने बागमती नदी किनार तथा ढल व्यवस्थापन, सडक विस्तार एवम् स्तरोन्नतिलगायतका विषयमा स्थलगत जानकारी लिएको थियो । मन्त्री घिसिङले बागमती नदी करिडोरमा देखिएको ढल व्यवस्थापन र सडक स्तरोन्नतिको समस्या तत्काल समाधान गरिने बताए । उनले काठमाडौं उपत्यकाका नदी करिडोर क्षेत्रमा सडक विभाग, काठमाडौं उपत्यकाका विकास प्राधिरकरण र अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिबीच सडक निर्माण निर्माण तथा मर्मत सम्भार देखिएको समन्वययको समस्यालाई छिटै समाधान गरिने प्रतिबद्धता जनाए । ‘काठमाडौं उपत्यकाका नदीलाई सफा बनाएमा मात्र शहर सफा हुने भएकाले अल्पकालीन र दीर्घकालीन रुपमा ढल व्यवस्थापन योजनासहित काम गरिरहेका छौं, ढल व्यवस्थापनका लागि प्रशोधन केन्द्रको स्थापना चरणबद्ध रुपमा गरिरहेका छौं, नदी करिडोरका सडकलाई कालोपत्रे गर्ने, मर्मतसम्भार गर्नेलगायतकालाई उच्च प्राथमिकता राखी कार्य अगाडि बढाइरहेको छ, यसका लागि स्थानीय पालिकासँग समन्वयकासाथ काम गरिरहेका छौं, सडक किनारमा बेवारिसे अवस्थामा छाडिएका गाडी हटाउन उपकरण उउपकरण उपलब्ध गराउँछौं, त्यस्ता गाडीहरु तत्काल हटाउनुहोला,’उनले भने, ‘गोकर्णेश्वर मन्दिर नजिक बागमती नदी बायाँ किनारको करिब एक सय मिटर सडकलाई फराकिलो बनाउन सकिएमा माकलबारीबाट सिधै गोकर्णेश्वर मन्दिरतर्फ सवारी गाडी पास गराउन सक्ने अवस्था रहेछ, सडक फराकिलो बनाउन नेपाल ट्रष्टको कार्यालयसँग आवश्यक समन्वय र सहजीकरण गरिने छ ।’ चावहिल—सुन्दरीजल सडक विस्तारका लागि बाँकी पुलको निर्माण तत्काल अगाडि बढाउन उनले आग्रह गरे ।
निर्वाचनको विकल्प छैन : उपेन्द्र यादव
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले मुलुकमा निर्वाचनको विकल्प नभएको बताएका छन् । शनिबार भैरहवामा पार्टीको लुम्बिनी प्रदेश समितिको प्रथम अधिवेशनमा उनले निर्वाचनका लागि सरकारले वातावरण बनाउनुपर्नेमा जोड दिए । उनले हाल सुरक्षाको वातावरणका बारेमा धेरैको चिन्ता र चासो रहेको भन्दै सरकारले सम्बोधन गर्नुपर्ने बताए । ‘यो सरकारको दायित्व नै निर्वाचन गराउने हो। जनतालाई सुरक्षा दिने प्रहरी प्रशासन भयभित रहेको अवस्थामा यसको अन्त्य गरेर निर्वाचनको वातावरण बनाउनुपर्छ र निर्वाचन हुनुपर्छ,’ उनले भने । पूर्वउपप्रधानमन्त्री यादवले लोकतन्त्रमा जनताको प्रतिनिधि सरकारमा हुनुपर्ने बताउँदै जनसंख्याको आधारमा प्रतिनिधित्व आवश्यक रहेकामा जोड दिए । उनले पार्टी र उम्मेदवारले पैसा खर्च गर्न नपर्ने गरी निर्वाचन प्रणाली सुधार हुनुपर्ने र संघीय संरचना सुधार्न प्रदेश सरकारलाई अधिकारसम्पन्न बनाइपर्ने धारणा राखे । पार्टीका महासचिव रामकुमार शर्माले उत्पीडित समुदायले पाएका अधिकार सुरक्षित गरी संविधान संशोधनमार्फत देशलाई अग्रगमनतर्फ लैजानुपर्नेमा जोड दिए ।
महासंघले व्यवसायी र अर्थतन्त्रको समस्या समाधानमा ‘ट्रबलसुटर’को काम गरिरहेको छ : अध्यक्ष ढकाल
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले महासंघले उद्यमी, व्यवसायी र अर्थतन्त्रको समस्या समाधानमा ‘ट्रबलसुटर’को काम गरिरहेको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित नेपाल विद्युतीय व्यवसायी महासंघको १६औँ वार्षिक साधारणसभा एवम् छैठौँ महाधिवेशनको उद्घाटन कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष ढकालले महासंघले उद्यमी, व्यवसायी तथा अर्थतन्त्रका हरेक समस्याको समाधानको लागि निरन्तर लागि परेको बताएका हुन् । 'हामी (महासंघ)ले उद्यमी व्यवसायीका हरेक अफ्ठ्यारा र समस्या समाधानका लागि प्रयत्न गर्दै आएका छौँ । चाहे त्यो उद्योगको श्रम समस्या होस्, वा डेडिकेटेड तथा ट्रंकलाइन विवादको विषय होस् । लगानीको वातावरण निर्माणका लागि कानुन परिवर्तनको कुरा होस्, उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको कुरा होस्, वा कालाबजारी ऐन संशोधनको कुरा, हामी उद्यमी व्यवसायीका समस्या समाधानका लागि राज्यसँग छलफल, सम्वाद र वार्ता गरी त्यसको समाधान निकाल्ने प्रयत्न गरेका छौँ,' उनले भने । अध्यक्ष ढकालले लामो समयदेखि बल्झिरहेको डेडिकेटेड तथा ट्रंकलाइन विवादको समाधानका लागि आफूले प्रधानमन्त्री सुशिला कार्की तथा ऊर्जा मन्त्री कुलमान घिसिङलाई गरेको आग्रहलाई उनीहरुले गम्भीरतापूर्वक लिएको बताउँदै समस्याको समाधानका लागि पहल लिएकोमा प्रधानमन्त्री तथा ऊर्जामन्त्रीलाई धन्यवाद समेत व्यक्त गरे । उनले मुलुकमा उत्पादन वृद्धि तथा रोजगारी सृजनाका लागि ठूलो मात्रामा स्वदेशी तथा विदेशी पुँजीको आवश्यकता रहेको बताउँदै त्यसका लागि मुलुक तथा मुलुक बाहिर छरिएर रहेको सानोसानो पुँजी संकलन गरी ठूला र बहुआयामिक आयोजनाहरुमा लगानी गर्न आवश्यक रहेका उल्लेख गरे । उनले त्यसका लागि महासंघको नेतृत्वमा अन्य निजी क्षेत्रसँग आवद्ध संघसंस्थाहरू र त्यसका सदस्यहरूको समेत सहभागितामा १० अर्ब रुपैयाँ पुँजीको नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेड कम्पनीको स्थापना गरिएको जानकारी दिए । त्यस कम्पनीमार्फत ठूला र बहुआयामिक आयोजनाहरुमा लगानी गरि पूर्वाधार विकास, रोजगारी सृजना र उत्पादन तथा सेवा प्रवाहमा सहजता गराउन आफूहरू लागेको बताए । महासंघ अध्यक्ष ढकालले हालैको जेनजी आन्दोलनका क्रममा भएको घुसपैठमा ठूलो मात्रामा निजी क्षेत्र र निजी सम्पत्तिमाथि प्रहार गरिएको बताउँदै उक्त विध्वंसमा संलग्नहरुलाई कानुनी दायराभित्र ल्याउन सरकारसँग आग्रह गरे । उनले हामी सबैको साझा उद्देश्य मुलुकको विकास र समृद्धि रहेका उल्लेख गर्दै त्यसमा सबैको हातेमालो जरुरी रहेको बताए ।
नारायणघाट–बुटवल सडक विस्तार राति मात्र, १० दिनभित्र कालोपत्र सकिने
नवलपुर । पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल खण्डको गैँडाकोटमा रातिको समयमा मात्र सडक विस्तारको काम भइरहेको छ । नारायणी नदीको पुलबाट पश्चिमतर्फ १७० मिटर सडक कालोपत्रसँग जोडिन बाँकी रहेकाले रातिमा काम अगाडि बढाइएको हो । नारायणघाट बुटवल सडक आयोजना पूर्वी खण्डका सूचना अधिकारी इञ्जिनियर शिव खनालले हरेक दिन राति १० बजेदेखि भोलिपल्ट बिहान ४ बजेसम्म काम भइरहेको बताए । ‘दिउँसोमा सवारीसाधनको चाप अत्यधिक हुने भएकाले सहज रूपमा काम गर्न समस्या देखियो’, उनले भने, ‘रातिमा सवारीसाधनको न्यून चाप हुनाले सहज रूपमा सडक विस्तार भइरहेको छ ।’ दिनमा यो सडकमा काम गर्दा सवारीसाधनको लामो जाम भएकाले ट्राफिक व्यवस्थापनमा समस्या देखिएपछि रातिमा काम थालिएको उनले बताए । कार्यतालिका बमोजिम प्रगति हासिल भएमा अबको १० दिनमा यस सडकमा कालोपत्र गरेर सकिने सूचना अधिकारी खनालले बताए । गैँडाकोटको यसखण्ड र दाउन्नेको पहाडबाहेक नारायणघाट बुटवल सडकको पूर्वी खण्डमा एकतर्फी कालोपत्रको काम भइसकेको आयोजना कार्यालयले जनाएको छ । चाडपर्व सकिएपछि सडक विस्तारको काम तीव्र गतिमा अगाडि बढिरहेको खनालको भनाइ छ । ‘दाउन्नेमा तीन किमी सडक कालोपत्र गरिँदै छ भने बाँकी करिब १० किमी ढलानको काम भइरहेको छ’, उनले भने, ‘दुईतर्फी सडक कालोपत्र भइसकेको ठाउँमा भने डिभाइडर, सर्भिसलेनलगायत सौन्दर्यकरणको काम हुँदैछ ।’ यस सडकको भौतिक प्रगति करिब ७० प्रतिशत हाराहारी पुगेको खनालले जानकारी दिए । उनका अनुसार नारायणघाट–बुटवल खण्डको ११४ किमीमध्ये पूर्वी खण्डमा ६५ किमी र पश्चिम खण्डमा ४९ किमी पर्दछ । सडक विस्तारका क्रममा यस खण्डको १०० किमी चार लेनमा तथा दाउन्नेको १४ किमी सडक तीन लेनमा विस्तार हुँदैछ । भौगोलिक कठिनाइका कारण दाउन्नेमा तीन लेनमा मात्रै सडक विस्तार हुने आयोजनाका सूचना अधिकारी खनालले बताए । उनका अनुसार विस्तारका क्रममा सहरी क्षेत्रमा सडकबाट उत्तरतर्फ र दक्षिणतर्फ अतिरिक्त दुई लेनलाई ‘सर्भिस लेन’का रूपमा निर्माण गरिनेछ । रासस
एनपिएलको तयारी पूरा, विजेता टोलीलाई एक करोड १० लाख पुस्कार
काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)को सम्पूर्ण तयारी पूरा भएको नेपाल क्रिकेट सङ्घ (क्यान)ले जनाएको छ । पर्सी सोमबारदेखि मङ्सिर २७ गतेसम्म हुने उक्त प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको क्यानका महासचिव पारस खड्काले शनिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । प्रतियोगिताका विजेता टोलीलाई पुरस्कार स्वरूप एक करोड १० लाख रुपैयाँ प्रदान गरिनेछ । यसअघि जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्सलाई पराजित गर्दै उपाधिमाथि कब्जा जमाएको थियो । त्यसैगरी, प्रतियोगिताको उपविजेता टोलीले भने ५१ लाख रुपैयाँ प्राप्त गर्नेछ भने तेस्रो स्थान हासिल गर्नेले २५ लाख तथा चौथो हुनेले १५ लाख रुपैयाँ प्राप्त गर्नेछ । एनपिएलमा विभिन्न आठ फ्रेञ्चाइज टोली सहभागी हुनेछन् । उद्घाटन खेल जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाजबीच हुनेछ ।
नेपालको वित्तीय क्षेत्र विकासमा डा. यादवप्रसाद पन्तको योगदान उल्लेखनीय : अर्थमन्त्री
काठमाडौं । नेपाल राष्ट्र बैंकले पूर्व अर्थमन्त्री तथा पूर्व गभर्नर स्व. डा. यादवप्रसाद पन्तको १००औँ जन्मजयन्तीको अवसरमा ‘डा. यादवप्रसाद पन्तको बहुआयामिक व्यक्तित्व र नेपालको अर्थतन्त्रमा उनको योगदान’ विषयक एकदिने विचार गोष्ठी सम्पन्न गरेको छ । कार्यक्रमका प्रमुख अतिथि अर्थमन्त्री रामेश्वरप्रसाद खनालले नेपालमा आधुनिक अर्थतन्त्रको जग बसाल्न डा. पन्तले पुर्याएको योगदान उल्लेखनीय रहेको बताए । उनले डा. पन्तलाई बहुआयामिक व्यक्तित्वका रूपमा वर्णन गर्दै वित्तीय तथा मौद्रिक नीतिसँगै कुटनीति, योजना तथा राजनीतिमा उहाँको उत्कृष्ट दखल रहेको उल्लेख गरे । गभर्नर प्रा.डा. विश्वनाथ पौडेलले डा. पन्तको नेतृत्वकालमा मुलुकको वित्तीय क्षेत्र र अर्थतन्त्रमा महत्वपूर्ण संरचनागत सुधारको प्रारम्भ भएको बताए । उनका अनुसार ५०० र १००० रुपैयाँका बैंक नोटको प्रचलन, बैंकिङ विकास कोषको स्थापना तथा बैंकिङ सेवाको पहुँच विस्तार जस्ता उल्लेख्य कार्यहरू डा. पन्तकै कार्यकालमा सम्पन्न भएका थिए । पूर्व अर्थमन्त्री डा. प्रकाशचन्द्र लोहनीले डा. पन्तलाई ‘आधुनिक अर्थतन्त्रका चिन्तक’का रूपमा प्रस्तुत गर्दै आर्थिक सुधारका उनका प्रयास आज पनि मार्गदर्शक रहेको बताए । त्यस्तै, पूर्व गभर्नर गणेशबहादुर थापाले बैंकिङ र वित्तीय सेवाको विस्तारमा पन्तको पहल निर्णायक रहेको धारणा राखे । गोष्ठीमा पूर्व अर्थमन्त्रीहरू डा. युवराज खतिवडा, ज्ञानेन्द्रबहादुर कार्की, डा. रूप ज्योति तथा पूर्व गभर्नरहरू—डा. तिलकबहादुर रावल, दीपेन्द्रपुरुष ढकाल, विजयनाथ भट्टराई र दीपेन्द्रबहादुर क्षेत्रीले डा. पन्तको व्यक्तित्व र योगदानका विविध पक्षबारे विचार व्यक्त गरे । कार्यक्रममा पूर्व महालेखापरीक्षक भानुप्रसाद आचार्य, ‘डा. पन्त अनुसन्धान तथा विकास प्रतिष्ठान’का सदस्य राधेश पन्तलगायतले स्वर्गीय पन्तसँग सम्बन्धित प्रेरणादायी क्षणहरू स्मरण गरे । कार्यक्रममा राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक भोलाराम श्रेष्ठले ‘डा. यादवप्रसाद पन्तको बहुआयामिक व्यक्तित्व र नेपालको अर्थतन्त्रमा उनको योगदान’ शीर्षक कार्यपत्र प्रस्तुत गरे । प्रतिष्ठानले तयारी गरेका डा. पन्तको जीवनीसम्बन्धी श्रव्यदृश्य सामग्री समेत प्रस्तुत गरिएको थियो । सो अवसरमा राष्ट्र बैंककी वरिष्ठ डेपुटी गभर्नर डा. नीलम ढुङ्गाना तिम्सिनाले स्वागत मन्तव्य राखिन् भने डेपुटी गभर्नर बमबहादुर मिश्रले छलफल सत्र सहजीकरण गरे । कार्यक्रम गभर्नरको कार्यालयका कार्यकारी निर्देशक दयाराम शर्मा पंगेनीले सञ्चालन गरेका थिए । वि.सं. १९८२ मंसिर २ गते काठमाडौंमा जन्मिएका डा. पन्त २०२५–२०३० मा नेपाल राष्ट्र बैंकका गभर्नर र २०३७–२०३९ मा अर्थमन्त्री रहे । राष्ट्रिय योजना आयोगका संस्थापक सदस्यसमेत रहेका पन्तले आफ्नो कार्यकालमा अन्तर्राष्ट्रिय मुद्रा कोष, विश्व बैंकलगायत संस्थासँग नेपालको वित्तीय साझेदारी विस्तारमा महत्वपूर्ण भूमिका खेलेका थिए । आर्थिक नीतिगत तथा संरचनागत सुधारमा योगदानलाई स्मरण गर्दै राष्ट्र बैंकले गोष्ठी आयोजना गरेको हो ।
३ अर्ब बराबरका दुई वटा बचतपत्रको बिक्री खुला, मंसिर २५ सम्म आवेदन दिन सकिने
काठमाडौं । सरकारी ऋण उठाउन सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले दुई वटा बचतपत्रको बिक्री खुला गरेको छ । कार्यालयले दुई अर्ब ५० करोड रुपैयाँ बराबरको ‘नागरिक बचतपत्र–२०८७’ र ५० करोड रुपैयाँ बराबरको ‘वैदेशिक रोजगार बचतपत्र–२०८७’ निष्कासन गर्न लागेको हो । पाँच वर्ष अवधिका यी दुवै बचतपत्र खरिदका लागि आगामी मङ्सिर २५ गतेसम्म आवेदन दिन सकिनेछ भने मङ्सिर २८ गते निष्कासन हुनेछ । नागरिक बचतपत्रमा छ दशमलव पाँच प्रतिशत र वैदेशिक रोजगार बचतपत्रमा सात दशमलव पाँच प्रतिशत वार्षिक ब्याजदर उपलब्ध हुनेछ । बचतपत्रको ब्याज हरेक छ/छ महिनामा सम्बन्धित खरिदकर्ताको बैंक खातामा भुक्तानी हुनेछ भने घटीमा १० हजार र बढीमा कुल निष्कासित रकमको सीमामा नबढाई १० हजारले भाग गर्दा निःशेष भाग जाने अङ्कमा खरिद गर्न पाइनेछ । नागरिक बचतपत्र नेपाली नागरिक र गैरआवासीय नेपाली नागरिकले खरिद गर्न सक्नेछन् । त्यस्तै, वैदेशिक रोजगार बचतपत्र मुलुकबाहिर रोजगारीमा संलग्न वा मुलुक बाहिरको रोजगारीबाट फर्केको छ महिना पुगेका नेपाली नागरिक, गैरआवासीय नेपालीले आफू वा आफ्नो परिवारको सदस्यको नाममासमेत गरिन गर्न सक्नेछन् । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सञ्चालन गर्ने डोम्स (डिओएमएस) प्रणाली र इन्भेस्टर पोर्टलमार्फत बचतपत्र खरिदका लागि आवेदन दिन सकिनेछ । अघिल्ला वर्षमा नागरिक बचतपत्र शतप्रतिशत बिक्री हुँदा वैदेशिक रोजगार बचतपत्रमा भने लगानीकर्ताको न्यून चासो देखिने गरेको छ । लगानीकर्तालाई बचतपत्रबारे पर्याप्त जानकारी नहुँदा विगतका वर्षमा निष्कासन गरिएको रकमभन्दा कम मात्रै खरिद हुने सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका उपसचिव प्रकाश पुडासैनीले बताए । 'बचतपत्र के हो ? किन लगानी गर्ने ? कसरी लगानी गर्ने ? जस्ता विषयमा धेरैलाई जानकारी छैन । पछिल्ला वर्षमा खरिद गर्नेहरूको सङ्ख्या बढ्दै गए पनि अझै धेरैले जानकारी पाएका छैनन्', उनले भने । नागरिक बचतपत्रका लागि पछिल्लो चार दिनमा मात्र ८० करोड रुपेयाँ बराबरको आवेदन परिसकेको पुडासैनीले जानकारी दिए । यसवर्ष तोकिएको समय अघि नै खरिद भइसक्ने अनुमान गरिएको उनको भनाइ छ । उनका अनुसार पहिलो आवेदन दिनेले पहिले खरिद गर्न पाउने यी बचतपत्र ‘स्टक’का रूपमा जारी हुनेछन् । यस्ता बचतपत्रको ब्याजदर बैंकको मुद्दती निक्षेपभन्दा आकर्षक रहेका जनाउँदै पुडासैनीले यसको महत्व र फाइदाबारे अधिकांश नागरिकलाई जानकारी नभएको बताए । 'लगानीका लागि धेरैले घरजग्गा, सुनचाँदी, पुँजीबजार र मुद्दती निक्षेपजस्ता क्षेत्रलाई प्राथमिकता दिने गरेका छन् । लगानीका यी विकल्पभन्दा सहज, सुरक्षित र आकर्षक प्रतिफल मानिने सरकारी उपकरण बचतपत्र हो', उनले भने । उपसचिव पुडासैनीका अनुसार बचतपत्र पूर्ण रूपमा सुरक्षित लगानी हो । यसमा सरकारले मूलधनको सुशिन्चित गरेको हुन्छ । साथै, बचतपत्रको ब्याज रकम हरेक छ महिनामा खरिदकर्ताको बैंक खातामा सिधैँ जम्मा हुन्छ । यसलाई धितो राखेर बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिन सकिने पुडासैनीले उल्लेख गरे । 'दोस्रो बजारमा सहजै कारोबार हुने तथा बचतपत्र धारकले जुनसुकै बेला वा बेच्न चाहेको बेला बैंक तथा वित्तीय संस्थाले किन्नुपर्ने बाध्यात्मक व्यवस्था छ । सोहीकारण बचतपत्रलाई तत्काल तरलतामा रुपान्तरण गर्न सकिन्छ । अर्थात् आफूले खरिद गरेको बचतपत्र चाहेको समयमा तत्कालै बेच्न सकिन्छ', उनले भने । रासस